Tuesday, December 21, 2021

श्रीमद्भगवद्-गीता छैठो आयाम

श्रीमद्भगवद्-गीता  छैठो आयाम
हामी तेस्रो आयाममा छौँ | चौथो आयाम समय हो जसले हाम्री समेत समस्त विश्वको जन्म, पालन र अन्त्यलाई नियन्त्रित गर्छ | पाँचौ आयाम भनेको हाम्रो भाग्यमा नियन्त्रण गर्ने शक्ति हो भने छैठो आयाम ब्रह्म हो जसले सम्पूर्ण विश्वको सृष्टिको निर्माण गर्छ | श्रीमद्भगवद्-गीताले प्राथमिक तीनबटा आयामहरूसंगै अघिल्ला तीनबटा आयाम अर्थात् समय, भाग्यविधाता र ब्रह्मसंग जीवको मिलन गराउँछ |

संस्कृतमा "ब्रह्म" शब्दको अर्थ विशालतम भन्ने हुन्छ | यही विशालतमबाट ब्रह्माण्डको निर्माण भएको हो | कुनै पनि वस्तु वा विषय यस विशालतमबाट वाहिर हुनै सक्दैनन् | एउटा अणुले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने ब्रह्माण्डले अणुको | आजको विज्ञानले यो तत्थ्यलाई स्वीकार गरेको छ |

गीताले एउटा व्यक्तिलाई साधना गरेर आफुभित्र सम्पूर्ण ब्रह्माण्डलाई साक्षात्कार गर्न अभिप्रेरित मात्रै गर्दैन अपितु त्यो अवस्था प्राप्त गर्ने साधना पनि बताउँछ | पाँच महाभूत (पृथ्वी, जल. तेज, वायु र आकाश)को अस्तित्व मान्ने तर चेतनाको श्रोतलाई अस्वीकार गर्ने आधुनिक भौतिक विज्ञानको निष्कर्ष त्रुटिपूर्ण ठान्छु | जसरी विशालभित्र भौतिक वस्तुहरूको उपलब्धि छ तेसैगरी चैतन्यतत्वको पनि उपस्थिति छ |

ब्रहम र ब्रह्माण्डको अंशका रूपमा हरेक व्यक्तिले आफ्नो विराटअवस्था साक्षात्कार गर्न सक्छ | अर्जुनले विराट रूपको दर्शन गरेका थिए भन्नुको अर्थ हो अहिलेको त्रिआयामबाट माथि उठेर छैठौं आयाम अर्थात् अणुमा विराट र विराटमा अणुको आत्मसाक्षात्कार तथा एकीकृतभावमा स्थापित हुनु | उपनिषद् तथा पुराणहरूमा धेरै व्यक्तिहरूले साधना गरेर यो अवस्था प्राप्त गरेका उदाहरण उपलब्ध छन् |

मैले आफै पनि धेरैपटक गायत्री जप्दै गर्दा भौतिक शरीरले पन्चमहाभुतसंग र चेतनाले सत्चिन्दनंद अवस्थाको क्षणिक अनुभूति गरेको छु | मेरा अनुभूतिहरू मनोबैज्ञानिक विकृति वा मनोविषाद होइनन् | यी अनुभूतिहरूले मलाई सधैं प्रसन्न रहन र पुन: तिनै अनुभूतिहरूको उद्योग गर्न अभिप्रेरित गर्छन् | आहार, विहार तथा क्रियामा सात्विकता हुनुपर्छ भन्ने साधनामा विश्वास नगर्ने तर विराटको साक्षात्कारमा अभिरुचि राख्नेहरूका लागि विराट सधैं अनुपलब्ध विषय हुनेछ | छैठौं आयाममा आरुढ़ हुन तेसका नियमहरू, साधनाहरु, खुड्किलाहरू चड्दै जानुपर्छ |

