Tuesday, August 8, 2023

दर्शनशास्त्रीय अनुसन्धानको रूपरेखा

 

दर्शनशास्त्रीय अनुसन्धानको रूपरेखा

डा. गोविन्दशरण उपाध्याय

१.     विषय प्रवेश

अन्य शैक्षिक विषयसरह दर्शनशास्त्रको निजी परिचय, अध्ययन सामग्री, विषयवस्तु र अध्ययन विधि पनि आफ्नै छन् | “शोध” शब्दबाट सम्पूर्ण प्रकारका अनुसन्धानका प्रणालीहरूलाई बुझिए पनि दर्शनशास्त्रको अनुसन्धान कार्यमा प्रयोग हुने विधि, सामग्री र विषयहरू केही फरक छन् | सबै खाले अनुसन्धानको आरम्भ दर्शनशास्त्रीय खोजबाट भए पनि विषयवस्तुका रूपमा दर्शनशास्त्रले तत्व, ज्ञान, तर्क, सौन्दर्य, नीतिसंग जोडिएका परमतत्व वा परमसत्य, सृष्टि, मूल्य, सत्य जीवनजगत, आत्मा-परमात्मा, व्यक्तित्व, कर्तव्य, दृष्टिकोण, चिन्तन, विचार, शुभअशुभ, चरित्रआदि विषयहरूको समालोचनात्मक तथा आदर्शवादी अध्ययन गर्छ | दर्शनशास्त्रले अनुसन्धान गर्ने विषयहरूमा अन्य विधाले पनि अनुसन्धान गर्छन् तर विश्लेषण गर्ने दृष्टिकोण भने तत्व, ज्ञान, तर्क तथा नीति र व्यक्तिको जीवनजगतसंग रहेको सम्बन्धको सत्यताको परीक्षणसंग सरोकार राख्छ | दर्शनशास्त्रले अनुसन्धान गर्दा “कस्तो छ” भन्ने प्रश्न भन्दा पनि “कस्तो हुने छ” भन्ने आदर्शको तर्कसङ्गत पहिचान, ब्याख्या र विश्लेषणमा ध्यान दिनुपर्छ | दर्शनशास्त्रका उपरोक्त परम्परागत विधाहरू बाहेक धर्मदर्शन, राजनैतिक दर्शन, रसायनशास्त्रको दर्शन, परामर्शको दर्शन, विज्ञानको दर्शन, महिलावादी दर्शन, मनोविज्ञान तथा सामाजिक दर्शनशास्त्रजस्ता नवीन दृष्टिकोण पनि विकास भएका छन् | दर्शनशास्त्रहरूका यी विधाहरू परम्परागत दार्शनिक चिन्तनको दृष्टिकोण भन्दा केही फरक अवश्य छन् तर समालोचनात्मक दृष्टिकोण र आदर्शवादी दृष्टिकोणमा खासै पार्थक्य देखिन्न | अनुसन्धानमा विश्वभरीनै पश्चिमा पद्धतिहरूको बोलबाला छ | वैदिक एवं चिनिया दार्शनिक चिन्तनका विषयवस्तुमा अनुसन्धान गर्दा अलि फराकिलो दृष्टिकोण अबलम्बन गर्ने सुझाव अनुपयुक्त हुँदैन | यद्यपि स्थापित विषयका रूपमा विद्वानहरूले लेखेका, बोलेका विगतका विषयवस्तुभित्र रहेका दर्शनशास्त्रीय विषयहरूको उद्घाटन गर्न यसले बाधा पर्दैन | यो आलेखले दर्शनशास्त्र विधाको अनुसन्धान गरिरहेका र भविष्यमा शोध गर्न इच्छुक छात्रछात्रा तथा विद्वानहरूलाई प्रष्ट विधागत अनुसन्धानको जानकारी प्रदान गर्ने हुँदा, निकै उपयोगी ठहरिने छ |

२.     दार्शनिक अनुसन्धान

अनुसन्धान एउटा क्रियाप्रधान, परिणामापेक्षी तर आदर्शवादी क्रियालाप हो | विधागत आवश्यकता र दृष्टिकोणकाअनुसार विद्वानहरूले यसको फरकफरक परिभाषा र परिभाषाअनुसारको व्याख्या गरेका छन् | धेरैजसो परिभाषाहरूको सार “अनुसन्धान एस्तो क्रियात्मक अध्ययन हो जसले उपलब्ध साधन तथा साक्षका आधारमा नवीनतम सिद्धान्त वा सत्यको स्थापना गर्ने प्रयत्न गर्छ |” अर्काथरी दार्शनिकहरूले नयाँ अवधारणा, सिद्धान्त, वा मानदण्डहरू स्थापित गर्न लागू गर्न सकिने अन्तरदृष्टि प्राप्त गर्ने प्रयास साथै  दर्शन वा विचारको सीमा समालोचनात्मक रूपमा जाँच्ने प्रयास गर्नुनै दार्शनिक अनुसन्धान विधि हो” भन्ने पनि परिभाषा गरेका छन् |

