Tuesday, October 16, 2018

तीज : विश्व महिला दिवस

तीज : विश्व महिला दिवस
हरेक वर्ष तीज आएपछि नेपाली महिलाहरू रमाईलो गर्न थाल्छन् | संचार माध्यमको विकासले तीज पनि विश्वब्यापी भएको छ | अमेरिका पुगेका नेपाली मूलका नेपाली जेष्ट महिलाहरूले तीजको कार्यक्रमको थालनी गरेका समाचार पढ्दा म निकै भावुक भएँ | तेहा इसाई, हिन्दू बौद्ध सबै धर्म मान्ने र धर्म नमान्ने सबै समुदायले तीजको अवसरमा रमाईलो गरिरहेका छन् | तेहा "तीजले" नेपाली भाषीहरूलाई जोडेको देखियो | मेरो छाति गर्वले फुक्यो |

तर नेपालमा भने स्थिति अलि फरक छ | - केही "इलिट"हरूका लागि स्वस्थानी हो वा तीज वा तिहार नै किन नहोस् अस्वीकार्य छन्, अवान्छनीय छन्, अप्रगतिशील छन् र निन्दनीय छन् | सबैजसो हिन्दू, बौद्ध चाडवाडहरू उनीहरूका छातिमा "बाण" रोपिएझैं रोपिन्छन् | अर्को शब्दमा चाडवाड आउँदासाथ उनीहरूमा तीब्र प्रकारको नकारात्मक मनोविकार उन्माद उत्पन्न हुन्छ | त्यसो नकारात्मक उन्मादले उनीहरूलाई "प्रलाप" गर्न टेलिभिजन, रेडियो, पत्रपत्रिका सबैतिर पुर्याउँछ |

आफ्नै धर्म, संस्कृति र चालचलनप्रति अतिघृणा गर्नेहरू मनोबैज्ञानिक रूपमा अस्वाभाविक हुन्छन् | अनुसन्धानहरूले तेस्तो मनोबैज्ञानिक समस्या हुनुमा तिनको पारिवारिक पृष्ठभूमिआदि जिम्मेदार रहेको हुन्छ | सबै सरल बाटो हिंडिरहेको अवस्थामा चर्चाको भोक, प्रगतिवादी देखिने मानसिक रोग र आफ्नो असल पारिवारिक जीवनको कुण्ठा "तीज"जस्ता पर्वहरू विरुद्ध बोलेर प्रकट गर्छन् | अचम्मको कुरा के भने एस्ता धेरैजसो प्रगतिशीलहरूको पारिवारिक जीवन असफल रहेको हुन्छ | आफ्नो पारिवारिक जीवनको असफलताको कुण्ठाले आफ्ना मौलिक चाडवाडलाई असफल गर्न अभिप्रेरित गर्छ |

जे होस्, कुकुरहरू भुक्दै गरे पनि हात्ती हिड्न छोड्दैन | कौवा कराउंदै गर्छ पीना सुक्दै गर्छ | कथा नै होला तर पर्वतकी छोरी पार्वतीले शिवसंग प्रेम गरेकै हो | आफुलाई मन परेका प्रेमी शिवसंग विवाह गर्ने मनसायले निराहार रहेर शिवको आराधना गरेकै हो र अन्त्यमा पार्वती र शिवको विवाह भएकै हो | सनातन धर्मको परम्परामा सबैभन्दा सफल वैवाहिक जीवन शिवपार्वती कै भएको मानिन्छ | जसले जे-रीस गरे पनि नेपाली महिलाको अन्तरात्माको गहिराईमा शिव तथा पार्वतीको जस्तो प्रेममय दाम्पत्यजीवन आफ्नो पनि होस् भन्ने छ र हुनुपर्छ |

कसैलाई "तीज" मन न पर्न सक्छ | यो एउटा स्वाभाविक तत्थ्य हो | कसैलाई तीज औधि मन पर्न सक्छ - यो पनि स्वाभाविक हो | तर एउटा ठूलो समुदायले श्रद्धा, आस्था, विश्वास र भक्ति पूर्वक मान्ने र तेसबाट आफ्नो सबैभन्दा निकटको मित्र, हितैषी तथा सहयोगी "पति"को स्वास्थ्य जीवनको कामना गरेर प्रेम प्रदर्शन गर्ने अवसरप्रति विष-बमन गर्नु अस्वाभाविक हो | तीजमा ब्रत बस्नैपर्छ, देवीदेवताको पूजा गर्नैपर्छ, पतिको गोडा ढोग्ने पर्छ भन्ने केही छैन | तीजले पतिपत्नी वीच रहेको प्रेमलाई रिफ्रेस गर्छ, आत्मीयता बढाउन मदत गर्छ भने कसैलाई किन "टाउको" दुखाउनु पर्यो ?

