Wednesday, April 28, 2021

अलिअलि मनको कुरा

अलिअलि मनको कुरा
अलिअलि झिझो लाग्नु, अलिअलि रीस, मनमा डर, थोरै चिन्ता र असुरक्षाको भावना कोभिडले थोरैथोरै हामी सबैमा निम्त्याएको छ | अलिअलि निन्द्रामा पनि समस्या परेको हुनसक्छ - कि धेरै सुत्ने कि थोरै सुत्ने |
डेढवर्ष सम्म हामीले कोभिडलाई डटेर सहेका छौँ | तर सबैको मन एकै नासको हुँदैन | कसैको कमलो हुन्छ, कसैको दह्रो हुन्छ | कसैकसैको मन स-सानो घटनाले धेरै पिरोलिंछ | कोभिड त ठूलै मानवीय समस्या हो | कोभिडले मान्छेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा रहनसहनमा निकै प्रभाव परेको छ |
Dr. Govinda
पहिले नलाग्ने तर अहिले यदि "धेरै झिझो लाग्ने गरेको छु, निकै सूर्ता लाग्छ, निकै डर लागि रहन्छ, मन ज्यादै अशान्त रहन्छ, स-सानो कुरामा अतिधेरै रीस उठ्छ, दैनिक व्यबहार पनि अचम्मले बदलिएको छ र पछि आफ्नो व्यबहारप्रति निकै पश्चाताप हुन्छ भने कोबिडले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थालेको भनेर बुझ्नु राम्रो हुन्छ |

शरीरका घाउँ देखिन्छन्, मनका घाउँ देखिन्नन् | मनका घाउँहरू निकै गहिरा हुन्छन् | जव मनका घाउँहरू गहिरा हुँदै जान्छन् | मन अत्तालिन्छ, पिरोलिंछ, डराउँछ, अशान्त हुन्छ, रिसाउँछ, रुन्छ, वेवास्ता गर्ने खालको हुन्छ, निराश हुन्छ, अन्त्यमा "आत्महत्या गरेर संसारबाट विदा हो" सम्म भन्छ | मन विरामी भएको कुरा मनले नै थाहा पाउनुपर्छ |

हामी हरेकसंग एउटा मन छ | त्यो मननै हाम्रो आफ्नो हो | एकमात्र मनलाई धेरै पिरल्नु हुँदैन | मन पिरलियो भने सबैतिर विग्रन्छ | समय मै पिरलिएको मनलाई सहयोग गर्नुपर्छ | सहयोग प्राप्त गरे मन खुसी हुन्छ | मन खुसी भए मनवाला सुखी हुन्छ | तेसैले यदि आफ्नो "मन विग्रिएको" जस्तो लाग्छ छ भने निर्धक्कसंग परामर्श गरौँ | मनलाई पनि सहयोग चाहिन्छ भन्ने स्वीकार गरौँ |

मन स्वास्थ्य हुँदा शरीर स्वास्थ्य हुन्छ | संसार रमाइलो लाग्छ | आफन्त रिसाए पनि रीसमा सुन्दरता र प्रेमको झल्को लाग्छ | छोराछोरीको बोलीमा प्रेम प्रकट हुन्छ | श्रीमतीका सिकायतहरू पनि सहज हुन्छन् | हरेक काममा आत्मविश्वास झल्किन्छ | ठूलासाना निर्णयहरू सजिलैसँग गरिन्छ | समयमा सुतिन्छ, समयमा उठिन्छ | मज्जाले भोजन मिठो हुन्छ | साथीहरूसंग जिस्किन, घुम्न सबै रमाइलो लाग्छ | मन विग्रेको छ भने यही कुराले पीडा दिन्छन् |

विश्वमा जे-जति मान्छे भए पनि मेरो मन "मेरो मात्र हो" | मैले मेरो मनको हेरविचार गर्नै पर्छ | मैले मेरो मन हेरविचार गरिन भने कसैले गर्दैन | मनमा धेरै विचार आउँछन्, ती विचारले असजिलो पार्छन् भने आफैलाई असजिलो हुन्छ | कोभिडले मन विग्रनसक्छ, हेरविचार गरौँ |

मन दुख्ने, मन पिरोलिने, मन पोल्ने, मन डराउँने, मन आत्तिने, मन फाट्छ, मन पात्तिने, मन छियाछिया हुने, मन रूँने, मन खुम्चिने, मन नपर्ने, मन नमान्ने, मन च्याँठिने, मन चीसो हुने, मन मात्तिने, मन झुम्म हुने, मन गुम्म्म हुने, मन तर्सिने, मन उदास हुने, मन नलाग्ने, मन तर्सिने - जस्ता अनेकौं कुराहरूले मन विरामी भएको तत्थ्यको सूचना दिन्छन् | यदि कसैको मनले ३५ दिन भन्दा बढी यी समस्याहरूसंग लडिरहेको छ, भने अव यसले विश्राम पाउनुपर्छ |

