Saturday, October 20, 2018

श्रीमान् बाबुराम जी !

श्रीमान् बाबुराम जी !

वैदिक संस्कृति भनौं वा नेपाली परम्परा - यो एतिबिध्न बलियो छ कि कुनै वखत दशैं-तिहार वहिस्कार गरेका, महिलाहरूलाई तीज वहिष्कार गर्ने उक्साएका र धर्म-अफिम हो भन्नेहरूले पनि दशैं-तिहारमा मनाउने थालेका छन् | कार्लमार्क्सले जुन धर्म (पन्थ)लाई अफिम भनेका थिए, त्यो समावेसी, अर्काको धार्मिक अस्तित्व स्वीकार गर्नेवाल थिएन | तर तिनै आज पुन: आफ्नो जरोकिलोसंग जोडिन बाध्य भएका छन् | यही वैदिक संस्कृतिको महानता हो |

वैदिक परम्परामा हरेक धार्मिक कर्मकाण्ड गर्दा "प्रायश्चित्त" संकल्प गर्नुपर्छ | यो एउटा महत्वपूर्ण मनोबैज्ञानिक परम्परा हो | हरेक व्यक्तिले जानेर वा नजानेर गरेका गल्तिहरूप्रति आत्मआलोचना गरिन्छ | मलाई थाहा छैन, श्रीबाबुरामजीहरूले प्रायश्चित्त गर्नु भएको हो कि अभिनय गर्नुभएको हो | तर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीआदिले नेपाली चाडवाडहरूप्रति देखाएको उदारता स्वागतयोग्य छ |

एउटा असजिलो पनि छ - उहाँहरूले आजीवन स्वीकार गरेको राजनैतिक पृष्ठभूमिले गर्दा उहाहरू "धर्मनिरपेक्ष" बाध्य छन् | धर्म, संस्कृति तथा परम्पराका विपक्षमा त यहाँका "प्रगतिवादी"हरू पनि छैनन् |

विगतमा नेपाली-नेपाली वीच विविध स्वार्थहरूको खेलका कारण परस्पर घृणाको वातावारण बनेको छ | हिमाली, पहाडी तथा तराईका नाममा, नाक, वर्ण तथा भाषाका नाममा र पन्थका नाममा समेत असहिष्णुता प्रकट भएको छ | तपाईंहरूको राजनैतिक गतिविधिका कारण भित्रिएको एस्तो घृणावादको जरोकाट्ने प्रयत्न पनि तपाईंहरूले नै गर्नुपर्छ |

नेपालमा अन्य धर्म मान्नेहरूको अस्तित्व पनि बलियो हुँदै गइरहेको छ | मुस्लिम, इसाई, यहुदी र बाहाईजस्ता पान्थिक समुदाय बढ्दै छन् | हरेक हिन्दू, बौद्ध, जैन र किराती समुदायका मान्छेहरू उपरोक्त समुदायका मान्छेहरूलाई नेपालका रैथाने चाडवाडका सहयात्री बनेको देख्न, भोग्न आतुर छन् | धर्मपरिवर्तन गरेकाहरू नेपालीहरूले पनि नेपाली रैथाने चाडवाडमा सहभागिता जनाएको देख्न पाए निकै खुसी लाग्थ्यो |

हामी सबै नेपालीहरू इसाई तथा मुस्लिम समुदायका मानिसहरूलाई पनि नेपाली चाडवाडहरूमा सधैं स्वागत गर्न आतुर छौँ | श्रीबाबुरामजीआदि आफ्ना मौलिक चाडवाडहरूमा फर्केकोमा गुनासो गर्नुहुँदैन |

असलमा, उहाहरूले चाडवाड वहिष्कार गर्नुमा धर्म शब्दलाई रिलिजन भनेर बुझ्नु हो | पन्थहरू अनुदार हुन्छन् तर धार्मिकहरूको उदारताको उदाहरण नेपाल हो | कट्टरता नेपाली संस्कृतिको अंग होइन | यो बुझ्नका लागि केही इतिहासका शब्दहरू पढौं |

फ्रान्समा पहिलो राजनैतिक कान्ति हुँदा तेहा एकलाख पचासहरू पादरीहरू थिए जसले दुई करोड किसानबाट तिनले कमाएको अन्न वा धनबाट ८०% कर बसुली गर्थे | मुस्लिमले कब्जा जमाएको जिससको जन्मथल मुक्त गर्ने नाममा जर्मन र रुसबाट (एउटा पादरीको सपनामा विश्वास गरेर) चारलाख बालबालिकाहरूको फौज बनाएर इजराइलतिर कूच गरियो | ती सबै बालबालिकाहरू अल्पासको हिउँको जाडोले समातेर मरेका थिए |

आजका इसाईहरूले त्यो घटना सम्झन पनि चाहन्नन् होला | तर नेपालका सबै चाडवाडहरू सबैका लागि खुला छन् | इसाई-मुस्लिम वा कुनै पनि धर्म नमान्नेले पनि रमाइलो गर्ने अधिकार राख्छ | १४७८ मा मार्टिन लुथरले प्रोस्टेस्टेन्ट गूट खडा गरेपछि पोपले हजारौं प्रोस्टेस्टेन्ट इसाईहरूलाई जिउंदै जलाएर मारेका थिए | तर नेपाली समाजले सधैं आफ्ना चाडवाडहरू मान्न अरूलाई खुला दिलले स्वागत गर्यो भने विदेशीहरूले ल्याएका ईद, क्रिसमसजस्ता चाडहरूमा पनि रमाउन पछि परेन |

मलाई लाग्छ, पूर्वप्रम श्रीबाबुराम, उपराष्ट्रपति, प्रधानमन्त्रीआदिले नेपाली समाजको यो प्रेमपूर्ण स्वभावलाई बुझ्नुभएर टीका स्वीकार भएको होला | उहाँ जस्तो विद्वानहरूले पक्कै पनि नेपाली समाजको सांस्कृतिक तथा धार्मिक समावेशीपन बुझ्नु भएको हुनुपर्छ | सामाजिक संजालमा उहाहरूप्रति निकै कडा व्यङ्ग्य लेखिएका छन् | यी व्यग्यहरूप्रति मेरो समालोचनात्मक दृष्टिकोण छ | हरेक मान्छे बदलिन पाउँछ | यी नेताहरूले नक्कल नै पारेको भए पनि समाजले यिनको अनुकरण गर्छन् नै |

आफ्नो मौलिकतामा फर्कदा कुनै लज्जावोध हुन जरूरी छैन | कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति अर्थात् कू-पुत्र सम्भव छ तर कुमाता असम्भव छ | नेपालआमाको मन सधैं उदार छ | तपाईंहरूले सार्वजनिक रूप मै (नक्कली भए पनि) सांस्कृतिक पर्व निर्वहन गरिदिनु भएकोमा धन्यवाद र स्वागत छ |😊

Wednesday, October 17, 2018

दशैं र तिहारको अवसरमा

दशैं र तिहारको अवसरमा
मान्छेले मनाउने जुनसुकै चाडवाडहरू सांस्कृतिक निरन्तरता र रमाइलोका लागि हुन्छन् | संस्कृति, सभ्यता, नैतिकता, धार्मिकताआदि विषयहरू मान्छेको आफ्नो खुवी हो | एक्लै व सामुहिकरूपमा रमाइलो गर्ने पनि मान्छे नै हुन्छ |

धार्मिक विधानहरू आविष्कार गरेर होस् वा सामाजिक वा सांस्कृतिक पर्वको उपलक्ष पारेर होस् मान्छेले आफन्त भेट्ने, आफन्तसंग भलाकुसारी गर्ने, आफ्नो बालापन सम्झेर रमाउने र सुखदुख साट्ने कुरामा मान्छेको कुनै तुलना छैन | विश्वभरीका मान्छेले रमाइलो रमाइलो गर्छन् |

हामी नेपाली रमाइलो गर्ने मामिलामा धेरै अगाडी छौं | वैदिककाल देखि नै हामीले अनेकौं चाडवाडहरूको विकास गरेका छौँ | नेपाली समाज एतिबिध्न फैलिएको छ कि हरेक दिन कुनैनकुनै नेपालीले सामाजिक, सांस्कृतिक वा धार्मिक चाड मनाइनै रहेको हुन्छ |

महाराज मनुले "मान्छेले आफ्नो देश, परिस्थिति र सामाजिक परम्पराअनुसार धार्मिक कृत्य गर्छन्" भन्नुको तात्पर्य नै हरेक समाजले आ-आफ्नो तरिकाले रमाइलो गर्छ भन्नु हो | तेसैले चाडवाडका संस्कृतिहरूमा विरोधाभाष पनि देखिन सक्छन् | हरेक चाडवाड हरेकका लागि स्वीकार्य नहुन पनि सक्छ | कुनै समाजका लागि अतिस्वीकार्य संस्कृति अर्काको लागि अति-अस्वीकार्य हुन सक्छ | यो सबै मान्यताले गर्दा हुन्छ |

नेपालको भूगोल भित्र १२३ बटा जातजातिहरू वसोवास गर्छन् | ती जातजाति भित्र पनि गोत्रहरूको विभाजन हुन्छ | यी विभाजनहरूको रमाइलो पक्ष हुन्छ कि हरेकले आ-आफ्नो लागि अलग्गै चाडवाड खडा गरेको हुन्छ | नेपाल कै सन्दर्भमा कुरा गर्ने हो भने ३६५ दिनको एक वर्षमा नेपालीहरूले मनाउने चाडवाड लगभग ७८० जति छन् भन्ने मैले सुनेको छु | एतिधेरे विविधता हुनु साच्चिकै हाम्रो लागि गौरवको कुरा हो |

हामी नेपालीहरू दशैँ मनाउंदै छौँ | धार्मिक रूपमा जे-जस्तो अर्थ र प्रयोजन होला | हामी नेपालीहरूला लागि यो पारिवारिक पुनर्मिलन, सांस्कृतिक पुस्तान्तरणको पर्व हो | श्रीरामले नौ दिनसम्म आराधना गरेर शक्ति प्राप्त गरे होलान् | अयोध्याका जनताले रावणमा विजय प्राप्त गरेकोमा रामको स्वागत गरे होलान् | दुर्गा देवीले महिषासुरको र महाकालीले शुभ-निशुम्भको बध गरेकी होलिन् | यी सबै इतिहासका कुरा हुन् | कथाका कुरा हुन् | हामी नेपालीहरूको परम्पराका कुरा हुन् |

धार्मिक दृष्टिकोणले वैदिकहरूले विकसित गरेको दशैं आज सबै नेपालीको बनेको छ | दशैंलाई "हिन्दूहरू"को भन्नु गलत हो | दशैं हामी सबै नेपालीको हो | टीका-जमरा थापेर दशैं मनाउनेहरूको होस् वा छुट्टी ठानेर पारिवारिक मिलन गर्नेहरूका लागि दशैंले समय उपलब्ध गराएको छ | सबैलेका लागि दशैंको धार्मिक स्वरूप स्वीकार्य नहुन सक्छ | सामाजिक दशैं सबैको लागि स्वीकार्य नै छ | नेपाली पर्वको रूपमा मिलन, सद्भावको संवाहकका रूपमा यसको महत्व छँदैछ |

धार्मिक रूपमा दशैं वा विजयदशमीको महापर्वले विश्वभरिका हिन्दूहरूलाई एकआपसमा जोड्ने, मिल्ने र समीक्षा गर्ने अवसर हो | हिन्दूहरूले आफ्नो पहिचान, अस्मिता तथा इतिहास जोगाउने अवसर हो | सन्तानहरूका लागि धार्मिक विधिविधान पुस्तान्तरण गर्ने अवसर हो | आफ्नो धार्मिक इतिहास, संस्कृति तथा परम्परा सुन्ने/सुनाउने अवसर हो | विश्वभरिका हिन्दूहरूले एकआपसमा इतिहास साट्ने अवसर हो | दशैँ-तिहारले विश्वभरीका हिन्दूहरूको मन जोड्न मदत गर्छ |

दार्शनिक रूपमा दशैं परमतत्वसंग एकाकार र प्रक्रृतिसंग जोडिएको आफ्नो अस्तित्वलाई अनुभूत गर्ने अवसर हो | शक्तिको अभावमा विश्व निभ्छ | शक्तिको आराधना गर्ने र त्यो प्राप्त भएपछि उत्सव मनाएर शक्तिदाताप्रति धन्यवाद दिने चाड हो | अनेकतामा एकता खोज्नु र परमसत्यको प्राप्ति गर्नु दर्शनशास्त्रको लक्ष हो | दशैंको दर्शनले सामाजिक दर्शनका रूपमा फरक-फरक धर्म, संस्कृति, मान्यता र परम्परा भएका मानिसहरूलाई "मान्छे"का रूपमा सहअस्तित्वको शिक्षा दिन्छ |

मानिसको मानिसपन उसको भावना, संवेग, प्रेम, सहानुभूतिआदि मनोबैज्ञानिक प्रतिमाहरूले निर्मित भएको छ | एकल व्यक्ति भए पनि मानिसका सबै भावनात्मक ब्यबहारहरू परिवार, समाज वा राज्यसंग जोडिएको हुन्छ | दुख, सुख, चिन्ता, निराशाआदि सबै मानिसका आफ्ना अनुभव हुन् | दशैंले मान्छेलाई मानसिकरूपमा स्वास्थ्य हुने अवसर प्रदान गर्छ | छोराछोरी, आमावुवा, हजुरवा हजुरआमा, आफन्तसंग दशैं मनाउँदा अपूर्व सन्तोष, सुख र आनन्दको अनुभूति हुन्छ | मान्छेको मन खुसी हुन्छ जसले गर्दा उ खुसी हुन्छ |

सामाजिक र सांस्कृतिक रूपमा पनि दशैंको आफ्नै महत्व छ | नेपालीभाषीहरूले दशैं अलि फरक छ | नेपाली भाषीहरूका लागि दशैं एउटा नेपाली पर्व हो | जमरा-टीका केवल नेपाली भाषीले प्रयोग गर्छन् | १५० वर्ष अघि उखु मजदुरका रूपमा पुगेका नेपालीहरूले पनि यही दशैं मान्छन् | मलेसीया, थाइल्याण्ड, म्यामार, भारतसहित विश्वका जुनसुकै देशमा बस्ने नेपाली भाषीहरूको दशैंमा एकरुपता छ | यदि प्रा.डा. महेसराज पन्त र सहप्रा. जगमान गुरुङको कुरा पत्याउने हो भने दशैं गैर वर्णाश्रमिले आरम्भ गरेको र हिन्दूहरूले प्रवर्धन गरेको बढी हो |

मलाई दशैंको औधि मन पर्छ | तर क्रूरतापूर्वक पशुहरूको हत्या गरेको पटक्कै मन पर्दैन | मान्छेको रमाइलो निर्दोष पशुहरूको काल बन्छ | तर किनभने पशुबलि पनि धार्मिक र सांस्कृतिक परम्परा नै हो बढी चित्त दुखाउन्न | एत्ति भन्छु कि दशैं अहिंसक हुँदा झन् रमाइलो हुन्थ्यो | दशैँजस्तो सात्विक पर्वमा हिंसक कर्म जायज ठहरिन्न |

दशैं रहरको पर्व हुनुपर्छ | कर र ऋण गरेर मनाइने पर्वहरू दुख्ने हुन्छन् | दशैं-तिहार मान्नेहरूले आफ्नो आर्थिकस्तरमा ध्यान दिनुपर्छ | संस्कृतिविद् सत्यमोहन जोशी र प्राडा.वीणा पौड्यालले "महँगो गिफ्ट दिने लिने र दक्षिणाको चलनले विकृति ल्याएको औल्याएका छन् | कन्याहरूले प्राप्त गर्ने दक्षिणामा प्रश्न उठाउन मिल्दैन |

जुनसुकै चाडवाडमा बालबालिकाहरूको आफ्नै स्पेस हुन्छ | अभिभावकहरूले आफ्नो लागि भन्दा पनि बालबालिकाका लागि पर्वमा सहभागिता जनाउँछन् | आधुनिकतासंगै पर्वहरूको परम्पराहरूमा परिवर्तन देखिएको छ | परम्पराअनुसार दशैंका क्रियाकलाप वारे बालबालिकालाई बताउनुपर्छ | अभिभावकहरूले आफ्ना बालबालिकालाई परिवार, आफन्तहरूको विषयमा मर्यादाअनुसार परिचय गराउनुपर्छ | परिवार र आफन्तले समेत तपाईंको परिवारका सदस्यहरूका विषयमा जान्नु पर्छ | गहिरो रूपमा नाता र सम्बन्धको महत्वलाई बुझ्नुपर्छ |

चाडवाडको उदेश्य केवल रमाइलो गर्नुमात्र होइन | परम्पराहरूको निर्वहन गर्नु पनि हो | अभिभावकहरूले आफ्ना बालबालिकालाई सिकाउनु पर्छ कि हजुरवा-हजुरआमाको हातबाट टीका ग्रहण गरेर आशिर्वाद लिनुपर्छ | गोडामा ढोग गर्नुपर्छ | दिदीबहिनीको सम्मान गर्नुपर्छ, हाम्रो संस्कृतिले देवीको रूपमा सम्मान गरेको ले दक्षिणआदि दिनुपर्छ | एस्तै प्रकारका सामाजिक ब्यबहारको शिक्षा दिनुपर्छ |

बालबालिकालाई चाडवाडमा प्रत्यक्ष सहभागी बनाउनुपर्छ | पूजाआजा पनि उनीहरूले आफै सिक्नुपर्छ | खानपिनमा बालबालिकाहरूको बढी नै रुचि हुन्छ तर ठाउँ तथा परिवेशअनुसार केवल ताजा खानाहरूको लागि अभिप्रेरित गर्नपर्छ | मोबाइलमा झुन्डिएर बस्नु भन्दा गाउँका खरवारी, खेत, बारी तथा खोलाआदिमा घुम्नु धेरै राम्रो हो | तर शहरियाहरूले तेसका लागि सावधानी अपनाउनुपर्छ | हाम्रो लागि गाउँ रमाइलो भए पनि तेहाको वास्तविक जीवन पद्धति निकै गारो हुन्छ भनेर बुझाउने प्रयत्न गर्नुपर्छ |

अभिभावकहरूकै अग्रसरतामा खेत खन्ने, घाँस काट्ने, दाउरा खोज्ने, गोवर फाल्ने, पिस्नेआदिका काममा बालबालिकालाई प्रत्यक्ष सहभागी बनाउने प्रयत्न गर्नुपर्छ | गाउँको वास्तविक जीवनसंग परिचय गराउने अ माटोसंग जोड्ने यो भन्दा राम्रो अर्को अवसर हुँदैन | तर जवर्जस्ती गर्नुहुँदैन |

नेपाली भूगोल भित्र बस्ने जोसुकै मानिस हाम्रो आफ्नो हो | आजभोली केही विखण्डनवादीहरूले ३५ वर्ष पुरानो सहअस्तित्वमा रहेको सामाजिक सद्भावलाई विभिन्न वहाना बनाएर बिथोल्ने प्रयत्न गरिरहेका छन् | हाम्रो लक्ष सहृदयता हुनुपर्छ, घृणा होइन | दशैं-तिहार नमान्न मान्छे स्वतन्त्र छ तर घृणा गर्न स्वतन्त्र छैन | घृणाको जवाफ प्रेमले दिनुपर्छ | दशैं-तिहार, छठआदि पर्वहरू प्रेम र सद्भाव फैलाउनका लागि हो, घृणाको लागि होइन |

अन्त्यमा, सहकार्य, सद्भाव, सहअस्तित्व र प्रेमालाप - यी सबै दशैंका औजार हुन् | करूणा, सत्यता, सहभागिता, उत्सुकता, सिकाई, बुझाई, पुस्तान्तरण, रमाइलोपन, सदाचार, सम्मान र सात्विक उर्जा - यी सबै दशैंको उपहार हुन् | हामी सबैको कल्याण होस् |

Tuesday, October 16, 2018

मृत्युपूर्व परामर्श -१

वैदिकदर्शनमा  मृत्युपूर्व परामर्श 
Pre-Death Counseling in Vedic Philosophy 

राजा परीक्षितले ऋषि शुकदेवसंग दुईबटा प्रश्न गरे : १. मृत्युको समय बुझेको मानिसले के गर्नुपर्छ ? २. मृत्युलाई कसरी सहज बनाउन सकिन्छ ?

