Tuesday, October 16, 2018

गुरुद्वारा नानक उदासीनआश्रमबाट

गुरुद्वारा नानक उदासीनआश्रमबाट 
१.परिचय 
काठमाडौंको स्वयम्भूबाट करिव ३ किलोमिटर उत्तर तर्फ बालाजु चक्रपथ भित्र करिव ३०० मिटरमा रहेको नया-वजार र तेहीं हुँदै बग्ने श्रीबिष्णुमती गंगा करिव ४०० वर्ष देखि उदासीन आश्रम अर्थात् नानक मठकी साक्षी छन् | श्रीविष्णुमतिको किनारामा रहेको यो आश्रम हिन्दू शिख धर्मसंस्कृति तथा धार्मिक समन्वयको अदभूत मिसाल रहेको देखिन्छ | यस मठले नेपाल मण्डलको प्राचीन सहिष्णुता तथा सनातन संस्कृतिमा रहेको सर्वस्वीकार्यताको अनुशरण गरेको छ | पुनश्च, यसले मिलेर पूजाआजा गर्ने नेपाली संस्कारको प्रतिनिधित्व गर्छ | हिन्दू र शिखको यो संयुक्त आराधना स्थलका रूपमा यसले विश्वलाई सहृदयताको मिसाल प्रदान गर्छ |

काठमाडौँको मुटुमा रहेर पनि नितान्त गाउँको झल्को दिने यो धार्मिकस्थल गंगवु-नयाबजारमा रहेको विष्णुमति पुलसंगै रहेको उत्तरति उभिएर हेर्दा देख्न सकिन्छ | पुरानो शैलीको प्रवेशद्वार र आधुनिक शैलीका सिंडीहरू (७० बटा भर्याङ) चढेपछि नितान्त प्राचीनतम गाउँले परिवेशको झझल्को दिने यो मठमा पुग्न सकिन्छ | 

मैले र महेशजीले मठमा प्रवेश गर्दा साथ बाबा कृष्णदासको आश्रममा अखण्ड रामायण पाठ गरिरहेका भक्तहरूसंग जम्काभेट हुन्छ | यो भवन नया शैलीको छ | नानक मठ उदासीन आश्रमका महन्तले कृष्णदास वावालाई आफ्नो ऊत्तारधिकारीका रूपमा सो मठ भविष्यमा संचालन गर्न दिने ब्यबस्था गर्नुभएको रहेछ |

मठमा दैनिक सत्संग हुन्छ | स्थानीय र बाहिरका भक्तजनहरू आश्रममा आएर दैनिक पूजाआजामा सरिक हुन्छन् | गुरुग्रंथ साहेवसहित श्री शालीग्राम, हनुमान, सीताराम, महादेवआदिको आराधना हुन्छ | खासगरी ब्रह्महरि दासजीले जीवित समाधि लिएको ठाउँमा पुग्दा निकै आनन्दको अनुभूति हुन्छ | काठमाडौंको कोलाहलपूर्ण परिवेश र कंक्रिटहरूको जमातभित्र एस्तो रमणीय र प्राकृतिक स्थल छ भन्ने कुरा पत्याउन गारो हुन्छ | मठभित्र काठमाडौँको कोलाहल तिरोहित हुन्छ |

२. वर्तमान महन्तको जीवन गाथा 
काठमाडौँ कै साँखुको एउटा ब्राह्मण परिवारमा वि.स. १९९० तिर जन्मनु भएका अवालब्रह्मचारी श्रीनेम मुनि उदासीन यस आश्रमका हालका महन्त हुनुहुन्छ | उहाँ यहाँ सात वर्षको कलिलो उमेरमा यहा आउनु भएको थियो र उहाका गुरूले उहा ३२ वर्षको हुँदा आफ्नो उत्तराधिकार दिनु भएको थियो | तव देखि मुनिजी यहीं हुनुहुन्छ | नेपाल गुठी-संस्थानले मान्यता दिएका महन्त पनि उहा नै हुनुहुन्छ | म त्यहाँ पुग्दा महन्त उदासीजी गाईको दूध दुहेर ल्याउदै हुनुहुन्थ्यो | ८४ वर्षको उमेरमा पनि उहाको स्वास्थ्य देखेर सबै चकित हुन्छन् |

