Saturday, January 7, 2017

संस्कार : परिवर्तन सजिलो छैन


केही कुरा अचम्मका हुन्छन् | अचम्म हुनको लागि कुनै कारण चाहिन्न | परम्परा, संस्कार तथा सामाजिक मान्यताहरूको कारण के हो बुझ्न सकिन्न | अनुमान मात्र हुन्छ | हिन्दूहरूका सोह्र संस्कार किन बने ? यो प्रश्नको उत्तर सजिलो छैन | तर यी संस्कारहरू हिन्दू जीवनका अभिन्न अंग भएको कुराका हामी आफैं साक्षी छौं |

आजभोली नेपालमा रेडिमेड-संस्कृतिको बहस चलेको छ | आधुनिकीकरण र प्रगतिका नाममा स्थापित रितिरिवाज र संस्कारहरूको दोहोलो काड्ने काम भैरहेको छ | एस्तो काम अरू कुनैले होइन, आफुलाई शिक्षित मान्ने टाँठाबाठाहरूले गरिरहेका छन् | विदेशीको पैसाले चल्ने एनजीओ/आइएनजीओहरूले पनि स्थापित संस्कारहरूको खैरो खनेको प्रतिवेदनलेखेर पेट पालिरहेका छन् |

एनजीओ/आइएनजीओहरूले प्रहार नगरेको कुनै पनि हिन्दू संस्कार तथा रितिरिवाज छैन | जुन-जुन संस्कार र रितिरिवाजमा हिन्दू संस्कृति टिकेको छ, तिनै संस्कार तथा प्रचलनहरूमा प्रहार गरेपछि मात्र एनजीओ/आइएनजीओहरूको चूलो बल्छ | तर यो सत्य स्वीकार गर्न कुनै तयार छैनन् |

यी प्रगतिशीलहरूका लागि तीज महिलाहरूको दासत्वको दिवस हुन्छ | दशैतिहार गैरहिन्दूहरूलाई अपमानित गर्ने चाडवाड हुन्छ | होली-दिवाली फिजुल खर्च गर्ने त्यौहार हुन्छ | जनैपूर्णिमा बाहुनवादको मुख हुन्छ | नामकरण, ब्रतवन्ध-विवाहका विधीहरू सबै आडम्वर वा अन्धविश्वासका स्रोत हुन्छन् | एकादशी ब्रतवस्नु, कुनै तीर्थयात्रा गर्नु, यज्ञ गर्नुआदि सबै आडम्वर नै हुन्छन् | एतिसम्म कि बाबुआमाको मुख हेर्ने दिन पनि “अन्धविश्वास”को पराकाष्टा भनेर ब्याख्या गर्दै टेलिभिजन तथा छापामाध्यमबाट प्रस्तुति दिन्छन् |

हजारौंवर्षदेखि अनवरत रूपले महिलाहरूले मान्दै आएको तीज होस् वा ऋषि-पंचमी एनजीओ/आइएनजीओहरूका महिला-अधिकारवादीहरूका लागि सधैं आलोचनाका विषय हुन्छन् | लाखौंलाख महिलाहरूको अन्तरात्माको श्रद्धाको कुनै अर्थ छैन | लाग्छ, नेपालको नराम्रो प्रतिवेदन लेख्ने कलामा यिनीहरूले विशेष योग्यता प्राप्त गरेका हुन् ! नत्र आस्था र विश्वासमा टिकेका यी पर्वहरूमा निहित सकारात्मक विषयहरूको प्रतिवेदन किन लेखिदैन ? किन हिन्दूहरूका रितिरिवाज तथा आचारविचारहरूमा मात्र किन नकारात्मक टिप्पणी गरिन्छ ?

नेपालमा धेरै जातजाति र तिनका आ-आफ्ना संस्कार तथा रितिरिवाजहरू छन् | यस्ता रितिरिवाजहरू उनीहरूले आफै बनाएका होइनन्, पुस्तान्तरणमा प्राप्त गरेका हुन् | नेवार, गुरुङ, शेर्पा, तामांग, थारूआदि जातिहरूका संस्कारहरूमा रक्सी तथा पशुबलीको परम्परा छ | नेवार-समुदायमा बालिकालाई (पहिलो पटक रजस्वला भएपछि) १२ दिनसम्म गुफामा राख्ने चलन छ | किरातहरूमा भागेर विवाह गर्ने चलन छ | मुस्तांग तथा डोल्पाका केही भागहरूमा बहुपति प्रथा कायम छ | यी विषयहरूमा चियोचर्चो गरेको सुनिदैन र पढीदैन पनि | किन ?