उत्तरमा, ऋषि वेद्ब्यासले आफ्ना छोरा शुकदेवका माध्यमबाट १८ हजार श्लोक र ३३५ अध्याय भएको श्रीमद्भागवत महापुराण सातदिन भित्र मरण निश्चित भएका राजा परीक्षितलाई सुनाए | अन्त्यमा, परीक्षित सजिलोसंग मरे | यो मृत्युपूर्व-परामर्श थियो | शुकदेवको परामर्शले राजाको मरण सजिलो र सहज भनेको थियो | मृत्युलाई टार्न सकिन्न तर उचित परामर्शद्वारा सरल र सहज अवश्य बनाउन सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो |

मान्छे किन मर्छ ? यो प्रश्नका धेरै उत्तर हुनसक्छन् तर मान्छे मर्छ भन्ने तत्थ्यलाई यसले निराकरण गर्दैन | मान्छे मात्र होइन सम्पूर्ण ब्रह्माण्डको आयु निश्चित छ | हरेक दिन मान्छे मरेको खवरले मान्छे चिन्तित हुँदैन - यही विशेषताले संसार चलेको छ र चलिनै रहन्छ | तर एउटा कुरा पक्का हो - मान्छेले मृत्यु रुचाउन्नन् | हो, कसैले पनि आफ्नो मरण अर्थात् अस्तित्वको अवसान चाहन्नन् | नचाहँदा- नचाहदै पनि मर्नु पर्दा पीडा हुन्छ नै | तर वैदिक-साहित्यमा मृत्युलाई सहज बनाउने अनेकौं उपायहरू वर्णित छन् | ती उपायहरूमा "मृत्युपूर्व-परामर्श" एउटा पर्छ |

मान्छे किन मर्छ ? वैदिक साहित्यले यसको अत्यन्त सरल उत्तर दिएको छ - किनभने उसले प्राप्त गरेको आयु अर्थात् जीवनका दिनहरू समाप्त भएका छन् | सामान्यतया हरेक मान्छेको आयु १०० वर्षको हुन्छ | तर उसको वर्तमान कर्म, प्रारब्ध कर्म र संचित कर्मका आधारमा बाच्ने दिनहरू निर्धारित हुन्छन् | यस बाहेक तपस्वीहरूले आफ्नो लागि "इच्छाएको बेलाको मरण" पनि रोज्न सक्छन् | श्रीमद्भागवतमा एस्ता पात्र भीष्म पितामह भएको वर्णन पाइन्छ | पुराणहरूमा इच्छा मृत्यु रोज्नेहरूको सङ्ख्या थुप्रै छ | ध्रुवले त मृत्यु उपर विजय नै प्राप्त गरेका थिए भन्ने उल्लेख छ |

असलमा विश्वका अधिकांश सभ्यताहरूले व्यक्तिको मृत्युपछि धेरैप्रकारका कर्मकाण्डहरू सम्पादन गर्छन् | तर मरणासन्न अवस्थामा रहेका व्यक्तिहरूका लागि मरण सहज पार्ने विषयमा कुनै योजना देखिन्न | सनातन वैदिक साहित्यमा भने सुखद: मरणका लागि थुप्रै क्रियाकलापहरू वर्णित छन् | तर यी प्रावधानहरू मध्ये सबैभन्दा उपयुक्त पद्यति परामर्श नै भएको कुरा स्पष्ट बुझ्न सकिन्छ | यी मध्ये जीवन जगतका प्रश्नहरूको जवाफ "कथा-कथन"बाट प्रदान गरिनु सबैभन्दा प्रचलित विधि रहेको छ | 

मृत्योर्मा अमृतं गमय: अर्थात् हाम्रो गन्तब्य मृत्यु होइन अमृत हो - भनेर ऋग्वेदले सर्वप्रथम मृत्युको अस्तित्वलाई सहजरूपमा स्वीकार गरेको छ | यहाँ अमृतको अर्थ आत्माको अमरता र पुनर्जन्म हो | यही तत्थ्यलाई स्पस्ट पार्दै गीताको दोश्रो अध्यायमा आत्मालाई अजरअमर, अभेद्य, अदह्य भनेर सम्वोधन गरिएको छ | जव आत्मा मर्दैमर्दैन भने शरीरको क्षतिसंग किन डराउनु पर्यो ? गीताको सारतत्व पनि यही हो | तर यो केवल कर्तब्यमय जीवनको सन्दर्भमा मात्र हो | यदि कुनै व्यक्ति वानप्रस्थ वा सन्यासआश्रमको उमेरमा छ भने शरीरप्रतिको अनुराग स्वत: न्यून हुनुपर्छ | जसबाट मरणलाई सरल पार्ने अभ्यास आरम्भ हुन्छ | 

मान्छे जन्मिएकै मर्नका लागि हो | रोग, शोक, भोक, बुढ्यौली यसका बाध्यता हुन् | तर अतिभौतिकवादी चिन्तनको विकास संगै मरण जटिल बनेको छ | दीर्घ रोगी, अतिबूढो उमेरमा पनि मान्छे जिउन चाहन्छन् | एस्तो अवस्थामा बरू मरणलाई सहज बनाएर उनीहरूलाई सघाउनु राम्रो हुन्छ | अहिले खुसी पूर्वक मर्न चाहनेहरूको संख्या बढ्दो छ | लेखकको युरोप भ्रमणको बखत न्यादरल्याण्डमा भेटिनु भएको नेपाली मूलको डाक्टर सपनाजीले पनि यो तत्थ्य पुष्ट गर्नुभएको थियो | 

उहा बृद्धवृद्धा सम्बन्धि चिकित्सक हुन्हुहुन्छ | दीर्घरोगी र लामो उमेर भएका मान्छे मर्न चाहन्छन् तर मृत्युकालीन पीडा सम्झेर उनीहरू दुखद: मरणबाट मुक्ति चाहन्छन् | एस्तो दुखद: मृत्युको विश्वास उनीहरूको संस्कृतिसंग जोडिएको छ | प्रलयकालसम्म एउटा काठको चिहानमा हलचल नगरी कोचिएर बस्नु पर्ने पीडाबाट उनीहरू जोगिन चाहन्छन् | अनन्तकालीन नर्क, अनन्तकालीन स्वर्ग र त्यसको वीचमा रहेको अज्ञातसमयसम्म चिहानमा वास गर्नु पर्ने विश्वासको पीडाले उनीहरूको मृत्यु अत्यन्त दुखदायी हुने नै भयो | उनीहरू रमाइलो मृत्यु चाहन्छन् |

वैदिक जीवन दर्शनमा आसन्न मृत्तकका लागि "मृत्युपूर्व परामर्श"को प्रावधान गरिएको छ | श्रीमद्भागवत नामक महापुराणको रचना नै मान्छेको मरणलाई सरल, सहज र रमाइलो बनाउनका लागि भएको हो | अर्को भाषामा, श्रीमद्भागवत "Pre-death Counseling" हो जसले हरेक death victim लाई मर्न सजिलो पार्छ र उनीहरू खुसी पूर्वक मर्छन् |

प्राणीको सबैभन्दा ठूलो शत्रु मृत्यु नै हो | तर एस्तो मृत्युलाई पनि सरल र सहज बनाउने "काउन्सेलिंग' वा 'थेरापी'को व्यवस्था त हाम्रै जरोकिलोमा रहेछ | आज पनि हाम्रो समाजले मृत्युत्तर श्रीमद्भागवतको पाठ, वाचनआदिका माध्यमबाट ज्ञानलाई जीवित राखेको छ |

भौतिकतावादी चिन्तन बलियो हुँदैजाँदा मान्छे रोग, बुढ्यौली तथा मृत्युसंग धेरै डराउन थालेका छन् | अनेक उपाय गरेर सुख सृजना गर्छन् तर मृत्युको तगारोले सबै थोक एकै मिनटमा बिरानो बनाइदिन्छ | मृत्युबाट सबैभन्दा बढी डराउनेहरू "हुनेखाने" नै हुन्छन् | र सबैलाई थाहा छ, हुनेखानेहरू नेपालमा होइन पश्चिमा जगतमा बढी छन् |

पश्चिमाहरू मृत्युलाई जित्न आतुर छन् तर एकरत्ति प्रगति भएको छैन | हामी नेपालीहरूको संस्कारमा मृत्युलाई जित्नु पर्ने आवश्यकता नै छैन | किनभने हामी आत्माको अमरता र पुनर्जन्ममा विश्वास गर्छौं | अमरता विश्वास गर्नेहरूका लागि मर्नु भनेको पुरानो लुगा फालेर नया लुगा खोज्नु हो | जसले यो कुरा राम्ररी मनन गर्छ, उसको लागि मृत्यु एउटा साधारण घटना मात्र हुन्छ | भौतिकवादीहरू सधैं एकै लुगामा बाँच्न चाहन्छन् | फलत: उनीहरू मृत्युदेखि जोगिन चाहन्छन् |

प्रकृतिले हरेक मान्छेलाई फगत एउटा शरीर दिएको छ | एस्तो शरीरलाई शास्त्रले "देवमन्दिर" भनेर सम्बोधन गरेका छन् | शरीर रहेमात्र देवकार्यहरू सम्भव हुन्छन् | ७५ वर्षको उमेरमा प्रवेश गरेपछि शरीरप्रतिको दायित्व सकिन्छ | शास्त्रहरूले यस्तो अवस्थालाई "सन्यास" भनेका छन् | दायित्वहरू पूर्ण भएको शरीरको सुरक्षा गर्न अतिप्रयत्न गर्नुभन्दा समय र शरीरको उपयोग गर्दै मोक्ष-साधना गर्नु उचित देखिन्छ |

बालक नाचिकेतालाई उनका वाबुले मृत्युलाई दिएको प्रसंग उपनिषदमा छ | अचम्मको कुरा त के भने नाचिकेता मृत्युसंग कत्तिपनि पनि डराएनन् | बरू सहज र सरलरूपमा मृत्युसंग शास्त्रार्थ गरे | प्रसंग मिथक होला तर नाचिकेता आफ्नो मृत्युसंग कत्ति पनि नडराएको प्रसंग साँचो हो | बालक नाचिकेताले पनि मृत्यु अवसान होइन घटना हो भनेर बुझिसकेका रहेछन् | मृत्यु अन्त्य हो भनेर विश्वास गर्नेहरू शरीरसंग मोहित हुन्छन् तर मृत्युलाई घटना हो भनेर बुझ्नेहरू मरणलाई सरल रेखा ठान्छन् | 

दधिचीले मृत्युलाई सहजमा लिए | बृत्रासुरलाई मृत्युले कत्ति पनि डराउँन सकेन | भागवतमा मृत्युसंग डराउनेहरूको मृत्यु डरलाग्दो छ जस्तै कंस | तर मृत्युलाई सरलरेखा ठान्नेहरूका लागि मृत्यु सहज रहेको छ जस्तै बृत्रासुर, दधिचीआदि | मृत्युसंग डराउनेहरू सबैथोक भएर पनि दुखी हुन्छन् र नडराउनेहरू केही नभएर पनि सुखी नै हुन्छन् | 

मरणलाई सरल बनाउन नेपाली लोकजीवनमा केही प्रचलन अहिले पनि जीवित छन् | यी प्रचलनहरू "Pre-death Therapy"रूपमा स्थापित हुन सक्छन् | सुन्दा अचम्मलाग्छ तर दशदान, बैतरणी, शैय्यादान, तुलसीपानीआदि सबै क्रियाकलापहरू मार्न लागेको मान्छेको मरणलाई सजिलो बनाउन प्रचलित क्रियाकलापहरू अहिले पनि विद्यमान छन् | कुनै मान्छे दशदानपछि सहजरूपमा मरेको देखिन्छ भने केही वैतरणी वा तुलसीपानी मुखमा परेपछि | 

मैले भने थेरापीका रूपमा प्रयोग हुने परम्परागत विधिहरू पनि व्यक्तिको स्वास्थ्यको प्रकृति अनुसार आफ्नो मृत्युलाई सहज बनाउने उदेश्यके व्यक्ति आफैले वा आफन्तहरूले सम्पन्न गर्छन् | उदाहरणका लागि चौरासी वर्षको उमेर पार गरिसकेपछि दशदान तथा बैतरणी गरेर आफ्नो सहज मृत्युको बाटो आफैले रोज्न सकिन्छ भने वैतरणी, शैय्यादान, दशदान तथा तुलसी मठ , तुलसीदल जलको प्रक्रिया आफन्तले पूर्ण गर्न मिल्छ |

मैले धेरै एस्ता व्यक्तिहरू चिनेको छु र वातचित गरेको छु जसले शास्त्रीय विधानअनुसार आफ्नो दशदान तथा वैतरणी गराएर सुखद मृत्युको लागि बाटो तयार गर्नुभएको छ | तेस्तै मैले तेस्ता धेरै व्यक्तिहरूको विषयमा सुनेको छु जसको लागि दशदान, वैतरणी गरेपछि सहजरूपमा मृत्यु भएको कुरा आफन्तहरू भन्छन् | साथै मैले धेरै यस्ता व्यक्तिहरूका विषयमा पनि सुनेको छु जसले आध्यात्मिक कथाहरू सुन्दै बडो सहजपूर्वक आफ्नो प्राण त्याग गरेका थिए | मैले मात्र होइन, यो आलेख पढ्ने अनेकौं व्यक्तिहरूसंग पनि यस्ता थुप्रै अनुभूतिहरू जोडिएका छन् नै |

मैले भेटेका र सुनेका धेरै व्यक्तिहरूमा दशदान, वैतरणी, कथाश्रवण गराएपछि तुरुन्त प्राण त्याग गरेको अथवा दीर्घकालीन रोगहरूबाट पिडित भएर मर्न नसकिरहेको अवस्थामा यी कर्मले मरण-सहज भएको भन्ने बुझिएको छ | असलमा यी सबै विधिहरू हजारौंहजार वर्षबाट मृत्युलाई पीडारहित बनाउने उपाय स्वरूप विकसित हुँदै आएका हुन् | यी विधिहरूमा एउटा उदेश्य अत्यन्त महत्वपूर्ण हुन्छ त्यो हो - मरणासन्न व्यक्तिको चित्तलाई भौतिकविषयहरूबाट निराशाक्त पार्ने | जव सम्म कुनै व्यक्तिको मन वा चित्त फलानो विषयमा पूर्ण आशक्त हुन्छ तवसम्म मृत्यु सुखद हुँदैन भन्ने वैदिक मान्यता छ | आजमा देखिएको, सुनिएको र बुझिएको अनुभव पनि यो भन्दा कत्ति फरक छैन | 

यी विधिहरूलाई हामीले "Therapy"का रूपमा सहजैरुपमा विकसित गर्न सक्छौं | यी विधिहरूलाई Vedic Pre-death Therapy" वा "Vedic Pre-death counseling"मा विकास गरेर विश्वभरीका दीर्घरोगीहरूको मरणलाई सरल बनाउन सकिन्छ | हाल पश्चिमाहरुले प्रयोग गर्ने गरेको "आध्यात्मिक परामर्श" एस्तो अवस्थामा केही प्रभावकारी देखिए तापनि पर्याप्त कत्तिपनि छैन |

शरीरलाई स्वास्थ्य राख्न पश्चिमाहरूले औषधि विज्ञानमा गरेको प्रगतिले सबै लाभान्वित भएका छौँ | तर एसले एउटा विकृति पनि निम्त्याएको छ : अतिधेरै शरीरप्रतिको मोह | शरीरलाई नै अजर-अमर बनाउने मोहले उनीहरू अराजक बनेका छन् | मान्छे जतिधेरै मृत्युसंग डराउँछ त्यति नै धेरै उसको शरीरप्रतिको मोह बढ्दैजान्छ | अनि, विश्वभरीको शक्ति संचय गरेर भए पनि शरीरलाई सधैं राख्न चाहन्छ | यही भौतिकवादीहरूको पीडा हो | 

वेद, उपनिषद, पुराणहरू एकस्वरमा भन्छन् "शरीर हरिको मन्दिर हो | यसको देखभाल गर | तर जीवनको तेस्रो आश्रम अर्थात् वानप्रस्थ र सन्यास आश्रममा शरीरको लागि जीउने सन्दर्भ परिवर्तन गर | ५० वर्षकाटेपछि शरीरको लागि होइन, परमार्थका लागि जिउने प्रयत्न गर | जीवनको चाहना राख्नेहरूको लागि पुनर्जन्मको बाटो खुला नै छ | किन बर्तमान शरीरप्रति बढी मोहित हुनुपर्यो ?

कुरो ठीकै हो - हामीले चाहना राख्दैमा जन्म, मृत्यु, बुढ्यौली तथा रोगहरूबाट जोगिन सकिन्न | बरू, यी सबैलाई सहजतापूर्वक स्वागत गर्ने व्यक्तिहरू बढी बुद्धिमान् हुन्छन् | यस्ता बुझक्कडहरूको लागि मरण सरल र सहज हुन्छ | ज्ञानमर्दछ हाँसेर रोई विज्ञान मर्दछ - भौतिकवादमा विश्वास राख्ने बालकृष्ण समले समेत ज्ञानले मृत्यु सहज हुने कुरा प्रल्हादमा लेखेकै छन् | 

असलमा, मरणलाई नै सहज बनाउने एकमात्र "परामर्श-पद्यतिको" उद्द्गम थलो नेपाल हो र तेसका प्रवर्तक दमौलीका ब्यास हुन् भने प्रथम परामर्शदाता उनकै छोरा ऋषि शुकदेव हुन् कि ?

क्रमशः 

मृत्युपूर्व परामर्श - २

वैदिकदर्शनमा  मृत्युपूर्व परामर्श - २

मान्छे मर्छ नै र एस्तो मृत्यु जन्मेको वखत नै निश्चित भैसकेको हुन्छ | रमाइलो भनौं अथवा दुख:द लगभग शतप्रतिशत मान्छेलाई आफ्नो मृत्युको पूर्वआभास हुँदैन | हरेक मान्छे आफ्नो मृत्युको समयका विषयमा अन्जान हुन्छ | आफ्नो मृत्युको ठीक-ठीक भविष्यवाणी गर्नेहरू निकै थोरै हुन्छन् | तर वैदिक-साहित्यले मरण निकट आएका व्यक्तिहरूले स्वयम् अनुभव गर्न सक्ने चिन्हहरूका विषयमा चर्चा गरेका छन् |

श्रीमद्भागवतको पहिलो स्कन्धमा राजा युधिष्ठिर र दशौँ स्कन्धमा राजा कंशले मृत्युका पूर्वचिन्हहरू अनुभव गरेको वर्णन छ भने गरुङपुराण, अग्नि पुराण, ब्रह्मवैवर्त पुराणमा पनि एस्तै चिन्हहरूका विषयमा वर्णन गरिएको छ | कुनै पनि मनोबैज्ञानिक वा अनुसन्धाताले शास्त्रमा वर्णित यी चिन्हहरूलाई अनुसन्धानको विषयका रूपमा समेटेर प्रमाणितकरण गर्ने प्रयत्न गरेको सुनिएको छैन | 

ती चिन्हहरूलाई आधुनिक शैलीमा प्रश्नवली बनाएर वा अन्य स्केलमा उतारेर चिकित्सकहरूले "घर" लैजाने सल्लाह दिएका रोगीहरूसंग वा एस्तो प्रश्नको स्वेच्छाले जवाफ दिनेहरूसंग प्रामाणिकरण गर्न सकिने सम्भावना खुला छ | तर एस्तो कार्य मानवीय दृष्टिले कति-स्वीकार्य अथवा अस्वीकार्य होला ? सोचविचार त गर्नैपर्छ | विज्ञानमा अन्ध श्रद्धा गर्छु पनि भन्ने र वैदिक साहित्यमा उपलब्ध मरणपूर्वका चिन्हहरूलाई "प्रामाणिकरण" गर्नेतिर उत्सुकता नदेखाउनु अर्को जडवाद नै हो | 

विज्ञानको निर्ममताले चिन्हहरूको पुनरीक्षणको मांग गर्छ | मैले यो प्रसंगलाई पुन: आफ्नो पूर्वअध्यायसंग जोड्न खोजें | निश्चय नै मृत्यु रहर लाग्दो विषय होइन | तर मृत्युसंग हाम्रो शक्ति पुग्दैन | देहात्मवादीहरू जुन सुकै मूल्यमा शरीरको सुरक्षा चाहन्छन् भने मृत्युलाई सहजरुपमा स्वीकार्नेहरू आफ्नै मृत्युलाई चिन्ने प्रयत्न गर्छन् र स्वाभाविक रूपमा आफ्नो अवसानको स्वगत गर्छन् | एस्तो मृत्युप्रसंग आत्माहत्याको पूर्वयोजना हुँदै होइन न त यो मृत्युसंग हारेको निराशा नै हो | असलमा, जव अवसान नै सत्य हो भने तेस्तो अवसानलाई अवसादमा होइन, स्वाभाविकरूपमा स्वीकार गर्ने प्रयत्न हो |

ईशावास्योपनिषद्ले आसन्न मृत्युलाई कसरी सहज बनाउने भन्ने छोटो चर्चा गरेको छ | दीर्घतमा ऋषि भन्छन् " हे जीव, तिमीले आफ्नो कर्म स्मरण गर | आखिर यो शरीर हावा, पानी र माटोले बनेको हो | मरेपछि शरीर जे-बाट बनेको छ तेसैमा मिसिने छ | ती बस्तुहरू पनि नित्य नै छन् | यो शरीर अन्त्यमा खरानी नै हुने छ भन्ने बुझ्नुपर्छ (ईशावास्योपनिषद् -१५) | सत्य त यही हो | जसले एस्तो सत्यलाई विचार र तथा मननपूर्वक स्वीकार्छन् तिनको मृत्यु सहज हुन्छ | अन्य, रूँदारुँदै वा विलौना गर्दै मर्छन् |

कुनै पनि मान्छेले आफ्नो मरणको चर्चा गर्न चाहन्न | तर वैदिकसाहित्यमा मृत्युको मात्र होइन "मर्ने मान्छेले अनुभव गर्न सक्ने गरी अनुभव गर्न सकिने पूर्वसूचना" समेत प्रस्टरूपमा उल्लेख भएको छ | गरुडपुराण, भागवत सहित अन्य अनेकौं शास्त्रहरूले यस वारे चर्चा गरेका छन् | यी चिन्हहरूका विषयमा अर्को अध्यायमा चर्चा गरौँला | आजका विद्वानहरूले शास्त्रले बताएका चिन्हहरूको अध्ययन/अध्यापन गर्न अग्रसर हुने जोखिम लेलान् जस्तो लाग्दैन तर मृत्युपुर्व प्रकट हुने चिन्हहरूका विषयमा चर्चा गरिनु नै महत्वपूर्ण विषय हो | 

उपरोक्त तत्थ्यहरूले प्राचीन वैदिक समाजमा मृत्युका विषयमा चर्चा-परिचर्चा र परामर्श गरिने रहेछ भन्ने स्पष्ट हुन्छ | वैदिक इतिहासका धेरै पात्रहरूले स्वेच्छिक मृत्यु रोजेका उदाहरणहरू छन् | आफ्नो मृत्युको आफैले स्वागत गरेका उदाहारणहरू पनि छन् | अरूको मृत्युको लागि सहजीकरण गरेका केसहरू पनि प्रसस्त भेटिन्छन् भने वैदिक सनातन धर्मको अभिन्न अंग रहेको चौथो सन्यासआश्रम स्वीकार गर्नेलर त आफ्नै श्राद्ध आफै गरेर आफ्नो शरीरको अस्तित्व नष्ट हुने पप्रतिक्षा गर्ने परम्परा नै रहेको छ | यद्यपि आज यो परम्परा रोगग्रस्त छ |

मलाई लाग्छ, मरण डर अथवा त्रासको विषय होइन | जीवनको एउटा अनिवार्य घटना हो जसले शरीरलाई समाप्त पार्छ | हामी जतिधेरै उपभोक्तावादी हुन्छौं त्यतिनै मृत्युको डर बलियो हुन्छ | शरीर बूढो हुँदै गएपछि अत्यावश्यक वाहेक संसारलाई भोग्ने मानसिकतालाई क्रमशः: घटाउनुपर्छ | यस्तो अभ्यासले हामी मानसिक रूपमै रोग, बृद्धवस्था तथा अन्यका वृद्धावस्थाजन्य समस्याबाट मुक्ति प्राप्त गर्न सक्छौं | 

अन्त्यमा, जसरी दिन, पक्ष र ऋतुहरू परिवर्तित हुन्छन् र नया दिन, पक्ष र ऋतुहरूको आगमन हुन्छ तेसरी नै हरेक मृत्युले नया अस्तित्वको सृजना गर्छ भन्ने (यथा अहानि अनुपूर्वं भवन्ति यथा ऋतवः ऋतुभिः यन्ति साधु I यथा न पूर्वं अपरः जहाति , एवा धातः आयुन्षि कल्पय एषां II ऋगवेद /१०/१८) भनाई र गीता (२/२२ ) अनुसार हरेक व्यक्ति चोला फेर्न तम्तयार हुन्छ | एस्तो अवस्थामा, मृत्यु कठोर हुँदैन, सुखद हुन्छ |

कपिराइट : गोविन्दशरण 

विकल्प कि निर्विकल्प ?

