Tuesday, October 16, 2018

चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय

चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय 
भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपासक हुन्छ | नेपाली समाजमा वैष्णव भन्दा साथ विशुद्ध शाकाहारी, अहिंसक, भगवान विष्णु वा उनका अवतारहरूको उपासना गर्ने र मन्दिर, उपासना पद्धति, तिलक, मन्त्रदीक्षा, गुरू तथा तिनका विनम्र अनुयायीहरुको सम्झना आउँछ | नेपालमा वैष्णवहरूको बलियो उपस्थिति रहेको छ भने मुक्तिनाथ, जनकपुरआदि तीर्थस्थलहरू वैष्णवस्थलको रूपमा प्राचीनकालदेखि नै परिचित छन् | यहाँ चारैसम्प्रदायको संक्षिप्त परिचय प्रस्तुत छ - 

(१) श्रीसम्प्रदाय : साक्षात जगज्जनी श्रीलक्ष्मीद्वारा स्थापित तथा आचार्य श्रीरामानुजद्वारा (सन् १०१६-११३६) विशिष्टद्वैतका रूपमा गुरूशिष्य परम्परालाई अङ्गिकार गर्दै आराध्यदेवको रूपमा श्रीलक्ष्मीनारायणको उपासना गर्ने वैदिक पन्थलाई नै रामानुज अथवा श्रीसम्प्रदाय भनिन्छ | विश्वका धेरैजसो विष्णुमन्दिरहरू रामानुजज पद्धतिले चल्छन् | विश्वप्रसिद्ध बालाजुको मन्दिर पनि यसै सम्प्रदायअन्तर्गत पर्छ | एसको दक्षिण भारतबाट आरम्भ भएको हो र नेपालमा पनि निकै लोकप्रिय छ | नेपाल र भुटानमा गरी करिव दुईलाख जति रामानुज सम्प्रदायका अनुयायीहरू रहेको सुनिएको छ तर पुष्टि गर्ने आधार छैन | श्रीसम्प्रदायका अनुयायीहरू आधुनिक विद्वानहरूले निर्धारित गरेको समय-निर्धारण मान्दैनन् |
एस सम्प्रदायका पनि धेरै शाखाउपशाखाहरू छन् | उदाहरणका लागि सीतारामको उपासना गर्ने रामानन्द, कवीरमतआदि एसकै अन्तर्गतपर्छन् तर अनुयायीहरूले भने यो तत्थ्य स्वीकार्दैनन् |

(२) निम्बार्क सम्प्रदाय : श्रीराधाकृष्णको स्वेकीयभावमा उपासना गर्ने र कुनै पनि सम्प्रदायको आलोचना नगरी गोपालमन्त्रको जपमा विश्वास गर्ने र आत्मा, परमात्मा तथा जडतत्वको सहजअस्तित्व "द्वैताद्वैत"का रहेको दार्शनिक सिद्धान्तअनुसरण गर्ने एससम्प्रदायका संस्थापक "हंस-भगवान" भएको विश्वास गरिन्छ | सनकादि चार ऋषिहरू, ऋषि नारदबाट प्रत्यक्ष दीक्षा प्राप्त गरेर दक्षिणको तैलंगमा जन्मेका नियमानन्द भनिने आचार्य निम्बार्कले "निम्बार्क-सम्प्रदाय"को विस्तार गरेका हुन् | आचार्य निम्वार्कको समय सन् ११३०-१२०० भएको विश्वास गरिन्छ | नेपालमा र नेपाली मूलका भूटानीहरूमा एस सम्प्रदायका अनुयायीहरू छन् र यिनको संख्या पनि लगभग २ लाख नै रहेको अनुयायीहरूको विश्वास छ |

एस सम्प्रदायका पनि अनेकौं उपसम्प्रदायहरू छन् जसमा हरिदासले स्थापना गरेको हरिदासी, प्राणनाथले स्थापना गरेको प्राणनाथी वा प्रणामी पनि पर्छन् | तर उपरोक्त मतका अनुयायी भने यो तत्थ्य स्वीकार गर्दैनन् |

