Sunday, October 16, 2016

नेपाली राजनीतिका असफल विकल्पहरू


१.    असफलताको आरम्भ
मान्छे आफ्नो असफलता चाहन्न | तर मैले यहाँ उठाएको विषय असफलता कै हो | यस्तो असफलता जसले हाम्रा बा-आमा, हाम्रो र  हाम्रा सन्तानहरूलाई नराम्रोसँग प्रभावित पारिरहेको छ | मेरा बा-आमाले पनि असफलता चाहेका थिएनन् | उनीहरूको उत्साह पनि सफलता कै लागि थियो | उनीहरूले आफ्नो ऊर्जा सफल हुनकै लागि खर्चिएका थिए | सफल भएनन् किनभने त्यसमा सफल हुने मूलधार नै थिएन | वि.स. २००४  र २००६ मा नेपाली राष्ट्रीय कांग्रेस  होस् वा नेपाल कम्म्युनिस्ट पार्टी दूबै नेपाली भूमिमा जन्मेका थिएनन् | यिनको राजनैतिक विचार नेपालको रैथाने जीवन पद्यतिबाट उम्रिएको थिएन |

२.    नेपाली राजनीतिको विदेशी उठान
नेपाली साम्यवादका पिता पुष्पलाल त हुन् तर उनको यो मौलिक चिन्तन होइन | सन् १८७८ मा जर्मनका अर्थशास्त्री कार्लमार्क्सले विश्वको मानव समुदायलाई दूईखेमामा विभाजन गरे – धनि र गरीव, पूँजीपति र सर्वहारा, साहु र ऋणी, स्वामी र दास | उनको एकल चिन्तन र आग्रह थियो – दासहरूले स्वामीको सम्पत्ति कब्जा गर्न सके साम्यवाद आउँछ | भारतको पश्चिम बङ्गालका केही बुद्धिजीवीहरूलाई विचार मन पर्यो | अर्काको पूँजी सित्तैमा कब्जा गर्ने कुरो कसलाई मन पर्दैन | आन्दोलन उठ्यो | केही साहुहरू काटिए | नेपाली पुष्पलालहरूले तेस्रो पक्षका रुपमा देवीराम चट्तोपाध्यायहरूबाट कुरा बुझे | यो राजनैतिक चेतना विदेशी थियो, विदेशीहरूबाट नै प्रभावित भएर नेपाल भित्रिएको हो | 

त्यस बखतको नेपालमा राणाहरू सबैका साहु थिए | कृष्णप्रसादहरूको परिवार पनि कृपाजीवि थियो साहुको राणाहरूको | ठूलो साहु र सानो साहुविच कुरा मिलेन | कोइरालाहरू भारत भारत लखेटिए | लखेट्ने बलिया थिए, लखेटिने कमजोर | लखेटिनेहरूको मनमा लखेट्नेप्रति प्रेम, सद्भावना तथा क्षमाको  निरपेक्षताको कल्पना कसैले गर्न सक्दैन | मनको तुसले पीडकलाई सिध्याउने जालो बुनिरहेको हुन्छ | यही मानवीय मनोविज्ञानको नियम हो | भारतको गान्धीवाद्, जर्मनको साम्यवाद, फ्रान्सको प्रजातान्त्रिक उदारता र राणाप्रतिको पारिवारिक घृणावादबाट पुन: विदेशमै नेपाली प्रजातान्त्रिक राजनैतिक आन्दोलनको वीजारोपण भएको हो |

३.    पहिलो विफलता अपरिपक्व बुझाई
वि.स. २००७ सालको परिवर्तन असफल भयो किनभने तत्कालीन परिवर्तनकारी शक्तिहरूको चिन्तनको जरोकिलो आफ्नो थिएन | अर्कोको जरोकिलोमा उभिएको रूख जतिसुकै झांगिए पनि रूद्राक्षको रूखझैं हुन्छ | जरा हुँदैनन् रूखमात्र ठूलो हुन्छ | जर्मन र भारतीय चिन्तनको फ्युजनले नेपालको विकास हुन्छ भन्ने बुझाईको किलोमा उभिएको राजनीति असफल भयो | वि.स. २०१६ सालमा एउटा असफल राजनीतिलाई विफल पार्न अर्को विफल राजनीति आरम्भ भयो |

