Monday, February 20, 2017

शिवरात्री, शंकराचार्य र लागूऔषध

आज भन्दा तेह्रसय वर्ष पहिला भगवान शंकराचार्य आफ्ना शिष्यहरूसंग कतै यात्रा गरिरहनुभएको थियो | अचानक उहाँ एउटा रक्सीको भट्टीमा छिरेर सबै शिष्यहरूले देख्दादेख्दै मदिरा पान गर्नुभयो |

यो देखेर केही शिष्यहरूले त्यही भट्टीमा पसेर "गुरुप्रसाद" ग्रहण गरे | केहीले आचार्य शंकरलाई पाखण्डी भन्दै उहाँको शिष्यत्व नै परित्याग गरे | केही बिनम्र शिष्यहरूले आचार्य शंकरको कार्यका विषयमा कुनै प्रकारको टीकाटिप्पणी नगरी, उहाको कार्यलाई नमस्कार गर्दै शिष्य धर्म पालन गरिरहे |

मदिरापान गरेपछि आचार्य शंकर बाटो लाग्नु भयो | बढ्दैजाँदा बाटोमा सीसा पगाल्ने भट्टी भेटियो | आचार्य त्यहाँ पनि पस्नुभयो र पघालिएको सीसाको झोल पनि मदिराझैँ घटघट गरेर पिउनु भयो र बाटो लाग्नु भयो | भगवान् शंकराचार्यको नक्कल गर्दै मदिरापान गर्ने शिष्यहरू अत्तालिए |

शास्त्रमा मदिरापानको प्रायश्चित्त गर्न पघालिएको सीसाको झोल पिउनुपर्ने ब्यबस्था छ | आचार्य शंकरले मदिरापानको दोष मेट्न सीसाको झोल पिउनु भयो | उहामा त्यसो गर्ने सामर्थ्य थियो | गुरुको नक्कल गर्ने वा रमाइलोको लागि चेला बनेर गुरुको नक्कल गर्नेहरूले मदिरापानको प्रायश्चित्त गर्ने कुनै सामर्थ्य नै थिएन |

त्यसैले गुरू, भगवानका कार्यहरूको अनुकरण होइन अनुसरण गर्नुपर्छ भन्ने शास्त्रहरूको आदेश छ | निश्चयनै, महाशिवरात्री भगवान् सदाशिव शंकरको महापर्व हो |

हामी सबै नेपालीहरूले भगवान शिवको उपासना तथा आराधना गरेर मनाउछौं | तर पूजाआजा र आराधनासंग जोडेर भांग, धतुरो, गाँजा (लागुपदार्थ) सेवन गर्ने विकृति हाम्रो समाजमा बढेको छ | यस्तो कार्यलाई शिवप्रसाद भनेर नैतिकता दिने प्रयत्न गरिन्छ |

प्रश्न उठ्छ के साच्चिकै भगवान् शिव गंजेडी, धतुरोवाज तथा लागूऔषध प्रयोगकर्ता हुनुहुन्थ्यो त ? खासगरी, विदेशीहरूले भगवान शिवलाई नसेडीका रूपमा चित्रित गरे पनि वैदिकशास्त्रहरूमा भगवान शिवले कुनै पनि प्रकारको लागूऔषध सेवन गर्ने गरेको कुनै उदाहरण उपलब्ध छैन |

भगवान शिवले संसारको रक्षा गर्न कालकूट विषपान गरेको र त्यसको गर्मीले गर्दा उहाँमा तन्द्रा छाएको भन्ने मात्र उल्लेख छ | उहाले संसारको रक्षाको लागि विषपान गर्नुभएकोले उहालाई "निलकन्ठ" भनिन्छ |

हो, केही शास्त्रमा भगवान शिवलाई धतुरो तथा भांग अर्पण गर्ने प्रावधान भए पनि उहालाई चढाएपछि अर्पणकर्ताले त्यो सेवन गर्नुपर्छ भन्ने चलनको विकास "नसावाज"हरूले आफ्नै रमाईलोका लागि गरेका हुन् |

