Sunday, January 28, 2024

लोग्नेस्वास्नीका कुरा

यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?

पटक्कै होइन | पतिको लागि पत्नी र पत्नीको लागि पति सबैभन्दा असल, सहयोगी, इमानदार र जीवनभरी संगै रहने साथी हुन् | हो, दूईबटा अलगअलग मान्छे भएकोले कहिलेकाहीं विमति हुनु, सानोतिनो झैँझगडा नै हुनु स्वाभाविक हुन्छ | लोग्ने र स्वास्नी दूवैकको रूचि, बुझाई, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक चेतना एकै प्रकारको हुनुपर्छ भन्ने हुँदैन | स्वभावत: विमति हुन्छन् |

विमति हुनुको अर्थ लोग्नेका लागि स्वास्नी, स्वास्नीका लागि लोग्ने सहयोगी रहन्नन् भन्ने चाहिं पटक्कै हुँदैन | मैले धेरै यस्ता पतिपत्नीहरू भेटेको छु, जुन खानपान, रहनसहन तथा रुचिहरूमा विमति राख्छन् | ती विमतिका कारण कहिलेकाहीं छोटोमीठो झगडा पनि हुन्छ | १ घण्टादेखि २ दिन सम्म बोलचाल पनि बन्द हुन्छ | तर एकले अर्कोको आवश्यकताअनुसार हेरविचार गर्न कुनै कमी गर्दैनन् | पत्नीले पतिलाई भोजन गराएकै हुन्छन् भने पतिले पनि पत्नीको सुविधाका लागि बाहिरबाट ल्याउनु पर्ने आवश्यक सामग्रीहरू ल्याएर नबोलिकन किचेनमा राखिदिएकै हुन्छन् |

माथि उल्लेख गरिएकोजस्ता धेरै प्रकारका विमति र विमतिविच सहकार्य, सहयोग चलिनै रहन्छन् | धेरैजसो नेपाली तथा भारतीय पत्नी र पतिहरूमा यदाकदा यस्तो हुन्छ नै | अनन्त: कुरा मिलाएर क्रमभंग हुन्छ | पतिपत्नी एकै ठाउँमा उभिएर आ-आफ्नो दायित्वमा फर्किन्छन् | पश्चिमा बालाधिकारवादी दृष्ट्रिकोणको बोर्डिंग स्कुलमा पढेका बालबालिकाका लागि सरल विमति पनि "ठूलो झगडा" भन्ने बुझाई पर्न सक्छ तर नेपाली पतिपत्नीजस्ता समझदार र सहयोगी पति/पत्नी अरू हुनै सक्दैनन् |

आफ्नो संस्कृति हुन्छ | नेपाली तथा भारतीय पतिपत्नीहरू "साइलेन्ट लभर" घूसघुसे लभर, लजाउने लभर, आइ लभ यु भन्न मन नपराउने लभर र मनको भित्रीतहमा सागर जत्तिकै माया गरे पनि मुखले "करकर" गर्ने लभर बढी हुन्छन् | पश्चिमा पतिपत्नीहरू बाटोमा हिड्दाहिड्दै किस गरेर वा हग गरेर प्रेम जाहेर गर्छन् र तेसैलाई प्रेम भन्छन् तर नेपाली पत्नीपत्नीहरू "ठ्याकठुक्क" गर्दागर्दै पनि एकआपसमा अनन्त प्रेम गर्छन् | बाटोमा जाहेर गरिने पश्चिमा शैलीको प्रेम अधिकांश पारचुकेमा टुंगिन्छ | "ठाकठुक"जस्तो देखिने मनबाट प्रेम गर्ने नेपाली पतिपत्नीले डिभोर्सको कल्पना पनि गर्दैनन् |

नेपाली र भारतीयहरूको पारिवारिक जीवन बढी जीवन्त, स्थीर तथा रुखो (पश्चिमा नजरियाबाट) देखिन्छ र तेस्तै हुन्छ | नेपालमा धेरै जातजाति र समुदायहरू छन् | ती सबैको दाम्पत्य जीवन बढी नै जीवन्त छ किनभने कुनै पनि नेपालीका लागि डिभोर्सका लागि विवाह गर्दैन | विवाहको परिभाषा फरक भए पनि पश्चिमाहरूले पनि "डिभोर्स" लागि विवाह गर्दैनन् | विवाहको अर्थ नै पारिवारिक स्थायित्व हुन्छ | केही अपवाद वाहेक विकसित भनिएका देशहरूमा पारिवारिक जीवन स्थाई छैन तर विकासोन्मुख देशहरूका परिवार स्थाई छन् | किनभने यहाँ पतिले पत्नीसंग र पत्नीले पतिसंग "साइलेन्ट लभ" गर्छन् |

आधुनिकतावादीहरूले "डिभोर्स"लाई महिला वा पुरुषहरूको आर्थिक स्वायत्ततासंग जोडेर व्याख्या गर्ने प्रयन्त गर्छन् तर मैले धेरै बलिउड वा हलिउडका सेलेब्रेटीहरूको उदाहरण दिन सक्छु, पति र पत्नी दूवै आर्थिक रूपले पूर्ण सक्षम हुँदाहुँदै पनि संगै वस्न सकेनन् | धनसम्पति दाम्पत्यका लागि आवश्यक साधन अवश्य हो तर यो साध्य होइन | साध्य त केवल "पतिपत्नीका विचमा गहिरो प्रेम" मात्र हो | क्षमा गर्नु होला, मैले धेरैजसो महिला सशक्तीकरण अभियन्ताहरूको दाम्पत्य जीवन छिन्नभिन्न भेटेको छु | अधिकार, सशक्तिकरण तथा सुखी पतिपत्नी वा परिवारका विचमा "प्रेम, समर्पण, विश्वास तथा सम्मान"ले धेरै ठाउँ ओगटेको हुन्छ |

अन्त्यमा, यदि पारिवारिक जीवन (दाम्पत्य) सुखी चाहन्छौं भने पत्नीले पतिको र पतिले पत्नीलाई पीडक र पिडितका रूपमा व्याख्या गर्न त्यागौं | सुखी पति त्यही हो जसले आफ्नी पत्नीमा विश्वास गर्छ, पत्नीमा शर्तरहित प्रेम गर्छ र पत्नीको सम्मान गर्छ | सुखी पत्नी ती हुन् जसले आफ्नो लोग्नेमा सबैभन्दा बढी विश्वास गर्छिन्, पतिलाई नि:शर्त प्रेम गर्छिन् र सम्मान गर्छिन् | आफ्नो पति वा पत्नीमा अविश्वास गर्ने, पीडकका रूपमा प्रस्तुत गर्ने र अपमान गर्नेहरूको सधैं दुखी हुन्छन् | उनीसंग भएको सम्पत्तिले सुख किन्न सक्दैन , प्रेम किन्न सक्दैन | बरू घृणा फैलाउन सक्छ | पतिलाई पत्नीको र पत्नीलाई पतिको "खेदो खन्न सिकाएर" झनै दूरी बढाउँछ |

असल वा कमसल पतिपत्नी बन्ने कुरा हाम्रै हातमा छ | सरल रहौं, सावधान रहौं | पतिले पत्नीलाई र पत्नीले पतिलाई सबैभन्दा निकटको मित्रका रूपमा विश्वास गरौँ तर अत्याचार भने नसहौँ |

Tuesday, January 16, 2024

मनुस्मृतिमा छुवाछुत छैन !

