Tuesday, January 23, 2018

शैक्षिकजागरणको रैथाने पर्व - सरस्वती पूजा

ऋषिहरूले वेदमा भनेकै हुन् - ऊठ, जाग र आफ्नो श्रेष्ठ लक्ष प्राप्त गर | र यस्तो लक्ष केवल विद्याले दिन्छ | आफ्ना छोराछोरीलाई नपठाउने आमावुवाहरू शत्रु हुन् | न पढेको मान्छे हाँसहरूका वीचमा बकुल्लो सरह हुन्छ - भन्ने उद्गारहरू संस्कृत साहित्यका पानापानामा छरिएका छन् | जुन वखत भारतवर्षीय मनिषीहरूले सबैलाई लेख्न, पढ्न र ज्ञान प्राप्त गरेर धर्म, अर्थ काम मोक्षको साधना गर्ने जागरण गरिरहेका थिए त्यस बखत पश्चिमाहरू एकभुँडी मासुका लागि आफ्नै आफन्तको हत्या गरिरहेका थिए | अहिले उनीहरू निकै अगाडी छन् |

उनीहरूले विज्ञानको क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो छ | विश्व यसबाट लाभान्वीत भैरहेको छ र त्यसले नतमस्तक पनि छ | तर विद्याको आन्दोलन पश्चिमाहरूका लागि काकताली नै हो | पश्चिमा इतिहासले भन्छ, यहुदी धर्मका संस्थापक मूसा निरक्षर थिए | इसाई धर्मका प्रथम आचार्य जिसस निरक्षर थिए | मुस्लिम धर्मगुरु मोहम्मद पनि पढ्न-लेख्न नजान्ने औलाछाप नै थिए | जुन वखत, यी औलाछाप आचार्यहरूले आकाशीय कितावहरू प्राप्त गरिरहेका थिए, त्यस बखत भारतवर्षीय भूमिका हरेक प्रान्तमा ठूलाठूला गुरुकुलहरूमा संगठितरुपमा विद्याको विकास हुँदैथियो |

बाइबल र कुरानले "ज्ञानको फल खाएको हब्बाले पापमय जीवनको" साक्षात्कारको कथा लेख्दै थिए, इभ र हब्बाको ज्ञानलाई पापको अवतरण" भन्दै त्यस बखत ऋषिहरूले आफ्ना शिष्यहरूलाई धमाधम ज्योतिष, योग, चिकित्साशास्त्र, मानव-मनोविज्ञान, कामसूत्रजस्ता विषयहरूको शिक्षा दिंदै थिए | त्यतिमात्र होइन, विद्याप्रति अनुराग र जागरण फैलाउन नया पर्वको सृजना गरेर बालबालिकाहरूलाई गुरुकुलमा आउन प्रेरित गर्दैथिए | आठौँ शताब्दिमा टर्कीको एउटा गाउँबाट भारत छिरेका अल-इब्नले आफ्नो भारतयात्रा विवरणको कितावमा उल्लेख नै गरेका छन् | चिनियाले पनि विश्वविद्यालयहरूको वर्चस्व वर्णन गरेकै छन् |

पुरानो इतिहासमा गौरव खोज्नु मान्छेको स्वभाव हो | अहिले हामी भारतवर्षीयहरू पाश्चात्यहरूले विकास गरेको बैज्ञानिक प्रविधिले दिएको सुविधा र भारतवर्षका प्राचीन ऋषिमुनिहरूले प्रस्तुत र विकसित गरेका आयामिक चिन्तनका विच समन्वय अथवा मानवीय निकास पहिल्याउने प्रयत्न गरिरहेका छौँ | खासगरी सन् १९९० एता भारतीय विद्वानहरूमा मुस्लिम तथा अंगेजी इतिहासबाट माथि उठ्ने चाहना ह्वात्तै बढेको छ | यद्यपि संस्कृत वा पालि भाषामा लेखिएका लाखौं प्राचीन ग्रन्थहरूको मूलभूत विषयवस्तुमा अझैं पनि अंग्रेजी-अनुवादमा भरपर्ने अवस्था छ | अर्को शब्दमा, अंग्रेजी भाषाको दासत्वका विरुद्ध अझैं पनि विद्रोह चचेतनाको विकास भएको छैन | 