 यसैगरी “उपलब्ध गुणात्मक वा परिणामात्मक  ज्ञान, साधन श्रोतको प्रयोग गर्दै  नवीनतम ज्ञानको खोज गर्नु अनुसन्धान कार्य हो” भनेर अनुसन्धानको अझैं सरलीकृत परिभाषा पनि दिइएको छ | उपरोक्त दुई परिभाषाहरूको विश्लेषण गर्दा अनुसन्धान एउटा नवीनतम ज्ञानको खोजी हो जसका लागि सम्बन्धित अनुसन्धाताले आफ्नो निजी दक्षता, पूर्व गरिएका अनुसन्धान, उपलब्ध सामग्रीको उपयोग गर्छन् र परिणामको घोषणा गर्छन् | अनुसन्धान परिणामको घोषणाले अनुसन्धान रोकिन्न बरू, अर्को पाटो बाँकी रहन्छ |

लगभग शिक्षाका सबैविधाहरूमा यही हुन्छ | सामान्यतया गुणात्मक, परिमाणात्मक र मिश्र यी तीन प्रकारका अनुसन्धान पद्धतिहरु विश्वमा प्रचलित छन् | विधागत आवश्यकताअनुसार अनुसन्धाताले गुणात्मक,  परिमाणात्मक अथवा मिश्र विधिको प्रयोग गर्छन् | धेरैजसो विज्ञान विधामा परिमाणात्मक, व्यबस्थापन, शिक्षा, गणित,मनोविज्ञान, समाजशास्त्रआदि विधामा मिश्र र दर्शनशास्त्र, नीतिशास्त्र, तत्वशास्त्र, धर्मशास्त्रजस्ता विधाहरूमा गुणात्मक अनुसन्धान विधिहरूको प्रयोग हुन्छ | यसको अर्थ विज्ञानले मिश्रविधि वा गुणात्मक विधिको प्रयोग गर्दैन भन्ने धारणा बनाउनु उपयुक्त हुँदैन | दर्शनशास्त्रको विधागत अनुसन्धान क्रियामा भने धेरैजसो गुणात्मक अनुसन्धान विधिको प्रयोग हुन्छ | गुणात्मक अनुसन्धानका लागि “डाटा”हरूको आवश्यता नपर्ने र यसका अभिप्प्राप्तिहरू “कस्तो हुनुपर्छ”संग सरोकार राख्ने हुँदा बढी प्रयोग हुन्छ | दर्शनशास्त्रकै नीतिशास्त्र र तर्कशास्त्र विधाहरूमा मिश्रविधिको प्रसस्त प्रयोग हुन्छ तर पनि निष्कर्ष भने “हुनु पर्छ”संग सरोकार राख्छ | यस अर्थमा, दार्शनिक विधाको अनुसन्धानमा बढीजसो “गुणात्मक” विधिको प्रयोग गरिन्छ र यही उपयोगी हुन्छ |

३.     अध्ययन विधि

प्रस्तुत विषयवस्तुको अनुसन्धान गर्न त्रिविवि केन्द्रीय पुस्तकालयले प्रदान गरेको इ-लाइब्रेरी, अन्य विद्युतीय खुला पुस्तकालयहरू, भौतिक त्रिविवि पुस्तकालय, नेपाल प्रज्ञा  प्रतिष्ठानको पुस्तकालय, विभिन्न प्राज्ञिक संस्थाहरूबाट प्रकाशित अनुसन्धान कृतिहरू र विभिन्न दार्शनिक तथा अन्य विधाका लेखकहरूले अनुसन्धान विधिवारे लेखेका पुस्तक, युट्युबमा प्राप्त चलचित्रहरू आदिको आवश्यकताअनुसार प्रयोग गरिएको छ | खासगरी दर्शनशास्त्र विषयमा अनुसन्धान गर्न/गराउन लेखिएका विभिन्न पाठ्य सामग्रीहरूको अध्ययन गरिएको छ | यस अर्थमा, पुस्तकालयय, दृष्य एवं श्रवण  र अन्य मिश्रित विधिको प्रयोग गरेर यो आलेख तयार भएको छ |

