Wednesday, February 22, 2017

परिवर्तनका चार कारण

१. असुरक्षा : नेपाली युवाहरू सधैं आफु असुरक्षित भएको अनुभव गर्छन् | पढेलेखेकाले जागिर पाउंदैनन् | पढ्न चाहनेले पढ्ने अवसर पाउंदैनन् | कृषक, गृहिणी, मजदूरआदि सबैजसो आर्थिक असुरक्षाको जालोले नराम्रोसंग जेलिएका छन् | एस्तो असुरक्षित मनोविज्ञानले अनावश्यक, असामय र घातक मानसिक तनाव सिर्जना गरिरहेको छ |

२. तनाव : अहिले हरेक नेपालीको जीवन तनावग्रस्त छ | भोजनको तनाव, अर्थको तनाव, रोग-शोकको तनाव, रोजगारीको तनाव त्यसमा पनि राजनैतिक कारणले उत्पन्न हुने सामाजिक सद्भाव विथोलिंदा हुने तनाव अझै बढी छ | तनावले मान्छेको मन रुग्ण बनेको छ |

३. रीस : मान्छेको मनमा प्रवेश गरेको गहिरो तनाव रीस बनेर फुट्छ | अहिले नेपालका ९० प्रतिशत युवावर्गहरू हिजोभन्दा बढी रिसाहा भएका छन् | स-सानो कुरामा उनीहरूको पारो तात्छ | सहनशीलता गुमेको छ | सहनशीलता गुमेकोले मान्छे हिंसक भएको छ |

४. हिंसात्मकता : असुरक्षा, मानसिक तनाव तथा रिसले दोर्याने भने कै हिंसातिर हो | अहिलेको युवा हिंसातिर उन्मुख छ |

४.१. प्रत्यक्षरूपमा (तोडफोड, झैँझगडा, जनयुद्धआदि)का रुपमा विकसित हुँदैछ भने अप्रत्यक्षरुपमा "दलाली-संस्कृति"मा लहसिदै छ | विभिन्न बहाना गरेर झगडा गर्न, गुण्डागर्दी गर्न चासो राख्दैछ | मधेश, पहाड हिमाल एस्तो प्रत्यक्ष\हिंसाको चपेटाले छियाछिया भैसकेको हामी सबैले अनुभव गरिरहेका छौँ |

४..२. दलाली संस्कृतिको अर्थ हो - तुरुन्त आर्थिक तथा सामाजिक हैसियत प्राप्त गर्नका लागि अपनाइने असबैधानिक वा संबैधानिक बाटो | जागिरे, राजनैतिक कर्मी, ब्यापारीका रुपमा दलाली-संस्कृतिका रूपमा एस्तो हिंसा विस्तार हुँदैछ | एस्तो हिंसामा सरकारी वा निजी सम्पत्ति आफ्नो हातमा पार्ने जुक्ति लगाइन्छ |

राजनीति, समाजसेवा, ब्यापारआदि सबै कार्यहरू केवल दलाली गरेर अर्थार्जनको प्रयोजनमा खडा हुँदैछन् | राजनीति, समाजसेवा, ब्यापार वा जागिरे भएर छोटो समयमा धेरै पैसा कमाउन नसक्नेहरू समाजबाट नै वहिस्कृत हुने खतरा बढेको छ भने असल व्यक्तिहरू सीमान्तिकृत बन्न थालेका छन् |

उपरोक्त सबै प्रकारका समस्याहरूमा जातीयता, क्षेत्रीयता तथा अधिकारकाका नाममा तथाकथित युरोपेली सहयोगीहरूले घृणावाद रोपेर सामाजिक असहिष्णुता बलियो बनाउदैछन् |

अव हामी नेपालीहरूको लागि उपरोक्त चारवटा "अधर्मचक्र"बाट आफुसहित सधैंको लागि मुक्तिप्राप्त गर्ने घनघोर चुनौती उपस्थित भएको छ | उनीहरूले एस्तो घनघोर दुरावस्थालाई अधिकारको नाम दिएर नेपालीहरूलाई अझैं भ्रमित पर्ने कुरा त छँदैछ | दलालीको सरल अर्थतन्त्रमा धक्का लाग्ने सूत्रहरूका विरुद्ध को-को र कस्ताहरू उभिनेछन् ? लेखी साध्ये छैन |

दलाली तन्त्रका विरुद्ध विदेशमा रहेर विभिन्न काम गर्ने नेपाली युवाहरूको जमात उठ्न थालेको छ र देशमा पनि युवाहरू दलालीतन्त्रको अन्त्य होस् भन्ने चाहन्छन् | तर उनीहरूसंग दिगो बिकल्प छैन | उनीहरूले एस्तो विकल्पका रूपमा सामाजिक संजाल वा स-साना समुहहरू निर्मित गरेर क्रियाशील छन् |

मुलधारका ठूला राजनीतिक दलभित्रका केही युवावर्गहरू नेतृत्वको अकर्मन्यता तथा दोहोरो चरित्रबाट असजिलो अनुभव गर्छ तर राजनीतिसंग जोदिंदा प्राप्त हुने अनिश्चित अवसरका लागि तिनको पछिलाग्न बाध्य छन् | यस्ता युवाहरूले दीगो अवसरप्राप्त भए तुरुन्त मूलधार छोड्छन् |

विदेशमा कामको सम्मान, कानुनको सम्मान तथा कामप्रतिको समर्पण देखेका नेपालीहरूका लागि नेपालको दलालीतन्त्र तथा कामचोर प्रवृतिमा दिक्क लाग्छ | परिवर्तनको ठूलोठूलो कुरा गर्ने तर असल जीवनमा माखोसम्म नमार्ने आफ्नो देशको राजनैतिक तथा प्रशासनिक तन्त्रप्रति अत्यन्त निराशा छाउँछ | अर्को शब्दमा, नेपाल छिरेपछि "हक्कनवक्क" हुन्छ | उनीहरूको देश-निर्माणको सपना एकएकगरेर खण्डित हुँदैजान्छ | उनीहरू एकतारिकाले "लोसे" देखिन्छन् |