नेपाल यद्यपि मुगल-अंग्रेजहरूको दास थिएन तर भारतीय शिक्षा पद्यतिको चोरबाटोबाट नेपालीहरूमा पनि भारतीय शैली कै भाषिक-दासत्व वास्तविकता हो | भने बचेखुंचेको आफ्नो इतिहासको गौरव-चेतना तथाकथित प्रजातान्त्रिक परिवर्तनसंगै जातीय, भौगोलिक तथा भाषिक घृणावादमा जलेर खरानी भएका छन् | पहिचानको आन्दोलनले सबैभन्दा बढी लाभ अंग्रेजी-भाषा तथा संस्कृतिले प्राप्त गरेको छ | मैथिली, नेपाली, भोजपुरी, नेवारीआदि नेपालका रैथाने भाषाहरुमा तेस्रो शक्ति अर्थात् विदेशी-भाषाले स्वामित्व स्थापित गरेको छ |

लेखकको अंग्रेजी भाषाप्रति कुनै शत्रुता छैन | अहिले अंग्रेजी विश्व-सम्पर्कको साधन बनेको छ | बालबालिका, अभिभावहरूले अंग्रेजी सिक्नुपर्छ तर अक्षरारम्भ गराउंदा नै आफ्ना बालबालिकालाई A सिकाउने परिपाटीको विकास गर्ने शैक्षिक-नीति लज्जास्पद र दुर्भाग्यपूर्ण कुरा हो | अभिभावहरूमा एस्तो मनोविज्ञानको विकास गर्न सरकारी तन्त्रले सबैभन्दा ठूलो भूमिका खेलेको छ | भारत होस् वा नेपाल सरकारी तवरबाट नै रैथाने सभ्यता, संस्कृति तथा भाषाको आमहत्या गरेर गाड्न चिहान तयार पारिएको छ | एस विषयमा अझैं दुर्भाग्यपूर्ण तत्थ्य त के छ भने शिक्षा, संस्कृति, दर्शनआदि क्षेत्रका प्रतिष्ठित विद्वानहरूले समेत नेपथ्यबाट आमहत्याको समर्थन र संरक्षण नै गरिनैरहेका छन् |

सरस्वतीपूजा वा बसन्तउत्सव हालै विकसित भएका उत्सव होइन | ऋग्वेदको पहिलो मण्डलको तेस्रो अध्यायका १०-१२ यी सुक्तहरूमा सरस्वतीको परिचर्चा भएको छ जहाँ सरस्वतिलाई चेतना, प्रेरणा तथा संज्ञानको तहमा अर्थ्याईएको छ | ऋग्वेदले सरस्वतीको आज पाइने फोटो वा मूर्तिको परिकल्पना गरेको छैन | ब्रह्माकी छोरीको रूपमा सरस्वतीको पहिचान गरेको छैन | त्यैपनि कालान्तरमा शिक्षातिर जनसाधारणको अभिरुचि उत्पन्न गर्न सरस्वतीको मूर्ति, पूजाआजा आदि र त्यससंग जोडिएका कथाहरूको विकास गरियो भने राम्रै भयो | यो शिक्षालाई उत्सवका रूपमा पुस्तान्तरण गर्ने राम्रो ब्यबस्था हो |