यो अनुसंधान आलेख तयार पार्नुको मुख्य उद्देश्य दर्शनशास्त्र विषय लिएर उच्चशिक्षा प्राप्त गर्ने क्रममा लघु अनुसन्धान लेख, लघु अनुसन्धान पुस्तिका तथा विद्यावारिधिको थेसिस लेख्ने/लेखाउने प्रक्रियालाई सहजीकरण गर्नुभएकोले यसमा ती सबै स्रोत र साधनहरूको प्रयोग गर्ने प्रयत्न गरिएको छ, जसले दर्शनशास्त्रका अनुसन्धानमा सहयोग होस् |

४.     दर्शनशास्त्रमा अनुसन्धान

आजको मितिमा दर्शनशास्त्र एउटा शास्त्रीय विधा हो | विश्वका धेरैजसो विश्वविद्यालयहरूमा दर्शनशास्त्रको अध्ययन/अध्यापन हुन्छ | तर पछिल्ला दिनहरूमा दर्शनशास्त्रको अध्ययनप्रति विद्यार्थीहरूको अभिरुची घटेको छ | अविभावक तथा विद्यार्थी स्वयंले दर्शनशास्त्र सहित केही विषयहरुलाई आर्थिक आर्जनका लागि सहयोगी नभएको विश्वास गर्न थालेका छन् | अर्कोतिर, दोस्रो वा तेस्रो ज्ञानकीय विधाका रूपमा दर्शनशास्त्र पढ्नमा अलि उमेर पुगेका वा सेवा निवृत्त जीवन व्यतीत गरिरहेकाहरूमा दर्शनशास्त्रको अध्ययन गर्न, अनुसन्धान गर्ने अभिरुचि बढेको छ | दर्शनशास्त्रको अध्ययन गर्ने विद्यार्थी संख्य्या घटे पनि “दर्शनशास्त्र पढ्नेहरू विद्वान हुन्छन्, दार्शनिक विषयहरुले मान्छेलाई समालोचनात्मक बनाउँछ र दर्शनशास्त्र पढ्ने मान्छेको निर्णय गर्ने, समस्या समाधान गर्ने र असजिलो अवस्थालाई सहजरूपमा सहने क्षमता अद्भुत हुन्छ भन्ने “विश्वास” बलियो देखिन्छ | यस्तो विश्वासमा वैदिक र पश्चिमा दार्शनिकहरुबिच तीब्र मतभेद छ | पश्चिमा दार्शनिकहरूले अस्तित्व, औचित्य, ज्ञान,मूल्य, मनस्, भाषा, सौन्दर्यआदि विषयवस्तुमा विमर्श गर्छन् भने वैदिक (जैन, बौद्धसहित) उपरोक्त विषयवस्तु भन्दा बढी महत्व ईश्वर, आत्मा, चरित्र, मोक्ष, धर्मआदिका विषयमा चिन्तन गर्छन् | अनुसन्धाताको अनुसन्धान कर्म उसको अभिमुखीकरणमा भर पर्छ | यस्तो पार्थक्यमा व्यक्तिको व्यक्तिगत विश्वास, मताग्रह, बुझाई तथा ज्ञानमा निर्भर हुन्छ | अनुसन्धान विधिका सवालमा सम्पूर्ण भारतवर्षीय विश्वविद्यालयहरु पश्चिमा अनुसन्धानको प्रतिमानप्रति बढी आश्वस्त र विश्वास गर्ने भएकोले पश्चिमा अनुसन्धानको विधि तथा सीमाभित्र रहेर आफ्नो “विश्वास तथा मताग्रह” प्रकट गर्छन् | दार्शनिक पद्यति वैदिक होस् वा पाश्चात्य दूवै साझा रूपमा औचित्यपूर्ण चिन्तन, तार्किक रूपमा सत्य, श्रेष्ठतम मनन र विषयवस्तुको तुलानात्मक समालोचनाको तहमा एकै ठाउँमा उभिएका छन् |

५.     तत्वविषयक प्रश्न

दर्शनशास्त्रको विषयगत अनुसन्धान गर्ने अनुसंधताका लागि पहिलो प्रश्न गर्ने र उत्तर खोज्ने विषय “अस्तित्व” को हुनुपर्छ | अस्तित्व विषयक प्रश्नलाई दर्शनशास्त्रमा “तत्व” भनिन्छ भने तत्व वा सत्यको परिभाषा, जीवन जगतसंग उसको सम्बन्ध, उसको स्वरूप, प्राप्तिको उपाय तथा एकत्व, द्वित्व वा बहुत्वका विषयवस्तुहरूको उत्तर खोज्नुपर्छ | तत्व भौतिक छ कि अभौतिक, चेतनशील छ कि अचेतनआदि प्रश्नहरूको औचित्यपूर्ण, तार्कीक, मननयोग्य तथा प्रभावकारी उत्तर खोज्ने प्रयत्न गर्नुपर्छ | अस्तित्व विषयक दुई धाराहरू भौतिकवाद र अध्यात्मवादका आ-आफ्नै अडान छन् | भौतिकवादीहरूले तत्वलाई प्राकृतिक मान्छभने अध्यात्मवादीहरूमा  परमतत्वलाई चेतन, चेतनअचेतन भन्दा परे पनि मान्ने समूहहरू छन् | अनुसन्धाताले सर्वप्रथम आफ्नो “कित्ता” प्रष्ट रूपमा छुट्याएर अनुसन्धानमा प्रवृत्त्त हुँदा निकै सहज हुन्छ | दर्शनशास्त्र भित्रका विधागत अनुसन्धानमा भने विषय र क्षेत्र पहिलेनै सुनिश्चित हुनेहुँदा तुलना, समालोचना र निष्कर्षका साथ अनुसन्धानले निकास पाउँछ |

