Monday, January 23, 2017

बृद्धवृद्धाहरू बीचमा काम गर्दा


अस्ति मात्र एकजना महिलाले इजरायलबाट फोन गर्नु भयो | उहाँ पेशाले नर्स हो र त्यहाँ चारवर्ष देखि एउटा बृद्धाको हेरविचार गरिरहनु भएको छ | उहाले हेरविचार गर्नु पर्ने महिलाको उमेर ८८ वर्षको छ |

इजरायल गएर काम आरम्भ गर्दा उहाँ निकै खुसी हुनुहुन्थ्यो रे | मनमा इजरायली पैसोलाई नेपालीमा अनुवाद गर्दा निकै रमाइलो र आत्मसन्तुष्टी मिलेको थियो | घरका सम्वन्धिहरू पनि खुसी नै थिए |

तर विगत दूईवर्ष एता उहाँको मनमा न काम प्रति श्रद्धा छ, न काम गर्न मन लाग्छ | रातिअवेरसम्म निंद लाग्दैन | बारम्वार रून, एकान्तमा बस्न र चिच्याउन मन लाग्छ | मन एकदम अस्थिर रहन्छ | संसारमा आफूजस्तो दुखि अरू कुनै नभएको अनुभव हुन्छ | गर्दागर्दा खान पनि मन लाग्दैन | हाइहाइ आइरहन्छ | शरीर पोल्ने, उठ्दा तारा देखिनेजस्तो ब्यबहार सामान्य भैसकेको छ | अस्पतालमा गएर चेकअप गर्दा सबै ठीक छ |
उपरोक्त महिलाको उलेर ३८ वर्षको छ | उहा घर फर्कन चाहनुहुन्छ तर घरका आफन्तहरूले समेत अव त्यतिराम्रो रेस्पोन्स गरेजस्तो लाग्दैन | आफु एक्लो, कसैले माया नगर्ने, संसार नै स्वार्थको गुड भएजस्तो लाग्छ | त्यसो त आफैसंग इजरायल आएर काम गर्ने सीता (नाम परिवर्तन)का लोग्नेले अनेकौं आरोप लगाएर घर पर्ने लगत्तै पारचुके गरे | यसपछि घरका सदस्यसंग कुरा गर्दा पनि डर लाग्छ, पति, छोराछोरीउपर पनि शंका लाग्छ |

उपरोक्त पात्रले प्रस्तुत गरेको समस्या भोग्नेहरूको मानसिक पीडा खपिनसक्नु हुन्छ | हरहमेशा एकैथरीको व्यक्ति (बूढाबूढी)को सेवा गर्नु, आफ्नो उमेरसंग त्यसको उमेर दाज्नु, कहिलेकाहिं आफुले सेवा गरिरहेको मान्छेको प्रणान्त हुनुले सेवादात्रीलाई निकै मानसिक चोट पुग्छ | एस्तो चोट बुझ्ने र त्यस चोटबाट परेको मानसिकतालाई सम्वोधन गर्ने कोइ हुँदैन | सबै आफ्नो-आफ्नो काममा हुन्छ |

हामी आफ्नो पारिवारिक संरचनाबाट नितान्त फरक शैलीको पारिवारिक संरचनामा सेवा गर्न पुगेका हुन्छौं | धेरैजस्तो अवस्थामा हामीले सेवा आरम्भ गर्दा हामीसंग केवल सैद्धानिक ज्ञान मात्र हुन्छ | धर्म, संस्कृति तथा सामाजिक संरचनाको फरकपनमा भिज्नु पर्ने अनुभव हामीमा हुँदैन | हाम्रो मानसिक समस्या यहीं विन्दूबाट आरम्भ हुन्छ |

हिन्दीमा एउटा उखानछ : संसारमा सेवा गर्न सजिलो केटाकेटी र सिहार्न असजिलो बुढाबुढी | सामान्यता ६५ वर्षपछि धेरै मानिसको ब्यबहारमा असजिलोपन देखापर्छ | उनीहरूमा "सिकायत" गर्ने स्वभाव विकसित हुन्छ भने यसै कारणले उनीहरूले तपाईंले गरेको कामको जस नदिने सम्भावना बढी हुन्छ | चौविसै घण्टा एकै किसीमको काम र काम गर्दा पनि जस नपाउने भएपछि मनमा निराशा विकशित हुन्छ | हाम्रो मन नयापन र गरेको कामको जसका लागि तड्पिन्छ | यही तड्पन कालान्तरमा मानसिक-समस्या भएर विकसित हुन्छ |

यदि तपाईं बूढाबूढीको सेवामा समर्पित हुनुहुन्छ र तपाईका "सेवाग्राही"ले तपाईंको कामको जस दिनुहुन्छ भने तपाईं केही भाग्यमानी मद्ध्ये पर्नुहुन्छ | तर याद रहोस् एस्तो जस पैसामा होइन, उनीहरूको बोलीबचनबाट प्रकट हुनुपर्छ | बक्सिसले एकक्षणको खुसी दिन्छ तर वचनले तपाईंको मनलाई साहस दिन्छ | यदि तपाईंका सेवाग्राहीले तपाईंको सेवामा जस दिन सक्दैनन् वा दिंदैनन् भने पनि तपाईं निराश हुनुपर्दैन किनभने उनीहरूले देखाउने एस्तो ब्यबहार उनीहरूको उमेरले निम्त्याएको हो | हामीले आफ्नो बढ्दो उमेरमा नियन्त्रण गर्न नसकेझैं उनीहरूले पनि आफ्नो ब्यबहारमा नियन्त्रण गर्न नसकेको हुनुपर्छ |

मैले भनिसकें संसारका असजिला कामहरू मध्ये बृद्धहरूको स्याहारसुसार पनि एउटा हो | तपाईंले चुनेको काम नै असजिलो, समयमा न बाधिएको र सेवाग्राही भन्दा पनि तपाईं शान्त हुने काम हो | सेवाग्राहीले चिच्याएर गालीगलौज गरे पनि तपाईंले मुस्कुराउँदै स्वागत गर्नुपर्छ | जव हामीले "बूढाबूढी स्वभाव नै एस्तो हुन्छ" आत्मसात गर्छौं, त्यसपछि काममा हामी इन्जोय गर्न थाल्छौं |

यदि तपाईं पनि बृद्धबृद्धाको स्याहारसुसारमा हुनुहुन्छ र उपरोक्त लक्षणहरू तपाईंले आफुमा पाउनुहुन्छ भने एकपटक मानसिक-परामर्शदातासंग छलफल गर्नु उचित हुन्छ | आफ्नो समस्यावारे छलफल गर्दैमा कुनै पनि मान्छे मानसिक रोगि हुँदैन | त्यसैले आफ्नो मानसिक खुलेर कुरा गरौँ तर विश्वसनीयता र गोपनीयतासंग कहिले पनि सम्झौता नगरौं |

कुरा बुझेपछि धेरै मानसिक समस्याहरूको समाधान पाइन्छ | तपाईहरूको दिन, रात तथा चिन्तन ठीक हो | म तपाईंको सहयोगी हुँ | इनबक्समा म्यासेज पठाएर आफ्नो कुरा राख्नुहोस् र मानसिक रूपमा प्रसन्न जीवन जीउनु होस् |

लामोसमय प्रवासमा सेवा गर्नुपर्दा पुरुषको तुलनामा महिलाहरू बढी मानसिकरूपमा पिडित हुन्छन् | यसको प्रमुख कारण हामी नेपालीहरूको सामाजिक तथा संस्कृतिक संरचना हो | पुरुषको तुलनामा महिला बढी सहनशील हुन्छन् तर भावुक पनि बढी हुन्छ | भावुकता र सहनशीलताविच समन्वय विग्रदा निकै मानसिक समस्या उत्पन्न हुन्छन् |