 मैले धेरै पटक मनुस्मृति पढें तर "शूद्रलाई छुन हुँदैन, छोइन हुँदैन" जस्ता श्लोकहरू भेटिन | बरू शूद्रहरूको प्रमुख कर्म भनेकै "ब्राह्मणहरूको सेवा हो" भनेर लेखिएका थुप्रै श्लोक भेटें | सेवा गर्नेले सबै ठाउँमा सजिलै प्रवेश पाउने र हरेक प्रकारका सेवाकार्यहरू प्रत्यक्ष गर्नु पर्ने हुँदा "शूद्र अछूत" हुनै सक्दैन | शूद्रलाई "पापजात" अवश्य भनिएको छ तर अछूत भनिएको र मानिएको छैन | तेसैले शूद्र अछूत होइन |

दोश्रोकुरा शूद्र के-कसरी बन्छ भन्ने प्रश्नको उत्तर मनुस्मृतिको ८/४१५ श्लोकले यसरी दिन्छ : युद्धमा जितेर दास बनाइएको, भोजनका लागि स्वेच्छाले दासत्व स्वीकार गरेको, दास-दासीबाट जन्मेको, किनेर ल्याएको, कसैले काम गर्न दिएको, हाडनाता करणी गरेर बहिष्कारमा परेको, गौहत्या गरेको, ऋण तिर्नका लागि दास बनेको र स्वयंले दास बन्न स्वीकार गरेको - सातथरिका मानिसहरू शूद्र (दास) हुन्छन् |
यदि यस्तो हो भने हिन्दूधर्ममा छुवाछुतको अवधारणा जातीय आधारमा निर्मित भएको रहेन छ | खराव कर्म गर्नेहरू जाति-वहिस्कार भएपछि "कसैले न छुनु, व्यबहार नगर्नु" भन्ने मान्यता विकसित भएर छुवाछुतको चलन बसेको रहेछ | मनुस्मृतिले प्रष्ट रूपमा उपरोक्त शूद्रहरू सात जन्मपछि ब्राह्मणसरह हुन्छन् भनेको पनि पाइन्छ | आजको समयमा उपर्युक्त शूद्रहरू मध्ये कुन् समुदायलाई दास मान्ने भन्ने प्रश्ननै सकिएको छ किनभने उपर्युक्त धेरैजसो आधार कालक्रम र विकासले मासिएका छन् वा कानुनको बन्देजमा परेका छन् | तैपनि आफ्नो इच्छाले काम दास बन्न स्वीकार गरेका र हाडनाता करणी गरेको वर्गलाई शूद्र भन्न सकिन्छ तर छुवाछुतचाहिं गर्न/गराउन मिल्दैन | यस अर्थमा तलव थपेर पेट पाल्ने सबै शूद्र नै ठहरिन्नन् र ?
यसरी कर्मलाई सानोठूलो नमान्ने संस्कारको विकास भएपछि समाजबाट छुवाछुत स्वत: समाप्त हुनेरहेछ |

बूढा महाराज र राजा महेन्द्र

 राज पृथ्वीनारायण शाह र महेन्द्र आ-आफ्नो समयका जतिसुकै महत्वपूर्ण व्यक्ति भए पनि आजको नेपाली समाजले धेरै फड्को मारिसकेको छ | उहाँहरूको कर्तव्यलाई सम्मान गर्दै अगाडी बढ्नु नै बुद्धिमानी हुने छ | इतिहासका पात्र फर्किदैनन्, वर्तमानका पात्रहरूबाट नै उच्चचरित्र र दूरदृष्टि भएको व्यक्तिलाई प्रोत्साहन दिनुपर्छ | व्यक्ति र संबिधान फेरिदैमा विकासको मूल फुट्दैन भन्ने प्रमाणित भैरहेको छ | यो संबिधानका पक्षधरहरूले आफ्नो नाक जोगाउन भए पनि यसको पक्षपोषण गर्नुनै पर्ने हुन्छ तर विरोध गर्नेले पनि पत्यारिलो विकल्प दिनै पर्ने हुन्छ |

समाजको आवश्यकता, बुझाई, संस्कृति तथा आहारव्यबहार निकै फरक भैसकेको छ | मान्यताहरू परिवर्तित भएका छन् | स्वभाविक रूपमा राजनैतिक समझ पनि परिवर्तन हुनैपर्छ | परम्परागत राजनीति होस् कि प्रगतिशील यदि जनसामान्यले सुख-सुविधाको अनुभूति प्रदान गराउन सकेन भने त्यो गतार्थ भयो भनेर बुझ्नैपर्छ | बामपन्थीहरूले मार्क्सवाद गतार्थ भैसक्यो भन्ने कुरा आत्मसात गर्न सकेका छैनन् भने तथाकथित समाजवादीहरूले वर्तमानको मान्छे व्यक्तिगत सम्पत्ति र स्वतन्त्रतामा विश्वास गर्छ भन्ने तत्थ्य आत्मसात गर्न सकेका छैनन् | नेपाली समाज यी दुई गतार्थसंग सङ्घर्ष गरिरहेको छ |
आजको समाजका लागि पृथ्वीनारायण शाह, महेन्द्र शाह, विपी वा तुलसीलाल अमात्यको राजनैतिक चिन्तनले काम गर्ने छैन | विश्वका हरेक सूचनाहरू हातमा लिएर हिड्ने वृहत्तर दृष्टिकोणको जगजगी हुँदैगर्दा "झूट"को राजनीति टिक्दैन | नेपालीहरूले आफ्नो "दुर्गतिका लागि गतार्थ राजनीति नै जिम्मेदार छ" भन्ने तत्थ्य अलिअली बुझ्दैछन् तर लोभ र लालचको मनोविज्ञान ध्वस्त भएको छैन | तर यसको आयु धेरै छैन र हुनु पनि हुँदैन |
आजको मानवीय आवश्यकताहरू बहुदेशीय भएका छन् | फुटाएर राजनीति गर्छु र सत्ता प्राप्ति गर्छु भन्ने घृणावादी राजनीतिको दिन सकिंदै छन् | आजको राजनीतिले "सबैको सम्मान सबैलाई अवसर, अनेकताबाट एकता"को मांग गर्छ | नेपालमा अनेकता छन् | ती अनेकता दुईप्रकारका छन् - सत्ताका लागि फुटाउने अनेकता र सहयोगी अनेकता | नेपालको चरित्र सहयोगी अनेकताले निर्मित भएको छ | फुटाउने अनेकताले नेपाललाई सङ्कटमा पार्छ | अग्रगन आवश्यक छ तर आफ्नै परिवेशमा अग्रगमन चाहिन्छ | माँगेको कोट लगाएर अग्रगमन हुँदैन | दुईसयवर्ष पहिलेको समयमा आत्मरति गरेर अग्रगमन मिल्दैन |
बरू राज्यराष्ट्र पढ्ने कि ?

