Friday, June 25, 2021

मन्दिर र तपाईं

 मन्दिर र तपाईं

नेपालमा कति मठमन्दिर छन् ? कसैसंग अभिलेख छैन | निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ |
काठमाडौँ उपत्यकाका धेरैजसो मन्दिरहरू निजी धनले निर्माण गराएर तिनको संचालन गर्न गुठीको अबस्था गरिएको छ | त्यस्ता मन्दिरहरू निजिगुठीका नामले चिनिन्छन् र गुठियारहरू सम्बन्धित परिवारकै पुस्ताहरू हुन्छन् | पूर्वजले राखेको नासो चलाउने काम जीवित पुस्ताको हुन्छ | दुर्भाग्यवस, पछिल्लो पुस्ता निजी गुठीहरूको उठिवास गर्न सक्रिय छन्, आफ्ना पुस्ताको सत्कर्म मेटाउन तम्तयार छन् | सबैलाई एकै भाँडोमा हाल्नु अन्याय हुनेछ |
श्रीपशुपतिनाथ सार्वजनिक गुठी हो | गुठी परम्परा विश्वकै लागि परम्परा संचालनको नेपाली प्रतिमान हो | एस्ता मन्दिरहरूको दायरा र लोकप्रियता वृहद् हुन्छ | तेस्रो, व्यक्तिले आफ्नो घरकम्पाउन्ड भित्र निजी पूजाआजाका लागि निर्माण गरिने मन्दिर हुन्छन् | मन्दिर जस्तो विधिमा संचालन किन नहोस्, सबैको उद्देश्य वैदिक सनातन धर्मको निरन्तरता सुनिश्चित गर्नुनै हो | मन्दिरहरू सनातन धर्म सिकाउने सबैभन्दा प्रमाणिक र जीवन्त आधार हुन् |
मन्दिरको अर्थ 'घर' हुन्छ | मन्दिर त्यो घर हो जहाँ हामी हिन्दू, जैन तथा बौद्धहरूका आराध्यदेव देवीहरूको आराधना गरिन्छ | मन्दिरसंग आस्था, विश्वास, इतिहास, त्याग, दान, संस्कृति तथा दैनिक संस्कारहरू जोडिएका हुन्छन् |
हरेक सनातन धर्मिका लागि मन्दिर एउटा "आत्मिक घर वा समुह र परिवार जोडिने पवित्र" मिलनस्थल हुन्छ | जहाँ पुगेपछि धनिगरीव, ऊंचनीच, छुतआछुतजस्ता भिन्नताहरू समाप्त हुन्छन् | मन्दिरमा आराधना गरिने देवीदेवता सबैका साझा हुन्छन् र हरेक व्यक्तिको आध्यात्मिक, मानसिक समस्याहरूको समाधान गर्ने आधार हुन्छन् |
नेपालीहरूको मन्दिरको इतिहास नेपालजत्तिकै प्राचीन छ | नेपालका निर्माता ने-मुनिले नेपालको जग भगवान् शिवको मन्दिर निर्माण गरेर राखेका थिए | साच्चिकै भन्नुपर्दा हामी नेपालीका लागि नेपाल पनि एउटा वृहदकाय मन्दिर हो जहाँ हामी सबै मिलेर आराधना गर्छौं |
नेपालमा असंख्य मठमन्दिरहरू छन् जसले सर्वसाधारण नेपालीहरूको धर्म, संस्कृति, संस्कार तथा असल-कमसल कार्यको नियन्त्रण हुन्छ | हरेक मठमन्दिरले धर्म, संस्कृति तथा संस्कारहरूको पुस्तान्तरण गर्छन् | मन्दिरमा गएर अर्पित गरिने नगद वा वस्तु, गरिने ढोग, सम्पदान गरिने संस्कार यी सबैले हामी वैदिक संस्कृतिका अंश भएको प्रमाणित गर्छन् |
मन्दिरहरू : हिन्दू वैदिक सनातन धर्मका असली जग अर्थात् स्रोत हुन् | जसले सबैभन्दा पहिले मन्दिर वनाएर वैदिकहरूलाई मन्दिर जान उत्प्रेरित गरे उनी वास्तव नै दूरदर्शी थिए | हामी भाग्यमानी छौँ, मन्दिर र मन्दिर निर्माताले राखेको विश्वासको जगले गर्दा हरेक प्राचीन मन्दिरहरूको वारम्वार पुनर्निर्माण, पुनउद्धार र पुन: संस्कृति सिकाउने थलोका रूपमा सुरक्षित छन् | धेरै राजाका सुन्दर महलहरू हराए तर एउटा मन्दिरहरू हाम्रो आस्थाका कारण जीवित छन् |
मन्दिरहरू हामी वैदिक (हिन्दू, जैन, बौद्ध) हरूका स्वाभिमान हुन् | हाम्रा पूर्खाहरूको त्याग, तपस्या तथा दूरदृष्टिका जीवित प्रतिमान हुन् | मन्दिरको अपमान गर्नु वा मन्दिरहरूको वेवास्ता गर्नु भनेको आफ्नो स्वाभिमान त्याग्नु वा तेसको महत्वलाई नबुझ्नु हो | जीर्ण भएका मन्दिर, वेवास्तामा परेका मन्दिर तथा अतिक्रमणमा परेका मन्दिरहरूले हाम्रो गीर्दो स्वाभिमान देखाउंछन् | मैले सम्पूर्ण योरोप घुम्दा कुनै पनि चर्च वेवास्तामा परेको देखिन, भेटिन |