६.     ज्ञानविषयक प्रश्न

दर्शनशास्त्रका अनुसन्धाताहरूले दोस्रो महत्वपूर्ण प्रश्न र उत्तर खोजेर औचित्यपूर्ण निष्कर्षमा पुग्नु पर्ने विषय हो “ज्ञानशास्त्र” जसलाई अंग्रेजीमा एपिस्टेमोलोजी भन्ने गरिन्छ | ज्ञान के हो, ज्ञानको उत्पात्ति कसरी र कहाँबाट हुन्छ, ज्ञानको के कार्य हुन्छ र ज्ञानका सीमाहरू के हुन् र हुनुपर्छ ? जस्ता प्रश्नहरुको व्याबहारिक र सैद्धान्तिक उत्तरहरूको पहिचान गर्ने, आवश्यक परे तिनको तुलना गर्ने र समालोचनासहित औचित्यका विषयमा आफ्नो राय अथवा अनुसंधेय विषयवस्तु वा पात्रको समीक्षा गर्नुपर्छ | ज्ञान आफैमा सबैले जानेको बुझेको र प्रयोग गरिरहेको तर बस्तुगत व्याख्या गर्ने अवस्थामा ज्यादै जटील, रहस्यमय तथा विवादित विषय हो | बिनम्र तथा विषयवस्तुको गहनता पत्तो लगाउने गम्भीर भएका अनुसन्धाताले पूर्वाग्रह तथा मताग्रहबाट निरपेक्ष रहेर “ज्ञान-मीमांसा”को अनुसन्धान गर्छन् र गर्नुपर्छ |

७.     नीतिविषयक प्रश्न

नैतिकता र अनैतिकता मानवीय जीवनका अत्यन्त महत्वपूर्ण प्रश्न हुन् | नैतिक-अनैतिक, शुभअशुभ, कर्तव्य-अकर्तव्य, पापपुण्य, स्वर्गनर्क, स्वतन्त्रता तथा परतन्त्रता, उदारता अनुदारता, सापेक्षता-निरपेक्षता, अधिकार तथा कर्तव्यजस्ता विषक प्रश्न र उत्तरको पहिचान गरेर नैतिकता विषयक प्रतिमान स्थापित वा विस्थापित गर्न औचित्यपूर्ण तथा व्यवस्थित अध्ययन पनि दर्शनशास्त्रीय अनुसन्धान अन्तर्गत नै पर्छ | नैतिकता विषयक मान्यताहरू बडो जटील, स्थानीय तथा रितिरिवाजमा आधारित हुन्छन् | एउटा समूह, जाति, राष्ट्र, धर्म तथा सम्प्रदायको नैतिक मान्यता अर्कोका लागि अनैतिक हुन सक्छ | एउटा नैतिक प्रतिमान अर्कोको लागि चरम अनैतिक हुन सक्छ | यस्तो अवस्थामा नैतिकताको वैश्विक स्वीकार्यता खोज्नु र त्यसलाई परिणाममा पुर्याउनु अनुसन्धाताको प्रमुख कार्य हो | परम्परागत नीतिशास्त्रीय मान्यता र आधुनिक नैतिक मान्यताहरूका बिचमा मानवीय समन्वय स्थापना गर्दै नैतिक मानकहरू स्थापित गर्ने जटील कर्तव्य अनुसन्धाताको हुन्छ |

