Thursday, June 17, 2021

आत्मदीपो भव:

 आत्मदीपो भव:

आफ्नो ज्ञानको स्रोत आँफै बन, आफ्ना कर्मको दायित्व स्वीकार गर, आफुलाई चिन, आफ्नो बाटो आफै बनाऊ - उपनिषद्को यो अभिप्रेरणालाई बुद्धले "अप्पदीपो भव:" पुन: आत्मालाई चिन्न प्रेरित गरेका थिए |
हामी सबै स्वप्रकाश बनौं | आफ्नो स्वाभिमानको रक्षा गरौँ तर अभिमानलाई त्यागौं | आँफै स्वावलम्बी बनेपछि अरूलाई प्रेरित गर्न सजिलो हुन्छ | एउटा दीयोले लाखौंलाख दीयोहरू बाल्न मिल्छ |
तीनबटा बाटो छन् - ज्ञान, भक्ति र कर्म | तिनैबटा मार्गहरू महत्वपूर्ण छन् | मैले अनुभव गर्छु, ज्ञानपूर्वक गरिने कर्म ज्ञानयोग हुन् | समर्पणपूर्वक गरिने कर्महरू भक्ति योग हुन् | निष्कामभावले गरिने कर्महरू शुद्ध कर्मयोग हुन् | आज विवेकयुक्त र समर्पित भावले कर्म गर्ने कर्मयोगीहरूको खाँचो छ | कर्मयोगी बनौं | कर्मयोगीहरू बनेर सबैलाई जगाऔं |
दुख तथा सुख जीवनका दूईबटा पाटा हुन् | सुखमा मातिनु हुँदैन | दुखमा आत्तिनु हुँदैन | सुख र दुख दुवैको अवसान निश्चित छ | जीवनसंग सुखदुख स्वत: प्राप्त हुन्छन् | शारीरिक सुखका लागि मात्र कर्म गर्नु स्वार्थ हो | आफुलाई स्वास्थ्य राख्दै अरुको कल्याणका लागि कर्म गर्नु कर्मयोग हो | यो तत्थ्य बुझ्ने र मनन गर्नेहरू स्वप्रकाश हुन्छन् |
विवेकी र दैवी व्यक्तिहरू आत्मकल्याण र अन्यको कल्याणको लागि कर्म गर्छन् | स्वार्थीहरू धर्मको आवरणमा आफ्नो अहङ्कार सिद्ध गर्छन् | आफ्नो "जयजयकार" गर्ने झुण्डहरू खडा गर्छन् | ज्ञान, भक्ति र कर्मयोगको आवरणभित्र स्वार्थ साँध्नेहरू नर्कमा जान्छन् | तिनका अनुयायीहरू पनि नर्कमा पर्छन् | तर विचलित हुनुपर्दैन, आत्मदीपहरूको स्वप्रकाशले छलहरू चिन्छ | हामी आत्मदीप ऋषिका सन्तान हौँ | हामी निर्भय भएर सत्कर्मको पथमा अगाडी बढौं |
अहिले हाम्रो देश, संस्कृति, धर्म, असल-संस्कारहरू सङ्कटमा छन् | सङ्कटबाट उठाउँने जिम्मवारी बोध गरौँ | जातीय, वर्गीय, भौगोलिक तथा छुवाछुतजस्ता बिकृतिहरूलाई दृढताका साथ अस्वीकार गरौँ |
"म"लाई हामीमा रुपान्तरित गरौँ | आफै जागृत भएर अरूलाई जगाऔं | कुनै पनि परिवर्तन तुरुन्त हुँदैन, धैर्यपूर्वक कर्म गरौँ | सेवाभावले कर्म गर्नुनै निष्काम कर्मको अभ्यास हो | कर्मयोगको अभ्यास हो र कर्मयोगी बन्नेतिरको कदम हो | कर्मयोगी बनौं |
कर्मयोगको बाटो सजिलो छैन | आँफु जाग्नु सजिलो छैन | आफ्नो दीयो आँफै बन्नु सहज छैन | धेरै अवरोधहरू आउने छन् | धेरै शत्रुहरू भेटिने छन् | अनेकौं प्रलोभनहरूले बाटो रोक्ने छन् | केही योगीका रूपमा, केही भोगिका रूपमा, केही गुरूको रूपमा, केही सहयोगीका रूपमा अवरोध बन्ने छन् | तर आत्माभित्र स्वप्रकाश भएको दीयोले सबै असल-कमसल, सहयोगी-असहयोगी, स्वार्थी-निस्वार्थीको छिनोफानो गर्ने छ |
जवजव मैले आत्मदीप बन्ने अभ्यास गर्छु, मलाई विश्वसंग एकात्माको अनुभव गर्छु | मभित्र शुद्ध उर्जा भरिन्छ | विश्वको कुनै पनि मान्छे शत्रु लाग्दैन | म काल, रोग, शोक, चिन्ता तथा गहिरो पीडाहरूबाट निर्भय भएको अनुभव गर्छु | मान्छे मात्र होइन पशुहरू पनि मसंग प्रेम गर्न थाल्छन् | प्रकृति समेत मेरो सहयोगी बन्छ | किनभने आत्पदीपको अभ्यास गर्नु भनेको अहङ्कार र छलप्रपंच तथा अभिमानबाट मुक्तभै सत्यको पथ समात्नु हो |
कुनै व्यक्ति विशेषलाई खुसी पार्न कर्म नगरौं | कसैको कृपा प्राप्त गरेर लाभान्वित बन्न कर्म नगरौं | आँफु र अरूलाई कष्ट, दु:ख दिन कर्म नगरौं | खराव मान्छेहरूलाई सहयोग पुग्ने कर्म नगरौं | हाम्रा हरेक कर्महरू अर्काको लागि दियो बनुन् | हाम्रो हरेक कर्म सेवामा रुपान्तरित हो |
मेरो मनमा घृणा छैन तर स्वाभिमान छ | स्वाभिमान नै आत्मदीपको लक्षण हो | ऋषिकुल र देवदेश नेपालको उत्तराधिकारी भएकोमा आनन्द लाग्छ | विश्वका हरेक प्राणिमा म मेरै प्रतिविम्व देख्छु किनभने हरेक व्यक्तिभित्र त्यही दियो छ जुन मभित्र निरन्तर प्रज्वलित भएर मलाई जीवन्त बनाइरहेको छ | मलाई सत्कर्ममा अभिप्रेरित गरिरहेको छ |
मैले अनुभव गरेको छु, जव हामी स्वप्रकाश बन्छौं, संसारका अध्याराहरू स्वत: हटेर जान्छन् | चुम्वकले फलाम तानिएझैं असल व्यक्तिहरूको सङ्गत बढ्छ | असल मनका मान्छेहरू जोडिन्छन् | कमसल मनका मान्छेहरू अलिअलि गरेर वाहिरिन्छन् | असल र कमसलहरू आँफै छुट्टिन्छन् | अर्को कुरा, आत्मदीपको अगाडी, पछाडी, माथि-तल जता परे पनि असलहरू तुरुन्त प्रकाशित हुन्छन् |
आज हाम्रो देश, समाज र सनातनधर्मको लागि कर्मयोगीहरूको प्रतीक्षा छ | आँफुले सेवापूर्वक कर्म गरौँ | हाम्रो सुकर्म अर्काको लागि प्रेरणा बन्ने छ | कर्म प्रेरणा बनेपछि आयु, यश, विद्या र बल प्राप्ति हुनेछ | सामूहिक कल्याणको चेतनाले गरिएका हरेक कर्म अमृत हुन् | हामी अमृतका वाहक बनौं |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...