Sunday, February 28, 2021

कठोर क्यान्सर !!!

क्यान्सर कस्तो रोग हो ? यो चिकित्सकलाई थाहा हुन्छ | लाग्नेलाई थाहा हुन्छ र लाग्नेलाई सहयोग गर्ने (आर्थिक तथा सामाजिक) थाहा हुन्छ | मैले पहिलो पटक केमोथेरापीमा लैजाँदा क्याविनमा बस्ने निर्णय गरें | यो सुनेर नर्सले भन्नुभयो "दाई, पांचपटक क्याविनमा वस्नमा खर्च गरेको पैसाले एउटा थप केमोथेरापी गर्न मिल्छ, विचार गर्नुस् | धेरैलाई यो सुझाव होच्याएजस्तो लाग्न सक्छ तर मैले स्वाभाविक लिएँ | धनले मात्र जोगिन्छ भन्नु उचित होइन तर धन भएर जोगिएकाहरू थुप्रै छन् | उनीहरू बाँचिरहेका छन् |

मैले देखे - चौथो केमोथेरापीले रोगीलाई गलायो, म सहयोगीलाई पनि नराम्रो गलायो | चिकित्सकलाई किन दोष दिनु | सरकारले क्यान्सरजस्तो ज्यानमारा रोगको औषधिको मूल्य तोक्न सक्दैन, एक लाख दिएर जनतालाई घर न घाटको बनाई रहेको छ | सच्च्चिकै भन्ने हो भने सरकारले दिने एक लाखले क्यान्सरको प्रारम्भिक अवस्थामा सहयोग गर्ला तर दोस्रो, तेस्रो र चौथो अवस्थाका रोगीहरूको रोगलाई जिस्क्याउने मात्र काम गर्छ | उनीहरू उपचार आरम्भ गर्छन् तर मृत्युसंग लड्ने क्षमता हुँदैन | अन्त्यमा सरकारी संविधानले ग्यारेन्टी गरेको जीवनको अधिकार सधैंका लागि गुम्छ |

मैले औषधि पसलेलाई सोधें "ई औषधीहरू एतिबिध्न किन महंगा हुन् ? उसले भन्यो सरकारले कुनै पनि औषधिको जेनेटिक मूल्य तोकेको छैन | हरेक कम्पनीले आफुखुसीको मूल्य तोकेर बेच्छन् | कुरो ठिकै रहेछ, नेपालमा अधिकांश क्यान्सरका औषधिहरू छिमेकी बंगलादेश वा भारतबाट आयात हुन्छन् | बंगलादेशमा ११ हजार टोका पर्ने औषधि नेपालमा ४४ हजारमा बिक्री हुन्छ - मसंग एसको प्रमाण छ | छिमेकी देश भारतमा गरीव रोगीहरूका लागि जेनेटिक औषधि पसलहरू छन् | यो तत्थ्य बुझेपछि मैले भने "सरकार नेपालीको तर नेताचाहिं विदेशीको, किनभने ११ हजारको औषधि ४४ हजारमा गरीव नेपालीका बीचमा बेच्न दिने सरकारको नेतृत्व गर्ने नेता नेपालीको सरकार हुनै सक्दैन |

प्रसिद्ध चिकित्सक उपेन्द्र देबकोटाको अवशान क्यान्सरबाट भयो | जव चिकित्सकलाई क्यान्सर रोग लागेको/नलागेको हेक्का हुँदैन भने एउटा साधारण मानिसले क्यान्सर रोग लागेको कुरा जान्न सक्दैन | धेरैजसो मानिसहरूले दोस्रो वा तेस्रो अवस्थामा मात्रै थाहा पाउँछन् | सरकारले संविधानका धाराहरू काटेर एकलाखमा मृत्यु दिन्छ | साधन सम्पन्न व्यक्तिले क्यान्सरको उपचार गराउन (आर्थिकरूपमा) गारो हुन्छ भने गरीव र जीवनका वीचमा सङ्घर्ष गरिरहेका आम नेपालीसंग मृत्यु रोज्न बाहेक अर्को विकल्प छैन | लोभीहरूको सरकार न औषधिको न्यूनतम मूल्य तोक्न सक्छ न संविधानले प्रत्याभूत गरेको "बाँच्न पाउने धाराको रक्षा नै गर्न सक्छ | सबैले लगाउने आरोप कि सरकार केवल दलालहरूको सहयोग गर्छ भन्ने तत्थ्य सत्य नहोस् |