भावुकताले घर-परिवारको बढी याद आउँछ | सहनशीलताले आफ्नो कामजस्तो भए पनि गर्नुपर्छ भन्ने प्रेरणा मिल्छ | कामको दवाव र कामप्रतिको समर्पणका विचमा कहिलेकाहिं घरपरिवारसंग तालमेलमा समस्या आउँछ | कहिले आमाबुवा, छोराछोरी, पत्नी/पति रिसाउने हुन्छ | स्वदेशमा रहेका मान्छेले विदेशको बस्तुस्थिति बुझेका हुँदैनन् | यहींबाट परिवारसंगको प्राकृतिक तालमेलमा समस्या, संसय उत्पन्न हुन्छ | क्रमशः बढ्दै जान्छ र मानसिक समस्याका रूपमा विकसित हुन्छ | यही विन्दूबाट हामीमा मानसिक समस्याको आरम्भ हुन्छ र क्रमशः बढ्दै जान्छ | हामी समस्यामा पर्छौं |

मनोविज्ञानिक समस्याहरू सुरुसुरुमा बुझ्न सकिन्न | कसैले भन्यो भने पनि धेरै मान्छेहरू आफुमा समस्या हुनै नसक्ने भनेर टार्छन् | हामी धेरैले यसै गरिरहेका हुन्छौं | समस्या बढ्दै गएपछि हाम्रो दैनिक ब्यबहार प्रभावित हुनथाल्छ | हाम्रो दैनिक कार्यतालिका खल्वलिंछ |

दैनिक कार्यतालिका खल्वलिंछ भन्नुको अर्थ हो - हाम्रो उठ्ने, सुत्ने, निदाउने, काम गर्ने आदि कार्यतालिका बोझझैं लाग्न थाल्छन् | हामी काम टार्ने प्रयत्न गर्छौं | यहीँबाट हामीलाई मनोसामाजिक सहयोगको आवश्यकता पर्छ |

अव के गर्ने भन्ने विषयमा चर्चा गरौँ | सबैभन्दा पहिला आफ्नो परिवारसंग सम्पर्क गरौँ | उनीहरूसंगको सम्वन्धमा केही चिसो बढेको छ भने आफु अगाडी सरेर त्यसलाई सुधार्ने प्रयत्न गरौँ | हामीसंग आफ्ना समस्याहरू समाधान गर्ने क्षमता छ, यो क्षमता प्रयोग गर्नुपर्छ | हामी आफ्नो संशय/समस्या बाहिर निस्कन सक्छौं |
क्रमशः

नोट :
अभिवादन शीलस्य नित्यं बृद्धोप सेविन | चत्वारी तस्य बर्धन्ते आयु: विद्या यशो: बलम् |
अर्थ : जसले दिनहुँ बूढाबूढीको सम्मान गर्छ र नमस्कार गर्छ, उसको आयु, विद्या, यश तथा बल यी चारवटा कुराहरू बढ्दछन् |

Thursday, January 19, 2017

रेडिमेड शिक्षाले देशको विकास गर्दैन

अमेरिकन, युरोपेली वा त्यस मूलका व्यक्तिहरूको विकासको रुपरेखा तिनले आफ्नो शैक्षिक पद्यतिमा कोरेका छन् | यसमा चारबटा मूल कुराहरू छन् :इतिहास, सहकार्य, निरपेक्षता, उत्तरदायित्व र स्वत्त्वकरण |

पहिलो, उनीहरूले जुन सुकै शैक्षिकविधाको विकास गर्दा पनि आफ्नो इतिहासलाई उधृत गरेका छन् | उनिहरुले इलियाड, होमर, थेल्स, सुकरात, प्लेटो, अरस्तु यहाँसम्म कि क्रुरतम हत्यारा नेपोलिनआदिलाई पनि सम्मानका साथ आलोचनात्मक तवरले उद्धरण गर्छन् | उनीहरूका रिसर्चहरूमा आफ्नो इतिहासको विज्ञान, व्यस्थापन, सामाजिकशास्त्र, मानवशास्त्रआदिको उद्धरण हुन्छ नै |

दोस्रो,मा, उनीहरूले ज्ञानको विकासमा सहकार्य गरेका छन् | यस्तो सहकार्यमा रोमन, ग्रीक, इटालियन, जर्मन, इंग्लिसहरू एकठाउँमा उभिएका छन् | उनीहरूले आपसमा विश्वयुद्ध लडे, करोडौं मान्छे मारे तर इतिहासका सवालमा सधैं सहकार्य गरे | साम्यवाद, पुँजीवाद, समाजवाद, राजतन्त्रआदिले उनीहरूको शैक्षिक-सहकार्यमा नकारात्मक प्रभाव पारेन | समालोचनात्मकरुप मै सही धर्म र संस्कृतिको पक्ष सधैं चर्चाको विषय रहेको छ |

तेस्रो, उनीहरू विकास, सहकार्य तथा इतिहासका सवालमा काम गर्दा सधै निरपेक्ष रहे | हिटलर, चर्चिल, नेपोलियनआदिले जातीय इतिहास कोर्ने प्रयत्न गरे तर उनीहरू असफल रहे | आफ्नो इतिहासको निन्दा गर्ने त्यसलाई प्राथमिकता नदिने रोग युरोपियन र अमेरिकनहरूले स्वीकार गरेनन् |

चौथो, उनीहरूको शैक्षिक नीति जहिले पनि तिनको आफ्नो समाज, राष्ट्र तथा जनताका लागि उत्तरदायित्व पूर्ण रह्यो | उनीहरूले संसारभरीका मोडेलहरू बुझे तर ती मोडेलहरूलाई आफ्नो अनुलुल बनाए | यहाँसम्म कि आफ्नो नाम नै दिए | यो कार्यमा उनीहरूको इमान्दारी, लगनशीलता तथा विश्वनीयता कहिले पनि खण्डित भएन |

पाचौं, उनीहरू नक्कल गर्न र अनुसरण गर्न हिच्किचाएनन् तर नक्कल र अनुसरण गरिएका विषयहरू आफ्नो साँचोमा हालेर आफ्नो अनुकुल बनाए | अरू ठाउँबाट ल्याइएका विषयवस्तुहरूलाई समेत आफ्नो नाम दिए | सगरमाथालाई एभरेष्ट बनाएझैं सुकरात, प्लेटो, देकार्त, स्पेंसरआदिको मोडेलहरू प्रयोग गरेर स्वदेशी करण गरे |

उपरोक्त कारणहरू हुन् जसले अक्फोर्ड, हवार्ड, सेसेक्स आदि पश्चिमा विश्वविद्यालयले विश्वमा वर्चस्व स्थापित गर्छन् | विश्वका देशहरू आफ्नो देशमा हवार्डआदिको कामना गर्छन् | त्यहाँबाट उत्पादित जनशक्तिमा आँखावन्द गरेर विश्वास गर्छन् |

हामी नेपालीहरूको दुर्भाग्य केहो भने हामी सधैं उनीहरूको वर्चस्वलाई निम्तो दिन्छौं र आफ्नो देश, समाज, संस्कृति तथा आवश्यकताको वस्तुगत समिक्षा नगरी त्यसलाई "रेडिमेड" आफुमा लागु गर्ने प्रयत्न गर्छौं |

हामी नेपाली भनौं वा भारतीय उपमहाद्वीपको शैक्षिकभाग्य विदेशीहरूले कोरेका छन् | उदाहरणका लागि हाम्रा विश्वविद्यालयहरूले तयार पारेका पाठ्यपुस्तकहरूको शैक्षिक इतिहास यहाँको इतिहासबाट आरम्भ हुँदैन | हाम्रा पाठ्यपुस्तकहरूले विषयवस्तुको उठान कपिल, मनु, चरक, याग्यवाल्क्यआदिको उद्धरणबाट नभई थेल्स, सुकरात, प्लेटोआदिबाट हुन्छ |