काठमाडौँलाई मन्दिरहरूको सहर भनेर बुझिन्छ | हरेक मन्दिरले त्यो चाहे ठूलो होस् वा सानो, एउटा इतिहास, आस्था, विश्वास र संस्कृतिको प्रतिनिधित्व गरिरहेको हुन्छ | एउटा मठमन्दिर नष्ट हुनु भनेको एउटा सम्पूर्ण इतिहासको धरोहर नष्ट हुनु हो | अहिले मन्दिर तथा गुठीहरूको जग्गा कब्जा गरेर तेसको इतिहास नष्ट गर्ने व्यक्तिहरूको वर्चश्व छ | एस्ता व्यक्तिहरू आफ्नै धर्म, संस्कृति तथा धरोहरका शत्रु हुन् | दण्ड इतिहासले दिनेछ |
हाम्रो समाजमा मठमन्दिरलाई वेवास्ता गर्ने जमातहरू बढेको छ | एस्तो जमात आफुलाई "आधुनिक र प्रगतिशील" ठान्छ | यो एउटा आत्मघाति प्रबृत्ति हो | हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कमसेकम हप्ताको एक दिन निकटतम मन्दिरमा लैजानु पर्छ, आराधनामा समावेश गर्नुपर्छ र दान दिने संस्कृति सिकाउँनु पर्छ | इसाई-मुस्लिमहरूबाट हामीले धर्मप्रतिको समर्पण सिक्नुपर्छ | आज मुस्लिम र इसाई समुदाय क्रमशः दोस्रो र पहिलो ठूलो धार्मिक समुदाय हो किनभने उनीहरूले मस्जिद र चर्चलाई कहिले पनि वेवास्ता गर्नेनन् |
हामी हिन्दूहरू मन्दिरहरूको संरक्षणका सवालमा निकै पछि परेका छौँ | हरेक सानोठूलो समुदायले एउटा मन्दिरको संरक्षण गर्ने जिम्मा लिनुपर्छ | आजभोली एस्तो प्रबृत्ति बढेको छ तर मन्दिरहरूको तुलनामा हाम्रा प्रयाशहरू निकै कम छन् | यदि हामीले मन्दिरहरूको संरक्षण गर्यौं भने मन्दिरहरूले हाम्रो धर्म, संस्कृति तथा इतिहासको गौरवलाई निरन्तरता दिने छन् | हाम्रो धार्मिकताले मन्दिरको र मन्दिरले हाम्रो धर्मसंस्कृतिको रक्षा गर्ने छन् |
धर्मको कोलममा हिन्दू लेख्दैमा हिन्दू धर्मको रक्षा हुँदैन | मन्दिरप्रतिको दायित्व हामीले पूर्ण गर्नुपर्छ | मन्दिरले आयोजना गर्ने कार्यक्रममा सक्रियता पूर्वक भाग लिनुपर्छ | आफुले कमाएको धन मध्ये केही प्रतिशत नियमित रूपमा दान दिनुपर्छ | महिनामा एक पटक मन्दिरमा स्वयंसेवक बनेर मन्दिरको संरक्षणमा टेवा दिनु पर्छ |
सबैभन्दा महत्वपूर्ण कुरा, आजभोली केही प्रगतिशील भनाउंदा र विदेशी धर्महरूले "मठमन्दिर, पण्डितपुरोहित, पूजाआजा"हरू सामन्तवादका प्रतिनिधि हुन्" भन्ने जस्तो नितान्त घृणित, विभेदकारी र आफैलाई नष्ट गर्ने "वैचारिक-जाल"हरू फैलाएर आफ्नै धर्म, संस्कृति तथा इतिहासप्रति हीनताबोध उत्पन्न गर्ने काम भइरहेको छ | एस्ता घृणावादी सोचको प्रतिवाद गर्नुपर्छ | मन्दिरहरू हाम्रो पहिचान हुन्, हाम्रा इतिहास हुन् | हाम्रो संस्कृतिको निरन्तरताका लागि अनिवार्य सोपान हुन् | यी घृणावादीको बैचारिक जालमा परेर आफ्नै धर्मका विरुद्ध बोल्नेहरूको बौद्धिक प्रतिवाद गरौँ |
अन्त्यमा, मन्दिरहरू, मठहरू, हरू, गुम्वाहरू, चैत्यहरू, हाम्रा जीवित धर्म, संस्कृति र इतिहास हुन् | हाम्रो स्वाभिमानी इतिहास यिनैसंग जोडिएको छ | मन्दिरको वेवास्ता गर्नु आत्मघात हो | मन्दिर र मन्दिर संस्कृतिसंग आफु र आफ्नो परिवारलाई जोडौं | सनातन धर्मको विनम्र तर स्वाभिमानी अनुयायी भएको प्रमाण बनौं | धन हुनेले धन, मन हुने ले मन र शारीरिक सेवा दिन सक्नेले स्वयंसेवा प्रदान गरौँ |
हामी गर्न सक्छौं |