चौथो पटक फेरी ती नर्सले भनिन् "३५० को बेडमा उपचार गराउनेहरू पनि अन्त्यमा घर न घाटका हुन्छन् | चिकित्सक र नर्स दूवैले आँखा रसिलो परेर जीवनबाट बचाउन सकिने व्यक्तिलाई पनि विदा भएको हेर्नुपर्छ | तपाईंले एकएक पैसाको हेक्का राख्नुस् दाई" | तेसपछि मैले अस्पताल धेरै थोक विचार गर्छु | सकेसम्म वसको प्रयोग गर्ने प्रयत्न गर्छु तर ज्यानमारा ट्राफिकलाई कसैको पीर हुँदैन | भीडको कुनै संस्कृति हुँदैन र भीडको संस्कृतिमा रमाउने सरकारको कुनै मन हुँदैन जुन कसैको मृत्यु वा रोगसंग दुखोस् |

केमो, रेड़ेशन र शल्यक्रियाहरू उपचारमा प्रयोग हुन्छन् | सबै महंगा छन् | एकातिर महँगो उपचार अर्कोतिर वस्ने/खाने कुनै ठेगाना छैन | देशमा असंख्य धनिमानी छन् तर गरीवगुरुवाको लागि एउटा नि:शुल्क धर्मशाला बनाउने मन पश्चिमा प्रतिमानको धनकेन्द्रीत चिन्तनले खोसी सकेको छ | भक्तपुर नगरभित्र भएका पाटीपौवाहरू आधुनिक तथा प्रगतिशील सरकारहरूको गोजीमा बलिचढेका छन् | आफ्नै पूर्खाले परोपकारका लागि निर्माण गरेका पुण्यकर्महरूमा हामीले आफै आगो लगाएका छौँ | हरेक व्यक्तिलाई व्यापारी नै बन्नु पर्ने शिक्षाले परमार्थको आत्मा मारेको छ |

मैले धेरै पटक अनुभव गरेको छु "मलाई भोक रोज्न स्वतन्त्रता छ, आफ्ना ईच्छाहरू मार्न स्वतन्त्रता छ तर औषधीमा छूट माग्न, केही क्षणका लागि उधारो माग्न स्वतन्त्रता छैन | चिकित्सकले औषधि दिने हो तर औषधिको प्रवन्ध गर्ने काम रोगी वा रोगीका आफन्तको हो | यदि औषधीको इन्तजाम हुँदैन भने मृत्यु निश्चित छ | तैपनि कुनै पनि मान्छे मृत्युसंग हार्न चाहन्न | सङ्घर्ष गरिनै रहन्छ तर जव तपाईं सङ्कटमा हुनुहुन्छ मित्रहरू देखा पर्न, बोल्नबाट नै अलग्गिन्छन् | केही मात्र हुन्छ, जुन सधैं आफैसंग हुन्छन् | असल मित्रहरू र कमसल मित्रहरूको फरक असजिलो अवस्थामा छुट्टिने रैछ - एकजना ८२ वर्षीया महिलाको देखरेखमा खटिएका १४ वर्षका ठीटाले भने |

सरकारले सधैं हुनेखनेको ख्याल गर्छ | हुँदा खानेले आफ्नो ध्यान आफै राख्नुपर्छ | हुनेखानेको घरमा गरीवले पनि "मोटो"दाइजो हाल्छ तर तेही गरीवले हुनेखानेबाट "छोटो" दाइजो मात्र पाउँछ | विश्वास गर्नुस्, यो देश हुनेखानेलाई सघाउनेहरूले बनेको छ, हुँदाखानेहरूका लागि मसान सरह छ | मेरा यी बाक्यले मन भएका सहयोगीहरूलाई पोल्ने छैनन् | किनभने उनीहरूको शीतलताले विश्व उज्यालो र सम्भावनाको घर बनेको छ |

