Monday, August 28, 2017

धार्मिकताको मनगढ़ंत ब्याख्या


धर्म तथा आचरणको ब्याख्या निकै संवेदनशील विषय हुन् | आचरणहरू समयानुकुल र परिवर्तनशील हुन सक्छन् तर धर्म सधैं निरपेक्ष र अचल रहन्छ | धर्मका विषयमा लेख्दा र बोल्दा निकै ध्यान पुर्याउनु पर्छ |

वेद नै धर्मको मूल स्रोत हो | वेद भन्नाले केवल चारवटा पुस्तकहरू ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद मात्र सम्झनु अपूर्ण बुझाई हो | वेदको अर्थ उपवेद, आरान्यक, ब्राह्मण ग्रन्थहरू, स्मृति तथा उपनिषदहरू पनि हुन् |

स्थानीय रितिरिवाज र परम्पराका आधारमा आचरण निर्माण हुन्छन् | वैदिक साहित्यहरूको काम ती आचरणहरूलाई स्पस्ट दिशा निर्देशन गर्ने मात्र हो | वेदका निर्देशहरू मानवकल्याणका साथै मोक्षदायक पनि हुन्छन् |

आजभोली आधुनिकताको रङ्गमा रंगिएर केही लेखक तथा आफुलाई आधुनिक भन्ने तर वैदिक संस्कृतिप्रति चरम शत्रुतापूर्ण विचार राख्नेहरूले वैदिक आचरणहरूमा अनेकौं प्रश्न उठाउने गरेका छन् |

लेखहरूमा विदेशीहरुले लेखेका धेरै कोटेशनहरू हुन्छन् र समानताका लागि व्यक्ति, समूह वा लिंगलाई "धर्मले तिमी विरुद्ध एस्तो ठूलो विभेद गरेको छ, अव तिमीहरूले हिन्दू धर्म विरुद्ध विद्रोह गर" भनेर उकसाउने काम गरेको देखिन्छ |

यी उक्साहटका लेखहरू तीज, दशैँतिहार, दीपावलीआदिका विरुद्ध हुन्छन् वा विवाहआदि संस्कारहरू विरुद्ध हुन्छन् | पढ्दा र सुन्दा निकै रोचक र वास्तविक लाग्ने यस्ता लेखहरूको वास्तविक धर्म तथा संस्कारहरूसंग कुनै सम्वन्ध हुँदैन | यस्ता लेखहरूको उदेश्य वैदिक संस्कारहरू र संस्थाहरूप्रति अविश्वास तथा शत्रुतापूर्ण दृष्टिकोण फैलाउनु मात्र हुन्छ |

हालै तीजमा एउटा लेख निकै भाइरल भएको देखियो | विदेशमा बसेका र हुर्केका वा देश मै आधुनिकताको रोग लागेकाहरूका लागि लेख निकै रोचक थियो तर के यो लेखले वैदिक-संस्कारलाई वास्तविकरूपमा प्रतिनिधित्व गर्छ त ? अहँ, पटक्कै गर्दैन |

लाखौं ब्यकितहरूले बढो सावधानीपूर्वक स्वीकार्दै आएका विषयहरूमा विद्रोही विचार राख्नु आफैमा गलत होइन तर यसले विनम्रअनुयायीहरूमा पर्ने जाने मानसिक पीडा, सांस्कृतिक पीडाको भरपाई कसले गर्छ ?

वैदिक धर्म-संस्कारमा धार्मिक आचरण कसैका लागि पनि जवार्जस्तोको विषय पटक्कै होइन | संस्कारहरू सधैं समाजले पालन गरेको देख्न चाहन्छ र व्यक्तिले पनि तिनको पालन गर्दा सहज अनुभूति गर्छ |

त्यसैले कुनै पनि संस्कार विरुद्ध कसैको वैचारिकरुपमा विद्रोही लेख आयो भने त्यसको विरोध वा समर्थनमा हाम फाल्नुभन्दा त्यस लेखको मर्म वैदिक संस्कार र प्रतिमान अनुकुल छ कि छैन भनेर विचार गर्नुपर्छ |

आफुलाई वैदिक धर्मको बलियो पहरेदार पनि हुँ भन्ने र वैदिक संस्कृतिका मौलिक तथा आधारभूत तत्थ्यहरूलाई अस्वीकार गर्ने वा आफ्नो सुविधाअनुसार ढाल्न खोज्नु अनुचित हो | नमान्नेहरू नमान्न स्वतन्त्र छन् तर मान्नेहरूले आचरणको अवैदिक स्वरूप स्वीकार गर्नु सुहाउँदैन |

