Tuesday, October 16, 2018

मानिस: मैं बाँचु, मैं मैं हाँसु

मानिस : मैं बाँचु, मैं मैं हाँसु
तल फोटोमा उल्लेख भएको संख्या आज अपरान्ह २: २१ मिनटको वखतमा विश्वभरि फैलिएर रहेका मानिस नामक प्राणीको जनसंख्या हो | मान्छेको एतिविध्न जनसंख्या बढ्यो किनभने उसको स्वार्थले जीवित रहनका लागि जे-सुकै गरिरहेको छ | यदि साच्चिकै भन्ने हो भने अन्य प्राणी र प्रकृतिको असली शत्रु त मान्छे नै होइन र ? एतिधेरै प्रकृतिउपर अत्याचार गर्दा पनि जीवनमा एक-सेकेण्ड आयु थप्न सकेको भए केकानै हुन्थ्यो ? मान्छेले "मान्छे जातिका लागि" विकास गरिरहेको होला तर अन्यका लागि मान्छेको अस्तित्व केवल खलनायकका रूपमा छ |

लेखनाथ पौड्यालले तरुणतपसी लेखे | मान्छेको स्वार्थको चरम अवस्था तेसमा कोरिएको छ | विश्वको जुनसुकै ठाउँका मान्छेहरूले रमाइलो गर्ने बेलामा प्रकृति धुरुधुरु रुन्छ | मान्छे बाहेकको प्राणीहरूको असंख्य खति हुन्छ | मान्छेको रमाइलो अरूको लागि काल हुन्छ | अर्काको अस्तित्व लिएर प्राकृतिक रुपमा जिउने धेरै छन् | अर्काको अस्तित्व समाप्त पारेर रमाइलो गर्ने मान्छे मात्र हो |

मान्छेले आफ्ना सन्तान जोगाउन जीवनभरि अथक प्रयन्त गर्छ | आफु भोकै रहेर उनीहरूलाई खुवाउँछ | पशु-पक्षीले एउटा निश्चित समयसम्म तेही गरिरहेका हुन्छन् | तर उनीहरूले "रमाइलो गर्न" अर्काको अस्तित्व आहरण गर्दैनन् | यदि कसैको अस्तित्व विनाश नगरी "मासु" प्राप्त हुन्छ भने तर्क-वितर्क गर्नुको कुनै औचित्य छैन | मैले आफुलाई असाध्यै माया गर्छु | आफन्तको माया लाग्छ | मैले तिनको जीवन नाशको कामना गर्न सक्दिन | तेसैले पशुपक्षीले अप्राकृतिक रूपमा अस्तित्व गुमाएको देख्दा पीडा हुन्छ |

सृष्टिका अनेकौं सिद्धान्तहरू छन् | जीवनका पक्ष र विपक्षमा मनग्गे सिद्धान्तहरू छन् | विश्वमा अनेकौं धर्म छन् - तिनका फरक मत छन् | धर्म मान्ने र नमान्नेका आ-आफ्ना तर्क छन् | तर यी सबैमा एउटा समानता छ - सबैले मान्छेको स्वार्थमा खलल न पार्ने | मान्छेले बनाएका सम्पूर्ण सिद्धान्तहरू मान्छेको वरिपरी गुथिएका छन् | प्रकृतिले सृजना गरेका मान्छे वाहेकका जीवित र निर्जीव वस्तुहरू सधैं मान्छेको तारो बनेका छन् |

उनीहरू बोल्न सक्दैनन्, बुझ्न सक्दैनन्, प्रतिक्रिया दिन सक्दैनन् भन्ने जस्ता स्वार्थी सिद्धान्तहरूका तयार गरेर आफ्नो बर्चश्व स्थापित गरेर मान्छेले प्रकृतिको अवहेलना गरेको छ | प्रतिक्रिया दिन सक्दैन भन्दैमा, प्रतिक्रिया दिन सक्ने मान्छे "प्रतिकियावादी" हुन मिल्दैन | जुध्न आएकासंग जुधेर आफ्नो प्राण जोगाउनु उचित हो तर प्रतिक्रिया नै नदिनेहरूको अस्तित्व विनाश गर्ने स्वार्थको मैले प्रशंसा गर्न सक्दिन |

कहिलेकाहिं आफु मानिस जातिको सदस्य भएकोमा पीडा हुन्छ | किनभने मान्छेले जतिधेरै प्रकृतिलाई अरू कसैले दिएको छैन | प्रकृतिमा यदि विवेकशक्ति हुन्थ्यो भने मान्छेको उत्थान नै हुने थिएन | म प्रकृति भएर हेर्ने हो भने मान्छे सबैभन्दा खुराफाती प्राणी हो | प्रकृतिको आश्रयमा जीवन यापन गरिरहेको मान्छेले प्रकृतिसंग नै सर्वाधिक दुराचार गरिरहेको छ | बाँच्ने विकल्प हुँदाहुँदै पनि प्रकृतिसंग दुर्ब्यबहार गरिरहेको छ |