आजका शिक्षाविदहरूले बालबालिकाको शिक्षालाई कथा, क्रियाकलाप, रमाइलोपनसंग जोड्न महत्व दिन्छन् | तर सरस्वतीपूजाको रूपमा विकसित भएको क्रियाकलाप, कथा तथा सिकाईलाई किन नजरअन्दाज गरिएको हो ? बुझिनसक्नु छ | मैले कुनै पनि भारतीय वा नेपाली शिक्षाविदले "सरस्वती-पूजा" क्रियाकलापमा आधारित सिकाईको प्रेरणा हो भनेर बोलेको सुनेको छैन बरू तथाकथित धर्मनिरपेक्षतावादीहरूको सिको गर्दै आफ्नो मौलिक संस्कृतिमा रहेको शिक्षा-आन्दोलनलाई "धार्मिकता" भनेर पन्छ्याउदै छौँ | हामी ओरालो लाग्ने आरम्भविन्दू यही हो | पश्चिमा शिक्षाविदहरू "रमाइलो सिकाइको लागि नयानया क्रियाकलाप विकसित गर्दैछन् तर हामीहरू आफ्नै परम्परामा भएका प्राकृतिक सिकाईका क्रियाकलापहरूप्रति वेवस्ता गर्दैछौँ |

वैदिक संस्कृतिको एउटा परम्परागत विशेषता छ - यसले हरेक विषयवस्तुलाई उत्सवको रूपमा विकसित गर्छ र प्रस्तुत गर्छ | नितान्त व्यक्तिसंग सम्बन्धित सोह्र-संस्कारहरू पनि उत्सव कै रुपमा सम्पादन हुन्छन् भने फागुपूर्णिमा, दशैंतिहारजस्ता सामाजिक क्रियाकलापहरू पनि उत्सवकै रूपमा मिलेर सम्पादन गरिन्छन् | सिकाई र बुझाईमा रमाइलोपन वैदिक शिक्षाको जीवन्त पाटो हो जुन अहिलेको शैक्षिक अग्रगमनका लागि प्राचीनतम उपहारका रूपमा स्वीकार्नुपर्छ | हो, हजारौं वर्षको यात्रामा यी परम्पराहरूमा समयको, अन्धविश्वास, कुरीतिआदिको आवरण परेको होला तर अस्वीकार्य पक्कै छैनन् | 

संसारभरिको सभ्यता र संस्कृति कथाले जोगाएको हुन्छ | शिक्षाप्रति अभिरुचि जगाउने श्रीपंचमी वा सरस्वतीपूजा पनि कथा नै हो | कथाको पनि एउटा विज्ञान हुन्छ, यसले सभ्यता र संस्कृतिहरूलाई जीवन्त राख्न मदत गर्छ | जिससको कथाले इसाई, मोहम्मदको कथाले मुस्लिम र मुसाको कथाले यहुदीहरू जीवित छन् | ती कथाहरू बैज्ञानिक हुने तर सरस्वती अर्थात् सिकाईको कथा अबैज्ञानिक हुन्छ भने अतार्किक विश्वास मैं खोट छ | सरस्वती पूजा र अक्षरारम्भको पर्व नितान्त कथा होला तर यसले जसरी समाजलाई “अक्षरतिर तानेर आफ्ना बालबालिकाहरूलाई मन्दिर वा विद्यालयमा उभ्याउँछ, सरकारले अरवौंको विज्ञापन गरेर यो सफलता प्राप्त गर्न सक्दैन | विश्वास, आस्था, आध्यात्मिकता, डर तथा सरस्वती-देवीले विद्या दान दिन्छिन् भन्ने आत्मविश्वास नै यसको विशेषता हो | यही आस्था र विश्वासको सङ्गम सरस्वती आराधना हो जुन हरेक वर्ष माघ महिनाको शुक्लपंचमीका दिन हामी नेपालीहरूले मनाउने गर्छौं |