Thursday, June 17, 2021

नेपालको मौलिक कला

 नेपालको मौलिक कला

नेपाली शिक्षाविद् तथा नीतिनिर्माताहरूले प्राचीनतम समयदेखि अध्ययन/अध्यापन गर्दै आएका यी विषयहरू वारे थाहा छ कि छैन ? यी प्राविधिक शिक्षाका विधाहरू आज पनि समाजमा प्रचलित छन् | विषयहरू थपिएका छन्, घट्ने सवाल नै छैन | अहिलेको नेपाली समाजमा स्वरोजगारको समस्या छ भने सिटिभीइटीआदि संस्थाहरूले वैदिक कालदेखि प्रचनमा रहेका निम्न विधाहरूसहित अन्य विधाहरूको शैक्षिक व्यबस्था गर्दा के हुन्छ ?
आफ्नै मौलिक तथा रैथाने प्रणालीको विस्तारमा ध्यान नदिने, नक्कल गर्न मात्रै तम्सिएर देश र समाजको विकास हुन्छ भन्नेहरू "झूटा" हुन् | सबै अरूका राम्रा हुँदैनन्, सबै थोक आफ्ना नराम्रा हुँदैनन् | असल कुराहरू विश्वबाट ग्रहण गर्नुपर्छ, आफ्ना असल कुराहरू विश्वभरि पुर्याउनु पर्छ |
आज राजनैतिक दलका नेताकार्यक्रता, शिक्षाविद्हरू र विकास कर्मीहरूको चासो कला अर्थात् (Vocational education) मा छ | मैले लामो समयदेखि अध्ययन गर्दा के पाएँ भने नेपालजस्तो देशका युवायुवतिहरूलाई स्वरोजगारमा केन्द्रीत गर्ने हो भने कामसूत्रले स्थापित गरेका ६४ प्रकारका कलाहरू (Vocational education) सबैभन्दा उपयुक्त ठहरिन्छन् | आज पनि नेपालमा केही वाहेक सबै ६४ प्रकारका कलाहरू सिकाउने जनशक्ति उपलब्ध छ |
शिक्षामन्त्रालयका कर्ताधर्ताहरूले भन्नुपर्छ तल दिएका ६४ कलाहरू मध्ये कुन काम नलाग्ने वा तुरुन्त रोजगार दिन नसक्ने छ ? ठूलाठूला कुरा गर्ने तर स्थानीय जनशक्ति, स्थानीय साधनस्रोत तथा ज्ञानको सर्वोत्तम उपयोग गरेर दक्ष जनशक्ति (विश्वभरी सजिलै विक्ने) तयार गर्नेतिर फिटिक्क माखो नमार्नेहरूका के भन्नु !! यी ६४ कलाहरू स्थानीय जनशक्ति, स्थानीय स्रोतसाधन र अत्यन्त न्यूनतम खर्चमा सिकाउँन सकिने विषय हुन् |
सरकार त सरकार नै भैहाल्यो ! प्राचीन गुरुकुलहरूमा उपरोक्त विषयहरूको छुट्टाछुट्टै पठनपाठनको व्यबस्था भएको हुँदानै यी विषयहरूको सिलेवस बनेको हो | आजका गुरुकुल तथा पाठशालाहरूले निम्न ६४ कलाहरू मध्ये स्थानीय आवश्यकता, जनशक्तिको उपलब्धि तथा स्थानीय स्रोतका आधारमा ५ देखि १० बटासम्म कार्यक्रमहरू संचालन गर्न सक्छन् | निजिस्तरका गुरुकुलहरूले पनि आफ्नो अनुकुलका Vocational education विषयहरूको पाठ्यक्रम बनाएर पढाउन सक्छन् |
यजुर्वेदको तेस्रो अध्यायको चौथो मन्त्रदेखि २२ मन्त्र सम्म र कामसूत्रको कामसूत्र १.३.१५ मा निम्न चौसठ्ठी प्रकारका (कला) अर्थात् (Vocational education) को प्रष्ट उल्लेख गरिएको छ :
१- गानविद्या, २- वाद्य - भांति-भांतिका बाद्यवादन, ३- नृत्य, ४- नाट्य, ५- चित्रकारी, ६- बुट्टा भर्नु , ७- विभिन्न सामाग्री प्रयोग गरेर उपहार बनाउनु
८- फूलका विभिन्न मालाआदि निर्माण गर्नु , ९- दांत, वस्त्र तथा अंगहरूमा रङ्ग लगाउनु ब्युटीपार्लर, १०- ढुंगाका विभिन्न वस्तु निर्माण गर्नु, ११. शय्या-रचना
१२- पानीलाई कलात्मक रूप दिनु १३- जादु इत्यादि देखाउनु,
१४- हार-माला आदि निर्माण गर्नु, १५- कपाललाई कलात्मक बनाउनु (नाउँको काम), १६- गहना र कपडा निर्माण गर्नु, १७- फूलले सजावट गर्ने काम , १८- कान सजाउनु , १९- सुगंध वस्तुएं-इत्र, तैल आदि निर्माण गर्नु
