Monday, February 20, 2017

घृणावादमा पोलिन्दै रैथाने भाषाहरू


बूढानीलकण्ठ मन्दिरको प्रांगणमा रहेको श्रीसरस्वती मन्दिरमा निकै भिड थियो | केटाकेटी र तिनका अभिभावकहरू तछाड-मछाड गरेर आफ्ना बालबालिकाहरूको हातमा चक दिंदै अक्षर पहिलोपटक अक्षर लेखाउने प्रयत्न गरिरहेका थिए | तामांग समुदायकी एक महिला आफ्नो तीनवर्ष जतिकी बालबालिकालाई अक्षर लेखाउने प्रयत्न गरिररहेकी थिइन् | आफैं निरक्षर ती महिलाले आफ्नी चोरीबाट अंग्रेजीको “A” लेख्न अरूसंग मदत मागिन् | “अ” लेखाउन खोज्दा उनले A नै लेखाउन गरेको आग्रहले मेरो ध्यानाकर्षण गरेको हो |

यो कथा एकजना नेपाली महिलाको होइन अंग्रेजी “पोस्ने” सरकारी नीतिले विकसित नेपाली भाषालाई समेत धक्का पुगिरहेको छ भने अन्य मातृभाषाहरूको हविगत भविष्यमा कस्तो होला ? सजिलै अनुमान गर्न सकिन्छ | अभिभावकहरूमा “अंग्रेजी मोह”को अँधेरो “मेनिया” सृजना गरेर नेपाल सरकारले शौक्षिक अपराध गरेको छ | यसको मूल्य “रैथानेभाषा”को लोपका रूपमा चुकाउनु पर्ने निश्चित छ |

नेपालमा १२३ मातृभाषाहरू छन् | ती मध्ये नेपाली, मैथिली, थारू तथा भोजपुरी तथा तामांग भाषा १० लाख भन्दा बढी मानिसले बोल्छन् | भाषा विज्ञानको विश्व मानदंडले यी पाँचबटा नेपाली भाषाहरूलाई अतिसुरक्षित श्रेणीमा राखेको छ | अन्य भाषाहरूमा केही सुरक्षित, अर्धसुरक्षित, अल्प सुरक्षित, असुरक्षित, सीमान्तीकृत र अतिसीमान्तीकृत छन् | केही भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् |

नेपालमा प्रचलित सबै भाषाको लेख्य परम्परा विकसित भैसकेको छैन | १२३ भाषाहरू मध्ये केवल ६ बटा भाषाहरूका आफ्ना लिपि छन् | यी मध्ये केवल देवनागरी, मैथिली, राई, गुरुङ तथा रन्जना लिपिहरू विकसित छन् | अन्य भाषाहरू मौखिक परम्परामा आधारित छन् |

भाषाका सवालमा हामी नेपालीहरू निकै भाग्यमानी छौँ | नेपालको पांच हजार वर्षको इतिहासमा कुनै पनि भाषा विलुप्त भएको साक्ष छैन | ई. पू. ६३० तिरको चाँगुनारायण मन्दिरमा उपलब्ध शिलालेखको संस्कृतलाई प्रस्थानविन्दु मान्ने हो भने पनि त्यस बखत अनेकौं भाषाहरू विद्यमान थिए नै |

त्यस बेलाको जनसंख्याको अनुपातमा भाषाभाषीहरू पनि निकै न्यून थिए | आज पनि धेरैजसो भाषाका बक्ताहरूको संख्या न्यून नै छ | तथाकथित प्रगतिवादीहरूको आखाँको तारो बनेको संस्कृत तथा नेपाली भाषाको छहारीमा जीवित छन् |

कहिलेकाहिं आफु पहाडी बाहुनको घरमा जन्मेकोमा दिक्क लाग्छ | पहाडी बाहुनले नेपाली बाहेक अन्य भाषा बोल्न, बुझ्न सक्दैनन् | अन्य जातिहरूले आँखा खोल्दा साथ आफ्नो मातृभाषा, नेपाली र केहीले हिन्दी समेत बोल्ने र बुझ्न सक्छन् | यस अर्थमा, तराईवासीहरू भाग्यमानी छन् | मैथिली, नेपाली र हिन्दी उनीहरूको समान्तर मातृभाषा हुन्छन् |