हाल यो आश्रमसंग करिव २२ रोपनी जग्गा रहेको छ भने राजा जयन्त मल्ल पालामा विभिन्न दाताहरूले एस उदासीन आश्रमको संचालन गर्न करिव १३०० रोपनी जग्गा गुठीका रूपमा दान दिएका थिए | हाल यो सबैजसो जग्गा व्यक्तिहरूले आफ्नो नाममा पास गरिसकेका छन् | देवस्व बेचेर खानेहरूको जमातमा ब्यापारी, राजनीतिज्ञ तथा सर्वसाधारण समेत घुसेका छन् | देवश्व मास्नु संस्कार बन्न थालेको छ | सरकारले नै प्रायोजित रूपमा देवश्व लुट्न छूट दिएको छ |

३. नेपाली सन्तले स्थापना गरेको आश्रम
नेपाली सन्तहरू श्रीब्रह्महरी दास, उहाका शिष्य गोथल दास र पुन: उहाका पनि शिष्य यतिराम दास हुँदै हालका महन्त नेम मुनि ३१ औं पुस्ताको उत्तराधिकारी हुनुहुन्छ | हाल यो आश्रम स्थापित भएको ४१० वर्ष वितिसकेको छ | भनिन्छ, आश्रमका संस्थापक श्रीब्रह्मदासजीले सशरीर यहीं समाधि स्वीकार्नु भएको थियो | उहाको समाधि मन्दिर आश्रमको पछिल्लो भागमा रहेको छ र त्यहा पुग्दा मन शान्त हुन्छ |

४. नानकको कैलाश यात्रा 
महन्त उदासीकाअनुसार यो आश्रममा शिखधर्मका संस्थापक नानक देव कैलाश नाथको यात्राका क्रममा सन् १५७३ तिर यहाँ आउनु भएको थियो | जनश्रुतिका अनुसार नानक देवले यो ठाउँमा आएर केही दिन साधना गर्नुभएको थियो र केही स्थानीयलाई आफ्नो शिष्य बनाएका थिए | तत्कालीन मल्लराजा जयन्तले गुरू नानक देवको दर्शन गरेर केही जग्गा दान दिएको भन्ने प्रमाण आज पनि सुरक्षित छ |

नानक फर्केपछि उनका कच्छा छोरा श्रीचन्द्र तेसै ठाउँमा आएको भन्ने सुनिन्छ | असलमा श्रीचन्द्रले आफ्ना पितासंग असहमति राख्दै आचार्य शंकरको परम्परामा दीक्षित भई उदासीन मठ स्थापित गरेका थिए | ब्रह्महरि दास, गोथल दास तथा यतिराम यी सबै उदासीन सम्प्रदायका हुन् भने हालका महन्त पनि उदासीन सम्प्रदाय कै अनुयायी रहेको उनी आफैले बोलेका छन् | बाबा ब्रह्महरी दासले बाबा नानकको सम्मान गर्दै आश्रमलाई “नानक-मठ” पनि नाम दिएको थिए कि भन्ने कुरा पनि तेहा सुनियो |

५. धेरै पटक आश्रम बेच्ने प्रयत्न भयो 
वर्तमान महन्तका अनुसार गिरिजाप्रसाद प्रसाद कोइराल प्रधानमन्त्री भएको बखतमा भारतीय शिखहरूको प्रभावमा परेर यो उदासीन आश्रम कुपण्डोलको गुरुद्वाराको नाममा पास गरिदिएका थिए | तर पछि महन्तजीको प्रयासले राजा वीरेन्द्र आफैले हस्तक्षेप गरेपछि रोकिएको थियो | तेस बाहेक गुठी संस्थान र जग्गाका दलालहरू मिलेर धेरै पटक यो आश्रम बेच्ने प्रयत्न भएको तर महन्तको सजगताले जोगिएको भन्ने कुराको पुष्ठी एकजना आश्रमको दर्शन गर्न आएका स्थानीयले पनि गरे |