मनोमय शरीरबाट माथि उठ्न नचाहनेहरूका लागि "आकाशको फल आँखातरी मर" भनेझैं ब्रह्माण्डका कणकणमा फैलिएको विशालता सधैं अन्धविश्वासमा गुम्ने छ | जवसम्म हामीले ब्रहम तथा ब्रह्माण्डका बिचको अन्तरसम्वन्ध र एकत्वको (चैतन्य तथा जड) आत्मानुभूति गर्दैनौं तवसम्म हाम्रो लागि जडपदार्थ सत्य प्रतित हुन्छ तर जडपदार्थलाई चिन्न, नियमन गर्न र अनुभूति गर्न सक्ने चैतन्य अविज्ञात नै रहन्छ | चेतनारहित जड र जडरहित चेतना व्याबहारिक रुपमा सम्भव विषयवस्तु हुन् भने आध्यात्मिकस्तरमा दूवै अविच्छिन्न विषय हुन् |
गीताका अनुसार छैठो आयाम कुनै काल्पनिक (मनोवाद) होइन | व्यक्तिले साधना गरेर प्राप्त गर्न सक्छ | अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय कोशहरूको यात्रा गर्न शरीर नै चाहिन्छ किनभने शरीरसंग आबद्ध रहेको चेतनाले नै यी पांचआयामहरूको साक्षात्कार गर्न सक्छ | शरीरको विनाशपछि गरिने साक्षात्कारको भौतिक प्रयोजन हुँदैन | तेसैले योगकारले योगसाधनाको आधार शरीरलाई तोकेका छन् र यसलाई भौतिक, मानसिक तथा आध्यात्मिकतहमा स्वास्थ्य राख्ने विधिहरू निर्माण गरेका छन् | विधि स्वीकार नगर्ने तर आलोचना गर्नेहरू दयाका पात्र हुन् |

वाम, दक्षिण र मध्यमको शब्दजाल


वाम, दक्षिण र मध्यमको शब्दजाल
वाम र दक्षिण पन्थ भन्ने शब्दहरू नेपाली मिडिया र तथाकथित बुद्धिजीविहरूमा निकै प्रचलित छन् | वाम शब्दलाई विकासवादी, प्रगतिशील, बैज्ञानिक तथा आधुनिकतासंग जोड्ने र दक्षिण शब्दलाई पुरातनवादी, विकासवाद विरोधी, अवैज्ञानिकता र नेपालका हकमा हिन्दूवादी तथा राजावादीहरूलाई समेत जोड्ने गरिन्छ | यो सबै भारतीय कम्म्युनिस्ट दार्शनिक देवीराम चट्तोपाध्यायको देन हो र नेपाली बुद्धिजीवि तथा तथाकथित मोडर्नहरूले तिनैबाट सिकेका हुन् |

अंग्रेजीको राइट-विंग नेपालीमा दक्षिण र अंग्रेजीको लेफ्ट विंग नेपालीमा वाम बनेको पढ्न सकिन्छ | के साच्चिकै दक्षिणधर विकास विरोधी, अवैज्ञानिक, पुरातनवादी र नेपालका हकमा हिन्दूवादी नै हुन् ? अनि, वाममार्गी भनेका साच्चिकै प्रगतिशील, आधुनिकतावादी, विज्ञानसम्मत र अग्रगामी छन् ? व्यबहारमा ठीक उल्टो छ | प्राय:जसो मार्क्सवादीहरू "जडसूत्रवादी" हुन्छन् भने विकासमा भन्दा विनाशमा बढी भर पर्छन् | तथाकथित "वामपन्थी"हरूले आफ्नो राजनैतिक शक्तिले सम्बन्धित देशको "उन्नति" गरेको भेटिंदैन् | चीनलाई जडवादी कम्युनिष्टहरूले "वामपन्थी" नै मान्दैनन् |

विश्वमा जेजति विकास भएका छन् - मूलत: दक्षिण पन्थिहरूकै वर्चश्वमा भएका छन् | बामपन्थिहरूले अमेरिका, वेलायत, युरोप, अस्ट्रेलियाजस्ता विकसित देशहरूलाई "दक्षिण" पन्थी भनेर आलोचना गर्छन् तर विश्वका हरेक बामपन्थी यिनै देशको नागरिक बन्न चाहन्छन् | मैले धेरै नेपाली कम्युनिस्ट नेताहरूलाई चिनेको छु, जसले आफ्ना सन्तानहरूलाई उपरोक्त "दक्षिण पन्थि" देशमा पढाएर उनीहरूकै आलोचना गरेर जीविकोपार्जन गरिरहेका छन् |