विकल्प कि निर्विकल्प ?
नेपालको राजनैतिक बाटो कता जाँदैछ ? यो प्रश्नको उत्तर शीर्ष नेतृत्वलाई पनि थाहा छैन | नेपाली जनता अन्यौलमा छन् | उनीहरूले विश्वास गर्न जानेका छन् | विश्वास गरिरहेका छन् र धेरै समयसम्म विश्वास गरिनै रहनेछन् भन्ने सकिन्न | राजनैतिक कार्यक्रता पनि अन्यौलमा छन् तर उनीहरूसंग नेतृत्वको सर्कुलर मान्नुको विकल्प पनि छैन |

धेरै मान्छेले चूरो वा तत्थ्य बुझेका हुँदैनन् | नेतृत्वले कुरो बुझेर पनि व्यक्तिगत वा दलीय स्वार्थका कारण "अन्धो, बहिरो वा निद्रीत"को अभिनय गरिदिन्छ | नेपाली राजनैतिक अवस्था एस्तै छ | देशको नेतृत्व गरिरहेका विद्वानहरूले बुझेका छैनन् वा जान्दैन भन्नु मुर्खता हुन्छ | तर अभिनयमा खप्पिस हुनुहुन्छ भन्ने कुरामा सर्वसाधारणले पनि सहजरूपमा पत्याएकै कुरा हो | नत्र राजनीति र राजनैतिज्ञहरू छलकपटका पर्यायवाचीका रूपमा किन बुझिने अवस्था आउंथ्यो ? 

राजनैतिक नेतृत्वको चाहना नेपालको भलो गर्नु गर्नुनै होला तर जुनबाटो उहाहरूले समात्नु भएको छ, तेसको टुङ्गो सधैं अन्यौल मै हुन्छ | सडक बनेको एक महिनापछि पानी वा ढल विभागले सडक खनेर पुन: कमिसनका लागि बाटो खोलिदिएझैं राजनैतिक संस्कारमा इमानदारीता खोज्नु असम्भव मानिन्छ | आज राजननीति गर्नु भनेको ठग, छलकपट तथा भष्टाचारको पर्यायवाची बनेको तत्थ्य सबैले बुझेकै कुरा हो |

कार्लमार्क्स वितेको दुई शताब्दि वित्नै लागे पनि नेपालका मार्क्सभक्तहरू तिनकै सिद्धान्तको कर्मकाण्डमा रुल्मुलिएको देखिन्छ भने समाजवादीका रूपमा आफुलाई उभ्याउन खोज्ने बामइतर राजनैतिक चिन्तन पनि हब्स, रुसो, वासिंगटन वा अब्राहम लिंकनमा अडिएको छ | यी दुवैमा एउटा समानता छ : पश्चिमा वैचारिक उपनिवेशवाद | राजनीति, शिक्षा, संस्कृति, विकास, मानवाधिकार, संस्कार तथा रहन-सहन समेत पश्चिमा पद्यतिको नै महान हुन्छ भन्ने विषयमा यी सबैमा कुनै विवाद देखिन्न | पुंजीवाद र साम्यवाद वीचको विरोधाभाष पनि दूबै आयातित नै भएकोले रहिरहने छ | 

हामी नेपाली हौँ र हाम्रो धरातलीय र ऐतिहासिक यथार्थ पनि नेपाल नै हो | हाम्रा इतिहास र संस्कृतिका सबै थोक ठीकठाक नहोलान् र अहिलेको समयमा उपयुक्त पनि नहोलान् तर विश्वको सबैभन्दा प्राचीन र जीवन्त सभ्यताका रूपमा उभिएका हिन्दू, बौद्ध, जैन, किरात, बोनआदिका ग्राह्यविषयहरूलाई हेय ठान्ने वा निषेध गर्नेहरूप्रति नेपाली जनता सहमत हुनैसक्दैनन् | एस्तो जागरुकता क्रमश: जनतामा फैलिँदो छ | सर्वसाधारण र तल्लो नेतृत्व खाइपाइ आएको सुविधा खोसिएला भनेर पर्खेको स्थिति छ | 

आफ्नो इतिहास, संस्कृति तथा मौलिकताको निन्दा गर्दै आरम्भ हुने विश्व कै अद्वितीय वर्तमान नेपाली संविधानका जन्मदाताका रूपमा जस-अपजस पाएको वर्तमान राजनैतिक शक्तिको शक्तिक्षय चाहिं तेसैबेला आरम्भ भएकै हो | यी सबैले अव विकसित हुने राजनैनीतिक शक्ति बैकल्पिक होइन निर्विकल्प हुनुपर्छ भन्ने मांग गर्छ | यसको अर्थ हो - निर्विकल्प राजनैतिक धाराको सृजना हुनुपर्छ | एस्तो निर्विकल्प राजनैतिक चिन्तनको निर्माणका लागि हामीले बाटो खोलिदिएका छौँ |

यहाँ बुझ्नु पर्ने विषय के हो भने कार्लमार्क्स वा अन्य पश्चिमेली विद्वानहरू प्रति उहाको योगदानका लागि हाम्रो श्रद्धा हुनुपर्छ | उहाहरूले सिद्धान्त सिर्जना गरेर विश्वलाई गुण लगाउनु भएको छ | तर नेपाल र नेपालीका लागि ती सिधान्तहरू पुराना मात्र होइन पराई पनि हुन् | जुन विश्व र समयमा कलम समातेर कार्लमार्क्सले पूँजी लेख्दै थिए र अवाहम लिंकनले प्रजातन्त्र लेखेका थिए ती सबै भूगोल र समय आजका होइनन् | अव उनीहरूका विचारहरू राजनीतिको इतिहासमा मात्र पढाउने योग्य भएका छन् वा विकल्पका रूपमा मात्र रहेका छन् | 

यदि हामी नेपालीले आफ्नो भूगोल, इतिहास तथा सांस्कृतिक विरासतबाट आफ्नै जरोकिलो र मौलिकतामा उभिएर "राजनैतिक घर" निर्माण गर्ने प्रयत्न गरिरहेका छौँ भने यही नै वदलिएको निर्विकल्पताको आवाज हो | हामीले विश्वलाई स्पस्ट संदेश दिने प्रयत्न गरेका छौँ कि आइन्दा विश्वलाई हेर्ने र बुझ्ने र सहकार्य गर्ने दृष्टिकोण हाम्रो आफ्नै हुनेछ | "हामी सक्षम छैनौं" भन्ने मनोविज्ञानको अन्त्य हुँदैछ | बहस राष्ट्रराज्यको मात्र होइन राज्यराष्ट्रको पनि हुनुपर्छ भनेर हामी चुनौती खडा गर्दै छौं | 

पश्चिमा पद्यतिको शिक्षामा निर्मित भएको हाम्रो बौद्धिक महलमा उपरोक्त कुराहरू बाहियात लाग्न सक्छन् तर बदलिँदो विश्व परिवेशले हामी नेपालीहरूलाई पनि आफ्नो जरोकिलोतिर फर्कन र तेसका आधारमा स्वत्वको खोजि गर्न प्रेरित गरेको छ | कसैले राम्रो वा नराम्रो भन्दैमा हामी आफ्नो यात्राबाट विमुख हुन सक्दैनौं | कुरा व्यक्ति विशेषको होइन, विकल्पको खोजीको होइन | कुरो निर्विकल्प कै हो |

आफ्नो मौलिकता, स्थानीयताको जरोकिलोमा उभिएर विश्वलाई ग्रहण गर्ने र विश्वलाई मार्गनिर्देशन गर्ने शक्ति चाहिएको छ | एस्तो शक्ति हाल नेपालमा क्रियाशील राजनैतिक चिन्तनबाट उपलब्ध हुँदैन | परिवर्तनका नाममा जडतावादबाट मुक्त नहुने र आफ्नोपनको पहिचानका लागि पनि पराईको लेखाई, बोलाई र गराईलाई विश्वास गर्नेहरूप्रति नेपाली जनतालए विश्वास गर्ने ठाउँ छैन | हामी निर्विकल्प शक्तिको विकासका लागि क्रियाशील छौँ | हामी अन्यौलग्रस्त तथा मक्किएको राजनैतिक शक्तिहरूका लागि निर्विकल्प "जरोकिलो" निर्माण गरिरहेका छौँ |

निर्विकल्प राजनैतिक शक्ति कस्तो हुने छ र को हुने छ ? भनेर बुझ्न चाहनुहुन्छ भने आगामी लेखहरूको प्रतिक्षा गर्नुहोस् |

कपिराइट : गोविन्दशरण 

गुरुद्वारा नानक उदासीनआश्रमबाट

गुरुद्वारा नानक उदासीनआश्रमबाट 
१.परिचय 
काठमाडौंको स्वयम्भूबाट करिव ३ किलोमिटर उत्तर तर्फ बालाजु चक्रपथ भित्र करिव ३०० मिटरमा रहेको नया-वजार र तेहीं हुँदै बग्ने श्रीबिष्णुमती गंगा करिव ४०० वर्ष देखि उदासीन आश्रम अर्थात् नानक मठकी साक्षी छन् | श्रीविष्णुमतिको किनारामा रहेको यो आश्रम हिन्दू शिख धर्मसंस्कृति तथा धार्मिक समन्वयको अदभूत मिसाल रहेको देखिन्छ | यस मठले नेपाल मण्डलको प्राचीन सहिष्णुता तथा सनातन संस्कृतिमा रहेको सर्वस्वीकार्यताको अनुशरण गरेको छ | पुनश्च, यसले मिलेर पूजाआजा गर्ने नेपाली संस्कारको प्रतिनिधित्व गर्छ | हिन्दू र शिखको यो संयुक्त आराधना स्थलका रूपमा यसले विश्वलाई सहृदयताको मिसाल प्रदान गर्छ |

काठमाडौँको मुटुमा रहेर पनि नितान्त गाउँको झल्को दिने यो धार्मिकस्थल गंगवु-नयाबजारमा रहेको विष्णुमति पुलसंगै रहेको उत्तरति उभिएर हेर्दा देख्न सकिन्छ | पुरानो शैलीको प्रवेशद्वार र आधुनिक शैलीका सिंडीहरू (७० बटा भर्याङ) चढेपछि नितान्त प्राचीनतम गाउँले परिवेशको झझल्को दिने यो मठमा पुग्न सकिन्छ | 

मैले र महेशजीले मठमा प्रवेश गर्दा साथ बाबा कृष्णदासको आश्रममा अखण्ड रामायण पाठ गरिरहेका भक्तहरूसंग जम्काभेट हुन्छ | यो भवन नया शैलीको छ | नानक मठ उदासीन आश्रमका महन्तले कृष्णदास वावालाई आफ्नो ऊत्तारधिकारीका रूपमा सो मठ भविष्यमा संचालन गर्न दिने ब्यबस्था गर्नुभएको रहेछ |

मठमा दैनिक सत्संग हुन्छ | स्थानीय र बाहिरका भक्तजनहरू आश्रममा आएर दैनिक पूजाआजामा सरिक हुन्छन् | गुरुग्रंथ साहेवसहित श्री शालीग्राम, हनुमान, सीताराम, महादेवआदिको आराधना हुन्छ | खासगरी ब्रह्महरि दासजीले जीवित समाधि लिएको ठाउँमा पुग्दा निकै आनन्दको अनुभूति हुन्छ | काठमाडौंको कोलाहलपूर्ण परिवेश र कंक्रिटहरूको जमातभित्र एस्तो रमणीय र प्राकृतिक स्थल छ भन्ने कुरा पत्याउन गारो हुन्छ | मठभित्र काठमाडौँको कोलाहल तिरोहित हुन्छ |

२. वर्तमान महन्तको जीवन गाथा 
काठमाडौँ कै साँखुको एउटा ब्राह्मण परिवारमा वि.स. १९९० तिर जन्मनु भएका अवालब्रह्मचारी श्रीनेम मुनि उदासीन यस आश्रमका हालका महन्त हुनुहुन्छ | उहाँ यहाँ सात वर्षको कलिलो उमेरमा यहा आउनु भएको थियो र उहाका गुरूले उहा ३२ वर्षको हुँदा आफ्नो उत्तराधिकार दिनु भएको थियो | तव देखि मुनिजी यहीं हुनुहुन्छ | नेपाल गुठी-संस्थानले मान्यता दिएका महन्त पनि उहा नै हुनुहुन्छ | म त्यहाँ पुग्दा महन्त उदासीजी गाईको दूध दुहेर ल्याउदै हुनुहुन्थ्यो | ८४ वर्षको उमेरमा पनि उहाको स्वास्थ्य देखेर सबै चकित हुन्छन् |

हाल यो आश्रमसंग करिव २२ रोपनी जग्गा रहेको छ भने राजा जयन्त मल्ल पालामा विभिन्न दाताहरूले एस उदासीन आश्रमको संचालन गर्न करिव १३०० रोपनी जग्गा गुठीका रूपमा दान दिएका थिए | हाल यो सबैजसो जग्गा व्यक्तिहरूले आफ्नो नाममा पास गरिसकेका छन् | देवस्व बेचेर खानेहरूको जमातमा ब्यापारी, राजनीतिज्ञ तथा सर्वसाधारण समेत घुसेका छन् | देवश्व मास्नु संस्कार बन्न थालेको छ | सरकारले नै प्रायोजित रूपमा देवश्व लुट्न छूट दिएको छ |

३. नेपाली सन्तले स्थापना गरेको आश्रम
नेपाली सन्तहरू श्रीब्रह्महरी दास, उहाका शिष्य गोथल दास र पुन: उहाका पनि शिष्य यतिराम दास हुँदै हालका महन्त नेम मुनि ३१ औं पुस्ताको उत्तराधिकारी हुनुहुन्छ | हाल यो आश्रम स्थापित भएको ४१० वर्ष वितिसकेको छ | भनिन्छ, आश्रमका संस्थापक श्रीब्रह्मदासजीले सशरीर यहीं समाधि स्वीकार्नु भएको थियो | उहाको समाधि मन्दिर आश्रमको पछिल्लो भागमा रहेको छ र त्यहा पुग्दा मन शान्त हुन्छ |

४. नानकको कैलाश यात्रा 
महन्त उदासीकाअनुसार यो आश्रममा शिखधर्मका संस्थापक नानक देव कैलाश नाथको यात्राका क्रममा सन् १५७३ तिर यहाँ आउनु भएको थियो | जनश्रुतिका अनुसार नानक देवले यो ठाउँमा आएर केही दिन साधना गर्नुभएको थियो र केही स्थानीयलाई आफ्नो शिष्य बनाएका थिए | तत्कालीन मल्लराजा जयन्तले गुरू नानक देवको दर्शन गरेर केही जग्गा दान दिएको भन्ने प्रमाण आज पनि सुरक्षित छ |

नानक फर्केपछि उनका कच्छा छोरा श्रीचन्द्र तेसै ठाउँमा आएको भन्ने सुनिन्छ | असलमा श्रीचन्द्रले आफ्ना पितासंग असहमति राख्दै आचार्य शंकरको परम्परामा दीक्षित भई उदासीन मठ स्थापित गरेका थिए | ब्रह्महरि दास, गोथल दास तथा यतिराम यी सबै उदासीन सम्प्रदायका हुन् भने हालका महन्त पनि उदासीन सम्प्रदाय कै अनुयायी रहेको उनी आफैले बोलेका छन् | बाबा ब्रह्महरी दासले बाबा नानकको सम्मान गर्दै आश्रमलाई “नानक-मठ” पनि नाम दिएको थिए कि भन्ने कुरा पनि तेहा सुनियो |

५. धेरै पटक आश्रम बेच्ने प्रयत्न भयो 
वर्तमान महन्तका अनुसार गिरिजाप्रसाद प्रसाद कोइराल प्रधानमन्त्री भएको बखतमा भारतीय शिखहरूको प्रभावमा परेर यो उदासीन आश्रम कुपण्डोलको गुरुद्वाराको नाममा पास गरिदिएका थिए | तर पछि महन्तजीको प्रयासले राजा वीरेन्द्र आफैले हस्तक्षेप गरेपछि रोकिएको थियो | तेस बाहेक गुठी संस्थान र जग्गाका दलालहरू मिलेर धेरै पटक यो आश्रम बेच्ने प्रयत्न भएको तर महन्तको सजगताले जोगिएको भन्ने कुराको पुष्ठी एकजना आश्रमको दर्शन गर्न आएका स्थानीयले पनि गरे |

वि.स. २०१७ मा, २०५२ सालमा तथा २०६३ सालमा तत्कालीन सरकारहरूले यो उदासीन आश्रम बिक्रि गर्ने प्रयत्न गरे अथवा भारतीय शिखहरूको प्रभावमा परेर आश्रम उनीहरूकै नाममा पास गरिदिने प्रपंच भयो तर भगवान पशुपतिको कृपाले अझैंसम्म जोगिएको छ – महन्तजीले भन्नुभयो | 

महन्तजीका अनुसार यस मठमा बाबा नानकको बखतमा राखिएको गुरुग्रन्थ साहेवको विधिवत् आराधना हुँदै आएको छ | यही तत्थ्यलाई देखेर शिख धर्मसंग समबन्धित केही विदेशी धनाढ्यहरूले नेपाल सरकारलाई प्रभावमा यो ठाउँलाई शिखधर्मको धर्मस्थल बनाउन चलखेल गरिरहेका छन् | यसमा भारतीय सरकारका केही मन्त्री, नेपाली शिखहरू र शिखका केही अन्तराष्ट्रिय संघसंस्थाहरू पनि लागि परेको तत्थ्य इन्टरनेटमा भेट्न सकिन्छ |

६. सम्पत्ति र ठाउँ हत्याउने खेल 
वि.स. २०२०-२२ सम्म एस ठाउँक वारेमा कसैको चासो थिएन | तर वि.स. २०४७ सालको परिवर्तनपछि काठमाडौँ उपत्यका औधि बदलियो | बाहिरका मान्छेहरूको वसाई सराइले जग्गाको भाउँ आकासियो | किनारामा रहेका सम्पत्तिहरू शहरको माँझमा परे | कुनै बेला किनारामा रहेको नानकमठ अहिले अमूल्य बनेको छ | यो अमूल्य सम्पत्ति कब्जा गरेर पैसा कमाउने दाउँ हेर्ने धेरै छन् | 

संस्कृतको शिष्य शब्दवाट शिख शब्दको उत्पत्ति भएको हो | शिखधर्ममा गुरुग्रन्थ साहेवको आराधना गरिन्छ भने हरेक शिखले पन्चककार अर्थात् काईयो, कडा, कच्चा,कृपान र केश पालन गर्नुनै पर्ने हुन्छ | तर यो मठका महन्त तथा भक्तहरूले शिखमतको पालना गर्दैनन् | भारतीय शिख र नेपाली शिखहरूले यो आश्रम गुरू नानकले स्थापना गरेको भन्दै महन्तजीलाई विस्थापित गरेर आफ्नो कब्जामा लिने प्रयत्न गरिरहेका छन् | एक पटक त एकजना शिखले महान्तजीको हत्या समेत गर्ने प्रयत्न गरेको भन्ने बुझियो | 