अमेरिका होस् वा खाडीदेशमा काम गरेर फर्किएकाहरूको यो "लोसेपन" देशको राजनैतिक अकर्मण्यताले निम्त्याएको हो | उनीहरूले सिकेका सीपहरूले आत्महत्या गरिरंदा लोसेपन अत्यन्त स्वभाविक अवस्था हुन्छ |

उद्यमशीलताको गहिरो ईच्छाशक्ति बोकेर नेपाल फर्किने जनसंख्याप्रति सरकारी तन्त्र अत्यन्त उदासीन छ | विदेशी कमाईको केवल ५% मात्र उद्यमशीलतामा प्रयोग हुन्छ भन्ने सरकारी आकडाले पनि यो तत्थ्यलाई स्थापित गरेको छ |

उद्यमशीलताको कुरा गरेर वर्तमान राजनैतिक शक्तिहरूले अनन्तकालसम्म युवाशक्तिलाई झुक्याउन सक्दैनन् | नेपाली जरोकिलो जोडिएका उद्योगहरू स्थापित गरेर मात्र विदेशबाट फर्किएका जनशक्तिलाई ब्यबस्थित गर्न सकिन्छ | जरोकिलो आन्दोलनले यो कुराको थालनी गरिसकेको छ |

विदेशीमूलाधारको राजनैतिक "सपना"बाट मुक्त हुँदासाथ नेपाली जनशक्तिमा शक्ति संचार हुन्छ | म्याकलेको शिक्षानीतिले अब्यबस्थित तथा दिग्भ्रमित बनेको नेपाली सामाजिक संरचना र विदेशीको गुण गाउने र सिको गर्ने राजनैतिक शक्तिहरूको वर्चस्वरहेसम्म यस्तो शक्तिमा विदेशी मानसिकताको राइछाई रहन्छ | विदेशी बौद्धिक दासता र राजनैतिक दासताको अवसान युवाहरूले गर्नेछन् | जरोकिलोआन्दोलन यसको शंखघोष हो |

असुरक्षा, मानसिक तनाव, रीस, निराशा यी सबैको औषधि हो उद्यमशीलता | सहृदयतापूर्ण उद्यमशीलताले दिगोपन तथा विज्ञानप्रतिको उच्चस्तरीय निष्ठा व्यक्त गर्ने हुँदा निर्विवादरूपमा सर्वस्वीकार्य हुन्छ |

अहिलेको बिडम्वना के हो भने सबैजसो राजनैतिकदलहरूले पूर्णशक्तिले देश निर्माणको संकल्प लिंदा पनि असफल हुँदैआएका छन् | उनीहरूको असल\ नियतमा शंका गर्नु आफैमा शंका गर्नु हो तर उनीहरू सधैं असफल भएको तत्थ्य पनि त्यतिनै सत्य हो | यसको एउटा मात्र कारण हो - उनीहरूको बैचारिक सिद्धान्त जुन् मूलत: विदेशी छ |

राम्रो र असल कुराहरू जुन ठाउं वा व्यक्तिबाट निशंकोच रूपमा स्वीकार्नु पर्छ तर ती विषयवस्तुहरूको स्थानीयकरण हुनुपर्छ | जरोकिलो आन्दोलन युवाहरूको पुनर्जागरणको आन्दोलन हो जुन् राज्यराष्ट्रको आधारशीलामा उभिएको छ र पूर्णपरिवर्तनको लागि आफ्नै सिद्धान्त कायम गरेको छ |

Monday, February 20, 2017

शिवरात्री, शंकराचार्य र लागूऔषध

आज भन्दा तेह्रसय वर्ष पहिला भगवान शंकराचार्य आफ्ना शिष्यहरूसंग कतै यात्रा गरिरहनुभएको थियो | अचानक उहाँ एउटा रक्सीको भट्टीमा छिरेर सबै शिष्यहरूले देख्दादेख्दै मदिरा पान गर्नुभयो |

यो देखेर केही शिष्यहरूले त्यही भट्टीमा पसेर "गुरुप्रसाद" ग्रहण गरे | केहीले आचार्य शंकरलाई पाखण्डी भन्दै उहाँको शिष्यत्व नै परित्याग गरे | केही बिनम्र शिष्यहरूले आचार्य शंकरको कार्यका विषयमा कुनै प्रकारको टीकाटिप्पणी नगरी, उहाको कार्यलाई नमस्कार गर्दै शिष्य धर्म पालन गरिरहे |

मदिरापान गरेपछि आचार्य शंकर बाटो लाग्नु भयो | बढ्दैजाँदा बाटोमा सीसा पगाल्ने भट्टी भेटियो | आचार्य त्यहाँ पनि पस्नुभयो र पघालिएको सीसाको झोल पनि मदिराझैँ घटघट गरेर पिउनु भयो र बाटो लाग्नु भयो | भगवान् शंकराचार्यको नक्कल गर्दै मदिरापान गर्ने शिष्यहरू अत्तालिए |

शास्त्रमा मदिरापानको प्रायश्चित्त गर्न पघालिएको सीसाको झोल पिउनुपर्ने ब्यबस्था छ | आचार्य शंकरले मदिरापानको दोष मेट्न सीसाको झोल पिउनु भयो | उहामा त्यसो गर्ने सामर्थ्य थियो | गुरुको नक्कल गर्ने वा रमाइलोको लागि चेला बनेर गुरुको नक्कल गर्नेहरूले मदिरापानको प्रायश्चित्त गर्ने कुनै सामर्थ्य नै थिएन |

त्यसैले गुरू, भगवानका कार्यहरूको अनुकरण होइन अनुसरण गर्नुपर्छ भन्ने शास्त्रहरूको आदेश छ | निश्चयनै, महाशिवरात्री भगवान् सदाशिव शंकरको महापर्व हो |

