Tuesday, October 16, 2018

सबै अशिक्षितलाई दोष !!

बै अशिक्षितलाई  दोष  !!
आजभोली मिडिया, एनजीओ, सरकारी महकमामा निकै सुनिने, लेखिने र बोलिने शब्द हो - आशिक्षाका कारण !!! जतिपनि अपराध हुन्छन्, तेसको धेरैजसो अपजस अशिक्षित तथा अनपढलाई जान्छ | जस्तो कि आज छापा तथा अनलाइन मिडियाहरूले लेखेका छन् | 

नेपाल र भारतमा "अशिक्षा" शब्दको उपयोग र प्रयोग ग्रामीण, हिन्दू, बौद्ध, जैन, किराती, बोन तथा परम्परागत चालचलनका विनम्र अनुयायीहरुलाई अपमानित गर्न प्रयोग हुन्छ | एनजीओ, आइएनजीओ तथा सरकारले हात धूनन सिकाउने कार्यक्रम होस् वा तथाकथित स्तनपान दिवस, धुम्रपान निषेध, स्वच्छता दिवस, छुइपडी, चोरी, बलत्कार, धामीझाँक्रीआदिमा "अशिक्षा"लाई दोष दिन्छन् | यी पढेलेखेका धूर्तहरूले बुझ्नुपर्छ कि नेपाल सावुन नहुँदा पनि मान्छेले हात धोएकै थिए र छन् | दैनिक नुहाउनुपर्छ भन्ने धार्मिक विश्वास र तेसको ब्यबहारिक प्रयोग नेपालीको जीवनशैली नै थियो | बासी खानु हुँदैन, जूठो खानु हुँदैन भन्ने कुरा पश्चिमाहरूले धेरैपछि भन्न थालेका हुन् | 

हामी नेपालीमा अशिक्षा छ, गरिवी छ, अन्ध विश्वास छ, सरसफाई प्रतिको चेतना छैन - यो अर्धसत्य मात्र हो | अशिक्षाको अर्थ अज्ञान होइन | बलत्कारका घटनाहरू होउन् वा बालबालिकाप्रति यौनाचारका वा ठगीआदिका तेसको मूलधार खोज्दै जाने हो भने शिक्षितहरूको बढी उपस्थिति देखिन्छ | शारीरिक सुखका लागि यौनाचार गर्ने अनि, गर्भपतन गराउनेहरूमा ९०% पढालेखा समुदाय नै अगाडी छ भन्ने तत्थ्य मेरीटप्सको रिपोर्ट हेरे बुझ्न सकिन्छ | अशिक्षितले एस्तो "जानाजानीको अपराध" गर्ने र तेसलाई छोप्ने काम गर्दैन |

तर विश्व-अपराधका रिपोर्टहरू अध्ययन गर्ने हो भने अधिकांश अपराधिक घटनाहरू पढेलेखेको, जानेबुझेका र अपराध लुकाउन सक्छु भन्ने मनसाय भएका व्यक्तिहरूबाट निकै बुद्धिमान तवरले भए/गरेका हुन्छन् | तर तेसको दोष आफ्नो सानो संसारमा रमाउने अर्थात् अशिक्षित व्यक्तिले बोक्नुपर्छ | धानखाने मुसो चोट खाने भ्यागुतो भनेको यही हो |

मैले धेरै पटक अशिक्षित व्यक्तिहरूले सभ्य तवरले लाइनमा उभिएर घरको बार्षिक कर तिरेको देखेको छु | तेस्ता करहरू सरकारी हाकिमको तजविजमा निर्धारित हुन्छ | तर एउटा लेखेपढेको कर-अधिकारीले आफ्नो घरको घरबहाल कर तिरेको होला भनेर कसैले पनि पत्याउन सक्दैन | 

एउटा लेखेपढेको सरकारी कर्मचारीले घूस खाँदैन भनेर पत्याउने निकै थोरै होलान् | एउटा मन्त्रीले भष्टाचार गर्दैन भन्ने कुरा आजको समाजले कत्तिपनि पचाउन सक्दैन | मालपोत, करकार्यालय, भन्सारजस्ता निकै आर्थिक चलखेल हुने ठाउँको भ्रष्टाचार जगजाहेर छ | तैपनि हामी र हाम्रो पढेलेखेको समाजले अशिक्षालाई दोष दिन्छ |

अशिक्षितलाई दोष थुपार्न सजिलो छ किनभने उनीहरूले "लेखेपढेकालेझैँ" प्रतिकार गर्न सक्दैन | जानीजानी र वदनियत तवरले गरेका गलतकामलाई "गल्ति" भनेर वा विभिन्न तिकडम झिकेर लुकाउन, बंग्याउन जान्दैनन् | झूटो कामकुरो गर्दा ईश्वरसंग डराउँछन् | गल्तिनै अपराधनै नगरेको व्यक्तिलाई पनि "बौद्धिक शक्ति" प्रयोग गरेर अपराधी हुँ भन्न बाध्य बाध्य परिन्छ | विश्वास गर्नुस्, विश्वका ९०% बाध्य बनाएर अपराध गर्ने/गराउने काम शिक्षितले गर्छन् | र विश्वलाई असल बनाउने पनि शिक्षित नै हुन् |