२०- इंद्रजाल-जादूगरी, २१- रूप फेर्नु, २२- हातले फुर्तिलोसंग काम गर्नु, २३- अनेकौं प्रकारका खाद्य समान बनाउनु )सेफ), २४- अनेकौं पेय पदार्थ निर्माण गर्नु , २५- सियोको काम जान्नु, २६- पुतली निर्माण र नाँच , २७- गाउँ खाने कथा जान्नु २८- काठ वा ढुंगाका मूर्ति कुद्नु , २९- कूटनीति, ३०- पढाउने कला (शिक्षक/विद्या), ३१- नाटक आख्यायिको रचना जान्नु, ३२- समस्यापूर्ति गर्न जान्नु, ३३- शस्त्रअस्त्र-निर्माण गर्नु, ३४- गलैचा, दारी आदि बुन्नु, ३५- काठको कारीगरी, ३६- घरको कारीगरी ३७- रत्नपरीक्षा परीक्षा ज्ञान, ३८- सुनचाँदीको काम (सुनार), ३९- हिरामोति चिन्ने कला, ४०- खानी सम्बन्धि ज्ञान, ४१- वृक्ष चिकित्सा, ४२-पशु चिकित्सा, ४३- पशुपक्षीको बोली जान्नु, ४४- उच्चाटनकी विधि, ४५- शरीरको सफाई विधि, ४६- मनोविज्ञानको ज्ञान, ४७- म्लेच्छित-कुतर्क-विकल्प, ४८- अनेकौं भाषाको ज्ञान, ४९- शकुन-अपशकुन जान्नु, ५०- मातृकायन्त्र निर्माण गर्नु, ५१- रत्नहरूको कटनी, ५२- सांकेतिक भाषाको ज्ञान, ५३- तत्कालै गीत रचना गर्ने कला , ५४- आविष्कार गर्ने कलाहरू, ५५- छल , ५६- शब्द ज्ञान, ५७- छन्दहरूको ज्ञान, ५८- लुकाउने कला, ५९- द्यू्त क्रीड़ा, ६०- आकर्षक देखिने कला, ६१- बालप्रिय खेल/विभिन्न खेलहरूको ज्ञान
६२- मन्त्रविद्या, ६३- युद्धमा विजय प्राप्त गर्ने कला, ६४- वेतालआदिलाई वस पार्ने विद्याको ज्ञान
उपरोक्त सबै विषयहरू स्वतन्त्र तथा मिश्रित सिलेवसको हैसियत राक्छन् | उदहारणका लागि आजभोली गायक/गायिका बन्ने रहर नभएको मान्छे हुँदैन | उदाहरणका लागि हरेक विद्यालयहरूले प्रथिमिकतहमा भए पनि सङ्गीत सिकाएकै हुन्छन् | प्राचीन र आधुनिक मिश्रितसंगीत सिक्नका लागि स्वतन्त्र Sangiit Vocational training school संचालन गर्न सकिन्छ |
रैथाने बाजाहरूको निर्माण तथा बजाउने सम्वन्धि ज्ञानहरू लोप हुँदैछन् | विदेशी सङ्गीतले रैथाने सङ्गीत र बाद्यवादनका साधनहरूको विनाश हुँदैछ | यदि हामीले "बाद्य" (मृदंग, मुचुन्गा, सहनाई, दमाहा, ट्याम्को, मुरली) आदिको निर्माण, सिकाईका लागि "बाद्य-वादन स्कूल" खोलेर इच्छुक समुदायलाई सिकाउने काम गर्न सकिन्छ | नेपालको गंदर्भजातिले यो काम परापूर्वकालदेखि नै गर्दै आएको छ | उनीहरूलाई नै निकाय खडा गरेर जिम्मेवारी दिने हो भने बाद्यवादनको संरक्षण मात्र होइन प्रवर्धन पनि हुन्छ, स्वरोजगारी बढ्छ |
फ्रान्स सुगन्धि (परफ्युमको) उत्पादनका लागि प्रसिद्ध छ भने इटाली सुन्दरी प्रतियोगिताका लागि | यजुर्वेदले यी दूवै विषयजरूलाई स्वतन्त्र सिकाईका विषयहरूका रूपमा स्थापित गरेको छ | फ्रान्सेलीहरूले आज पनि परम्परागत शीपको प्रयोग गरेर सुगन्धि उत्पादन गरिरहेका छन् भने इटालीको मिलानो सहर मोडेल उत्पादनको लागि प्रसिद्ध छ | यी दूवै कलाहरू तिनका रैथाने हुन् | हाम्रो संस्कृतिमा उपरोक्त दूवै शीप-विद्याहरू प्राचीनकालदेखि नै अभ्यास हुँदै आएका हुन् | उप्रान्त निजी तथा सरकारीतहहरूले स्वरोजगार विकासका लागि उपरोक्त सीप विद्यालयहरू संचालन गर्न मिल्छ |
हो, तत्कालीन ६४ कलाहरू मध्ये आजको आवश्यकताका लागि "खरा" नहुन सक्छन् तर संरक्षणकातहमा सिलेवस निर्माण गरेर सिकाउनु हरेक नेपालीको दायित्व हो | ६४ मा धेरै थप्न मिल्छ तर Vocational education को इतिहासमा वैदिक शिक्षा प्रणाली नै "Vocational education" को मातृभूमि हो भन्न मिल्छ र इतिहासमा लेख्न मिल्छ | Vocational education को इतिहासमा उप्रान्त हामीले स्वाधिकार ठान्नुपर्छ |
यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने उपरोक्त ६४ कलाहरू सिक्ने, सिकाउने अधिकार महिला तथा पुरुषलाई समानतहमा छ | स्त्री र पुरुषका लागि विभेद गरिएको छैन | उपरोक्त कलाहरू मध्ये एउटा पनि कलामा दक्षता प्राप्त गरेको व्यक्तिले वेरोजगार रहने सम्भावना नै हुँदैन |
अव एता पो चिन्तन, कार्यान्वयन पो गर्ने हो कि ?