क्यान्सर आफैमा जीवनघाती रोग हो | तेसमा पनि "कठै" भनेर रोगीलाई पलपलमा मर्न बाध्य बनाउनेहरू आफ्नै हुन्छन्, आफन्त र मित्र हुन्छन् | धेरै भेट्न नै आउंदैनन्, आउनेहरूको मन सफा हुन्छ तर संस्कृतिको प्रभाव भन्नुपर्छ उनीहरूसंग "कठै" वाहेक सान्त्वनाका शब्द सुन्न गारो हुन्छ | हेरालुहरूका मायालु नजरले रोगीको जीवन गलिसक्छ | क्यान्सर भन्दा पनि क्यान्सरको भयानकता चित्रित मनले (मनोबैज्ञानिक डर)ले मान्छे पलपल मर्छ | हामी नेपालीको माया मृत्युपछि मात्र प्रगाढ भएर चम्किन्छ | मेरो निवेदन छ "कठै" शब्द लिएर कुनै पनि रोगीलाई भेट्न नजानु होला |

मलाई एउटा कथा याद छ | दुई जनाले भगवानको तपस्या गरेछन् | भगवान् प्रकट भएर वरदान माग्न भने तर उनीसंग विकल्प थिए (१) स्वास्थ्य शरीर तर गरिवी (२) धनि जीवन तर अस्वस्थ्य शरीर | धन पनि चाहिन्छ तर धनको मूल्यमा स्वास्थ्य किन्न सकिन्न तर स्वास्थ्यका सामग्री किन्न धन चाहिन्छ | चरम गरिवीमा मान्छेले जीवन रोज्दछ तर चरमधनमा रोग रोजिन्न | धेरैले सहयोग गर्न चाहन्छन् तर सहयोग गर्न योग्य हुँदैनन् | सहयोग गर्न सक्षमहरू सहयोग गर्न इच्छुक हुंदैनन् |

रोग र अस्पतालको अचम्मको नाता रहेछ | पैसा भए अस्पतालले आरोग्य दिन्छ | यदि पैसा छैन भने मृत्युको मिति तोकिदिन्छ | क्यान्सरका सवालमा त मितिहरू लगभग सुनिश्चितझैं हुन्छन् | क्षमता हुनेले जीवन प्राप्त गर्छन्, नहुनेहरूका लागि मृत्यु खुला हुन्छ | उपचार गर्दागर्दै गरेर खानेहरू गर्न नसक्ने हुन्छन् | गहना, घर, पशुपात सबै जीवनको जुवामा सकिन्छन् | अन्तत: हार्नु र जित्नुमा कुनै फरक रहन्न | जित्नेहरू घरमा हार्छन्, हार्नेहरू अझैं बढी हार्छन् |

मान्छेहरू सबै किसिमका हुन्छन् | मैले वार्डमा कुर्दा अनुभव गरे सबैजसो रोगी र रोगीका क्यान्सरको नामले अर्धवेहोसी अवस्थामा पुगेका हुन्छन्, हतास हुन्छन् निराश हुन्छन् | स्वर्गबाट परमेश्वर आएर मलाई बचाउनेजस्तो आश्चर्यजनक काम गर्छन् कि भन्ने आशा रोगीमा हुन्छन् | सम्पूर्ण भौतिक सम्पत्ति सकिंदा पनि जीवनको आश रहिरहन्छ | सरकारले स्वास्थ्य क्षेत्रमा साच्चिकै सहयोग गर्ने हो भने नगद पैसा दिनुभन्दा औषधि तथा सिटिस्क्यान, रेडियेशन मसिन आदिमा छूट दिने वा सरकार आफैले वेहोर्ने व्यबस्था गर्नुपर्छ | एक पटक रोग लागेपछि कमसेकम १० पटक सिटि गर्दा डेढलाख खर्च हुन्छ, परीक्षणको भाग सरकारले वेहोर्ने हो भने रोगीहरूलाई धेरै राहत हुन्छ |