युरोपियन गुरुहरूले लेखिदिएको घृणाको खेतीपाती गर्ने बुद्धिजीवीहरूले आफ्नो भाषा-संस्कृति तथा समाजको विकास गर्ने सवाललाई महत्व दिएर उठाउनुको साटो भाषाहरूको विकासमा पनि विचरा बाहुनवादलाई नै दोषको पगरी गुथाए |

सरकारले भाषाहरूका सवालमा हालै प्राडा लवप्रसादजीको अध्यक्षतामा भाषा आयोग गठन गरेर पुन: भाषामा पनि राजनैतिक विवाद निम्त्याएको छ | सरकारले जस्तो आयोग गठन गरे पनि भागवण्डाको कारण उसले बौद्धिक तथा बैज्ञानिक सुझाव दिनै सक्दैन भन्ने बुझ्न सजिलो छ |

चार हजारवर्षसम्म सहयात्रीका रुपमा यात्रा गरिरहेका नेपालका १२३ वटा भाषाहरूविच एस्तो बलियो सम्वन्ध छ कि उनीहरूले एकअर्कोलाई थामेर राखेका छन् | त्यसैले आजका मितिसम्म जीवन्त छन् र हामीले भाषाउपर गर्व गरिरहेका छौँ | नेवारी, मैथिली, दूर, उराव, राई, लिम्बु, मगर, माझी, कुमालआदि सबै हामी नेपालका आफ्ना भाषा हुन् र यिनको संरक्षण गर्ने दायित्व हामी सबै नेपालीको हो |

विदेशीको धनमा मातृभाषा संरक्षणको अभियान चलाउने तर आफ्न छोराछोरी चाहिं अंग्रेजी विद्यालयमा पढ्न पठाउने वर्णशंकर अधिकारकर्मीहरूका कारण स्थानीय भाषा लोपोन्मुख हुन पुगेका छन् | नेपाल सरकारले दोहोरो शिक्षानीति अपनाएर आफ्नै खुत्टोमा बन्चरो हानेको छ |

यदि रैथाने भाषाहरूलाई कसैबाट सबैभन्दा बढी खतरा छ भने त्यो हो अंग्रेजी | मैले भन्नुपर्छ, धेरैजसो रैथाने भाषाका अगुवाहरूको साँचो विदेशीका हातमा छ, उनीहरू आफ्ना छोराछोरी महँगो अंग्रेजी विद्यालयमा पढाएर गाउँका सोझासाझा सर्वसाधारणसंग मातृभाषाको बहस चलाउँछ |

आज जुन उत्साहले प्रज्ञाप्रतिष्ठानको भाषिक सम्मेलनमा पुगेको थिए, त्यहाँबाट फर्किंदा म मानसिक रूपमा निकै थकित थिएँ | कारण थियो : तथाकथित रैथाने केही भाषाप्रेमीहरू आफ्नो भाषाको विकास भन्दा बढी "बाहुनवाद"लाई गालीगलौज गर्न बढी तम्सिएको देखिए |

अंग्रेजीका लामालामा उद्धरणहरूसंग बाहुनहरूको उच्छितो काडेर उनीहरूको रैथाने भाषाको विकास कसरी हुनेछ भन्ने मैले बुझिन | युरोपियन घृणावादको जीवन्त रूप आजको जातिवाद, भाषिक तथा राजनीतिमा हावी भएको छ | युरोपेली र अमेरिकी घृणावादलाई एस्तो वांदरसंग तुलना गर्न सकिन्छ जसले आफ्नो घर बलियो बनाउँछ तर अर्काले घर बनाउन थाल्यो कि तुरुन्तै विविध बहाना बनाएर जग हाल्नै दिन्न | मेरा यी शब्दहरू ती सबैका लागि हुन् जसले "विद्" नाममा सामाजिक सद्भाव तथा सहृदयता भाँड्ने काम गरिरहेका छन् |

