Saturday, December 12, 2020

मान्छेको निजीपन : मन

मान्छे दु:ख बाड्न चाहन्छन् तर सुखलाई एकलौटी मान्छन् | केही मान्छे एस्ता पनि हुन्छन्, जसको काम अर्कालाई सुखी हुन नदिनु हुन्छ | असल जीवनमा न सुख लुक्छ न दुख नै | न कसैले कसैको सुख लुट्न सक्छ न दुख नै किनभने सुख र दुख नितान्त मानसिक विषय हुन् | कसैको मनमा अरूकसैको नियन्त्रण हुनै सक्दैन | मन नितान्त मनवालको हुन्छ, मनमा मनवालको एकाधिकार हुन्छ | जसको मन दुख्छ उसको मात्र दुख्छ र जसको मन सुखी हुन्छ उसको मनमात्र खुसी हुन्छ | अरू केवल साक्षी हुन्छ, समवेदना वा खुसी भएको भागभंगीमा जाहेर गर्छन् |

तेसैले मन नै मान्छेको आफ्नो निजीपन हो र मनको भोगाई, बुझाइ र अनुभूति नितान्त एक्लैका हुन् | तेसैले मनोविज्ञानले मनको विषयमा व्यक्तिगत तवरले विचार गर्ने, बुझ्ने र क्रियाशील बनाउने सुझाव दिन्छ | धर्मले ईश्वरमा मन समर्पण गर्ने सुझाव दिन्छ | दर्शनशास्त्रले मनलाई चिन्तनमा क्रियाशील बनाउने दिशानिर्देश गर्छ | अर्थशास्त्रले मनलाई धनका लागि क्रियाशील गर्न प्रेरित गर्छ | मान्छे पिच्छे मनका अभिरुचि फरकहुँदा सजिलो भएको छ | तेरो मन र मेरो मन एकै होइन भनेर बुझ्न मैले आज लगाएको कमिज नै प्रयाप्त हुन्छ |
धेरैले मन बुझ्ने कुरा गर्छन् तर म भन्छु मन बुझ्ने कुरा होइन अनुमान गर्ने विषय हो | मैले पूर्वअनुभवहरूका आधारमा अरूको मनको कुरा बुझे प्रयत्नमात्र गर्न सक्छु | मसंग कसैको मनभित्र पस्ने कुनै संयन्त्र छैन | मैले कसैको मन चोर्न सक्दिन | मैले कसैलाई आफ्नो मन दिन सक्दिन | मैले कसैलाई मन दिएँ भने पनि मेरो मनमसंग नै रहन्छ | मन दिने र लिने कुराहरू काव्यका विषय हुन्, मनलाई मनोरंजन गर्न जुराएका मीठामीठा कल्पना हुन् |
मैले धेरैपटक आफ्नो मन दुखेको, खुसी भएको र वेवास्ता भएको अनुभव गरेको छु | म बोल्दैमा मेरो दुख हलुका हुँदैन र म हाँस्दैमा म सुखी हुन्छ भन्ने पनि हुँदैन | म धेरैपटक अर्काको लागि हाँसेको छु र धेरैपटक दुखनै अनुभव नगरी दुखहरू प्रकट गरेको छु | मैले धेरै गहिरा चोटहरूले मन मुर्च्छित हुँदैगर्दा खुसीको अभिनय गरेको छु | मनमा कत्ति पनि दुखका वीऊहरू नहुँदा पनि महादुखी बनेको अभिनय गरेर समवेदना प्रकट गरेको छु | धेरैठाउँमा त न सुख, न दुख कुनै प्रकारको संवेदना नहुँदा पनि सुख र दुखको अभिनय गरेर शुभचिन्तक बनेको छु |