हाम्रो मन रमाउँनु पर्छ, गद्गद् हुनुपर्छ, मनकारी हुनुपर्छ, माया गर्ने हुनुपर्छ, बलियो हुनुपर्छ, मन लाग्नु पर्छ, मन हर्षित हुनुपर्छ, मन पर्नु पर्छ, सहज र सरल हुनुपर्छ | मन बलियो हुनुपर्छ तर अनावश्यक बलियो पनि हुनुहुँदैन | शरीरलाई बलियो बनाउँन हामीले कसरत गर्छौं तर मनलाई बलियो र स्वास्थ्य बनाउँन हामीले केही गर्दैनौ | साच्चिकै भन्ने हो भने जान्दैनौं | अव मन बलियो, स्वास्थ्य पार्ने तरिका जान्नु पर्छ |

विहानै उठेर विहानी हावामा उभिंदा मन खुसी हुन्छ | करेसावारीमा फुल रोप्दा, पानीले सिचाई गर्दा, केही वेर खन्दा, केटाकेटीसंग जिस्किंदा, उनीहरूसंग खेल्दा, उनीहरूलाई मीठामिठा कथा सुनाउंदा, आफैले कथा सुन्दा, विहानी पखको घामले जीऊ देखाउँदा, लामोलामो सास फेर्दा, प्राणायाम गर्दा, ध्यान गर्दा, गीता-भागवत पाठ गर्दा, मन लागेको मन्दिरमा भगवान्को दर्शन गर्दा, कहिलेकाहीं परिवारसंग मिलेर घुम्न जाँदा मन खुसी हुन्छ, मनको मरम्मत हुन्छ |

राम्रो कुरा सोच्ने अभ्यास गरेर, राम्रो ठाउँमा घुमेको कुरा सम्झेर, जीवनका असल र मीठा घटनाहरू सम्झेर/ अरूलाई सुनाएर, मन पर्ने तर स्वास्थ्ययुक्त भोजन खाएर, दैनिक रूपमा केही वेर नाँचेर, केही वेर हाँसेर, केही वेर विंदास तरिकाले एताउता तहलकदमी गरेर मन राम्रो हुन्छ | तर अलिकति बढी समय बढी लाग्छ | अलिधेर्य चाहिन्छ |

आफैलाई विश्वास गरौँ | आफ्नो शक्तिलाई चिनौं | म निको हुन्छु भन्ने विश्वास गरौँ | निको हुनका लागि नियमहरूको पालना गरौँ | वितेका कुरामा शोक नगरौं , भविष्यका लागि चिन्ता छोडौं, वर्तमानका लागि डराउँन त्यागौं | यी सबै हामी आफैले गर्नुपर्छ | परिवारले सघाउँनुपर्छ | परिवार, आफन्त र छिमेकीले सहयोग गर्नुपर्छ | मान्छे सहयोगमा बाँच्ने प्राणी हो भन्ने नविर्सौं |

तपाईंमा, तपाईंको छिमेकमा र आफन्तमा उपरोक्त लक्षणहरू देखा परेका छन् भने हामी सहयोग गर्न तयार छौँ | मनोबैज्ञानिक परामर्श लिनुहोस् र मानसिक रूपमा स्वास्थ्य रहनुहोस् |
सम्पर्कका लागि इनबक्समा म्यासेज गर्नुहोला |

Thursday, April 15, 2021

वैरागी व्यक्तित्व विकार (AVPD)

वैरागी व्यक्तित्व विकार (AVPD)
डा. गोविन्दशरण उपाध्याय (परामर्श विज्ञ)   
३२ वर्षका सरोजको व्यबहारमा अचानक परिवर्तन आएको छ | उनी सधैं सामाजिक होस् वा व्यक्तिगत दायित्वहरूबाट जोगिने प्रयत्न गर्छन् | आजभोली त उनले झन् घरमा मान्छे आएको पनि मन पराउँदैन् | एउटा ब्यांकमा काम गर्थे तर उनले आफ्नो परमोशन पनि अस्वीकार गरे | एकान्तमा बस्ने, दायित्वहरूलाई बोझ ठान्ने र मान्छे आउँजाउँ हुने कुनै पनि क्रियाकलापबाट जोगिने गर्छन् | छोराछोरी, आमावुवा, आफन्तसंग उनको दूरी बढ्दै छ | सामाजिक क्रियाकलापमा समिल हुन निजलाई निकै डर लाग्छ | सरोजको यो व्यबहार Avoidant personality disorder (AVPD) नामक व्यक्तित्व विकारको परिणाम हुन सक्छ | मनोवैज्ञानिक खोजले संसारका करिव २.५% मान्छेहरूमा यो समस्या भएको अनुमान गरिन्छ |