हामी सबै नेपालीहरूले भगवान शिवको उपासना तथा आराधना गरेर मनाउछौं | तर पूजाआजा र आराधनासंग जोडेर भांग, धतुरो, गाँजा (लागुपदार्थ) सेवन गर्ने विकृति हाम्रो समाजमा बढेको छ | यस्तो कार्यलाई शिवप्रसाद भनेर नैतिकता दिने प्रयत्न गरिन्छ |

प्रश्न उठ्छ के साच्चिकै भगवान् शिव गंजेडी, धतुरोवाज तथा लागूऔषध प्रयोगकर्ता हुनुहुन्थ्यो त ? खासगरी, विदेशीहरूले भगवान शिवलाई नसेडीका रूपमा चित्रित गरे पनि वैदिकशास्त्रहरूमा भगवान शिवले कुनै पनि प्रकारको लागूऔषध सेवन गर्ने गरेको कुनै उदाहरण उपलब्ध छैन |

भगवान शिवले संसारको रक्षा गर्न कालकूट विषपान गरेको र त्यसको गर्मीले गर्दा उहाँमा तन्द्रा छाएको भन्ने मात्र उल्लेख छ | उहाले संसारको रक्षाको लागि विषपान गर्नुभएकोले उहालाई "निलकन्ठ" भनिन्छ |

हो, केही शास्त्रमा भगवान शिवलाई धतुरो तथा भांग अर्पण गर्ने प्रावधान भए पनि उहालाई चढाएपछि अर्पणकर्ताले त्यो सेवन गर्नुपर्छ भन्ने चलनको विकास "नसावाज"हरूले आफ्नै रमाईलोका लागि गरेका हुन् |

शास्त्रहरूमा भगवान् शंकरको प्रसाद ग्रहण गर्न सख्त मनाही गरिएको छ | भगवान् शंकरको प्रसाद ग्रहण गर्ने अधिकार केवल भूतप्रेतहरूलाई मात्र हुन्छ र अन्यले प्रसाद ग्रहण गरे प्रेतयोनीमा पर्छन् भन्ने स्पस्ट उल्लेख छ |

नक्कलवाजहरूका कारण भगवान् शिवको गरिमामा कुनै प्रभाव पर्दैन तर हिन्दू धर्म तथा संस्कृतिप्रति दुराशय उत्पन्न हुन्छ र विदेशी वा शरीर स्वदेशी तथा दिमाग विदेशी भएकाहरूले हिन्दू संस्कृतिको वदनाम गर्नेछन् |

नकल्चीहरूले भागधतुरो खाने नक्कल त गर्छन् तर हलाहल विष खाने, मसानको खरानी जिउमा दल्ने, काला नागहरूको माला धारण गर्ने हिमालको चीसोमा नाङ्गो शरीर बसेर ध्यान गर्ने जस्ता काम कसरी गर्न सक्छन् |

आसन्न शिवरात्रीमा हामी सबैले शिवको आराधना गर्दा उहाको दुग्धाभिषेक गरेर, शिव शुक्त, शिव पंचाक्षर स्त्रोत्र तथा अन्य आराधना गरेर सात्विकता पूर्वक मनाउनुपर्छ |

शिवको अर्थ हो शान्ति | शिवको अर्थ हो सुन्दर | शिवको अर्थ हो सृष्टि | शिवरात्रिको अवसरमा हामी सबै नेपालीहरू मिलेर एकआपसमा सद्भावको संकल्प गरौँ र नशालु पदार्थको सेवन गरेर शिवरात्रीको अनन्त शान्ति भंग नगरौं | भगवान् शिवको लागूऔषध, लागूपदार्थ तथा तिनको सेवनसंग कुनै नाता छैन भन्ने आत्मसात गरौँ |

हामीले बुझ्नुपर्छ जुन भगवान शिवले संसारको कल्याण र रक्षाको लागि कालकूटजस्तो भयंकर विषपान गर्नुभयो उहाँले कसरी घातक मादकपदार्थ सेवन गर्ने आज्ञा दिन सक्नुहुन्छ ? उहाँको नाममा लागुपदार्थहरूको सेवन गर्नु वा भगवान शिवलाई लागुपदार्थहरूको उपभोक्ताका रुपमा बुझ्नु अपराधमात्र होइन महापाप हो,| अज्ञान हो | एस्तो अज्ञानबाट मुक्त हुनुपर्छ |

त्यसो त भगवान् सदाशिव नेपालीहरू सबैका आराध्य देव हुन् | हामी नेपालीहरूका रैथाने तथा सर्वमान्य आराध्यदेव हुन्, राष्ट्रदेव पशुपति तथा किरातेस्वर हुन् | राष्ट्रदेव सदाशिवको आराधनाको अवसरलाई लागूऔषध, लागूपदार्थ वा अन्य मादकपदार्थ त्यागको संकल्प गरेर र अरूलाई त्यसो गर्न अभिप्रेरित गरेर मनाउनु सबैभन्दा उचित हुन्छ | भगवान् सदाशिवसंग हामी सबै मिलेर लागूऔषधको लतमा फँसेकाहरूका लागि दुर्व्यसन उन्मुक्तिको वरदान मागौं |

अन्त्यमा, कुनै पनि व्यक्तिले महापुरुषहरूका कार्यको अनुकरण होइन अनुसरण गर्ने प्रयत्न गर्नुपर्छ | भगवान् श्रीकृष्णको नक्कल गर्नेहरूले सातवर्षको उमेरमा सातकोशको गोवर्धन उठाउन सक्नुपर्छ भने द्वारकामा सोह्रहजार पत्नीहरूका साथ एकैपटक सबैका घरमा उपस्थित पनि हुनुपर्छ | भगवान् शंकरको नक्कल गर्नेवालाले हलाहल विषपान गर्न सक्नुपर्छ |

