Saturday, December 23, 2017

बहुआयामिक बौद्धिकता र नौ प्रकारका बालबालिका


बहुआयामिक बौद्धिकता र नौ प्रकारका बालबालिका 
विश्वका सबैभन्दा प्राचीन बालबैज्ञानिकको थिए भनेर सोध्यो भने अचम्म मान्नु पर्दैन किनभने उनी अमेरिकन, युरोपेली कुनै थिएनन् | ई.पू. ५४० तिर प्राचीन दक्षिण भारतमा जन्मिएका विष्णु शर्मा थिए | यस्तो भनिरहंदा हाम्रा अग्रज र अंग्रेजी नाम पढ्न अभ्यस्त भैरहेकाहरूका लागि अचम्म हुने छ | तर यो कुरा सत्य हो, विश्वमा पन्चतंत्र भन्दा प्राचीन बालसाहित्य अर्को छैन |

उनले बालबालिकालाई सिकाउन विभिन्न कथानकहरूको प्रयोग गरेर बौद्धिक तिनको अभिरूचि अर्थात् पठनपाठन, दिंनेलिने, यज्ञ गर्ने/गराउने (ब्राह्मण) युद्ध गर्ने/गराउने, नयाकुरा सिक्न र सिकाउन रहर गर्ने, शारीरिक शक्तिको प्रयोग गर्ने काममा अभिरुचि दिने (क्षत्री), ब्यापार, कृषि,आदि मन पराउने. प्रकृतिसंग नजिकिन इच्छा गर्ने (वैश्य) र सधैं जागिर खान, अर्काको खटनपटन मन पराउने, आज्ञाकारी बन्न मन पराउने र धेरैजसो आफ्नो श्रम बेच्न मन पराउने (शूद्र) यी चारप्रकारका बौद्धिकस्तर अनुसारको गुरुकुल पद्यतिको विकास गरे | बहुआयामिक बुद्धिको पहिचान केवल गार्डनरले मात्र गरेका हुन् भन्नु अन्याय हुने छ |

निश्चय नै अमेरिकी मनोबैज्ञानिक गार्डनरले बहुआयामिक बौद्धिकता विकास गरेर विश्वलाई गुण लगाएका छन् | गार्डनरले हरेक व्यक्तिको सिकाईहरूका आठआयामहरू हुने सिद्धान्त प्रमाणित गरेका छन् | गार्डनरका अनुसार मान्छेको सीकाई मूलतः दुई प्रकारले प्रभावित हुन्छ जसमा आनुवांशिक र वातावरण हुन्छन् | वातावरणको अर्थ बालबालिकाको हुर्काइ र सिकाईको परिवेशसंग सम्बन्धित रहने उनको विश्वास छ |

हावर्ड गार्डनरले मान्छेको सिकाई-क्षमतालाई आठ प्रकारमा विभाजित गरेका छन् | यी आठप्रकारका सीकाइहरू क्रमश: शक्ति-संचार, अन्तर, बाह्य, तार्किक, शाब्दिक,प्राकृतिक, दृश्यगत तथा सांगीतिक हुन्छन् | यद्यपि हरेक मान्छेलको न्युनाधिकरूपमा उपरोक्त गुणहरूका आधारमा व्यक्तित्व निर्मित हुन्छ तर यी मध्ये जुन विषयवस्तु प्रति उसको अभिरुचि हुन्छ, उसले त्यही विषयमा सफलता प्राप्त गर्छ भन्ने गार्डनरको मान्यता रहेको छ |

१. शारीरिक संचालन सिकाई : खासगरी केही बालबालिकाहरू आफ्नो शरीर प्रयोग हुने क्रियाकलापमा बढी सक्रिय हुन्छन् | नाच्न, उफ्रन, खेलकुद गर्न र दौडन तथा शरीरलाई सन्तुलन गरेर सम्पादन गर्न सकिने कामहरू प्रति बढी अभिरुचि राख्छन् र अन्य सिकाईमा उनीहरू सामान्य अथवा न्यून हुन्छन् | यस्ता बालबालिकाहरू हरेक बखत शरीरलाई सक्रिय राख्छन् | अभिभावकहरूले अन्य क्रियाकलापमा भन्दा स्वभाविकरूपमा प्रकट भैरहेको मौलिक रुचि प्रति ध्यान दिनुपर्छ | शारीरिकमा सक्रिय बालबालिकाहरू विश्वप्रसिद्ध नृत्यक बन्ने सम्भावना लिएका हुन्छन् र अभिभावकहरूले तेसैमा फोकस गरेको राम्रो हुन्छ भन्ने हावर्ड गार्डनरले एस्तो क्षमतालाई "काइनेथेस्टीक इन्टेलीजेन्स" रूपमा पहिचान गरेका छन् |

