Tuesday, October 16, 2018

मृत्युपूर्व परामर्श - २

वैदिकदर्शनमा  मृत्युपूर्व परामर्श - २

मान्छे मर्छ नै र एस्तो मृत्यु जन्मेको वखत नै निश्चित भैसकेको हुन्छ | रमाइलो भनौं अथवा दुख:द लगभग शतप्रतिशत मान्छेलाई आफ्नो मृत्युको पूर्वआभास हुँदैन | हरेक मान्छे आफ्नो मृत्युको समयका विषयमा अन्जान हुन्छ | आफ्नो मृत्युको ठीक-ठीक भविष्यवाणी गर्नेहरू निकै थोरै हुन्छन् | तर वैदिक-साहित्यले मरण निकट आएका व्यक्तिहरूले स्वयम् अनुभव गर्न सक्ने चिन्हहरूका विषयमा चर्चा गरेका छन् |

श्रीमद्भागवतको पहिलो स्कन्धमा राजा युधिष्ठिर र दशौँ स्कन्धमा राजा कंशले मृत्युका पूर्वचिन्हहरू अनुभव गरेको वर्णन छ भने गरुङपुराण, अग्नि पुराण, ब्रह्मवैवर्त पुराणमा पनि एस्तै चिन्हहरूका विषयमा वर्णन गरिएको छ | कुनै पनि मनोबैज्ञानिक वा अनुसन्धाताले शास्त्रमा वर्णित यी चिन्हहरूलाई अनुसन्धानको विषयका रूपमा समेटेर प्रमाणितकरण गर्ने प्रयत्न गरेको सुनिएको छैन | 

ती चिन्हहरूलाई आधुनिक शैलीमा प्रश्नवली बनाएर वा अन्य स्केलमा उतारेर चिकित्सकहरूले "घर" लैजाने सल्लाह दिएका रोगीहरूसंग वा एस्तो प्रश्नको स्वेच्छाले जवाफ दिनेहरूसंग प्रामाणिकरण गर्न सकिने सम्भावना खुला छ | तर एस्तो कार्य मानवीय दृष्टिले कति-स्वीकार्य अथवा अस्वीकार्य होला ? सोचविचार त गर्नैपर्छ | विज्ञानमा अन्ध श्रद्धा गर्छु पनि भन्ने र वैदिक साहित्यमा उपलब्ध मरणपूर्वका चिन्हहरूलाई "प्रामाणिकरण" गर्नेतिर उत्सुकता नदेखाउनु अर्को जडवाद नै हो | 

विज्ञानको निर्ममताले चिन्हहरूको पुनरीक्षणको मांग गर्छ | मैले यो प्रसंगलाई पुन: आफ्नो पूर्वअध्यायसंग जोड्न खोजें | निश्चय नै मृत्यु रहर लाग्दो विषय होइन | तर मृत्युसंग हाम्रो शक्ति पुग्दैन | देहात्मवादीहरू जुन सुकै मूल्यमा शरीरको सुरक्षा चाहन्छन् भने मृत्युलाई सहजरुपमा स्वीकार्नेहरू आफ्नै मृत्युलाई चिन्ने प्रयत्न गर्छन् र स्वाभाविक रूपमा आफ्नो अवसानको स्वगत गर्छन् | एस्तो मृत्युप्रसंग आत्माहत्याको पूर्वयोजना हुँदै होइन न त यो मृत्युसंग हारेको निराशा नै हो | असलमा, जव अवसान नै सत्य हो भने तेस्तो अवसानलाई अवसादमा होइन, स्वाभाविकरूपमा स्वीकार गर्ने प्रयत्न हो |