आसन्न महाशिवरात्रीको अवसरमा यहा सबैलाई शुभकामना | 
ॐ नम: शिवाय

घृणावादमा पोलिन्दै रैथाने भाषाहरू


बूढानीलकण्ठ मन्दिरको प्रांगणमा रहेको श्रीसरस्वती मन्दिरमा निकै भिड थियो | केटाकेटी र तिनका अभिभावकहरू तछाड-मछाड गरेर आफ्ना बालबालिकाहरूको हातमा चक दिंदै अक्षर पहिलोपटक अक्षर लेखाउने प्रयत्न गरिरहेका थिए | तामांग समुदायकी एक महिला आफ्नो तीनवर्ष जतिकी बालबालिकालाई अक्षर लेखाउने प्रयत्न गरिररहेकी थिइन् | आफैं निरक्षर ती महिलाले आफ्नी चोरीबाट अंग्रेजीको “A” लेख्न अरूसंग मदत मागिन् | “अ” लेखाउन खोज्दा उनले A नै लेखाउन गरेको आग्रहले मेरो ध्यानाकर्षण गरेको हो |

यो कथा एकजना नेपाली महिलाको होइन अंग्रेजी “पोस्ने” सरकारी नीतिले विकसित नेपाली भाषालाई समेत धक्का पुगिरहेको छ भने अन्य मातृभाषाहरूको हविगत भविष्यमा कस्तो होला ? सजिलै अनुमान गर्न सकिन्छ | अभिभावकहरूमा “अंग्रेजी मोह”को अँधेरो “मेनिया” सृजना गरेर नेपाल सरकारले शौक्षिक अपराध गरेको छ | यसको मूल्य “रैथानेभाषा”को लोपका रूपमा चुकाउनु पर्ने निश्चित छ |

नेपालमा १२३ मातृभाषाहरू छन् | ती मध्ये नेपाली, मैथिली, थारू तथा भोजपुरी तथा तामांग भाषा १० लाख भन्दा बढी मानिसले बोल्छन् | भाषा विज्ञानको विश्व मानदंडले यी पाँचबटा नेपाली भाषाहरूलाई अतिसुरक्षित श्रेणीमा राखेको छ | अन्य भाषाहरूमा केही सुरक्षित, अर्धसुरक्षित, अल्प सुरक्षित, असुरक्षित, सीमान्तीकृत र अतिसीमान्तीकृत छन् | केही भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् |

नेपालमा प्रचलित सबै भाषाको लेख्य परम्परा विकसित भैसकेको छैन | १२३ भाषाहरू मध्ये केवल ६ बटा भाषाहरूका आफ्ना लिपि छन् | यी मध्ये केवल देवनागरी, मैथिली, राई, गुरुङ तथा रन्जना लिपिहरू विकसित छन् | अन्य भाषाहरू मौखिक परम्परामा आधारित छन् |

भाषाका सवालमा हामी नेपालीहरू निकै भाग्यमानी छौँ | नेपालको पांच हजार वर्षको इतिहासमा कुनै पनि भाषा विलुप्त भएको साक्ष छैन | ई. पू. ६३० तिरको चाँगुनारायण मन्दिरमा उपलब्ध शिलालेखको संस्कृतलाई प्रस्थानविन्दु मान्ने हो भने पनि त्यस बखत अनेकौं भाषाहरू विद्यमान थिए नै |

त्यस बेलाको जनसंख्याको अनुपातमा भाषाभाषीहरू पनि निकै न्यून थिए | आज पनि धेरैजसो भाषाका बक्ताहरूको संख्या न्यून नै छ | तथाकथित प्रगतिवादीहरूको आखाँको तारो बनेको संस्कृत तथा नेपाली भाषाको छहारीमा जीवित छन् |

कहिलेकाहिं आफु पहाडी बाहुनको घरमा जन्मेकोमा दिक्क लाग्छ | पहाडी बाहुनले नेपाली बाहेक अन्य भाषा बोल्न, बुझ्न सक्दैनन् | अन्य जातिहरूले आँखा खोल्दा साथ आफ्नो मातृभाषा, नेपाली र केहीले हिन्दी समेत बोल्ने र बुझ्न सक्छन् | यस अर्थमा, तराईवासीहरू भाग्यमानी छन् | मैथिली, नेपाली र हिन्दी उनीहरूको समान्तर मातृभाषा हुन्छन् |

युरोपियन गुरुहरूले लेखिदिएको घृणाको खेतीपाती गर्ने बुद्धिजीवीहरूले आफ्नो भाषा-संस्कृति तथा समाजको विकास गर्ने सवाललाई महत्व दिएर उठाउनुको साटो भाषाहरूको विकासमा पनि विचरा बाहुनवादलाई नै दोषको पगरी गुथाए |

सरकारले भाषाहरूका सवालमा हालै प्राडा लवप्रसादजीको अध्यक्षतामा भाषा आयोग गठन गरेर पुन: भाषामा पनि राजनैतिक विवाद निम्त्याएको छ | सरकारले जस्तो आयोग गठन गरे पनि भागवण्डाको कारण उसले बौद्धिक तथा बैज्ञानिक सुझाव दिनै सक्दैन भन्ने बुझ्न सजिलो छ |

चार हजारवर्षसम्म सहयात्रीका रुपमा यात्रा गरिरहेका नेपालका १२३ वटा भाषाहरूविच एस्तो बलियो सम्वन्ध छ कि उनीहरूले एकअर्कोलाई थामेर राखेका छन् | त्यसैले आजका मितिसम्म जीवन्त छन् र हामीले भाषाउपर गर्व गरिरहेका छौँ | नेवारी, मैथिली, दूर, उराव, राई, लिम्बु, मगर, माझी, कुमालआदि सबै हामी नेपालका आफ्ना भाषा हुन् र यिनको संरक्षण गर्ने दायित्व हामी सबै नेपालीको हो |

विदेशीको धनमा मातृभाषा संरक्षणको अभियान चलाउने तर आफ्न छोराछोरी चाहिं अंग्रेजी विद्यालयमा पढ्न पठाउने वर्णशंकर अधिकारकर्मीहरूका कारण स्थानीय भाषा लोपोन्मुख हुन पुगेका छन् | नेपाल सरकारले दोहोरो शिक्षानीति अपनाएर आफ्नै खुत्टोमा बन्चरो हानेको छ |