२. अन्तरसम्बन्ध : केही बालबालिकाहरू वा प्रौढहरू सजिलैसंग साथी बनाउन सक्छन्, रमाइलो गर्न सक्छन् | उनीहरूको प्राकृतिक अभिरुचि नै आफ्नो कुरा सुनाउने र अर्काको कुरा सुन्नेतिर केन्द्रित हुन्छ | अंग्रेजीमा यस्तो गुणलाई "इन्टरपर्सनल" भन्ने गरिन्छ | अन्तरसम्बन्ध सम्बब्धि गुण भएका बालबालिकाहरू अन्य विषयमा कमजोर देखिए पनि साथी बनाउन, नेतृत्व स्वीकार्न, सामाजिक समस्याहरू समाधान गर्ने काममा ज्यादै निपूर्ण हुन्छन् | एस्ता बालबालिकाहरू समुहमा सिक्ने, समुहमा काम गर्न अभिरुचि राख्ने हुन्छन् |

३.कितावी : केही बालबालिकामा किताव पढ्ने, शब्दहरू सुनेर ती शब्दहरूलाई विविध प्रकारले प्रयोग गर्ने र अर्थात् सुनेका, बुझेका र देखेका शाब्दिक-वर्णहरूसंग रमाउन सक्ने प्राकृतिक गुण हुन्छ | हाम्रो समाजले एस्तै बालबालिकालाई ज्ञानी र जान्ने भन्छ | यो अर्ध सत्य हो | प्राकृतिक रूपमा शब्दसंग तालमेल राख्ने बालबालिकाहरू खेलकुदआदिमा कमजोर हुनसक्छन् तर कविता लेखन, बाचन, निवन्ध प्रतियोगिताआदिमा उनीहरूले राम्रो गर्छन् | एकप्रकारले यस्ता बालबालिका वा व्यक्तिहरू कितावी किरा हुन्छन् भन्दा फरक पर्दैन | गार्डनरले यसलाई "लिंग्विस्टक इन्टेलीजेन्स" भनेका छन् |

४. तार्किक : केही बालबालिका तथा व्यक्तिहरूमा गणित अर्थात् तर्क गर्न सक्ने अत्यधिक क्षमता हुन्छ | एस्तो प्राकृतिक गुण भएका बालबालिकाहरू सधैं प्रश्नमात्रै सोधिरहन्छन् | उनीहरू जिज्ञासु भएकोले नया गिफ्ट पाउँदा साथ त्यसलाई खोलेर बुझ्ने प्रयास गर्दा विगार्न सक्छन् | यसो गर्न हुँदैन भन्यो भने किन भनेर पनि बुझाउनुपर्छ नत्र आफैलाई समेत जोखिममा पार्न सक्छन् | यस्ता बालबालिकाहरू शब्दसंग खेल्न, बाहिरी संसारसंग बढी घुलमिल गर्न, खेल-कुदमा अव्ब्बल नहुन सक्छन् तर समस्या समाधान गर्न भने महारत प्राप्त हुन्छन् | एताउती हेर्ने, फोर्ने, बनाउने प्रयत्न गर्ने यिनको बानी हुन्छ | गार्डनरले यसलाई "तार्किक-बौद्धिकता" भनेका छन् |