विविध कारणले चेली रमाइतीको सम्बन्ध विग्रिएको हुन्छ | मैले एस्ता धेरै परिवार भेटेको छु | तर जस्तोसुकै मनमुटाव भए पनि तीजले "माइती र छोरी" विच मिलन हुन्छ | अरू बखत रिसाए पनि तीजको बेलामा माइतीले छोरी र छोरीले माइती खोज्दछन् | दिदीबहिनीहरूको मिलन हुन्छ | दाजुभाई र दिदीबहिनी विच पुन: एकपटक बाल्यकाल फर्किएर आउँछ | फेरी बाल्यकालका सखीहरू विच तँ-तँ मम जीवन्त हुन्छ | एकदुई दिन भए पनि चेलीहरूले आमाको बाल्यकालीन काखमा लाडिने मौका पाउँछन् | एस्तो सुन्दर र मीठो पर्व हामीसंग मात्र छ |

तीज सरकारले बनाएको कानुन होइन | मुस्लिम धर्म गुरुले फरमान गरेको "फतवा" होइन | इसाई धर्म गुरुको "परमेश्वर घोषणा" होइन | कुनै पनि हिन्दू ग्रन्थले तीज नमान्ने महिलालाई सार्वजनिक चौकमा लगेर "कोर्रा" बसाउनु पर्छ भन्ने आदेश दिएको छैन | संस्कृति र परम्परा देखासिकीले सिक्ने सिकाउने हो | केही महिलाले देखासिकी गर्छन् | केहीले बुझेर गर्छन् र केहीले धर्म ठानेर मान्छन् | तर बाध्यता कतै छैन | तैपनि तीज "अन्धविश्वास हो, पुरुषहरूले महिलालाई दास बनाउन गरेको षड्यन्त्र हो" जस्ता घटीया मान्छेका घटीया सोचहरू सुनिन्छ |

तीजको दार्शनिक पाटो छ - यो पर्वले परमतत्वसंग आत्मिक मिलनको गी ब्यबहारिक प्रेरणा प्रदान गर्छ | एसले विश्वभरीका महिलाहरूमा सौन्दर्य, प्रेम तथा एकत्वका लागि अभिप्रेरित गर्छ | एसमा परमतत्वप्रति समर्पण, आत्मप्रति प्रेम र प्रकृतिप्रति सम्मान व्यक्त गरिन्छ | शिव अर्थात् शान्ति तथा पार्वती अर्थात् स्थिरताको लागि "शिवपार्वती"को आराधना गरिन्छ | सत्यं, शिवम् सुन्दरम् को मानवीय अभिव्यक्ति नै तीजको लक्ष हो |

तीजको मनोबैज्ञानिक पाटो छ - कुनै कारणले मन बिग्रेका चेली र माइती, पति र पत्नी, संगी साथीहरूले एकआपसमा भलाकुसारी गर्न पाउँछन् | मानसिक तनाव, निराशा, अशान्तिजस्ता मनोरोगहरू गीत, नाचआदिका माध्यमबाट बाहिर पोखिन्छन् | भगवानको कृपाले सबैप्रकारका खराव सम्बन्धहरू मेटिन्छन् भन्ने विश्वास बलियो भएर मानसिक शान्ति मिल्छ | मन चङ्गा हुन्छ | माइती, परिवार तथा साथीसंगको स्वच्छन्द मनोरंजनले मन, शरीर तथा चिन्तन रिफ्रेस हुन्छ |

तीज "प्रेम" बढाउने पर्व हो | प्रेमको मामिलामा जवर्जस्ती नगरौं | सकिन्छ भने भोको बसौं सकिन्न भने बलजफत नगरौं | शरीर रहेन भने तीजको रमाइलो पनि रहन्न | उपवासको अर्थ भोकै वस्नु होइन - ईश्वरको नजिक हुनु हो | भोकै, प्यासै स्वास्थ्य बिग्रन्छ भने एसबाट जोगिएको राम्रो | सजिलैसँग भोक-प्यास जित्न सकिन्छ भने धेरै राम्रो | प्रेम, श्रद्धा विश्वासका मामिलामा जवर्जस्ती नगरेको उचित हुन्छ |

तीज विश्वब्यापी बनेको देख्दा छाति फुल्छ तर विकृति बढेको देख्दा चित्त बुझ्दैन | तीज मानौ, मनाऔं तर विकृतिबाट जोगिएर | तीज हामी नेपालीको जरोकिलो, हिन्दु संस्कार र सभ्यताको जीवन्त प्रयोग हो | हामी सबै मिलेर तीजलाई "विश्व महिला" दिवसका उपमा विकसित गर्नतिर लागि पर्नु उचित हुन्छ | सबै दिवसहरू विदेशी नै हुनुपर्छ भन्ने छैन | इतिहास, परम्परा तथा सभ्यताको दृष्टिकोणले समेत तीज विश्वको सबैभन्दा पुरानो महिलाहरूल;ले मनाउदै आएको चाड हो |

तेसैले श्रीपशुपतिनाथ मन्दिर, हनुमान ढोका, चाँगुनारायण मन्दिर, बूढानीलकण्ठ, मायादेवी मन्दिर युनेस्कोको संरक्षणमा परेझैं तीज पनि सबैभन्दा प्राचीन महिला पर्वको रूपमा संरक्षित भै "विश्व नारी दिवस"का रूपमा मनाउने पहल गर्नुपर्छ | नेपाल सरकारले पनि एसको लागि पहल गर्नुपर्छ | मातृशक्तिको महान चाडका अवसरमा हार्दिक शुभकामना | विश्वका मातृशक्ति एक हुनका लागि पनि तीजको प्रगति होस् |

कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...