यदि रैथाने भाषाहरूलाई कसैबाट सबैभन्दा बढी खतरा छ भने त्यो हो अंग्रेजी | मैले भन्नुपर्छ, धेरैजसो रैथाने भाषाका अगुवाहरूको साँचो विदेशीका हातमा छ, उनीहरू आफ्ना छोराछोरी महँगो अंग्रेजी विद्यालयमा पढाएर गाउँका सोझासाझा सर्वसाधारणसंग मातृभाषाको बहस चलाउँछ |

आज जुन उत्साहले प्रज्ञाप्रतिष्ठानको भाषिक सम्मेलनमा पुगेको थिए, त्यहाँबाट फर्किंदा म मानसिक रूपमा निकै थकित थिएँ | कारण थियो : तथाकथित रैथाने केही भाषाप्रेमीहरू आफ्नो भाषाको विकास भन्दा बढी "बाहुनवाद"लाई गालीगलौज गर्न बढी तम्सिएको देखिए |

अंग्रेजीका लामालामा उद्धरणहरूसंग बाहुनहरूको उच्छितो काडेर उनीहरूको रैथाने भाषाको विकास कसरी हुनेछ भन्ने मैले बुझिन | युरोपियन घृणावादको जीवन्त रूप आजको जातिवाद, भाषिक तथा राजनीतिमा हावी भएको छ | युरोपेली र अमेरिकी घृणावादलाई एस्तो वांदरसंग तुलना गर्न सकिन्छ जसले आफ्नो घर बलियो बनाउँछ तर अर्काले घर बनाउन थाल्यो कि तुरुन्तै विविध बहाना बनाएर जग हाल्नै दिन्न | मेरा यी शब्दहरू ती सबैका लागि हुन् जसले "विद्" नाममा सामाजिक सद्भाव तथा सहृदयता भाँड्ने काम गरिरहेका छन् |

यी "चोखाले"को सुनेर भाषाको विकास हुनै सक्दैन | रैथाने नेपाली भाषाहरूको विकासको लागि "भाषिक विश्वविद्यालय" वा प्रतिष्ठान स्थापित गर्नुपर्छ | त्यस विविमा हरेक भाषाको एउटा स्वतन्त्र विभाग हुनुपर्छ जहाँ त्यस भाषाको समुचित तथा बैज्ञानिकरूपमा अध्ययन/अध्यापन होस् |

भाषाहरूको विकास आयोगले होइन विविले गर्नुपर्छ | हरेक भाषाको स्वतन्त्र विभाग हुँदा उक्त विभागले सम्बन्धित भाषाको विकासका लागि समुचित योजना तथा कार्यान्वयको तर्जुमा गर्ने छ | अध्ययन/अनुसन्धानले भाषामा पूर्णता आउने छ | राजनीतिले भाषाको विकास गर्न मदत गर्छ तर त्यसमा राजनीति गरिनु हुँदैन |

प्राचीन रैथाने भाषाहरूको (संस्कृत-नेपाली)को विरोध गरेर, जातिविशेषप्रति विषवमन गरेर (बाहुनवाद) भाषाविशेषको विकास हुन्छ भन्ने दुराग्रह न त्यागेसम्म राजनीति त हुन्छ तर भाषाहरू अझै लोपोन्मुख हुनेछन् |

नेपालका सबै रैथाने भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन् | यिनको समुचित विकास हुनुपर्छ | नेपालीले मगरभाषाको, मगर भाषाले गुरुङ भाषाको, मैथिल्रीले पहाडी भाषाहरू जान्न अभिप्रेरित हुने नीतिहरू निर्धारित गरिनुपर्छ |

सरकारी जागिर खाने तर व्यक्तिगत स्वतन्त्रता भन्दै आफ्ना छोराछोरीलाई महँगा इंगलिस विद्यालयमा पठाउनेहरूबाट नै नेपालका राष्ट्रियभाषाहरू धरापमा परेका छन् | अंग्रेजी एउटा भाषा हो, जान्नुपर्छ तर अक्षरारम्भका दिन अ को सट्टा A बाट अक्षरआरम्भ गर्ने मनोविज्ञान सृजना गर्नेहरू "रैथाने भाषा"हरूका सबसे क्रूर दुष्मन हुन् | पाँचतारे होटलमा गरिने गोष्टीको डलरे रक्सी-उन्मादले भाषाको संरक्षण गर्न सक्दैन |

नेपालमा आफ्नो जरोकिलो भएका, नेपाली धर्म, संस्कृति तथा परम्परा बोकेर हिड्ने जीवन्त आधार नै यहाँका रैथाने भाषा नै हुन् | हरेक नेपालीले हरेक नेपाली भाषाको रक्षा गर्ने "प्रेमपूर्ण"को अवधारणा विकास गरेर हामीले आफ्नो दायित्वपूर्ण गर्न सक्छौं | अंग्रेजीसंग आएको घृणावादका स्थानमा सहृदयतावाद प्रत्यारोपण गरेर सहकार्य गर्न सक्छौं |

हरेक अंग्रेजी वर्षको फरवरी २१ का दिन युनेस्कोले विश्वमातृभाषा दिवसको आयोजना गर्दै आएको छ | मातृभाषाहरूको संरक्षणका लागि यो राम्रो सुरुवात हो | भाषाहरूको विकासले मानव-समुदायहरूविच एकआपसमा सद्भाव बढ्ने छ तर राजनैतिक अभिष्टका लागि भाषा विकासको सुन्दर अभियानलाई घृणावादमा बदलिन भने दिनु हुँदैन |

नेपालमा पनि प्रज्ञाप्रतिष्ठानले विभिन्न ५७ भाषाहरूका कविता वाचन गराएर राम्रो थालनी गरेको छ | कमसेकम हामीले आफ्नो तहमा छिमेकीले बोल्ने भाषा सिक्ने र आफ्ना बालबालिकालाई ती भाषा सिक्न प्रेरित गरेर भाषाहरूको विकासमा ब्यबहारिक टेवा पुर्याउने प्रयत्न गरौँ | 

Tuesday, February 7, 2017

विद्या धन सर्व धन प्रधानम्...