चतुर्थे किं करिष्यति : घर-सन्यास

मैले पनि ५० काटें अर्थात् तेस्रो आश्रम (बानप्रस्थ) आरम्भ भएको छ | शास्त्रलाई पढ्ने हो भने अव मैले सबै थोक छोराछोरीलाई जिम्मा लगाएर आफुले जीवनभरी सिकेका कुरा सिकाउने वा जङ्गलमा गएर वा घरमै बसेर स्वाध्याय, निधिध्यासनआदिको अभ्यास गर्ने पर्ने हो | तर

आज पनि धेरैजसो ५० वर्ष काटेका हामी नेपालीहरू पेट पाल्न नयाँ करियरको खोजिमा छौँ | धन कमाएर पुगिसरी भएकाहरू अझै धेरै कमाउन व्यस्त छन् | केही नहुनेको त कुरा छोडौं | संसारको राजनीतिमा सक्नेले "कमाई खाने भाँडो" नै "केही नहुने" हुन् | जुनसुकै राजनैतिक सिद्धान्तकारका लागि यिनको अस्तित्व जोगाउनु पर्ने बाध्यता छ |
-मैले झैं तेस्रो आश्रम आरम्भ गर्दैगर्दा पिरलो थप्ने धेरै दायित्वहरू असरल्ल परेका होलान् | बूढाहरू विरामी देखरेख गर्नु पर्ने, समाजमा केही कार्यक्रम भए दिनु पर्ने र सहभागी हुनै पर्ने सामाजिक दायित्व, पढ्दै गरेका छोरछोरीको लागि पैसा पुर्याउने दायित्वमा झन् भासिंदै हुनुहोला | साच्चिकै भन्ने हो भने मेरो लागि दोश्रो आस्श्रम भन्दा पनि तेस्रो आश्रम झन् दायित्वहरूले किचिने अवस्था अनुभूत हुँदैछ |
सबैभन्दा रमाइलो वा मानसिक तनावको विषय चाहिं यो अवस्थामा चौथो अवस्था अर्थात् वृद्धावस्था र त्यस बखतमा आउने सक्ने शारीरिक तथा मानसिक समस्याहरू सम्झेर दिक्क वा डर लाग्दो रहेछ | वा आमा, आफ्नै छिमेकी बूढाबूढी भएर रोग र मृत्युमा जाँदा आफै अगाडी सार्नु पर्ने बाध्यताले उपर्युक्त अवस्थाको नकरात्मक दृष्य अझैं बलियो हुँदै जाने रहेछ |
भाग्यभए र शरीरले साथदिए चौथो (सन्यास) अवस्था भेट्न पाइएला | आजभोली सजिलो छ | छोराछोरी विदेशमा हुन्छन् अथवा न्युक्लियर भएर आफ्नै परिवारसंग रम्छन् | ७६ वर्षपछिको अवस्थामा कुनै पनि बृद्धबृद्धाहरू प्राकृतिक सन्यासआश्रममा निवास गरिरहेका हुन्छन् | जवानीमा बडो परिश्रम गरेर (अरूलाई धनि, मानी देखाउन बनाएको) ठूलो घर नै एकान्तबास बन्छ | खासगरी शहरिया घरहरू चौथो अवस्थाका मान्छेहरूलागि सन्यास आश्रम भन्दा कम छैनन् |
प्राचीन कालमा चौथो अवस्था जङ्गलमा बसेर विताउने गरिन्थ्यो भने आजको समयमा एकान्त जङ्गल नै आफ्नै घर हुन्छ, जहाँ पूर्ण एकान्त उपलब्ध हुन्छ | यो शहरमा यस्ता असंख्य सन्यासीहरू छन्, जसले आफुले निर्माण गरेको कंक्रिटको जङ्गलमा सन्यासीको जीवन व्यतित गरिरहेका छन् | यदि प्राचीन सन्यास स्वेच्छाले त्याग हुन्थ्यो भने बर्तमानको सन्यासका सन्यासीहरू हरेक पल आफ्ना सन्तानहरू सम्झदैं रोग र मानसिक तनावसंग लडिरहेका हुन्छन् | आफ्नो शरीर अशक्त हुँदा सहाराको लागि कल्पी रहेका हुन्छन् | सायद, न्युक्लियर फेमिलीको वैश्विक देन नै धर-सन्यास वा वृद्धाश्रमको वास रहेछ |
यो लेख पढेर ५० काटेकाहरू नआत्तिनु होला | चौथो आश्रमका लागि वन्दोवस्त आरम्भ गर्नुहोला | साथै, दोश्रो आश्रमको मजा लिइरहेका न्युक्लियर फेमिलीवादीहरूले पनि तेस्रो आश्रमको लक्ष के हुने छ र चौथो आश्रमको लागि चिन्तन गर्नु आरम्भ गरे राम्रै हुन्छ |
स्वस्त्यस्तु

पर्व र विषालु घृणावाद

माघेसंक्रान्ति सम्भवत: सबैभन्दा प्राचीन वैदिक पर्व हो | यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन् | हामी सबै नेपालीहरूले आ-आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ | माघेसंक्रान्तिको हामी सबैमा शुभकामना |