हामी आफ्नो शैक्षिक इतिहासमा आफ्ना पुर्खाहरूको ज्ञानलाई कत्ति पनि समावेश गर्दैनौं | उदाहरणका लागि हाम्रो विश्वविद्यालयमा पढाइने राजनीतिक विषयका पाठ्यपुस्तकमा राजा मनुको राजनीतिक चिन्तन पहिलो उद्धरण हुँदैन अपितु प्लेटोको रिपब्लिकको चर्चा गरिन्छ | यसको सीधाअर्थ हो, हामी आफ्नो इतिहासमा कत्ति पनि विश्वास गर्दैनौं |

हाम्रा विश्वविद्यालयहरू, विद्यालयहरू र शिक्षाविदहरू केवल र केवल पश्चिमा "रेडिमेड" शिक्षाका विज्ञापनकर्ताको भूमिका निर्वाह गरिरहेका देखिन्छन् | हाम्रा प्राध्यापकहरूले आफ्ना अनुसन्धानको दिशा आफ्नै इतिहासप्रति मोड्न सकेनन् अथवा उनीहरू रेडिमेडमा रमाउन अभ्यस्त देखिन्छन् | मेडिकलका प्राध्यापकहरूले इजिप्टको हेरोडोट्सलाई कोट गर्दा अर्थववेदको सोमरस र चरकको योगदानको खोज गर्न आफ्ना विद्यार्थीहरूलाई अभिप्रेरित गर्दैनन् |

मेडिकलको इतिहासमा नेपाली विद्वानले लेखेको कितावमा हाम्रा विद्यार्थीहरूले सर्वप्रथम यजुर्वेदमा उल्लेखित औषधि विज्ञानको चर्चापछि मात्र हेरोडोट्स पढियो भने मात्र दृष्टिकोण परिवर्तन हुन्छ | त्यसपछि विश्वका जुनसुकै विद्वानहरूको खोजलाई आदरका साथ उद्धरण गरिनुपर्छ | तर यसो गर्नका लागि हाम्रा प्राध्यापक तथा शैक्षिकनीति तय गर्नेहरूले "रेडिमेड" शैक्षिक गुफाबाट बाहिर निस्कन जरूरी छ |

एउटा मेडिकलको प्रोफेसरले जति विदेशी मेडिकलको प्रमाणिक इतिहास जान्नु जरुरी त्यो भन्दा पनि बढी जरूरी आफ्नो स्वदेशी मेडीकलको इतिहास जान्नु आवश्यक छ | वैदिक, लौकिक संस्कृत, पाली आदि प्राचीन भाषा बुझ्दैनौ भनेर प्रोफेसरहरू पन्छिन मिल्दैन | मेडिकल प्रोसेसरले संस्कृत जान्नु हुँदैन भनेर मेडिकल एथिक्समा कहीं पनि उल्लेख छैन | यदि संस्कृत जानिदैन वा जान्न नै चाहन्नौं भने यो सबै "रेडिमेड" शिक्षाले निम्त्याएको दुर्भाग्य हो |

विज्ञान, शिक्षा, ब्यबस्थापन, निर्माणआदि सबै विधामा माथिल्ल्ला कुरा नै लागु हुन्छन् | हाम्रा शिक्षानीतिकार र विविका प्राध्यापकज्यूहरूले जवाफ दिनुपर्छ कि किन हामी आफ्ना विद्यार्थीहरूलाई आफ्नो इतिहास जान्न असली रिसर्च गर्न अभिप्रेरित गरिरहेका छैनौँ ? यदि हाम्रा विद्यार्थीहरूले सुकरात वा कार्लमाक्सलाई चिन्छन् र अश्विनी कुमार वा नरहरिनाथलाई चिन्दैनन् भने दोष "रेडिमेड" शिक्षा र रेडिमेड शिक्षकलाई नै दिनुपर्छ |

पश्चिमाहरूले शिक्षाका क्षेत्रमा जुन उचाई प्राप्त गरेका छन्, त्यस्तो उचाई प्राप्त गर्न सजिलो छैन | लगानी, पूर्वाधारआदिका विषयहरूलाई हामीले दोष दिन सक्छौं | यो स्वाभाविक पनि हो तर अनुसन्धानमा आफ्नो मौलिकतालाई नजरन्दाज गर्ने पद्यति हामी आफैले विकसित गरेका हौँ | हावर्ड विश्वविद्यालयमा अनुसन्धान गरिरहेको विद्यार्थीले नेपाली विषयवस्तुमा अनुसन्धान गर्दा पहिले यास्कको सिद्धान्त रत्नाकर कोट गरेर पछि गीवांडीको उद्धरण गर्न सक्छन् |

यदि हामीले आफ्नो इतिहाससंग न्याय गरेका छौँ भने जुनसुकै विश्वविद्यालयमा गएर नेपालीले अनुसन्धान गरेपछि आफ्नो इतिहासभित्र उपस्थित सिद्धान्तकारहरू र तिनको सिद्धान्त कोट गर्न बाधा पर्दैन | गीताकार कृष्णलाई काल्पनिक र सोही प्रकृतिको बाइबललाई प्रमाणिक मान्न प्रेरित गर्ने पश्चिमा पद्यतिको सुप्रिमेसी आफ्नो इतिहासबाट कोट नगरी अन्त्य हुँदैन | हामीले आफ्नो रेडिमेड सोच र संस्कृति मै परिवर्तन गर्न तयार हुनुपर्छ |

मेरो यो लेखको प्रयोजन पश्चिमा शिक्षानीतिको आलोचना गर्नु होइन | असल कुराहरू जहाँबाट लिए पनि हुन्छ तर ती विषयहरूले आफ्नो इतिहास ओझेलमा पर्नुहुँदैन | अहिलेको नेपाली शिक्षानीतिले आफ्नै इतिहास र त्यसभित्र रहेका उपलब्धिहरूलाई महत्व दिंदैन | त्यतिमात्र होइन, महत्वपूर्ण नठान्न वा व्यर्थ तथा काल्पनिक ठानेर नजरन्दाज गर्न अभिप्रेरित गर्छ | एस्तो अभिप्रेरणाको तीखो आगोमा हरेकपल हामीले आफ्नो प्राचीन इतिहासका उपलब्धिहरू गुमाइरहेका छौँ | हामी पलपल "रेडिमेड"को आगोमा बालेर खरानी भइरहेका छौँ |

उदाहरणका लागि नेपाली पाठ्यपुस्तकमा नेपालका प्रमुख धर्महरूमा इसाईमत समावेश गरिएको छ | विश्वका धेरैदेशहरूका लागि इसाईपन्थ प्रमुख धर्म हुन सक्छ तर नेपाल तथा भारतीय पाठ्यपुस्तकमा नेपाल वा भारतकै प्रमुख धर्मका रुपमा पाठ्यपुस्तकमा समावेश गरिनु पश्चिमा वर्चस्वको प्रभाव हो | नेपाल र भारतमा इसाई पन्थ पमुख छैन | हिन्दू र बौद्धहरू यहाँका प्रमुख धर्म हुन्, किराती, बोन्पो, जैनआदि प्रमुख हुन् |
क्रमशः