वैदिक धर्मको वास्तविक स्वरूप बुझ्न निकै गारो छ | धेरै ऋषिहरूले धेरै प्रकारले आचरणहरूको ब्याख्या गरेका छन् | त्यसैके धार्मिक आचरणको सवालमा भावनामा बग्नुभन्दा पनि विवेकशीलता अपनाउनुपर्छ | धार्मिकताको मनगढ़न्ते र टपरतुइया ब्याख्याहरूबाट जोगिनुपर्छ |

आज श्रीकृष्णकी प्रेयसी श्रीराधाको जन्म दिवसको अवसरमा संसारका समस्त मातृशक्तिहरूप्रति सादर नमन |

Wednesday, August 23, 2017

विश्वनारीपर्व : तीज


के तीजमा हिन्दू महिलाहरू बाहेक अरू सहभागी हुनुहुँदैन भनेर कुनै धर्मशास्त्रमा उल्लेख छ वा नेपाली मिडियाहरूले जवरजस्ती "तीज"लाई हिन्दू महिलाको पर्व बनाएका हुन् ? वा तीज महिलाहरूको चाड हो वा हिन्दू महिलाहरूको मात्र ? यो प्रश्नले मलाई निकै सोच्न बाध्य पारेको छ |

तीज जुनसुकै कारणले वा जस्ले र जहिले आरम्भ गरेपनि अहिले नेपाली महिलाहरूको राष्ट्रिय चाडकारूपमा स्थापित भएको छ | मिडियाहरू र तथाकथित विभेदकारी दृष्टिकोणले "तीजलाई हिन्दू महिलाको मात्र" बनाउने भरमग्दूर प्रयत्न भए पनि नेपाली समाजमा यस्ता विभाजनकारी विचारको प्रभाव न्यूननै परेको छ |

हरेक वर्ष भदौको तृतीया तिथिका दिन भगवान् शिवको आराधना गर्दै महिलाहरूले सामुहिकरुपमा निराहार रहेर मनाउने हरितालिका ब्रतलाई "तीज" हो | यो महिलाहरूको सामाजिक, सांस्कृतिक तथा धार्मिक पर्व हो |

संसारमा धेरै पर्वहरू छन् | यहुदी, इसाई तथा मुस्लिमहरूका आ-आफ्नै पर्व छन् | यी धर्महरूमा धार्मिक तथा सांस्कृतिक पर्वहरू झेत्लिएका छन् | तर यी तीनै धर्ममा "महिला-केन्द्रीत" कुनै पनि सामाजिक, धार्मिक तथा सांस्कृतिक पर्वको अभाव छ |

ब्राजीलमा मनाइने कार्निवल महिला केन्द्रीत पर्व हो र यस पर्वको त्यहाँको चर्चले सधैं निन्दा गर्छ | भोल्भियामा मनाइने "भर्जिन"मा महिलाहरूको खासै आकर्षण देखिन्न | यो पर्व जिससकी आमा मेरीको प्रसंसामा मानिन्छ | चिली, पेरु र न्युजिल्यान्डमा मनाइने नारीपर्वहरू "मेरी"कै प्रसंशाको बाटोमा छन् | चर्चले यी पर्वहरूलाई मान्यता दिंदैन |

मुस्लिमहरूको एकमात्र सामाजिक नारीपर्व "मोरक्को"मा इमिचिलका रूपमा महिलाहरूले मनाउछन् | यो पर्वले विधवा, विधुर तथा एकल महिला-पुरुषलाई स्वेच्छाले पतिपत्नी चुन्ने अवसर प्राप्त हुन्छ | यो महिलामात्रको पर्व होइन |

स्वाजिल्याण्डमा हरेक वर्ष युवतीहरूको ठूलो मेला लाग्छ | यो मेलाको उद्देश्य नारीहरूको उत्थान वा सम्मान गर्नुभन्दा पनि त्यहाँका राजाको अगाडी आफ्नो रूपप्रदर्शन गरेर आफुप्रति लोभ्याएर रानी बन्नु हुन्छ |

मैले फिनल्याण्डमा १९९० देखि मनाउन थालिएको "पत्नी उठाउने" प्रतियोगिता बाहेक पश्चिमा जगतमा नारी केन्द्रीत चाडवाड भएको मलाई थाहा छैन | यदि यस विषयमा कसैलाई थाहा छ भने जानकारी दिनुहुन अनुरोध गर्छु |

चाइना, जापान, कोरिया तथा भारत-नेपालमा महिला केन्द्रीत धेरै चाडवाडहरू छन् | ती मध्ये नवरात्री, लक्ष्मीपूजा तथा तीज प्रमुख छन् | तर तीजपर्व अन्य पर्वहरू भन्दा बेग्लै महिलाका लागि मात्रै समर्पित छ |

तीज विश्वको एकमात्र एस्तो महिला पर्व हो जहाँ महिलाहरूले पूर्णस्वतन्त्रताको अनुभूति र प्रयोग गर्छन् | यदि कसैका लागि स्वतन्त्रताको अर्थ तथा प्रयोजन केवल "स्वतन्त्रता पूर्वक यौनजन्य ब्यबहार" हो भने एस्तो ब्यबहारको परिकल्पना तीजले गरेको छैन |