कथासंग जोडिएका सबै विषयहरूमा वैज्ञानिकता देख्नु अतिवाद भएझैं असल संस्कृति र परम्पराहरूप्रति वेवास्ता गर्नु आत्महत्या हो | असल कुरा विश्वको जुनसुकै कुनाबाट स्वीकार्नुपर्छ तर अरूलाई अङ्गिकार गर्नका लागि आफ्नैभित्र रहेका असल पक्षहरू बिर्सनु हुँदैन | पश्चिमा पद्यतिको शिक्षा कारण मान्छेले निकै प्रगति गरेको हामीले देखेका छौँ र त्यसको लाभ पनि लिएका छौँ तर यो निर्जीव, भावनारहित र सधैं प्रतियोगिताका लागि उभ्याउने शिक्षाले मान्छेले आफ्नो मान्छेपन गुमाउदै छ | भावनात्मक मान्छेको पदचिन्ह मेटेर रोबोटिक मान्छे पदस्थापना गर्दैछ | रमाइलोपन, सुखदुख, प्रेमघृणा, उचितअनुचितजस्ता भावनात्मक चेतनाहरू मसिनवादको थिचोमिचोमा परेर वृद्धाश्रममा ओतलिन बाध्य भरहेका छन् | 

मलाई लाग्छ, कथामा कुथिएको सरस्वती-आराधनाको यो पर्व साच्चिकै प्रत्येक मानवप्राणीका लागि महत्वपूर्ण छ | एउटा कथाले पर्वको रूप धारण गर्नु, त्यसको एउटा सुन्दर प्रतिमा बन्नु, प्रतिमा स्त्री कै हुनु, प्रतिमाका हातमा किताव, माला, विणा र अभय मुद्रा हुनु, उनको आराधनाका लागि मन्त्र, स्तोत्रआदि रचना हुनु, प्रतिमाको पूजाआजाको सृजना हुनु र प्रतिमाका अगाडी उभिएर श्रद्धा, विश्वास, भक्ति र आस्थाका साथ “पढ्ने बाचा गर्दा पढ्न आउने” मनोविज्ञानको विकास हुनु चानचुने कुरा होइन | सरस्वतीका सन्मुख उभिएर प्रतिज्ञा गर्दा बालबालिकाले जुन आत्मविश्वास प्राप्त गर्छन्, त्यस्तो आत्मविश्वास विज्ञानको कुनै ल्यावमा निर्मित हुँदैन | सरस्वती-पुजाको यो हाम्रो रैथाने मनोबैज्ञानिक नै हाम्रो जरोकिलो हो | जुन हामीसंग मात्र छ र जसमा हाम्रो विशेषाधिकार पनि छ | 

विदयाध्यन हामी भारतवर्षीयहरूको परम्परागत सम्पत्ति हो | भारतमा मुस्लिम आक्रमण र त्यसपछि अंग्रेजहरूको राज्यले हाम्रो परम्परामा अवरोध आएको हो | प्राचीन इतिहास हेर्दा/ पढ्दा र बुझ्दा एकजना नेपाली वा भारतीय शिक्षाबाट बन्चित नहुनुपर्ने हो | विज्ञान र बैज्ञानिकताको खोजिमा हामीले आफ्नो परम्परागत शिक्षा पद्यतिलाई ध्वस्त परेको फल भोगिरहेका छौँ | पावन सरस्वती जुन चेतनशक्तिका रूपमा हाम्रो विवेकीय शक्ति बनेर हामीमा विद्यमान् छिन्, हामी सबैको कल्याण गरुन् | यो देशमा एकजना पनि अशिक्षित नरहोस् | सरस्वती पूजाको यो रैथाने पर्वले सबै नेपाली मात्र होइन विश्वभरिका मान्छेहरूमा शिक्षाप्रति जागरुकता बढोस् | हरेक अविभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन् | आफै पनि समय निकालेर साक्षर बन्ने प्रयत्न गरुन् | 

अन्त्यमा, यो वैदिक रैथाने पर्व योगदिवसझैं शैक्षिक-जागरण दिवस बन्नु पर्ने दावी संयुक्त राष्ट्रसमक्ष नेपाल सरकारले गरोस् र यसको स्वामित्व नेपालीहरूले प्राप्त गरुन् |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...