५. प्राकृतिक : केही मान्छेहरू सधैं हिमाल-पहाड तराईका खोला, फाँट र टाकुराहरू घुमिरहेका हुन्छन् | घरमा जताततै विरुवा नै विरुवा लगाए जङ्गलजस्तो बनाएका हुन्छन् | प्राकृतिक वातावरणसंग रम्नेहरू प्राकृतिक-सिकाईसंग सम्वन्धित हुन्छन् भने गार्डनरको मत रहेको छ | एस्ता बालबालिकाले कक्षाकोठामा घोकाएको, नचाएको, सबैसंग ग्रुपमा सिएकाएको वा समस्या समाधानप्रति त्यति अभिरुचि हुँदैन | यी बालबालिकाहरू संसारको विशालताबाट सिक्छन् | घरको छानोमा उभिएर तारा गन्ने, विहानै उठेर चराहरूको आवाज सुन्ने, सूर्य, चन्द्र ताराआदिका विषयमा अभिरुचि लिने यिनको स्वभाव हुन्छ | यिनका लागि प्रकृति नै सबैभन्दा महान् शिक्षिका हुन्छिन् | गार्डनरले एस्तो विशेष गुण भएका बालबालिकालाई "प्राकृतिक-बौद्धिकता" गुण भएका बालबालिकाको रूपमा परिभाषा दिएका छन् भने यी बालबालिकाले प्राकृतिक वातावरणमा सजिलोसँग सिक्छन् |
६. अन्तरमुखी : केही बालबालिकाहरू निकै लजालु स्वभावका र एकान्तमा बस्न मन पराउने हुन्छन् | घरमा पाहुनापछा आउँदा वा सामाजिक कार्य हुँदा कमसहभागिता जनाउँछन् | एस्तो स्वभाव भएका बालबालिकाहरू "अन्तरमुखी बौद्धिकगुण" भएका हुन्छन् | यस्ता बालबालिकाहरू खेलमा, सामाजिक कार्यमा, धेरैसोधखोज गर्नमा र बाहिर घुम्नमा अभिरुचि राख्दैनन् | एकान्तमा बसेर किताव पढ्ने, नैतिक तथा ब्यबहारिक समस्याहरूको स्रोत आफै भएको ठानेर ती समस्याहरू समाधान गर्ने प्रयत्न गर्दै सिक्नु नै यिनको आफ्नो मौलिक गुण हुन्छ | असलमा, हरेक मान्छेले आ-आफ्नो तरिकाले सिकिरहेको, बुझिरहेको हुन्छ | अभिभावकहरूले एस्तो एकान्त स्वभाव भएका बालबालिकालाई तेसै किसिमले सिक्न प्रेरित गर्नुपर्छ | ठूला बैज्ञानिक तथा दार्शनिकहरू यसै बौद्धिकताबाट विकसित भएका हुन् | गार्डनरले एस्तो विशेषतालाई "अन्तरमुखी बौद्धिकता" भनेका छन् |

७. चित्रप्रधान : विश्वको हरेक मान्छे आफैमा अद्वितीय हुन्छ | कुनै पनि मान्छेको ठ्याक्कै डुप्लिकेट हुँदैन | आज धेरै अभिभावकहरू बालबच्चाले धेरै कार्टुन हेरे भनेर चिन्तित देखिन्छन् | तर त्यही कार्टुन हेरेर बालबालिकाले फरर हिन्दी बोलेको, बुझेको कुरालाई त्यति वास्ता गर्दैनन् | कार्टुनहरूले धेरै कुरा सिकाउँछ | त्यसको समय ब्यबस्थापन जरूरी हुन्छ | केही बालबालिकाहरूका अक्षर असाध्यै राम्रा हुन्छन् | तर उसले परिक्षामा राम्रो नम्बर नल्याएको हुन सक्छ | यसको अर्थ, उसले चित्रहरू हेरेर, त्यसको आधारमा सिक्ने गर्छ | चित्रहरूहेरेर सिक्नेहरू ठूलो संख्यामा हुन्छन् | भनिन्छ, मान्छेले ७०% ब्यबहार अर्काको नक्कल गरेर सिक्छ | तेसैले एस्तो बौद्धिकगुण भएका बालबालिकाहरूका लागि कक्षाकोठा होस् वा घर रंगहरू, चित्रहरूले भरिएको, लेखिएको हुनुपर्छ | उसका लागि आफैले लेख्ने र पढ्ने अक्षरहरू भन्दा अरूले लेखिदिएका अक्षरहरू बढी महत्वपूर्ण हुन्छन् | गार्डनरले एस्तो मानसिक विशेषतालाई "भिजिउल इन्टेलिजेन्स" भनेका छन् |