मलाई बडो गर्व लाग्छ, आज तीज नेपालीमहिलाहरूको सबैभन्दा "प्रिय" चाड बनेको छ | विश्वभरी नै नेपाली-तीज परम्पराको प्रसंशा गर्न थालिएको छ | देशमा सबै तवकाहरू यसलाई समावेश गर्न थालेका छन् | सबै जातजाति तथा वर्गका महिलाहरूको यसमा अभिरुचि बढेको छ |

प्रगतिशील बन्नका लागि आफ्नै पर्व, रितिरिवाज तथा संस्कृतिको निन्दा गरेर आफ्नो आजीविका चलाउनेहरूका लागि एस्तो "समावेशीकरण" नराम्रो थप्पड हो | जातका नाममा, धर्मका नाममा, ठाउँका नाममा र भाषाका नाममा मान्छेलाई विभाजित गराउने विचारकहरूको निंद उडेको हुनुपर्छ |

अर्को कुरा, तीज जवर्जस्तीको पर्व होइन | यो अनिवार्य पर्व पनि छैन | इच्छा भएकाले निराहार ब्रत गर्दा हुन्छ, नसक्ने ब्रत नवस्दा हुन्छ | हरितालिका ब्रत प्रसंगमा स्पष्टसंग भनिएको छ "रोगी, अशक्त, बृद्ध, अविश्वासी तथा अनिच्छुकले" ब्रत लिनुपर्दैन |

मैले केही महिला तथा पुरुषपात्रहरूले "तीजलाई महिला अधिकार विरोधी" तथा "अन्धविश्वास"को प्रतीक भनेर निन्दा गरेको सुने | उहाँले जवाफ दिनुपर्छ मार्च ८ मा महिला दिवस मनाउन थालेको १ सय भन्दा बढी वर्ष वितिसकेका छन्, फेरी तीजको झैं महिलाहरूको यसमा किन सभागिता हुँदैन ? किन यो केवल डलर पचाउने पर्वका रूपमा मात्र सीमित छ ?

कुनै पर्व तवसम्म सफल तथा स्वीकार्य हुँदैनन् तवसम्म तिनको "जरोकिलो" आफ्नो धर्म, संस्कृति तथा संस्कारसंग जोडिएको हुँदैन | ८ मार्च महिलाहरूको पर्व हुँदै होइन, यो महिलाअधिकारको नाममा "खातेपिते" व्यक्तिका लागि सृजित गरिएको रोजगारीको साधन हो |

हो, तीजका सबै आचारप्रकारहरू सबैको लागि अस्वीकार्य होलान् तर यो पर्व हिन्दूमात्रको भने पटक्कै होइन | आफ्नो लाग्नेलाई माया गर्ने महिला सबै धर्म तथा नास्तिकहरूमा छन् | आफ्नो परिवार तथा आफन्तहरूलाई माया गर्नेहरू महिला सबैमा छन् | तीजको यो संदेश सबैतिर दिन्छ र विश्वभरीका महिलाहरूलाई "प्रेम, समावेशीकरण तथा आफ्नो धर्म संस्कृतिप्रति" सम्मान प्रकट गर्न प्रेरित गर्छ |

आफ्नो धर्म, संस्कृति तथा विचारको प्रसारप्रचार गर्न अन्य धर्महरूका धार्मिक तथा सांस्कृतिक चालचलनको ज्ञान हुनु राम्रो हुन्छ तर त्यस्तो ज्ञानकप प्रयोग अर्काको निन्दा गर्न, अर्काका कमजोरीहरू प्रकट गरेर बेइज्जेत गर्न प्रयोग गर्नुहुँदैन | 

जुनसुकै धर्म वा संस्कृतिमा जन्मिएका महिलाले प्राकृतिक स्वतन्त्रता उपयोग गर्न पाउनैपर्छ | धर्म वा संस्कृतिका नाममा फलानो धार्मिकसमूहमा महिलाहरूको हिंसा हुन्छ भने चूप लगेर बस्न मिल्दैन | एस्तो अपराध तथाकथित धर्मनिरपेक्षतावादी सरकार र तिनका बुद्धिजीवीले मात्र गर्न सक्छन् |

महिलाको शरीरमा हिड्ने सबै मान्छेहरू महिला नै हुन्छन् | धर्म, संस्कृति तथा मान्यताका आधारमा तिनको शोषण हुँदा चूप लागेर बस्नेहरू महिलाका वास्तविक शत्रु हुन् | धर्म, धार्मिकता तथा अन्य प्रयोजनले नारीको स्वतन्त्रता कुण्ठित हुनुहुँदैन | मुस्लिम, हिन्दू, बौद्ध, जैन, इसाई समुहमा जन्म लिएको आधार मै अधिकारमा विविधता हुनुपर्छ भन्ने मान्यता पाखण्ड र मानवता विरोधी हो |