शास्त्रहरूमा भगवान् शंकरको प्रसाद ग्रहण गर्न सख्त मनाही गरिएको छ | भगवान् शंकरको प्रसाद ग्रहण गर्ने अधिकार केवल भूतप्रेतहरूलाई मात्र हुन्छ र अन्यले प्रसाद ग्रहण गरे प्रेतयोनीमा पर्छन् भन्ने स्पस्ट उल्लेख छ |

नक्कलवाजहरूका कारण भगवान् शिवको गरिमामा कुनै प्रभाव पर्दैन तर हिन्दू धर्म तथा संस्कृतिप्रति दुराशय उत्पन्न हुन्छ र विदेशी वा शरीर स्वदेशी तथा दिमाग विदेशी भएकाहरूले हिन्दू संस्कृतिको वदनाम गर्नेछन् |

नकल्चीहरूले भागधतुरो खाने नक्कल त गर्छन् तर हलाहल विष खाने, मसानको खरानी जिउमा दल्ने, काला नागहरूको माला धारण गर्ने हिमालको चीसोमा नाङ्गो शरीर बसेर ध्यान गर्ने जस्ता काम कसरी गर्न सक्छन् |

आसन्न शिवरात्रीमा हामी सबैले शिवको आराधना गर्दा उहाको दुग्धाभिषेक गरेर, शिव शुक्त, शिव पंचाक्षर स्त्रोत्र तथा अन्य आराधना गरेर सात्विकता पूर्वक मनाउनुपर्छ |

शिवको अर्थ हो शान्ति | शिवको अर्थ हो सुन्दर | शिवको अर्थ हो सृष्टि | शिवरात्रिको अवसरमा हामी सबै नेपालीहरू मिलेर एकआपसमा सद्भावको संकल्प गरौँ र नशालु पदार्थको सेवन गरेर शिवरात्रीको अनन्त शान्ति भंग नगरौं | भगवान् शिवको लागूऔषध, लागूपदार्थ तथा तिनको सेवनसंग कुनै नाता छैन भन्ने आत्मसात गरौँ |

हामीले बुझ्नुपर्छ जुन भगवान शिवले संसारको कल्याण र रक्षाको लागि कालकूटजस्तो भयंकर विषपान गर्नुभयो उहाँले कसरी घातक मादकपदार्थ सेवन गर्ने आज्ञा दिन सक्नुहुन्छ ? उहाँको नाममा लागुपदार्थहरूको सेवन गर्नु वा भगवान शिवलाई लागुपदार्थहरूको उपभोक्ताका रुपमा बुझ्नु अपराधमात्र होइन महापाप हो,| अज्ञान हो | एस्तो अज्ञानबाट मुक्त हुनुपर्छ |

त्यसो त भगवान् सदाशिव नेपालीहरू सबैका आराध्य देव हुन् | हामी नेपालीहरूका रैथाने तथा सर्वमान्य आराध्यदेव हुन्, राष्ट्रदेव पशुपति तथा किरातेस्वर हुन् | राष्ट्रदेव सदाशिवको आराधनाको अवसरलाई लागूऔषध, लागूपदार्थ वा अन्य मादकपदार्थ त्यागको संकल्प गरेर र अरूलाई त्यसो गर्न अभिप्रेरित गरेर मनाउनु सबैभन्दा उचित हुन्छ | भगवान् सदाशिवसंग हामी सबै मिलेर लागूऔषधको लतमा फँसेकाहरूका लागि दुर्व्यसन उन्मुक्तिको वरदान मागौं |

अन्त्यमा, कुनै पनि व्यक्तिले महापुरुषहरूका कार्यको अनुकरण होइन अनुसरण गर्ने प्रयत्न गर्नुपर्छ | भगवान् श्रीकृष्णको नक्कल गर्नेहरूले सातवर्षको उमेरमा सातकोशको गोवर्धन उठाउन सक्नुपर्छ भने द्वारकामा सोह्रहजार पत्नीहरूका साथ एकैपटक सबैका घरमा उपस्थित पनि हुनुपर्छ | भगवान् शंकरको नक्कल गर्नेवालाले हलाहल विषपान गर्न सक्नुपर्छ |

आसन्न महाशिवरात्रीको अवसरमा यहा सबैलाई शुभकामना | 
ॐ नम: शिवाय

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...