Saturday, February 11, 2023

भेलन्टाइन-डे अर्थात् सेक्सको व्यापारीकरण !

भारतवर्षमा फागुन र चैत महिनालाई बसन्त-ऋतु भनिन्छ | बसन्त ऋतुले मान्छेलाई प्रेम गर्ने र दिने आमन्त्रण गर्छ | भारतवर्षमा प्रेम-पर्व सम्भव थियो किनभने यहाँको मलिलो प्रकृतिले प्रचूरमात्रामा उत्पादन दिन्थी | भेलन्टाइन-डेको कुरा चल्दै गर्दा वसन्त ऋतुको कुरा पनि आउँछ | बसन्त ऋतुले मान्छेलाई सेक्सका लागि पागल बनाउंदैथ्यो तर भेलन्टाइन-डेका लागि कण्डम कम्पनीहरूको सुनौला विज्ञापनहरूले मान्छेलाई बौलाहाझैं बनाएको छ | नपत्याए गुगल गरेर खोज्नुस् विश्वमा सबैभन्दा कण्डम १४ फरवरीका दिन बिक्री हुन्छन् !!! यो सन्त भेलन्टाइनको सम्मान हो कि अपमान आफै विचार गरौँ |

मान्छेका लागि प्रेम दिनु र पाउनु धेरै महत्वपूर्ण विषय हो तर यो भन्दा पनि महत्वपूर्ण भोजन, निन्द्रा र सुरक्षा हुन् | भोको र असुरक्षित मान्छेले न प्रेम गर्न सक्छ न प्रेम दिन सक्छ | अनिन्द्राले जीवनी शक्ति क्षीण गर्छ | यदि तपाईंको पेट आंशिक रूपमा भए पनि नियमित भरिने गर्छ, केही क्षणका लागि भए पनि तपाईंले सुरक्षित अनुभव गर्नु हुन्छ र मज्जाले निदाएर जीवनी शक्तिलाई पुन: संचार गर्न सफल हुनुभएको छ भने तपाईंभित्र प्रेमका भावहरू उत्पन्न हुन्छन् | तपाईंलाई प्रेम गर्न र प्रेम स्वीकार्न मन लाग्छ |
निश्चयनै सजिलैसंग भर पेट भोजन प्राप्त गर्न सफल भएका र सुरक्षित ठान्नेहरूले प्रेमका सपना बुन्छन् | कुनै पनि भोको वा असुरक्षित व्यक्तिले "प्रेम पत्र लेख्दैन, प्रेम गीत गाउदैन, प्रेम-उपहार प्राप्त गर्न र दिनका लागि लामो प्रतीक्षा गर्दैन | उसका लागि वास, गास र कपास महत्वपूर्ण हुन्छ | प्रेमका ठाउँमा प्राकृतिक यौनक्रिया क्रियाशील हुन्छ | एउटा पशुले अर्को पशुसंग सम्भोग गर्दा केवल प्राकृतिक नियम पालन गरिरहेको हुन्छ, बंश-वृद्धिको प्राकृतिक क्रिया गरिरहेको हुन्छ | आहार, निन्द्रा, डर र मैथुन क्रिया (सेक्स)का सवालमा मान्छे र पशु बिच समानता छ | पशुमा बग्ने सेक्स-ड्राइभ मान्छेमा पनि बग्छ | सुरक्षित र अघाएको मान्छेले "नियम" पालन गर्ने सम्भावना हुन्छ |
डार्विनले मान्छेलाई देउताबाट पशुमा झारेर ठिकै गरे | विकासको चरम अवस्थामा पुगे पनि मान्छेसंग उसको प्राकृतिक पशुता रहन्छ नै | भोक लाग्ने, सेक्सका लागि मरिमेट्ने. सुरक्षा खोज्ने र निदाउँने क्रिया मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको हो | उससंग भएको बुद्धिले उपरोक्त प्राकृतिक ड्राइभलाई नियमित गर्ने प्रयत्न गर्छ | उदाहरणका लागि २१ सौं शताब्दिको "विकसित र ज्ञानी मान्छे पनि युद्धजस्ता असजिला अवस्थाहरूमा लुट्ने, बलात्कार गर्ने, मार्नेजस्ता पाशविक क्रियामा सजिलैसँग प्रवृत्त हुन्छ | यस्तो अवस्थाहरूमा बुद्धिले पशुतालाई सघाउने (सुरक्षित बलात्कार गर्ने र लुकाउने) क्रियालाई महत्व दिन्छ | सेक्स, सुरक्षा र डरको पशुता कहाँ, कतिवेला र कसरी जाग्छ र क्रिया सम्पन्न गर्छ ? कसैले भविष्यवाणी गर्न सक्दैन |