हरेक मान्छे एउटा जाति, समूह, सम्प्रदाय, धर्म, भाषा वा राष्ट्रको सदस्य हुन्छ | यी सबै मिलेर व्यक्तिको चिनारी निर्मित भएको हुन्छ | चिनारीसंग जोडिएको जटील तर अत्यन्त व्याबहारिक पक्ष हो – पूर्वाग्रह र मताग्रह | एउटा विनम्र तर जिज्ञासु अनुसन्धाताका लागि तटस्थता कायम गर्नु, तटस्थ परिवेशमा नैतिक चालचलन तथा मान्यताहरू बुझ्नु र प्राप्त सूचनाका आधारमा मौलिक नैतिक प्रत्ययहरूको निर्भय भएर सार्वजनिक जानकारी उपलब्ध गराउनु नीतिशास्त्रीय अनुसन्धानको आत्मा हो | यस अन्तर्गत, मूल्य, सौन्दर्य तथा मोक्ष विषयक प्रश्नको उत्तर पनि पर्छन् |

८.     तर्क अर्थात् औचित्य विषयक  प्रश्न   

हो, दर्शनशास्त्र विषयमा अनुसन्धान कार्य गरिरंदा दर्शनशास्त्रीय अनुसन्धान र समाजशास्त्र, संस्कृति, धार्मिक तथा मनोवैज्ञानिक अनुसन्धानसंग निकै सामीप्यताको अनुभूत हुन सक्छ | यदाकदा अनुसन्धाता स्वयंले पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक अनुसन्धानलाई नै “दार्शनिक अनुसन्धान” नामाकरण गरेका हुन्छन् | दर्शनशास्त्रका मूल विषयवस्तुहरू पूर्वनिर्धारित भएकोले अल्मलिनु पर्दैन | तर्कशास्त्र (लोजिक) दर्शनशास्त्रको एउटा बलियो जग हो | तर्कशास्त्रमा लेखाई वा बोलाईमा प्रयोग गरिने शब्द वा पदको विषयवस्तुसंग रहेको सम्बन्धका विषयमा चर्चा हुन्छ | एउटा अत्यन्त काल्पनिक र लाखौं प्रति बोकेको “काल्पनिक” उपन्यास मनोरन्जक हुन्छ तर सत्य हुँदैन | विज्ञ अनुसन्धाताले दर्शनशास्त्रमा प्रयोग गरिको भाषा, पद वा शब्द सत्य, नैतिकता, औचित्य तथा अस्तित्वलाई “कसरी प्रकट गरिरहेको छ”को परीक्षा गर्छन् | तार्किक हुँदैमा वा तर्कको कसौटीमा खरो न उत्रिंदैमा “सत्य” औचित्य विहिन हुँदैन तर सत्यसंग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नभएको भाषा, पद वा शब्दले अर्थ सामर्थ्य राख्दैन |  दर्शनशास्त्रमा अनुसन्धान गर्नेले पद र पदको अर्थ सामर्थ्य तथा बस्तुसंग त्यसको सम्बन्धको (पदार्थ) विवेचना गर्नु पर्छ |

९.     दर्शनशास्त्रका सीमा

दर्शनशास्त्रका उपर्युक्त प्रतिमानहरूमा केन्द्रित रहेर दर्शनशास्त्रको अनुसन्धान हुनुपर्छ | विधागत दर्शनशास्त्रीय  विषयहरू जसमा धर्मदर्शन, विज्ञानको दर्शन, अर्थको दर्शन, मनोविज्ञानको दर्शनशास्त्र वा संस्कृतिको दर्शनशास्त्र, साहित्यको दर्शनशास्त्रआदिमा पनि परीक्षणका प्रमुख विषयवस्तुहरू माथिल्ला नै हुन्छन् | दर्शनशास्त्रीले अनुसन्धान गर्दा दर्शनशास्त्रका पूर्वस्थापित विषयवस्तुलाई केन्द्रमा राखेर अनुसन्धान गर्छ भने अन्य विधाका अनुसन्धाताले सोहो विषयलाई केन्द्रविन्दूमा राखेर अनुसन्धान गर्छन् | उदाहरणका लागि यदि कुनै रसायनशास्त्रीले “विज्ञानको दर्शन” अनुसन्धान गर्छ भने विज्ञानमा रहेका सम्भावित दार्शनिक सिद्धान्त र आवश्यकताहरूलाई “विज्ञान”को तहबाट बुझ्ने गर्छ | धर्मदर्शनमा अनुसन्धान गर्नेले धार्मिक प्रतिमानहरू :ईश्वर, आत्मा, परमात्मा, स्वर्गनर्क, सृष्टि, विनाशआदिलाई दार्शनिक दृष्टिकोणले सम्बोधन गर्छ | दर्शनशास्त्रको विषयगत अनुसन्धान गर्दा केन्द्रमा दर्शनशास्तीय विषयवस्तु हुन्छन् भने अन्य विधाकाले दर्शनशास्त्रको दृष्टिकोणले अनुसन्धान गर्दा दर्शनशास्त्र सम्बन्धित विधाभित्र ओझेलमा पारिन सक्छ | तेसैले हरेक विषयको दार्शनिक अध्ययन हुनसक्छ तर सबै विषयहरू दार्शनिक प्रतिमानमा खरो नहुन सक्छन् | एउटा दार्शनिक दृष्टिकोणबाट अनुसन्धान गर्न अगाडी बढेको अनुसन्धाताले आगमन तथा निगमन दुवै विधिको कसौटीमा आफ्नो “शीर्षक”लाई राम्ररी पर्गलेको हुनैपर्छ | नत्र परिणामको औचित्यमा प्रश्न, संशय र द्विविधा उत्पन्न हुन्छन् |