माघी होस् वा अन्य पर्वहरू घृणावादीहरूले कित्ताकाट गरेका छन् | नेपालीका पर्वहरूलाई "जातीय, नश्लीय" घृणावादमा रुपान्तरित गर्ने दूषित प्रयत्न गरिरहेका छन् | तर तिनको दूषित प्रयत्न भन्दा नेपालीहरूको मौलिक "सहृदयता" बढी बलियो छ | हामी सबै मिलेर आ-आफ्नो रितिरिवाजअनुसार मौलिक पर्वहरू मान्ने गरेका छौँ |
हो, समय परिवेशअनुसार पर्वहरू मनाउने तौरतरिकामा केही फरक आएको छ तर मूल भने अवछिन्न छ | एउटा कुरा अलि चिन्ता गर्नु पर्ने भएको छ त्यो हो : आत्मासंग जोडिएका पर्वहरू फैसनसरह क्षणिक रमाइलो गर्ने वा पर्वभेलाको नाममा आफ्नै छिमेकीहरूप्रति राजनैतिक घृणा पोख्ने (घृणावादीले छलछापट) का कारक बन्न थालेका छन् | पर्वहरूमा मनको पवित्रता, पर्वसंग जोडिएका प्रतिमानहरूप्रति पूर्ण समर्पण र पर्वका माध्यमबाट भौतिक तथा आध्यात्मिक उन्नयन सबैभन्दा महत्वपूर्ण विषय हुन् | यदि हामीले आफ्ना पर्वहरू सतही रूपले मात्र मान्ने गर्यो भने यसको आत्मा मर्छ र क्रमशः सङ्क्रमित भएर यसको मौलिकतानै नष्ट हुन्छ | सचेत रहनु पर्छ र आफ्ना बालबालिका, किशोरकिशोरी लगायत छिमेकीलाई पर्वहरूको मौलिकतासंग परिचय गराउनु पर्छ |
घृणावादले पर्वको आध्यात्मिक उन्नयनको पक्षलाई आत्मसात गर्दैन तर यसलाई उपयोग गरेर एकआपसमा परापूर्वकाल देखि सहकार्य गर्दै आएका समुदायहरूमा फाटो हाल्छ | मूलत: यी डलरवादी मात्र हुन्छन् कि एकेश्वरवादी हुन्छन् | जसले पुरानो नष्ट गरेरमात्र विकास हुन्छ भन्ने मान्यता राख्छन्, तेस्ता जडहरूले मौलिक पर्वहरूमा महत्व पाउनु हुँदैन | पर्वहरूका माध्यमबाट विषालु घृणावाद रोपिंदै छ, हामी सबै सचेत हुनु जरुरी छ | घृणावादीहरू पर्वभेलामा द्वन्द होस् भन्ने चाहन्छन् र यो चाहनापूर्तिको लागि राजनैतिक शक्तिसम्म प्रयोग गर्न सक्छन् |
पर्वहरूको अवसर पारेर घृणावाद रोप्नेहरू धेरै छैनन् तर तिनको विषले नेपाली समाज विभाजित भएको अनुभव गर्ने धेरै छन् | पवित्र पर्वहरू विनम्रता र पवित्रतापूर्वक मान्नु/मनाउनुको सट्टा रक्सीको विज्ञापन गर्दै राजनैतिक नेतृत्वलाई मंचमा उभ्याएर आफ्नै छिमेकीलाई तथानाम गालीगलौज गरेको तीतो अनुभव हामीसंग छ | जामा जे-जस्तो दिए पनि मूलत: यी नेपाली संस्कृतिलाई निल्ने घृणावादी नै हुन् |
यस वर्ष जाडोमा खडेरी लाग्यो | आकाशवाट पानीको एकबूँद झरेको छैन | मैले आफ्नो जीवनमा एस्तो अचम्म भोगेको थिइन | माघी मनाउँदै गर्दा शहरियालाई केही फरक नपर्ला तर हिमालदेखि तराईसम्मका कृषकहरूलाई मर्का परेको छ | तिनका लागि बोल्दिने केही छैन | शहरियाहरू "हामी सुकिलामुकिला र पैसावाल" छौँ भनेर फुर्किनु पर्दैन, कृषकले अन्न उत्पादन गर्न सकेनन् भने भोकभोकै मर्नेहरूमा सहरिया पहिलो समाचार बन्ने छौँ |
माघेसक्रान्ति हामी सबैको मौलिक तथा रैथाने पर्व हो | यो पर्वले हामीलाई आफ्नो जरोकिलोसंग जोड्छ | हामी प्रकृतिसंग जोदिन्छौँ | तेसैले हामी सबैले प्रकृतिलाई माया गरौँ. प्रकृतिले हामीलाई माया गर्ने छ | हामी सबैको कल्याण होस् |
https://hatmakhabar.com/bichar/2024/01/15/164742/

Friday, January 12, 2024

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

 पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

हिन्दुहरू आफ्नो उदारतावादी संस्कृति र बहुलवादका कारण सधैं सङ्कटमा परेको इतिहास छ भने आज पनि उपर्युक्त स्थिति वदलिएको छैन | बामपन्थी र धर्मनिरपेक्षतावादी राजनीति गर्नेहरूले धर्म र धार्मिकतालाई खासै महत्व दिंदैनन् तर आजको मितिमा पनि विश्वको ८६.४% जनसंख्याले कुनै नकुनै धर्म मानेकै छन् | यहुदी, इसाई र मुस्लिम समुदायले "प्यागोन" (मूर्ति पूजक) भन्दै अपमान जनक तरिकाले सम्बोधन गरिएका हिन्दुहरूले जतिसुकै मित्रतापूर्ण सम्बन्ध स्थापित गर्न खोजे पनि ती समूहले स्वीकार गरेका छैनन् | राष्ट्रहरू बलियो भएका ठाउँमा धर्मान्धता अर्धनिन्द्रित छ भने रिलिजनहरू बलियो भएको ठाउँमा रिलिजनतन्त्रभित्र प्यागोनमात्र होइन तिनका आफ्नै समूह पनि अपहेलनाको सिकार भएका छन् |

