Tuesday, October 16, 2018

कोदालो, हँसिया र सोच

कोदालो, हँसिया र सोच 
मेरो बाटोमा एउटा परम्परागत माटोको घरको छानो मुनि अहिले पनि परम्परागत फलाम कर्मीले आरन चलाएको देख्न सकिन्छ | आज एकैछिन उभिएर मैले उनीहरू संवाद गरें | उनीहरूको परिवारले आरनबाट मनग्ये आम्दानी गरिरहेको छ | पाँच जनाको परिवार निर्धक्कसंग आरनको काम गर्छ | ती मध्ये एकजनाले स्नातकोत्तर पढेका छन् | आरनको आम्दानीबाट नै उनीहरूले शहरमा पक्कीघर जोडेका छन् |

ती मध्ये एकजना अधवैसेले भने "धेरै युवाहरू कामको खोजिमा विदेश जान्छन् | सहर मै आरनको काम भ्याइनभ्याइ छ | आरन चलाउन आजभोली दाउराको आवश्यकता पनि छैन | विजुली भट्टीमा फलाम तताएर चाहेको आकार दिन सकिन्छ | 

गाउँमा हँसिया, कोदाली, चक्कु, खुकुरी, आरा, फालीआदि खेतीपातीमा काम लाग्ने औजारहरू नपाएर मान्छेहरू दिक्क मान्छन् | इन्डियाको फेक्तरीमा बनेका कोदालाहरू गाउँगाउँ पुग्ने अवस्था आउंदै छ | आँसी (हँसिया) पनि चाइनाले आपूर्ति गर्ने दिन आउन थाल्यो |

हामी सानो-ठूलो जाति भनेर लडिरहेका छौँ | अरवको खाडीमा कुनै नेपालीको जातिपाति रहन्न | नेपामा फर्केपछि फेरी ठूलो र सानो जातपातको कुरा आउँछ | कामीले मात्र आरन चलाउने बाहियात सोच हटाउनुपर्छ | फलानो जातले आरन छोडे भने फलानो जातले आरन किन सुरू नगर्ने ?" 

मलाई अधबैसेको कुराले छोयो | कुरा सही हो | गाउँगाउँमा चाहिने औजार हामी आफैले बनाउन कसैले रोकेको छैन | सोच परिवर्तन गरिदिए पुग्छ | सोच परिवर्तन गर्दा साथ विदेश जान लाग्ने आधी लगानीमा सुरु गरेकै दिन देखि आम्दानी दिने उद्द्योग चल्छ |

मुख्य कुरो आफ्नै हातले आर्थिक उपार्जनको कुरो हो | आज हरेक गाउँ-पालिकाको प्रत्येक वडामा आरनको आवस्यकता छ | जोसुके युवाहरूहरूले "हँसिया, कोदालो, फालीआदि"को काम गरेर मनग्ये आर्थिक उपार्जन गर्न सक्छ | 

नेपालका सबै बडामा निर्धक्कसंग यी उद्द्योग चल्न सक्छन् | मेरो विश्वासमा मरूभूमिको कमाई भन्दा यसको कमाई अब्बल हुन्छ | उद्द्योग आरम्भ गर्न खर्च पनि निकै कम लाग्छ | सानो लगानीमा सुरुगर्न सकिने, उत्पादन गरेकै दिन देखि आम्दानी दिने आफ्नै रैथाने उद्द्योग आरम्भ गर्नेतिर सोच किन नबनाउने ?

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...