१०.दर्शनशास्त्रीय अनुसन्धानका मोडेलहरू

विश्वका प्रसिद्ध विश्वविद्यालयहरूले दर्शनशास्त्र विषयको अनुसन्धानमा घटना-विज्ञान प्रतिमान (फेनामोनालोजीकल मोडेल), व्याख्या प्रतिमान (हार्मोन्युटिकल मोडेल), सम्बाद प्रतिमान (डाइलेक्टीकल मोडेल) तथा विष्लेषण प्रतिमान (एनालाइटिकल मोडेल) प्रचलित विधिहरू हुन् | उपरोक्त सबै मोडेलहरू मध्ये सबै भन्दा प्राचीन “संवाद”जसको उपयोग सुकरातले गरेका थिए | त्यसपछिमा सबैजसो प्रतिमानहरू १८ रौँ शताब्दिपछिका हुन् र बौद्धिक व्याख्यामा आधारित छन् | वैदिक, जैन तथा बौद्धहरूले शास्त्रार्थ, सम्बाद, व्याख्या तथा समालोचनाका प्रतिमानहरू प्रयोग गरेका थिए | आचार्य शङ्करले सांख्य,मीमांसाआदि पूर्ववर्ति दार्शनिकहरूका दार्शनिक चिन्तनको समीक्षा गर्दै शास्त्रार्थ, समालोचना, व्याख्या, आगमन विधिको प्रयोग गरेको पाइन्छ | आचार्य शंकर तथा नवन्यायिकहरूले घटना-विज्ञान अनुसन्धान विधिको पनि प्रयोग गरेको पाइन्छ | एपिए, एमएलए विधिहरुको उपयोग गर्नुभन्दा पहिला सम्पूर्ण भारतवर्षका विद्वानहरूले परम्परागत शास्त्रार्थ प्रतिमान तथा समालोचना विधिको अनुसन्धानमा प्रयोग गरेको भेटिन्छ | मौलिक अनुसन्धान विधिहरूको प्रमाणिक अनुसन्धान सन्तोषजनक छैन |

११.दर्शनशास्त्रीय अनुसन्धानको जोखिम

दर्शनशास्त्र आफैमा मानवीय चिन्तनको जीवन्त इतिहास  र वर्तमान हो | सिद्धान्त होस् वा व्याबहारिकतहमा दर्शनशास्त्रका सैद्धान्तिक प्रतिमानहरू ज्यादै प्रभावोत्पादक हुन्छन् | दर्शनशास्त्रको अनुसन्धानमा टक्रिने अध्येताले “सिद्धान्त” निर्माणको तहमा काम गर्नु पर्ने हुन्छ | यदि दर्शनशास्त्रको आरम्भ र निर्माण आश्चर्य वा विस्मयका कारण भएको हो भने अनुसन्धाताको अनुसन्धान पनि आफैमा नवीनतम सिद्धान्तको अभिनिर्माण बन्न सक्छ | प्रश्न कसले कस्तो सिद्धान्त निर्माण गर्छ कि उपलब्ध सिद्धान्तहरुको पुनर्व्याख्या गर्छ भन्ने होइन, प्रश्न हो कि अनुसंधाताले जिज्ञासालाई प्राथमिकता राखेर नवीनतमा “वाद”को निर्माण गर्ने जोखिम उठाउँछ कि उठाउँदैन भन्ने हो | अधिकांश अनुसन्धाताले ती विषयवस्तुहरू रोज्दछन्, जुन विषयवस्तुको साहित्य र पूर्वअनुसन्धानहरू सजिलैसंग प्राप्त छन् | विषयको परिचय, पूर्वकार्यको समीक्षा, साहित्य समिक्षा, विषयवस्तुको विवेचना, तुलना र निष्कर्ष – ठूलोसानो अनुसन्धानका सामग्रीहरू यसरी नै निर्मित हुन्छन् | यो सबैभन्दा सजिलो उपाय हो | कार्लमार्क्स आफैमा अर्थशास्त्री थिए | जोखिम मोलेर उनले अर्थशास्त्रको पुनरावलोकन गरे र आफुले बुझेको “सत्य” लेखनका माध्यमबाट समाजका लागि छरिपस्ट पारिदिए | उनले अर्थशास्त्रउपर गरेको निडर व्याख्याले “सिद्धान्त”को स्वरूप ग्रहण गर्यो | उनले जोखिम लिएर प्रतिपादन गरेको विचार दर्शनशास्त्री, समाजशास्त्री, अर्थशास्त्रीआदि सबैले अध्ययन गर्ने “सिद्धान्त”का रूपमा स्थापित भयो | नि:सन्देश कार्लमार्क्स एकजना युगान्तकारी विचारक हुन् तर दर्शनशास्त्रीय दृष्टिकोणले उनी अर्थदार्शनिक हुन् मूलधारका दार्शनिक होइनन् |

