Wednesday, October 17, 2018

दशैं र तिहारको अवसरमा

दशैं र तिहारको अवसरमा
मान्छेले मनाउने जुनसुकै चाडवाडहरू सांस्कृतिक निरन्तरता र रमाइलोका लागि हुन्छन् | संस्कृति, सभ्यता, नैतिकता, धार्मिकताआदि विषयहरू मान्छेको आफ्नो खुवी हो | एक्लै व सामुहिकरूपमा रमाइलो गर्ने पनि मान्छे नै हुन्छ |

धार्मिक विधानहरू आविष्कार गरेर होस् वा सामाजिक वा सांस्कृतिक पर्वको उपलक्ष पारेर होस् मान्छेले आफन्त भेट्ने, आफन्तसंग भलाकुसारी गर्ने, आफ्नो बालापन सम्झेर रमाउने र सुखदुख साट्ने कुरामा मान्छेको कुनै तुलना छैन | विश्वभरीका मान्छेले रमाइलो रमाइलो गर्छन् |

हामी नेपाली रमाइलो गर्ने मामिलामा धेरै अगाडी छौं | वैदिककाल देखि नै हामीले अनेकौं चाडवाडहरूको विकास गरेका छौँ | नेपाली समाज एतिबिध्न फैलिएको छ कि हरेक दिन कुनैनकुनै नेपालीले सामाजिक, सांस्कृतिक वा धार्मिक चाड मनाइनै रहेको हुन्छ |

महाराज मनुले "मान्छेले आफ्नो देश, परिस्थिति र सामाजिक परम्पराअनुसार धार्मिक कृत्य गर्छन्" भन्नुको तात्पर्य नै हरेक समाजले आ-आफ्नो तरिकाले रमाइलो गर्छ भन्नु हो | तेसैले चाडवाडका संस्कृतिहरूमा विरोधाभाष पनि देखिन सक्छन् | हरेक चाडवाड हरेकका लागि स्वीकार्य नहुन पनि सक्छ | कुनै समाजका लागि अतिस्वीकार्य संस्कृति अर्काको लागि अति-अस्वीकार्य हुन सक्छ | यो सबै मान्यताले गर्दा हुन्छ |

नेपालको भूगोल भित्र १२३ बटा जातजातिहरू वसोवास गर्छन् | ती जातजाति भित्र पनि गोत्रहरूको विभाजन हुन्छ | यी विभाजनहरूको रमाइलो पक्ष हुन्छ कि हरेकले आ-आफ्नो लागि अलग्गै चाडवाड खडा गरेको हुन्छ | नेपाल कै सन्दर्भमा कुरा गर्ने हो भने ३६५ दिनको एक वर्षमा नेपालीहरूले मनाउने चाडवाड लगभग ७८० जति छन् भन्ने मैले सुनेको छु | एतिधेरे विविधता हुनु साच्चिकै हाम्रो लागि गौरवको कुरा हो |

हामी नेपालीहरू दशैँ मनाउंदै छौँ | धार्मिक रूपमा जे-जस्तो अर्थ र प्रयोजन होला | हामी नेपालीहरूला लागि यो पारिवारिक पुनर्मिलन, सांस्कृतिक पुस्तान्तरणको पर्व हो | श्रीरामले नौ दिनसम्म आराधना गरेर शक्ति प्राप्त गरे होलान् | अयोध्याका जनताले रावणमा विजय प्राप्त गरेकोमा रामको स्वागत गरे होलान् | दुर्गा देवीले महिषासुरको र महाकालीले शुभ-निशुम्भको बध गरेकी होलिन् | यी सबै इतिहासका कुरा हुन् | कथाका कुरा हुन् | हामी नेपालीहरूको परम्पराका कुरा हुन् |

धार्मिक दृष्टिकोणले वैदिकहरूले विकसित गरेको दशैं आज सबै नेपालीको बनेको छ | दशैंलाई "हिन्दूहरू"को भन्नु गलत हो | दशैं हामी सबै नेपालीको हो | टीका-जमरा थापेर दशैं मनाउनेहरूको होस् वा छुट्टी ठानेर पारिवारिक मिलन गर्नेहरूका लागि दशैंले समय उपलब्ध गराएको छ | सबैलेका लागि दशैंको धार्मिक स्वरूप स्वीकार्य नहुन सक्छ | सामाजिक दशैं सबैको लागि स्वीकार्य नै छ | नेपाली पर्वको रूपमा मिलन, सद्भावको संवाहकका रूपमा यसको महत्व छँदैछ |

