Thursday, January 19, 2017

रेडिमेड शिक्षाले देशको विकास गर्दैन

अमेरिकन, युरोपेली वा त्यस मूलका व्यक्तिहरूको विकासको रुपरेखा तिनले आफ्नो शैक्षिक पद्यतिमा कोरेका छन् | यसमा चारबटा मूल कुराहरू छन् :इतिहास, सहकार्य, निरपेक्षता, उत्तरदायित्व र स्वत्त्वकरण |

पहिलो, उनीहरूले जुन सुकै शैक्षिकविधाको विकास गर्दा पनि आफ्नो इतिहासलाई उधृत गरेका छन् | उनिहरुले इलियाड, होमर, थेल्स, सुकरात, प्लेटो, अरस्तु यहाँसम्म कि क्रुरतम हत्यारा नेपोलिनआदिलाई पनि सम्मानका साथ आलोचनात्मक तवरले उद्धरण गर्छन् | उनीहरूका रिसर्चहरूमा आफ्नो इतिहासको विज्ञान, व्यस्थापन, सामाजिकशास्त्र, मानवशास्त्रआदिको उद्धरण हुन्छ नै |

दोस्रो,मा, उनीहरूले ज्ञानको विकासमा सहकार्य गरेका छन् | यस्तो सहकार्यमा रोमन, ग्रीक, इटालियन, जर्मन, इंग्लिसहरू एकठाउँमा उभिएका छन् | उनीहरूले आपसमा विश्वयुद्ध लडे, करोडौं मान्छे मारे तर इतिहासका सवालमा सधैं सहकार्य गरे | साम्यवाद, पुँजीवाद, समाजवाद, राजतन्त्रआदिले उनीहरूको शैक्षिक-सहकार्यमा नकारात्मक प्रभाव पारेन | समालोचनात्मकरुप मै सही धर्म र संस्कृतिको पक्ष सधैं चर्चाको विषय रहेको छ |

तेस्रो, उनीहरू विकास, सहकार्य तथा इतिहासका सवालमा काम गर्दा सधै निरपेक्ष रहे | हिटलर, चर्चिल, नेपोलियनआदिले जातीय इतिहास कोर्ने प्रयत्न गरे तर उनीहरू असफल रहे | आफ्नो इतिहासको निन्दा गर्ने त्यसलाई प्राथमिकता नदिने रोग युरोपियन र अमेरिकनहरूले स्वीकार गरेनन् |

चौथो, उनीहरूको शैक्षिक नीति जहिले पनि तिनको आफ्नो समाज, राष्ट्र तथा जनताका लागि उत्तरदायित्व पूर्ण रह्यो | उनीहरूले संसारभरीका मोडेलहरू बुझे तर ती मोडेलहरूलाई आफ्नो अनुलुल बनाए | यहाँसम्म कि आफ्नो नाम नै दिए | यो कार्यमा उनीहरूको इमान्दारी, लगनशीलता तथा विश्वनीयता कहिले पनि खण्डित भएन |

पाचौं, उनीहरू नक्कल गर्न र अनुसरण गर्न हिच्किचाएनन् तर नक्कल र अनुसरण गरिएका विषयहरू आफ्नो साँचोमा हालेर आफ्नो अनुकुल बनाए | अरू ठाउँबाट ल्याइएका विषयवस्तुहरूलाई समेत आफ्नो नाम दिए | सगरमाथालाई एभरेष्ट बनाएझैं सुकरात, प्लेटो, देकार्त, स्पेंसरआदिको मोडेलहरू प्रयोग गरेर स्वदेशी करण गरे |

उपरोक्त कारणहरू हुन् जसले अक्फोर्ड, हवार्ड, सेसेक्स आदि पश्चिमा विश्वविद्यालयले विश्वमा वर्चस्व स्थापित गर्छन् | विश्वका देशहरू आफ्नो देशमा हवार्डआदिको कामना गर्छन् | त्यहाँबाट उत्पादित जनशक्तिमा आँखावन्द गरेर विश्वास गर्छन् |