तीजको जरोकिलो नेपालमा छ | हामी नेपालीले यसमा गर्व गर्नुपर्छ | यस पर्वलाई विश्वपर्वको रूपमा स्थापित गर्ने कार्य हामी नेपालीहरूकै हो | यदि हाम्रा असल पर्वहरूको विषयमा हामीले बोलेनौं भने अरूले बोल्ने कुरै हुँदैन |

अन्तिम कुरा, हामीले तीज पर्वलाई "८ मार्च"लाई प्रतिस्थापित गर्दै विश्व महिला दिवसको रूपमा स्थापित गर्नेतिर प्रयत्न गर्नुपर्छ | हो, यसरी कुरा गर्दा केही "मानसिक दास"हरूलाई पिर पर्ला तर तीजको महानतालाई विस्थापित गर्न सक्दैन |

सबै मातृशक्तिहरूको जय होस्, सबै महिलाहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक समानता प्राप्त गरून् | तीज एस्तो विश्व नारी पर्व हो जसले उपरोक्त अधिकारहरूको प्रत्याभूति दिन्छ |

सर्वाधिकार - लेखकमा

Monday, August 14, 2017

गोठाला देखि भगवान् : श्रीकृष्णको सम्झना

गोठालादेखि भगवान् : श्रीकृष्णको सम्झना 
श्रीकृष्ण भगवान् थिए कि असामान्य मानव यस विषयमा विवाद हुन सक्छ तर निजले दिएको उपदेश श्रीमद् भगवत-गीताको महत्व तथा स्वीकार्यताको विषयमा कुनै विवाद हुन सक्दैन |

श्रीकृष्णको पहिचान केवल गीताका कारण होइन उनको जन्म, हुर्काई, कर्म तथा विद्वताताका कारण पनि छ | श्रीकृष्ण एउटा अचम्मका देव-मानव हुन् |

कृष्णको जन्म जेलखानामा भयो | उनका बुवाआमा देवकी तथा बसुदेव आठौँ सन्तान अर्थात् कृष्णको जन्मका लागि नै जेलमा राखिएका थिए | आठौँ सन्तान कृष्ण नै थिए | अर्थात् कृष्णको हत्या उनको जन्मपूर्व नै निर्धारित गरिएको थियो | मामाका हातबाट उनको मृत्यु लेखिएको थियो |

मृत्युले कृष्णलाई खान सकेन | जेलखानाका सैनिकहरू अचानक गहिरो निन्द्रामा परे | बसुदेवले डोकोमा बोकेर मथुराबाट करिव ३० किलोमिटर टाढा गोकुलमा पुर्याए |

राजाको छोरा भएर पनि कृष्णको बाल्यकाल नितान्त गोठालो भएर वित्यो | धूलो र गाईको सेवा उनको शिक्षा बन्यो | तर उनी केवल गोठालो मै सीमित भएनन् | उनले शिशु अवस्थामै बालबालिकाको हत्या गर्न खटिएकी पूतनाको प्राण पिए | एउटा बालकका लागि एस्तो कुरा सामान्य हुँदैन |

गाई-बहरहरू सधैं निर्धा हुँदैनन् | एउटा बलियो बहर मातेर जथाभावी कुद्न थाल्यो | त्यो बहरलाई नियन्त्रण गर्न नसकिए गोकुलका धेरै गोठालाहरू घाइते हुने थिए | बालक कृष्णले सुझबुझका साथ त्यो उत्पाति बहरलाई सजिलै नियन्त्रणमा लिए |

उनले डढेलोबाट तथा प्रदूषित पानीबाट (कालीनाग नियत्न्त्रण) गरेर गोकुलवासीहरूको जीवनको रक्षा गरे | आधिबेहोरीबाट पनि ब्रजवासीहरूलाई त्राण दिए | त्यतिमात्र नभएर उनले ठूलो बाढीको विपत्तिबाट पनि गोकुलवासीको रक्षा गरे |

एउटा साधारणबालकले गर्न सक्ने काम त कृष्णले गरे नै त्यस बाहेक कुनै पनि बालकले गर्नै नसक्ने काम पनि कृष्णले आफ्नो बाल्यकालमा गरेर देखाए | माटो खानु, गाई-बाच्छा फुकाउनु, चराउनु, दूधदही चोरेर खानु, साथीहरूसंग झगडा गर्नु, केटाकेटी जिस्क्याउनुजस्ता कामहरू कृष्णले साधारण बालबालिकाझैँ गरे तर पूतना बध, वृषासुर बध, त्रिणावर्त वध, कालियानाग नियन्त्रण आदि सबै कृष्णका असाधारण कार्य थिए |