धार्मिक रूपमा दशैं वा विजयदशमीको महापर्वले विश्वभरिका हिन्दूहरूलाई एकआपसमा जोड्ने, मिल्ने र समीक्षा गर्ने अवसर हो | हिन्दूहरूले आफ्नो पहिचान, अस्मिता तथा इतिहास जोगाउने अवसर हो | सन्तानहरूका लागि धार्मिक विधिविधान पुस्तान्तरण गर्ने अवसर हो | आफ्नो धार्मिक इतिहास, संस्कृति तथा परम्परा सुन्ने/सुनाउने अवसर हो | विश्वभरिका हिन्दूहरूले एकआपसमा इतिहास साट्ने अवसर हो | दशैँ-तिहारले विश्वभरीका हिन्दूहरूको मन जोड्न मदत गर्छ |

दार्शनिक रूपमा दशैं परमतत्वसंग एकाकार र प्रक्रृतिसंग जोडिएको आफ्नो अस्तित्वलाई अनुभूत गर्ने अवसर हो | शक्तिको अभावमा विश्व निभ्छ | शक्तिको आराधना गर्ने र त्यो प्राप्त भएपछि उत्सव मनाएर शक्तिदाताप्रति धन्यवाद दिने चाड हो | अनेकतामा एकता खोज्नु र परमसत्यको प्राप्ति गर्नु दर्शनशास्त्रको लक्ष हो | दशैंको दर्शनले सामाजिक दर्शनका रूपमा फरक-फरक धर्म, संस्कृति, मान्यता र परम्परा भएका मानिसहरूलाई "मान्छे"का रूपमा सहअस्तित्वको शिक्षा दिन्छ |

मानिसको मानिसपन उसको भावना, संवेग, प्रेम, सहानुभूतिआदि मनोबैज्ञानिक प्रतिमाहरूले निर्मित भएको छ | एकल व्यक्ति भए पनि मानिसका सबै भावनात्मक ब्यबहारहरू परिवार, समाज वा राज्यसंग जोडिएको हुन्छ | दुख, सुख, चिन्ता, निराशाआदि सबै मानिसका आफ्ना अनुभव हुन् | दशैंले मान्छेलाई मानसिकरूपमा स्वास्थ्य हुने अवसर प्रदान गर्छ | छोराछोरी, आमावुवा, हजुरवा हजुरआमा, आफन्तसंग दशैं मनाउँदा अपूर्व सन्तोष, सुख र आनन्दको अनुभूति हुन्छ | मान्छेको मन खुसी हुन्छ जसले गर्दा उ खुसी हुन्छ |

सामाजिक र सांस्कृतिक रूपमा पनि दशैंको आफ्नै महत्व छ | नेपालीभाषीहरूले दशैं अलि फरक छ | नेपाली भाषीहरूका लागि दशैं एउटा नेपाली पर्व हो | जमरा-टीका केवल नेपाली भाषीले प्रयोग गर्छन् | १५० वर्ष अघि उखु मजदुरका रूपमा पुगेका नेपालीहरूले पनि यही दशैं मान्छन् | मलेसीया, थाइल्याण्ड, म्यामार, भारतसहित विश्वका जुनसुकै देशमा बस्ने नेपाली भाषीहरूको दशैंमा एकरुपता छ | यदि प्रा.डा. महेसराज पन्त र सहप्रा. जगमान गुरुङको कुरा पत्याउने हो भने दशैं गैर वर्णाश्रमिले आरम्भ गरेको र हिन्दूहरूले प्रवर्धन गरेको बढी हो |

मलाई दशैंको औधि मन पर्छ | तर क्रूरतापूर्वक पशुहरूको हत्या गरेको पटक्कै मन पर्दैन | मान्छेको रमाइलो निर्दोष पशुहरूको काल बन्छ | तर किनभने पशुबलि पनि धार्मिक र सांस्कृतिक परम्परा नै हो बढी चित्त दुखाउन्न | एत्ति भन्छु कि दशैं अहिंसक हुँदा झन् रमाइलो हुन्थ्यो | दशैँजस्तो सात्विक पर्वमा हिंसक कर्म जायज ठहरिन्न |

दशैं रहरको पर्व हुनुपर्छ | कर र ऋण गरेर मनाइने पर्वहरू दुख्ने हुन्छन् | दशैं-तिहार मान्नेहरूले आफ्नो आर्थिकस्तरमा ध्यान दिनुपर्छ | संस्कृतिविद् सत्यमोहन जोशी र प्राडा.वीणा पौड्यालले "महँगो गिफ्ट दिने लिने र दक्षिणाको चलनले विकृति ल्याएको औल्याएका छन् | कन्याहरूले प्राप्त गर्ने दक्षिणामा प्रश्न उठाउन मिल्दैन |