४.      दोस्रो विफलता दम्भ  
वि.स. २०२० सालमा राजा महेन्द्रले पंचायती संविधान जारी गरे | भारतीय स्वतन्त्रता आन्दोलनका लागि जेल गएकाहरू र भारतीय भूमिमा बसेर राणासाहुसंग सङ्घर्ष गर्न पार्टी खोलेकाहरू पुन: एकैठाउँमा फकिए – भारत | सत्ताको दम्भमा महेन्द्रले छिमेकी शक्तिको शक्तिलाई  कुटनैतिक ब्यबस्थापन गर्न ध्यान दिएनन् | पंचायतलाई उनले चाणक्य, साम्यवाद र पश्चिमा प्रजातान्त्रिक राजनीतिको “सारतत्व’का रूपमा विकास गर्न खोजे | “मैले पंचायतवादको नया राजनैतिक चिन्तन विकास गरेको छु’ भन्ने अहंकारमा उनले तत्कालीन राजनैतिक हावालाई महत्व दिएनन् | भारतीय प्रजातान्त्रिक मोडेललाई आफ्नो राजनैतिक लक्ष ठान्ने कांग्रेस र चीन, रूसको साम्यवादलाई आफ्नो लक्ष ठान्ने साम्यवादी शक्तिहरू चरम उपेक्षामा परे |

देशी शक्तिहरूलाई उपेक्षा गरेर, ती शक्तिहरूको स्रोत भएका राष्ट्रहरूबाट कृपा खोज्नु महेन्द्रको असफलताको कारण हो | भारतले प्रजान्त्रिक शक्ति चाहन्थ्यो किनभने त्यस्तो प्रजातान्त्रिक शक्तिको नेतृत्वमा भारतीय स्वतन्त्रता सेनानी हुन्थे भने रूस तथा चीन स्वभाविक रूपले साम्यवादीहरूसंग थिए | महेन्द्र असफल भए किनभने उनले आफ्नो देशमा रहेका विभिन्न शक्ति केन्द्र र ती शक्ति केन्द्रहरूलाई संचालित गर्ने राष्ट्रहरूको कूटनीतिक ब्यबस्थापन गर्न सकेनन् |

५.    तेस्रो विफलताको निरन्तरता
वि.स. २०४६ मा पुन: संविधान आयो | सबैले सफल-परिवर्तन भने | सबैले  आफ्नो पीठ थपथपाए | नराम्रो श्रोतबाट प्राप्त र नराम्रो जगमा राखिएको जग बलियो हुँदैन | यो संविधान देश र जनताका लागि नभए राजनैतिकसत्ता प्राप्तिको उदेश्यमा केन्द्रीत थियो | साम्यवादी र प्रजातन्त्रवादीहरूको मिलन “पंचायत” विरुद्ध थियो किनभने पंचायतको पतनले मात्र राजनैतिक सत्ता हस्तान्तरण हुन सक्थ्यो | पंचायत गयो, सुमधुर मिलनको गीत सुरविहिन भयो | पारिवारिक घृणावादको पुन: जागरण भयो | कृष्णप्रसादको सरकार गएको होइन, प्रजात्रन्त्रभित्रको घृणावाद जीवित भएको थियो | गिरीजाप्रसाद, शेरबहादुर देउवा वा मनमोहन अधिकारीहरूलाई दोष दिनुको कुनै औचित्य छैन |