विद्याको शाब्दिक अर्थ प्रकाश हो | प्रकाश नै विश्वको प्रमुख चाहना हो | कुनै पनि मान्छे अन्धकार अर्थात् अज्ञानी रहन चाहन्न | आज विश्वमा जुन भौतिक विकास भएको छ, त्यो सबै विद्याको नै प्रतिफल हो | मौलिक तथा भौतिक विकासका लागि विद्या अर्थात् शिक्षाको समुचित विकास हुनु अति आवश्यक हुन्छ |

त्यै भएर हाम्रा ऋषिमुनिहरूले "विद्या या ऽमृत मस्नुते अर्थात् विद्या त्यो हो जसले मानव समाजलाई मुक्ति अर्थात् प्रकाशको बाटोतिर डोर्याउन मदत गर्छ - भनेर शिक्षाको महत्व प्रदर्शन गरेका थिए | हामी नेपालीहरू तिनै युगद्रष्टा शिक्षाप्रेमी, शिक्षा दानी ऋषिमुनिका सन्तान हौँ | हामी निरीक्षर, अशिक्षित तथा परचक्री कसरी रहन सक्छौं ?

हाम्रा पुर्खाहरूले शिक्षाको लागि गरेको त्याग, परिश्रम तथा साधनालाई सम्झौं त | यी ऋषिमुनीहरूले शिक्षाको लागि आफ्नो परिवारलाई त्यागेर जंगलमा गुरुकुलहरू खोलेर बालबालिकाहरूलाई निशुल्क शिक्षा दिएका थिए | यतिमात्र होइन, उनीहरूले शिक्षाको निरन्तरलाई सुनिश्चित गर्न श्रुति अरथा सुनाउने र स्मृति अर्थात् स्मरण गरेर शैक्षिक विषय\वस्तुलाई निरन्तर दिने, पुस्तान्तरण गर्ने विधि अपनाएका थिए | वेद, उपनिषदआदि यसै परम्पराका कारण आज हाम्रो लागि उपलब्ध छन् |

जुन बखत आजको जस्तो प्रेस, इन्टरनेटआदि माध्यम नहुँदा शिक्षाको ज्योति जोगाई राख्न सबैभन्दा पहिले ढुंगामा लेखेर, त्यस पछि छालामा, ताडपत्रमा, अन्त्यमा हातले नै नेपाली बनाएको कागजमा (जसलाई आजभोली नेपाली कागज भनिन्छ) मा विष सिचेर कटुस, सीमि, विषआदि\बाट मसी बनाएर बाँसको कलमले लेखेर शैक्षिक सामग्रीहरू हाम्रा लागि छोडेका छन् |

एउटा हाते किताव लेखेर तयार पार्न वर्षौं\वर्ष लाग्थ्यो | ऋषिमुनिहरू, हाम्रा पुर्खाहरूले हरेश खाएनन् | उनीहरुले वेद, उपनिषद, आरान्यक, पुराण, उपपुराण, आयुर्वेद, योग, दर्शन, साहित्य यहासम्म कि चार्वाक ऋषिको भौतिकवादी चिन्तन, ऋषि वात्यस्यायनको यौनशास्त्रलाई पनि जीवित राखे |

आज हामी हिन्दू, बौद्ध जैनहरूसंग शिक्षाकै लागि हाम्रा पुर्खाहरूले अनन्त परिश्रम, त्याग तथा आत्मदान गरेर जोगाएका असंख्य शैक्षिक सामाग्री छन् | बडो दुख र खेदका साथ भन्नुपर्छ - हामीले शिक्षाप्रति गम्भीर नभएर ती ऋषिमुनिहरूका त्यागको अपमान गरिरहेका छौं | आफ्ना पुर्खाहरूले जोगाएका बौद्धिक सम्पदाहरूको अध्ययापनप्रति ध्यान नदिएर तिनको अवमूल्यन गरिरहेका छौँ |

यो कुरा सत्य हो कि शिक्षा जहाँबाट लिए पनि हुन्छ तर आफ्नो रैथाने शिक्षा पद्यति तथा शैक्षिक विषयहरूको उपेक्षा गरेर हामीले ठूलो भूल गरिरहेका छौँ | अव हामीले एस्तो भूल सुधार्ने वेला आएको छ | हामीले आफ्ना प्राचीन गौरवमय शैक्षिक सामग्रीहरू आधुनिक परिवेशमा हाम्रा सन्तानहरूको मस्तिष्कमा पस्किने बेला आएको छ |

नीहरूले आधुनिक शिक्षाका साथै आफ्नो मौलिक रैथाने शिक्षा पनि जान्ने बेला आएको छ | पश्चिमा शिक्षा पद्यति भन्दा हाम्रो रैथाने शिक्षा पद्यति उदारवादी, प्रायोगिक, ब्यबहारिक तथा सर्वस्वीकार्य छ भनेर प्रमाणित गर्ने बेला आएको छ | यसका लागि हामीले आधुनिक शिक्षाप्रणाली भित्र प्राचीन शैक्षिक सामग्रीहरूको आत्माको प्राणप्रतिष्ठा गर्नुपर्ने छ | आफ्नो प्राचीन गुरुकुल शिक्षापद्यतिको पुन:स्थापना गरेर हामीले आफ्नो विशिष्टता स्थापित गर्ने बेला आएको छ |

यसका लागि न हामीले आधुनिक शिक्षा पद्यति त्याग्नु पर्ने छ न कुनै भाषा, शैक्षिक क्यालेन्डर नै परिवर्तन गर्नुपर्ने छ | विद्यमान शैक्षिक सामग्रीहरूमा आफ्नै इतिहास, संस्कृति तथा परम्पराको इतिहास समावेश गराउनुपर्ने छ र हामीले यसो गर्ने छौँ | हामीले आधुनिक शिक्षा पद्यतिभन्दा दिगो, समावेशी, ब्यबहारिक शैक्षिक विकल्प दिने छौँ | त्यस्तो शिक्षा पद्यतिले "म्याकाले"लाई पूर्णत: विस्थापित गर्ने छ |