८. कानमा इयरफोन लगाएर, टीवी वा रेडियोमा गीत चलाएर टाउको हल्लाउदै होमवर्क गरिरहेका बालबालिकाहरू पनि तपाईंले देख्नु भएकै होला | उनीहरूले जे-काम पनि संगीतमय वातावरणमा मात्र सम्पन्न गर्नसक्ने क्षमता राख्छन् | उनीहरू खेलकुदमा, साथीहरू बनाउन, एकदम राम्रो कविता लेख्न, तर्क गर्न, एक्लै वसेर सिक्न, प्राकृतिक वातावरण रमाएर सिक्न नसक्लान् तर सांगीतिक वातावरणमा उनीहरू धेरै राम्रो गर्न सक्छन् | यदि तपाईंको बालबालिकाले रेडियो सुन्दै गर्दा पनि होमवर्क राम्रो गरिरहेको छ भने केही फरक पर्दैन | उनीहरूको मुख्य पेशा नै संगीत हुन सक्छ | गार्डनरले एस्तो विशेषगुण भएका बालबालिकालाई "सांगीतिक इन्टेलीजेन्स" भनेर पहिचान गरेका छन् | उनीहरूलाई यस्तै वातावारणमा सिक्न दिनुपर्छ | आजभोली विद्याध्यायहरूमा पनि संगीत सिकाउने क्रियाकलाप हुन्छ, राम्रो हो |

९. आध्यात्मिकता : अमेरिकी मनोबैज्ञानिक गार्डनरले यी आठ-प्रकारका सीकाइ-बुझाई सम्वन्धि गुणहरूको कुरा गरे पनि आजभोली नवौं गुणको पनि परिचर्चा र पहिचान भएको छ | आजभोली मनोबैज्ञानिकहरूले "आध्यात्मिक बौद्धिकता"को अस्तित्वलाई स्वीकार्नु पर्नेतिर औल्याउएका छन् | वास्तवमा हिन्दू, बौद्ध, जैन तथा अन्य चिनी दार्शनिकहरूले जीवनमा आध्यात्मिकतालाई ठूलै महत्व दिएका छन् | केही बालबालिकाहरू प्राकृतिक रूप मै दार्शनिक अर्थात् रहस्यमय विश्वका विषयमा जान्न, बुझ्न तथा यसको रहस्य खोल्न आतुर हुन्छन् | यसको मुख्य कारण तिनको मूल गुण नै हो | योग, ध्यान, आध्यात्मिक चर्चा, गुरू बन्ने चाहना इत्यादि एसका प्रबृत्ति हुन् |

यसरी हरेक अभिभावकहरूले उपरोक्त नौ-प्रकारका बालबालिका हुन्छन् भनेर बुझ्नु जरूरी छ | सबै बालबालिकाहरूले सबै थोक सिक्न, जान्न र बुझ्न सक्दैनन् | उनीहरूको अभिरुचि नभएको विषयमा उनीहरूले राम्रो गर्न सक्दैनन् | उनीहरूले उपरोक्त नौवटा विषयहरू मध्ये जुन विषयमा सबैभन्दा राम्रो परिणाम प्राप्त गर्न सक्छन् त्यही नै उसको मूल गन्तब्य हो भनेर हामीले बुझ्नुपर्छ र त्यसमा दक्षताप्राप्त गर्न बालबालिकालाई सहायता गर्नुपर्छ |

मार्गनिर्देशन गर्ने, परामर्श दिने तथा सहयोग गर्ने काम हामी अभिभावकहरूको हुनुपर्छ तर आफ्नो ईच्छा बोकेर हिड्ने ट्रकको रूपमा बालबालिकालाई कदापि प्रयोग गर्नुहुँदैन | आफ्नो महत्वाकांक्षी चिन्तन लादिंदा भविष्यमा समस्या उत्पन्न हुन्सक्ने खतरा बढी हुन्छ | तै भएर, बालबालिकालाई उनको आफ्नो रुचिअनुसारको सीप विकास गर्न हामीले सहयोग गर्नुपर्छ | नत्र श्रीकृष्णले अर्जुनलाई भनेझैं "तिमी क्षत्री हौँ, जहाँ गए पनि तिम्रो लडाकु व्यक्तित्वतिमीसंग रहनेछ | सन्यासी बनेर जङ्गलमा गयौं भने पनि तिमी चराचुरुङ्गीको सिकार खेल्ने छौ | बरू यहीं युद्ध गरेर आफ्नो धर्म पालन गर" भन्ने उपदेशलाई सधैं स्मरण गरेको राम्रो हुन्छ |
फोटो - साभार

Sunday, December 3, 2017

सधैं बाँच्ने मान्छे !!