बौद्ध वा जैनहरू पनि हिन्दू संस्स्कृतिसंग विद्रोह गरेर स्थापित भएका धार्मिक समुदाय हुन् | तिनले कहिल्यै पनि हिन्दू देवीदेवताका मन्दिरहरू तोडेंनन्, आगो लगाएनन् | काठमाडौँ उपत्यकामा पहिलो र अन्तिम पटक आक्रमण गरेको समसुद्दिन इलियास (सन् १३४७) हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको लिंग नै ध्वस्त गरिदियो | स्वयम्भू चैत्यमा आगो लगाएर ध्वस्त बनायो | तेतिले पनि चित्त नबुझेर पुस्तकालयहरू र पसलहरूमा आगो लगायो | यदि कसैले मुसाई-समुदायको इलियास मानसिकतामा हिन्दुहरूप्रति सहृदयता उत्पन्न भएको छ भन्ने ठान्छन् भने गलत हो | एक-दुईजना व्यक्तिहरूको उदारतालाई मुसाई-धर्मको उदारताका रूपमा व्याख्या गर्न मिल्दैन |
ठिकै हो कि हिन्दुहरूले आफ्नो उदारता र बहुलतावादी संस्कृतिलाई त्याग्नु हुँदैन तर बहुलतावादी जीवनदर्शनलाई आफ्नो अस्तित्वको विनाशको कारण बन्नबाट रोक्ने काम पनि सनातनीकै हो | राजा पृथ्वीनारायण शाह र स्वामी विवेकानन्दले आ-आफ्नो समयको आवश्यता र परिवेशअनुसार एकलवादीहरूलाई देश निकासा गर्ने र हिन्दु संस्कृतिभित्र (धर्मपरिवर्तन होइन मानसिक परिवर्तन गरेर) भित्र्याउने काम गरे | राजा पृथ्वीनारायण शाह स्वामी विवेकानन्द भन्दा दुरदर्शी ठहरिन्छन् | विवेकानन्दले दरिद्रनारायणको कुरा गरे भने शाहले सुशासन स्थापित "प्रजालाई मोटा" बनाउने र "असली हिन्दुस्थाना" निर्माण गर्ने घोषणा गरे |
इतिहासको यो पाटोबाट शिक्षा लिएर नेपालमा अनपढ तर अत्यन्त साहसी तथा स्वधर्म संस्कृतिप्रति कटिबद्ध गोर्खाली रजौटा पृथ्वीनारायण शाहले इसाईहरूलाई देश निकाला दिए भने भारतीय सन्त स्वामी विवेकानन्दले तिनकै भाषा (अंग्रेजी)लाई स्वधर्म प्रचारको माध्यम बनाएर हिन्दू धर्म र संस्कृतिको सहृदयी विज्ञान विश्वसम्म पुर्याएर, सुन्ने र पढ्ने जतिलाई मानसिक रूपमा हिन्दू तुल्याए | आजको मितिमा सद्गुरु भनिने जग्गीहरूले पनि अंग्रेजी भाषाबाट नै वैदिक संस्कृतिको प्रचारप्रसार गरिरहेका छन् |
इतिहासका विषयमा आ-आफ्नो दृष्टिकोणबाट व्याख्या गर्न मिल्छ | पृथ्वीनारायण शाहले (1723-17-1775) किर्तिपुरेहरूको नाक काटेको होस् वा आफ्नै जेठानहरूको हत्या नै गरेको होस् अथवा किरात प्रदेशमा मारकाट गरेर यलम्बरवादीहरूको दोहोलो नै परेको किन नहोस् नेपाल एकीकरण र हिन्दू संस्कृतिको पुनर्जागरणमा यिनको योगदानलाई स्वीकार गर्न करै लाग्छ | यो स्वीकारोक्ति घृणाले होस् वा श्रद्धाले असहमत नेपाली र विदेशीहरूको बाध्यता हो | यी नेपाली नायक भएको कारणले मलाई मन पर्ने मध्ये पहिलो व्यक्ति हुन् | आलोचकहरूप्रति मेरो थोरै गुनासो छ, धेरै होइन | समालोचक बन्न सके सबैको कल्याण हुन्छ |
राजा पृथ्वीनारायण शाहको मूर्ति र फोटो दूवै काल्पनिक नै हुन् | कलाकारले अलि बढीनै शाहलाई देवत्व कारण गरेर चित्र बनाएका होलान् | उनी ठ्याकै आजभोली पाइने चित्रपट भन्दा नितान्त फरक होलान् भन्ने ठान्छु | मेरो मस्तिष्कमा एउटा ५० वर्षीय माध्यम आय श्रोत भएको गोर्खाली कृषकको सम्झना आउँछ |
यस्तै तत्कालीन भारतीय बङ्गालमा जन्मेका स्वामी विवेकानन्दले (1863-1903) पृथ्वीनारायण शाहको उमेर भन्दा पनि कम समयमा वैदिक संस्कृतिलाई वैश्विक रूपमा चिनाउन मदत गरे | आफ्नो सानो उमेरमा भारतीय वैदिक दर्शनलाई "व्याबहारिक वेदान्त"को रूपमा व्याख्या गरेर रहस्यवाद र केवल संस्कृतवादको गूफाबाट वाहिर निकाले | उनले आफ्ना धेरैजसो प्रबचन अंग्रेजीमा दिएका थिए | यिनको व्यक्तित्व, स्वदेश, स्वधर्म तथा जनताप्रतिको करूणा मेरो लागि सधैं मन पर्ने विषय रहेको छ |
संयोग नै मान्नु पर्छ कि यस पाली यी दूवै महापुरुषहरूको जयन्ती एकै दिन परेको छ | नेपालीहरूले राजा पृथ्वीनारायण शाहलाई सम्झिरहेका छन् भने भारतीयहरू स्वामी विवेकानन्दलाई | हामी सबै मिलेर एस्तो अवस्था र व्यबस्था सृजना गर्नु पर्यो सम्पूर्ण भारतले राजा पृथ्वीनारायण शाहलाई हिन्दू संस्कृतिका आधुनिक पुनर्जागरणका नायकका रूपमा स्वीकार गर्दै जन्मजयन्ती मानोस् र नेपालीहरूले स्वामी विवेकानन्दलाई हिन्दू धर्म, संस्कृति तथा परम्परालाई अंग्रेजी माध्यमले विश्वलाई चिनाउने पुरोधाका रूपमा सम्मान गर्न सकून् |
पढेलेखेका धेरैजसो नेपालीले स्वामी विवेकानन्दलाई चिन्छन् तर धेरैजसो भारतीयहरूले राजा पृथ्वीनारायण शाहलाई चिन्दैनन् | भारतको अयोध्यामा राम मन्दिर उद्घाटन हुँदै गर्दा हरेक भारतीयले राजा पृथ्वीनारायणको असली हिन्दुस्थाना"लाई चिन्ने बातावरण सृजित गर्नुपर्छ | हुन त यो लेख पढ्दै गर्दा केही आफुलाई धर्मनिरपेक्षतावादी र उदारवादी ठान्ने घृणावादीहरूलाई असहज होला तर स्वदेश, स्वधर्म र बहुलतावादी चिन्तनका सवालमा हिन्दूहरू अझैं बौद्धिकरूपमा पहिचानवादी हुनै पर्छ | प्रत्यक्षरूपमा पृथ्वीनारायण शाहले र अप्रत्यक्ष तर बौद्धिक रूपमा स्वामी विवेकानन्दले यही प्रेरणा दिएका हुन् |
स्वस्त्यस्तु

Thursday, January 11, 2024

इच्छामृत्युको सभ्यता

इच्छामृत्युको सभ्यता

त्यसो त समयको कुनै अस्तित्व हुँदैन | मान्छे आफ्नो उमेर नापेर समय बनाएको हो | आफु जन्मेको घटनानै समयको आरम्भ हो र मृत्युपछि समयको अन्त्य हो | लामो उमेर हुनेको लागि समयको आयाम छोटो हुन्छ, छोटो उमेर हुनेहरूका लागि समय लामो हुन्छ | मान्छेले आफ्नै पौरख गरेर (विज्ञानको प्रयोग गरेर) समयलाई निरन्तर छोटो बनाउंदा छ | भविष्यका मान्छेका लागि मृत्यु पनि आफ्नो इच्छाको विषय हुने छ |


जन्मका विषयमा मान्छेले इच्छा-जन्म हासिल गरिसकेको छ | फरक एत्ति हो कि अनुभवको निरन्तरता प्राप्त भएको छैन | जन्मको सवालमा ईश्वरको शक्ति मान्छेले खोसिसकेको छ | सानो स्टीम-सेलबाट जीवन आरम्भ गर्ने क्षमता मान्छेसंग छ | पचासवर्षपछि अनुभवको निरन्तरता प्राप्त गरेपछि नयाँ जन्मको सवाल नयाँ मेसिनसरह हुनेछ | इच्छामृत्यु स्वीकार गरेकाको पद-पूर्ति गर्न नयाँ मान्छे जन्माउन बाहेक मान्छे जन्मने छैनन् | सायद राष्ट्रहरूले कानुन बनाएर नै मान्छे जन्माउने "कोटा" निर्धारित गर्ने छन् | यो अभ्यास अहिले पनि फरक रूपमा भैरहेको छ |

मान्छेलाई इतिहास चाहिन्छ, धर्म चाहिन्छ, विज्ञान, ज्ञान तथा सुविधा चाहिन्छ | मान्छे - एउटा शारीर भएको, चिन्तन गर्न सक्ने जीव हो | यो तत्थ्य सबैलाई थाहा छ | साथै, अनन्तकालभित्र अधिकतम १०० वर्ष देखिने एउटा "फोका" यो पनि सबैलाई थाहा छ |

तर जीव, आत्मा वा परमात्माका रूपमा यो नित्य छ भन्ने तत्थ्य अनुभव वाहिरको कुरा हो | तर सत्य के पनि हो भने अनुभवमा आएका विषयवस्तु मात्रै सत्य हुन्छन् भनेर स्वीकार गर्नु पनि व्याबहारिक तथा सैद्धान्तिकरूपमा सही होइन | मान्छेको ज्ञान र अनुभव दूवै सीमित छ |