१२.न्यायदर्शनको अनुसन्धान प्रतिमान

विज्ञानका क्षेत्रमा परिमाणात्मक अनुसन्धान पद्यतिको पढी प्रयोग हुन्छ | निश्चित सेम्पल, ती सेम्पलहरूलाई पुष्टी गर्ने डाटाहरू र ती डाटाहरूका आधारमा विषय निरुपण, संस्तुति तथा सम्भावित भविष्यको आंकलन परिमाणात्मक अनुसन्धान पद्यतिको विशेषता हुन् | दर्शनशास्त्रको क्षेत्रमा गरिने अनुसन्धानहरू मानवीय चिन्तन, भोगाई, बुझाई र जीवन-जगत वारे निर्माण भएको सूक्ष्म दृष्टिकोणमा बढी निर्भर हुन्छन् | भावनात्मक, क्रियात्मक तथा चिन्तनतहभित्र पसेर सत्यको खोज गर्नु र त्यसलाई सतर्क, सप्रमाण, औचित्यपूर्ण तथा विशिष्ट खोजका रूपमा प्रस्तुत गर्न सक्नु त्यति सहज कार्य होइन | सङ्ख्याको गणना भन्दा गुणहरूको औचित्य स्थापित गर्दै सामाजिक, धार्मिक, सांस्कृतिक, राजनैतिकतहको एकल वा द्वैध चिन्तनलाई चुनौति दिने प्रयत्न गर्नुनै दार्शनिक अनुसन्धानको लक्ष हो | उदाहरणका लागि प्राचीन वैदिक दार्शनिक सम्प्रदायभित्रको न्यायदर्शनले दार्शनिक अनुसन्धानका लागि १६बटा प्रतिमानहरू सुझाएको छ : प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, बाद, जल्प, वितण्डा, हेत्वाभाष,छल, जाति तथा निग्रहस्थान |

प्रमाणको अर्थ हो प्रमाणिकता बुझ्न प्रयोग गरिने साधन : जसमा प्रत्यक्ष, अनुमान, उपमान तथा शब्दका माध्यमबाट प्रमाणिकता सिद्ध गरिन्छ | दोस्रोतहमा, अनुसन्धानका लागि चुनिएको प्रमेयको स्थापना गरिन्छ | तेस्रोतहमा अनुसंधेय विषयमा विविध संशयका माध्यमबाट परीक्षा गरिन्छ र प्रयोजनका विषयमा विमर्श गरिन्छ | पाँचौंतहमा प्रयोजनलाई अनेकौं दृष्टान्तका माध्यमबाट सुस्पष्ट बुज्ने उपक्रम हुन्छ र त्यसपछिमात्र सिद्धान्त निर्माणमा प्रवेश गरिन्छ | सिद्धान्त निर्माण गर्दा आगमन तथा निगमनका अवयवहरुका माध्यमबाटबाट औचित्य खोजिन्छ | अनि, आठौँतहमा अनुसन्धाताले अनेकौं स्रोतहरूको प्रयोग गरे तर्कयुक्त सिद्धान्त विवेचना गर्छ | तार्कीक रूपमा सुस्पष्ट र निर्मल भएपछि सिद्धान्त निर्माणको निर्यण गरिन्छ | सम्पूर्ण अनुसन्धान कार्य यहाँ सम्पन्न हुन्छ | अनुसन्धानका माध्यमबाट अनुसंधेय विषय घोषित भएपछि सो अनुसन्धान विद्वानहरूको विच मूल्यांकनका लागि (शास्त्रार्थ) प्रेषित गरिन्छ |4 विद्वानहरूले प्रमाण, प्रमेयआदि प्रयुक्त साधनहरूको समीक्षा गर्न बाद, जल्प, वितण्डा, हेत्वाभाष, छल, उत्पत्ति र निग्रह (अस्वीकार) विधिको प्रयोग गर्छन् | उचितप्रमाणहरुले स्थापित गरेको सिद्धान्त अन्तत: वाद, प्रतिवाद, विवादको विषयका रुपमा स्थापित हुन्छ | दर्शनशास्त्रको अनुसन्धानबाट स्थापित कुनै पनि सिद्धान्त निर्विवाद र सर्वस्वीकार्य हुँदैन | फलत: दर्शनशास्त्रप्रति अभिरुचि राख्नेहरूले नवीनतम मतहरू स्थापित गर्न अनुसन्धान गर्छन् |