मान्छेसबै भन्दा डर मर्नबाट लाग्छ | तर आजसम्म सधैं जीवित रहेको मान्छे भेटिएको छैन | विज्ञानले मान्छेलाई अमर बनाउने प्रयत्न गरिरहेको छ | तर अनुसन्धानहरूले मान्छेको औशत उमेर ११५ वर्षको भएको प्रमाणित गरिसकेको अवस्थामा अहिलेसम्म मान्छे जीवत रहन सक्ने अधिकतम उमेर ११५ वर्ष नै हो | विज्ञानले १ मिनट पनि मान्छेको आयुमा वृद्धि गर्न सकेको छैन केवल ११५ विन्दूलाई साँघुरो बनाउंदै लगेको छ |

तर वैदिक साहित्यहरूले आठवटा मान्छेहरूले अमरता प्राप्त गरेको उल्लेख गर्छ | इतिहासमा भएका केही मान्छेरूले ती अमरताप्राप्त मान्छेहरूसंग भेटघाट गरेको अनुभव पनि लेखेका छन् | पाश्चात्य विज्ञानका नजरमा एस्ता अमर व्यक्तिहरू म्याथ होलान् तर हिन्दू समाजले यी व्यक्तिहरूलाई सधैं बडो श्रद्धा पूर्वक स्मरण गरिरहेको छ |

हिन्दूशास्त्रहरूमा जुन अजरअमर व्यक्तिहरूको चर्चा गरिएको छ, ती जन्मदा हामी जस्तै सामान्य मान्छे नै थिए तर पछि, आफ्नो बुद्धि, विवेक तथा भक्तिका माध्यमबाट ती अजरअमर बन्न सफल भएका हुन् | यी सबै फरक-फरक जाति, वर्ण तथा समुदायका मानिसहरू थिए र अमरताप्राप्त गर्न उनीहरूले मानवसेवाको असामान्य कार्य गरेका थिए |

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:। कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।


द्रोणाचार्यका छोरा अश्वत्थामा, राक्षसका राजा बलि, महमति ब्यास, रामभक्त हनुमान, रावणको भाई विभिषण, कृपाचार्य, परशुराम र मार्कन्डेय यी आठवटा मानिसहरू कहिल्यै नमर्ने अर्थात् अजरअमर छन् | यी आठबाट ऐतिहासिक व्यक्तिहरूलाई "अष्टचिरन्जीवी" भनिन्छ |

सनातन धर्मीहरू जन्मदिन मनाउने क्रममा विधिपूर्वक यिनै अष्टचीरन्जीवीहरूको पूजा गर्छन् | विहान स्नान गरेर, विधानपूर्वक गायत्री ज़प गरी गणेश, कलश, दीप पूजन गर्दै अष्टनारायणको पूजा गरिन्छ | भनिन्छ, निरोगी र दीर्घजीवनको इच्छा राख्नेहरूले हरेक दिन सुत्ने बेलामा यी आठबटा ऋषिहरूको स्मरण गर्नुपर्छ |

आज उपरोक्त आठौँ व्यक्तिहरू कथा र प्रवचनका विषय होलान् तर यसमा लुकेको संदेश अत्यन्त महत्वपूर्ण छ | यसले हिन्दूहरूको भविष्य-मानवको कल्पना लुकेको छ | भविष्यमा मान्छेहरू अजरअमर हुनेछन्, सर्वजयी हुनेछन् |

अश्वत्थामा झैं बलशाली, बलीझैं विनम्र, ब्यास झैं ज्ञानी, हनुमानझैं शक्तिशाली, विभिषण झैं विवेकशील, कृपाचार्य झैं गुरू, परशुराम झैं स्वाभिमानी, तथा मार्कंन्डेयझैं दूरदर्शी हुनेछ भन्ने संदेश लुकेको छ | तर एस्तो महान अमरत्व विनम्रता बाहेक प्राप्त हुँदैन |

अनुसन्धान गरेर आर्यसाहित्यमा रहेका अमरत्वका बीऊहरू खोज्नुपर्छ र ब्रह्माण्डलाई "अभयप्रदान गर्न" क्षमता भएका भविष्यका अजरअमर मानवको सृजनामा अग्रसर हुनुपर्छ |

गीता नै किन ?


आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने र मार्ने उद्योगमा तम्तयार सारथीको मुखबाट विश्वको उत्कृष्ट साहित्यको सृजना हुनुमा विश्वका मानवसमाजलाई ठूलै संदेश दिन्छ |

गीता प्राचीन वैदिक साहित्यहरूको असंख्य भण्डार मध्ये एउटा वूँदमात्र हो | सरल, सहज तथा सबैले मनन गर्न सक्ने शैलीमा लेखिनु र कसैको निन्दा नहुनु यस लघुकाय ग्रन्थको आफ्नो मौलिक विशेषता हो | संसारमा गीतामात्र एकल ग्रन्थ हो जसले न आफुलाई धार्मिक ग्रन्थ भएको घोषणा गर्छ न यसमा कुनै नकारात्मक संदेशहरू नै छन् | अर्को शब्दमा भन्नुपर्दा यदि कसैले सकारात्मक चिन्तन र प्रेरणा दिने ग्रन्थ पढ्न चाहनुहुन्छ भने गीता नै पढ्नुपर्छ |

धेरैलाई लाग्ला, हिन्दू भएर हिन्दूहरूको पवित्र ग्रन्थ गीताको प्रशंसामा तपाईंको पूर्वाग्रह पनि त हुन सक्छ नि ? प्रश्नमा खोट छैन तर मभित्र नेपाली हिन्दू भएको केही स्वाभिमान र केही पूर्वाग्रह पनि होला तर मभित्र रहेको पूर्वाग्रहको तुलनामा गीताको विशालता धेरै बढी छ | "आफ्नो र अर्काको भनेर सानो मन भएका मान्छेमा सोच हुन्छ, विशाल मन भएको मान्छेका लागि विश्व नै आफ्नो परिवार हुन्छ" भन्ने गीताको मनसंग मेरो केही चल्दैन |

गीता कर्मकाण्डको ग्रन्थ होइन तर यसले आ-आफ्ना धर्म, संस्कृति, चलन, रीतिथितिको खण्डन-मण्डन गदैन | यसले बुझेको छ "मान्छेलाई आफ्नै जन्मभूमि, माटो, धर्म-संस्कृति प्यारो हुन्छ | उसले सबैथोक त्याग्न सक्छ तर आफ्नो मौलिक पहिचान त्याग्न सक्दैन र त्याग्न मिल्दैन पनि | "आफ्नो देश, धर्म तथा गुणहरूको रक्षाका लागि मर्नु उचित हुन्छ किनभने पराई धर्म-संस्कृतिले तिम्रो मौलिकता निलीदिन्छ" | गीताले हिन्दू नै स्वधर्म हो कहीं भनेको छैन |

मान्छेले सबै थोक परिवर्तन गर्न सक्छ तर आफ्नो मूलगुण परिवर्तन गर्न सक्दैन | शरीर, मन, बुद्धि, अहंकार तथा सिकाई जहाँपनि संगै हुन्छन् | यी सबै मिलेर व्यक्तित्वको निर्माण हुन्छ | यदि कुनै मान्छे दानी स्वभावको छ भने त्यो स्वभाव सधैं उसको आफ्नो हुन्छ | प्रेम गर्ने प्रेमी हुन्छ, जानेको मान्छे ज्ञानी हुन्छ, मिल्न सक्ने मान्छे मिलनसार हुन्छ | गीताले हरेक मान्छेलाई आफ्नो मूलगुण र व्यक्तित्वको पहिचान गरेर काम गर्न प्रेरित गर्छ | सात्विक गुण भएका मान्छेले सरल काम गर, राजसिक गुण भएका मान्छेले जोड्ने-जुटाउने काम गर र तामसिक गुण भएका मान्छेले शारीरिक श्रमको काम गर - गीताले सबैलाई यही भनेको छ |