७. हिन्दू र शिखधर्मको एकताको प्रतिक 
यो आश्रममा गुरुग्रंथको आराधना हुँदैआएको ५०० वर्ष व्यतित भएको छ | नानकले यहाँ टेकेको तेत्तिनै भएको छ | तर यो आश्रम केवल शिखहरूको धर्मस्थल होइन भन्ने कुरा यहाँको जीवन पद्यति र आराधना पद्यति तथा आश्रमको संस्कृतिले जनाउ दिन्छ | आश्रमको मध्य चौकमा तुलसीको मठ तथा हनुमानको मूर्ति छ | उत्तरतिर ५०० वर्षदेखि निरन्तर बलिरहेको अखण्ड धूनी छ | ऊत्तरतिर नै एउटा सून्दर बगैचा छ, जहाँ ब्रह्महरि, गोथल र यतिरामबाबाहरूको समाधिस्थल छ | यी सबै कुराहरू शिखधर्मको गुरुद्वारामा हुनैसक्दैनन् |

एसैगरी, गुरुग्रंथ साहवको आराधना हुने तलामा नै २३५ बटा शालीग्रामहरूको नियमित पूजाआजा हुँदैआएको छ | भने दक्षिणतिर श्रीराम, गीतामन्दिरहरू छन् | यी सबै विशेषताहरू केवल उदासीन परम्परामा मात्र देख्न र भोग्न पाइन्छ | शिखधर्ममा यी सबै बर्जित छन् | हरेक दिन हलुवाको भोग लाग्छ भने तीर्थालुहरूका लागि लंगरको पनि ब्यबस्था छ | यद्यपि नेपाल सरकारले गुठीहरूप्रति अङ्गिकार गरेको नीतिले दैनिक पूजाआजा चलाउन गारो छ |

८. सबैको साझा सम्पत्ति 
मलाई लाग्छ, यो नानक मठ अर्थात् उदासीन आश्रम जे-जसले स्थापित गरेको भए पनि हाल यो नेपाल मण्डलको सहअस्तित्वको जीवन्त प्रमाणका रूपमा रहेको छ | तेसमा पनि हिन्दू तथा शिखको एकै आराधनास्थलका रूपमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको जीवन्त प्रमाणका हो | विश्वभरिका हिन्दू तथा शिखधर्मका अनुयायीहरूले एस्तो सामुहिक आराधनास्थलबाट सहअस्तित्व तथा धार्मिक सदभावको शिक्षा ग्रहण गर्न सक्छन् | 

काठमाडौँ उपत्यकामा उदासीन सम्प्रदायका चारबटा आराधना स्थल छन् जहाँ गुरुग्रन्थ साहेवको आराधना संगै सनातन धर्मको पालना हुन्छ | श्रीपशुपतिनाथको उदासीन मठ, थापाथलीको उदासीन मठ, ज्ञानेस्वर तथा शोभा भगवतीमा उदासीन आश्रम रहेका छन् | स्मरण रहोस्, उदासीन सम्प्रदायको स्थापना गुरू नानकका जेठा छोरा श्रीचन्द्रले गरेका हुन् | अन्य आश्रमहरूका पक्षमा केही नबोल्ने तर नया-बजारको आश्रममा आँखा गाड्नुको कारण सो मठको स्वामित्वमा रहेको जग्गा र काठमाडौँको मूटूमा रहनु हो |

यस सन्दर्भमा, शिख धर्म मान्ने दुवईका उद्योगपति एस.पी.एस. ओबराइले तत्कालीन नेपालका प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेर त्यो ठाउँ शिखहरूलाई हस्तान्तरण गर्न दवाव दिएका थिए भने तत्कालीन भारतका केन्द्रीयमन्त्री समेत रहेका पितम कौरले समेत इच्छा देखाएको भन्दै यो ठाउँ हत्याउने प्रयत्न गरेको १९ नोभेम्वर २०१२ को टाइम्स अफ इन्डियाले लेखेको छ | यो समाचारले मठले चर्चेको सम्पत्तिमा भारतीय उद्योगपतिहरूको आँखा गडेको स्पष्ट हुन्छ | 

९. सबैको साझा गुरुद्वारा-उदासी मठ 
धन तथा राजनैतिक शक्तिको वलमा परापूर्वकालदेखि नै सहअस्तित्वमा रेहेको एस्तो पवित्र आराधनस्थललाई केवल शिखहरूको आराधना स्थल हो भनेर एकल बनाउने प्रयत्न गर्नु धार्मिक सदभाव विरुद्ध हो | एस्तो दुष्टकार्यको घोर निन्दा गरिनुपर्छ र एकल धर्मको धार्मिक स्थलका रूपमा मात्र स्थापित गर्ने प्रयत्नको प्रतिकार गरिनुपर्छ | 

नानक मठ-उदासीन आश्रम सबै नेपालीहरूको साझा आराधना स्थल हो | श्रीनानक देवको समागमप्राप्त यो स्थान निकै पवित्र छ | साथै,बाबा ब्रह्महरी दास, बाबा गोथल दास, बाबा यतिराम सहित ३९ महन्तहरूको देखरेखमा रहेको यो आश्रम हिन्दू तथा शिख दुवै धार्मिक समुदायको साझा गौरवको विषय हो | नेपालीहरूको आफ्नो रैथाने मौलिक जरोकिलो हो | मलाई एस्तो पवित्र तथा ऐतिहासिक स्थलमा कर गरेर लैजाने विद्वान पंडित श्रीमहेश शर्माजी प्रति म सधैं ऋणी रहने छु | आश्रमको वारेमा वर्णन गरिदिने महन्तजी प्रति आभारी छु |
कपिराइट : गोविन्दशरण 

पोइला हिड्ने किन बढें, दोष कस्को ?

पोइला हिड्ने किन बढें, दोष कस्को ?काठमान्डौको सम्भ्रान्त विद्यालयका सीमा (१४) र आकाश (१५) दूबै कक्षा नौंमा पढ्दै गर्दा पोइला हिंडे | पुलिस र मनोबैज्ञानिकहरूको हस्तक्षेपपछि ती आ-आफ्नो घर फर्किए | तेस्तै रुकुमको एउटा माविमा पढ्ने राम (१३) र अनु (१४) पनि पोइला हिंडे | सो विद्यालयमा युनिसेफ र एउटा एनजीओले विगत तीनवर्ष देखि सेक्स-एजुकेशन चलाइरहेका थिए | हालसम्म २२ जना बालबालिकाहरू तेहाबाट पोइला हिंडीसकेका छन् |

माथी लेखिएजस्ता पोइला हिंड्नेहरूको समाचार आउँदासाथ पश्चिमाशैलीको सेक्स-एजुकेशनका पक्षधरहरू भन्छन् "अशिक्षा र कुरो नबुझ्नुले एस्तो हुन्छ | समाजले सेक्सप्रति अनुदार विचार राख्दा बालबालिकाहरू पोइला हिंड्न बाध्य हुन्छन् |" यो भनाइको सीधा अर्थ हुन्छ - उमेर नपुगे पनि यौनाचार गर्न पाउनु बालबालिकाको प्राकृतिक अधिकार हो | असलमा, उपरोक्त भनाई केवल र केवल कन्डम, गर्भनिरोधक औषधि बनाउने बहुराष्ट्रिय कम्पनिहरूको लागि अप्रत्यक्ष मार्केटिंगका लागि नै हो |

साच्चिकै भन्नुपर्दा पश्चिमाशैलीको यौनशिक्षा र इन्टरनेटको पहुँचका कारण किशोरकिशोरीहरूमा सेक्सको स्वाद चाख्ने चाहना ह्वात्तै बढेको हो | यौनाचारलाई बढाउन यौनशिक्षाले मलजल गरिरहेको छ जसले यौनअसुरक्षा तथा पोइला हिड्न प्रोत्साहन मिलेको छ भन्न मिल्छ | 

किशोरीहरूमा बढ्दो गर्भपात, परपुरुष-परस्त्री संसर्ग, लिभिंग टुगेदर, विवाहपूर्व यौनाचारलाई व्यक्तिगत स्वतन्त्रताको विषय मान्नु पश्चिमा पद्यतिको यौनशिक्षाको देन हो | विदेशीहरूले पैसा दिए भन्दैमा आफ्नै जरोकिलो काट्ने यौनशिक्षाको समर्थन गर्ने शिक्षाविद, विद्यालयहरूमा यौनशिक्षा प्रवेश गराउने सरकार समान दोषी छन् | 

विश्वमा व्यक्तिगत स्वतन्त्रताको हावा चलिरहेको छ | यौनवादी फ्राइडको उदयपछि सेक्स-एजुकेशनको कुरालाई व्यक्तिगत स्वतन्त्रको रूपमा नेपाली विद्यालयहरूमा पनि वहसको विषय बनेको छ | मैले सुनेअनुसार युनिसेफले नेपालमा सेक्स-एजुकेशनका लागि सन् २०१२-१७ का वीचमा ७ अरव लगानी गरिसकेको छ |

एत्रो लगानी गरेर सेक्स-एजुकेशन दिंदादिंदै पनि तेह्र-चौध वर्षका कलिला स्कुले बालबालिकाहरू "पैला" हिंडिरहेका छन् | धनिहरूले घटना लुकाउँछन् | गरीवसंग लुकाउने संयन्त्र हुँदैन | छताछुल्ल हुन्छ | 

फेसबुकका कारणले परिवार उजाडिएको, उमेरभन्दा पहिला पैला हिंडेका, नेटमा सजिलै उपलब्ध निला-चलचित्र हेरेर हाडनाता मैं करणी भएका घटना त गनेर सकिन्न | पुलिस-सेलको रिपोर्टले पनि यही बोलेको भन्ने सुनेको छु |

यौनका सवालमा संयमित र अनुशासीत जीवनप्रणालीको शिक्षा दिने वैदिक जीवनशैलीलाई "अन्धविश्वास वा स्वत्रन्त्रताको वाधक" ठान्ने पश्चिमाशैलीको सोचले विद्यालयहरूमा यौनशिक्षा दिंदा "उमेर नपुग्दै यौनाचार गर्ने इच्छा र "पैला" जानेहरूको सङ्ख्या बढ्नु नै थियो |

पश्चिमा पद्यतिको यौनशिक्षाका कारण आफ्ना किशोर बालबालिकालाई विद्यालयमा पठाउने कुनै पनि अभिभावक ढुक्क हुने अवस्था छैन | जस्तो नेपाली सडकको यात्रा गर्नेहरू गन्तब्य पुगेपछि ढुक्क हुन्छन् तेसरी नै विद्यालयबाट किशोर-किशोरीहरू घर फर्केपछि ढुक्क हुन्छन् | यो तीतोसत्यको रेखा निरन्तर फैलिँदो छ | 

के पश्चिमाशिक्षावादीले यो सामाजिक, सांस्कृतिक विचलन ल्याउने विषयमा बहस गर्ने आँट गर्लान् कि यौनाचार व्यक्तिगत विषय हो भनेर पन्छिने पश्चिमाशैली अंगीकार गरेर आफ्नै जरोकिलोलाई कमजोर बनाउने काम गर्लान् ? बहस त हुनैपर्छ |

व्यक्तिगत स्वतन्त्रताका नाममा यौनाचारलाई मार्केटिंग गर्ने पद्यति नेपाली सामाजिक, धार्मिक तथा सांस्कृतिक परिवेश र सोचसंग कत्तिपनि मिल्दैन | यदि नेपाली विद्यालयहरूमा यौनशिक्षा दिने नै हो भने कामसूत्रजस्ता अनेकौं प्राचीन विधिहरू छन् जसले उमेर नमपुगी बालबालिकालाई यौनाचारमा प्रवृत हुनबाट रोक्छ | 

वैदिक शिक्षा पद्यतिले गृहस्थी जीवनमा प्रवेशगरेपछि मात्र यौनाचारको आदेश दिन्छ | ब्रह्मचर्य (जन्मदेखि २४ वर्षसम्म) अर्थात् शिक्षादीक्षा ग्रहण गर्नुपर्छ | यस अवस्थामा यौनाचारमा प्रवेश गर्नु भनेको आजको भाषामा करियरमा ध्यान नदिनु नै हो | यौन व्यक्तिगत विषय हो तर २५ वर्षको उमेरपछि नेपाली समाजले प्राकृतिक रूपमा स्वीकार गरेको छ भने विद्यालयको उमेरमा किन यौनशिक्षा लाद्ने ?

आफुलाई स्वतन्त्रताको पक्षधर भन्ने तर स्वच्छन्दवादीहरूका लागि मैले निम्त्याएको वहसले पोल्छ र मउपर अनुदारवादीको आरोप लाग्न सक्छ | यो सबै स्वीकार्न तयार छु तर ७ अरव लगानी गर्दा समेत १४-१४ वर्षका किशोर-किशोरी किन "पोइला" गइरहेका छन् ? किन (पश्चिमाहरूका भाषामा) अनसेफ सेक्सतिर तानिंदैछन् ? सक्छौं भने वहस चलाउने आँट गर |

नोट : नाम र ठाउँ दूबै काल्पनिक हुन् तर घटनाहरू सत्य हुन् |

धर्म र धार्मिकता

र्म र धार्मिकता 
धर्मको अर्थ मूल गुण हो | धर्मको अर्थ वेद, उपनिषद्, पुराणले स्थापित गरेको मर्यादा हो | यही मर्यादा आचरण हो | विधिनिषेधका रूपमा स्वीकार्य आदेश र तेसअनुकुलको मर्यादा नै शुभआचरण हो | दुराचारी धार्मिक हुनै सक्दैन | धार्मिकता र ढोंगको मिलन कहीं हुँदैन |

धर्मले कसैलाई कुभलो गर्न सक्दैन | धर्ममा ढोंग, पाखण्ड तथा लालसा हुँदैन | धार्मिकता सत्यको कवचले ढाकेको हुन्छ | एस्तो सत्यको कवचमा सत्याग्रह हुन्छ | सत्यको ओज हुन्छ | धर्म सत्य हो | सत्यले सबैलाई प्रकाशित गर्छ | हामी नेपालीको जरोकिलो र स्वाभिमान वैदिक सत्यताको जगमा निर्मित भएको छ | हाम्रो लागि वेदानुकुल आचरण नै धर्म हो |

वैदिक धर्ममा उन्माद हुँदैन | घृणा हुदैन | विश्व कल्याण र परमात्माको प्राप्ति यी दूई इच्छा बाहेक कुनै इच्छा हुँदैनन् | धेरै चेला जोड्ने, ठूलाठूला आश्रम बनाएर उपाधि थाप्ने इच्छा मार्नेहरू सन्त बन्छन् | उनीहरूको गति जङ्गलतिर हुन्छ शहरतिर होइन | उनीहरू सम्पति जोड्नमा होइन छोड्नमा गर्व गर्छन् | यतो धर्म: ततो जय: - जहाँ धर्म हुन्छ तेहा स्वार्थ हुँदैन | वासना र स्वार्थ उपर विजयको विनम्रता हुन्छ |

धूर्तहरूले आफ्नो दमित इच्छा पूर्ण गर्न धर्म र धार्मिकताको सहारा लिन्छन् | वेदवचन, उपनिषदका सिद्धान्तहरू र सत्कर्मका आदेशहरूको किन बेच गर्छन् | एस्तो अभिनय गर्ने नायक/नायिकाहरू दक्ष हुन्छन् | आफ्नो अभिनयले विद्वानहरूलाई समेत भ्रममा पार्छन् |

प्रसिद्ध वैदिक ऋषिहरू वशिष्ट, याज्ञवल्क्य, भारद्वाज, नारद, विश्वमित्रआदिले तपस्या, सत्य र धर्मको बलले विश्वलाई प्रकाशित गरेका थिए | आचार्यहरूले प्रस्थानत्रयको अनुसरण गर्दै वैदिक दर्शनमा सिद्धान्तको बज्रलेप लगाएका थिए | उनीहरूका परम्पराहरू प्रज्वलित छन् |

राजनैतिक व्यक्तित्वले सर्वसाधारण जनताको भावनामा ब्यापार गरेर सत्ता प्राप्त गर्छन् | केहीले राम्रो काम गर्छन् केही असफल हुन्छन् | एस्तो क्रम चलिनै रहन्छ |

तर सन्त तुलसीदासले भने झैं राजनीति, व्यापार तथा पारिवारिक जीवनमा असफल भएका तर महत्वाकांक्षीहरू भने धार्मिकताको आडम्बर स्वीकार गर्छन् | उनीहरू वेद र प्रस्थानत्रयले स्थापित गरेको आध्यात्मिक परम्पराका इर्ष्यालु शिष्य बन्छन् |

तेस्तै असफल इर्ष्यालुहरूको अर्को समुहले "उपाधि दिने पसल"हरू खोल्छन् | विद्वानहरूको खोल ओढेर "उपाधिको पसल" चलाउने र आफ्नो असफलतालाई सफलतामा वदल्न धार्मिकताको आवरणमा रहेका पाखण्डीहरूको गठबन्धन निर्मित हुन्छ |

अनि, तेहाबाट विश्वगुरू, जगदगुरू, विश्वगुरूआदिका उपाधिहरू वितरण गरिन्छ | एस्तो मिलोमतोको ब्युजिनेशलाई लोकतन्त्र वा प्रजातन्त्रको नाममा जनताको मनबेच्ने राजनीतिज्ञहरूले समर्थन गरेर संस्थागत गर्छन् |

विश्वास गर्नुस्, कुनै पनि वेदले, उपनिषद्ले, पुराणले प्रस्थानत्रयको वैदिक ब्याख्या गर्दै सिद्धान्त स्थापित गर्न नसक्नेलाई "जगदगुरु, विश्वगुरु वा ब्रह्माण्डगुरू"को उपाधि दिंदैन |

पाखण्डीहरूको सङ्गत गर्नुभन्दा अधार्मिक नै रहनु राम्रो | किनभने अधार्मिकको सिद्धान्त हुन्छ तर ढोंगीले धर्मको आत्मा नै मार्छ | आफुलाई वैदिक पनि भन्ने तर वेदले स्थापित गरेका संस्कार र मान्यतालाई लत्याउन्दै
महावैदिक बन्नेहरू ब्यापारी हुन् | धार्मिक होइन |

लोकतन्त्र होस् वा प्रजातन्त्र - जनताको भावना बेच्ने राजनीतिज्ञ र धर्मको नाममा अधर्म बोक्ने पाखण्डीहरूको ब्यापार फस्टाएकै हो | यदि धार्मिकताको संरक्षण गर्ने नै हो भने धार्मिकताको अपब्याख्या गर्न मिल्दैन | सत्यले पोल्छ | सत्य भोट हालेर निक्यौल गरिने विषय होइन | सत्यको कुनै जेन्डर हुँदैन | सत्य केवल सत्य हुन्छ |

वेदको नाममा मनोकल्पित कर्म वा उपाधिलाई "धर्म" भन्दै प्रचार गर्ने ढोंगीहरू भन्दा भौतिकवादी नै धेरै असल !! वैदिक इतिहासमा नास्तिकहरूलाई सम्मान गरिएको छ किनभने उनीहरूको निष्ठा नास्तिकतामा हुन्छ | धर्मको नाममा व्यापार गर्नेहरू कपटी ब्यापारी हुन् जसको मूल उद्देश्य नै ठग्नु हो | अहिले हामी नेपालीहरू धार्मिक र राजनैतिक ठगहरूको फन्दामा परिरहेका छौँ |

नेपालको धार्मिक संस्कृतिलाई इसाई-मुसाईहरूले भन्दा बढी यी पाखण्डीहरूको ढोंगले विकृत बनाएको छ | एस्तो विषयमा वहस त हुनैपर्छ | सत्याग्रह सहन सक्नेले यो लेख पढून र शेयर गरुन् | यतो: धर्म ततो जय: यो वैदिक उद्घोषण असत्य हुनै सक्दैन |

कपिराइट : गोविन्दशरण 

वेद, डीएनए र राज्यराष्ट्र

वेद, डीएनए र राज्यराष्ट्र 
वेदको अर्थ ज्ञान हो | वेदको अर्थ चारवेद, आरन्यक, स्मृति र उपनिषद् पनि हो | वेदले मान्छेमात्र होइन चराचर प्राणीहरूलाई परमात्मा वा प्राकृतिक सर्गविसर्गको परिणाम मान्छ | परमात्माको सन्तान मान्दा हो अथवा सर्गविसर्गको परिणाम दुवै प्रक्रियामा मान्छेको DNA को स्रोत एकै ठहर्छ | तत्थ्यलाई कुतर्कले काट्न सकिन्न | मतविभाजनको प्रजातान्त्रिक प्रक्रियाले सत्यको स्वरूप प्रभावित हुँदैन |

हिजो वेदले बोलेका कुराहरू आज तत्थ्य प्रमाणित हुँदा हामी चुपचाप रहन्छौं | इतिहास एक दिनमा लेखिदैन तर इतिहासका किनारा हुन्छन् | जित्नेले जीतको इतिहास लेख्छ भने हार्नेले पनि आफ्नै तरिकाले आफ्नो वीरताको वर्ण गर्छ | तर निरपेक्ष इतिहास बदलिंदैन | वेदले बोलेको इतिहास निरपेक्ष हो र यही हामी नेपालीहरूको पहिचान हो | वेदले राज्यराष्ट्रका विषयमा बोलेको छ नै गोत्रका रूपमा डीएनएका विषयमा पनि बोलेकै छ | हामीलाई अंग्रेजीमा सुन्ने लतलागेकोले बुझ्नमात्र नसकेको हो |