२१ सौं शताब्दिका धेरै मान्छेले भोक, सुरक्षा र निन्द्राको सहज अवस्था प्राप्त गरेका छन् | मानवीय इतिहासमा आजको मितिमा झैं मान्छे कहिलै पनि सुरक्षित र अघाएको थिएन | तेसैले मान्छेका लागि अनेकौं अवसर सृजना गरेर "रमाइलो" प्रकट गर्ने र गराउने अभूतपूर्व परिवेश प्राप्त भएको छ | आजका मान्छेको जीवन सहज तर चिन्तन र क्रियाकलाप निकै जटील छन् | मान्छेले प्रेमजस्तो आदर्श भावनालाई समेत "व्यापारको विषय" बनाएका छन् | भेलन्टाइन दिवसको अवसरलाई अत्यन्त सेलेब्रेटी बनाएर कण्डम-कम्पनिहरूले व्यापारीकरण गरेका छन् | युवापुस्ताहरूको स्वाभाविक प्रेमलाई "प्राकृतिक सेक्स-ड्राइभ"मा रुपान्तरित गरेर कण्डमको व्यापार गर्ने सूत्रको उपयोग गरेका छन् | भेलन्टाइन दिवसले "सर्वाधिक कण्डम बिक्ने" अवसर तेसै प्राप्त भएको होइन | सर्वेक्षणले यही भन्छ |
आजको युवापुस्ताले प्रेम र सेक्सका बिच कुनै पनि भिन्नता देख्दैन | प्रेम विना पनि सेक्स हुन सक्छ, बालबालिकाहरू जन्मिन सक्छन् तर प्रेम विना मित्रता, सहृदयता, करुणा, दया, ममता, नम्रता, कर्तव्यआदि सम्भव हुँदैनन् | यदि तपाईंले भेलन्टाइन दिवसलाई सेक्स-दिवसका रूपमा स्वीकार गर्नुभएको छ अथवा स्वीकृति प्रदान गर्नुभएको छ भने प्रेमको सीमा शरीरलाई भोगेपछि समाप्त हुनेछ | शरीरप्रतिको आकर्षणलाई प्रेम भन्न सकिन्न किनभने फेरी पनि शरीरले शरीरको मांग गर्ने छु र प्रेम शरीरको भोगसम्म पुगेर टुंगिने छ | प्रेम सेक्सको विरोधी होइन तर सेक्सचाहिं आफैमा प्रेम नभएर दुई शरीरको प्राकृतिक मिलन हो |
भेलन्टाइन दिवसका अनुयायीहरूले आत्मसमीक्षा गर्नुपर्छ कि प्रेम दिवसका नाममा कहीं कण्डम-व्यापारीहरूको व्यापारिक हतियार त वनिरहेक छैनौं ? यदि विवाहपूर्व शरीर भोग गर्नुभएको छ भने प्रेमका सवालमा अविश्वासका काँडाहरू रोपिएको छ | सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वीकृति विना एकअर्काको शरीर भोग्नेहरू विवाहपछि पनि एकआपसमा विश्वासनीय नै रहन्छन् भन्ने कुराको के ग्यारेन्टी ! एकआपसमा प्रेम गर्नु राम्रो कुरा हो तर विवाहपूर्व नै शरीरलाई भोग्ने निर्णय गरेर कण्डम कम्पनिहरूको क्रेता बन्नु र भविष्यको लागि दाम्पत्यमा शंकाका वादलहरू तयार पार्नु कुनै पनि अर्थमा उचित होइन |
अहिलेको समयमा रमाइला चाडवाडहरू वैश्विक भएका छन् | विश्व एकता गाउँझैं बनिरहेको अवस्थामा भेलन्टाइन-डेको आलोचना गर्दैमा युवाहरू यो यसबाट विमुख हुँदैनन् | नेपालमाको प्रणय दिवस बसन्त-पंचमी हो र बसन्त ऋतु (फागुन-चैत) प्रणय महिना हुन् भन्ने यथार्थतालाई पश्चिमी व्यापारले कुण्ठित पारेको छ | भेलन्टाइन-डे नेपालीहरूको मौलिक चाड होइन, यो सेक्सलाई बजारीकरण गर्ने विज्ञापन हो भन्दा सुन्नेवाल छैनन् | अन्त्यमा, भेलन्टाइन-डे कसैको लागि आत्मसम्मान लुटिने, बलात्कृत हुने र जीवनभरी हीनताबोधको कारक नबनोस् भन्ने तत्थ्यमा प्रत्येक युवायुवतिहरू सजग, सचेत हुनुपर्छ भने अभिभावकहरूले पनि विवेकको आँखा खोल्नुपर्छ किनभने प्रेम अभिशाप बन्नु हुँदैन |
स्वस्तिअस्तु