हिन्दूसमुदायमा प्रचलित एउटा रितिरिवाज हो – छाउपडी वा रजस्वला भएकोमा अरूसंग नछोइने चलन | यो चलन नेपालका सबैभागमा प्रचलित छ | कहीं अति कठोर छ भने कहीं अलि खुकुलो | सुदूरपश्चिममामा छाउपडी सच्चिनै लाजमर्दो तरिकाले कठोर तथा अमानवीय छ | सुत्केरी वार्ने प्रथा पनि त्यहाँ कम अमानवीय छैन | हामीले चाहे वा नचाहे पनि यी प्रथाहरू त्यससमाजका वास्तविक अंग हुन् |

आजभोली पश्चिम नेपालमा प्रचलित छाउपडीको विषय निकै विक्ने समाचार बन्ने गरेको छ | सरकार तथा गैरसरकारीस्तरबाट अरवौं बजेट यस प्रथाको अन्त्यका लागि खर्च भैसकेको छ | एनजीओ/आइएनजीओहरूले प्रस्तुत गर्ने रिपोर्टका रूपमा नेपाल र नेपालीहरूको हदैसम्मको वदनामी भइरहेको छ | सरकारी तन्त्र र एनजीओ/आइएनजीओहरूको नकारात्मक प्रतिवेदन, स्कूलिंग तथा रवैयाले गर्दा समस्या अझै चुलिएको छ |

आधुनिकताको नाममा एनजीओ/आइएनजीओहरू परम्परा तथा संस्कृतिको सामाजिक पक्षलाई अपहेलना गर्दै समाजको नकारात्मक रुप प्रस्तुत गर्नेगर्दा एनजीओ/आइएनजीओहरूको संस्कृतिलाई समाजले स्वीकार गरिरहेको छैन | सामाजिक तथा सांस्कृतिक मान्यताहरू एकातिर र एनजीओ/आइएनजीओहरूका मान्यताहरू एकातिर भएकोले मिडिया वा सरकारले जतिसुकै हल्ला मचाएपनि परिवर्तन हुन सकेको छैन |

संस्कार तथा रितिरिवाजहरू सजिलै परिवर्तन हुने विषय होइनन् | उदाहरणका लागि नेपाली राज्यले २००७ देखि नै गैरकानुनी तथा दण्डनीय मानेको “छुवाछुत” प्रथा नेपालमा जीवित नै छ | तर २००७ सालमा छुवाछुत जुन रूपमा विद्यमान थियो, आज त्यसको एकचौथाई पनि छैन | त्यैपनि एनजीओ/आइएनजीओहरूले नेपाली समाजको नकारात्मक रिपोर्टिंग गरेर “हिन्दू समाज”लाई वदनाम गर्ने काम गरेका छैनन् | जति छ त्यो गलत छ तर परिवर्तन भएका सकारात्मक पक्षहरूको उजागर गर्ने काम कसैले गर्न चाहन्नन् | यसो गर्यो भने चुला निभ्छ |

रजस्वला र त्यससंग जोडिएको “छुन नहुने” रितिरिवाज सामाजिक मनोविज्ञानसंग जोडिएको छ | विदेशीहरूले मान्दैनन्, नेवार वा राई-लिम्वुहरुले मान्दैनन् भन्दैमा हिन्दूहरूले तुरुन्त छोड्नुपर्छ भने एनजीओ/आइएनजीओहरूको काइते प्रशिक्षणहरू अर्थ विहिन देखिएका छन् | कारण स्पष्ट छ. सामाजिक मान्यताको मनोविज्ञान र लाद्न खोजिएको आधुनिकता कहीं पनि मेल खाँदैन | जनताले सामाजिक र मनोवैज्ञानिकरूपमा एनजीओ/आइएनजीओहरूको स्कूलिंगलाई महत्त्व नदिएसम्म परिवर्तन सम्भव छैन |

छाउपडीप्रथाका नाममा स्थानीय जनताको दोहोलो काड्ने गरि नकारात्मक संदेश पठाउन रकम खर्च गर्नुको सट्टा घरभित्र नै एउटा छुट्टै कोठा निर्माण गरेर रजस्वला अवस्थामा हेरविचार गर्ने प्रेरित गरेको भए छाउपडीको कठोरताबाट समाजले अलिकति बढी मुक्ति प्राप्त गरिसकेको हुन्थ्यो | धेरै किशोरीहरूको जीवन सुरक्षित रहन्थ्यो |

इसाईहरूले छाउपडी मान्दैनन्, उनीहरूका देउता रिसाएको थाहा छैन भन्दैमा हजारौं वर्षदेखि चलिआएको प्रथा परिवर्तित हुँदैन | परिवर्तन गर्नेहरू सामाजिक रूपमा एक्लिन्छन् | सामाजिक रूपले एक्ल्याउनेहरूमा इसाईहरू सोचको योगदान हुन्छ भने अतिरन्जित परिवर्तनको वकालत गर्ने सोचमा एनजीओ/आइएनजीओहरूको स्कुलिंग हुन्छ | दूबै समाजका लागि स्वस्थकर हुँदैन |