Saturday, January 7, 2017

संस्कार : परिवर्तन सजिलो छैन


केही कुरा अचम्मका हुन्छन् | अचम्म हुनको लागि कुनै कारण चाहिन्न | परम्परा, संस्कार तथा सामाजिक मान्यताहरूको कारण के हो बुझ्न सकिन्न | अनुमान मात्र हुन्छ | हिन्दूहरूका सोह्र संस्कार किन बने ? यो प्रश्नको उत्तर सजिलो छैन | तर यी संस्कारहरू हिन्दू जीवनका अभिन्न अंग भएको कुराका हामी आफैं साक्षी छौं |

आजभोली नेपालमा रेडिमेड-संस्कृतिको बहस चलेको छ | आधुनिकीकरण र प्रगतिका नाममा स्थापित रितिरिवाज र संस्कारहरूको दोहोलो काड्ने काम भैरहेको छ | एस्तो काम अरू कुनैले होइन, आफुलाई शिक्षित मान्ने टाँठाबाठाहरूले गरिरहेका छन् | विदेशीको पैसाले चल्ने एनजीओ/आइएनजीओहरूले पनि स्थापित संस्कारहरूको खैरो खनेको प्रतिवेदनलेखेर पेट पालिरहेका छन् |

एनजीओ/आइएनजीओहरूले प्रहार नगरेको कुनै पनि हिन्दू संस्कार तथा रितिरिवाज छैन | जुन-जुन संस्कार र रितिरिवाजमा हिन्दू संस्कृति टिकेको छ, तिनै संस्कार तथा प्रचलनहरूमा प्रहार गरेपछि मात्र एनजीओ/आइएनजीओहरूको चूलो बल्छ | तर यो सत्य स्वीकार गर्न कुनै तयार छैनन् |

यी प्रगतिशीलहरूका लागि तीज महिलाहरूको दासत्वको दिवस हुन्छ | दशैतिहार गैरहिन्दूहरूलाई अपमानित गर्ने चाडवाड हुन्छ | होली-दिवाली फिजुल खर्च गर्ने त्यौहार हुन्छ | जनैपूर्णिमा बाहुनवादको मुख हुन्छ | नामकरण, ब्रतवन्ध-विवाहका विधीहरू सबै आडम्वर वा अन्धविश्वासका स्रोत हुन्छन् | एकादशी ब्रतवस्नु, कुनै तीर्थयात्रा गर्नु, यज्ञ गर्नुआदि सबै आडम्वर नै हुन्छन् | एतिसम्म कि बाबुआमाको मुख हेर्ने दिन पनि “अन्धविश्वास”को पराकाष्टा भनेर ब्याख्या गर्दै टेलिभिजन तथा छापामाध्यमबाट प्रस्तुति दिन्छन् |

हजारौंवर्षदेखि अनवरत रूपले महिलाहरूले मान्दै आएको तीज होस् वा ऋषि-पंचमी एनजीओ/आइएनजीओहरूका महिला-अधिकारवादीहरूका लागि सधैं आलोचनाका विषय हुन्छन् | लाखौंलाख महिलाहरूको अन्तरात्माको श्रद्धाको कुनै अर्थ छैन | लाग्छ, नेपालको नराम्रो प्रतिवेदन लेख्ने कलामा यिनीहरूले विशेष योग्यता प्राप्त गरेका हुन् ! नत्र आस्था र विश्वासमा टिकेका यी पर्वहरूमा निहित सकारात्मक विषयहरूको प्रतिवेदन किन लेखिदैन ? किन हिन्दूहरूका रितिरिवाज तथा आचारविचारहरूमा मात्र किन नकारात्मक टिप्पणी गरिन्छ ?

नेपालमा धेरै जातजाति र तिनका आ-आफ्ना संस्कार तथा रितिरिवाजहरू छन् | यस्ता रितिरिवाजहरू उनीहरूले आफै बनाएका होइनन्, पुस्तान्तरणमा प्राप्त गरेका हुन् | नेवार, गुरुङ, शेर्पा, तामांग, थारूआदि जातिहरूका संस्कारहरूमा रक्सी तथा पशुबलीको परम्परा छ | नेवार-समुदायमा बालिकालाई (पहिलो पटक रजस्वला भएपछि) १२ दिनसम्म गुफामा राख्ने चलन छ | किरातहरूमा भागेर विवाह गर्ने चलन छ | मुस्तांग तथा डोल्पाका केही भागहरूमा बहुपति प्रथा कायम छ | यी विषयहरूमा चियोचर्चो गरेको सुनिदैन र पढीदैन पनि | किन ?

हिन्दूसमुदायमा प्रचलित एउटा रितिरिवाज हो – छाउपडी वा रजस्वला भएकोमा अरूसंग नछोइने चलन | यो चलन नेपालका सबैभागमा प्रचलित छ | कहीं अति कठोर छ भने कहीं अलि खुकुलो | सुदूरपश्चिममामा छाउपडी सच्चिनै लाजमर्दो तरिकाले कठोर तथा अमानवीय छ | सुत्केरी वार्ने प्रथा पनि त्यहाँ कम अमानवीय छैन | हामीले चाहे वा नचाहे पनि यी प्रथाहरू त्यससमाजका वास्तविक अंग हुन् |

आजभोली पश्चिम नेपालमा प्रचलित छाउपडीको विषय निकै विक्ने समाचार बन्ने गरेको छ | सरकार तथा गैरसरकारीस्तरबाट अरवौं बजेट यस प्रथाको अन्त्यका लागि खर्च भैसकेको छ | एनजीओ/आइएनजीओहरूले प्रस्तुत गर्ने रिपोर्टका रूपमा नेपाल र नेपालीहरूको हदैसम्मको वदनामी भइरहेको छ | सरकारी तन्त्र र एनजीओ/आइएनजीओहरूको नकारात्मक प्रतिवेदन, स्कूलिंग तथा रवैयाले गर्दा समस्या अझै चुलिएको छ |

आधुनिकताको नाममा एनजीओ/आइएनजीओहरू परम्परा तथा संस्कृतिको सामाजिक पक्षलाई अपहेलना गर्दै समाजको नकारात्मक रुप प्रस्तुत गर्नेगर्दा एनजीओ/आइएनजीओहरूको संस्कृतिलाई समाजले स्वीकार गरिरहेको छैन | सामाजिक तथा सांस्कृतिक मान्यताहरू एकातिर र एनजीओ/आइएनजीओहरूका मान्यताहरू एकातिर भएकोले मिडिया वा सरकारले जतिसुकै हल्ला मचाएपनि परिवर्तन हुन सकेको छैन |

संस्कार तथा रितिरिवाजहरू सजिलै परिवर्तन हुने विषय होइनन् | उदाहरणका लागि नेपाली राज्यले २००७ देखि नै गैरकानुनी तथा दण्डनीय मानेको “छुवाछुत” प्रथा नेपालमा जीवित नै छ | तर २००७ सालमा छुवाछुत जुन रूपमा विद्यमान थियो, आज त्यसको एकचौथाई पनि छैन | त्यैपनि एनजीओ/आइएनजीओहरूले नेपाली समाजको नकारात्मक रिपोर्टिंग गरेर “हिन्दू समाज”लाई वदनाम गर्ने काम गरेका छैनन् | जति छ त्यो गलत छ तर परिवर्तन भएका सकारात्मक पक्षहरूको उजागर गर्ने काम कसैले गर्न चाहन्नन् | यसो गर्यो भने चुला निभ्छ |

रजस्वला र त्यससंग जोडिएको “छुन नहुने” रितिरिवाज सामाजिक मनोविज्ञानसंग जोडिएको छ | विदेशीहरूले मान्दैनन्, नेवार वा राई-लिम्वुहरुले मान्दैनन् भन्दैमा हिन्दूहरूले तुरुन्त छोड्नुपर्छ भने एनजीओ/आइएनजीओहरूको काइते प्रशिक्षणहरू अर्थ विहिन देखिएका छन् | कारण स्पष्ट छ. सामाजिक मान्यताको मनोविज्ञान र लाद्न खोजिएको आधुनिकता कहीं पनि मेल खाँदैन | जनताले सामाजिक र मनोवैज्ञानिकरूपमा एनजीओ/आइएनजीओहरूको स्कूलिंगलाई महत्त्व नदिएसम्म परिवर्तन सम्भव छैन |