श्रोतमैं फोहोर भएपछि पानी सफा हुँदैन | राजनीति सत्ताका लागि हुन्छ, सत्ता राजनीतिका लागि तर यहा दुवै भएन | न राजनीतिले सत्ता चलाउन सफल भयो न सत्ताले राजनीतिनै | नेपालमा राजनीति छ तर सत्ता उनीहरूसंग छैन | उधारो लिएको राजनैतिक चिन्तनले सत्ता बलियो हुँदैन | राजनीतिको समय सत्ताकेन्द्रको स्वार्थ पूरा गर्दा जान्छ | विचरा जनता त केवल दशैको बोकाझैँ हुन्छन् | ट्रकहरूमा झेलेको दु:ख आन्दोलन हो | ओर्लिएपछि घरबेटीले दिने सत्कार परिवर्तनका केही दिन हुन् | त्यसपछि सबैलाई थाहा छ | घरबेटीको केही बिग्रदैन | बोकाको सबैथोक जान्छ | राजनीतिको भाषा परिवर्तन गरेर पुन: बोकाहरू ओसार्ने काम आरम्भ हुन्छ | मैले जनतालाई बोका भनेर अपमानित गर्न खोजेको होइन | सरल जनतालाई कठीन बाटो हिडाउने असफल नेतृत्वको पोल मात्रै खोलेको हुँ | 

६.    चौथो विफल राजनैतिक यात्रा
वि.स. २०४६ को परिवर्तनपछि राजनीतिमा घृणावाद (गिरिजाप्रसाद-कृष्णप्रसाद), सत्तावाद (शेरबहादुर र गिरिजाप्रसाद) तथा असहिष्णुतावाद (मनमोहन अधिकारी र गिरिजाप्रसाद)का कारण सत्ताको राजनीति गुम्यो | सत्ता अस्थिर हुँदा साथ जनता कमजोर भए | सकारात्मक परिवर्तन असम्भव भयो | अनि, दुखद: आन्दोलन आरम्भ भयो | २० हजार जनताले ज्यान गुमाए | यो घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को विस्फोट २०६३ मा आन्तरिम संविधानसभाका रूपमा स्थापित भयो |

त्यसपछिका वर्षहरू घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को सिद्धान्तलाई कार्यन्वयनमा खर्च गरिए | नाकका आधारमा, क्षेत्रका आधारमा, जातका आधारमा, धर्मका आधारमा, वोलीका आधारमा, आस्थाका आधारमा, लिंगका आधारमा, भूगोलका आधारमा विभाजनका नियमहरू तय गरिए | वि.स. २०७३ को संविधान नेपालीहरूलाई विभाजन गर्ने दस्तावेज वनेको छ |

यो संविधान विभाजनको दस्तावेज हो किनभने यसमा साम्यवादीहरूले जातिवाद, क्षेत्रीयतावाद, विभाजनवादलाई स्वीकार्न हस्ताक्षर गरेका छन् | यो अप्रजातान्त्रिक संविधान हो किनभने तथाकथित प्रजातान्त्रिक शक्तिहरूले ८२% नेपाली जनताको अभिमतलाई (हिन्दूराष्ट्र) स्वीकार्न हुँदैन भनेर हस्ताक्षर गरेका छन् | तत्थ्य सबैलाई थाहा छ : हस्ताक्षर गर्ने हात नेपाली नेतृत्वका हुन् तर मसीचाहिं अमूक शक्तिहरूको | ८२% जनमतको अवहेलनाको हस्ताक्षर गर्नेहरूले बुझेकै होलान् : यो संविधान पनि सम्भवत: भविष्यको विफल संविधान नै हो !!