हालैका दिनमा भएका अनुसन्धानले संसारका सबै मानिसको DNA ९९.९ प्रतिशत भएको प्रमाणित गरेको छ | यसको अर्थ स्पस्ट छ - सतरूपा र मनुको शरीरबाट उत्पन्न "मानव" विश्वभरी फैलिएको हो | कालो, सेतो, गहुगोरो, न्याप्टे, च्याप्टे, थ्याप्चेआदि भूगोल, वातावरणआदिका कारण विकसित भएका विशेष अवस्था हुन् | संसारका सबै जातिहरू मनु तथा सतरूपाका सन्तान "मानव" भएकाले पृथ्वीका आदिवासी नै हुन् |

प्रगतिशीलता, वैज्ञानिकता, पहिचानआदिको एककोहोरो मन्त्र जपेर जनतालाई भ्रमित पार्ने राजनैतिक प्रपन्चके नेपाली समाजमात्र होइन विश्व समेत विभाजित छ | समय र अनुसन्धानले मान्छेलाई एस्तो भ्रमबाट मुक्त हुनुपर्ने अवसर दिएको छ | विज्ञानले ९९.९ प्रतिशत मान्छेहरूको डीएनए एकै भएको प्रमाणित गरिसकेको अवस्थामा नाक, वर्णका आधारमा विभाजन खोज्नु जनतासंग गरिने छल हो | एस्तो छलबाट जोगिनुपर्छ |

वेदहरूले "बसुधैव कुटुम्बकम्" भनेर विश्व-मानवलाई एकै परिवारको सदस्य भएको घोषणा आज गरेको होइन | हजारौं वर्ष पहिला शास्त्रले गरेको यो उद्घोषणले मान्छेलाई "बन्धुत्व"को सम्बन्ध बुझ्न र एकै परिवारको अंग भएर विश्वलाई सहकार्य गर्ने प्रेरित गरेको हो |

समय र परिस्थितिले मान्छेहरू फरक-फरक भूगोलमा पुगे, फरक-फरक भाषाको विकास गरेर र फरक-फरक रूपरंगमा बने तर तिनको जरोकिलोमा कुनै पनि परिवर्तन आएको छैन | प्राचीन वैदिक परम्परामा आधारित राज्यराष्ट्रको प्रशासन पद्धतिको आवश्यकता आजको समयमा झन् जीवन्त भएको छ | वेदले मानवसमाजलाई एकै परिवारको सदस्यका रूपमा निरन्तरता दिन "राज्यराष्ट्र"को परिकल्पना गरेको थियो, तेसमा क्रमभंग आउँदा विश्वमानव विभाजित भएको हो |

राज्यराष्ट्रको मूलभूत मर्म विस्मृत हुँदै जाँदा मान्छेले अनेकौं प्रकारका राजकीय तन्त्रहरूको विकास गरेको हो | पूँजीवाद, साम्यवाद, फाँसीवादआदि सबै राज्यतन्त्रहरूले मान्छेलाई एकसूत्रमा बाँध्ने प्रयास गरे तर सफल भएनन् किनभने यी सबैले मान्छेलाई "फरक-फरक" इकाई मानेर ब्याख्या गरे | जव हामीले केवल फरकपनामात्र महत्व दिन्छौं, असफलता तेतिखेर नै कोरिन्छ | राष्ट्रराज्यका आधारभूत सिद्धान्तहरू विफल हुँदै गर्नुमा यही तत्व लुकेको छ | विश्वास गर्नुस्, राष्ट्रराज्यलाई बोकेर हिड्नेहरू नै राज्यराष्ट्रको अंगालोमा बलियो हुँदैछन् | अमेरिका, बेलायत, क्यानाडा यसका बुलन्द उदाहरण हुन् | अनेकान्तवादी समाज र राष्ट्रराज्य संगै हिड्नै सक्दैनन् | बसाई सरेकाहरूले निर्मित भएको देश "अमेरिका, क्यानाडाआदि कसरी राष्ट्रराज्य" रहन सक्छन् ? यो कुराको जवाफ बुझ्नुपर्छ |

वेदले विश्वमा मान्छेहरू बन्धु नै हुन् भन्नु, आधुनिक विज्ञानले विश्वभरिका मान्छेको डीएनए एकै हो भन्नु, वेदले राज्यराष्ट्रले मात्र विश्वका मान्छेहरूमा समावेशी सम्बन्ध स्थापित हुन्छ भन्नु काकताली हुँदैहोइन | तेसैले वेदले विश्वको लागि निर्धारित गरेको "राज्यराष्ट्र"लाई निर्धक्कसंग अंगालौं | राज्यराष्ट्रका विषयमा वहस गरौँ, छलफल गरौँ र सचेत गरौँ |

सबैको भाषा, संस्कृति र धार्मिक आस्थाको संरक्षण, सम्वर्धन गर्न अग्रसर बनौं | मान्छेलाई नाक, वर्ण र भूगोलका आधारमा अलग पारेर इकाई बनाउने षड्यन्त्र विरुद्ध सचेत बनौं | हाम्रै पुर्खाले बोलेको स्थापित गरेको पद्धतिमा अगाडी बढौं | घृणावादबाट जोगाऔं |

कपिराइट : गोविन्दशरण 

कोदालो, हँसिया र सोच

कोदालो, हँसिया र सोच 
मेरो बाटोमा एउटा परम्परागत माटोको घरको छानो मुनि अहिले पनि परम्परागत फलाम कर्मीले आरन चलाएको देख्न सकिन्छ | आज एकैछिन उभिएर मैले उनीहरू संवाद गरें | उनीहरूको परिवारले आरनबाट मनग्ये आम्दानी गरिरहेको छ | पाँच जनाको परिवार निर्धक्कसंग आरनको काम गर्छ | ती मध्ये एकजनाले स्नातकोत्तर पढेका छन् | आरनको आम्दानीबाट नै उनीहरूले शहरमा पक्कीघर जोडेका छन् |

ती मध्ये एकजना अधवैसेले भने "धेरै युवाहरू कामको खोजिमा विदेश जान्छन् | सहर मै आरनको काम भ्याइनभ्याइ छ | आरन चलाउन आजभोली दाउराको आवश्यकता पनि छैन | विजुली भट्टीमा फलाम तताएर चाहेको आकार दिन सकिन्छ | 

गाउँमा हँसिया, कोदाली, चक्कु, खुकुरी, आरा, फालीआदि खेतीपातीमा काम लाग्ने औजारहरू नपाएर मान्छेहरू दिक्क मान्छन् | इन्डियाको फेक्तरीमा बनेका कोदालाहरू गाउँगाउँ पुग्ने अवस्था आउंदै छ | आँसी (हँसिया) पनि चाइनाले आपूर्ति गर्ने दिन आउन थाल्यो |

हामी सानो-ठूलो जाति भनेर लडिरहेका छौँ | अरवको खाडीमा कुनै नेपालीको जातिपाति रहन्न | नेपामा फर्केपछि फेरी ठूलो र सानो जातपातको कुरा आउँछ | कामीले मात्र आरन चलाउने बाहियात सोच हटाउनुपर्छ | फलानो जातले आरन छोडे भने फलानो जातले आरन किन सुरू नगर्ने ?" 

मलाई अधबैसेको कुराले छोयो | कुरा सही हो | गाउँगाउँमा चाहिने औजार हामी आफैले बनाउन कसैले रोकेको छैन | सोच परिवर्तन गरिदिए पुग्छ | सोच परिवर्तन गर्दा साथ विदेश जान लाग्ने आधी लगानीमा सुरु गरेकै दिन देखि आम्दानी दिने उद्द्योग चल्छ |

मुख्य कुरो आफ्नै हातले आर्थिक उपार्जनको कुरो हो | आज हरेक गाउँ-पालिकाको प्रत्येक वडामा आरनको आवस्यकता छ | जोसुके युवाहरूहरूले "हँसिया, कोदालो, फालीआदि"को काम गरेर मनग्ये आर्थिक उपार्जन गर्न सक्छ | 

नेपालका सबै बडामा निर्धक्कसंग यी उद्द्योग चल्न सक्छन् | मेरो विश्वासमा मरूभूमिको कमाई भन्दा यसको कमाई अब्बल हुन्छ | उद्द्योग आरम्भ गर्न खर्च पनि निकै कम लाग्छ | सानो लगानीमा सुरुगर्न सकिने, उत्पादन गरेकै दिन देखि आम्दानी दिने आफ्नै रैथाने उद्द्योग आरम्भ गर्नेतिर सोच किन नबनाउने ?

पतिपत्नी र पार्टनर

पतिपत्नी र पार्टनर 
पतिपत्नीको नातो विवाहपछि गाँसिन्छ | संसारमा फरकफरक विवाह पद्धति र प्रथा छन् | वैदिक संस्कारमा विवाह "संझौता" होइन | विवाह "संस्कार" हो | एस्तो संस्कारले पतिपत्नी अर्धनारीश्वरमा रुपान्तरित र स्त्रीले पुरुषलाई पतिको रूपमा र पुरुषले स्त्रीलाई पत्नीको अधिकार प्रदान गर्छन् | एकआपसमा कर्तब्यशील हुनु र आफ्ना अधिकारको कर्तब्य पूर्वक उपयोग गर्नेहरू नै पतिपत्नी हुन्छन् |

पाश्चात्य विवाह संझौता हो | संझौतामा केवल शर्तहरू पूरा गरिन्छन् | शर्तहरू पूरा गर्न नसकेको अवस्थामा संझौताहरूको अन्त्य हुन्छ | ससर्त संगै, एकै घरमा बसेर, सन्तान उत्पन्न गरेका पुरुष र स्त्री छुट्टिन्छन् किन भने संझौता नै एस्तो हुन्छ | एस्तो संझौतामा न पतिपत्नीका विच आत्मिक सम्वन्ध हुन्छ न सन्तान उत्पन्न गर्नु नै सृष्टिको पवित्र कार्य | 

वैदिक मन्त्रहरू उच्चारण गरेर, अग्निलाई साक्षी राखेर सातचोटी प्ररिक्रमा गरेर पतिपत्नीको संस्कारमा बाँधिन्छन् | शर्त तोडेर पत्नीलाई धोका दिने र पतिलाई धोका दिने पत्नी दूवैले आफ्नो वाचा तोडेका हुन् |

शर्त-संझौतामा आधारित बन्धनको आयु हुन्छ तर स्वीकार र समर्पणको कुनै आयु हुँदैन | पतिपत्नी बन्ने हो कि यौन,का लागि पार्टनर ? पार्टनरले टास्क पूरा भएपछि अथवा कुरा नमिलेपछि साथ छोड्छन् | तपाईं/हामी पार्टनर बन्ने कि पतिपत्नी सोच्न त पर्छ |

आजका युवाहरू पतिपत्नी होइन पार्टनर बन्न चाहन्छन्, पतिपत्नी होइन | पतिपत्नी बन्दा कर्तब्य र अधिकारका वीच संयोजन आवश्यक पर्छ | पत्नीले पतिलाई आफ्नो आधा शरीर र पतिले पत्नीलाई आफ्नो आधा शरीर ठानेर सुखदुख, पापपुण्य, यशअपयश सबै बरावरीमा अंशबन्डा गर्नुपर्छ | तर पार्टनरहरूमा एस्तो स्वघोषित कर्तब्य पालन गर्नु पर्ने बाध्यता कत्तिपनि हुँदैन | असलमा, जव हामी आफ्नो सम्वन्धलाई पतिपत्नी कम र पार्टनरका रूपमा बढी लिन्छौं, सम्वन्धमा स्वार्थ हावी हुन्छ |

निश्चय नै स्वार्थ विना सम्बन्ध चल्दैनन् | मान्छेको स्वभाव नै स्वार्थी हुन्छ | पतिपत्नीमा स्वार्थ हुँदैन भन्नु उचित होइन | तर संझौता केवल परस्परको स्वार्थ साँध्न प्रयोग हुन्छ | यदि विवाहलाई संझौता मान्ने हो भने तेसमा स्वार्थसम्मको सहकार्य रहन्छ | वैदिक विवाहमा स्वार्थ त हुन्छ तर एकके अर्काको सम्मान गर्नुपर्छ, सुख-दुख बुझ्नुपर्छ भन्ने | केवल अधिकार खोज्ने मानसिकता संझौताको विवाहले खोज्दछ भने वैदिकविवाहले अधिकार र कर्तब्यका वीच समन्वय गरेर हिंड्छ |

विश्वभरी जहाँक धर्म तथा संस्कृतिहरूलाई "संझौता"का रूपमा स्वीकार गर्ने धार्मिक अथवा सांस्कृतिक परम्परा छ तेहा पारचुके धेरै छन् | पारचुकेलाई हामीले जतिसुकै महत्वपूर्ण ठाने पन मनभेद र स्वार्थ बाझिएको परिणामले यो निम्तिएको हुन्छ | अशान्त, अधीर, भ्रमित, अविश्वास, हिंसा, प्रतिहिंसा, अवसाद, शोक, चिन्ता ई जस्ता मानसिक विकारहरू र पारचुके प्राकृतिकरूपमा जोडिएका हुन्छन् |

कपिराइट : गोविन्दशरण 

हाम्रो प्राचीन शिक्षा पद्यति -१

हाम्रो प्राचीन शिक्षा पद्यति 
प्राचीन गुरुकुल शिक्षा ब्राह्मणका लागि थियो भन्ने ठूलो भ्रम फ़ैलाइएको छ | एस्तो भ्रम फैलाउन दूई-प्रकार मानिसहरूले काम गरिरहेका छन् (१) वैदिक संस्कृति प्रति द्वेष राख्ने र (२) केवल अनुशरण गर्ने |

पहिलो वर्ग वैदिक धर्म, संस्कृति, संस्कार, भाषाआदिको विरोध गर्छ र एसको अवसान चाहन्छ | धर्म, सम्प्रदाय तथा राजनीतिको आवरणमा एसले बडो योजनापूर्वक काम गर्छ | भारतवर्षमा मुस्लिम तथाअंग्रेजहरूको अतिक्रमणसंग जोडिएको छ | सन् ८७४ र सन् १६२८ एसको आरम्भ विन्दू हुन् | | यो वर्गले बडो मेहनत गरेर वैदिक, जैन तथा बौद्ध ग्रन्थहरूको अध्ययन गरेको छ तर अध्ययनको उदेश्य भने "बुझेर जरो काट्न"मा केन्द्रित छ |

दोस्रो वर्ग साम्यवाद, समाजवाद, पूँजीवाद, घृणावाद, राजनीतिक लाभ र तेसपछि धर्मनिरपेक्षतावादसंग जोडिएको छ | यो वर्ग केवल उपरोक्त वर्गले भारतवर्षीय सभ्यता, संस्कृति र परम्पराका विषयमा लेखेको र बोलेको अनुकरण गर्छ | संस्कृतको विरोध गर्छ किनभने पहिलो वर्गले संस्कृतको विरोध गरेको छ | जातीय घृणामा विश्वास गर्छ किनभने पहिलो वर्गको तेसमा अभिरुचि छ | दोस्रो अर्थमा यो स्वदेशी परजीवी हो |

मूलशास्त्रहरूको अध्ययन/अध्यापन नगर्ने हुँदा हाम्रो बौद्धिक जमात परजीवी बनेको छ | शिक्षानीति नै पराश्रित भएको छ | विदेशी वा सनातन धर्मप्रति घृणा गर्नेहरूले संस्कृत पढेर, बुझेर (आफ्नो धर्मको उत्थान गराउन) संस्कृत तथा परम्पराको विरोध गरेका थिए र छन् तर दूर्भाग्य नै भन्नुपर्छ हामी सुनेको र अंग्रेजीको अनुवाद पढेको भरमा उनका मतियार बन्दैछौँ |

प्राचीन गुरुकुल पद्यति विभेदपूर्ण थियो भन्ने विश्वास धेरै नेपाली विद्वानहरू र सर्वसाधारणमा रहेको छ | तर वैदिक-साहित्यहरूको अनुशीलनले यो तत्थ्य अप्रमाणित हुन्छ | वेदले उल्लेख गरेको कुरा कुनै शास्त्रले काट्न वा अपब्याख्या गर्न मिल्दैन | आफुलाई वैदिक पनि भन्ने वेदको प्रमाण नमान्ने वा आफ्नो अनुकुल अर्थमात्र स्वीकार्नु उचित देखिन्न |

वेदले स्पष्ट रुपमा चारैवर्णका लागि गुरुकुलको बाटो खोलेको थियो भन्ने कुराको प्रमाण तलको ऋचाले बोलेको छ
रुचं न धेहि ब्राह्मणेषु रुचं राजसु नस्कृधि | रुचं विश्येशु शूद्रेषु महि धेहि रुचा रुचम् यजुर्वेद १८/४८
"ब्राहमणका लागि विद्या प्रदान गर्नुहोस्, राजा (क्षत्रीय)हरूका लागि विद्या प्रदान गर्नुहोस्, वैश्यका लागि विद्या प्रदान गर्नुहोस् र शूद्रका लागि विद्या प्रदान गर्नुहोस्" |
यथेमां वाचं कल्याणीमावदानि जनेभ्य:। ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय | यजुर्वेद २६/२

मैले सबैका कल्याणको लागि शुभआचरण युक्त ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र वर्गको वेदको उपदेश प्रदान गर्छु |


क्रमशः

सबै अशिक्षितलाई दोष !!

बै अशिक्षितलाई  दोष  !!
आजभोली मिडिया, एनजीओ, सरकारी महकमामा निकै सुनिने, लेखिने र बोलिने शब्द हो - आशिक्षाका कारण !!! जतिपनि अपराध हुन्छन्, तेसको धेरैजसो अपजस अशिक्षित तथा अनपढलाई जान्छ | जस्तो कि आज छापा तथा अनलाइन मिडियाहरूले लेखेका छन् | 

नेपाल र भारतमा "अशिक्षा" शब्दको उपयोग र प्रयोग ग्रामीण, हिन्दू, बौद्ध, जैन, किराती, बोन तथा परम्परागत चालचलनका विनम्र अनुयायीहरुलाई अपमानित गर्न प्रयोग हुन्छ | एनजीओ, आइएनजीओ तथा सरकारले हात धूनन सिकाउने कार्यक्रम होस् वा तथाकथित स्तनपान दिवस, धुम्रपान निषेध, स्वच्छता दिवस, छुइपडी, चोरी, बलत्कार, धामीझाँक्रीआदिमा "अशिक्षा"लाई दोष दिन्छन् | यी पढेलेखेका धूर्तहरूले बुझ्नुपर्छ कि नेपाल सावुन नहुँदा पनि मान्छेले हात धोएकै थिए र छन् | दैनिक नुहाउनुपर्छ भन्ने धार्मिक विश्वास र तेसको ब्यबहारिक प्रयोग नेपालीको जीवनशैली नै थियो | बासी खानु हुँदैन, जूठो खानु हुँदैन भन्ने कुरा पश्चिमाहरूले धेरैपछि भन्न थालेका हुन् | 

हामी नेपालीमा अशिक्षा छ, गरिवी छ, अन्ध विश्वास छ, सरसफाई प्रतिको चेतना छैन - यो अर्धसत्य मात्र हो | अशिक्षाको अर्थ अज्ञान होइन | बलत्कारका घटनाहरू होउन् वा बालबालिकाप्रति यौनाचारका वा ठगीआदिका तेसको मूलधार खोज्दै जाने हो भने शिक्षितहरूको बढी उपस्थिति देखिन्छ | शारीरिक सुखका लागि यौनाचार गर्ने अनि, गर्भपतन गराउनेहरूमा ९०% पढालेखा समुदाय नै अगाडी छ भन्ने तत्थ्य मेरीटप्सको रिपोर्ट हेरे बुझ्न सकिन्छ | अशिक्षितले एस्तो "जानाजानीको अपराध" गर्ने र तेसलाई छोप्ने काम गर्दैन |

तर विश्व-अपराधका रिपोर्टहरू अध्ययन गर्ने हो भने अधिकांश अपराधिक घटनाहरू पढेलेखेको, जानेबुझेका र अपराध लुकाउन सक्छु भन्ने मनसाय भएका व्यक्तिहरूबाट निकै बुद्धिमान तवरले भए/गरेका हुन्छन् | तर तेसको दोष आफ्नो सानो संसारमा रमाउने अर्थात् अशिक्षित व्यक्तिले बोक्नुपर्छ | धानखाने मुसो चोट खाने भ्यागुतो भनेको यही हो |

मैले धेरै पटक अशिक्षित व्यक्तिहरूले सभ्य तवरले लाइनमा उभिएर घरको बार्षिक कर तिरेको देखेको छु | तेस्ता करहरू सरकारी हाकिमको तजविजमा निर्धारित हुन्छ | तर एउटा लेखेपढेको कर-अधिकारीले आफ्नो घरको घरबहाल कर तिरेको होला भनेर कसैले पनि पत्याउन सक्दैन | 

एउटा लेखेपढेको सरकारी कर्मचारीले घूस खाँदैन भनेर पत्याउने निकै थोरै होलान् | एउटा मन्त्रीले भष्टाचार गर्दैन भन्ने कुरा आजको समाजले कत्तिपनि पचाउन सक्दैन | मालपोत, करकार्यालय, भन्सारजस्ता निकै आर्थिक चलखेल हुने ठाउँको भ्रष्टाचार जगजाहेर छ | तैपनि हामी र हाम्रो पढेलेखेको समाजले अशिक्षालाई दोष दिन्छ |