हामी नेपालीहरूको दुर्भाग्य केहो भने हामी सधैं उनीहरूको वर्चस्वलाई निम्तो दिन्छौं र आफ्नो देश, समाज, संस्कृति तथा आवश्यकताको वस्तुगत समिक्षा नगरी त्यसलाई "रेडिमेड" आफुमा लागु गर्ने प्रयत्न गर्छौं |

हामी नेपाली भनौं वा भारतीय उपमहाद्वीपको शैक्षिकभाग्य विदेशीहरूले कोरेका छन् | उदाहरणका लागि हाम्रा विश्वविद्यालयहरूले तयार पारेका पाठ्यपुस्तकहरूको शैक्षिक इतिहास यहाँको इतिहासबाट आरम्भ हुँदैन | हाम्रा पाठ्यपुस्तकहरूले विषयवस्तुको उठान कपिल, मनु, चरक, याग्यवाल्क्यआदिको उद्धरणबाट नभई थेल्स, सुकरात, प्लेटोआदिबाट हुन्छ |

हामी आफ्नो शैक्षिक इतिहासमा आफ्ना पुर्खाहरूको ज्ञानलाई कत्ति पनि समावेश गर्दैनौं | उदाहरणका लागि हाम्रो विश्वविद्यालयमा पढाइने राजनीतिक विषयका पाठ्यपुस्तकमा राजा मनुको राजनीतिक चिन्तन पहिलो उद्धरण हुँदैन अपितु प्लेटोको रिपब्लिकको चर्चा गरिन्छ | यसको सीधाअर्थ हो, हामी आफ्नो इतिहासमा कत्ति पनि विश्वास गर्दैनौं |

हाम्रा विश्वविद्यालयहरू, विद्यालयहरू र शिक्षाविदहरू केवल र केवल पश्चिमा "रेडिमेड" शिक्षाका विज्ञापनकर्ताको भूमिका निर्वाह गरिरहेका देखिन्छन् | हाम्रा प्राध्यापकहरूले आफ्ना अनुसन्धानको दिशा आफ्नै इतिहासप्रति मोड्न सकेनन् अथवा उनीहरू रेडिमेडमा रमाउन अभ्यस्त देखिन्छन् | मेडिकलका प्राध्यापकहरूले इजिप्टको हेरोडोट्सलाई कोट गर्दा अर्थववेदको सोमरस र चरकको योगदानको खोज गर्न आफ्ना विद्यार्थीहरूलाई अभिप्रेरित गर्दैनन् |

मेडिकलको इतिहासमा नेपाली विद्वानले लेखेको कितावमा हाम्रा विद्यार्थीहरूले सर्वप्रथम यजुर्वेदमा उल्लेखित औषधि विज्ञानको चर्चापछि मात्र हेरोडोट्स पढियो भने मात्र दृष्टिकोण परिवर्तन हुन्छ | त्यसपछि विश्वका जुनसुकै विद्वानहरूको खोजलाई आदरका साथ उद्धरण गरिनुपर्छ | तर यसो गर्नका लागि हाम्रा प्राध्यापक तथा शैक्षिकनीति तय गर्नेहरूले "रेडिमेड" शैक्षिक गुफाबाट बाहिर निस्कन जरूरी छ |

एउटा मेडिकलको प्रोफेसरले जति विदेशी मेडिकलको प्रमाणिक इतिहास जान्नु जरुरी त्यो भन्दा पनि बढी जरूरी आफ्नो स्वदेशी मेडीकलको इतिहास जान्नु आवश्यक छ | वैदिक, लौकिक संस्कृत, पाली आदि प्राचीन भाषा बुझ्दैनौ भनेर प्रोफेसरहरू पन्छिन मिल्दैन | मेडिकल प्रोसेसरले संस्कृत जान्नु हुँदैन भनेर मेडिकल एथिक्समा कहीं पनि उल्लेख छैन | यदि संस्कृत जानिदैन वा जान्न नै चाहन्नौं भने यो सबै "रेडिमेड" शिक्षाले निम्त्याएको दुर्भाग्य हो |

