Tuesday, October 16, 2018

वेद, डीएनए र राज्यराष्ट्र

वेद, डीएनए र राज्यराष्ट्र 
वेदको अर्थ ज्ञान हो | वेदको अर्थ चारवेद, आरन्यक, स्मृति र उपनिषद् पनि हो | वेदले मान्छेमात्र होइन चराचर प्राणीहरूलाई परमात्मा वा प्राकृतिक सर्गविसर्गको परिणाम मान्छ | परमात्माको सन्तान मान्दा हो अथवा सर्गविसर्गको परिणाम दुवै प्रक्रियामा मान्छेको DNA को स्रोत एकै ठहर्छ | तत्थ्यलाई कुतर्कले काट्न सकिन्न | मतविभाजनको प्रजातान्त्रिक प्रक्रियाले सत्यको स्वरूप प्रभावित हुँदैन |

हिजो वेदले बोलेका कुराहरू आज तत्थ्य प्रमाणित हुँदा हामी चुपचाप रहन्छौं | इतिहास एक दिनमा लेखिदैन तर इतिहासका किनारा हुन्छन् | जित्नेले जीतको इतिहास लेख्छ भने हार्नेले पनि आफ्नै तरिकाले आफ्नो वीरताको वर्ण गर्छ | तर निरपेक्ष इतिहास बदलिंदैन | वेदले बोलेको इतिहास निरपेक्ष हो र यही हामी नेपालीहरूको पहिचान हो | वेदले राज्यराष्ट्रका विषयमा बोलेको छ नै गोत्रका रूपमा डीएनएका विषयमा पनि बोलेकै छ | हामीलाई अंग्रेजीमा सुन्ने लतलागेकोले बुझ्नमात्र नसकेको हो |

हालैका दिनमा भएका अनुसन्धानले संसारका सबै मानिसको DNA ९९.९ प्रतिशत भएको प्रमाणित गरेको छ | यसको अर्थ स्पस्ट छ - सतरूपा र मनुको शरीरबाट उत्पन्न "मानव" विश्वभरी फैलिएको हो | कालो, सेतो, गहुगोरो, न्याप्टे, च्याप्टे, थ्याप्चेआदि भूगोल, वातावरणआदिका कारण विकसित भएका विशेष अवस्था हुन् | संसारका सबै जातिहरू मनु तथा सतरूपाका सन्तान "मानव" भएकाले पृथ्वीका आदिवासी नै हुन् |

प्रगतिशीलता, वैज्ञानिकता, पहिचानआदिको एककोहोरो मन्त्र जपेर जनतालाई भ्रमित पार्ने राजनैतिक प्रपन्चके नेपाली समाजमात्र होइन विश्व समेत विभाजित छ | समय र अनुसन्धानले मान्छेलाई एस्तो भ्रमबाट मुक्त हुनुपर्ने अवसर दिएको छ | विज्ञानले ९९.९ प्रतिशत मान्छेहरूको डीएनए एकै भएको प्रमाणित गरिसकेको अवस्थामा नाक, वर्णका आधारमा विभाजन खोज्नु जनतासंग गरिने छल हो | एस्तो छलबाट जोगिनुपर्छ |

वेदहरूले "बसुधैव कुटुम्बकम्" भनेर विश्व-मानवलाई एकै परिवारको सदस्य भएको घोषणा आज गरेको होइन | हजारौं वर्ष पहिला शास्त्रले गरेको यो उद्घोषणले मान्छेलाई "बन्धुत्व"को सम्बन्ध बुझ्न र एकै परिवारको अंग भएर विश्वलाई सहकार्य गर्ने प्रेरित गरेको हो |

समय र परिस्थितिले मान्छेहरू फरक-फरक भूगोलमा पुगे, फरक-फरक भाषाको विकास गरेर र फरक-फरक रूपरंगमा बने तर तिनको जरोकिलोमा कुनै पनि परिवर्तन आएको छैन | प्राचीन वैदिक परम्परामा आधारित राज्यराष्ट्रको प्रशासन पद्धतिको आवश्यकता आजको समयमा झन् जीवन्त भएको छ | वेदले मानवसमाजलाई एकै परिवारको सदस्यका रूपमा निरन्तरता दिन "राज्यराष्ट्र"को परिकल्पना गरेको थियो, तेसमा क्रमभंग आउँदा विश्वमानव विभाजित भएको हो |

राज्यराष्ट्रको मूलभूत मर्म विस्मृत हुँदै जाँदा मान्छेले अनेकौं प्रकारका राजकीय तन्त्रहरूको विकास गरेको हो | पूँजीवाद, साम्यवाद, फाँसीवादआदि सबै राज्यतन्त्रहरूले मान्छेलाई एकसूत्रमा बाँध्ने प्रयास गरे तर सफल भएनन् किनभने यी सबैले मान्छेलाई "फरक-फरक" इकाई मानेर ब्याख्या गरे | जव हामीले केवल फरकपनामात्र महत्व दिन्छौं, असफलता तेतिखेर नै कोरिन्छ | राष्ट्रराज्यका आधारभूत सिद्धान्तहरू विफल हुँदै गर्नुमा यही तत्व लुकेको छ | विश्वास गर्नुस्, राष्ट्रराज्यलाई बोकेर हिड्नेहरू नै राज्यराष्ट्रको अंगालोमा बलियो हुँदैछन् | अमेरिका, बेलायत, क्यानाडा यसका बुलन्द उदाहरण हुन् | अनेकान्तवादी समाज र राष्ट्रराज्य संगै हिड्नै सक्दैनन् | बसाई सरेकाहरूले निर्मित भएको देश "अमेरिका, क्यानाडाआदि कसरी राष्ट्रराज्य" रहन सक्छन् ? यो कुराको जवाफ बुझ्नुपर्छ |

वेदले विश्वमा मान्छेहरू बन्धु नै हुन् भन्नु, आधुनिक विज्ञानले विश्वभरिका मान्छेको डीएनए एकै हो भन्नु, वेदले राज्यराष्ट्रले मात्र विश्वका मान्छेहरूमा समावेशी सम्बन्ध स्थापित हुन्छ भन्नु काकताली हुँदैहोइन | तेसैले वेदले विश्वको लागि निर्धारित गरेको "राज्यराष्ट्र"लाई निर्धक्कसंग अंगालौं | राज्यराष्ट्रका विषयमा वहस गरौँ, छलफल गरौँ र सचेत गरौँ |

सबैको भाषा, संस्कृति र धार्मिक आस्थाको संरक्षण, सम्वर्धन गर्न अग्रसर बनौं | मान्छेलाई नाक, वर्ण र भूगोलका आधारमा अलग पारेर इकाई बनाउने षड्यन्त्र विरुद्ध सचेत बनौं | हाम्रै पुर्खाले बोलेको स्थापित गरेको पद्धतिमा अगाडी बढौं | घृणावादबाट जोगाऔं |

कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...