वसुदेवले कृष्णलाई गोकुलमा पुर्याएको थाहा पाएपछि कंशले गोकुल निवासीहरूलाई निकै दुख दिन थाल्यो | त्यहाँका गोठालाहरूले दूधदही मध्ये धेरैजसो करका रूपमा मथुराका राजा कंशलाई बुझाउनु पर्ने भयो | कृष्णले त्यसको विरोध गरे |

उनी क्रान्तिकारी थिए | अदृश्य देव-देवताका तुलनामा जीवन्त प्रकृति अर्थात् गोवर्धनपूजाको समर्थनमा गोकुलवासीहरूलाई उभ्याए | उनी गोवर्धनको पूजा गर्न अर्थात् प्रकृतिको संरक्षण गर्न समाजलाई उत्प्रेरित गर्ने पहिलो बालक बने |

११ वर्षको उमेरमा कंशले कृष्ण र उनका दाई बलरामलाई मल्लयुद्ध गर्न मथुरामा आमन्त्रण गर्यो | यो एउटा षड्यन्त्र थियो - कृष्णको हत्या गर्ने | तत्थ्य कुरो जान्दाजान्दै कृष्णले मथुरामा गएर बडो चतुरतापूर्वक कंशको हत्या गरे |

कृष्णको अदभूत क्षमताका कारण उनी गोकुल लगायत ब्रजक्षेत्रमा निकै लोकप्रिय थिए | कृष्णको लोकप्रियताको घरघर चर्चा भयो | गोपिनीहरू अर्थात् गृहिणीहरूले कृष्णका बालपराक्रमलाई जनजनमा स्थापित गर्ने काम गरे |

११ वर्षे बालक श्रीकृष्णलाई "गोपिनीहरूसंग यौनजन्य क्रियाकलापका लागि जोडिनु" दुर्भाग्यपूर्ण कुरा हो | कृष्ण केवल ११ वर्षको उमेरसम्म मात्र गोकुलमा बसेका थिए | राधासहित अन्य गोठालाका बालबालिकाहरूले कृष्णप्रति अपूर्व प्रेम गर्नु स्वाभाविक नै ठहरिन्छ |

किनभने सानो उमेर मै कृष्णले गोकुलमा सम्पादन गरेका कामहरूका कारण उनी सबैका प्रेमी बन्नु निश्चित थियो | स्वाठहरूले मात्र बालक कृष्णलाई गोपिनीहरूको "यौन-प्रेमी"का रूपमा जोड्न र सोच्न सक्छन्, बुद्धि र विवेक भएकाले होइन |

कंशको मृत्युपछि राजा उग्रसेन नै बने | नन्द र यशोदाले बडो भारी मनले कृष्णलाई बसुदेव-देवकीका हातमा दिए | त्यसपछिमात्र कृष्ण र बलराम दुवैभाईले नासिकका संदिपनी ऋषिको गुरुकुलमा औपचारिक शिक्षा आरम्भ गरे |

सम्भवत: १२ वर्षको उमेरको आरम्भमा कृष्णले पहिलोपटक कखरा चिनेका हुन् | कृष्णको स्मरण क्षमता पनि अद्भूत नै ठहरियो | उनले एकवर्ष मै समस्त विद्याहरू सिक्न सफल भए | गुरु दक्षिणाका रूपमा गुरूका हराएका छोराहरूलाई खोजेर उनी समक्ष] प्रस्तुत गरेर आफ्नो अद्भूत क्षमता देखाएर आशिर्वाद प्राप्त गर्न सफल भए |

यसपछि अर्थात् १४ वर्षको उमेरपछि मात्र कृष्णको राजनैतिक यात्रा आरम्भ हुन्छ | मथुरामा फर्केपछि कृष्णले मगधका राजा जरासन्धको आक्रमण सहनु पर्यो | १८ पटकसम्म युद्धमा जरासन्धलाई पराजित गरे पनि वारम्वारको युद्धबाट मथुरा निवासीहरूलाई जोगाउन कृष्णले पलायनको बाटो रोजे |

जनताले यिनको यो कार्यलाई अनि औधी मन पराए | उनलाई रणछोडको नाम दिए | मथुराबाट पलायन भएपछि उनले निर्जन समुद्र किनारमा रहेको द्वारका भन्ने ठाउँमा नया नगरको निर्माण गरे | उनी पहिलो नगरका निर्माता नागरिक हुन् |

रुक्मणी नामकी राजकुमारीले मनमनै कृष्णलाई माया गर्न थालेकी थिइन् तर उनको दाईले एउटा अत्याचारी राजकुमार शिशुपालसंग उनको जवर्जस्ती विवाह गर्ने निश्चय गरे | रुक्मिणीले लेखेको प्रेमपत्र प्राप्त गरेपछि कृष्णले रुक्मणीलाई विवाह मण्डपबाट नै अपहरण गरेर विधिपूर्वक विवाह गरे |