छाउपडीप्रथाका नाममा स्थानीय जनताको दोहोलो काड्ने गरि नकारात्मक संदेश पठाउन रकम खर्च गर्नुको सट्टा घरभित्र नै एउटा छुट्टै कोठा निर्माण गरेर रजस्वला अवस्थामा हेरविचार गर्ने प्रेरित गरेको भए छाउपडीको कठोरताबाट समाजले अलिकति बढी मुक्ति प्राप्त गरिसकेको हुन्थ्यो | धेरै किशोरीहरूको जीवन सुरक्षित रहन्थ्यो |

इसाईहरूले छाउपडी मान्दैनन्, उनीहरूका देउता रिसाएको थाहा छैन भन्दैमा हजारौं वर्षदेखि चलिआएको प्रथा परिवर्तित हुँदैन | परिवर्तन गर्नेहरू सामाजिक रूपमा एक्लिन्छन् | सामाजिक रूपले एक्ल्याउनेहरूमा इसाईहरू सोचको योगदान हुन्छ भने अतिरन्जित परिवर्तनको वकालत गर्ने सोचमा एनजीओ/आइएनजीओहरूको स्कुलिंग हुन्छ | दूबै समाजका लागि स्वस्थकर हुँदैन |

यदि संस्कार र रितिरिवाजहरूलाई चुनौती दिने हो भने हिन्दू, इसाई, बौद्ध, मुस्लिम तथा गैर-धार्मिक समुहका रितिरिवाजहरूलाई पनि चुनौती दिनुपर्ने हुन्छ | उदाहरणका लागि मुस्लिम समुदायमा बालकहरूको खताना गरिन्छ | एउटा सानो बालकको लिंगबाट छाला काट्नु  कुनै पनि हालतमा “छाउपडी”भन्दा कम निन्दनीय छैन | त्यसैगरी वुर्काप्रथा, इसाईहरूमा बप्स्तिमाको नाममा साना-वालबालिकाहरूलाई घन्टौंसम्म चीसो पानीमा डुवाउनेरितिरिवाज कम निन्दनीय हुँदैन |
तथाकथित नेपालका आधुनिकतावादीहरूको दोहोरो चरित्रको प्रस्तुति हेर्दा र पढ्दा दिक्क लाग्छ | रक्सीको काम मताउने नै हो त्यो चाहे बाहुनले खाओस् वा आदिवासी जनजातिले | बाहुनले रक्सी खाँदा मानवाधिकारको हनन हुने र गैरबाहुनले रक्सी खाँदा “मानवाधिकारको सम्मान” हुने हुँदैन | साकेला, उभौली-उधौली, भूम्या पर्वहरूमा नयानया ब्रान्डका रक्सीहरूको प्रदर्शनी अधिकारका रुपमा लिने सोचबाट नेपाली समाजले मुक्ति प्राप्त गर्ननै पर्छ |

समाजको परिवर्तन सकारात्मक स्कूलिंगबाट हुन्छ, नकारात्मक स्कुलिंगले हुँदैन | ८२ प्रतिशत हिन्दू भएको देशमा गाईकाट्न पाउनुपर्छ भन्ने मांग कसरी जायज हुन सक्छ ?  एस्तो माग र एस्तो सोचले अन्धविस्वासमा आधारित रितिरिवाजहरू तुरुन्त सच्चिन्छन् भन्ने विचार र त्यसका वाहकहरूको सोच लूतो कन्याउँदा रमाइलो अनुभव मात्र हो जसको वास्तविकतासंग कुनै सम्वन्ध नै छैन |

कुन संस्कार तथा रितिरिवाज ठीक हो वा कुन वेठीक हो ? निर्णय गर्ने जिम्मा सम्वन्धित समाजको हुन्छ | विज्ञहरूको काम तिनको पहिचान गर्ने र सुधारका लागि सुझाव दिने मात्र हो | कुनै राम्रो वा नराम्रो प्रथाका कारण जीवनको क्षति हुने सम्भावना छ भने त्यस्तो कार्यलाई न्यायिक क्षेत्रमा समेट्नु सरकारको काम हो | छाउपडी समस्या होइन, एनजीओ/आइएनजीओहरूले त्यसको ब्यबस्थापनका लागि अगाडी सारेको सोच गलत छ | छाउपडीप्रथाको समाजले स्वीकार्ने विकल्प दिएको भए छाउपडीको विभत्सरूप परिवर्तित हुनेथियो | उनीहरूले छाउपडीका लागि होइन, आफ्नो चुलोबाल्न काम गर्ने भएकोले समस्या जस्तोको तस्तै रहेको हो |

जवसम्म सरकार तथा गैरसरकारी तन्त्रले हिन्दू रितिरिवाज तथा संस्कारसंग शत्रुतापूर्ण रिपोर्टिग गर्छ, होच्याउने काम गर्छ, सामाजिक रूपले त्यो स्वीकार्य हुँदैन | समाजमा प्रचलित सबै संस्कार र चालचलनहरूलाई पश्चिमा आँखाले हेरेर मात्र हुँदैन | हाम्रो टार्गेट संस्कार परिवर्तन होइन, संस्कारमा निहित अमानवीय पक्षको परिवर्तन हुनुपर्छ | जोगाउन पर्ने जोगिनुपर्छ र मासिनु पर्ने मासिनु पर्छ |


हाम्रा मौलिक, रैथाने रितिरिवाज र संस्कारहरू मैं हाम्रो नेपालीपनको पहिचान कायम छ | सबै रितिरिवाजहरू मासेर, आफ्नो जरोकिलो उखेलेर कुनै पनि मुलुक सम्बृद्ध र अग्रगामी बन्न सक्दैन | रैथाने रितिरिवाज र संस्कृतिको रक्षा पनि हुनुपर्छ र यसमा रहेका नराम्रा पक्षहरू पनि सुधारिंदै जानुपर्छ | समाज गतिशील छ, यो गतिशीलतामा हामीले विश्वास गर्नुपर्छ | अरूको नक्कल गरेर परिवर्तन होइन, स्वाभाविक परिवर्तनले समाज अग्रगामी बन्छ | 

जुन देशमा हिन्दूको नाम लिनुहुँदैन

१. हिन्दूहरूको हिन्दूत्व विरोध

यो देशमा सबै कुरा गर्नुहुन्छ तर हिन्दूहरूले आफ्नो कुरा गर्नुहुँदैन | कसैले हिन्दूहितको कुरा गर्यो कि ऊ राजावादी हुन्छ, प्रतिक्रियावादी हुन्छ, बाहुनवादी हुन्छ, जातिवादी हुन्छ | केही नामचलेका मिडिया, राजनीतिज्ञ, तथाकथित मानवाधिकारवादी, समाजका अगुवा, विदेशी राजदूत, विदेशी पैसाबाट संचालित आएनजीओ/एनजीओ सबै मिलेर अरिंगालझैं जाइलाग्छन् | अचम्मको कुरो के भने यस्ता अधिकांश विरोधीहरू हिन्दूहरू नै हुन्छन् | 

अरू सबैले जातीयता, क्षेत्रीयेता, विखण्डन जे-जेस्तो कुरा गरे पनि “अधिकार र पहिचान” नै हुन्छ | होस् गर | चाला ८२% जनताको भावनासंग खेलाँची गर्न डराउँ | एस्तै रह्यो भने एक दिन हिन्दूहरूमा पनि चरमअसहिष्णुता जन्मन सक्छ | समय मै बुद्धी पुर्याऊ |