अशिक्षितलाई दोष थुपार्न सजिलो छ किनभने उनीहरूले "लेखेपढेकालेझैँ" प्रतिकार गर्न सक्दैन | जानीजानी र वदनियत तवरले गरेका गलतकामलाई "गल्ति" भनेर वा विभिन्न तिकडम झिकेर लुकाउन, बंग्याउन जान्दैनन् | झूटो कामकुरो गर्दा ईश्वरसंग डराउँछन् | गल्तिनै अपराधनै नगरेको व्यक्तिलाई पनि "बौद्धिक शक्ति" प्रयोग गरेर अपराधी हुँ भन्न बाध्य बाध्य परिन्छ | विश्वास गर्नुस्, विश्वका ९०% बाध्य बनाएर अपराध गर्ने/गराउने काम शिक्षितले गर्छन् | र विश्वलाई असल बनाउने पनि शिक्षित नै हुन् |

अशिक्षितबाट अपराध भयो भने त्यो जनरलाइज गरिन्छ किनभने एसो गरिएन भने लेखेपढेकाले गरेको अपराध लुक्दैन | संसारका ९५% आर्थिक अपराध पढेलेखेका मान्छेले गर्छन् भन्ने मैले कहीं पढेको थिएँ | धेरैजसो चेलीबेटी बेचविखन, श्रमशोषण, युद्धअपराध, राजनैतिक कुकर्म, धार्मिक तथा सांस्कृतिक अपराधीहरूमा लेखे पढेका व्यक्ति नै संलग्न हुन्छन् भन्ने कुरा मिडियाहरूले बोल्ने आँट कहिले गर्लान् ? गलत कामको सबै दोष अशिक्षालाई दिन मिल्दैन | बरू उच्च नैतिकतायुक्त शिक्षाको उज्यालोबाट व्यक्ति विशेष वा समुदायलाई बन्चित राख्ने सिस्टमलाई दोष दिनुपर्छ |

विश्वास गर्नुस्, अशिक्षित मान्छे अपराध गर्नबाट डराउँछ | मलाई लाग्छ, अशिक्षितहरूले गर्ने धेरैजसो अपराधहरू "लाटो रीस" वा आवेगका कारणले घटीत हुन्छन् र एस्तो अपराधको दण्ड-सजाय पनि उनीहरूले भोग्नै पर्छ | तर पढेलेखेकाले जानीबुझी गरेका अपराधहरूको संरक्षण गर्न नामूद वकिलहरू, चिनजानका अधिकारीहरू र कहिलेकाहीं त सरकार नै लागि पर्छन् | उनीहरू अपराधका कारण होइन पक्राउ परेका कारणले दण्डित हुन्छन् | उनीहरू अपराधका "मास्टर माइन्ड" हुन्छन् |

कान्छीको भट्टीमा गएर ट्वाक लगाउने र नालीमा लड्नेलाई हाम्रो मिडियाले "अशिक्षाको कारण"ले भनि ब्याख्या गर्छ यदि तेही जाँड हायत होटलमा खाइन्छ भने तेस्तो काम सभ्यताको प्रतीक हुन्छ | र्याम्पमा उभिएकी एउटी केटी मान्छेका अंगप्रत्यंग हेर्ने (सुन्दरी प्रतिगितामा) व्यक्तिले ताली पाउँछ | यदि यही काम कुनै बटुवाले गर्यो भने अपराध हुन्छ | 

हामीले जतिधेरै शब्द अशिक्षित वा अशिक्षालाई दोष दिन खर्च गर्छौं तेसको २०% शब्दहरू उनीहरूलाई सुसज्जित गर्न, कानुन, नैतिकता/अनैतिकता सम्बन्धि जानकारी दिन खर्च गर्ने हो भने अपराधहरू (अशिक्षितबाट)को ग्राफ निकै कम हुन्छ | ह्वाइट कलर क्राइम गर्ने पढेलेखेकाहरूलाई (जो अपराधी मानसिकताका छन्) को अगाडी भैसीका अगाडी मुरली बजाउनु सरह हो | 

देशसंग गद्दारी गर्ने, आफ्नो सभ्यताको जरो आफै काट्ने, विदेशीको नक्कल लाई सभ्यताको प्रतीकका रूपमा लिने, आफ्नो धर्म-संस्कृति तथा सभ्यताको विनम्र बाहकहरूलाई अन्धविश्वासी भनेर लान्छना लगाउने, आफ्नै इतिहासको अपब्याख्या गर्ने, पूर्खाले बनाएका मूर्तिहरू विदेशीलाई बेचेर धन आर्जन गर्ने - निश्चय नै अशिक्षित हुँदैनन् | गैडाको हत्या गर्ने अशिक्षित हुन् सक्छ तर त्यो खागको प्रयोगकर्ता, तस्कर लेखे पढेको हुन्छ | यदि यदि शिक्षित बनाउनु नै छ भने हामीले पढेलेखेकाहरूलाई "शिक्षित" बनाउनुपर्छ | अशिक्षितले अवसर प्राप्त भए शिक्षा प्राप्त गर्छन्, अपराध मुक्त हुन्छन् तर शिक्षितहरूलाई कसरी "शिक्षित" बनाएर सदाचारी बनाउन सकिन्छ ? मेरो चिन्ताको विषय यही हो | 

गहिरो नींदमा सुतेको मान्छे बोलाएपछि जाग्छ तर सुतेको अभिनय गर्ने मान्छेलाई उठाउन सकिन्न | अशिक्षा समाप्त हुनसक्छ तर शिक्षित अपराध समाप्त हुन गारो हुन्छ | तेसैले अपराधहरूका लागि अशिक्षालाई मात्र दोष दिने प्रवृति अन्त्य हुनुपर्छ | तपाईंक, मेरा, हाम्रा पनि आमावुवा, हजुरवा-आमा अशिक्षित होलान् तर विश्वास गर्नुस्, ती यी "शिक्षित"भन्दा धेरै नैतिक, देशभक्त, सदाचारी तथा दयालु छन् | यदि घोर सैद्धान्तिकरूपमा भन्ने हो भने शिक्षित अपराधी हुनै सक्दैन र अपराधीलाई शिक्षित ठान्नु गलत हुन्छ | पढेलेखेको मान्छे लेख्न पढ्न जान्ने हुन सक्छ तर शिक्षित नहुन सक्छ |
कपिराइट : गोविन्दशरण 

भिक्षा, भिक्षुणी र सरकार

भिक्षा, भिक्षुणी र सरकार 
"गृहस्थ जीवनमा प्रवेश गरेका पतिपत्नीले भिक्षा माग्न आएका जोसुकै भिक्षुक/भिखारीलाई आदरपूर्वक भीख दिनुपर्छ |याचकहरूलाई भिक्षा नदिने गृहस्थीको गृहस्थ जीवम निस्फल हुन्छ" | - यो भनाई प्रसिद्ध स्मृतिग्रन्थ मनुस्मृतिको हो |

वैदिक/बौद्ध तथा जैन धर्ममा परम्परामा भिखारीहरूलाई अत्यन्त आदर गर्दै भीखा दिनुपर्ने आदेश छ | केही धार्मिक ग्रन्थहरूले त झन् "गृहस्थको घरमा भिक्षा माग्न आएकाले भिक्षा प्राप्त नगरी निराश भएर फर्के भने आफुसंग आयु, बल, यश र लक्ष्मी समेत लिएर जान्छन्" भनिएको छ | स्मरण रहोस् भिक्षु र भिक्षुणी शब्दको नेपाली अनुवाद नै "मगन्ते, माग्ने, भिखारी, भिखारीनी" हुन्छ |

असलमा, वैदिक मान्यताअनुसार कुनै पनि मान्छेले जीवन यापनका लागि माग्ने निर्णय केवल जीवन रक्षाका लागि मात्र गर्छ | एस्तो अवस्थामा जीवन रक्षाका लागि सघाउनु हरेक गृहस्थको पहिलो कर्तब्य हुन आउँछ | तेसैले माग्नेलाई "भीख दिनै पर्छ" भन्ने आदेश धर्मशास्त्रले दिएको हो | असलमा, दान-दातब्य सनातन धर्मको आत्मा हो | हामी हिन्दु, बौद्ध र जैनहरूले एस्तो आत्मिक आदेशको कति पालन गरिरहेका छौँ ? यो फरक प्रश्न हो |

यदि धार्मिक दृष्टिकोणले हेर्ने हो भने विश्वका सबै धर्मले "भिखारीहरूलाई भीख दिंदा स्वर्ग पाइन्छ" भनेर लेखेको पाइन्छ | हिन्दु, बौद्ध, जैन, इसाई, इस्लामजस्ता सबैजसो धर्मले आफ्नो कमाईको निश्चित भाग अनिवार्यरूपमा गरिवहरूका लागि दान दिनुपर्ने ब्यबस्था गरेका छन् | माग्ने नै नभई दान अर्थरहित हुन्छ अर्थात् माग्ने नै नभए दान को-लाई दिने ?

मैले नेपाल सरकारले विद्यालयमा पढाउने केही पाठयपुस्तकमा "जोगी माग्ने आए भने ढोका बन्द गर्नु र पुलिसलाई सूचना दिनु" भनेर लेखिएको पढें | पाठ्यपुस्तकमा एस्तो लेखिनु नितान्त गलत हो | सनातन धर्ममा सन्यासी तथा बटुकहरूले भिक्षाटन गरेर जीवन यापन गर्नुपर्छ भन्ने आदेश छ | जोगी (योगी)हरूले भिक्षाटन गरेर जीवन यापन गर्छन् | दानको अवधारणा पनि भिक्षासंग नै जोडिएको हुन्छ |

हालै सरकारले "माग्नेलाई १ हजार रुपैया जरिमाना गर्ने न्यायिक व्यवस्था गर्दै माग्न निषेध" गरेको छ | एस्तो कानुन असल नियतले बनाएको पनि सरकारले जीवनरक्षाको ग्यारन्टी गर्ने कुनै संयन्त्र बनाएको छैन |आफ्नो र आफन्तको जीवन रक्षाका लागि "माग्ने" अधिकारमा अंकुश लगाउनु निद्नीय विषय हो | देशको सबैभन्दा अधिकार सम्पन्न संस्था "संसद र तेसका सदस्य"हरूले माग्नुको पीडा के बुझुन् ? आफ्नै हातमा डाडुपनियो भए पछि जस्तोसुकै कानुन बनाए पनि भैहाल्यो !!

निश्चय नै नेपालमा तीन-चार थरीका माग्नेहरू छन् भन्ने मैले अनुमान गरेको छ | (अ) पहिलो वर्ग जोगी-सन्यासी हुन् जसले "धार्मिक तथा सांस्कृतिक परम्पराको रक्षा गर्न भिक्षाटन गर्छन् | (आ) दोस्रो वर्ग रोग, गरिवी, आफन्तको हेला, घरबाट निकाला, दिवालीय पल्टेर जीवन धान्नै नसक्ने भएपछि पाटीपौवामा बसेर माग्न बाध्य हुन्छन् | (इ) तेस्रो वर्गका माग्नेहरू पेशाजीवी हुन् जसले माग्ने धन्दा नै गर्छन् | (ई) चौथोवर्ग सामाजिक अभियन्ताको हो जसले मुठीदान मांगेर बालआश्रम, वृद्धाश्रमआदि संचालन गरेको हुन्छ |

मेरो विचारमा पहिलो वर्गले वैदिक संस्कृतिको पालन गरिरहेको हुन्छ, माग्नु उसको सांस्कृतिक कर्म हो | दोस्रोवर्गको रक्षा गर्नु सरकारको कर्तब्य हो किनभने संविधानले "जीवन जीउन पाउने अधिकारीको ग्यारेन्टी गरेको छ | तेस्रो वर्गलाई भने जेलनेल ठोके हुन्छ | चौथोवर्गलाई रोक्ने सरकारसंग ले सरकारसंग अनुमति लिएर नै माग्ने काम गरेको हुन्छ | यो वर्गले उपरोक्त तीनै प्रकारका व्यक्तिलाई सडकमा आउनबाट रोक्न मदत गरिरहेको छ | एस्तो अवस्थामा सरकारले कुनै पनि नया कानुन बनाउंदा हचुवाको भरमा निर्णय गर्नुहुँदैन |

दान दिने र दान लिने हाम्रो वैदिक परम्पराको अभिन्न अंग भएझैं भिक्षाटन र भिक्षादान पनि सांस्कृतिक र धार्मिकअंग नै हुन् | यदि सरकारले बनाएको कानुन कार्यन्वयन भयो भने एसबाट सबैभन्दा बढी बौद्ध भिक्षू र भिक्षुणीहरू प्रभावित हुने छन् किनभने उप्रान्त उनीहरूले भिक्षु र भिक्षुणी शब्दनै प्रयोग गर्नुहुँदैन | यदि हिन्दू, बौद्ध तथा जैन शास्त्रका दृष्टिले बुझ्ने हो भने शंकराचार्य, दलाई लामा तथा आचार्य तुलसी पनि भिक्षुक नै हुन् |

अमेरिका, बेलायत वा युरोपले गरेको कामको नक्कल हामी नेपालीले सोचेर बुझेर र एसको प्रभावको मुल्यांकन गरेर गर्नुपर्छ | माग्नु, माग्न लगाउनु गलत हो तर जीवन रक्षाको ग्यारेन्टी नगरी, धार्मिक तथा सांस्कृतिक पक्षको मूल्यांकन नगरी हचुवाका भरमा निर्णय गर्दा आफ्नै "जरोकिलो" काटिन्छ | जरोकिलो नै काटिएपछि देश र जनताको न भलो हुन्छ न ती सुखी नै | तेसैले सरकारले ल्याउने निर्णयहरू "जनस्वीकार्य" हुनुपर्छ | नत्र सरकार नै वहिस्कारमा पर्छ |

कपिराइट : गोविन्दशरण 

तीज : विश्व महिला दिवस

तीज : विश्व महिला दिवस
हरेक वर्ष तीज आएपछि नेपाली महिलाहरू रमाईलो गर्न थाल्छन् | संचार माध्यमको विकासले तीज पनि विश्वब्यापी भएको छ | अमेरिका पुगेका नेपाली मूलका नेपाली जेष्ट महिलाहरूले तीजको कार्यक्रमको थालनी गरेका समाचार पढ्दा म निकै भावुक भएँ | तेहा इसाई, हिन्दू बौद्ध सबै धर्म मान्ने र धर्म नमान्ने सबै समुदायले तीजको अवसरमा रमाईलो गरिरहेका छन् | तेहा "तीजले" नेपाली भाषीहरूलाई जोडेको देखियो | मेरो छाति गर्वले फुक्यो |

तर नेपालमा भने स्थिति अलि फरक छ | - केही "इलिट"हरूका लागि स्वस्थानी हो वा तीज वा तिहार नै किन नहोस् अस्वीकार्य छन्, अवान्छनीय छन्, अप्रगतिशील छन् र निन्दनीय छन् | सबैजसो हिन्दू, बौद्ध चाडवाडहरू उनीहरूका छातिमा "बाण" रोपिएझैं रोपिन्छन् | अर्को शब्दमा चाडवाड आउँदासाथ उनीहरूमा तीब्र प्रकारको नकारात्मक मनोविकार उन्माद उत्पन्न हुन्छ | त्यसो नकारात्मक उन्मादले उनीहरूलाई "प्रलाप" गर्न टेलिभिजन, रेडियो, पत्रपत्रिका सबैतिर पुर्याउँछ |

आफ्नै धर्म, संस्कृति र चालचलनप्रति अतिघृणा गर्नेहरू मनोबैज्ञानिक रूपमा अस्वाभाविक हुन्छन् | अनुसन्धानहरूले तेस्तो मनोबैज्ञानिक समस्या हुनुमा तिनको पारिवारिक पृष्ठभूमिआदि जिम्मेदार रहेको हुन्छ | सबै सरल बाटो हिंडिरहेको अवस्थामा चर्चाको भोक, प्रगतिवादी देखिने मानसिक रोग र आफ्नो असल पारिवारिक जीवनको कुण्ठा "तीज"जस्ता पर्वहरू विरुद्ध बोलेर प्रकट गर्छन् | अचम्मको कुरा के भने एस्ता धेरैजसो प्रगतिशीलहरूको पारिवारिक जीवन असफल रहेको हुन्छ | आफ्नो पारिवारिक जीवनको असफलताको कुण्ठाले आफ्ना मौलिक चाडवाडलाई असफल गर्न अभिप्रेरित गर्छ |

जे होस्, कुकुरहरू भुक्दै गरे पनि हात्ती हिड्न छोड्दैन | कौवा कराउंदै गर्छ पीना सुक्दै गर्छ | कथा नै होला तर पर्वतकी छोरी पार्वतीले शिवसंग प्रेम गरेकै हो | आफुलाई मन परेका प्रेमी शिवसंग विवाह गर्ने मनसायले निराहार रहेर शिवको आराधना गरेकै हो र अन्त्यमा पार्वती र शिवको विवाह भएकै हो | सनातन धर्मको परम्परामा सबैभन्दा सफल वैवाहिक जीवन शिवपार्वती कै भएको मानिन्छ | जसले जे-रीस गरे पनि नेपाली महिलाको अन्तरात्माको गहिराईमा शिव तथा पार्वतीको जस्तो प्रेममय दाम्पत्यजीवन आफ्नो पनि होस् भन्ने छ र हुनुपर्छ |

कसैलाई "तीज" मन न पर्न सक्छ | यो एउटा स्वाभाविक तत्थ्य हो | कसैलाई तीज औधि मन पर्न सक्छ - यो पनि स्वाभाविक हो | तर एउटा ठूलो समुदायले श्रद्धा, आस्था, विश्वास र भक्ति पूर्वक मान्ने र तेसबाट आफ्नो सबैभन्दा निकटको मित्र, हितैषी तथा सहयोगी "पति"को स्वास्थ्य जीवनको कामना गरेर प्रेम प्रदर्शन गर्ने अवसरप्रति विष-बमन गर्नु अस्वाभाविक हो | तीजमा ब्रत बस्नैपर्छ, देवीदेवताको पूजा गर्नैपर्छ, पतिको गोडा ढोग्ने पर्छ भन्ने केही छैन | तीजले पतिपत्नी वीच रहेको प्रेमलाई रिफ्रेस गर्छ, आत्मीयता बढाउन मदत गर्छ भने कसैलाई किन "टाउको" दुखाउनु पर्यो ?

विविध कारणले चेली रमाइतीको सम्बन्ध विग्रिएको हुन्छ | मैले एस्ता धेरै परिवार भेटेको छु | तर जस्तोसुकै मनमुटाव भए पनि तीजले "माइती र छोरी" विच मिलन हुन्छ | अरू बखत रिसाए पनि तीजको बेलामा माइतीले छोरी र छोरीले माइती खोज्दछन् | दिदीबहिनीहरूको मिलन हुन्छ | दाजुभाई र दिदीबहिनी विच पुन: एकपटक बाल्यकाल फर्किएर आउँछ | फेरी बाल्यकालका सखीहरू विच तँ-तँ मम जीवन्त हुन्छ | एकदुई दिन भए पनि चेलीहरूले आमाको बाल्यकालीन काखमा लाडिने मौका पाउँछन् | एस्तो सुन्दर र मीठो पर्व हामीसंग मात्र छ |

तीज सरकारले बनाएको कानुन होइन | मुस्लिम धर्म गुरुले फरमान गरेको "फतवा" होइन | इसाई धर्म गुरुको "परमेश्वर घोषणा" होइन | कुनै पनि हिन्दू ग्रन्थले तीज नमान्ने महिलालाई सार्वजनिक चौकमा लगेर "कोर्रा" बसाउनु पर्छ भन्ने आदेश दिएको छैन | संस्कृति र परम्परा देखासिकीले सिक्ने सिकाउने हो | केही महिलाले देखासिकी गर्छन् | केहीले बुझेर गर्छन् र केहीले धर्म ठानेर मान्छन् | तर बाध्यता कतै छैन | तैपनि तीज "अन्धविश्वास हो, पुरुषहरूले महिलालाई दास बनाउन गरेको षड्यन्त्र हो" जस्ता घटीया मान्छेका घटीया सोचहरू सुनिन्छ |

तीजको दार्शनिक पाटो छ - यो पर्वले परमतत्वसंग आत्मिक मिलनको गी ब्यबहारिक प्रेरणा प्रदान गर्छ | एसले विश्वभरीका महिलाहरूमा सौन्दर्य, प्रेम तथा एकत्वका लागि अभिप्रेरित गर्छ | एसमा परमतत्वप्रति समर्पण, आत्मप्रति प्रेम र प्रकृतिप्रति सम्मान व्यक्त गरिन्छ | शिव अर्थात् शान्ति तथा पार्वती अर्थात् स्थिरताको लागि "शिवपार्वती"को आराधना गरिन्छ | सत्यं, शिवम् सुन्दरम् को मानवीय अभिव्यक्ति नै तीजको लक्ष हो |

तीजको मनोबैज्ञानिक पाटो छ - कुनै कारणले मन बिग्रेका चेली र माइती, पति र पत्नी, संगी साथीहरूले एकआपसमा भलाकुसारी गर्न पाउँछन् | मानसिक तनाव, निराशा, अशान्तिजस्ता मनोरोगहरू गीत, नाचआदिका माध्यमबाट बाहिर पोखिन्छन् | भगवानको कृपाले सबैप्रकारका खराव सम्बन्धहरू मेटिन्छन् भन्ने विश्वास बलियो भएर मानसिक शान्ति मिल्छ | मन चङ्गा हुन्छ | माइती, परिवार तथा साथीसंगको स्वच्छन्द मनोरंजनले मन, शरीर तथा चिन्तन रिफ्रेस हुन्छ |

तीज "प्रेम" बढाउने पर्व हो | प्रेमको मामिलामा जवर्जस्ती नगरौं | सकिन्छ भने भोको बसौं सकिन्न भने बलजफत नगरौं | शरीर रहेन भने तीजको रमाइलो पनि रहन्न | उपवासको अर्थ भोकै वस्नु होइन - ईश्वरको नजिक हुनु हो | भोकै, प्यासै स्वास्थ्य बिग्रन्छ भने एसबाट जोगिएको राम्रो | सजिलैसँग भोक-प्यास जित्न सकिन्छ भने धेरै राम्रो | प्रेम, श्रद्धा विश्वासका मामिलामा जवर्जस्ती नगरेको उचित हुन्छ |

तीज विश्वब्यापी बनेको देख्दा छाति फुल्छ तर विकृति बढेको देख्दा चित्त बुझ्दैन | तीज मानौ, मनाऔं तर विकृतिबाट जोगिएर | तीज हामी नेपालीको जरोकिलो, हिन्दु संस्कार र सभ्यताको जीवन्त प्रयोग हो | हामी सबै मिलेर तीजलाई "विश्व महिला" दिवसका उपमा विकसित गर्नतिर लागि पर्नु उचित हुन्छ | सबै दिवसहरू विदेशी नै हुनुपर्छ भन्ने छैन | इतिहास, परम्परा तथा सभ्यताको दृष्टिकोणले समेत तीज विश्वको सबैभन्दा पुरानो महिलाहरूल;ले मनाउदै आएको चाड हो |

तेसैले श्रीपशुपतिनाथ मन्दिर, हनुमान ढोका, चाँगुनारायण मन्दिर, बूढानीलकण्ठ, मायादेवी मन्दिर युनेस्कोको संरक्षणमा परेझैं तीज पनि सबैभन्दा प्राचीन महिला पर्वको रूपमा संरक्षित भै "विश्व नारी दिवस"का रूपमा मनाउने पहल गर्नुपर्छ | नेपाल सरकारले पनि एसको लागि पहल गर्नुपर्छ | मातृशक्तिको महान चाडका अवसरमा हार्दिक शुभकामना | विश्वका मातृशक्ति एक हुनका लागि पनि तीजको प्रगति होस् |

कपिराइट : गोविन्दशरण 

ठूलोसानो जात एसरी बनेको रहेछ !!