स्वर्ग जाने चिता

 स्वर्ग जाने चिता...

जिन्दगी चलिनैरहेको थियो | मान्छेहरू आ-आफ्नो काममा व्यस्त थिए | तेसै बीच केही नौला मान्छेहरू आएर भने "तिमी नर्कमा छौँ, हामीसंग यो ठाउँलाई स्वर्ग बनाउँने क्षमता छ |"
तेसपछि उनीहरूले घरघर गएर स्वर्गका सुखहरू बताउँन थाले | स्वर्गप्राप्तिका लागि एकजुट हुन आग्रह गरे |
स्वर्गमा पाइने सुखका कथा सुनेपछि मान्छेलाई जिउंदै जान मन लाग्छ | मान्छेहरू एकत्र भए | नौला मान्छेहरूले "ठाउँ" स्वर्ग बनाउदिने न भए स्वर्ग नै पठाउने ठेक्का लिए |
धेरै समय वित्यो त्यो ठाउँ स्वर्ग बन्न सकेन | पुरानो व्यबस्थामा बाँच्ने कला रहेन | मान्छेहरूले भने "खै तपाईंहरूले ल्याउने स्वर्ग ?"
नेताहरूले भने "हामीलाई यहाँ स्वर्ग ल्याउँन गार्हो भएको छ | तर तपाईंहरूलाई हामी स्वर्गको सुख भोग्न पठाउँछौँ | तपाईंहरू भोलिविहानै यहाँ आउनु हो |
त्यो ठाउँका सबै मान्छेहरू भोलिपल्ट आर्यघाटमा आए | सबै स्वर्गको सुख भोग्न, देख्न चाहन्थे | तेहा हजारौं चिताहरू सजाइएका थिए |
जनताले भने "हामीलाई स्वर्गका सुख चाहिएको हो | हामी मर्न चाहन्नौं | सुख हाम्रो लक्ष हो हामी आफ्ना सन्ततिहरूको सुख सुनिश्चित गर्न चाहन्छौं |"
नेताहरूले भने "पहिले स्वर्ग गएर तेहाको सुख तपाईंका लागि ठीक छ कि छैन ? बहुमतले निर्णय गर्नुस् | तपाइँहरू चितामा बस्नुस् | हामी "शक्ति प्रयोग" गरेर स्वर्ग पठाई दिन्छौं | स्वर्गमा गएर तेहाका सुखमा अल्मलिने धेरै हुन्छन् | तपाईंहरू "बहुमत" फर्कनु हुन्छ भन्ने विश्वास गर्छौं |"
सबै मान्छेहरू सुखको चाहनामा खुसिखुसी चितामा चढे | घाटमा सेनाका ब्याण्डहरू जोडजोड़ले बजिरहेका थिए | नेताहरू एकआपसमा खुसी साटासाट गर्दै थिए |
तेसै बखत नेपाल खाल्टोमा जर्मनीका स्वर्गीय कार्लमार्क्स, अमेरिकाका जर्ज वाशिंगटन र जन क्याल्भिन प्रकट भए, नेताहरूसंग मिसिए | अनि सबै मिलेर तरुणतपसीको यो श्लोक जोडजोडले गाउँन थाले - "मै खाउँ मैं लाउँ सुखसयल वा मोज म गरूँ, मैं बाँचु मैं नाचूँ अरू सब मरूँन् दुर्वलहरू "|
यसरी त्यो देश नेताहरूका लागि स्वर्ग र जनताहरूका लागि स्वर्ग जाने चिताका रूपमा चलिनै रहेको छ | न नेताले स्वर्ग ल्याउँने बाचा छोडेका छन्, न जनताले चितामा बसेर स्वर्गमा पुगिने विश्वास नै मारेका छन् |
कोरोनाका चिताहरू आर्यघाटमा जलिरहंदा लोकतान्त्रिक गणतन्त्रका लेखकहरू हाँस्दै रहेका छन् | जनता स्वर्ग जाँदैछन् | नेताहरू स्वर्ग भोग्दैछन् | कठै ! हाम्रो भाग्य !!

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)
प्राचीन गुरुकुलको पाठ्यक्रममा अणिमा अर्थात् परमाणु सरह सानो हुने, महिमा अर्थात् अत्यन्त ठूलो हुने, गरिमा अर्थात् धेरै गह्रुङ्गो हुने, लघिमा अर्थात् हलुङ्गो हुने, प्राप्ति अर्थात् मनले चिताएको कुरा प्राप्त गर्ने, प्रकाम्य अर्थात् अर्काको मनको कुरा बुझ्ने, ईशत्व अर्थात् सर्वज्ञता प्राप्त गर्ने र वसित्व अर्थात् निर्जीव र सजीव दूवैलाई आफ्नो वसमा पारेर काम लिने विद्याहरूको पनि अभ्यास गराइन्थ्यो कि ?

तन्त्र, मन्त्र यन्त्र तिनैबटा साधनहरू र योगसाधनाले उप्रोत्ज अष्टसिद्धिहरू प्राप्त हुन्छन् भनेका छन् भने उपरोक्त आठैबटा सिद्धिहरूको प्रयोग गरेका महपुरुषहरूको उदाहरणहरू पनि छन् | महत्वपूर्ण तत्थ्य के हो भने हरेक सिद्धि प्राप्तिका लागि के-कस्तो साधना गर्नुपर्छ भन्ने साधनका व्याबहारिक पक्षहरू पनि शास्त्रहरूमा प्रसस्त साक्षहरू प्राप्त छन् |

विज्ञानका विषयहरू पनि प्रयोगमा नआउँदासम्म अविश्वसनीय नै हुन्छन् | आज भन्दा ५० वर्ष अगाडीसम्म इन्टरनेट, मोबाइल फोन, रङ्गीन टेलिभिजन, आज भन्दा ४० वर्ष अगाडीसम्म लेपटप कम्प्युटर, डिजिटल घडी, मङ्गल ग्रहको यात्रा सबै अविश्वासनीय नै थिए | प्राचीन वैदिक सभ्यतामा सभवत: प्रयोग भएका तर अहिले कालगतिका कारण शास्त्रीय चर्चामा रहेका अष्ट-सिद्धिका विषयहरूलाई "मानवीय कल्पना" मात्र भन्नु विज्ञानको नियमलाई अस्वीकार गर्नु हो | वरू, शास्त्रीय रूपमा उपलब्ध प्रमाणहरूका आधारमा पुनर्स्थापित गर्ने आवश्यकता ठान्छु |