त्यसपछि उनले क्रमशः सातबटा अन्य कन्याहरूसंग विवाह गरे | सबै रानीहरूसंग समान र सम्मान जनक ब्यबहार गर्ने गरेको उल्लेख भागवत महापुराणमा ऋषि नारदले स्वयम् देखेका थिए | यस अर्थमा कृष्णको गृहस्थी जीवन पनि अद्भूत नै थियो |

यसै विच श्रीकृष्णको जीवनमा एउटा अद्भूत घटना घटित भयो | एउटा पहाडी राजाले देश-विदेशबाट कन्याहरू चोरेर १६ हजार १ सय आठबटा पुर्याएर जवर्जस्ती विवाह गर्न चाहान्थ्यो | ती सबै झ्यालखानामा कोचिएका थिए | ती कन्याहरूले कृष्ण समक्ष उद्धारका लागि खवर पठाए |

श्रीकृष्णले आक्रमण गरेर ती कन्याहरूलाई झ्यालखानाबाट मुक्त गराए तर ती कन्याहरूलाई स्वीकार गर्ने कोई देखिएन | श्रीकृष्णले ती सबैलाई पत्नीको दर्जा दिए | १६१०८ कन्याहरूसंग विवाह गरेर ती सबैसंग न्याय गर्नु साधारण मानिसका लागि संभव हुँदैन |

त्यसै विच दिल्लीमा सत्ता संघर्ष चर्कियो | कृष्णकी सानिमा अर्थात् कुन्ती र तिनको परिवारलाई राजा धृतराष्ट्रले अन्यायपूर्वक बनवास पठाए | यो खवर सुनेर श्रीकृष्ण निकै दुखी भए | उनले धृतराष्ट्र र कुन्तिको परिवारमा मिलाप गराउने प्रयन्त गरे |

बनवासकालमा पाण्डवहरूको श्रीकृष्णले निकै सहयोग गरे | वनवासको अन्त्यभएपछि दूईराज घरानाहरूविच ध्रुवीकरण भएका राजाहरूका विच युद्ध नहोस् भनेर श्रीकृष्ण आफै शान्ति दूत बनेर धृतराष्ट्र समक्ष गए |

"पांचबटा गाउँ भए युद्ध गर्नु पर्दैन र विनास रोकिन्छ" भनेर अनुरोध गर्दा पनि दुर्योधनले नमानेपछि महाभारतको महायुद्ध निश्चित भयो | द्रोपदीको अपमानको रीसले चूर बनेका भीम र अर्जुनआदि पाण्डवहरू युद्धको तयारीमा लागे |

महाभारतको युद्ध निश्चित भयो | पाण्डव र कौरवका सेनाहरू आमनेसामने उभिए | अर्जुनआफ्नै आफन्तसंग लड्नुपर्ने देखेपछि लड्दिन भन्न थाले | यो कुरा श्रीकृष्णलाई धर्मसंगत लागेन | यहीं विश्वको अद्भूत उपदेशात्मक गीत अर्थात् श्रीमद्भगवद्-गीताको प्रवचन श्रीकृष्णबाट अर्जुनका लागि भयो |

श्रीकृष्णले युद्ध रोक्ने सक्दो प्रयास गरेकै हुन् | असफल भएपछि उनले आफ्नो शक्तिशाली नारायणी सेना कौरवलाई र एक्लो आफु पाण्डवतिर बसे | श्रीकृष्णले दूबै परिवारसंग सुमुचित न्याय गरे | सानो सेना भए पनि पाण्डवहरूले महाभारतको महायुद्ध जित्न सफल भए किनभने स्वयम् श्रीकृष्ण उनीसंग थिए |

पछि, श्रीकृष्णको परिवारमा मद्यपानले जरो गाड्यो | समुद्री किनारमा पारिवारिक जमघट भएको बखत यदुवंसी ले मद्यपान गरे | मदको झोकमा आपसमा भयङ्कर लडाई गर्न थाले | बलरामले त्यो युद्ध रोक्ने असफल प्रयत्न गरे | कृष्णले भने मद्यपानीहरूलाई आपसमा लडेर मर्नु नै उचित ठाने |

समस्त यदुवंसीहरू मद्यपानको व्यसनले मारिए | श्रीकृष्ण कत्तिपनि दुखी भएनन् | उनी एउटा पिपलको फेदमा ध्यानस्थ भए | यसैविच एउटा शिकारीले उनको पैतालालाई मृगको मुख ठानेर प्रहार गर्यो | यसपछि श्रीकृष्णले आफ्नो स्वरूप संवरण गरे |