यदि संस्कार र रितिरिवाजहरूलाई चुनौती दिने हो भने हिन्दू, इसाई, बौद्ध, मुस्लिम तथा गैर-धार्मिक समुहका रितिरिवाजहरूलाई पनि चुनौती दिनुपर्ने हुन्छ | उदाहरणका लागि मुस्लिम समुदायमा बालकहरूको खताना गरिन्छ | एउटा सानो बालकको लिंगबाट छाला काट्नु  कुनै पनि हालतमा “छाउपडी”भन्दा कम निन्दनीय छैन | त्यसैगरी वुर्काप्रथा, इसाईहरूमा बप्स्तिमाको नाममा साना-वालबालिकाहरूलाई घन्टौंसम्म चीसो पानीमा डुवाउनेरितिरिवाज कम निन्दनीय हुँदैन |
तथाकथित नेपालका आधुनिकतावादीहरूको दोहोरो चरित्रको प्रस्तुति हेर्दा र पढ्दा दिक्क लाग्छ | रक्सीको काम मताउने नै हो त्यो चाहे बाहुनले खाओस् वा आदिवासी जनजातिले | बाहुनले रक्सी खाँदा मानवाधिकारको हनन हुने र गैरबाहुनले रक्सी खाँदा “मानवाधिकारको सम्मान” हुने हुँदैन | साकेला, उभौली-उधौली, भूम्या पर्वहरूमा नयानया ब्रान्डका रक्सीहरूको प्रदर्शनी अधिकारका रुपमा लिने सोचबाट नेपाली समाजले मुक्ति प्राप्त गर्ननै पर्छ |

समाजको परिवर्तन सकारात्मक स्कूलिंगबाट हुन्छ, नकारात्मक स्कुलिंगले हुँदैन | ८२ प्रतिशत हिन्दू भएको देशमा गाईकाट्न पाउनुपर्छ भन्ने मांग कसरी जायज हुन सक्छ ?  एस्तो माग र एस्तो सोचले अन्धविस्वासमा आधारित रितिरिवाजहरू तुरुन्त सच्चिन्छन् भन्ने विचार र त्यसका वाहकहरूको सोच लूतो कन्याउँदा रमाइलो अनुभव मात्र हो जसको वास्तविकतासंग कुनै सम्वन्ध नै छैन |

कुन संस्कार तथा रितिरिवाज ठीक हो वा कुन वेठीक हो ? निर्णय गर्ने जिम्मा सम्वन्धित समाजको हुन्छ | विज्ञहरूको काम तिनको पहिचान गर्ने र सुधारका लागि सुझाव दिने मात्र हो | कुनै राम्रो वा नराम्रो प्रथाका कारण जीवनको क्षति हुने सम्भावना छ भने त्यस्तो कार्यलाई न्यायिक क्षेत्रमा समेट्नु सरकारको काम हो | छाउपडी समस्या होइन, एनजीओ/आइएनजीओहरूले त्यसको ब्यबस्थापनका लागि अगाडी सारेको सोच गलत छ | छाउपडीप्रथाको समाजले स्वीकार्ने विकल्प दिएको भए छाउपडीको विभत्सरूप परिवर्तित हुनेथियो | उनीहरूले छाउपडीका लागि होइन, आफ्नो चुलोबाल्न काम गर्ने भएकोले समस्या जस्तोको तस्तै रहेको हो |

जवसम्म सरकार तथा गैरसरकारी तन्त्रले हिन्दू रितिरिवाज तथा संस्कारसंग शत्रुतापूर्ण रिपोर्टिग गर्छ, होच्याउने काम गर्छ, सामाजिक रूपले त्यो स्वीकार्य हुँदैन | समाजमा प्रचलित सबै संस्कार र चालचलनहरूलाई पश्चिमा आँखाले हेरेर मात्र हुँदैन | हाम्रो टार्गेट संस्कार परिवर्तन होइन, संस्कारमा निहित अमानवीय पक्षको परिवर्तन हुनुपर्छ | जोगाउन पर्ने जोगिनुपर्छ र मासिनु पर्ने मासिनु पर्छ |


हाम्रा मौलिक, रैथाने रितिरिवाज र संस्कारहरू मैं हाम्रो नेपालीपनको पहिचान कायम छ | सबै रितिरिवाजहरू मासेर, आफ्नो जरोकिलो उखेलेर कुनै पनि मुलुक सम्बृद्ध र अग्रगामी बन्न सक्दैन | रैथाने रितिरिवाज र संस्कृतिको रक्षा पनि हुनुपर्छ र यसमा रहेका नराम्रा पक्षहरू पनि सुधारिंदै जानुपर्छ | समाज गतिशील छ, यो गतिशीलतामा हामीले विश्वास गर्नुपर्छ | अरूको नक्कल गरेर परिवर्तन होइन, स्वाभाविक परिवर्तनले समाज अग्रगामी बन्छ | 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...