विश्वमा केही अदभूत मान्छेहरू छन् जसका लागि सुखको कुनै आवश्यकता नै छैन र केही एस्ता मान्छेहरू पनि छन् जसलाई दुखको आवश्यकता पनि छैन | तर सुख र दुखका अनुभूतिहरूबाट विलग रहन सक्नुहुन्न | मनोविज्ञानले मनको चरित्र बोल्छ, दर्शनशास्त्रले मनको गतिबोल्छ, विज्ञानले मनको शक्ति बोल्छ र धर्मले मनको विश्वास बोक्छ | तर यी सबै र यी बाहेक धेरैथोक बोक्ने मेरो/तपाईंको नितान्त एक्लो मन हो | तपाईंका वरिपरी मान्छेहरूको उपस्थिति नहुँदा भरपर्दो साथी मन हो | तपाईंका वरिपरी थुप्रै साथी हुँदा पनि एक्लोपनको अनुभूति गराउने मन हो | तपाईं भनेकै तपाईंको आफ्नो मन हो |
सबैसंग एउटा मन छ, एउटा शरीर छ र एउटा जीवन छ | शरीरले मन बोक्छ, मन र शरीरले जीवन बोक्छन् | यदि मन भएन भने शरीर र जीवन दूवै अर्थहीन हुन्छन् | मनले शरीर र जीवन दूवैलाई अर्थ दिन्छ र शरीरले मनलाई व्यापार दिन्छ | शरीरका प्रवेशद्वारबाट संवेगहरू भित्र पस्छन्, मन तरंगित हुन्छ र शरीर प्रफुल्लित हुन्छ | जीवन सफल भएको भाव बलियो हुन्छ | अनुकुल वेदना र प्रतिकुल वेदना नै मनका व्यापार हुन् | तेसैले मन चिन्ने विषय पटक्कै होइन किनभने यो एतिविध्न नजिक छ कि चिन्नै पर्दैन | आँखाले आँखाका नानी देख्न सक्दैन तर त्यो आँखाको केन्द्रमा हुन्छ | मनले मनलाई बुझ्न नसकेको गुनासो गर्छ किनभने हरेक गुनासाहरू मनमा प्रवेश गरेर मनलाई उत्तेजित पार्छन् |
पृथ्वीले आजसम्म १ खर्व मान्छेहरूलाई जन्मायो, पाल्यो र पुन: माटोमा मिसायो | सबैसंग एकएकओटा मन थिए | सबैले मनको कुरा गरे, सबैको मन खुसी र दुखी पनि भयो | ती सबै मनहरूको अस्तित्व छैन | आजको मितिमा मसंग जस्तै तपाईंसंग पनि एउटा मन छ | मैले अनुमान गर्छु तपाईंको मन पनि मेरो जस्तै छ | तेसैले जुनकुरा मेरो मनलाई राम्रो-नराम्रो लाग्छ तिनै कुराहरूले अर्कोलाई पनि प्रभावित पर्ने अनुमान गर्छु | मेरो मनले मलाई खेलाउँछ, मैले मेरो मनलाई खेलाउन सक्दिन | मेरो मनले मलाई दल्नसम्म दलाउँछ तर जवजव मैले यसलाई दलाउँने प्रयत्न गर्छु धेरैजसो मैले असफलता नै पाउँछु |
मान्छेको स्वभाव नै हो रहस्यमय कुरा/विषयका वारेमा जानकारी प्राप्त गर्ने प्रयत्न गर्नु | तेसमा पनि आफ्नो मनको ऐनामा अर्काको मनको कुरा बुझ्ने जिज्ञासा र चाहना रोक्न सक्दैन | आफ्ना भावना, संवेग, आशा-निराशा तथा अनुभूतिका ऐनामा अरूलाई पढ्ने प्रयत्न आज पनि चलिनै रहेको छ | केहीले बुझेको अभिनय गर्छन्, केहीले बुझेको दावी गर्छन्, केहीले रहस्यमय भनेर चूप लाग्छन् तैपनि मनबाट विलग रहन सक्दैनन् | अर्काको मन पढ्ने इच्छा गर्नेहरूका लागि मन रहस्यमय विषय हो भने अर्काको कुरा सुनेर आफ्नै मनलाई रहस्यमय ठान्नेहरू पनि थुप्रै छन् |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...