अशिक्षितबाट अपराध भयो भने त्यो जनरलाइज गरिन्छ किनभने एसो गरिएन भने लेखेपढेकाले गरेको अपराध लुक्दैन | संसारका ९५% आर्थिक अपराध पढेलेखेका मान्छेले गर्छन् भन्ने मैले कहीं पढेको थिएँ | धेरैजसो चेलीबेटी बेचविखन, श्रमशोषण, युद्धअपराध, राजनैतिक कुकर्म, धार्मिक तथा सांस्कृतिक अपराधीहरूमा लेखे पढेका व्यक्ति नै संलग्न हुन्छन् भन्ने कुरा मिडियाहरूले बोल्ने आँट कहिले गर्लान् ? गलत कामको सबै दोष अशिक्षालाई दिन मिल्दैन | बरू उच्च नैतिकतायुक्त शिक्षाको उज्यालोबाट व्यक्ति विशेष वा समुदायलाई बन्चित राख्ने सिस्टमलाई दोष दिनुपर्छ |

विश्वास गर्नुस्, अशिक्षित मान्छे अपराध गर्नबाट डराउँछ | मलाई लाग्छ, अशिक्षितहरूले गर्ने धेरैजसो अपराधहरू "लाटो रीस" वा आवेगका कारणले घटीत हुन्छन् र एस्तो अपराधको दण्ड-सजाय पनि उनीहरूले भोग्नै पर्छ | तर पढेलेखेकाले जानीबुझी गरेका अपराधहरूको संरक्षण गर्न नामूद वकिलहरू, चिनजानका अधिकारीहरू र कहिलेकाहीं त सरकार नै लागि पर्छन् | उनीहरू अपराधका कारण होइन पक्राउ परेका कारणले दण्डित हुन्छन् | उनीहरू अपराधका "मास्टर माइन्ड" हुन्छन् |

कान्छीको भट्टीमा गएर ट्वाक लगाउने र नालीमा लड्नेलाई हाम्रो मिडियाले "अशिक्षाको कारण"ले भनि ब्याख्या गर्छ यदि तेही जाँड हायत होटलमा खाइन्छ भने तेस्तो काम सभ्यताको प्रतीक हुन्छ | र्याम्पमा उभिएकी एउटी केटी मान्छेका अंगप्रत्यंग हेर्ने (सुन्दरी प्रतिगितामा) व्यक्तिले ताली पाउँछ | यदि यही काम कुनै बटुवाले गर्यो भने अपराध हुन्छ | 

हामीले जतिधेरै शब्द अशिक्षित वा अशिक्षालाई दोष दिन खर्च गर्छौं तेसको २०% शब्दहरू उनीहरूलाई सुसज्जित गर्न, कानुन, नैतिकता/अनैतिकता सम्बन्धि जानकारी दिन खर्च गर्ने हो भने अपराधहरू (अशिक्षितबाट)को ग्राफ निकै कम हुन्छ | ह्वाइट कलर क्राइम गर्ने पढेलेखेकाहरूलाई (जो अपराधी मानसिकताका छन्) को अगाडी भैसीका अगाडी मुरली बजाउनु सरह हो | 

देशसंग गद्दारी गर्ने, आफ्नो सभ्यताको जरो आफै काट्ने, विदेशीको नक्कल लाई सभ्यताको प्रतीकका रूपमा लिने, आफ्नो धर्म-संस्कृति तथा सभ्यताको विनम्र बाहकहरूलाई अन्धविश्वासी भनेर लान्छना लगाउने, आफ्नै इतिहासको अपब्याख्या गर्ने, पूर्खाले बनाएका मूर्तिहरू विदेशीलाई बेचेर धन आर्जन गर्ने - निश्चय नै अशिक्षित हुँदैनन् | गैडाको हत्या गर्ने अशिक्षित हुन् सक्छ तर त्यो खागको प्रयोगकर्ता, तस्कर लेखे पढेको हुन्छ | यदि यदि शिक्षित बनाउनु नै छ भने हामीले पढेलेखेकाहरूलाई "शिक्षित" बनाउनुपर्छ | अशिक्षितले अवसर प्राप्त भए शिक्षा प्राप्त गर्छन्, अपराध मुक्त हुन्छन् तर शिक्षितहरूलाई कसरी "शिक्षित" बनाएर सदाचारी बनाउन सकिन्छ ? मेरो चिन्ताको विषय यही हो | 

गहिरो नींदमा सुतेको मान्छे बोलाएपछि जाग्छ तर सुतेको अभिनय गर्ने मान्छेलाई उठाउन सकिन्न | अशिक्षा समाप्त हुनसक्छ तर शिक्षित अपराध समाप्त हुन गारो हुन्छ | तेसैले अपराधहरूका लागि अशिक्षालाई मात्र दोष दिने प्रवृति अन्त्य हुनुपर्छ | तपाईंक, मेरा, हाम्रा पनि आमावुवा, हजुरवा-आमा अशिक्षित होलान् तर विश्वास गर्नुस्, ती यी "शिक्षित"भन्दा धेरै नैतिक, देशभक्त, सदाचारी तथा दयालु छन् | यदि घोर सैद्धान्तिकरूपमा भन्ने हो भने शिक्षित अपराधी हुनै सक्दैन र अपराधीलाई शिक्षित ठान्नु गलत हुन्छ | पढेलेखेको मान्छे लेख्न पढ्न जान्ने हुन सक्छ तर शिक्षित नहुन सक्छ |
कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...