Wednesday, February 8, 2023

साकरोड़ियाको शिक्षाअनुभव

(१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका रूपमा जीवन यापन गर्छन् | उनका एकमात्र छोरावुहारी पनि गाउँमै वस्छन् | घरमा शहरमा भएका सबै सुविधा छन्, त्यो भन्दा पनि बढी सुविधा प्रदुषण रहित वातावारण र आफ्नै खेतको विषादीरहित भोजनको अवसर प्राप्त गरिरहनुभएको छ |

(२) "साकरोड़िया" गाउँ गुजरातको प्रमुख सहर अहमदावादबाट उत्तरतिर १७० किलोमिटर पर छ | हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वप्न र मोडेल प्रदेशको रूपमा प्रचारित गुजरातको यो गाउँको यात्राका क्रममा मैले त्यस गाउँको कृषि-व्यबस्था, अस्पताल, बालवाडी, गाउँपंचायतको कार्यालय, वैंक र पाठशाला (हाइस्कूल)को प्रत्यक्ष निरीक्षण गर्ने, सम्बन्धित अधिकारीहरूसंग र बालवालिकासंग कुराकानी गर्ने अवसर जुट्यो |

(३) यो गाउँको जनसंख्या लगभग ५६० जनाको रहेछ | यो गाउँमा सबै जातजातिको वसोवास भए पनि सबैभन्दा बढी समुदाय भने "पटेल"हरू रहेछन् | गाउँको हरेक घरबाट एकजना सदस्य अनिवार्य रूपमा अमेरिका, वेलायत वा अस्ट्रेलिया भएको बुझियो | म यो गाउँमा पुग्दा अमेरिकामा स्थायी वसोवास भएका यही गाउँका वासिन्दाहरूको विवाह भोज चलिरहेको थियो | यहाँ हुनेखानेहरूले ५ देखि ७ दिनसम्म आफन्तहरूका लागि विहान-वेलुका नै खाने व्यबस्था गर्दा रहेछन् | विवाह उत्सव लगभग १० दिनसम्म चल्दो रहेछ | विवाहका पहिका तीन दिन भने गाउँका कुनै घरमा पनि खाना पाक्दो रहेन छ | सवै गाउँले विवाहघरका पाहुना हुँदा रहेछन् | मैले पनि श्रीयोगेन्द्र शुक्लासहित विहान तथा वेलुका यही "भतेर"मा भोजन गर्ने अवसर प्राप्त गरें |

(४) गाउँ गुम्दै गर्दा कक्षा १० सम्म पठनपाठन गरिने ग्रामीण पाठशाला पुगियो | पाठशाला निकै स्वच्छ, व्यवस्थित र मर्यादित थियो | पाठशालामा १३९ जना विद्यार्थीहरू रहेछन् | ती विद्यार्थीका लागि १३ जना शिक्षकशिक्षिका रहेछन् | पाठशाला तीन ब्लकमा विभाजित रहेछ | शिशु, प्राथमिक र ६ देखि १० सम्म | सा-साना नानिवावुहरू कक्षाकोठामा पलेटी मरेर गलैचामा पढ्दा रहेछन् | कक्षा पांच भन्दा माथिका विद्यार्थीहरूका लागि भने टेवल कुर्सी रहेछन् | विहान १० बजे देखि ४ बजेसम्म कक्षा चल्दा रहेछन् तर कक्षाचारसम्मका विद्यार्थीहरू ३ बजे घर जाँदा रहेछन् |