बिनम्र र सुधी अनुसन्धाताले प्राज्ञिकतहबाट उपर्युक्त अनुसन्धानका क्रमिक सोपानहरू प्रयोग गरेर परमतत्वको स्वरूप, ज्ञानको उत्पत्ति, क्रिया र सीमाहरू, नैतिकताका विभिन्न मानदंडहरू र तत्व, ज्ञान, नैतिकताको औचित्य सिद्ध वा असिद्ध गर्न सक्छ | दुर्भाग्य नै भन्नुपर्छ कि न्याय दर्शनले सुझाएको दार्शनिक अनुसन्धान विधि र प्रक्रियाप्रति नेपाली तथा भारतीय विद्वानहरूको ध्याननै गएको छैन |  ती सुझावहरूमा सर्वप्रथम अनुसन्धाताले प्रमाणहरूको समीक्षा गर्नुपर्छ, ती प्रमाणका आधारमा प्रमेयको प्रमाणिकरण गरिन्छ |

१३.निष्कर्ष

दर्शनशास्तीय अनुसन्धानमा दर्शनशास्त्रका पूर्वस्थापित प्रमेयहरूको उपयोग नै सर्वोत्तम हुन्छ | यसको अर्थ दर्शनशास्त्रका नवीनतम विधाहरूको प्रयोग गर्न निषेध गरिएको होइन | दर्शनशास्त्रले चिन्तन, मनन र विचारकातहमा अनुसन्धान गरेर सिद्धान्त निर्माणलाई महत्व दिने हुँदा अनुसन्धाताहरूले विज्ञानका कठोर सीमानाहरुको बन्धनमा बाँधिनु पर्दैन | दर्शनशास्त्रका परम्परागत तत्व विषयक एकवाद, द्विवाद, बहुलवादका सीमाहरू र यसभित्रका अध्यात्मिक तत्व, भौतिकवादी तत्व र मिश्रित तत्व र सृष्टिवादी चिन्तनका सीमा, ज्ञान मीमांसाभित्रका बुद्धिवाद, इन्द्रिय प्रत्यक्षवाद, समालोचनात्मक विज्ञानवाद, अस्तित्ववाद, बस्तुवादजस्ता विषयहरूमा अनुसन्धान गर्न सजिलो हुन्छ | एउटा प्रबुद्ध दर्शनशास्त्रका अनुसन्धाताका लागि जोखिम मोलेर नवीनतम सिद्धान्त निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ | बालकृष्ण सम दार्शनिक थिएनन तर उनले आफ्नो ज्ञानको उच्चतम प्रयोग गरेर “नियमित आकस्मिकतावाद”को सृष्टि गरे | हरेक दर्शनशास्त्रका अनुसन्धाताबाट नवीनतम सिद्धान्त सृजनाको अपेक्षा गर्नु पर्छ | डा. निल तथा स्त्रोंगले भनेझैं “ईश्वर दार्शनिकहरूसंग भयभित रहन्छ किनभने उनीहरूले सृजना गर्ने नयाँ सिद्धान्तले कि विश्व व्यबस्थालाई चुनौति दिंदै विनाशतिर धकेल्छ कि प्रगतिको नवीनतम मार्ग प्रसस्त पार्छ |”   

 

1.    Martinich, A. P. 2005, Philosophical Writing: An Introduction, 3rd Edition, Malden, MA: Blackwell Publishing.

2.       Brook and Neil (2002 2nd edition) The Power of Ideas, Cambridge university press, USA.

3.       Gotam (BC 600) Nyaya Sutram, Chaukhamba Pustak, Banaras, India

4.       Berlin, Isaiah. 1978. “The Purpose of Philosophy.” In I. Berlin (ed.). Concepts and Categories. London: The Hogarth Press.

5.       Martinich, A. P. 2005, Philosophical Writing: An Introduction, 3rd Edition, Malden, MA: Blackwell Publishing.

6.    Ukpokolo, Isaac E. 2015. Methodology of Research and Writing in Philosophy: A Guide, Ibadan: Kairos Publishing.

7.    Rippon, S. 2008. A Brief Guide to Writing the Philosophy Paper, Harvard: Harvard College Writing Centre Brief Guide Series

योग, परिवार तथा मानसिक स्वास्थ्य

 

 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...