सनातन धर्मावलम्बीहरू श्रीकृष्णलाई "पूर्णब्रह्म" भन्छन् | केही पुराणहरूले श्रीकृष्णलाई विष्णुको नवौं अवतार भनेर उल्लेख गरेका छन् | वेददेखि लिएर श्रीकृष्ण आधुनिक लोकगीतसम्म लोकप्रिय छन् | ब्रह्मादेखि एउटा सामान्य मगन्तेसम्म (सुदामा)को पहुँच छ | यही कृष्णको गुरुत्व हो |

गोकुलमा आफ्नो जीवनका ११ वर्ष विताएका कृष्णले पुन: फर्केर पुगेनन् | मथुरामा फर्केंन् | आफ्नी प्रेयसी राधा तथा प्रेमी गोपगोपिकाका लागि उपलब्ध भएनन् | लक्ष साधनमा हिंडेका व्यक्तिहरूका लागि एस्तो निर्मोही जीवन ठूलो शिक्षा हुनसक्छ |

परिवार, गाउँ वा कुनै तुच्छ सामाजिक रागमा अल्झिने व्यक्तिले श्रीकृष्णको गुरुत्व प्राप्त गर्न सक्दैन भन्ने कुराका श्रीकृष्ण आफै जीवन्त उदाहरण हुन् | उनी निर्मोही छैनन् तर कर्तब्यपथका लागि सबै मोहका बन्धन तोड्न सक्छन् | गोकुलमा मात्र अल्झेको भए उनी गीताकार बन्न सक्दैनथे होला |

जव मान्छेमा ज्ञान, विवेक तथा सदाचारको घनत्व हुन्छ, उ हरेक जात, भूगोल, वर्णआदिका छुद्र सिमानाहरूबाट माथि उठ्छ | कृष्णको अर्थ कालो हो | कृष्ण जन्मले गोरा थिएनन् | उनको महान चरित्रले कालो शरीरलाई नै सर्वसुन्दर, स्वीकार्य तथा पूज्य बनायो | आज कृष्णको कालो मूर्ति हामी सबैले पूजा गर्छौं |

कृष्ण गोठाला थिए | भारत सरकारले यादवथर भएका जातहरूलाई अछूतमा वर्गीकरण गरेको छ | श्रीकृष्णको जन्मजातले उनको स्वीकार्यता कुण्ठित भएन | प्राचीनकालदेखि नै श्रीकृष्ण सर्वोच्च विद्वान ब्राह्मणहरूका लागि पनि उत्तिकै पूज्य छैन | कुनैले पनि श्रीकृष्ण अहिर थिए भनेर अपमान गर्दैन |

सानिमाका छोरा युधिष्ठिरले राजसुय यज्ञ गर्दा कृष्णले आगन्तुकहरूको पाउँ धुने सेवा स्वीकार गरे | यो सेवा उनले स्वेच्छाले लिएका थिए | त्यस बखतका सर्वशक्तिशाली नागरिकको गर्वले "सवै काम समान हुन्छन्" भन्ने चेतना स्थापित गर्न नै उनले सबैभन्दा कमसल कार्य स्वीकार गरेका हुन् | यस अर्थमा, कामको समान सम्मान हुनुपर्छ भन्ने सोचका जनक पनि श्रीकृष्ण नै देखिन्छन् |

धृतराष्ट्रका महामन्त्री विदूर शूद्र परिवारका व्यक्ति थिए | उनी श्रीकृष्णसंग गहिरो स्नेह राख्दथे | श्रीकृष्णले यो स्नेहलाई चिने | प्रचलनमा रहेका सबै प्रकारका जातीय विभेदहरूको अपहेलना गर्दै विदूर पत्नीको जूठो समेत मीठो मानेर खाए |

उनी छुवाछुतवाद उन्मुलनका पहिलो सूत्राधार हुन् | उनले सह्भोजनका माध्यमबाट नै छुवाछुतवादको उन्मुलन हुन्छ भन्ने संदेश दिए | विदूर पत्नीको जूठो स्वीकार गरेर उनले आफुले गीतामा दिएको उपदेश "जन्मना जायते शूद्र कर्मणा द्वीज उच्यते अर्थात् हरेक व्यक्ति जन्मदा शूद्र हुन्छ र उसका कर्मले उ बाहुन, क्षेत्री, वैश्य वा शूद्र हुन्छ" भन्ने कुरा ब्यबहारमा देखाए |

आधुनिक विश्वले समानता, शान्ति तथा सद्भावको कुरा गरिरहंदा श्रीकृष्णले गीताका माध्यमबाट कर्म, ज्ञान, भक्ति तथा सन्यासयोगका माध्यमबाट सर्व-समानताको विवेचना गरे | "हरेक कर्म ज्ञान, समर्पण तथा निरपेक्ष रुपले गरे मात्र लक्षसाधी हुन्छ" भन्दै हरेक व्यक्तिले आफ्नो प्राकृतिक गुणअनुसारको कर्म अगाल्नुपर्छ भन्ने बैज्ञानिक अवधारणा दिए |