वैदिक संस्कृतिमा वैराग्य सकारात्मक जीवनको एउटा आदर्श हो | स्वेच्छाले संसार र संसारप्रति निरपेक्ष हुनु नै वैराग्य हो | पाश्चात्य मनोविज्ञानमा Avoidant शब्दको अर्थ सामाजिक, सांस्कृतिक, नैतिक क्रियाकलापबाट आफुलाई जोगाउने अथवा टाढा राख्ने प्रवृत्तिलाई नै मैले यहाँ वैराग्य शब्दका माध्यमबाट बुझाउने प्रयत्न गरेको छु | सामान्यतया हरेक मान्छेले समय, परिस्थिति र आवश्यकताअनुसार आफुलाई सामाजिक, सांस्कृतिक तथा व्याबहारिक क्रियाकलापसंग जोड्छ | ती क्रियाकलापहरू सिक्छ र तेसअनुसार सुखदुख प्रकट गर्छ | कसैले अग्रसरता लिएर सरिक हुन्छन् भने केही सामान्य व्यक्तिसरह नै समावेश हुन्छन् |

AVPD किन हुन्छ ? एसको प्रमाणिक उत्तर छैन तर एस व्यक्तित्व विकारका लक्षणहरू दुई वर्षको उमेर देखि प्रकट हुन सक्छन् | जव व्यक्तिमा वैराग्य व्यक्तित्व विकार देखा पर्छ, उसले क्रमशः सामाजिक व्यबहारवाट आफुलाई अलग्याउँन थाल्छ, आफुलाई सधैं अपुरो भएको अनुभव गर्न थाल्छ र सधैं कसैले आलोचना गर्ला वा अस्वीकार गर्ला भन्ने पीर वा डर लागि नै रहन्छ | सरोजमा उपरोक्त तिनैबाट ब्यबहार प्रकट भएका छन् | असलमा, कसैले निन्दा गर्छ वा मेरो कुरा अस्वीकार गर्छ भन्ने ठूलो डर, मैले अरूसंग व्यबहार गर्दा नराम्रो मान्छन् भन्ने भ्रम, तिरस्कृत हुने डर, प्रचलित सामाजिक व्यबहारहरूप्रति अरूचि, आफुलाई सधैं अधूरो ठान्ने र समाजसंग त्यो लुकाउने प्रयत्न गर्ने, असफल हुन्छ भन्ने डरले नयाँकाम गर्नबाट जोगिनेजस्ता लक्षणहरू नै AVPD लक्षण हुन् |

AVPD को लक्षण भएका मान्छेहरू क्रमशः अन्तर्मुखी हुँदै जाने हुँदा उपचारका लागि तम्तयार पार्न सजिलो हुँदैन | परिवारको न्यानोपन र सहयोगी व्यबहारले उनीहरू मनोबैज्ञानिक परामर्श वा मनोचिकित्ससंग सहयोग प्राप्त गर्न सहमत हुन्छन् | पीडित व्यक्तिहरूको सबैभन्दा ठूलो डर समाजसंग मिसिन र व्यबहार गर्नसंग हुन्छ | तेसैले निजको निजत्वको सम्मान गर्दै दक्ष परामर्शदाताले थेरापीस्टका रूपमा होइन सहयोगीका रूपमा सामाजिकीकरणतिर अभिप्रेरित गर्नुपर्छ | यदि AVPD लामो समयको हो भने औषधि चिकित्साका साथै केही प्रचलित सिद्धान्तहरू अवलम्बन गरेर उपचार गर्नुपर्छ | आरम्भिक AVPD लक्षणहरूमा टक-थेरापीले काम गर्छ भने अलि पुरानो समस्यामा चिकित्सा र थेरापी दूवैको प्रयोग हुन्छ |

AVPD चिन्ता र उत्सुकताजन्य डरका कारण उत्पन्न भएको व्यक्तित्व-विकार भएको परामर्श र चिकित्साबाट पूर्णतया निको हुन्छ | तेसैले यदि तपाईं/तपाईंको परिवार, छिमेकी वा मित्रहरूमा उपरोक्त मानसिक विकारका लक्षणहरू छन् भने निकस्थ मनोबैज्ञानिक परामर्शदातासंग सहकार्य गरेर सहयोग प्राप्त गर्नुपर्छ | निको भएर खुसी पूर्वक जीवन यापन गर्न सकिने पक्ष हुँदाहुँदै डर, लाज तथा चिन्ताका कारणले “वैरागी” बन्नु हुँदैन | स्वास्थ्य जीवन हामी सबैको अधिकार, कर्तव्य र दायित्व हो | 
(copyright)
if you need help, inbox me.

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...