संसारमा बहुसंख्यक जनताको भावनालाई तुच्छ ठान्नेहरू माटोमा पुरिएका छन् | हिन्दूहरू छुवाछुतवादी होलान्, अन्धविश्वासी होलान्, अशिक्षित होलान् तर विवेकहीन छैनन् | धर्मको नाममा अरूलाई मार्ने काम गर्न सक्दैनन् | घरमा आएका पाहुनालाई घोक्रेठ्याक लगाउंदैनन् |

मुस्लिम वा इसाई जोसुकैका देवतालाई आफ्नो पूजाकोठामा सजाउन सक्ने अद्भूत क्षमता हिन्दूहरू छ | कट्टरता हिन्दूहरूको रगतमा छैन | त्यसको प्रमाण हामी नेपाली नै हौँ | ८२% हिन्दू जनसंख्या हुँदाहुँदै पनि देश धर्मनिरपेक्ष बन्यो | राजनैतिक बेइमानहरूले हिन्दूराष्ट्र वा धर्मनिरपेक्षताका विषयमा जनमत बुझ्न नहुने षड्यन्त्र गरे, सफल पनि भए | यो फरक प्रसंग हो | 

अमेरिकामा ट्रंप आए, भारतमा मोदी आए, रूसमा पुटिन छन् | ब्रिटेन युरोपबाट अलग्गियो | यी सबै घटनाले तथाकथित उदारवादीहरूको मुटुमा ढ्याग्रो ठोकेको छ | उदारवादीवादका नाममा सधैं बहुमत जनताको अपमान गरिरहे नेपालमा पनि ट्रंप, पुटिनहरूको उदय हुन्छ नै | यो हिन्दुहरूको पुनरोदय हुनेछ | 

२. हिन्दूहरू कति सहिष्णु ?
बेलायती प्रधानमन्त्री क्यामरूमले एकपटक भनेका थिए : यदि संसारका सबै मानिसहरू हिन्दूहरूझैँ सबैको धार्मिक अस्तित्वलाई स्वीकार्ने भएको भए, संसार नै स्वर्ग हुने थियो | तर यसो हुँदैन | जतिसुकै सहिष्णुता तथा सहअस्तित्वको कुरा गरे पनि यहुदी, इसाई तथा मुस्लिमहरूको डीएनएमा एकलवादी संस्कार भरिएको छ | चारजना महिलाहरू चुपचाप बस्न नसकेझैँ मुस्लिम, इसाई तथा यहुदीहरू पनि एकआपसमा मिलेर बस्नै सक्दैनन् | 

दोस्रो तर्फ. साम्यवादी र पहिचानको लागि राजनैतिक लडाईगरिरहेकाहरूले पनि देशका ८२% हिन्दूहरूकै आस्था तथा संस्कृतिमा प्रहार गर्ने क्रियाकलाप प्रदर्शित गरिरहेका छन् | दलितसमुदायका अगुवाहरू, जनजाती-आदिवासीका अगुवाहरू तथा अधिकार कर्मीहरूका अगुवाहरूका लागि “हिन्दू”लाई विभिन्न वहानामा अपमान गर्न रमाइलो लागेको देखिन्छ | मानौं, नेता बन्नका लागि चाहिने योग्यता नै “हिन्दू-समुदाय”लाई अपमान गर्नुहो | निश्चयनै एस्तो अधिकारवादो सोच र राजनैतिक उन्नतिको लागि गरिने प्रयासहरूले द्वन्द नै निम्त्याइरहेको छ | 

सहिष्णु हुनुको अर्थ सधैं जसले जेजस्तो भने, लेखे पनि सहेर बस्नु अवश्य हुँदैन | सहने सीमाको अन्त्य भएपछि त्यसले विस्फोट निम्त्याउछ | नेपाली समाजमा बढ्दो हिन्दू-असहिष्णुताका जिम्मेदारहरू जातीवादी, मानवतावादी तथा सङ्घीयताको राजनीति गर्ने नै हुन् | 

३. हिन्दूत्वको प्रायोजित विरोध 
हिन्दूहरूको सामाजिक ब्यबहारको निन्दा गरेर मात्र नेपाली समाज प्रगतिशील हुन्छ भन्ने सोच मै तुच्छता छ | एस्तो तुच्छ चिन्तनको प्राथमिक स्रोत वामपन्थी चिन्तन हो | उदाहरणका लागि माओवादी केन्द्रका थिंकट्यांक मानिने हरिरोक्का साम्यवादीहरूले जातीयता तथा क्षेत्रीयता उचालेर निम्तिएको नेपालीजातिहरूविच भित्रिएको असहिष्णु देख्दैनन् तर मोदीको उदयलाई धार्मिक-कट्टरतासंग जोड्छन् (http://www.onlinekhabar.com/2015/02/236918/) | अप्रत्यक्षरुपमा ८२% नेपाली जनताको आलोचना गर्छन् | कुनै पनि हिन्दुहित सम्वन्धि अवधारणा वामपन्थीहरूका लागि धार्मिक फ्यानटासिज्म ठहरिन्छ |

असलमा, माओवादीको सशस्त्र विद्रोहका बेला सबैभन्दा बढी टार्गेट नै हिन्दूहरू, तिनको सामाजिक तथा सांस्कृतिक जीवन दर्शन र ब्यबहारमा गरियो | उदाहरणका लागि जनजाति संघका नेता टीवी पुन वा अरूलेखहरूलाई पढौं | उनीहरूको लेख र चिन्तन हिन्दू धर्म र संस्कृतिमा प्रहार गर्नमात्र केन्द्रीत रहेको देखिन्छ | (http://www.everesttimes.net/article.php?type=article&aid=152) उनीहरू गाई काटेर खान पाउनु पर्ने ढीपी गर्छन् | जनजाति वा आदिवासीले हिन्दू संस्कृतिलाई छोड्नु पर्ने अभियान चलाउँछन् | यिनको लेखले, विद्रोहकालमा माओवादीहरूले हिन्दू बहुसंख्यकउपर मच्चाएको वितन्डा कस्तो असहिष्णु थियो ? भनेर स्पस्टसंग बोलेको छ |

४. आदिवासी-जनजाती भर्सेज हिन्दू 
अर्को उदाहरण हेरौं, तथाकथित आदिवासी जनजातिका स्वयम्भू नेताहरूले हिन्दू धर्म तथा संस्कृतिको मान मर्दन गर्न अमानवीय, असहिष्णु तथा दण्डहीन घोषणापत्र जारीगरेका छन् | जसले स्पस्ट रूपमा “आज मिति २०६८ साल माघ ७ तदनुसार जनवरी २१, २०१२ मा यो घोषणापत्र जारी गर्दछौं । १. एकात्मक हिन्दू राज्यको निर्माणदेखि नै निरन्तरता पाएको बाहुनवाद, पितृसत्तावाद, खस–नेपाली भाषा, हिन्दू धर्म र संस्कृतिको एकाधिकारको सिद्धान्त, नीति तथा प्रचलनहरू जातिवादी, लैंगिक रूपमा विभेदकारी, कानुनी रूपमा अवैध, नैतिक रूपमा निन्दनीय तथा सामाजिक रूपमा अन्यायपूर्ण भएकोले सो कुराहरूको अन्त्य संविधानमा नै सुनिश्चित हुनु पर्दछ भनी हामी प्रतिवद्ध छौ ।“ (http://www.everesttimes.net/article.php?type=article&aid=663#sthash.yxFLeESQ.dpuf | दूर्भाग्यवस यस्तो चरमजातिवादी घोषणा पत्र जारी गर्नेहरूमा त्रिभुवन विश्वविद्यालयका अध्यापक समेत छन् |