यो शरीर कामको उपज हो | काम, क्रोध, लोभ, मोह, ममताआदि मानवीय गुण नै हुन् | यी सबै मानसिक गुण हुन् तर शरीरमा प्रकट हुँदा गुण र अवगुण दुवै रूपमा प्रकट हुन्सक्छन् | नैतिक तवरले काम (सेक्स)को प्रयोग गर्दा रमाइलो र सन्तान सुख दुवै मिल्छ तर यसैको अनैतिक प्रयोग गर्दा जेलनेल हुन्छ | कृष्णले गीतामा यी मानसिक वृतिहरूप्रति संयम अपनाउन आग्रह गरेका छन् र योगविधिबाट ती उपर विजयप्राप्त गर्न सकिने बाटो देखाएका छन् | जसले यी मानसिक तर शरीरलाई माध्यम बनाउने यी वृत्तिहरूमा विजय प्राप्त गर्छन् ती योगी हुन्छन्, जसले नैतिक तवरले यिनको प्रयोग गर्छन् ती गृहस्थ हुन्छन् र जसले जथाभावी गर्छन् ती पापी हुन्छन् | यो तत्थ्य हिन्दूहरूमा मात्र होइन मानवजातिमा लागु हुन्छ |

गीताकाअनुसार आत्मा परमात्माको सानो अंश हो | हरेक शरीरधारी परमात्मा कै अंश हुन् | जन्मदा सबै अपरिपक्व, असहाय तथा अपवित्र नै जन्मिछन् | जन्म तथा मृत्यु प्रक्रिया सबैको एकै हुन्छ | सानोठूलो, धनिगरिव तथा उच्च्चजात र नीचजात संसारका व्यापार हुन् | गुणहरूले उसको जात निर्माण हुन्छ र एउटा ब्राह्मणले जात, धन तथा कुलका आधारमा मान्छेमान्छेविच भेदभाव गर्नै सक्दैन किनभने उसले ब्राह्मण, कुकुर र शूद्रमा त्यसै परमात्माको अंशको दर्शन गर्छ |

केही पश्चिमा र तिनको जूठो पत्याउनेहरूले गीतालाई "हिंसाका लागि उक्साउने" ग्रन्थ हो भनेर निन्दा गरेका छन् | पश्चिमाहरू अर्काको निन्दा गरेर आफ्नो विजय सुनिश्चित गर्छन् | हामी हिन्दूहरूको प्रणाली फरक छ | श्रीमद्भगवत-गीताका उपदेशक श्रीकृष्णको व्यक्तित्व हतियारधारिका रूपमा प्रसिद्ध छैनन् | उनले आफ्नो हातमा कुनै घातक हतियार भिरेका हुँदैनन् | उनको मुरलीले विश्वलाई शान्ति र सहअस्तित्वको संगीतमा जिउन प्रेरित गर्छ | त्यैभएर उनले युद्धभूमिमा दिएको उपदेश पनि "गीत" भनिएको हो | श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न उक्साएका होइनन्, उनले अर्जुनलाई उसको सीप र युद्धबाट बाहिरिंदा त्यसले निम्त्याउने विचलनसंग परिचित मात्र गराएका हुन् | नत्र गीताको अन्त्यमा "मैले भन्ने कुरा सकें अव तिमीले के गर्छौं ? आफ्नै निश्चय गर" भनेर नभनि "मैले भनेको कुरा राम्ररी बुझेको भए अव लडाई गर्न तम्तयार भएर उठ" भन्ने थिए | महाभारतको युद्ध लड्ने निर्णय अर्जुनको थियो श्रीकृष्णको थिएन |

मैले बाल्यकालमा बुझेर गीता पढेको होइन | जव मैले गीताको कुरा बुझ्न थालें, अनि मैले स्पष्टसंग बुझें "गीता पूजेर होइन पढेर, मनन गरेर मात्र बुझिने ग्रन्थ हो" | विश्वास गर्नुस्, गीता नपढी बुझिने ग्रन्थ होइन | अर्कोकुरा, एक पटक यो बुझेपछि तपाईंले यसलाई छोड्न सक्नु हुन्न न त विर्सन नै सक्नुहुन्छ | गीताले तपाइको मन, बुद्धि, अहङ्कार, विवेक तथा चेतनामा सकारात्मक राज्य गर्नेछ | यो पढेपछि एत्तिमात्र फरक पर्छ कि तपाईंको जीवनरूपि नदी मैलोधैलो छ भने सफा, सुन्दर र सरल भएर प्रविहित हुन्छ | तपाईंको आफ्नो जीवन र अरूको जीवनप्रतिको नजरिया परिवर्तित हुन्छ | पहिले जताततै कोलाहल सुनिथ्यो भने अव कृष्णको मुरलीबाट निस्केको सुन्दर संगीत सुनिन्छ | परिवारका हरेक सदस्यमा प्रेम झल्किन्छ, पृथ्वीका कणकणमा आफ्नोपनको दियो बल्छ | पराई भन्ने शब्दमात्र शेष रहन्छ |