सरकार धनि, गरीव सबैको अभिभावक हो | गरिवका लागि सरकारले उपचारका लागि औषधिहरूको मूल्य तोकिदिनुपर्छ, परीक्षणका लागि महंगा मसीनहरू सरकारले आफै किनेर भए पनि अस्पतालहरूलाई दिनुपर्छ | तेतिमात्र होइन, सम्पन्न दाताहरूलाई दानका लागि अभिप्रेरित पनि गर्नुपर्छ | उपचार पाउँदापाउँदै रोगीको अवसान हुन्छ भने मृत्यु अलिसहज हुन्छ | मर्ने मान्छे र निजका आफन्तले "उपचार गर्न नसकेर/नपाएर गयो" भन्ने दुखद स्मरणमा बाँच्न धेरै पीडा हुन्छ | काठमान्डौ उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पताललाई हालै सरकारले अधिग्रहण गरेको छु | सरकारसंग जनताको मन जित्ने राम्रो अवसर मिलेको छ | यो सहित सबै सरकारी अस्पतालहरूलाई गरीव-सापेक्ष बनाउँनु पर्छ भन्नेतिर नेतृत्वको ध्यान जाओस् |

मैले हार्ने अवस्थामा पुगेकाहरू भेटेको छु | तर हार्ने अवस्थामा न पुगेकाहरू पैसाको अभावले (औषधिको) जीवन हारेको देख्दा मन खिन्न हुन्छ | हरेक पल, हरेक घडी मारिरहेको अनुभूति हुन्छ | एस्तो बखतमा पनि केही ठेकेदारहरू पैसाको लागि मरिहत्ते गर्छन् भने केहीले पैसाको लागि सधैंका लागि सम्बन्धहरू तोडी दिन्छन् गुनासो आम हुन्छ |

सैद्धान्तिक रूपले भन्नुपर्दा मान्छेहरू समाजसंग आपद र खुसी दूवै अवस्थाहरूमा सहयोग प्राप्त गर्न र दिन जोडिएका हुन्छन् | तर केही गफका धनि र मनका दरिद्रहरूको मन पग्लिन्न, मानौं उसले मृत्युपछि पनि आफुसंगै लिएर जाने छ !! एस्ता ठूलो बोल्ने छोटो मन भएका दरिद्रहरूलाई सधैं एस्तै गर्न पुगोस् - मैले क्यान्सर अस्पताल अगाडी उभिएर यही आशिर्वाद दिएँ | मैले व्यक्तिको होइन केवल प्रबृत्तिको कुरा गरेको हो |

मैले जतिधेरै जीवनका लागि प्रार्थना गरे पनि सरकारी मन पग्लिन्न | पढ्नेहरूले एउटा अनुभूति मूलक रोदन ठानेर, यो लेख विर्सने छन् | अधिकार प्राप्तहरू औषधिको कमिसनबाट घरघडेरी जोडीरहेका हुनेछन् | जसले जीवन हार्नेहरू उसकापछि सहानुभूति वाहेक अरू केही रहने छैन, त्यो सहानुभूति पनि "सबै सकेर गयो, आफु त गयो गयो, घरपरिवारलाई बिचल्ली पारेर गयो"मा परिणित हुने छ | गएको मान्छेले सुन्ने छैन नत्र उसको पीडा जीउनेहरूको भन्दा बढी हुन्थ्यो !! म भन्छु, हे ईश्वर ! सहृदयीहरूको सङ्ख्या बढोस् र भाग्य बलियो भएकाहरूले उपचार प्राप्त गर्न सकून |

निवेदन गर्छु, यो अनुभूति हो, कसैप्रति दोषारोपण होइन | मान्छेको जन्म नै सहयोग गर्न र सहयोग प्राप्त गर्न भएको हो | सहयोग गर्न सक्नेले/इच्छा भएकाहरूले सहयोग गर्नुहुन्छ | कतिपयलाई सहयोग गर्ने इच्छा हुन्छ तर भरपर्दो सहयोग गर्ने स्रोत हुँदैन | सहयोगका संयोजकको भूमिका पनि महत्व'पूर्ण हुन्छ | कतिपयलाई सहयोग गर्न इच्छा हुँदाहुँदा धनले साथ दिंदैन | साधन, स्रोत तथा अख्तियारी पाएर पनि सहजिकरण नगर्नेहरूप्रति खेद लाग्नु स्वाभाविक हो गर्नु उचित होइन |
स्वस्ति अस्तु |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...