५. इतिहासको वामपन्थी ब्याख्या 
ईसापूर्व ४६४ मा काठमाडौंको चाँगुनारायणको शिलालेखजस्ता असंख्यप्रमाणहरूलाई वेवेस्ता गर्दै तथाकथित वामपन्थी लेखक, इतिहासकार तथा जातिवादीहरूले हरेकजसो लेखमा हिन्दूहरूलाई “शरणार्थी, भगौडा”आदि शब्दहरूको प्रयोग गरेर अपमानित मात्र गरेको देखिन्छ | नेपाल मङ्गोल अर्गनाइजेसनजस्ता विशुद्ध जातिवादी तथा माओवादीहरूले हिन्दूहरूका चाडवाडहरू समेतको कित्ताकाट गरेका छन् (http://esamata.com/insight/1548/) | सबैका साझा चाडवाडहरूलाई हिन्दू र गैरहिन्दूको कित्त्तामा काटेर चरमजातीय घृणा फैलाउने समुहहरूलाई वि.स. २०६३ मा “आदिवासी जनजाति उत्थान समिति” गठन गरेर राजकीय स्तरमै जातिवादीघृणावाद फैलाउन मदत गरेको छ | 

६. विद्रोहीको हिन्दूविरोधी अभियान 
वामपन्थी नेताहरूमा श्री पुष्पकमल दाहाल, श्रीबाबुराम भट्टराईआदिले नेतृत्व गरेको आन्दोलनले सधैं हिन्दूहरूका सामाजिक, संस्कृतिक तथा धार्मिक आस्थाहरूउपर प्रहार गरिरहे | गोरखाको दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या (माघ ३ गते २०५८) उनी “संस्कृत”का शिक्षक भएकै कारण गरिएको थियो | सम्भवत: भाषाका आधारमा हत्या गरिएका उनी पहिलो व्यक्ति हुन् | यस अर्थमा, यो हत्या नेपालबाट एउटा भाषाको अन्त्य गर्नमा केन्द्रीत रहेको थियो भन्न अनुचित हुँदैन | हत्याराहरूले जेजस्तो आरोप लगाए पनि संस्कृत शिक्षकको हत्या गरेर देशका बहुसंख्यक हिन्दूहरूलाई आफ्नो धर्म-संस्कृतिप्रति आतंक सृजना गर्नुथियो |

स्वर्गद्वारीको गूठी कब्जा होस् अथवा नेपाल संस्कृत विविको पुस्तकायलमा गरेको आगजनी, चौताराका निर्दोष गुरुकुलका बटुकहरूको टुप्पी काट्ने काम होस् अथवा पर्वतको रानीपानीको मन्दिरमा गाईको मासु खाने विषय होस्, रोल्पामा तीज तथा दशैँ मान्न रोक लगाउनु होस् अथवा ओखलढुंगाकी ८० वर्षीया वृद्धालाई जवर्जस्ती भैसीको मासु कोचाउने काम होस् आदि सबै काम हिन्दूहरूका विरुद्ध प्रायोजित रहेको छैन भन्ने कुरामा कसैके पनि विश्वास गर्न सक्दैन | दाङ्गको संस्कृत विविको पुस्तकालय बाल्न सक्नेले कुनै गुम्वाको पुस्तकालय किन जलाएँनन् ? किन कुनै मदरसामा आक्रमण गरेनन् ? र किन कुनै चर्च र मिसनले संचालन गरेका विद्यालयमा आक्रमण गरेनन् ? जवाफ श्रीबाबुराम भट्टराईहरूले दिनुपर्छ | होइन भने उनीहरूको राजनैतिक पदार्पण नै हिन्दूत्वको विरोध गरेर नेपाली एकतालाई कमजोर पार्न कसैले प्रायोजित गरेको हुन् भन्ने विषयमा धेरै शंका गर्नु पर्ने रहेन | 

माओवादीवादी आन्दोलनको समग्र कालखण्डमा कुनै चर्च, गुम्वा वा मस्जिदमा आक्रमण गरिएन | यसले स्पस्ट हुन्छ, उनीहरूले हिन्दूधर्म र संस्कृतिप्रति प्रायोजित विचार राख्थे | त्यो पूरा गर्न अनेकौं रूपमा आक्रमण गरिरहे | अन्य समानप्रकृतिका धर्महरूका संस्कृतिको संरक्षण गर्दै केवल हिन्दूधर्म तथा संस्कृतिक पक्षलाई तारो बनाएको विषयमा अव नया शक्तिका नेता बनेका श्रीबाबुरामजीले जवाफ त दिनैपर्छ |

७. वामपन्थी हिन्दू !
अचम्मको कुरा के हो भने नेपालमा (माओवादी बाहेक) अन्य वामपन्थीहरूको नेतृत्व तथा धर्मको ठेकेदार ठानिएको नेपाली कांग्रेस वा राप्रपाभन्दा पनि धार्मिक छ | सैद्धान्तिकरूपले कुनै पनि वामपन्थीहरू धार्मिक हुनुहुँदैन | स्व. मदन भण्डारीले नेपालको धार्मिक-संस्कृतिको पकडलाई बुझेका रहेछन् | नौलोजनवादमा उनले हिन्दूधर्मसंस्कृतिको निराकरण गर्नुपर्छ भन्ने वामपन्थीको वैचारिक सिद्धान्तलाई खारेज गरिदिए | उनले धर्मका पक्ष वा विपक्षमा न बोलेर यसलाई जनताको सुझबुझ र विश्वासमा छोडिदिए |

आज एमाओवादीहरूले नेपालमा जातीयता र जातीय वैमनश्यता भित्राएका हुन् भन्ने आरोप लाग्छ | यो आरोपलाई दूईवटा प्रतिनिधि घटनाले पुस्टि गरेको देखिन्छ | पहिलो, उनीहरूले हिन्दू धर्म र त्यसको आधारभूत शैक्षिक ब्यबस्था संस्कृतभाषाको खैरो खाने र दोस्रो राजा पृथ्वीनारायण शाह र तिनको योगदानको घोर अपमान गरे | संस्कृतभाषाको विरोध र पृथ्वीनारायण शाहको विरोध एकआपसमा गाँसिएको छ | किनभने उनले आफ्नो समयमा इसाई पादरीलाई देश निकाला गरे र आफ्नो धर्म-संस्कृतिको थलो नेपाल नै हो भन्ने संदेश दिए | 

नेपाल हिन्दू सनातन धर्मको उत्पत्ति थलो भएको प्रमाणित गर्नका लागि काठमाडौंका चारवटा नारायणहरूमा रहेका शीलालेखहरू यथेस्ट छन् | चाँगुनारायणमा रहेको शिलालेखले (ईसापूर्व ४६४) त्यस बखत नै सनातन बैदिक धर्म विकसित थियो भनेर प्रमाणित गर्दा गर्दै पनि प्रायोजित ककस र वर्गीय संगठनका रुपमा हिन्दूहरूउपर प्रहार गर्ने क्रम रोकिएको छैन | कहिले गाई काट्नु पर्ने अधिकारका विषयमा होस् वा दशैँतिहार विरोधीहरूलाई प्रोत्साहन दिएर होस्, प्रहार गर्ने काम भैरहेको छ | एस्तो क्रियाकलापमा युरोपेली, अमेरिकन तथा भारतीयहरूको संलग्नताको प्रमाण बेलायतका तत्कालीन राजदूत एन्ड्रु स्पार्कले (http://therisingnepal.org.np/news/568) तत्कालीन संविधानसभालाई लेखेको पत्रबाट छर्लंग भएको छ | एन्ड्रु स्पार्कले लेखेको पत्रको नेपालभरी ठूलो विरोध भयो तर ककस तथा एमाओवादीहरूले त्यस विषयमा एकशब्द पनि बोलेनन् बरू केहीले खुलेर सपोर्ट गरे | 