(५) विद्यालयआउने सबै विद्यार्थीहरूका लागि विद्यालयमै तीन पटक भोजन र नास्ताको व्यबस्था रहेछ | विद्यालय आउँदा केही हल्का नास्ता, १ बजे भोजन र जाने वेला पुन: हल्का नास्ता विद्यालयले नै खुवाउदो रहेछ | मैले आफै विद्यालयको भोजनलय हेरें | त्यो निकै सफा र हाइजेनिक थियो | छ दिनका लागि छ प्रकारका भोजनको व्यबस्था रहेछ | विद्यार्थीहरूका लागि भोजन पकाउनु, खुवाउनु, सरसफाई गर्नु प्रोजेक्ट वर्कका अनिवार्य अंश रहेछन् | सबैभन्दा महत्वपूर्ण कुरा हरेक विद्यार्थीलाई सरकारले घरबाट आउने/जाने व्यबस्था गरिदिएको रहेछ |

(६) शिक्षक/शिक्षिकाहरू निकै फरासिला रहेछन् र विद्यार्थी मित्र रहेछन् | विद्यार्थीहरूको अनुशासन निकै राम्रो लाग्यो | हरेक कक्षामा स्मार्ट-कक्षाका लागि स्मार्ट-बोर्ड जडान गरिएको रहेछ | शिक्षक-शिक्षिकाले पढाएका हरेक विषयवस्तुहरू रेकर्ड गरिँदो रहेछ भने अन्य ठाउँका शिक्षकले पढाएका विषयवस्तु र इन्टरनेटमा भएका विषयवस्तुलाई पाठ्य-सामग्रीका रूपमा निकै उपयोग गरिंदो रहेछ | सबैभन्दा गज्जवको कुरा त के भने विद्यार्थीहरूले हरेक दिन घरबाट किताव बोकेर ल्याउनु पर्ने रहेनछ | हरेक विद्यार्थीले आफ्ना किताव आफ्नै टेवलमा छोडेर जाने वा लिएर जाने निर्णय गर्न पाउँदो रहेछ |
(७) कक्षा ४ सम्म गुजराती मिडियममा पठनपाठन हुँदो रहेछ भने तेसपछि अंग्रेजी, गुजराती, संस्कृत, हिन्दीआदि भाषामा पठनपाठन गरिँदो रहेछ | गुजरातका ८०% बालबालिकाले हिन्दी बुझ्दा रहेछन् भने बोल्नेचाहिं मातृभाषा मै रहेछ | मैले यी सबै विशेषता सरकारी विद्यालयको बताएको हुँ | गृहप्रदेश गुजरात भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षामा ठूलै लगानी गरेका रहेछन् भने त्यो लगानीको प्रतिफल पनि निकै राम्रो रहेछ |

(८) नेपालमा झैं गुजरातमा पनि "हुनेखाने र हुँदा खाने" दूवैले आफ्ना बालबालिकाहरूलाई अंग्रेजी मिडियमको पब्लिक स्कूलमा पढाउने इच्छा राख्दा रहेछन् | सरकारी विद्यालयहरूमा एतिबिध्न सुविधाहरू हुँदा पनि धेरैले दुखजिलो गरेर अंग्रेजी स्कूल रोज्ने रहेछन् | मैले निरीक्षण गरेको विद्यालयमा पनि धेरैजसो गाउँले न्यूजआय भएका परिवारका बालबालिका नै पढ्ने रहेछन् | गुजरातका गाउँहरूमा पनि अंग्रेजी पढ्नेहरूरू "जान्ने" हुन्छन् भन्ने सोच पछिल्लो पटक घटेको भन्ने पनि भेटियो |

(९) गुजराती सरकारी विद्यालयहरूका शिक्षक-शिक्षिकाहरू शिक्षाका क्षेत्रमा निकै समर्पित हुँदा रहेछन् र सरकारले पनि तिनको निकै ध्यान दिएको रहेछ | सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकशिक्षिकाहरू विद्यालय आउँदाजाँदा आफ्नै कार प्रयोग गर्दा रहेछन् अर्थात् उनीहरूले राम्रो तलव प्राप्त गर्ने रहेछन् | साथै अभिभावकहरू पनि निकै सचेत रहेछन् | मैले विद्यालयमा आएका हरेक विद्यार्थीहरू सफासुग्घर भेटिए |