जुनसुकै चाडवाडमा बालबालिकाहरूको आफ्नै स्पेस हुन्छ | अभिभावकहरूले आफ्नो लागि भन्दा पनि बालबालिकाका लागि पर्वमा सहभागिता जनाउँछन् | आधुनिकतासंगै पर्वहरूको परम्पराहरूमा परिवर्तन देखिएको छ | परम्पराअनुसार दशैंका क्रियाकलाप वारे बालबालिकालाई बताउनुपर्छ | अभिभावकहरूले आफ्ना बालबालिकालाई परिवार, आफन्तहरूको विषयमा मर्यादाअनुसार परिचय गराउनुपर्छ | परिवार र आफन्तले समेत तपाईंको परिवारका सदस्यहरूका विषयमा जान्नु पर्छ | गहिरो रूपमा नाता र सम्बन्धको महत्वलाई बुझ्नुपर्छ |

चाडवाडको उदेश्य केवल रमाइलो गर्नुमात्र होइन | परम्पराहरूको निर्वहन गर्नु पनि हो | अभिभावकहरूले आफ्ना बालबालिकालाई सिकाउनु पर्छ कि हजुरवा-हजुरआमाको हातबाट टीका ग्रहण गरेर आशिर्वाद लिनुपर्छ | गोडामा ढोग गर्नुपर्छ | दिदीबहिनीको सम्मान गर्नुपर्छ, हाम्रो संस्कृतिले देवीको रूपमा सम्मान गरेको ले दक्षिणआदि दिनुपर्छ | एस्तै प्रकारका सामाजिक ब्यबहारको शिक्षा दिनुपर्छ |

बालबालिकालाई चाडवाडमा प्रत्यक्ष सहभागी बनाउनुपर्छ | पूजाआजा पनि उनीहरूले आफै सिक्नुपर्छ | खानपिनमा बालबालिकाहरूको बढी नै रुचि हुन्छ तर ठाउँ तथा परिवेशअनुसार केवल ताजा खानाहरूको लागि अभिप्रेरित गर्नपर्छ | मोबाइलमा झुन्डिएर बस्नु भन्दा गाउँका खरवारी, खेत, बारी तथा खोलाआदिमा घुम्नु धेरै राम्रो हो | तर शहरियाहरूले तेसका लागि सावधानी अपनाउनुपर्छ | हाम्रो लागि गाउँ रमाइलो भए पनि तेहाको वास्तविक जीवन पद्धति निकै गारो हुन्छ भनेर बुझाउने प्रयत्न गर्नुपर्छ |

अभिभावकहरूकै अग्रसरतामा खेत खन्ने, घाँस काट्ने, दाउरा खोज्ने, गोवर फाल्ने, पिस्नेआदिका काममा बालबालिकालाई प्रत्यक्ष सहभागी बनाउने प्रयत्न गर्नुपर्छ | गाउँको वास्तविक जीवनसंग परिचय गराउने अ माटोसंग जोड्ने यो भन्दा राम्रो अर्को अवसर हुँदैन | तर जवर्जस्ती गर्नुहुँदैन |

नेपाली भूगोल भित्र बस्ने जोसुकै मानिस हाम्रो आफ्नो हो | आजभोली केही विखण्डनवादीहरूले ३५ वर्ष पुरानो सहअस्तित्वमा रहेको सामाजिक सद्भावलाई विभिन्न वहाना बनाएर बिथोल्ने प्रयत्न गरिरहेका छन् | हाम्रो लक्ष सहृदयता हुनुपर्छ, घृणा होइन | दशैं-तिहार नमान्न मान्छे स्वतन्त्र छ तर घृणा गर्न स्वतन्त्र छैन | घृणाको जवाफ प्रेमले दिनुपर्छ | दशैं-तिहार, छठआदि पर्वहरू प्रेम र सद्भाव फैलाउनका लागि हो, घृणाको लागि होइन |

अन्त्यमा, सहकार्य, सद्भाव, सहअस्तित्व र प्रेमालाप - यी सबै दशैंका औजार हुन् | करूणा, सत्यता, सहभागिता, उत्सुकता, सिकाई, बुझाई, पुस्तान्तरण, रमाइलोपन, सदाचार, सम्मान र सात्विक उर्जा - यी सबै दशैंको उपहार हुन् | हामी सबैको कल्याण होस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...