स्वर्ग नर्क छ कि छैन, कर्मको फल मिल्छ कि मिल्दैन, असल वा कमसल कर्म हुन्छन् कि हुँदैनन्, नैतिकता अनैतिकता हुन्छ कि हुँदैन ? यी तपसीलका कुरा हुन् | मेरो भन्नु एत्ति हो कि मलाई जसरी मेरो अस्तित्व प्यारो छ, हरेक प्राणीका लागि आफ्नो अस्तित्व प्यारो नै हुन्छ | धार्मिक आधारमा होस् अथवा भौतिक आधारमा, उसले आफ्नो प्राकृतिक जीवन जीउन पाउनुपर्छ |

मान्छेको जीवनका पक्षमा हामीसंग अनेकौं तर्क, वितर्क र कुतर्क होलान् | हामीले आफ्नो पक्षमा वकालत गरौंला | मान्छे भएको कारण मान्छेको पक्षमा ठूलै वहस गरौंला | तर यी सबै वहसहरूले तपाईं-हामीलाई "प्राकृतिक प्राणीबाट" अलग पार्न सक्दैन | भोक, तीर्खा, प्रजन, मृत्यु, अवस्था र डर - यी सबैले हाम्रो शरीरलाई कत्तिपनि छोड्ने छैननन् | जव हामी सबैको सत्य प्रकृति हो भने मानवेतर प्राणी जगतको वास्तविकता पनि प्रकृति नै हो | फरक एत्ति छ - हामीले आफ्नो स्वार्थका लागि प्रकृतिसंग अन्याय गरिरहेको तत्थ्य स्वीकार्न चाहन्नौं |

विश्व जनसंख्याको ७२.७% मान्छेहरू मासु खान्छन् | मुस्लिम र इसाईहरूमा शाकाहारीको अवधारणा समेत हुँदैन | नास्तिकहरू पनि मासु नखाने कुरा अस्वीकार गर्छन् | साच्चिकै भन्ने हो भने वैदिकग्रन्थहरूमा पनि खाने/नखाने दुवै तर्क छन् | मैले यहाँ शास्त्रको कुरा गरेको छैन | मैले त प्राकृतिक नियमको कुरा गरेको हो | भोजन, निन्द्रा, डर र र प्रजनन मान्छे र पशुमा केही फरक छैन | निश्चय नै बुद्धि वा ज्ञान मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको फरक क्षमता हो | मलाई, लाग्छ मान्छेले आफ्नो एस्तो क्षमताको प्रयोग निरीह पशुपक्षीको हत्या गर्न प्रयोग गर्नु उचित हुँदैन | यही बुद्धिको प्रयोग गरेर "आफु पनि जिउने र अरू पनि जिउने मार्ग निर्माण" गर्नतिर ध्यान दिनुपर्छ |

जङ्गलमा रम्ने बाघले एउटा मान्छे खाइदियो भने हाम्रो स्वार्थ एसरी जाग्छ कि हामीले त्यो बाघलाई कुनै पनि हालतमा बाँच्न दिन्नौं | हामीले उसको प्राकृतिक भोकको हिसाव नै गर्दैनौं | मासु खानेका आफ्ना तर्क होलान्, शाकाहारीका आफ्ना | तर मेरो प्रश्न फेरी उही छ, मान्छेले आफ्नो सयवर्षको आयु जिउन सङ्घर्ष गर्छ भने तेही अधिकार प्राकृतिक रूपमै फरक-फरक उमेर (मान्छे भन्दा कम) क्षमता प्राप्त गरेका पशुपक्षीले जिउन पाउनुपर्छ कि पर्दैन ? जिब्रोको स्वार्थमे उत्तर नदिए पनि मान्छेको तर्कले उत्तर दिंदा तपाईंले पनि भन्नुनै पर्छ "प्राकृतिक जीवनरहेसम्म बाच्ने अधिकार सबैमा छ, र त्यस्तो अधिकार मान्छेका लागि मात्र आरक्षित रहनु गलत हो |"

दशैँ, तिहार, छठ, हिली-दिवाली, इद, वाकरिद, क्रिसमस, लोसार - जे चाड आए पनि मान्छेले आफु रमाइलो गर्न अरूको जीवन लिन्छ | जुन दिन मान्छेले लिएको जीवन फर्काउन सक्छ, त्यो दिन केही बोल्दिन | जीवन दिन सक्नेले जीवन लिए एकै क्षणको कष्ट होला तर अस्तित्व नै गुमाउनु पर्दैन |

मेरो आफ्नो अनुभूति हो - मलाई मेरो अस्तित्व प्रिय भएझैं उनीहरूका लागि आफ्नो अस्तित्व तेति नै प्रिय हुनुपर्छ | मान्छेले स्वार्थवस तयार पारेको "मान्छे-केन्द्रित" सिद्धान्तले अन्यको अस्तित्व विनास गर्ने अधिकार दिए पनि मेरो अन्तरात्माले दिंदैन | पशुको चेतना मान्छेसरह छैन भन्दैमा तिनको अस्तित्व नै आहरण गर्नुको औचित्य सिद्ध गर्न सकिन्न |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...