ठूलोसानो जात एसरी बनेको रहेछ !!
जुन ब्राह्मणले वनमा निवास गर्दै प्राकृतिक रूपमा उम्रेको अन्न, फलको भोजन गर्दै सधैं श्रद्धापूर्वक ब्रह्मतत्वको उपासना गर्छ, एस्तो ब्राह्मणलाई ऋषि भनिन्छ | ११/१४

एक पटकको भोजनले सन्तुष्ट हुने, सधैं षड्कर्म गर्ने(दान दिने दान लिने, यज्ञ गर्ने यज्ञ गराउने र वेद पढ्ने वेद पढाउने) ऋतुकाल प्राप्त गरेकी आफ्नी पत्नीसंग शारीरिक सम्बन्ध बनाउने ब्राह्मण द्विज हुन्छ | ११/१५

लौकिक कर्ममा लागेको, पशु पालन गर्ने र ब्यापार-कृषि कर्म गरेर जीवन यापन गर्ने ब्राह्मण वैश्य हुन्छ | ११/१६

अर्काको काम विगार्ने, अभिमान गर्ने, आफ्नो मात्र स्वार्थ हेर्ने, अर्कासंग छलकपट र शत्रुता गर्ने क्रूर ब्राह्मण मार्जार अर्थात् विरालोझैं हुन्छ | ११/१७
पधेरो, कुवा, तलाव, उपवन, बगैचा र पाटीपौवाहरू नसोची नष्ट गर्ने ब्राह्मण नै म्लेच्छ अर्थात् शूद्र हुन्छ | ११/१८

देवधन, गुरुधन, अर्काकी पत्नीसंग जवरजस्ती दुराचार गर्ने जोसंग पनि बसेर जस्तोसुकै भोजन गर्ने ब्राह्मण चण्डाल हुन्छ | ११/१९

एसरी संसारका जातिहरूको निर्माण भएको हो | आरम्भमा सबै ब्राह्मण थिए | उनीहरूले जस्तो कर्म गरे कर्मका आधारमा जात निर्मित हुँदै गयो | आज पनि नीच कर्म गर्ने व्यक्तिहरू छन् | ब्राह्मण परिवारमा जन्मेर केही हुन्न | कर्मले उसको जात निर्धारित हुन्छ |

श्रीमद्भगवत-गीतामा भने हरेक व्यक्ति जन्मदा शूद्र हुन्छ भनिएको छ तर कर्मलाई नै आधार मानेर जातको विभाजन भएको छ | चाणक्यले भने अमृत-सन्तानका रूपमा मान्छेले जस्तो कर्म गर्छ उस्तै जात हुन्छ भन्ने अभिमत व्यक्त गरेका छन् | यहाँ सीपका आधारमा होइन आचरणका आधारमा जातपातको ब्याख्या भएको छ |

एसरी जातजातिको विषयलाई बुझ्ने हो भने पूज्य र निन्दनीय कर्म हो, जन्म होइन | जन्मका आधारमा कुनै पनि अछूत हुँदैन | अपराध कर्म गर्नेहरू नै म्लेच्छ अर्थात्मशूद्र हुन्छन् | महापण्डित चाणक्यले २३ सय वर्ष पहिले नै यो तत्थ्य चाणक्यनीतिमा स्पष्ट गरेका थिए |

कपिराइट : गोविन्दशरण 

कथा : पुरोहित

था : पुरोहित 
विजयले पोहोरमात्र वाल्मीकि क्याम्पसबाट संस्कृतमा शास्त्री उत्तीर्ण गरेको हो | उसंगै पढेका साथीहरू अंग्रेजी मिडियमका कलेजबाट विज्ञान, ब्यबस्थापनआदि विषयमा परीक्षा उत्तीर्ण गरेर जागिरको खोजिमा छन् |

तर विजयका लागि जागिरको खाँचो छैन | पहिलेपहिले संस्कृत पढेको भनेर होच्याउनेहरूको मुख वन्द छ | हरेक दिन तीनचार ठाउँमा गरेको कर्मकाण्ड र तेसमा प्राप्त दक्षिणा उसको परिवारको लागि मनग्गे छ | अर्कोवर्ष घडेरी किन्ने विषयमा छलफल हुँदैछ |

हिजोका दिनमा विजयको मन केही खिन्न थियो संस्कृत पढेकोमा तर आज उ खुसी छ | किनभने उसले पढेको विद्याको सम्बन्ध र उपयोगिता हरेक नेपालीको वास्तविक जीवनसंग जोडिएको छ | जन्मदेखि मृत्यु र मृत्युपछि समेत उसले जानेको/सिकेको शीपको उपयोग छ |

उसले कुनै पनि यजमानसंग "ज्याला" तोकेर सेवा प्रदान गरेको छैन र गर्ने पनि छैन | यजमानले स्वेच्छाले दिएको दक्षिणा र पूजाआजाका क्रममा प्रयोग गरिएका सामग्रीमा ऊ प्रसन्न छ | साथै,आफ्नो कामप्रति गौरव गर्छ किनभने उसको यो कार्यले मौलिक धर्म, संस्कृति तथा परम्पराको रक्षा भएको छ | आफ्नो जरोकिलो तथा वैदिक संस्कृतिको सेवा भएको छ |

ऊ आफ्नो काममा गर्व गर्छ किनभने उसको कामले संसारको प्राचीनतम सभ्यता र संस्कृति जीवन्त हुन्छ | उसको मनमा आफ्नो निन्दा गर्नेप्रति पनि कुनै घृणा र रीस छैन किनभने घृणा गर्नेहरूले पनि जीवनको नै मोडमा उसले वा ऊ जस्तै पुरोहितले सेवा दिनेछन् | एउटा ब्राह्मणले कसैसंग घृणा गर्न सक्दैन किनभने उसले "सम्पूर्ण विश्वलाई बान्धव ठान्नु" भनेर सिकेको छ | यसरी निन्दा गर्नेहरू पनि बन्धु नै हुन् - उसको बुझाई छ |

गङ्गाबाट बोल्गासम्म

ङ्गाबाट बोल्गासम्म 
भारतीय वामपन्थी लेखक राहुल संास्कृत्यायनका साहित्यको नेपाली वामपन्थी विद्वानहरूमा निकै प्रभाव पारेको देखिन्छ | अझैं खरो शब्दमा भन्दा नेपालका बामपन्थी विचारकहरूले "सबैभन्दा वढी" उद्धरण गर्ने र परिचर्चा गर्ने मध्ये संास्कृत्यायनका पहिलो भारतीय वामपन्थी र दोस्रोमा देवीराम चट्तोपाध्याय पर्छन् |

वनारस र वृन्दावनमा रहेर संस्कृतको अध्ययन गरेका मोदनाथ प्रश्रित, बनारस हिन्दू विश्वविद्यालयमा दर्शनशास्त्र पढेका मदनमणि दीक्षित, बुटवलका गोपीरमण, विराटनगरका नारायण आचार्य र राजनीतिज्ञ वेदुराम भुषालमा प्राचीन संस्कृत र संस्कृतिको गहिरो प्रभाव देखिन्छ 

उमेरको दृष्टिले हेर्दा मदनमणि दीक्षित सबैभन्दा बृद्ध भए तापनि दार्शनिक भएको नाताले उनले घटनाको विश्लेषण अलि बौद्धिक तवरले गर्छन् | उनले लेखमा संास्कृत्यायनकाको चर्चा त गरेको भेटिन्न तर "भोल्गा से गंगा तक" भन्ने कपोलकल्पित इतिहासमा उनका लेखहरू रुल्मुलिएका छन् | माधवी होस् अथवा उनका अन्य लेखहरू "साम्यवादी' सोचबाट उत्प्रेरित छन् |

मदनमणि दीक्षितले कपोलकल्पित (भोल्गा से गङ्गा तक) इतिहासको वरिपरी रहेर वेदको ब्याख्या गर्ने असफल प्रयत्न गरेका छन् भने सरस्वती सभ्यता मास्नेकाममा आर्यहरूको दोष देखेका छन् | यद्यपि उनको मनमा हिन्दू-सभ्यताप्रति ठूलो आस्था छ | आजभोली त झन् हिन्दू संस्कृतिको पक्षमा" वकालत गरिरहेका छन् | तर मदनमणि दीक्षितमा मोदनाथ प्रश्रितआदिले प्रस्तुत गरेको काल्पनिक इतिहास छैन | उनले सकेसम्म इतिहासलाई समाउने प्रयत्न गरेका छन् | 

मोदनाथ प्रश्रित संस्कृतक विद्वान् हुन् | उनले संास्कृत्यायनकाबाट प्रभावित भएर नै "देवासुर संग्राम" भन्ने काल्पनिक काब्य लेखे तर बामपन्थी चिन्तनबाट प्रभावित नेपालीहरूले यसलाई "यथार्थ" ठाने | मानव महाकाव्य पनि यो भन्दा फरक छैन | उनी आफ्नो मार्क्सवादी सोच स्थापित गर्न वेद, उपनिषद् तथा पुराणका संस्कृत श्लोकहरूको बडो चतुरतापूर्वक अनर्थ गर्छन् | अर्को शब्दमा, उनले सक्ने भए सम्पूर्ण संस्कृत-रचनालाई वामपन्थी चिन्तन सिद्ध गर्न प्रयोग गर्थे |

मैले सुनेअनुसार बामपन्थी चिन्तक नारायण आचार्य, गोपीरमण उपाध्याय तथा वेदुराम भुषालको शैक्षिक पृष्ठभूमि पनि संस्कृत नै हो | यद्यपि अहिले सत्तामा रहेका अधिकाशं नेताहरू संस्कृत नै पृष्ठभूमि रहेको बुझिन्छ | अचम्मको कुरा के भने उपरोक्त सबै नेपाली बामपन्थी चिन्तकहरू हिन्दूराष्ट्र, हिन्दुत्व वा हिन्दूराजाको पक्षमा नभए पनि "हिन्दू संस्कृति नै सबैभन्दा मानवतावादी सभ्यता" भएकोमा गर्वगर्नु पर्ने पक्षमा छन् |

विद्वान मदनमणि दीक्षित र मोदनाथ प्रश्रित "नेपाल सांस्कृतिक हिन्दूराष्ट्र"का पक्षमा खुलेर लागि सकेका छन् भने खुलेर नबोले पनि गोपीरमण उपाध्याय र विष्णु प्रभात पनि एसैलाइनमा उभिएका छन् | प्रश्रित, प्रभात आदिले आफुलाई बौद्ध भनेर जोगाउन थालेका छन् भने गोपीरमण उपाध्यायआदिले हिन्दू धर्म त्यागेको घोषणा गरेका छैनन् |

तर यी सबैसंग मेरो एउटा साझा प्रश्न छ "भोल्गाबाट आर्यहरू गङ्गासम्म आउन सक्छन् भने गङ्गाबाट भोल्गातिर आर्य गएका किन हुन सक्दैनन्" र "वेद र उपनिषद्"मा भोल्गाको एकपटक पनि किन नाम नआएको र जताततै सिन्धू, गङ्गा सरस्वती कै नाम किन आएको ?"

जे-होस्, संस्कृत्यायनको साहित्यको हेगओवरले गर्दा आजसम्म नेपाली आफैले आफ्नो इतिहास लेख्ने, बुझ्ने प्रयत्न गर्ने आरम्भ गरेका छैनन् | मदनमणि र मोदनाथ नै हिन्दू "जरोकिलो"मा फर्किनुपर्ने आग्रहमा उत्रेपछि अव हामीले "वामपन्थी र पाश्चात्य" इतिहासको समीक्षामा किन अवेर गर्नु ?

अधिकार : गोविन्दशरण उपाध्याय 

दानको रकम कहाँ जान्छ ?

दानको रकम कहाँ जान्छ ?
धेरैजसो नेपाली इसाई विद्वानहरूले २०७३ को मतगणनाले नेपाली इसाईको संख्या ज्यादैकम देखाएको भनि गुनासो गरेका छन् | उनीहरू नेपालमा इसाईहरूको संख्या ३० देखि ५० लाखको हाराहारी रहेको विश्वास गर्छन् | तर नेपाल सरकारको तत्थ्यांकले भने सम्पूर्ण जनसंख्याको १.५.% अर्थात् ४ लाख ६५ हजार इसाई रहेको ठहर गर्छ |

इसाईहरूको धर्म ग्रन्थ बाइबलले धर्मपरिवर्तन गराउने विषयमा स्पष्ट बोलेको छैन तर इसाई अगुवाहरू "सू-समाचार" विश्वभरी फैलाउनु पर्छ भन्ने मान्यताका साथ अगाडी बढिरहेका छन् | विश्वभरी छरिएर रहेका विभिन्न सम्प्रदायका इसाईहरू गैर-इसाईहरूलाई "इसाई बनाउन सके" ठूलो पुण्य कमाएको ठान्छन् | मैले भन्नुपर्दैन, नेपालमा पनि इसाई अगुवाहरूको प्रमुख र पहिलो प्राथमिकतामा नेपालका गैर-इसाई समुदायलाई "इसाई बनाउनु" रहेको छ र २०४७ पछिको राजनैतिक परिवर्तनपछि धर्मपरिवर्तनका लागि नेपाल निकै उर्वर रहेको "जसुवा-प्रोजेक्ट"ले देखाएकै छ |

इसाई पन्थ स्वीकार गरेपछि प्रत्येक इसाईले आफ्नो कमाईको १०% चर्चलाई अनिवार्य रूपमा भेट गर्नुपर्ने ब्यबस्था बाइबलले गरेको छ | र नयानया इसाईहरूले यो मर्यादा उलंघन गरेको निकै कम पाइन्छ | सन् २०१८ मा प्रत्येक नेपालीको सरदार आम्दानी वार्षिक ११२४०७.६८ रहेको नेपाल राष्ट्र वैंकको तत्थ्यांकले देखाएको छ | यदि नेपालमा इसाईहरूको जनसंख्या ४० लाखको हाराहारी मान्ने हो भने पनि उनीहरूसबैको वार्षिक आय ४४९६३०७२००,००/- रहेको देखिन्छ भने यसको १०% रू ४४९६३०५६०००/- वार्षिक हुन्छ | यसरी नेपाली चर्चहरूले नेपाली बजेटको करिव ८.६% रकम पाउँछन् | एतिधेरे रकम नेपालको कुनै बजेटमा एकसाथ विनियोजित हुँदैन |

उपरोक्त रकममा विदेशबाट इसाई धर्मको विस्तारको लागि प्राप्त हुने रकम जोडिएको छैन | यसरी विचार गर्दा, धेरै भारतीय धार्मिक संस्थाहरूले नेपाली भक्तहरूबाट रकम सङ्कलन गरेर भारत लैजाने गरेझैं इसाई धर्मगूरुहरूले पनि १०% रकम मध्ये ठूलै रकम विदेश लैजाने गरेको सहजमै अनुमान गर्न सकिन्छ | इसाईभक्तहरूबाट सङ्कलित रकमको १०% पनि नेपालमा खर्च गर्ने हो भने वार्षिक २८००० कक्षाकोठा, पचहत्तर ७७ जिल्ला मै स्वास्थ्य चौकी तथा अन्य धेरै आधारभूत सेवाहरूको विस्तार हुनसक्छ |

यसरी नेपालमा संचालित विदेशी इसाई धर्मका प्रचारकहरू नेपालको कल्याण गर्न होइन आफ्नै कल्याण गर्न नेपाल आएका हुन् भनेर बुझ्न गारो हुँदैन | उपरोक्त तत्थ्यांक (मेरो व्यक्तिगत अनुमान) भए तापनि मिथ्यांक हुनैसक्दैनन् | जसरीजसरी नेपालमा इसाईको सङ्ख्या बढ्ने छ तेसरी नै १०% रकम पनि बढ्ने छ र एकदिन सम्पूर्ण अर्थतन्त्रको १०% रक,रकम देशबाट वाहिर जाने छ | १० वर्षमा देशको १००% बजेट नै वाहिर जानेछ | यसरी देश टाट पल्टने छ कि भन्ने अनुमान गर्छु |

एतिहुँदाहुँदै पनि आफ्नो आधारशीला (स्थायी लूटको भाँडो) बनाउन हालका दिनहरूमा पश्चिमा र कोरियनहरूले नेपालमा ठूलै लगानी गरेका छन् | समाजकल्याण परिषदबाट सम्वन्धन प्राप्त गरेका २३४५ इसाई गैरसरकारी संस्थाहरूले वार्षिक अरवौं रुपैया स्वीकृति लिन्छन् | नेपालमा क्रियाशील कारितासजस्ता बहुराष्ट्रिय संस्थाहरूको खर्च यसमा जोडिएको छैन | कारितास, युनाइटेड मिसन टू नेपाल, प्लान नेपाल, लुथरन नेपाल, मर्सी मिसन, वर्डभिजनआदि संस्थाहरूले नेपाल सरकारलाई नटेर्ने समाचार त धेरैपटक बाहिरिएकै हुन् |

असलमा धर्मप्रचारका नाममा आफ्नो ढुकुटी भर्ने उद्देश्यले विदेशी मिसनरीहरू संचालित छन् भन्ने कोणबाट पनि हेर्नु उपयुक्त हुन्छ कि भन्ने मेरो मान्यता र सुझाव रहेको छ | नेपाल र नेपालीलाई माया गर्ने नेपाली इसाई समुदाय र अन्य विज्ञहरूले समेत यो पाटोबाट हेर्नेकाम गर्नुपर्छ | नेपालीले इसाई धर्म स्वीकार गरे तापनि निजहरूको जरोकिलो नेपाली धर्म, संस्कृति तथा परम्परा मै छ भन्ने तत्थ्य न विर्सनु हुन्छ | जुन धर्म स्वीकार गरे पनि आत्मा र स्मृति त नेपाल नै हुनेछ |

नेपाली इसाईहरूप्रति मेरो गुनासो एत्ति हो कि उनीहरूले आफुले दान दिएको रकमको हिसाव-किताव राख्न र सोध्न अग्रसर हुनुपर्छ | आफुले दान गरेको रकमबाट विद्यालयहरू बन्न सके, अस्पतालहरू बने सुविधा पाउने इसाई समुदाय र इसाई समुदायका गैर-इसाई आफन्तले नै हो | एकातिर "हामी सेवाकारी हौँ भन्ने अर्कोतिर सर्वसाधारण इसाईले दिएको दानको सदुपयोग भएको छ कि छैन ? भनेर न सोध्ने सम्मको वेहोसी अनुचित हो |

कपिराइट : गोविन्दशरण 

राज्यराष्ट्र : जहाँबाट घृणावाद जन्मियो

राज्यराष्ट्र : जहाँबाट घृणावाद जन्मियो
विचारक मदनमणि दीक्षित लेख्छन् "काठमाडौँका राजा जयप्रकाश मल्ल पराजित भएर भागेपछि मात्र हनुमान ढोकामा बसेर बडामहाराजाधिराजले राज्यव्यवस्थालाई पुर्वबत चलाई राखेका थिए" | (हिन्दू संस्कृतिको परिशीलन पृष्ठ ४००) अर्थात् उनले उपत्यका जितेपछि पनि यहाँका कुनै पनि परम्परागत विषयहरूमा हस्तक्षेप गरेनन् | यो २६० वर्ष पहिलेको नेपाली इतिहासलले नेपाल राज्यराष्ट् भएको प्रस्ट पार्छ | यदि यही आक्रमण कुनै जर्मन, इंगलिस, फ्रेन्चले गरेको भए के हुन्थ्यो होला ?