८. असमावेसी समावेशीकरण 
नेपालको ८२% जनसंख्या ओगट्ने हिन्दूहरूको दुर्भाग्य नै भन्नुपर्छ कि राज्य, राज्यका संयन्त्रहरू, तथाकथित मानवाधिकारवादीहरू, विदेशी रकमले चलेका केही नामुद एनजीओ तथा आइएनजीओहरूको धर्म र पेशा नै हिन्दूहरूका धर्म संस्कारको विरोध गर्ने भएको छ | जनताले तिरेको करले चल्लने आदिवासी जनजाती उत्त्थान समितिले प्रकाशन गरेका कृतिहरू पढ्नेहो भने यी कुरा छर्लंग हुन्छन् | राज्यसंचालकहरूले बुझ्नुपर्छ शान्त र सहिष्णु रहने हिन्दूहरू २०६३ को परिवर्तनपछि आक्रामक अवतारमा स्पेस खोजिरहेका छन् | बहुसंख्यकहरू बहुलाहा बनाउने कामको प्रोत्साहन कसैले दिनुहुँदैन, जिस्काउने काम गर्नुहुँदैन | 

एकपटक शैक्षिक दुर्दशातिर हेरौं | अहिलेको शिक्षानीति पूर्णतया हिन्दूहरूको तेजोवध गर्ने तरिकाले तर्जुमा गरिएको छ | कक्षा एक देखि १२ सम्म सबै धर्मको कुरा गरिएतापनि हिन्दूधर्म र संस्कृतिका विषयमा उल्लेख गर्न हदैसम्म कन्जुसी गरिएको छ | कक्षा एक देखि १२ सम्मका नेपाली तथा सामाजिक शिक्षामा केवल ७ ठाउँमा हिन्दूत्वका सामाग्री छन् | बौद्ध सम्बन्धि २२ बटा, इसाई सम्मब्धि १६ बटा र किराती सम्वन्धि ६ बटा सामग्री छन् | जवकि समावेशी राज्यको सिद्धान्तअवलम्वन गर्ने हो भने ८२% हिन्दूत्वको विषयमा, १०% बौद्ध, १.४% इसाई सम्वन्धि जानकारी हुनुपर्छ | अहिले ९०% बौद्ध पाठ्यसामाग्री, ६५% इसाई धर्मको पाठ्यसामाग्री र केवल २४% प्रतिशत: मात्र हिन्दू धर्म र संस्कृतिसंग सरोकार राख्ने पाठ्यसामग्री पुस्तकहरूमा समेटिएको अनुमान छ | 

१.४% जनसंख्याको प्रतिनिधित्व गर्ने इसाई समुदायका लागि पाठ्यपुस्तक ६५% जानकारी उपलब्ध गराउनुलाई काकताली भन्न सकिन्न | शिक्षाक्षेत्रभित्र रहेका मिसनरी माफिया, राजनैतिक दलभित्रका धार्मिक प्रतिनिधि, दाताका रुपमा काम गर्ने धार्मिक दलालहरूको संयुक्त प्रयासले मात्र एस्तो भएको हो भन्ने कुरामा शंका रहन्न | साथै, यी पाठ्यपुस्तकमा “प्रमुख धर्म”को रूपमा समेटिएको इसाई पन्थ कसरी नेपालको प्रमुख धर्म भयो भन्ने जवाफ जनताहरूले माग्नैपर्छ | समावेशीको काइते अवधारणा ल्याउने नीतिकारहरूसंग “हिन्दूहरूलाई समावेशीको सिद्धान्त” किन लागु हुँदैन भनेर सोध्नुपर्छ | एस्तो असमावेशी काम हुँदा ८२% हिन्दू चूप रहनुपर्छ भन्ने काइते मान्यता लिएका नेतृत्वले हिन्दूहरूलाई असहिष्णुतातिर डोर्याइरहेको छ | 

९. असहिष्णुताका उक्साहट 
निश्चय नै, २०७२ को संविधानपछि नेपालका हिन्दूहरूले निकै अपमानित अनुभव गरिरहेका छन् | यो अपमान सबै पार्टीका आँगनमा पुगिसकेको छ | कुनै चाडवाड मनाउंदा होस् अथवा हिन्दू संस्कृतिका विषयमा जानकारी मूलक लेख नै प्रकाशित गर्दा किन नहोस्, लेखक धर्मनिरपेक्षतावादीहरूको तारो बन्ने गर्छन् | धर्मनिरपेक्षता सबैभन्दा असहिष्णु बाटोमा विकसित हुँदैछ | यो असहिष्णुताको रापले मोदनाथ प्रश्रितजस्ता पुराना साम्यवादीहरू रापिएका छन् | यो देश र समाजको लागि शुभ-सूचना पटक्कै होइन | धर्मनिरपेक्षवादीहरूले वारम्वार हिन्दूहरूको अपमान गरेर उनीहरूको स्वाभिमानमा प्रहार गरिरहेको कुरा छरपस्ट छ | 

धर्मनिरपेक्षतावादीहरूले एउटा गुण भने अवस्य लगाएका छन् : हिजोसम्मका प्राकृतिक हिन्दूहरू आज आफ्नो आँगन जोगाउन जुर्मुरिन थालेका छन् | उनीहरूलाई “अपमान”को बोध हुन थालेको छ | अपमान बोधले सीमा काट्नु भन्दा पहिला नै सरकारले (धर्मनिरपेक्षतावादी) यसको सम्वोधन गर्नुपर्छ | यस्तो सम्वोधन सीधा, स्पस्ट तथा सबैको लागि हुनुपर्छ | सबै नेपालीहरूको जितका रूपमा आउनुपर्छ | विदेशीहरूका विचारको सम्मान हुनुपर्छ तर तस्तो सम्मान नेपालका ८२% जनमतको अपमान गरेर दीगो हुँदैन | 


१०. अव के ?
राज्यले ८२% हिन्दू जनसंख्याको जनमतको स्वाभिमानलाई स्वीकार्न विदेशीहरूको मुख ताक्नु पर्दैन | दलीय नेताले विदेशीहरूको लागि नेता बन्ने लोभ छोडेर नेपाली जनताको नेता बन्ने स्पस्ट बाटो अगाल्नुपर्छ | यदि ८२% हिन्दूहरूले धर्मका सवालमा जनमत चाहन्छन् भने नेतालाई काँडा बिझ्नु हुँदैन | जनताको मत सबैभन्दा बलियो हुन्छ भन्ने कुरा भारतमा मोदी, अमेरिकामा ट्रंप र वेलायतको युरोपबाट वहिर्गमनले सिद्ध गरिसकेको छ | बुद्धिजीवी, राजनैतिक नेतृत्वले विदेशी राजनीति-धर्मनीतिको पक्षमा उभिएर आफ्नो देशको बलिदान दिनुभन्दा नेपालीका लागि राजनेता बन्ने प्रयत्न गर्नुपर्छ | विदेशीहरूका लागि महान् नेता बन्ने प्रयन्त गर्ने वालहठ छोडेर नेपालीको नेता बन्ने प्रयत्न गर्नुपर्छ | आफु महान् बन्ने होइन नेपाललाई महान् बनाउने यज्ञमा लाग्नुपर्छ | बाटो सफा, स्पस्ट र सुन्दर छ, त्यो बाटोमा हिड्न सक्ने आँट, जाँगर र आत्मविश्वास चाहिएको छ | जनता सधैं हामीसंगै छन् |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...