आफ्नो इतिहास, संस्कृति, परम्परा तथा पद्यतिलाई माया गर्ने नया पुस्ता सिर्जना गरेर हामीले म्याकलेलाई विस्थापित गर्ने छौं | हाम्रो लागि आफ्नै शिक्षाधन सबैभन्दा प्रिय र स्थायी हुनेछ | हाम्रा विद्यार्थीहरूले सुकरातभन्दा पहिला चाणक्यको इतिहास जान्ने छन् | प्लेटोको रिपब्लिक भन्दा पहिला मनुस्मृतिको विषय बुझ्ने छन् |

समयले हामी नेपालीहरूलाई एस्तो मोडमा लाएर उभ्याएको छ जहाँबाट हाम्रो अस्तित्व र अस्तित्व विनासकारी बाटो छुट्टिन्छ | म्यकालेको शिक्षानीतिले हाम्रो आफ्नो पहिचान जोगाउने प्राचीन शिक्षापद्यति लोपोन्मुख भएको छ भने अंग्रेजीकरणका नाममा शैक्षिक अतिक्रमणले हाम्रो आफ्नो मौलिक तथा रैथाने विधिहरू दिनहुँ गुन्दै गैरहेका छन् | हाम्रा शैक्षिक नेतृत्वहरू “आफु गुम्दा” गर्व गरिरहेका छन् | सरकारीतन्त्र विदेशी शैक्षिक माफियाहरूको पकड लाचार छ |

हाम्रो आन्दोलन आधुनिक शिक्षा पद्यतिको विरुद्ध होइन | हामी आधुनिक शिक्षाको विरोध गर्दैनौं | हाम्रो आन्दोलनको मुख्यविन्दू हाम्रा प्राचीन ऋषिमुनिहरूले कठोर तपस्या गरेर सिर्जना गरेका र हाम्रा पुर्खाले कठोर परिश्रम गरेर जोगाएका शैक्षिक सम्पदाहरूको विषयमा बालबालिकाहरूलाई जानकारी दिनुपर्छ, ती सामग्रीहरूको अध्ययन/अध्यापन हुनुपर्छसंग सम्वन्धित छ | यदि हामीले आफ्ना रैथाने शैक्षिक सम्पदाहरूको विद्यालय, विश्वविद्यालयको शैक्षिकतहबाट सम्वर्धन गरेनौं भने आजको ५० वर्षपछि हाम्रो पहिचानपूर्णत नष्ट हुनेछ | अमेरिकाका रैथाने इन्डियनहरू, अस्ट्रेलियाका माओरीहरूले, न्युजिल्यान्डका दोखाहरूले आफ्नो पहिचान गुमाएझैं हामी गुम्ने छौँ |

अव निर्णय गर्ने दायित्व हाम्रो हो – हामी प्राणहीन, तेजहीन, प्राणहीन, आत्मविश्वास तथा पहिचान गुमाएका पुस्ता चाहन्छौं कि ऋषिमुनीहरूको तपस्याको शक्तिको दिब्य प्राणशक्ति प्राप्त गरेका, अत्यन्त आत्मविश्वासले भरिएका, नेपाललाई विश्वको शैक्षिक केन्द्रको रूपमा स्थापित गर्नआतुर पुस्ता चाहन्छौं ? गुरुकुलको हाम्रो आन्दोलन आरम्भ भै सक्यो, तन, मन तथा धनले आफ्नोपनलाई सहयोग गर्ने महान् दायित्वले हामीलाई पर्खिरहेको छ | यस दायित्वबाट पन्छिने कसरी कल्पना गर्न सक्छौं ?

Thursday, February 2, 2017

मनको फाटो टाल्न राज्यराष्ट्र

फाटो भूमिमा पर्ने होइन, फाटो पर्ने भनेको मान्छेको मनमा हो | माने पनि न माने पनि नेपाली राजनैतिक शक्तिहरूले अङ्गीकार गरेको राजनैतिक अवधारणाले नेपाली जनताका मनमा फाटो ल्याएको छ |

मधेसी-पहाडी, आदिवासी-गैरआदिवासी, नाक थेप्चे-नाक चुच्चे, मंगोलियन-आर्यका नाममा राज्यनिर्माताहरूले २०७२ को संविधान मै किटानी गरेर कित्ताकाट गरेका छन् | यस्तो कित्ताकाट युरोपेली मोडेलको राष्ट्रराज्य (nation state) को अनुकरणले निम्त्याएको हो | यो कित्त्ताकाटको दूरगामी प्रभाव मन मात्र फाट्ने होइन देश पनि च्यातिने परिणामका रूपमा आउन सक्दैन भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन |

सबैभन्दा छूचो विचार नै हुन्छ | विचार र त्यसको कर्यनावनले मान्छेमान्छेविच संद्भावना र सहकार्य बढ्छ भने विचार र त्यसको कार्यान्वयनले विप्लव पनि मच्चाउछ | नेपालमा राष्ट्रराज्य (nation state) को विजारोपणले विप्लव निम्त्याएको हो र निम्त्याउने छ |

अहिलेको आवश्यकता सबैको पहिचानहरू सुरक्षित गर्दै सद्भावना, सहृदयताको प्रवर्धन गर्नुमा छ | एउटा समुह वा सम्प्रदायको अस्तित्व मेटाएर आफ्नो मात्र बर्चस्व स्थापित गर्नुपर्छ भन्ने मान्यता बढ्नुमा "राष्ट्रराज्य"को अवधारणा नै जिम्मेदार छ |