विज्ञान, शिक्षा, ब्यबस्थापन, निर्माणआदि सबै विधामा माथिल्ल्ला कुरा नै लागु हुन्छन् | हाम्रा शिक्षानीतिकार र विविका प्राध्यापकज्यूहरूले जवाफ दिनुपर्छ कि किन हामी आफ्ना विद्यार्थीहरूलाई आफ्नो इतिहास जान्न असली रिसर्च गर्न अभिप्रेरित गरिरहेका छैनौँ ? यदि हाम्रा विद्यार्थीहरूले सुकरात वा कार्लमाक्सलाई चिन्छन् र अश्विनी कुमार वा नरहरिनाथलाई चिन्दैनन् भने दोष "रेडिमेड" शिक्षा र रेडिमेड शिक्षकलाई नै दिनुपर्छ |

पश्चिमाहरूले शिक्षाका क्षेत्रमा जुन उचाई प्राप्त गरेका छन्, त्यस्तो उचाई प्राप्त गर्न सजिलो छैन | लगानी, पूर्वाधारआदिका विषयहरूलाई हामीले दोष दिन सक्छौं | यो स्वाभाविक पनि हो तर अनुसन्धानमा आफ्नो मौलिकतालाई नजरन्दाज गर्ने पद्यति हामी आफैले विकसित गरेका हौँ | हावर्ड विश्वविद्यालयमा अनुसन्धान गरिरहेको विद्यार्थीले नेपाली विषयवस्तुमा अनुसन्धान गर्दा पहिले यास्कको सिद्धान्त रत्नाकर कोट गरेर पछि गीवांडीको उद्धरण गर्न सक्छन् |

यदि हामीले आफ्नो इतिहाससंग न्याय गरेका छौँ भने जुनसुकै विश्वविद्यालयमा गएर नेपालीले अनुसन्धान गरेपछि आफ्नो इतिहासभित्र उपस्थित सिद्धान्तकारहरू र तिनको सिद्धान्त कोट गर्न बाधा पर्दैन | गीताकार कृष्णलाई काल्पनिक र सोही प्रकृतिको बाइबललाई प्रमाणिक मान्न प्रेरित गर्ने पश्चिमा पद्यतिको सुप्रिमेसी आफ्नो इतिहासबाट कोट नगरी अन्त्य हुँदैन | हामीले आफ्नो रेडिमेड सोच र संस्कृति मै परिवर्तन गर्न तयार हुनुपर्छ |

मेरो यो लेखको प्रयोजन पश्चिमा शिक्षानीतिको आलोचना गर्नु होइन | असल कुराहरू जहाँबाट लिए पनि हुन्छ तर ती विषयहरूले आफ्नो इतिहास ओझेलमा पर्नुहुँदैन | अहिलेको नेपाली शिक्षानीतिले आफ्नै इतिहास र त्यसभित्र रहेका उपलब्धिहरूलाई महत्व दिंदैन | त्यतिमात्र होइन, महत्वपूर्ण नठान्न वा व्यर्थ तथा काल्पनिक ठानेर नजरन्दाज गर्न अभिप्रेरित गर्छ | एस्तो अभिप्रेरणाको तीखो आगोमा हरेकपल हामीले आफ्नो प्राचीन इतिहासका उपलब्धिहरू गुमाइरहेका छौँ | हामी पलपल "रेडिमेड"को आगोमा बालेर खरानी भइरहेका छौँ |

उदाहरणका लागि नेपाली पाठ्यपुस्तकमा नेपालका प्रमुख धर्महरूमा इसाईमत समावेश गरिएको छ | विश्वका धेरैदेशहरूका लागि इसाईपन्थ प्रमुख धर्म हुन सक्छ तर नेपाल तथा भारतीय पाठ्यपुस्तकमा नेपाल वा भारतकै प्रमुख धर्मका रुपमा पाठ्यपुस्तकमा समावेश गरिनु पश्चिमा वर्चस्वको प्रभाव हो | नेपाल र भारतमा इसाई पन्थ पमुख छैन | हिन्दू र बौद्धहरू यहाँका प्रमुख धर्म हुन्, किराती, बोन्पो, जैनआदि प्रमुख हुन् |
क्रमशः

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...