धेरैले गीतालाई पवित्र ग्रन्थका रूपमा ब्याख्या गर्छन् | म उहाँहरूप्रति श्रद्धा व्यक्त गर्छु तर भगवानको सुन्दर विग्रहको मन्दिरमा अर्चना गर्दा पुण्य मिल्छ तर गीताको पवित्रता उसको अध्ययन नगरी फलिभूत हुँदैन | मन्दिरमा राखेर, पण्डितलाई दान दिएर, फुलअक्षता चढाएर गीताको पवित्रता प्रमाणित हुनसक्दैन | गीता पढेपछि मान्छे "विश्व-मानव" बन्नसक्छ, यही नै गीताको पवित्रता हो |

मैले ढुक्क र अधिकारसंग भन्न सक्छु, नेपालका नेताले श्रीमद्भगवत-गीता पढेर यसका भनाईहरूलाई आफ्नो जीवनमा रुपान्तरित गरेको भए हामी नेपाली विश्वका सबैभन्दा विकसित, सरल, सहज तथा माननीय जनता हुनेथियौँ | गीता बुझ्ने मानिस न बेइमान हुन सक्छ न विश्वासघाती नै | आफ्नो नाफा-नोक्सानको लागि काम गर्दैन र आफुले सम्हालेको कर्मलाई "कर्तब्य" मानेर पालन गर्छ | जयविजयसंग उत्साहित वा दुरुत्साहित हुँदैन | (चुनावमा) विजयी भए पनि असल काम गर्छ, हार वेहोरे पनि असल काम गर्न छोड्दैन | कर्तब्य र निष्पक्षता गीताले दिने राजनैतिक कर्तब्य हो | सिरिया, पाकिस्तान, अफगानिस्थान र अन्य युद्धरत मूलुकका जनता र नेताले गीता पढ्ने मौका पाएको भए उनीहरू अहिले शान्त हुन्थे |

श्रीमद्भगवत-गीता हिन्दूहरूको धार्मिक ग्रन्थ हो भन्ने मूर्ख हुन् | गीता आफैले कहीं त्यस्तो भनेको छैन न त गीतका प्रथम ब्यख्यकार शंकराचार्यले नै त्यसो भन्नुभएको छ | अन्य ब्यख्याहरूले पनि त्यसो भनेका छैनन् | गीताको तुलना बाइबल वा कुरानसंग गर्नै मिल्दैन | यी दूबै सम्प्रदायका मौलिक र सम्प्रदायको उत्थान, विकास तथा रक्षा गर्ने नियमन ग्रन्थ हुन् | गीता सबैको साझा ग्रन्थ हो | हिन्दु, मुस्लिम, बोन, बौद्ध, किरात, इसाई सबैले गीता पढ्न सक्छन् र असलबाटोका लागि मनन गर्न सक्छन् | श्रीमद्भगवत-गीता पढे "बौलाइन्छ" भन्ने र गीता पढ्दै नपढी त्यसको अनादर गर्नेहरूको कुनै औषधि छैन |

म धर्म मान्ने/नमान्ने, हिन्दू विरोधी/समर्थक, साम्यवादी/पूंजीवादी, मुस्लिम-इसाईआदिसबैसंग आग्रह र ग्यारेन्टी गर्न चाहन्छु, श्रीमद्भगवत गीता पढ्नुहोस्, यसले तपाईंलाई आफ्नै बाटोमा हिड्न तर सकारत्मक बाटोमा हिड्न मदत गर्नेछ | जतिसुकै ठूलो नदी भए पनि अन्जुलीमा पानी बोकेर मुखमा नहालेसम्म प्यास बुझ्न सक्दैन | पानी आफै हिंडेर तपाईंको मुखमा पर्दैन | प्रयत्न तपाईं आफैले गर्ने हो | प्यास पनि आफ्नै बुझ्ने हो |

अन्त्यमा, श्रीमद्भगवत-गीता पढ्नै पर्ने सामग्री हो, अवश्य पढ्नुहोस् | नत्र संसारको सबैभन्दा महत्वपूर्ण रचनाको विषयमा जानकारी नै प्राप्त नभई तपाईंको अन्त्य हुनेछ | एस्तो कहिल्यै हुन नदिनुहोला |

(Copyright article)

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...