अवको बाटो राज्यराष्ट्र (state nation) को हुनुपर्छ | राज्यराष्ट्रलाई "चौतारीसंग तुलना गर्न मिल्छ, जसको छहारीमा सबै अटाउँछन् | सबैले अर्काको प्रसंशा गर्दै आपसला असल कुराहरू एकआपसमा सहृदयतापूर्वक शेयर गर्छन् | नेवारले असल कुरा बाहुनबाट लिन्छ भने बाहुनले असल कुरा गुरुङबाट लिन्छ | मैथिलीले पहाडे चलन सिक्न आतुरता देखाउछ भने पहाडले मैथिली लिपी र संस्कारको प्रवर्धन गर्न चासो देखाउंछ | पहाडे, मधेशी तथा हिमालीको कुरा त हुन्छ तर यी कुराहरू, योजनाहरू एकअर्काको विकासको लागि केन्द्रित हुन्छन् |

नेपाली इतिहास मनन गर्ने हो भने प्राचीनकालदेखि नै नेपाल एउटा राज्यराष्ट्रको सैधान्तिक धरातलबाट निर्मित भएको मुलुक हो | उदाहरणका लागि "राजनीतिदेखि उठेर विचार गर्ने हो" भने दशैँका अक्षता गुरुङको देन हो, नेपाली लोक नृत्यहरू गुरुङ, मगर, राइलिम्वुआदिका देन हुन् |

नेपालका सबै जातिहरूले एकआपसमा धेरै चालचलनहरू अपनाएका छन् | जन्मदेखि मृत्युसंस्कारसम्म एउटाको रितिरिवाजले अर्कोलाई प्रभावित पारेको छ | दशैंतिहार, फागु, लोसार, चण्डीपूर्णिमा, बौद्धपूर्णिमाआदि नेपालीका चाड भएका छन् | नेपाली भूमिमा जन्मेका रितिरिवाज एकआपसमा शेयर गर्न हामी सबैले गर्व अनुभव गर्छौं |

सबैको मूलधार "राज्यराष्ट्र" नै हो | यो ब्यबहारिक तत्थ्य अव नेतृत्वले पनि बुझ्नुपर्छ | यी कुरा लेखिरहँदा हिजोमात्र हामी सबै नेपालीले श्रीवसन्त पंचमी, श्री सरस्वतीको पूजापर्व मनायौं | यो आज नेपालीहरूको साझा चाड बनेको छ | सरस्वतीलाई देवीको रूपमा स्वीकार गरे पनि नगरे पनि हामी आफ्ना बालबालिकालाई शिक्षित गर्न चाहन्छौ, यो कुरा कसैले नकार्न सक्दैन |

बसन्त पंचमीको पर्वले INGO/NGO र सरकारले करोडौ रुपैया खर्च गरेर गर्न नसक्ने काम "आफ्नो बालबालिकालाई अक्षर आरम्भ गराउ र विद्यालय पठाउ" भन्ने संदेश हरेक नेपालीलाई दिन सफल भएको छ | सरस्वती पूजाका दिन आफ्ना बालबालिकालाई अक्षर आरम्भ गराउने अभिभावकहरू NGO/INGO वा सरकारको करले आएका होइन | "राज्यराष्ट्र"को प्राकृतिक गरिमाले त्यसो भएको हो |

दुर्भाग्य भन्नुपर्छ "राष्ट्रराज्य"को पक्षधर सरकारले एस्तो महान् अवसरलाई "शिक्षादिवस"को मान्यता दिंदैन | अर्को कुरा पनि छ, जुन धर्म र संस्कृतिहरू nation state को भूमिबाट नेपाल छिरेका छन् ती कहिल्यै पनि समावेशी हुँदैन र हुनैसक्दैनन् |

हिजो नेपालीले देशभरी "शिक्षारम्भ" दिवस मान्दै गर्दा मुस्लिम तथा इसाईहरूका शैक्षिक संस्थाहरूले यसको वहिस्कार गरे | Nation state मा अरूको अस्तित्व स्वीकार नै नगर्ने जडता, पूर्वाग्रह र आतंककारी चिन्तन गतिशील हुन्छ | नत्र, सरस्वती पूजाको अवसरलाई उनीहरूले "अक्षरारम्भ" दिवसको रूपमा स्वीकार गरेर आफ्ना शैक्षिक संस्थाहरू खोल्न सक्थे ! यसो गरेनन् किनभने nation-state मा समावेशी, सहकार्य तथा साझापन पूर्णतः अस्वीकार्य छ |

धर्मनिरपेक्षता, राष्ट्रराज्य तथा बहुराष्ट्रियता'का नाममा नेपालमा घृणावाद, पृथकतावाद, आतिवाद, जातीयअहंकारवादको प्रवेश भएको छ | यसले हामी नेपालीको मानसिक स्वास्थ्यमा घातक प्रभाव सृजित गरेको छ | यो जातीय अहम्वाद, घृणावाद तथा जातीय अतिवादबाट नेपालीलाई निकाल्ने एकमात्र सूत्र भनेको "राज्यराष्ट्र "नै हो | द्विराष्ट्रियता, बहुराष्ट्रियता.जातीय राज्य (nation-state) नेपाली समाजका लागि अप्राकृतिक विषय भएकोले यिनको बहिस्कार आवस्यक छ | यिनको निराकरण आवस्यक छ |

फाटेको मन र फाटेको मनका कारण फाट्न लागेको नेपाली अस्तित्वलाई जोड्ने एकमात्र सूत्र "राज्यराष्ट्र" नै हो | जातीय, वर्गीय घृणावादी चिन्तनले यो काम हुँदैन | यो सजिलो पनि छ किनभने यो चिन्तन नेपाली भूमिको रैथाने हो र हरेक नेपालीहरूको रगतमा संस्कार बनेर वगिरहेको छ |

यस विषयमा अझै बुझ्न डा. निर्मलमणि अधिकारी तथा डा. गोविन्दशरण उपाध्यायले लेखेको राज्यराष्ट्र अवधारणा र सिद्धान्त भन्ने किताव पढ्न अनुरोध गर्छु |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...