आज मनोविज्ञानले बालबालिकाको प्राथमिक "ट्रेटको पहिचान गरेर शिक्षादीक्षामा अग्रसर गर्नुपर्छ" भनिरहंदा श्रीकृष्णले सत्व,रजस तमस र तिनको संघर्षबाट निर्मित हुने मानव-व्यक्तित्व अर्थात् ब्राहमण (शिक्षण), क्षेत्री (सैनिक), वैश्य (व्यापार) तथा शूद्र (शारीरिक परिश्रम कार्य) अनुसार काममा लाग्न प्रेरित गरे | उनी मानव-मनोविज्ञानका प्रथम गुरू हुन् |

श्रीकृष्ण लीला पुरुषोत्तमका रूपमा चिनिन्छन् | श्रीकृष्णका कार्यहरूको नक्कल गर्न सकिन्न | सात दिनको उमेरमा कसैले पूतना मार्न सक्दैन न त सात वर्षको उमेरमा कान्छीऔलामा गोवर्धन पर्वत नै उठाउन सक्छ | न कसैले १६८०८ पत्नीहरूसंग समान ब्यबहार नै गर्न सक्छ | न कुनै नक्क्ल्चीले युद्धभूमिजस्तो अशान्त ठाउँमा गीतासरहको उपदेश नै दिन सक्छ |

श्रीकृष्णको अनुकरण होइन, अनुसरण गरिनुपर्छ | एउटा सामान्य गोठालो त्यसै पूर्णब्रहम श्रीकृष्ण बनेको होइन | त्यसै पूज्य बनेको होइन | द्वापरयुगमा श्रीकृष्ण जन्मिएका होलान् तर आज करोडौं-अरवौं मानिसहरूका हृदयमा श्रीकृष्ण ज्ञानका रूपमा विद्वामान छन् |

उनी कर्ममा विश्वास गर्नेहरूका लागि कर्मका आदिगुरु तथा प्रेरणाका रूपमा विद्यमान छन् भने आत्मसमर्पणमा विश्वास गर्नेहरूको विश्वासमा भक्ति बनेर प्रवाहित छन् | ज्ञान वा बौद्धिकतामा विश्वास गर्नेहरूका लागि उनी वेद तथा उपनिषदका मूलतत्व बनेर विद्यमान छन् भने वैरागी स्वभाव भएका व्यक्तिहरूका लागि संन्यासयोगका रूपमा तत्वदर्शन गरिरहेका छन् |

श्रीकृष्णले कुनै पन्थको कुरा गरेनन्, मजहवको कुरा गरेनन् | उनले गीताको उपदेश दिंदै गर्दा गीतालाई "हिन्दूहरू"को सानो घेरामा राखेनन् | उनको व्यक्तित्व मानवताको हो | गीताको मर्म वैश्विक धर्म हो |

श्रीमद्भगवद्-गीता नपढ्नेले श्रीकृष्णको गहन व्यक्तित्व बुझ्नै सक्दैनन् | जन्माष्टमीको पवित्र अवसरमा मानवतामा विश्वास गर्ने हरेक व्यक्तिले गीता पढ्ने, मनन गर्ने र अनुसरण गर्ने प्रतिज्ञा लिनुपर्छ | यो पढेपछि श्रीमद्भागवत तथा अन्य पूराणहरूमा प्रवेश गर्न सजिलो हुन्छ |

आफ्नो धर्म, संस्कृति तथा रितिरिवाजहरू सबैका लागि प्रिय हुन्छन् | श्रीकृष्ण जन्माष्टमी मनाई रहंदा वा श्रीमद्भगवत-गीताको अध्ययन गर्दा अन्य धर्मलाई होच्याउनु आवश्यकता छैन | इसाईले जिससलाई मानुन्, मुस्लिमले अल्लाहलाई मानुन् | किनभने श्रीकृष्णले गीतालाई "हिन्दूहरूको धर्म ग्रन्थ गीता हो" भनेर नभनेको हुँदा सबै धर्मका व्यक्तिहरूले गीता पढ्दा हुन्छ |

अन्त्यमा, हामी सबैको जीवन कृष्णमय होस्, गीतामय होस्, कुनै पनि धर्मप्रति कुनै प्रकारको दुर्भावना नहोस् | देश, विश्व र विश्वका सबै मानिसहरूले कर्म, भक्ति, ज्ञान र संन्यासयोगका माध्यमबाट जीवनको भौतिक तथा आध्यात्मिक लक्ष प्राप्त होस् | आऔं, सबै मिलेर विश्वशान्तिका लागि काम गरौँ - निष्काम, निष्पाप तथा आन्तरिक प्रेरणाबाट |
(c) Govinda S. Upadhyaya Phd

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...