(१०) एतिबिध्न सुविधा हुँदाहुदै पनि गाउँका हुनेखानेहरूले आफ्ना बालबालिकालाई सरकारी विद्यालय भन्दा "पब्लिक-स्कूल" पठाउने कुरामा महत्व दिंदा रहेछन् | यसको मूलकारण चाहिं "अंग्रेजी मोह" नै रहेछ | असलमा, गुजरातका गाउँगाउँबाट अमेरिका-वेलायत लगायत विदेशमा प्रवासीहरूको सङ्ख्या एकदम बढी रहेछ | मैले भ्रमण गरेको गाउँबाट पनि लगभग ५०% जनसंख्या प्रवासमा रहेछ | लाला भाई पटेलले भने "अभिभावकहरू अंग्रेजी माध्यममा पढाउन चाहन्छन् किनभने अमेरिका, वेलायत उनीहरूको सपना हुन्छ | सरकारी विद्यालयहरूमा धेरैजसो बालबालिकाहरू गरिव हुन्छन् |

(११) मोदी-सरकार आएपछि सरकारी विद्यालयहरूको परिवेश निकै वदलिएको छ | विद्यालयमा शिक्षक र शिक्षण प्रणाली निकै वदलिएको र सरकारले गुजराती र हिन्दीलाई समेत महत्वपूर्ण जागिर वा व्यवसायमा प्रयोग गर्ने नीति लिएपछि सरकारी शिक्षाप्रतिको साधारण दृष्टिकोण वदलिएको छ | अभिभावकहरू सरकारी विद्यालयमा आफ्ना बालबालिका पढून भन्ने चाहन्छन् तर अंग्रेजीको मोह गहिरो छ | आज सरकारी विद्यालयमा १२ कक्षामा पढ्ने विद्यार्थीले राम्रो अंग्रेजी बोल्न र लेख्न सक्छन् | संस्कृत, गुजराती र हिन्दी पनि निकै राम्रो हुन्छ |

(१२) सरकारी विद्यालयमा सबै जातजाति र थरका बालबालिका समान रुपले पढ्दा रहेछन् | यो विद्यालयमा मुस्लिम र जैनबालबालिकाको उल्लेखनीय उपस्थिति रहेछ | अचम्मको कुरा त के भने मुस्लिम बालबालिकाहरू र अभिभावकहरू पनि शाकाहारी रहेछन् | मैले यो कुराको प्रमाण सुरतबाट मुम्बई जाँदा बाटोमा भेटिएका ठूलाठूला भोजनालयहरू मुस्लिमहरूले संचालन गरेको र "वोहोरा" मुस्लिम पूर्णतया शाकाहारी हुने कुरा थाहा पाएँ | तेहा हिन्दू-मुस्लिमका विचमा "दुष्मनी" भन्ने सुनिएको कुरा झूटो रहेछ भन्ने लाग्यो |

(१३) मैले सोधें "नेपाल कहाँ छ ?" बालबालिकाले चिच्याएर जवाफ दिए "हाम्रो छिमेकी देश हो, पशुपतिनाथ र सगरमाथा त्यहाँ छ | धेरै पहाड़ छ | धेरै हिन्दूहरू छन् | धेरै जाडो हुन्छ | मान्छे इमान्दार हुन्छन् | गोरखाले हाम्रो देशका लागि काम गर्छन् | हामी भारतीयहरू नेपाललाई माया गर्छौं |" म तेस विद्यालयमा अचानक पुगेको थिएँ | कक्षा ८ का विद्यार्थीले एसो भन्दा निकै गौरव लाग्यो | आफ्नो देश, संस्कृति, धर्म र विश्वको ज्ञान राम्रो रहेछ -बालबालिकामा | मैले भने "तिमीहरू ठूलो भए पछि नेपाल आउनु, मैले स्वागत गर्ने छु |"
नेपाल र भारतीय सरकारी विद्यालयहरूको शिक्षा र अन्य सुविधाहरू वारे पाठकले नै निर्णय गरूँन् |
स्वस्तिअस्तु

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...