७. पाँचौं राजनैतिक विफलतामा हस्ताक्षर
जनताले २०७३ को संविधानले निम्त्याएको पीडा क्रमशः विर्सलान्, किनभने नेपाली जनताहरू धेरैनै विर्साहा छन् | तर आस्था, संस्कृति तथा धर्ममा भएका आक्रमणहरू सहन र विर्सन सक्ने क्षमता जनतामा छैन | एउटा राजनैतिक भूइचालोपछि थाकेहारेका जनताहरू पेटको जोहो गर्न विदेश लाग्छन्, केही बूढाबूढी भएर मर्छन्, केही राजनीतिमा अनास्था भएर नागरिक जीवन व्यतित गर्न थाल्छन् तर सपना कहिले पनि मर्दैन | विदेशी जरोकिलोमा उभिएको नेपालको विफल राजनीतिप्रति अव घृणा आफ्नो चरमचुलीमा पुग्नेछ | हरेक जनताले आफ्नोपनसंग जोडिएको, नेपालीपनको राजनैतिक सत्ताको विकासमा विश्वास गर्नुपर्ने छ | अनि, जनताले बुझ्ने छन् : जरो र किलो नेपाल मैं भएको राजनैतिक शक्तिले वाहेक नेपालीको हित हुँदैन |

७.      विफलताको जरोकिलो
संक्षेपमा, नेपालका परम्परागत राजनैतिक शक्तिहरूले नेपालीको समुचित विकास गर्न सक्ने कुनै सम्भावना छैन किनभने :
१.      सबैजसोको राजनैतिक विचारको स्रोत विदेशमा छ |
२.      सबैजसोले नेपालीपनमा भन्दा विदेशीपनमा विश्वास गर्छन् |
३.      सत्ताको स्थायित्वमा भन्दा राजनीतिमा बढी विश्वास गर्छन् |
४.      मानसिक एकतामा भन्दा मानसिक विभाजनमा विश्वास गर्छन् |
५.      घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को कूटनीतिलाई आफ्नो पथप्रदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्छन् |
६.      आफ्नो धर्म, संस्कृति तथा संस्कारलाई भन्दा विदेशीहरूको “एकेश्वरवादी” चिन्तनलाई बढी प्रगतिशील तथा अग्रगामी ठान्छन् |
७.      स्वदेशी जनता, स्वदेशी विद्वान, स्वदेशी शीपको क्षमतामा कत्ति पनि विश्वास गर्दैनन् |
८.      नेपालीले रामो भन्दा नपत्याउने तर विदेशीहरूले राम्रो भन्दिउन् भनेर मरिहत्ते गर्ने मानसिक हीनताबोधबाट वर्तमान नेतृत्व ग्रसित छ |
९.      वर्तमान नेतृत्वसंग मन जोड्ने होइन तोड्ने, शान्ति स्थापित गर्ने होइन द्वन्द्व निम्त्याउने, प्रेम गर्ने होइन घृणा गर्ने, निर्माण गर्ने होइन विध्वंस गर्ने मोडेलहरू मात्र छन् | जुन बूँदा ५ बाट उधारो लिएका हुन् |
१०.  विचार, सिद्धान्त र कार्यमा फरकपन अर्थात् मनले एउटा कुरो सोच्ने, बोल्ने अर्कै थोक र काम चाहिं न सोचेको गर्ने न बोलेको नै गर्ने  राजनैतिक संस्कार |
११.  वि.स. २००७ देखि २०७३ सम्मका राजनैतिक परिवर्तनहरू निष्फल छन् | यिनै शक्तिहरूबाट  देशको सकारात्मक परिवर्तन असम्भव छ |

८.    वाध्यताको विकास र भ्रम
हामी नेपालीहरूको विकास सूचकांक आधुनिक विश्वलाई सुहाउँदो छैन | हामी निकैपछि छौँ | नेपालमा जेजस्तो विकासका गतिविधि देखिएका छन् ती सबै विश्वसन्दर्भमा वाध्यकारी भएर प्रवेश गरेका हुन् अथवा व्यापारीहरूले ब्यापारिक स्वार्थका कारण भित्रिएका हुन् | राजनैतिक शक्तिहरूको इच्छाशक्तिका कारण सडक, पक्काघर, विजुली, टेलीफोन, मोबाइल, इन्टरनेटआदिको विकास भएको ठान्नुहुन्छ भने आफैलाई सच्याउनु पर्छ | यी सबै व्यापारिक प्रयोजनका कारण विकास भएका हुन् | ठेकेदारहरूले सडकहरू खनेका छन् किनभने तिनबाट राजनैतिक दलहरूले कमिसन प्राप्त गर्छन् | कमिशन र नाफा नहुने कुनै “विकास”हरू मौलाएका छैनन् | दलीय स्वार्थ र ब्यापारिक स्वार्थ (दलाली) नहुने कुनै पनि विकास-योजना सफल हुँदैनन् |