ईशावास्योपनिषद्ले आसन्न मृत्युलाई कसरी सहज बनाउने भन्ने छोटो चर्चा गरेको छ | दीर्घतमा ऋषि भन्छन् " हे जीव, तिमीले आफ्नो कर्म स्मरण गर | आखिर यो शरीर हावा, पानी र माटोले बनेको हो | मरेपछि शरीर जे-बाट बनेको छ तेसैमा मिसिने छ | ती बस्तुहरू पनि नित्य नै छन् | यो शरीर अन्त्यमा खरानी नै हुने छ भन्ने बुझ्नुपर्छ (ईशावास्योपनिषद् -१५) | सत्य त यही हो | जसले एस्तो सत्यलाई विचार र तथा मननपूर्वक स्वीकार्छन् तिनको मृत्यु सहज हुन्छ | अन्य, रूँदारुँदै वा विलौना गर्दै मर्छन् |

कुनै पनि मान्छेले आफ्नो मरणको चर्चा गर्न चाहन्न | तर वैदिकसाहित्यमा मृत्युको मात्र होइन "मर्ने मान्छेले अनुभव गर्न सक्ने गरी अनुभव गर्न सकिने पूर्वसूचना" समेत प्रस्टरूपमा उल्लेख भएको छ | गरुडपुराण, भागवत सहित अन्य अनेकौं शास्त्रहरूले यस वारे चर्चा गरेका छन् | यी चिन्हहरूका विषयमा अर्को अध्यायमा चर्चा गरौँला | आजका विद्वानहरूले शास्त्रले बताएका चिन्हहरूको अध्ययन/अध्यापन गर्न अग्रसर हुने जोखिम लेलान् जस्तो लाग्दैन तर मृत्युपुर्व प्रकट हुने चिन्हहरूका विषयमा चर्चा गरिनु नै महत्वपूर्ण विषय हो | 

उपरोक्त तत्थ्यहरूले प्राचीन वैदिक समाजमा मृत्युका विषयमा चर्चा-परिचर्चा र परामर्श गरिने रहेछ भन्ने स्पष्ट हुन्छ | वैदिक इतिहासका धेरै पात्रहरूले स्वेच्छिक मृत्यु रोजेका उदाहरणहरू छन् | आफ्नो मृत्युको आफैले स्वागत गरेका उदाहारणहरू पनि छन् | अरूको मृत्युको लागि सहजीकरण गरेका केसहरू पनि प्रसस्त भेटिन्छन् भने वैदिक सनातन धर्मको अभिन्न अंग रहेको चौथो सन्यासआश्रम स्वीकार गर्नेलर त आफ्नै श्राद्ध आफै गरेर आफ्नो शरीरको अस्तित्व नष्ट हुने पप्रतिक्षा गर्ने परम्परा नै रहेको छ | यद्यपि आज यो परम्परा रोगग्रस्त छ |

मलाई लाग्छ, मरण डर अथवा त्रासको विषय होइन | जीवनको एउटा अनिवार्य घटना हो जसले शरीरलाई समाप्त पार्छ | हामी जतिधेरै उपभोक्तावादी हुन्छौं त्यतिनै मृत्युको डर बलियो हुन्छ | शरीर बूढो हुँदै गएपछि अत्यावश्यक वाहेक संसारलाई भोग्ने मानसिकतालाई क्रमशः: घटाउनुपर्छ | यस्तो अभ्यासले हामी मानसिक रूपमै रोग, बृद्धवस्था तथा अन्यका वृद्धावस्थाजन्य समस्याबाट मुक्ति प्राप्त गर्न सक्छौं | 

अन्त्यमा, जसरी दिन, पक्ष र ऋतुहरू परिवर्तित हुन्छन् र नया दिन, पक्ष र ऋतुहरूको आगमन हुन्छ तेसरी नै हरेक मृत्युले नया अस्तित्वको सृजना गर्छ भन्ने (यथा अहानि अनुपूर्वं भवन्ति यथा ऋतवः ऋतुभिः यन्ति साधु I यथा न पूर्वं अपरः जहाति , एवा धातः आयुन्षि कल्पय एषां II ऋगवेद /१०/१८) भनाई र गीता (२/२२ ) अनुसार हरेक व्यक्ति चोला फेर्न तम्तयार हुन्छ | एस्तो अवस्थामा, मृत्यु कठोर हुँदैन, सुखद हुन्छ |

कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...