तेस्रो धारलाई "माध्यममार्गी" भन्ने गरिन्छ | मुलत: तथाकथित धर्मनिरपेक्षहरू, वामपन्थ र दक्षिण दूवैसंग सहकार्य गर्न नसकेका र चरम अवसरवादीहरूले मध्यममार्गको प्रतिनिधित्व गर्छन् | बामपन्थिहरूसंग भेट्दा आफुलाई वामपन्थीको शुभचिन्तक भन्ने र दक्षिण पन्थिहरूसंग भेट्दा आफु "स्वतन्त्रता"को पक्षधर "प्रजातान्त्रिक" भन्दै दूवैतिर ठीक्क हुने यो धारको विशेषता हो | नेपालका हकमा यो वर्गले सधैं बहुमतको विरोधमा काम गर्छ | अल्पसंख्यकको नाममा घृणावाद फैलाउन र त्यो असंगति देखाएर पूँजीवादी र सर्वहारा दूवैसंग "डलर" चप्काउन्छ |

अव अलिकति इतिहासतिर जाउँ | फ्रान्सेली क्रान्ति (१७८९) तिर यो शब्दको प्रचलन भएको थियो | तत्कालीन राज्य सत्ता कब्जा गरेका किसानहरूले आफुलाई लेफ्ट भने र तत्कालीन संसदलाई राइट भने | यहाँ राइट शब्दको मूल अर्थ "किसान-विरोधी सत्ता" भन्ने थियो | पछि, मार्क्सवादीहरूले फ्रेन्च-किसानहरूको यो आन्दोलनलाई "समाजवाद"संग जोडे | मूलत: पूँजीवादलाई सम्वोधन गर्न "राइट"शब्दको थालनी भयो | अर्कोतिर, १७९२ मा नया फ्रेन्च संसदको बैठकमा क्रान्तिकारीहरू संसदको बाँया सीट, आफुलाई तटस्थ राख्नेहरू बीचमा र आफुलाई राजावादी ठान्नेहरू (तेस बखतका धनिमानीहरू) दाहिनेतिरका कुर्सीमा बस्ने गरेका थिए | तेसै बखतदेखि दक्षिण र वाम यी शब्दहरू राजनैतिक वृत्तमा उदाए |

अव नेपालको कुरा गरौँ | नेपालका वामपन्थिहरूले आफुलाई "प्रगतिशील, वैज्ञानिक तथा अग्रगामी" भएको ठान्छन् तर व्यबहारमा कतिविध्न अव्यवहारिक र एकआपसमा असंगत छन् भन्ने तत्थ्य प्रचण्ड बहुमतमा बनेको ओलीको सरकार ढलेकोबाट देख्न सकिन्छ | वामपन्थी भन्ने "प्रगतिशील"हरूले आफ्नो बचाउँका लागि जे-जस्तो तर्कदिए पनि यिनीहरू बीच एकआपसमा लुकेको घृणावाद र जडसूत्रवाद छताछुल्ल भएको छ | आजको नेपाली परिवेशमा वामपन्थ भनेको संधैं अर्काको आलोचना गर्ने, कसैले उद्योग गर्न थाल्यो भने पूँजीवादको उदय देख्ने, आफु बाहेक सबैलाई पुरातनवादी ठान्ने रोगबाट ग्रस्त छन् | यिनका नाराहरू धेरै आकर्षक छन् तर व्यबहार निक्कै अप्रगतिशील र स्वार्थी छ |