९.    अन्धविश्वासमा जेलिएको विश्वास
यदि मैले “नेपालीको विकास गर्ने शक्तिशाली मोडेल हामीसंग छ” भनेर सुनाए भने नेताको जालोमा बाधिएको जनताले मेरो ठूलै हाँसो उडाउने छन् | असलमा, राजनैतिक कार्यकर्ताहरू दलालीको स्वार्थका कारण दिग्भ्रमित वा बाध्य भएका छन् | उनीहरू आफुले खाइपाई आएको सुविधा घट्छ कि भन्ने कुराले त्रसीत छन् | उनीहरू सफल विकल्प भेट्टाए तुरुन्त परिवर्तित हुन्छन् | आफ्नो र परिवारको स्वार्थका विषयमा सोच्नु गलत होइन तर त्यसको पूर्तिको लागि गलतबाटो अङ्गीकार गर्नु गलत हो |

१०.          परिणाममुखी विकल्पको बोलावट
मेरो बुझाइमा, हामीसंग अव ७० वर्षको बूढो र अरूको खेतमा जरोकिलो भएको राजनैतिक चिन्तनको विकल्प खोज्नुनै पर्ने भएको छ | विगतका विफल परिवर्तनहरूले अव निरन्तरता पाउनु हुँदैन | आज पनि हामी अर्को विफल परिवर्तन बोकेको संविधानमा उभिएका छौँ | अवको विकल्प सफल हुनुपर्छ | एस्तो सफल विकल्पको “मार्गचित्र” हामीसंग/मसंग छ | उनीहरूको मार्गचित्रलाई हामीले विगतका ६३ वर्षमा भोगिसकेका छौँ र भोगिरहेका छौँ | अव हामी असफलताहरूलाई सफल भनेर ढाट्नेहरूसंग पारचुके गर्नुपर्छ | पारचुके नगरी अर्को विवाह हुँदैन | परिणाममुखी परिवर्तन दिने बैचारिक विकल्परुपी दूलाही नभई हामीले तपाईंहरूलाई पारचुके गर्नुस् भनेको होइन | हामीसंग परिणाममुखी विकल्प छ | हामी मिलेर आफ्नो, आफ्ना सन्तानको र छिमेकीको समेत राम्रो भविष्य निर्माण गर्नसक्छौं | 

११.          विफलताबाट सफलतातिर

तपाईं विश्वास गर्नुस्, हामी स्वर्णीम भविष्य दिन्छौं | हरेकलाई आफ्नै खुट्टामा उभिने स्वाभिमान, नेपाली पासपोर्ट देखाउंदा गर्व गर्ने परिवेश र विदेशमा काम गर्न जाने होइन विदेशीहरू नेपालमा काम खोज्दै आउने परिस्थिति निर्माण गर्छौं | संकल्प हाम्रो र विश्वास तपाईंहरूको मिल्यो भने विकसित भविष्य हाम्रो हातमा हुनेछ | हाम्रो हातमा सफालय हुने छ र उनीहरूको हातमा असफलता | असफलता हामीसंग हार्ने छ | हामी सफल भएर सुखी हुनेछौं |  किनभने हाम्रो मुहान सफा छ, हाम्रो जरोकिलो नेपालमैं छ र हामी विगत पांचहजार वर्षदेखि “मिलेर बस्नको” ज्ञानमा पुख्त छौँ | 

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...