वि.स. २०१७ मा, २०५२ सालमा तथा २०६३ सालमा तत्कालीन सरकारहरूले यो उदासीन आश्रम बिक्रि गर्ने प्रयत्न गरे अथवा भारतीय शिखहरूको प्रभावमा परेर आश्रम उनीहरूकै नाममा पास गरिदिने प्रपंच भयो तर भगवान पशुपतिको कृपाले अझैंसम्म जोगिएको छ – महन्तजीले भन्नुभयो | 

महन्तजीका अनुसार यस मठमा बाबा नानकको बखतमा राखिएको गुरुग्रन्थ साहेवको विधिवत् आराधना हुँदै आएको छ | यही तत्थ्यलाई देखेर शिख धर्मसंग समबन्धित केही विदेशी धनाढ्यहरूले नेपाल सरकारलाई प्रभावमा यो ठाउँलाई शिखधर्मको धर्मस्थल बनाउन चलखेल गरिरहेका छन् | यसमा भारतीय सरकारका केही मन्त्री, नेपाली शिखहरू र शिखका केही अन्तराष्ट्रिय संघसंस्थाहरू पनि लागि परेको तत्थ्य इन्टरनेटमा भेट्न सकिन्छ |

६. सम्पत्ति र ठाउँ हत्याउने खेल 
वि.स. २०२०-२२ सम्म एस ठाउँक वारेमा कसैको चासो थिएन | तर वि.स. २०४७ सालको परिवर्तनपछि काठमाडौँ उपत्यका औधि बदलियो | बाहिरका मान्छेहरूको वसाई सराइले जग्गाको भाउँ आकासियो | किनारामा रहेका सम्पत्तिहरू शहरको माँझमा परे | कुनै बेला किनारामा रहेको नानकमठ अहिले अमूल्य बनेको छ | यो अमूल्य सम्पत्ति कब्जा गरेर पैसा कमाउने दाउँ हेर्ने धेरै छन् | 

संस्कृतको शिष्य शब्दवाट शिख शब्दको उत्पत्ति भएको हो | शिखधर्ममा गुरुग्रन्थ साहेवको आराधना गरिन्छ भने हरेक शिखले पन्चककार अर्थात् काईयो, कडा, कच्चा,कृपान र केश पालन गर्नुनै पर्ने हुन्छ | तर यो मठका महन्त तथा भक्तहरूले शिखमतको पालना गर्दैनन् | भारतीय शिख र नेपाली शिखहरूले यो आश्रम गुरू नानकले स्थापना गरेको भन्दै महन्तजीलाई विस्थापित गरेर आफ्नो कब्जामा लिने प्रयत्न गरिरहेका छन् | एक पटक त एकजना शिखले महान्तजीको हत्या समेत गर्ने प्रयत्न गरेको भन्ने बुझियो | 

७. हिन्दू र शिखधर्मको एकताको प्रतिक 
यो आश्रममा गुरुग्रंथको आराधना हुँदैआएको ५०० वर्ष व्यतित भएको छ | नानकले यहाँ टेकेको तेत्तिनै भएको छ | तर यो आश्रम केवल शिखहरूको धर्मस्थल होइन भन्ने कुरा यहाँको जीवन पद्यति र आराधना पद्यति तथा आश्रमको संस्कृतिले जनाउ दिन्छ | आश्रमको मध्य चौकमा तुलसीको मठ तथा हनुमानको मूर्ति छ | उत्तरतिर ५०० वर्षदेखि निरन्तर बलिरहेको अखण्ड धूनी छ | ऊत्तरतिर नै एउटा सून्दर बगैचा छ, जहाँ ब्रह्महरि, गोथल र यतिरामबाबाहरूको समाधिस्थल छ | यी सबै कुराहरू शिखधर्मको गुरुद्वारामा हुनैसक्दैनन् |

एसैगरी, गुरुग्रंथ साहवको आराधना हुने तलामा नै २३५ बटा शालीग्रामहरूको नियमित पूजाआजा हुँदैआएको छ | भने दक्षिणतिर श्रीराम, गीतामन्दिरहरू छन् | यी सबै विशेषताहरू केवल उदासीन परम्परामा मात्र देख्न र भोग्न पाइन्छ | शिखधर्ममा यी सबै बर्जित छन् | हरेक दिन हलुवाको भोग लाग्छ भने तीर्थालुहरूका लागि लंगरको पनि ब्यबस्था छ | यद्यपि नेपाल सरकारले गुठीहरूप्रति अङ्गिकार गरेको नीतिले दैनिक पूजाआजा चलाउन गारो छ |