दक्षिणपन्थिहरू नेपालमा छन् कि छैनन् ? म द्विविधामा छु | मार्क्सको परिभाषाअनुसार "पूँजीवादी तथा पुँजीपति" दक्षिण पन्थि मान्नुपर्छ | नेपालमा आफ्नो पूंजी नभएको कुनै परिवार छैन | मार्क्सवादलाई मान्ने धेरैको आफ्नो निजी-सम्पति छ अर्थात् पूंजी छ | धार्मिकहरूलाई दक्षिण पन्थि भन्ने अर्थ फ्रेन्च-क्रान्तिकारीले गरेकै थिएनन् | यदि स्वधर्म, संस्कृति र आत्मउत्थान गर्दै अर्कोको लागि रोजगारी दिने, राष्ट्रीय कोषमा राजश्व दिने, आफ्नो धर्म, संस्कृति तथा देश र जनताका विषयमा चासो राख्ने र घृणावाद विरुद्ध बोल्नेहरू दक्षिण पन्थी हुन् भने एस्तो दक्षिण हुनु गौरवको कुरा हो | बनेको भत्काउने भन्दा बनाएर दुईजनालाई रोजगारी दिने धेरै महान् हुन्छ |

तेस्रोवर्ग अचम्मको वर्ग हो | धर्मनिरपेक्षता, समानता, मानवाधिकारआदि यो वर्गका कर्णप्रिय नारा हुन् | असलमा यो वर्ग "शक्ति केन्द्र"को चापलुसी गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने व्यक्ति हुन् | उदाहरणको लागि नेपालमा एस्तो वर्गले सधैं गरिवी, अशिक्षा, असमानता, वेथिति, अन्याय, भष्टाचारआदि मात्रै खोज्दछ | यो वर्गले "गरिवी"लाई माग्ने भाँडो बनाएर राजनीति र समाजसेवा गर्छ | वामपन्थीसंग "लाभ" भए वामपन्थीसंग र दक्षिणपन्थीसंग लाभ हुने भए दक्षिणसंग लिसोझैं टाँसिने गर्छ | अर्कोतिर दक्षिण र बामलाई भिडाएर तमासा गराउने वर्ग पनि यही हो |

नेपाली वामपन्थीहरूले नेपाली कंग्रेसजस्ता प्रजातान्त्रिक पार्टीहरूलाई मध्यममार्गी भन्छन् भने जरोकिलो, राप्रपाजस्ता पार्टीहरूलाई दक्षिण पन्थी भनेर सम्वोधन गर्छन् | कम्युनिस्टहरूका नजरमा संसदीय राज्यव्यबस्था दक्षिणपन्थ हो | दुर्भाग्यवस, नेपाली मिडियाहरू जसले आफुलाई प्रजातन्त्रका पक्षधर ठान्छन्, उनीहरूले पनि स्वधर्म, स्वसंस्कृति र नेपाललाई केन्द्रमा राखेर गरेका गतिविधिहरूलाई समेत दक्षिण भनेर अपमानित गर्छन् | चरम धर्मान्ध मुस्लिम, इसाई तथा अन्य चरमजातिवादी, क्षेत्रवादीका घृणावादी क्रियाकलापलाई "अधिकार"को जलप दिएर शुद्धीकरण गर्छन् | हिन्दू र राजाका पक्षमा बोल्दैमा कुनै कसरी दक्षिण पन्थी हुन्छ ? उनीहरूसंग कुनै उत्तर छैन | केवल आफुहरू आधुनिक र प्रगतिशील भएको दम्भ छ |

तेसैले, उपरोक्त वर्गहरू मध्ये कुनै पनि वर्गको मतियार नभएको निर्विकल्प "नेपाली मौलिक वर्ग"ले मात्र नेपाल र नेपालीको भलो गर्छ | दक्षिण, बाम र मध्यमका बैचारिक जालमा न परौं | आत्मकल्याणसहित देश र विश्वको कल्याणका लागि आत्मविश्वाससहित मौलिकतावादतिर अग्रसर बनौं | नेपालको समग्र विकासका लागि वैचारिक भ्रमजालहरू तोड्नै पर्छ र तोड्नका लागि यी भ्रमहरू बोकेर जनतालाई अलमल पर्ने नेतृत्वसंगको नाता छोड्नैपर्छ | देशको भलाई यसैमा छ |