आजको वैदिक समाजले र समाजका अगुवा गुरूहरूबाट साधनाको लिंक टुटेको छ भने अर्कोतिर योग्य तथा जिज्ञासु विद्यार्थीहरूको अभाव देखिन्छ | आधुनिकताको प्रवाहले प्राचीन साधना र साधकहरूको निरन्तरता भंग भएको हो भनेर मैले प्रमाणित त गर्न सक्दिन तर योग्य शिक्षकहरू जिज्ञासु तथा योग्य विद्यार्थीहरूको मिलन नभएर साधना विपत्तिमा परेको छ कि सोच्नु पर्ने बुझिन्छ |

हनुमानले सुरसाको मुखमा पस्दा सानो रूप लिएको (अणिमा) , दुर्योधनले श्रीकृष्णलाई वन्दी बनाउँन खोज्दा विश्वरूप देखाएको(महिमा) , रावणको छोरोले अंगदको गोडा उचाल्न खोज्दा (गरिमा), सत्यभामाले जोख्न खोज्दा श्रीकृष्णले आफ्नो वजन तुलसीको पात भन्दा हलुङ्गो बनाएका (लघिमा), तपस्या गरेर ऋषि-मुनि, राजाहरूले चाहेको वरदान प्राप्त गरेको (प्राप्ति) महर्षि वशिष्ठले मनको कुरा बुझ्ने शक्ति प्राप्त गरेको (प्रकाम्य) रावणआदिले शक्ति प्राप्त गरेर विश्वको प्रभु बनेको (ईशत्व) र मोहनी रूपधारण गरेका विष्णुले देवदानव तथा मानवलाई मोहित पारेका (वसित्व) उदाहरण नै छन् |

यो विश्वका वस्तुहरू किन अणुरूप छन् कि विशाल | ती अत्यन्त गह्रौं छन् कि एजदमै हलुका | प्रज्ञाशील व्यक्तिहरूले सधैं के यी सबै सिद्धि र प्रयोगकर्ताहरू निरापद थिए त ? खोज्ने, पुनस्थापित गर्ने र पहिल्याउने काम हाम्रै जिम्मेवारीमा परेको छ | 

आत्मदीपो भव:

 आत्मदीपो भव:

आफ्नो ज्ञानको स्रोत आँफै बन, आफ्ना कर्मको दायित्व स्वीकार गर, आफुलाई चिन, आफ्नो बाटो आफै बनाऊ - उपनिषद्को यो अभिप्रेरणालाई बुद्धले "अप्पदीपो भव:" पुन: आत्मालाई चिन्न प्रेरित गरेका थिए |
हामी सबै स्वप्रकाश बनौं | आफ्नो स्वाभिमानको रक्षा गरौँ तर अभिमानलाई त्यागौं | आँफै स्वावलम्बी बनेपछि अरूलाई प्रेरित गर्न सजिलो हुन्छ | एउटा दीयोले लाखौंलाख दीयोहरू बाल्न मिल्छ |
तीनबटा बाटो छन् - ज्ञान, भक्ति र कर्म | तिनैबटा मार्गहरू महत्वपूर्ण छन् | मैले अनुभव गर्छु, ज्ञानपूर्वक गरिने कर्म ज्ञानयोग हुन् | समर्पणपूर्वक गरिने कर्महरू भक्ति योग हुन् | निष्कामभावले गरिने कर्महरू शुद्ध कर्मयोग हुन् | आज विवेकयुक्त र समर्पित भावले कर्म गर्ने कर्मयोगीहरूको खाँचो छ | कर्मयोगी बनौं | कर्मयोगीहरू बनेर सबैलाई जगाऔं |
दुख तथा सुख जीवनका दूईबटा पाटा हुन् | सुखमा मातिनु हुँदैन | दुखमा आत्तिनु हुँदैन | सुख र दुख दुवैको अवसान निश्चित छ | जीवनसंग सुखदुख स्वत: प्राप्त हुन्छन् | शारीरिक सुखका लागि मात्र कर्म गर्नु स्वार्थ हो | आफुलाई स्वास्थ्य राख्दै अरुको कल्याणका लागि कर्म गर्नु कर्मयोग हो | यो तत्थ्य बुझ्ने र मनन गर्नेहरू स्वप्रकाश हुन्छन् |
विवेकी र दैवी व्यक्तिहरू आत्मकल्याण र अन्यको कल्याणको लागि कर्म गर्छन् | स्वार्थीहरू धर्मको आवरणमा आफ्नो अहङ्कार सिद्ध गर्छन् | आफ्नो "जयजयकार" गर्ने झुण्डहरू खडा गर्छन् | ज्ञान, भक्ति र कर्मयोगको आवरणभित्र स्वार्थ साँध्नेहरू नर्कमा जान्छन् | तिनका अनुयायीहरू पनि नर्कमा पर्छन् | तर विचलित हुनुपर्दैन, आत्मदीपहरूको स्वप्रकाशले छलहरू चिन्छ | हामी आत्मदीप ऋषिका सन्तान हौँ | हामी निर्भय भएर सत्कर्मको पथमा अगाडी बढौं |
अहिले हाम्रो देश, संस्कृति, धर्म, असल-संस्कारहरू सङ्कटमा छन् | सङ्कटबाट उठाउँने जिम्मवारी बोध गरौँ | जातीय, वर्गीय, भौगोलिक तथा छुवाछुतजस्ता बिकृतिहरूलाई दृढताका साथ अस्वीकार गरौँ |
"म"लाई हामीमा रुपान्तरित गरौँ | आफै जागृत भएर अरूलाई जगाऔं | कुनै पनि परिवर्तन तुरुन्त हुँदैन, धैर्यपूर्वक कर्म गरौँ | सेवाभावले कर्म गर्नुनै निष्काम कर्मको अभ्यास हो | कर्मयोगको अभ्यास हो र कर्मयोगी बन्नेतिरको कदम हो | कर्मयोगी बनौं |
कर्मयोगको बाटो सजिलो छैन | आँफु जाग्नु सजिलो छैन | आफ्नो दीयो आँफै बन्नु सहज छैन | धेरै अवरोधहरू आउने छन् | धेरै शत्रुहरू भेटिने छन् | अनेकौं प्रलोभनहरूले बाटो रोक्ने छन् | केही योगीका रूपमा, केही भोगिका रूपमा, केही गुरूको रूपमा, केही सहयोगीका रूपमा अवरोध बन्ने छन् | तर आत्माभित्र स्वप्रकाश भएको दीयोले सबै असल-कमसल, सहयोगी-असहयोगी, स्वार्थी-निस्वार्थीको छिनोफानो गर्ने छ |
जवजव मैले आत्मदीप बन्ने अभ्यास गर्छु, मलाई विश्वसंग एकात्माको अनुभव गर्छु | मभित्र शुद्ध उर्जा भरिन्छ | विश्वको कुनै पनि मान्छे शत्रु लाग्दैन | म काल, रोग, शोक, चिन्ता तथा गहिरो पीडाहरूबाट निर्भय भएको अनुभव गर्छु | मान्छे मात्र होइन पशुहरू पनि मसंग प्रेम गर्न थाल्छन् | प्रकृति समेत मेरो सहयोगी बन्छ | किनभने आत्पदीपको अभ्यास गर्नु भनेको अहङ्कार र छलप्रपंच तथा अभिमानबाट मुक्तभै सत्यको पथ समात्नु हो |
कुनै व्यक्ति विशेषलाई खुसी पार्न कर्म नगरौं | कसैको कृपा प्राप्त गरेर लाभान्वित बन्न कर्म नगरौं | आँफु र अरूलाई कष्ट, दु:ख दिन कर्म नगरौं | खराव मान्छेहरूलाई सहयोग पुग्ने कर्म नगरौं | हाम्रा हरेक कर्महरू अर्काको लागि दियो बनुन् | हाम्रो हरेक कर्म सेवामा रुपान्तरित हो |
मेरो मनमा घृणा छैन तर स्वाभिमान छ | स्वाभिमान नै आत्मदीपको लक्षण हो | ऋषिकुल र देवदेश नेपालको उत्तराधिकारी भएकोमा आनन्द लाग्छ | विश्वका हरेक प्राणिमा म मेरै प्रतिविम्व देख्छु किनभने हरेक व्यक्तिभित्र त्यही दियो छ जुन मभित्र निरन्तर प्रज्वलित भएर मलाई जीवन्त बनाइरहेको छ | मलाई सत्कर्ममा अभिप्रेरित गरिरहेको छ |
मैले अनुभव गरेको छु, जव हामी स्वप्रकाश बन्छौं, संसारका अध्याराहरू स्वत: हटेर जान्छन् | चुम्वकले फलाम तानिएझैं असल व्यक्तिहरूको सङ्गत बढ्छ | असल मनका मान्छेहरू जोडिन्छन् | कमसल मनका मान्छेहरू अलिअलि गरेर वाहिरिन्छन् | असल र कमसलहरू आँफै छुट्टिन्छन् | अर्को कुरा, आत्मदीपको अगाडी, पछाडी, माथि-तल जता परे पनि असलहरू तुरुन्त प्रकाशित हुन्छन् |
आज हाम्रो देश, समाज र सनातनधर्मको लागि कर्मयोगीहरूको प्रतीक्षा छ | आँफुले सेवापूर्वक कर्म गरौँ | हाम्रो सुकर्म अर्काको लागि प्रेरणा बन्ने छ | कर्म प्रेरणा बनेपछि आयु, यश, विद्या र बल प्राप्ति हुनेछ | सामूहिक कल्याणको चेतनाले गरिएका हरेक कर्म अमृत हुन् | हामी अमृतका वाहक बनौं |

गर्भवान् पुरुष..