हालसम्म मान्छेको ज्ञानले विश्वब्रह्माण्डका कति नै तत्थ्यहरू उद्घाटन गर्न सकेको छ र ? यो संसारमा "मैले पूनर्जन्म लिएको हुँ" भन्नेहरू पनि छन् र तिनको त्यो भनाइलाई असत्य सावित गर्ने कुनै बैज्ञानिक टुल छैन |

आजको मितिले केवल ५०-६० वर्षपछि अहिलेका बैज्ञानिक खोजहरू दन्त्यकथा झैं लाग्ने छन् किनभने त्यसबेलाका मान्छेको संस्कृति, चिन्तन र सभ्यताको तह आजभन्दा नितान्त फरक हुने छ | एकपटक जन्मेको मान्छेले भौतिक रूपमा नै इच्छामृत्युको उपलब्धि गर्ने छ |

त्यो एस्तो समय हुने छ जहाँका विद्यालयहरूमा आत्मा, परमात्मा, धर्म, स्वर्ग, नर्क, आस्तिकता-नास्तिकताजस्ता विषयवस्तुहरूको पढाई हुने छैन | किनभने मृत्यु र जन्मसंग जोडिएका दु:खसुख, स्वर्गनर्क, पापपुण्य, धर्म तथा धार्मिकताको तेस बखत सान्दर्भिकता नै रहने छैन | त्यो इच्छामृत्युको सभ्यता हुने छ | मान्छेले मृत्युउपर नियन्त्रण गरेको मितिबाट जन्म र मृत्यु दूवै रहस्यको गहिरो खाडलबाट सधैंका लागि बाहिर निस्किने छन् |

आजको मानिस वैज्ञानिक उपलब्धिहरूका कारण अहंकारी बनेको छ | विज्ञानबाट प्राप्त भएका उपलब्धिहरूको गहिरो नशाले उन्मत्त भएको छ | सत्य अर्को पनि छ | निश्चयनै विज्ञानका उपलब्धिहरू व्याबहारिक जीवनका लागि निकै उपयोगी सिद्ध भएका छन् | तर विज्ञानका वर्तमान खोज र उपलब्धिहरूले हाम्रो निवासस्थल पृथ्वीको काल ७.५% रहस्य थाहा पाएको विश्वास गरिन्छ | यसको अर्थ अझैं पनि ९२.५% संसार अज्ञात नै छ | आजका उपलब्धिहरूको आधारमा भबिष्यवाणी गर्न सकिन्छ कि आगामी ५० वर्षभित्र विज्ञानले जेली-फिसको अमरताको डीएनए दिकोदिंग गरेर मान्छेको डीएनएमा प्रत्यारोपित गर्ने छ | यसका संगै अन्य विधाहरूले पनि मान्छेलाई अजेय बनाउने छन् |

अहिलेका राजनैतिक विचार र संस्थाहरू पूर्णतया उपयोग विहिन हुने छन् | त्यस बखतको पृथ्वीको जनसंख्याको लागि रोटी, कपडा, मकानजस्ता प्राथमिक आवश्यताहरू गौण हुने छन् | शारीरिक पोषणका वर्तमान आवश्यता र तिनको पूर्ति औचित्यहीन हुने छ | त्यस बेलाको मान्छे भोक, प्यास, दुखाई, रोगजस्ता भौतिक समस्याहरूबाट पूर्णतया मुक्त हुने छ | हो, भावना र बुद्धि भने अझै प्रखर र नयाँनयाँ खोजका लागि तीक्ष्ण हुने छन् | मानवसमाजका लागि तय गरिएका वर्तमानका नैतिक मानदंडहरू इन्टरग्यालेक्सी यात्राका लागि तयार गरिने छन् | तेस बखतका मान्छेका लागि "सेक्स" रमाइलोको विषय रहने छैन | केही पुराना व्यक्तिहरूले यस विषयमा चर्चापरिचर्चा गर्ने छन् |

हो, भविष्यको सभ्यता आजको भन्दा नितान्त फरक हुने छ | आजका कुनै पनि मानदंडहरू त्यो समयका लागि उपयुक्त ठहरिने छैनन् | जीवनका आवश्यकता र प्राथमिकता बदलिनुका साथै प्रतिमानहरू पनि परिवर्तित हुनेछन् | म विश्वासका साथ भन्न सक्छु, तेस बखतका मानिसहरूले आफ्नो घरमा किचन, टोइलेट, खाद्यवस्तुहरू भण्डारण गर्नका लागि बनाइने स्टोर, पुस्तकालय तथा पूजाकोठा राख्ने छैनन् | रोग, भोक र जिउनका लागि भौतिक सङ्घर्स गर्नु पर्ने सबै क्रियाकलापको अन्त्य हुने छ | मान्छेहरूका लागि अनन्त समयमा फैलिएको ब्रह्माण्ड, पृथ्वी र आफ्ना विषयमा जान्ने काम मात्र वांकी रहने छ |

स्वाभाविक रूपले मान्छे मृत्यु नभएपछि बाँच्नबाट दिक्क लागेका मान्छेहरू विश्रामका लागि दीर्घकालीन हाइपरनेसन वा मृत्यु यी दुई मध्ये एउटा चुन्न सक्ने छन् | हाइपरनेसनका लागि खोलिएका दैत्याकार संरचनाहरूमा असंख्य मान्छेहरू विश्राम गरिरहेका हुने छन् | त्यो यस्तो सभ्यता हुने छ जहाँ महिला र पुरुषको भेद रहने छैन र हरेक व्यक्तिलाई लिंग चयन गर्ने परिवर्तन गर्ने सुविधा उपलब्ध हुने छ | मूलत: त्यो यस्तो सामाजिक संरचना हुने छ जहाँ सबैसंग इच्छामृत्यु वा हाइपर नेसनमा जाने अधिकार हुने छ | हो, त्यो एउटा भौतिक विज्ञानको किशोर अवस्था हुने छ | त्यो एउटा इच्छामृत्युको सभ्यता हुने छ |

हामी हिन्दूहरूका लागि इच्छामृत्यु नितान्त नया सोच पनि होइन | अश्वत्थामा, बली, व्यास, हनुमान, विभिषण,कृपाचार्य, परशुराम र मार्कण्डेयंलाई इच्छामृत्युको सामर्थ्य भएको भन्दै जन्मदिनका दिन स्मरण गरिन्छ | यो हिन्दु-संस्कृतिको गौरव हो कि यसले नाम नै किटान गरेर इच्छामृत्युको सामर्थ्य भएका व्यक्तिहरूको उल्लेख गरेको छ | प्रत्येक हिन्दूहरूले यो प्रतिमानतिर ध्यान दिनैपर्छ | भोली बैज्ञानिक संसाधनहरूको विकास भएर "इच्छामृत्युको सभ्यतातिर प्रवेश गर्दैगर्दा अष्टचीरन्जीवीको नाम असान्दर्भिक ठहरिनु हुँदैन |