Sunday, December 19, 2021

विहादिको नाम यसरी पर्यो

विहादिको नाम यसरी पर्यो
विगत १० वर्षदेखि विहादीको नाम कसरी पर्यो होला भनेर चिन्तन गर्रें | धेरै अग्रजहरूसंग मोबाइल फोनमा कुराकानी भयो | उहाँहरूले आ-आफ्ना विचार, इतिहास र सुनेका कुराहरू बताउनु भयो | यो सबैपछि विहादीको नामको गाँठो फुकेजस्तो लाग्यो | रानीपानी र बराचौरको संयुक्त नाम (अहिलेको गापामा बाच्छा, शालीग्राम, उराम पोखरा, उहाकी ठाटी जोडिएका छन् तर अस्तिसम्म यी विहादी थिएनन्) विहादीको गाँठो खोल्ने छु | विहादी पर्वत जिल्लाको दक्षिणी भेकको एउटा ठूलो गाउँपालिका हो र यसको मुख्यालय वहाकीमा रहेको तर विगतमा विहादी भनेर केवल रानीपानी र बराचौरलाई बुझ्ने गरिन्थ्यो |

विहादीका सेरोफेरोमा पूर्व त्रिविवि नेपाल ल क्याम्पसका सहायक डीन गोविन्द प्रसाद पौडेलले वि.स. २०४० सालमा आफ्नो एमएको थेसिस प्रस्तुत गर्दा विहादी सम्भवत: मगर भाषाको डी अर्थात् पानीसंग जोडिएको हुन सक्ने तर्क अगाडी सारेको र तेस्तै गाई व्याएको हुँदा विहादी भएको तर्क अगाडी सारेको उहाँले यो लेखकलाई बताउनु भएको छ | साथै संस्कृतका प्रकाण्ड विद्वान् सुकृति दत्त पन्तले आफ्नो प्रसिद्ध कृति कार्तवीर्योदयमा विहादिलाई स्वर्गको अर्थमा प्रयोग गरेको पनि प्राप्त छ तर उहाँले विहादिको प्रयोग पर्वतको विहादि भन्ने ठाउँका लागि प्रस्तुत गर्नुभएको हो भन्ने प्रष्ट छैन |

संस्कृतमा विहा शब्दको अर्थ स्वर्ग हुन्छ | विहादि शब्द मूलतः विहामा आदि प्रत्यय लागेर निर्मित भएको हो भन्ने मेरो निचोड हो | विहा भनेर प्राचीन ऋषिरूले यस ठाउँको नामाकरण गरे किनभने यो ठाउँ साच्चिकै स्वर्गझैं छ | फाँटहरूबाट प्रष्ट हिमालहरू देखिने उत्तरतिर, फेरी भगवान्ग शालीग्रामको प्राप्ति पनि गण्डकीबाट हुने र बाच्छाको पहाडले सिधैं चीसो हावा पनि रोक्ने (उपत्यका न धेरै गर्मी हुने नधेरै जाडो हुने) भएको हुँदा स्वर्गझैं लाग्यो र यो बाटो हिंडेर गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड जाने ऋषिमुनिहरूले "विहा" भने र पछिल्लायदिहरूले विहाआदि ठाउँ भएर मुक्तिनाथ पुगिन्छ भन्ने प्रसंगमा विहादि भन्न थाले |

विहादीले सिङ्गो नेपालको विशेषता बोक्छ | सवैभन्दा तत्लो ठाउँमा कालिगण्डकी गङ्गा बगिरहेकी छिन् र सबै भन्दा माथि भोर्लेको उंचाई छ | रानीपानी र बराचौरको फाँटमा प्रसस्त उब्जनी हुन्छ | बाच्छावटसंग जोडिएको विशाल जङ्गलले विहादीलाई प्रकृतिसंग जोड्छ | ठाउँठाउँका गुफा (सितलगुफाआदि)ले ऋषिमुनिहरूको तपस्याको थलो इंगित गर्छन् | उच्चतम भागको भोर्ले र निम्नभागमा बग्ने गण्डकी तथा फाँटहरूको उजाउभूमिले यो ठाउँलाई विहा अर्थात् स्वर्गझैं बनाउँछ |