८. सबैको साझा सम्पत्ति 
मलाई लाग्छ, यो नानक मठ अर्थात् उदासीन आश्रम जे-जसले स्थापित गरेको भए पनि हाल यो नेपाल मण्डलको सहअस्तित्वको जीवन्त प्रमाणका रूपमा रहेको छ | तेसमा पनि हिन्दू तथा शिखको एकै आराधनास्थलका रूपमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको जीवन्त प्रमाणका हो | विश्वभरिका हिन्दू तथा शिखधर्मका अनुयायीहरूले एस्तो सामुहिक आराधनास्थलबाट सहअस्तित्व तथा धार्मिक सदभावको शिक्षा ग्रहण गर्न सक्छन् | 

काठमाडौँ उपत्यकामा उदासीन सम्प्रदायका चारबटा आराधना स्थल छन् जहाँ गुरुग्रन्थ साहेवको आराधना संगै सनातन धर्मको पालना हुन्छ | श्रीपशुपतिनाथको उदासीन मठ, थापाथलीको उदासीन मठ, ज्ञानेस्वर तथा शोभा भगवतीमा उदासीन आश्रम रहेका छन् | स्मरण रहोस्, उदासीन सम्प्रदायको स्थापना गुरू नानकका जेठा छोरा श्रीचन्द्रले गरेका हुन् | अन्य आश्रमहरूका पक्षमा केही नबोल्ने तर नया-बजारको आश्रममा आँखा गाड्नुको कारण सो मठको स्वामित्वमा रहेको जग्गा र काठमाडौँको मूटूमा रहनु हो |

यस सन्दर्भमा, शिख धर्म मान्ने दुवईका उद्योगपति एस.पी.एस. ओबराइले तत्कालीन नेपालका प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेर त्यो ठाउँ शिखहरूलाई हस्तान्तरण गर्न दवाव दिएका थिए भने तत्कालीन भारतका केन्द्रीयमन्त्री समेत रहेका पितम कौरले समेत इच्छा देखाएको भन्दै यो ठाउँ हत्याउने प्रयत्न गरेको १९ नोभेम्वर २०१२ को टाइम्स अफ इन्डियाले लेखेको छ | यो समाचारले मठले चर्चेको सम्पत्तिमा भारतीय उद्योगपतिहरूको आँखा गडेको स्पष्ट हुन्छ | 

९. सबैको साझा गुरुद्वारा-उदासी मठ 
धन तथा राजनैतिक शक्तिको वलमा परापूर्वकालदेखि नै सहअस्तित्वमा रेहेको एस्तो पवित्र आराधनस्थललाई केवल शिखहरूको आराधना स्थल हो भनेर एकल बनाउने प्रयत्न गर्नु धार्मिक सदभाव विरुद्ध हो | एस्तो दुष्टकार्यको घोर निन्दा गरिनुपर्छ र एकल धर्मको धार्मिक स्थलका रूपमा मात्र स्थापित गर्ने प्रयत्नको प्रतिकार गरिनुपर्छ | 

नानक मठ-उदासीन आश्रम सबै नेपालीहरूको साझा आराधना स्थल हो | श्रीनानक देवको समागमप्राप्त यो स्थान निकै पवित्र छ | साथै,बाबा ब्रह्महरी दास, बाबा गोथल दास, बाबा यतिराम सहित ३९ महन्तहरूको देखरेखमा रहेको यो आश्रम हिन्दू तथा शिख दुवै धार्मिक समुदायको साझा गौरवको विषय हो | नेपालीहरूको आफ्नो रैथाने मौलिक जरोकिलो हो | मलाई एस्तो पवित्र तथा ऐतिहासिक स्थलमा कर गरेर लैजाने विद्वान पंडित श्रीमहेश शर्माजी प्रति म सधैं ऋणी रहने छु | आश्रमको वारेमा वर्णन गरिदिने महन्तजी प्रति आभारी छु |
कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...