गर्भवान् पुरुष र सिजेरियन विधिको वैदिक विज्ञान
अमेरिकाको होनोलुलु नामक सहरमा सन् १९७४ मा जन्मिएका थोमस बेटी नामक पुरुषले आफ्नै कोखबाट सन् २००७ सम्ममा चारबटा सन्तान जन्माए | अहिलेको समयमा पुरुष गर्भवान् भएर बच्चा जन्माएको यो पहिलो उदाहरण हो | तेसपछि भने धेरै पुरुषहरूले बच्चा जन्माएका छन् |
आधुनिक चिकित्सा विज्ञानले पुरुषहरूको पेटमा गर्भासय निर्माण गरेर महिलाको डिम्ब र पुरुषको शुक्र यन्त्रमा निषेचित गराई प्राकृतिक विधिबाट नै बच्चा कोरालिंछ | धेरैले पुरुषले बच्चा जन्माउँनुलाई अप्राकृतिक भनेर आलोचना गरेका छन् भने अन्य केहीले यस विधिको प्रसंशा गरेका छन् |
सूर्यवंशी राजा युवानश्वका कुनै सन्तान थिएनन् | उनले आफ्ना कुलागुरु भृगु ऋषिसंग सन्तानका लागि प्रार्थना गरे | ऋषि भृगुले यज्ञमा जल अभिमन्त्रित गरेर युवानश्वकी रानीका लागि सुरक्षित गरे | लामोसमयसम्म यज्ञका खटेका राजाको अचानक रात्रीमा निन्द्रा खुल्यो | प्यास मेताउँन राजाले तेही अभिमन्त्रित पानी पिए |
अभिमन्त्रित जलका कारण राजा गर्भवान् बन्न पुगे | नौमहिना पछि राजा युवानश्वको पेट चीरेर एउटा बालक निकालियो | स्तनपानको अभावमा इन्द्रले आफ्नो कान्छी औला चुसाए | इन्द्रको औला पान गरेको कारण बालकको नाम "मान्धाता" राखियो |
यो प्रसंग ऋग्वेदमा समेत उल्लेख छ तर अलिफरक रूपमा | अथर्ववेदमा सन्तान प्राप्तिका लागि अनेकौं विधिहरूको उल्लेख गरिएको छ |
यो प्रसंग भागवतको नवौं स्कन्ध, महाभारत, अग्निपुराण, पद्मपुराण र अन्य थुप्रै पुस्तकहरूमा इतिहासका रूपमा दर्ता छ | यस प्रसंगमा तीनबटा तत्थ्यहरू उजागर हुन्छन् -
१. प्राचीनकालमा पुरुषहरूले बच्चा जन्माउँन सक्ने उन्नत प्रविधि विद्यमान थियो | युवानश्वले अभिमन्त्रित विधिले गर्भधारण गरेका थिए (भागवत ९/६/२५-३१)
३.वाल्मीकि रामायणमा श्रीरामआदिको जन्म पनि अभिन्त्रण विधिबाट नै भएको थियो तर यहाँ पुरुषले होइन मात्रिशक्तिबाट नै बालकहरू जन्मेका थिए, सम्भवत: यो ट्युब-विधि थियो |
२. आधुनिक समयमा सिजेरियन विधिले बच्चा वाहिर निकालेझैं प्राचीन समयमा पनि सिजेरियन विधि थियो | (कुक्षी निर्भिद्य दक्षिणम् - दाहिनेतिरको पेट काटेर बालक वाहिर ((निकालियो भागवत ९/६/३०)
३. विशेष अवस्थामा पुरुषहरूले जमाएका अप्राकृतिक बालबालिकालाई १३ दिनमैं किशोर-किशोरी अवस्थामा विकसित गर्ने औषधि उपलब्ध थियो |
आजको मेडिकल विज्ञानले भनेझैं पुरुषहरूले बच्चा जन्माएका थोमस बेटी पहिलो व्यक्ति होइनन् | दोस्रो, सिजेरियन विधिको पहिलो प्रयोग पनि युवानश्वको गर्भबाट मान्धतालाई निकाल्न प्रयोग गरिएको थियो | यसरी पुरुषले बच्चा जन्माएको र सिजेरियन विधिले बच्चा निकाल्ने प्रयोग वैदिक ऋषि बैज्ञानिकहरूको अन्वेषण हो |
आज यसरी अप्राकृतिक तवरले जन्मेका बालबालिकालाई १३ दिनमै किशोर-किशोरी बनाउने प्रविधि नष्ट भैसकेको छ | अश्विनी कुमारहरूले बूढा च्यवन ऋषिलाई नवयुवक बनाएका थिए भने अर्कोतिर इन्द्रले शिशुलाई जन्मेको पन्ध्र दिनमा किशोरमा रुपान्तरण गरेका थिए |
पुराणमा उल्लेखित यी कथाहरू कल्पना नै भए पनि आयुर्वेदको इतिहास हुन् | पुरुष गर्भधारण, शल्यविज्ञानको इतिहासमा आधुनिक मेडिकल साइन्सले उपरोक्त मान्धाताको जन्मलाई आफ्नो जेनेसिस मान्नु पर्छ | कसेकम भारतवर्षका मेडिकलका विद्यार्थी, विज्ञ तथा अनुसन्धाताले उपरोक्त प्रसंगलाई साहित्य-समीक्षाको पहिलो सोपानमा राख्नुपर्छ तर आधुनिक मेडिकल विज्ञानसंग प्रतियोगिता गर्न आवश्यक छैन |
विज्ञानका विद्यार्थीहरूले प्राचीन विज्ञानको (कथा नै भए पनि तेसै वन्दैन) यो प्रगति कुन् कालखण्डमा किन र कसरी थामिन पुग्यो खोज गर्नुपर्छ | हामीले आफ्नो इतिहास जरोकिलोको विषयमा अनुसन्धान नगरे कसले गरिदिन्छ ? अगाडी बढौं र प्राचीन वैदिक विज्ञानसंग आधुनिक विज्ञानको लिंक (सूत्र)को खोज गरौँ |

Wednesday, June 16, 2021

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

 अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो |
दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर "साम्यवादीले धर्म मान्दैनन्" भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् |
तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको "ब्लेक मेलिंग" गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |
पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र "चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा" कमाउनु हो |
दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि "समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि" प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् |
तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |
अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् |
अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो | नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने "हिन्दूहरू विरुद्ध घृणा" फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ |
यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् |
यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ | आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो |
सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो |
जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ | हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ |
प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो - आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु |
अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई "आधुनिक"भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |
नेपाल हाम्रो हो र हामी नेपाली हौँ - यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ | वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ |
वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् | हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन |
अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...