दोस्रो कुरा, स्वामी प्रपन्नाचार्यले पर्वतको तल्लोभागलाई "उत्तरको कासी" भनेका छन् किनभने गण्डकीको सांस्कृतिक र धार्मिक पवित्रताका कारण मुक्तिनाथ तथा दामोदर कुण्ड जाने, पुलहा (गलेश्वर) क्षेत्रमा तपस्या गर्ने (भरत तथा ऋषभ)ले यो सम्पूर्ण क्षेत्रलाई विहादी भनेको हो किनभने देवघाटदेखि गण्डकक्षेत्र आरम्भ हुन्छ तर रानीपानी र बराचौरजस्तो प्राकृतिक रूपमा मिलेको ठाउँ अर्को छैन तेसैले यो ठाउँसंग आदि जद्दा "विहादी" बनेको हो | अर्थात् गुल्मी, बाग्लुंग समेतका भूभागलाई समेत सम्मान गर्दा "विहादी" नामकरण हुने तर्क उचित नै नै लाग्छ |

विहादीको नाम कसरी रह्यो होला भन्ने क्रममा मैले गुरुङ, थकाली र मगरहरूका रैथाने शब्दमा "विहादी" शब्दको अर्थ खोज्ने प्रयत्न गरें | ती भाषाहरूमा "डी" शब्द छ तर दि अन्त्य हुने शब्द रहेन छन् | विहादी जस्तै दि जोडिएका गाउँहरू कुणादि, गुणादि, चकौंदि, अर्मादि (कहीं यो ठाउँ संस्कृत व्याकरण पढाउने गुरूहरूको वासस्थल त थिएन ?) छन् तर यिनको मगर, गुरुङ र थकाली बोलिचालिमा कुनै अर्थ लाग्दैन | तेसैले यो क्षेत्र विहादि अर्थात् स्वर्गझैं भएकोले विहा हो र आसपासका क्षेत्रहरू पनि सुन्दर भएको हुँदा विहादि बन्न पुगेको हुनुपर्छ |

सबैभन्दा रमाइलो तत्थ्य त के भने पाणिनी सूत्रमा विहाको प्रयोग भएको छ | पर्वत प्राचीनकालदेखिनै पण्डितहरूको निवास थलो हो | ज्योतिष र व्याकरणका लागि पर्वत प्रसिद्ध छ | अहिले सरकारले विहादी गाउँपालिका बनाएको छ जसमा बाच्छा, वराचौर, रानीपानी, उराम, शालीग्राम र उहाकी थाँती पुराना गाविसहरूलाई जोडिएको छ | मलाई लाग्छ, विहा अर्थात् स्वर्गझैं भन्ने प्राचीन ऋषिले गरेको ठाउँको नामाकरण अझैं फैलिएको छ |

विहादिमा अनेकौं जीवन्त तीर्थ छन् | ऋषिमुनिहरूका साधना स्थल छन् | प्राचीन गुरुकुलका आचार्यहरूले निर्मित गरेका पवित्र विद्यालयहरू छन् र गिरी, पुरी सन्यासीहरूको वासस्थल छ | गिरिपुरीसन्यासी थरको उपलब्धताले प्राचीनकालदेखि नै यो ठाउँ त्यागी, सन्यासी तथा आचार्यहरूको साधनास्थल हो भन्ने प्रमाणित हुन्छ भने मगरगुरुङआदिको न्यूनउपस्थितिले यो क्षेत्रमा बाहुनक्षेत्रीआदि समुदायको निवासस्थल रहेको प्रमाणित गर्छ | बाहुनक्षेत्री तथा गिरिपुरीसन्यासीहरूले यो ठाउँको नामकरण उनीहरूकै सांस्कृतिक भाषा संस्कृतमा "विहा" भनेर जुराए भन्ने तत्थ्यमा शंका गर्ने ठाउँ रहन्न |

नोट : यो वाहेक कसैसंग अन्य जानकारीहरू छन् भने जोड्दै जाउँ | यो नै नामकरण खोज्ने अन्तिम विकल्प होइन |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...