यी "चोखाले"को सुनेर भाषाको विकास हुनै सक्दैन | रैथाने नेपाली भाषाहरूको विकासको लागि "भाषिक विश्वविद्यालय" वा प्रतिष्ठान स्थापित गर्नुपर्छ | त्यस विविमा हरेक भाषाको एउटा स्वतन्त्र विभाग हुनुपर्छ जहाँ त्यस भाषाको समुचित तथा बैज्ञानिकरूपमा अध्ययन/अध्यापन होस् |

भाषाहरूको विकास आयोगले होइन विविले गर्नुपर्छ | हरेक भाषाको स्वतन्त्र विभाग हुँदा उक्त विभागले सम्बन्धित भाषाको विकासका लागि समुचित योजना तथा कार्यान्वयको तर्जुमा गर्ने छ | अध्ययन/अनुसन्धानले भाषामा पूर्णता आउने छ | राजनीतिले भाषाको विकास गर्न मदत गर्छ तर त्यसमा राजनीति गरिनु हुँदैन |

प्राचीन रैथाने भाषाहरूको (संस्कृत-नेपाली)को विरोध गरेर, जातिविशेषप्रति विषवमन गरेर (बाहुनवाद) भाषाविशेषको विकास हुन्छ भन्ने दुराग्रह न त्यागेसम्म राजनीति त हुन्छ तर भाषाहरू अझै लोपोन्मुख हुनेछन् |

नेपालका सबै रैथाने भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन् | यिनको समुचित विकास हुनुपर्छ | नेपालीले मगरभाषाको, मगर भाषाले गुरुङ भाषाको, मैथिल्रीले पहाडी भाषाहरू जान्न अभिप्रेरित हुने नीतिहरू निर्धारित गरिनुपर्छ |

सरकारी जागिर खाने तर व्यक्तिगत स्वतन्त्रता भन्दै आफ्ना छोराछोरीलाई महँगा इंगलिस विद्यालयमा पठाउनेहरूबाट नै नेपालका राष्ट्रियभाषाहरू धरापमा परेका छन् | अंग्रेजी एउटा भाषा हो, जान्नुपर्छ तर अक्षरारम्भका दिन अ को सट्टा A बाट अक्षरआरम्भ गर्ने मनोविज्ञान सृजना गर्नेहरू "रैथाने भाषा"हरूका सबसे क्रूर दुष्मन हुन् | पाँचतारे होटलमा गरिने गोष्टीको डलरे रक्सी-उन्मादले भाषाको संरक्षण गर्न सक्दैन |

नेपालमा आफ्नो जरोकिलो भएका, नेपाली धर्म, संस्कृति तथा परम्परा बोकेर हिड्ने जीवन्त आधार नै यहाँका रैथाने भाषा नै हुन् | हरेक नेपालीले हरेक नेपाली भाषाको रक्षा गर्ने "प्रेमपूर्ण"को अवधारणा विकास गरेर हामीले आफ्नो दायित्वपूर्ण गर्न सक्छौं | अंग्रेजीसंग आएको घृणावादका स्थानमा सहृदयतावाद प्रत्यारोपण गरेर सहकार्य गर्न सक्छौं |

हरेक अंग्रेजी वर्षको फरवरी २१ का दिन युनेस्कोले विश्वमातृभाषा दिवसको आयोजना गर्दै आएको छ | मातृभाषाहरूको संरक्षणका लागि यो राम्रो सुरुवात हो | भाषाहरूको विकासले मानव-समुदायहरूविच एकआपसमा सद्भाव बढ्ने छ तर राजनैतिक अभिष्टका लागि भाषा विकासको सुन्दर अभियानलाई घृणावादमा बदलिन भने दिनु हुँदैन |

नेपालमा पनि प्रज्ञाप्रतिष्ठानले विभिन्न ५७ भाषाहरूका कविता वाचन गराएर राम्रो थालनी गरेको छ | कमसेकम हामीले आफ्नो तहमा छिमेकीले बोल्ने भाषा सिक्ने र आफ्ना बालबालिकालाई ती भाषा सिक्न प्रेरित गरेर भाषाहरूको विकासमा ब्यबहारिक टेवा पुर्याउने प्रयत्न गरौँ | 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...