Tuesday, January 9, 2024

बाको लेखौट

बाको लेखौट

सबैलाई तँपाई भन्नु | आफुले गर्न सक्ने काम आफै गर्नु | केटाकेटीलाई माया गर्नु | बूढाबूढीबाट सिक्नु | मुतुनो र थुतुनो जोगाउनु | सकेको दान गर्नु | नसकिने भारी नबोक्नु | थोरैमात्र लोभ गर्नु | लखर-लखर नहिड्नु | गाईको मान गर्नु | रूख रोप्नु | चौपारी बनाउनु | पँधेरो बनाउनु, नविगार्नु | हँसिलो हुनु | राम्रो बोल्नु | सरकारी मान्छेसंग डराउनु | माया गर्नु | एकलकाटे नहुनु | दिनहुँ गायत्री जप्नु | प्रमाण खोज्नु र प्रमाण दिनु | खेतवारी नमास्नु | विगार नगर्नु | पापसंग डराउनु | आमा र स्वास्नीको कुरा मान्नु | काममा न ठग्नु | काम ठग्ने आफै ठगिन्छ | आफ्नो शरीरलाई माया गर्नु | समयअनुसार चल्नु |

सबैलाई माया गर्नु | कसैलाई घृणा नगर्नु | स्वास्नीलाई मान गर्नु | छोराछोरी पढाउनु | विद्वानको सङ्गत गर्नु | लेखापढ़ा मान्छे झ्याली हुन्छन् | गमेर बुझ्नु | रोगलाई सानो नठान्नु | सरल र सहज हुनु | अहङ्कार छोड्नु | गौरवको भाव नछोड्नु | उपदेश सुन्नु | धेरै उपदेश नदिनु | आलोचना सुन्नु | संसारमा शत्रु हुँदैनन् | अरूसंग धेरै आश नगर्नु | शिक्षित हुनु तर विद्यामा चल्नु | तेसै न हौसिनु | आफ्नो कल्याण चाहनु | सबैको कल्याण चाहनु | अहिंसक हुनु | तर हुतिहारा नहुनु | आफुलाई इमान्दार बनाउनु | आफ्नो धर्म नछोड्नु | आहार र व्यबहारमा लाज नमान्नु | प्रष्टसंग जवाफ दिनु | समयमा जाग्नु | समयमा सुत्नु | साजी अन्न खानु | हात खुट्टा धोएर खानु | अन्नको सम्मान गर्नु | उठीउठी नखानु | खाने कुरामा ध्यान दिनु | अन्न अनुसारको मन हुन्छ | दु:ख हुन्छ | सुख पनि हुन्छ | न आत्तिनु | न मात्तिनु |

 पढ्नलेख्न सधैं तत्पर रहनु | अंग्रेजी पढ्नु | तर अंग्रेजको नक्कल नगर्नु | संस्कृति आफ्नै राम्रो हुन्छ | तर्क गर्नु | कुतर्कबाट जोगिनु | प्रेम गर्नेले प्रेम पाउँछ | घृणा गर्नेले घृणा पाउँछ | एक्लो यात्रा नगर्नु | सबै पुराना असल हुँदैन | सवै नयाँ कमसल हुँदैनन् | अर्काको कुरा नकाट्नु | आफ्नो कुरा न थोपर्नु | उधारो लिनु | समयमा दिनु | दिन नसक्ने भए भन्नु | भाका नागेको राम्रो होइन | जीवन विश्वासले चल्छ | सधैं विश्वासमा बलियो रहनु | विश्वासका मामिलामा वहस नगर्नु | सबै धर्मको सम्मान गर्नु | आफ्नो धर्ममा कायम रहनु | धार्मिक वहसबाट जोगिनु | थोरै असुविधा स्वीकार्नु | रीसले उत्तेजना हुन्छ | उत्तेजनाले नराम्रो गराउँछ | रीस र काम जित्न सकिन्न | व्यबस्थापन गर्नुपर्छ | रीस र काम जित्न सकिन्न | रीस र कामले नर्क दिन्छन् | सधैं सावधान हुनु |

आमावुवाको निन्दा नगर्नु | गुरुको निन्दा नगर्नु | डक्टरको आलोचना नगर्नु | काम दिनेको आलोचना नगर्नु | बा-आमाबाट शरीर बन्छ | गुरूले ज्ञान दिन्छन् | डक्टरले जीवन दिन्छन् | यी संग विनम्र हुनु | थोरै गाली सहनु | छोराछोरी आफ्नै शरीर हुन् | बालबालिका न कुट्नु | स्वास्नी नकुट्नु | केटाकेटी परिवारका ऐना हुन् | स्वास्नी तिम्रो आधा जिउ हुन् | भोकै बसेर पनि केटाकेटी पढाउनु | पढेकालाई संसार सजिलो हुन्छ | छोराछोरीमा समान व्यबहार गर्नु | उपदेश दिनु | उपदेशको कुरा गरेर देखाउनु | नसक्ने कुरा नभन्नु | सक्ने कुरा नरोक्नु | पितृको सम्मान गर्नु | सासु-ससुरा पनि आमावा नै हुन् | सम्मान गर्नु | दु:ख सुखमा साथ दिनु | तिनीबाट धेरै आश नगर्नु |

 राजनीति राम्रो पनि हो | राम्रो पनि होइन | मान्छे असल भए, यसले सपार्छ | नत्र विगार्छ | राजनीतिका लागि इमान्दार हुनुपर्छ | मान्छे असल हुनुपर्छ | संस्कारले मान्छे असल हुन्छ | संस्कार शास्त्रबाट सिक्नुपर्छ | शास्त्र गुरूबाट जान्नुपर्छ | राजनीति छल नीति होइन | राजनीति सबैतिर चाहिन्छ | घरदेखि देश-विदेशसम्म | कमसल मान्छेले राजनीति विगार्छन् | नक्कल गर्नेले राजनीति विगार्छन् | धर्म नमान्नेले राजनीति विगार्छन् | लोभीको राजनीति असल हुँदैन | रक्सी खनेको राजनीति असल हुन्न | राजनीति सबैको लागि हुन्छ | सत्ता सबैको लागि हुँदैन | राजनीतिमा कर हुँदैन | त्याग नै राजनीति हो | त्याग्न नसक्नेले राजनीतिमा नजानु | तिनको विश्वास नगर्नु | निष्पक्षताको अभ्यास नै राजनीति हो | परोपकारको अभ्यास नै राजनीति हो | बाटो खन्नु राजनीति हो | विद्यालय बनाउनु राजनीति हो | अस्पताल बनाउनु राजनीति हो | चौपारी चिन्नु राजनीति हो | केटाकेटी स्कूल जानु राजनीति हो | असल कुरा सिक्नु राजनीति हो | कमसल व्यबहार छोड्नु राजनीति हो | सदाचारको अभ्यास राजनीति हो | कमसल व्यबहारको त्याग राजनीति हो | राजनीति सजिलै बुझ्न सकिन्छ | कमसल भए त्याग्नु | असल भए मान्नु |