(३) माध्वसम्प्रदाय : यो पनि एउटा वैदिक पन्थ हो | एस पन्थका अनुयायीहरू एसको स्थापना भगवान् ब्रह्माले गरेको विश्वास गर्छन् | यो ब्रह्मसम्प्रदायका रूपमा पनि परिचित छ | आचार्य मध्वले (१२३८-१३१७) सम्प्रदायलाई ब्यबस्थित गरेका हुन् | यो मतमा परकीयाभावमा श्रीराधाकृष्णको उपासना गरिन्छ र द्वैत तथा अचिन्त्यभेदाभेदको दार्शनिक सिद्धान्त अनुसरण गरिन्छ | पछि बंगालको नदीयाका निमाई भनिने चैतन्य महाप्रभुले गौडीया शब्द जोडेपछि यो माध्वगौडीया सम्प्रदाय पनि बोलिन थालिएको हो | एस सम्प्रदायका अनुयायीहरूको संख्या नेपालमा तेति धेरै छैन तर इस्कोन भनिने संस्थाले प्रचार गरिरहेको अवस्था छ |

यो सम्प्रदायका ५२ उपमतहरू छन् जुन उनीहरूले धारण तिलक तथा मन्त्रदीक्षामा देखिन्छ |

(४) बल्लभ सम्प्रदाय वा विष्णुस्वामी मत - यो सम्प्रदायका अनुयायीहरू भगवान शंङ्करले यो सम्प्रदायको स्थापना गरेको विश्वास गर्छन् तेसैले एसको अर्को नाम रूद्र-सम्प्रदाय पनि हो | गुजरातमा यही सम्प्रदाय विष्णुस्वामीका रूपमा परिचित छ | यो सम्प्रदायको प्रचारप्रसार चाहिं विष्णुस्वामी र बल्लभाचार्यले गरेका थिए |बल्लभाचार्यको समय सन् १४७९-१५३१ मानिन्छ | उपासनाका दृष्टिकोणले यी श्रीराधाकृष्णका उपासना गर्छन् र यिनको दार्शनिकमतलाई शुद्धाद्वैत भनिन्छ | दक्षिणभारतमा एसलाई विष्णुस्वामीले स्थापित गरेको र पुष्पित गरेको विश्वास गरिन्छ | यो सम्प्रदायका अनुयायीहरू नेपालमा निकै न्यून रहेका छन् |

यो मतका धेरै उपपन्थ भए पनि बल्लभाचार्य र विष्णुस्वामीका अनुयायीहरूका विचमा संस्थापक को ? भन्ने विषयमा निकै विवाद रहेको छ | दूबैले आ-आफ्ना गुरुनै शुद्धाद्वैतका संस्थापक भएको दावी गर्छन् | उपासनाका दृष्टिले विष्णुस्वामीहरूले "स्वामी नारायण"को उपासना गर्छन् भने बल्लभाचार्यले राधाकृष्णको |

यहाँ एउटा तत्थ्य बुझ्नुपर्छ : तेस बखतमा आचार्यपद प्राप्त गर्नका लागि प्रस्थानत्रयिको भाष्य गर्नु पर्ने हुन्थ्यो | उपरोक्त सबै आचार्यहरूले प्रस्थानत्रयी अर्थात् ब्रह्मसूत्र, गीता र उपनिषद्को ब्याख्यालाई विशिष्टद्वैत, द्वैताद्वैत, द्वैत र शुद्धाद्वैतको दार्शनिक विचार सिद्ध गर्ने स्रोतका रूपमा प्रयोग गरेका छन् | यी सबैले आचार्य शंकरले प्रतिपादन गरेको "अद्वैतवाद"को समालोचना गरेका छन् | यी सबैले वेदलाई अन्तिम प्रमाणको रुपमा स्वीकार गर्छन् | 

श्रीनारदपन्चरात्रको आचरण पद्धतिलाई जीवन यापनको रूपमा उपयोग गर्छन् | रामानुज तथा बल्लभसम्प्रदायमा गुरू अर्थात् आचार्य बन्न गृहस्थआश्रमी पनि स्वीकार गरिएको छ भने निम्वार्क तथा माध्वमा सन्यासी बाहेकका गुरू बन्न मिल्दैन | यी आचार्यहरूले स्थापना गरेको गुरूपरम्परा आज पनि जीवन्त र सक्रीय नै छ | हरेक अनुयायीहरू कुनै नकुनै गुरूपरम्परामा आवद्ध हुनैपर्छ | यी सबै वैदिक सम्प्रदाय हुन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...