कुनै पनि हिन्दू राजाले पराजित गरेको राज्यलाई लुटेको इतिहास (केही अपवाद बाहेक) पढ्न पाइन्न | कुनै पनि राजाले आफुले जितेको राज्यको राजाको हत्या गरेको वा निजको राज्यबाट वेदखल गरेको पनि पढ्न पाइन्न | नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले पनि आफुले जितेका राज्यका राजाहरूलाई नै कूत तिर्ने गरी रजौटा बनाएका थिए |

जितेको राज्यलाई पूर्णतया नष्ट गर्ने, तेहाका पुरुषहरूलाई मारेर दासी बनाउने, पुरुषहरूलाई दास बनाउने र अन्नपात लुटपाट गर्ने आगो लगाउने जति काम पश्चिमाहरूले गर्ने गरेको इतिहास छ | गयासुद्दीनले काठमाडौँ उपत्यकामा आक्रमण गरेर पहिलो पटक आगो लगाएको थियो | आफु र आफ्ना वाहेकका जनतालाई जिउनै नदिने सोच आयातित हो |

राज्यराष्ट्रका आठबटा पद्धति (ऐतरेय ब्राह्मण ८-१५-३९-१ )अन्तर्गत जुन सुकै पद्धतिको शासन ब्यबस्था किन नहोस्, ती शासन ब्यबस्थाको मूलमर्म र मन्त्र एकै थियो "विश्वभरिका मान्छेहरू आफ्नै बान्धव हुन्, आफु पनि बाँच र अरूलाई पनि बाच्न देउं |" एकअर्काको सम्मान गर |

साम्राज्य, भोज्य, स्वाराज्य, वैराज्य, पारमेष्ठ्य राज्य, महाराज्य, अधिपत्यमय राज्य सामन्त पर्यायी राज्य - यी आठ राज्यराष्ट्र अन्तर्गतका राज्यसंचालन पद्धति हुन् | यी बाहेक जानराज्य, गणराज्य अविराज्यको पनि अस्तित्व रहेको मदनमणि दीक्षितले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् | हरेक ब्यबस्थाका आ-आफ्ना विशेषता छन् | यी ब्यबस्था वारे अझैं बुझ्न डा. निर्माणमणि अधिकारी र डा. गोविन्दशरण उपाध्यायले लेखेको "राज्यराष्ट्र : अवधारणा र सिद्धान्त" नामक पुस्तक पढ्न अनुरोध गर्छु |

प्राचीनकालमा यी मध्ये कति क्रियाशील नै रहे भन्न सकिने स्थिति छैन तर नेपाली सामाजिक, सांस्कृतिक तथा ब्यबहारिक जीवनमा आज पनि जीवन्त छन् | पश्चिमाहरूले लाख प्रयत्न गर्दा पनि "संगै बस्ने, संगै भोजन गर्ने, सुखदुख संगै वाड़ने र आगत्नुकहरूलाई समेत आफूमै समाहित गर्ने जीवन पद्धति" हामी वीच जीवित छ | एसको सीधा अर्थ हो - नेपाली समाजले कुनै पनि धर्म, सम्प्रदाय तथा मान्यता प्रति घृणा व्यक्त गर्न सक्दैन | बरू आँखा चिम्लीदिन्छ |

प्राचीन राज्यराष्ट्रको ब्यबस्थालाई तिलान्जलि दिएर आधुनिकताका नाममा नेपालमा "राष्ट्रराज्य" लादिएपछि वर्तमानको एकअर्कालाई स्वीकार नगर्ने, एकअर्काको अस्तित्व समाप्त पार्ने, एकअर्काप्रति जातीयता, भूगोल र वर्णका आधारमा घृणा गर्ने र एकअर्कोलाई "नीचा" देखाउन विदेशीहरूबाट सहयोग प्राप्त गर्ने मानसिकताको विकास हुनुनै थियो | राज्यराष्ट्रमा राजा पनि प्रजाको अभिमतले चल्नु पर्ने भएकाले "निर्विकल्प" हुँदैथ्यो |

एउटा भूगोल, एउटा जात, एउटा भाषा र वर्णको वर्चस्वलाई स्थापित गर्ने मूलमर्म बोकेको राष्ट्रराज्यले स्वभावत: छिमेकीको अस्तित्वलाई अस्वीकार नगरी उदेश्य प्राप्त गर्ने कुरै थिएन | अंग्रेज तथा पोर्चुगीजहरूसंग भित्रिएको "राष्ट्रराज्य"ले आज पनि भारतवर्षीय उपमहाद्वीपमा आफ्नो बर्चश्व स्थापित गर्न सङ्घर्ष गरिरहेको छ | विडम्वना भन्नुपर्छ - पश्चिमा पद्धतिमा पढेका विद्वानहरू, पश्चिमा राजनैतिक चिन्तन र पद्धतिलाई सबैथोक मान्ने नेतृत्वले "टुप्पी"को जोड लगाउँदा समेत नेपाली र भारतीय समाज घृणावादीमा रुपान्तरित भएको छैन | एकता र समन्वयमा रहने प्राचीन पद्धति सामाजिक जीवनमा जीवित छ |

मान्छेको रंग, भूगोल, भाषा तथा जातीताका आधारमा घृणा गर्नेहरू राष्ट्रराज्यवादी हुन् भने उपरोक्त विविधता नै सहवासला आधार हुन् भनेर ठान्नेहरू राष्ट्रराज्यवादी हुन् | बाटो तय गर्ने जिम्मा पाठकलाई ?

सेलेब्रेटी हुनुको पीडा : घर न घाट

सेलेब्रेटी हुनुको पीडा : घर न घाट
मेरो कुरा कसैले बुझ्ने प्रयत्न नै गर्दैन | उनीहरूलाई लाग्छ, मेरो अनेकौं पुरुषहरूसंग शारीरिक सम्वन्ध छ | घरमा शंकाको नजरले हेर्छन् | सहकर्मी पनि ताक परे तिवारी नत्र गोतामे छन् | उनीहरू पनि मेरो "महिलापन"को फाइदा नै उठाउन खोज्दछन् | आफुलाई मन पर्ने र जानेको काम यही हो | रातविरात सुटिंग हुन्छ | जानु नै पर्यो | काम गर्नुनै पर्यो | परिवारबाट कसैलाई संगै राखौं भने कहीं निर्माताले खर्च दिंदैनन्, कहीं आफन्त (लोग्ने, आमा) संगै जान चाहनन् | तेसमा पनि "फेन"हरूले समेत "नराम्रो" कमेन्ट गर्छन् | सामाजले चिन्छ तर परिवारले इज्जत गर्दैन | आज भोली एक्लो भएको छु | समय मिल्दा साथ रुन मन लाग्छ, अनि रून्छु | मेरो मनको कुरा कोसँग भनुँ ? म आफै भित्र निखी सकें | म बाँच्न चाहन्छु - २८ वर्षीय विवाहित सेलेब्रेटीले आफ्नो मनको कुरा पोखिन् |

(अ) उनी नेपालमा नाम चलेकी हिरोइन हुन् | उनीसंग गाडी, घर, आफुलाई खर्च गर्न पुग्ने पैसा छ |उनले गहभरी आँसु काडेर मसंग भनिनन् "हरेक पल फेनहरूले उनको चासो राखछन् | तर श्रीमान्ले भने कुरै बुझ्दैन | एकै पेसामा लागेको र चिनेजानेको भनेर प्रेम विवाह त गरियो | तर विवाहपछि सबै थोक बदलिएको छ | हामी वीच एकआपसमा अविश्वास, घृणाम तथा देखेको नदेखैं गर्ने प्रवृति बढेको छ | हामी पतिपत्नी भएर पनि पतिपत्नी होइन प्रतिद्वन्दीको जीवन बाँचिरहेका छौँ | केवल "फेनस्"मा हाम्रो क्रेज कम नहोस् भनेर संगै हिड्छौ, मुस्कुराउंछौं | मेरो जीवन नर्क छ | जीवन खानु न ओकल्नु भएको छ |

(आ) महँगो ठाउँमा ठूलो घर छ, गाडी छ, नोकर चाकर छन् | राम्रो जव छ | चालीसौं वसन्त पार गर्दै गरेका तिनले आँखाबाट आशु वगाउँदै भने "उनी सामाजिक कार्यक्रता हुन् | देश-विदेश जान्छिन् | राज्यका सबैठाउँमा तिनको पहुँच छ | सामाजिक, सांस्कृतिक, धार्मिक तथा परम्परागत पारिवारिक मान्यताप्रति उनको कुनै सम्मान छैन | उनको मन, मस्तिष्कमा "पुरुष विभेद" हो भन्ने भरिएको छ | उनी अरूका लागि आदर्श होलिन् तर म र यी छोराछोरीका लागि विष नै हुन् | उनी सधैं गुनासोमात्र गर्छिन् | कुनै पनि कुरामा उनी खुसी देखिन्न् | मेरो आवश्यकता केवल बालबालिका हुर्काउन र उनको शारीरिक भोक मेटाउने मात्र हो | उनकै लागि मैले आफ्नो युएनको जागिर छोडें तर उनीले मलाई बुझिनन् | केही बोल्यो वा संवाद गर्न खोज्यो भने "उत्पीडनमा फसाईदिने धम्कि आउँछ | यी बालबालिका र परिवारको इज्जतको लागि सबै सहँदै छु | अव साच्चिकै भन्ने हो भने जिउने रहर नै सकिएको छ |

(इ) "मैले नियमित रूपमा तिनले लेखेका लेखहरू, कितावहरू किनेर पढ्थें | मैले सधैं उनलाई आफ्नो आदर्शको रूपमा कल्पना गर्थें | एउटा कार्यक्रममा भेट भयो | माया बस्यो र विवाहपनि भयो | तर विवाह गरेपछि मात्र थाहा भयो, ऊ निकै अभिमानी, अर्काको कदर नगर्ने, धेरैसंग शारीरिक सम्वन्ध रूचाउने र कसैको पनि पर्वाह नगर्ने मान्छे रहेछ | विवाह गर्ने निर्णय मेरो थियो | तेतिविध्न राम्रो साहित्य सृजना गर्ने मान्छे एतिबिध्न निष्ठुरी हुन्छ भनेर मैले कल्पना पनि गर्न सक्दिन | म उसको लागि केवल यौनसुख दिने भाँडो हुँ | उसको प्रसिद्धि नै मेरो लागि घांटीको पासो बनेका छन् | यो मान्छेसंग न केटाकेटी सुख पाए, न मैले सुख पाएँ न उसका आमावुवाले नै"- उनी रोएको देखेर मैले पनि आफ्ना आँशु थाम्न सकिन |
...........................................................

मसंग भेटेका केही सेलिब्रेटी र तिनका आफन्तको यो अनुभव हो | एस्ता सेलेब्रेटीहरूमा नायक-नायिका, लेखक, चिकित्सक, वकिल र खेलाडीहरू छन् | तर यिनको संसार हामीले सोचे र विचारेझैं सरल छैन | एउटा विषयमा योग्यता प्राप्त गरेर "सेलेब्रेटी बन्नु राम्रो कुरा हो | विश्वका मान्छेका बीचमा चिनिनु राम्रो कुरा हो | आफ्नो परिवार, समाज र देशले तपाईंलाई "फोलो" गर्नु धेरै राम्रो कुरा हो | धन-सम्पत्ति कमाउनु, हर-हमेशा चर्चामा रहनु र धेरैले चाहेको "व्यक्ति"मध्ये पर्नु मनासिव नै हो | तर मसंग सहयोगका लागि आउनेहरूमा प्रसिद्ध डक्टर, अभिनेता, राजनैतिक व्यक्तित्व तथा तिनका आफन्त थिए र समस्याहरूको किसिम र ओरिजिन पनि फरक थियो |

उपरोक्त मान्छेहरूलाई भेटेपछि एउटा प्राकृतिक मान्छेको रूपमा मलाई लाग्यो - अहंकार, व्यस्तता तथा गलत-सङ्गतले गर्दा "सेलेब्रेटी"हरू मानसिक रूपमा सधैं पीडित रहने मध्येका प्राणी हुन् | सबै थोक हुन्छ तर उनीहरु मध्ये धेरैजसोको पारिवारिक जीवन हुँदैन | सेलेब्रेटीका धेरै फेन त हुन्छन् तर मिठो माया गरेर गाली गर्ने कोही हुँदैनन् | मायाको गीत गएर अरूलाई नचाउनेहरूको आफ्नै जीवन खल्लो हुन्छ |

तर तपाईंले मेहेनत गरेर कमाएको नाम, दाम नै तपाई की पत्नी, तपाईंलाई माया गर्ने पति, आफन्त वा परिवारलाई जोड्न सकेन भने त्यो चाहिं विडम्वना नै हो | अथवा यश र सम्पत्तिका लागि नै पतिपत्नीको प्रेम, आमाबुवाको आशिर्वाद र साथीसंगीको "मिठोपन" छोडियो भने दोस्रो विडम्वना हो | धनाढ्य हुँदैमा धेरैले चिनेको हुँदामा "आफन्त' छोडेर स्वच्छन्दतातिर उन्मुख हुनु विडम्वनाको आरम्भ हो |

यो तेस्तो अवस्था हो जहाँ एउटा सेलेब्रेटी वा उसका "पति वा पत्नी"हरू धेरै मान्छेहरूसंग घेरिएर पनि एक्लो हुन्छ | धेरै मान पाएर पनि एकान्तमा अपमानित हुन्छ | घोर निराशामा रुल्मुलिएर पनि "फेनका" लागि भनेर मुसुक्क हाँस्छ | विचारो सेलेब्रेटी ! ठूलो घर हुन्छ तर गृहस्थी हुँदैन, ठूलो मान हुन्छ तर मर्यादा हुँदैन, सबैतिर चाहने हुन्छन् तर ती मध्ये एउटा पनि "मन" बुझ्ने हुँदैन | न विवाहको टुङ्गो हुन्छ न त पारचुकेको नै |

एउटा कमसल "सेलेब्रेटी"ले आफ्नो चारैतिर अरूको लागि प्रकाश र प्रेरणा तर आफु र आफ्नै पतिपत्नी, आफन्तहरूका लागि काँडाहरू फलाएको हुन्छ | थोरै मात्र सेलेब्रेटी भाग्यमानी हुन्छन् : जसले आफ्नै प्यारी पत्नी, आफ्नो प्रिय पति वा आफन्तका लागि पनि मायाका फूलहरू आजीवन बिच्छ्याउँन् सफल हुन्छ |

कहीं सेलेब्रेटीको अहंकारका कारण उनका पति/पत्नी पिडित छन् भने कहीं पति/पत्नीको अज्ञानले आपसमा पिडित छन् | तेसपछि उनीहरूसंग एउटा मात्र काम रहन्छ : एकअर्कालाई दोष दिने, आफ्नो कमजोरी अर्कोमा थुपारेर आत्मरति गर्ने ! बरू दोष दिन खर्चिने समय "पार्टनर"को असलपना खोज्न लगाएको भए सेलेब्रेटीपनमा सुगन्ध भरिने थियो |

समस्याहरू सबैका घरमा हुन्छन् | सबैका एकनासे समस्या हुँदैनन् | परिवारलाई समय दिन नसक्ने चिकित्सकले हप्तामा एकदिन भए पनि पतिपत्नी, छोराछोरी, आमावुवाको लागि समय निकाल्नु पर्यो | यो उनीहरूको लागि जतिधेरै आवश्यक छ त्यो भन्दा बढी तपाईंका लागि आवश्यक छ | बाबुआमाको प्रेम\पूर्ण बोली, पत्नी/पतिको मीठो सिकायत, छोराछोरीको न्यानो स्पर्शमा तपाईंले कमाएको लाखौंलाख रुपैयाको भन्दा बढी मूल्य हुन्छ | एस्तो मूल्य बुझ्न तपाईं नै परिवारसंग हुनुपर्छ |

परिवारले पनि बुझ्नुपर्छ "सेलिब्रेटी" हुनु सजिलो काम होइन | एउटा सेलेब्रेटीले समाज तथा राष्ट्रका लागि धेरै थोक बलिदान गर्न बाध्य हुन्छ | उसको व्यक्तिगत जीवन हुँदैन | न उसले सुख भन्न पाउँछ, न दुख | उसले केवल अर्काको लागि खट्नुपर्छ | उसले आफन्तको प्रेम, परिवारको माया यहाँसम्म कि निजीपन पनि समाजका लागि सुम्पिएको हुन्छ | यो सबै थोकमा उसको इच्छा नहुन सक्छ | उसले आफ्नो जीवनलाई "सामाजिक-पुतली" बनाउनु पर्छ | उसको नियति नै एस्तो हुन्छ |

जव हामीले "अरू ले के गर्यो र के दियो' तिर बढी ध्यान हुन्छ र 'मैले के गरें र दिएँ' भन्नेमा वास्ता हुँदैन अनि, पारिवारिक समस्याहरू आरम्भ हुन्छन् | एस्ता समस्याहरू देखा पर्दा साथ सम्बोधनको वातावारण तय गर्नुपर्छ | सेलिब्रेटीहरूको हकमा "आइस-ब्रेक' गर्ने काम तिनकै हुन्छ | किनभने निजले परिवारमा अन्यका तुलनामा बढी महत्व पाएको हुन्छ | एसको लागि सबैभन्दा उपयुक्त ठाउँ भोजनको टेवल नै हो |

समस्या त समस्या नै हो | तर समस्याको उत्थान गर्दा सकारात्मक तवरले उठान गरिएको छ भने समापन पनि सकारात्मक रूपमै हुन्छ | नकारात्मक रूपमा अर्थात् कसैलाई ब्लेम गर्दै समस्याको उठान गर्दा समस्या अझैं बल्झिने हुन्छन् | सानो बोली, मीठो सम्बोधन, मबाट कुराको उठान र सद्भावको याचना - यी कुराले सकारात्मक संदेश जान्छ | वस, बोल्ने वा पहल गर्ने मान्छेले कुनै हालतमा पनि आफ्नो होस् गुमाउनु हुन् हुँदैन | वेहोसी नै सबै समस्याको जड हो |

सेलिब्रेटीको कामको प्रकृतिअनुसार समस्या पनि फरक-फरक हुन्छन् | तर समस्याहरू मध्ये सबैभन्दा गम्भीर चाहिं "परपुरुष वा परस्त्री"संग लागेको छ भन्ने आरोप हुन्छ | नेपाली समाजको सांस्कृतिक बनवटअनुसार एस्ता आरोपहरू निकै दुखदायी, पीडादायी हुन्छन् | केही आरोपहरू सत्य हुन्छन् भने केही आरोपहरू शंकाका आधारमा मोटाएका हुन्छन् | तर हामीले बुझ्नुपर्छ कि अनैतिक सम्बन्ध सजिलो हुँदैनन् | परिवार, समाज तथा आफ्नै व्यक्तित्वलाई नाश गर्ने बाटोतिर नगएकै राम्रो | यो लेख पढ्नेले आइन्दा करेक्सन गर्न सक्नुहुन्छ |

हरेक मान्छेले प्राकृतिक रूपमा भएको "भूल" स्वत: अग्रसरता लिएर स्वीकार्छ र सुधार्छ | तर भूललाई "वहाना" बनाउनेहरूले सधैं गल्ती गरेको नाटक गर्छन् | उनीहरू आफुलाई सुधार्न नै चाहन्नन् | हामीले बुझ्नुपर्छ - तपाईंको गल्तिको मूल्य परिवारले चुकाउनु त पर्छ नै तपाईं स्वयं पनि एसबाट पिडित हुनुहुन्छ | लुतो कन्याएर खुसी प्राप्त हुँदैन न सुख नै पाइन्छ | आफैलाई ढाट्ने मानिस संसारको सबैभन्दा दुखी प्राणी हो |

घृणाको ठाउँमा प्रेम, अविश्वासको ठाउँमा विश्वास, अहङ्कारको ठाउँमा स्वाभिमान, लान्छनाको ठाउँमा सम्मान, अभद्रताको ठाउँमा शालीनता, देखावटीपनका ठाउँमा यथार्थता, असत्यका ठाउँमा सत्य, असहयोगका ठाउँमा सहयोग, असहजताका ठाउँमा सहजता तथा नकाराम्कताका ठाउँमा सकारात्मकता भए "सेलेब्रेटी"को पारिवारिक जीवन पनि साच्चिकै "सेलेब्रेटी" नै हुने थियो | हरेक सेलेब्रेटीले एउटा तत्थ्य बलियोसँग मनमा राख्नुपर्छ "तपाईंको आफ्नो परिवार छ, तेसलाई तपाईंको प्रेम, सरलता, सहजता र एउटा प्राकृतिक मान्छेको सधैं खाँचो छ र तपाईं स्वयंलाई पनि तेही खाँचो छ |"

मैले भेटेका र चिनेका केही (लेखक, कलाकार, राजनेता) सेलेब्रेटीहरूको अनुभव र कथा सुनेपछि |

कपिराइट : गोविन्दशरण 

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...