राजनीति बुझ्न गीता पढ्नु | रामायण पढ्नु | देश-विदेशका कुरा सुन्नु | रेडियो चाहिने बस्तु हो सके भलो गर्नु | कुभलो कसैको नगर्नु | आफ्नो पनि कुभलो नगर्नु | आफु विग्रिए सबै विग्रन्छ | आफु सुध्रिए संसार सुध्रिन्छ | समयमा उठ्नु | समयमा सुत्नु | सुत्केरीलाई पहिला ख्वाउनु | केटाकेटीलाई पहिला ख्वाउनु | पाहुनालाई बस्न दिनु | सकेको खान दिनु | रोगीलाई माया गर्नु | रिसायो भनेर नझर्किनु | रोग सबैलाई लाग्न सक्छ | वृद्धावस्था सबैको हुन्छ | सबैले मर्नु पर्छ | तेसैले मात्नु हुँदैन | विनम्रता मान्छेको गहना हो | यसका लागि धन चाहिन्न | मिठो बोली तिमीसंग छ | त्यो प्रयोग गर | एक मूठी पानीले स्वागत गर | बस्न गुन्द्री देऊ | काम्लो छैन भने पीर नगर | मान्नेलाइ गोडामा ढोग | मान्यजनले दिने आशिर्वाद नै हो | आशिर्वादमा तिम्रो अधिकार छ | झुकेर सानो भइन्न | श्रीकृष्णले खुट्टा धोएका थिए | रामले जूठो खाएका थिए | झुक्नेहरूले मान पाउँछन् | लिङ्गोको मान हुँदैन |

 लोग्ने स्वास्नी साथी हुन् | मिल्ने साथीको व्यबहार गर | घर र परका काममा सल्लाह गर | केटाकेटीलाई मिलेर हुर्काउ | एकआपसमा केही न लुकाउ | एकआपसमा ऐनाझैं बन | लोग्ने स्वास्नी वरावर हुन् | काममा सल्लाह गर | आ-आफ्नो काम गर | आफ्नो चाहना बताउँ | सुखदु:खमा संगै हिंड | विश्वासघात नगर | लोग्ने स्वास्नी विश्वास हो | अविश्वास नगर | शङ्का नगर | सल्लाहले शङ्का मेटिन्छ | सल्लाह नगर्दा शंका हुन्छ | शङ्काले लंका ढाल्छ | सधैं कुरा मिल्दैन | कहिलेकाहीं झगडा पर्छ | जोइपोइ मिल्दा स्वर्ग हुन्छ | नमिल्दा नर्क हुन्छ | सरलताको अभ्यास गर | दूवै आगो नबन | सधैं समानता सम्भव हुँदैन | एकअर्काको सम्मान गर | सम्मानले झगडा हट्छन् | मन धोइन्छ | आफुले नसके आमावा डाक | आमावा तिम्रा असल हितैषी हुन् | छोराचोरी डाक | ती तिम्रा आफ्नै शरीर हुन् | विश्वास गर्न | विश्वास गर्न सिकाउ | अन्धविश्वास नगर | धर्म अन्धविश्वास होइन | असल जीवनको अभ्यास हो | संसार धार्मिक छ | अधर्म मान्छेको कमसल अभ्यास हो | सद्गुणतिर फर्क | अधर्म आफै हट्छ |

 मृत्यु अन्तिम सत्य हो | म पनि मर्छु | आत्मा अमर छ | शरीर नष्ट हुन्छ | शरीरप्रति माया हुँदैन | सबैले आत्मा हुँदा माया गर्छन् | मृत्युपछि यश-अपयश रहन्छ | अपयशको काम नगरौं | पापसंग डराउँ | मृत्यु अनिश्चित छ | चिन्ता नगरौं | असल कर्म गरौँ | कर्मफल पाइन्छ | मरीमेट्नु हुँदैन | म एक्लै छु | म भनेको शरीर हो | यसलाई माया गरौँ | स्वस्थ हुँदा मन्दिर हुन्छ | रोगी हुँदा नर्क हुन्छ | स्वास्थ्य भोजन गरौँ | मासु राम्रो होइन | सके नखानु | अवोध पशु नमार्नु | हिंसा पाप हो | अहिंसा पुण्य हो | कमसल चलन छोड्नु पर्छ | असल चलन स्वीकार्नु पर्छ | बलिमा झगडा छ | पशु बलि उचित ठान्दिन | देवी आमा हुन् | विश्वकी आमा हुन् | बलि दिंदा विचार पुर्याउँ |

 पान्चायन पुज्नु | गण्डकी गङ्गा हुन् | शालीग्राम देउता हुन् | सबै देवीदेवताको सम्मान गर्नु | आफ्ना इष्ट मान्नु | निधारमा टीको हुनुपर्छ | जनै हुनुपर्छ | नुहाएर मात्र पुज्नु | दिनदिनै नुहाउनु | विसन्चो हुँदा पर्दैन | सन्ध्या गर्नुपर्छ | वेद पढ्नु पर्छ | वेदको अर्थ जान्नु राम्रो हो | नजाने पनि पढ्नु पर्छ | वेद सबैको हो | केटीले पनि पढ्नु हुन्छ | सबैको भलो सोच्नु | चर्को व्याज नलिनु | नहुनेलाई सहयोग गर्नु | आफ्नो कुरा प्रष्टसंग भन्नु | लुकाउने कुरा लुकाउनु | नलुकाउने कुरा न लुकाउनु | सहयोग माग्नु | सहयोग दिनु | कर्मले ब्राह्मण भइन्छ | कर्मले शूद्र भइन्छ | शूद्र पनि ब्राह्मण हुन्छन् | ब्राह्मण पनि शूद्र हुन्छन् | सबै भगवानका हुन् |

 शास्त्र धेरै छन् | धेरै आदेश छन् | वेदको आदेश काट्न मिल्दैन | लोकाचार पनि मान्नुपर्छ | सबैले शास्त्र जाँदैनन् | जान्नेले सिकाउनु पर्छ | जानेर नबुझाउनु पाप हो | गीतामा २६ सद्गुण छन् | ती सिक्नु पर्छ | पालन गर्नुपर्छ | गीतामा ४ कमसल गुण छन् | ती रोक्नुपर्छ | दूधदही बेच्नु हुन्न | घीऊ बेच्नु हुन्न | खानु पर्छ | बरू नसक्नेलाई दिनुपर्छ | सुत्केरीलाई दिनुपर्छ | यज्ञका लागि दिनुपर्छ | अशक्तलाई दिनुपर्छ |

 वेद पढ्नु/पढाउनु | यज्ञ गर्नु/गराउनु | दान दिनु/लिनु | यी ब्राह्मण कर्म हुन् | ब्राह्मण देशका नौनी हुन् | ईश्वरलाई जान्ने ब्राह्मण हुन्छन् | सदाचार गर्ने ब्राह्मण हुन्छन् | जन्मले ब्राह्मण थोरै हुन्छन् | कर्मले जो पनि बन्न सक्छ | असल विचार | असल कर्म | समान दृष्टिकोण | कल्याणकारी चिन्तन | लोभ रहित सेवा | दक्षिणाप्रति निर्मोह | प्राप्त भएकोमा सन्तोष | सहयोगी व्यबहार | शुद्ध आहार | एकपत्नी ब्रत | उपवास | नित्य वैदिक कर्म | लोभको अभाव | पूर्ण सेवाभाव | शास्त्रको ज्ञान | सत्यको आचरण | नि:शुल्क विद्यादान | वर्णाश्रमको पालन | ब्राह्मणका अनिवार्य कर्म हुन् | ब्राह्मण तलवारको धार हो | प्रमाद अक्षम्य हुन्छ | ब्राह्मण कर्म कठोर छ | भोकै रहोस् | सत्य छोड्न मिल्दैन | दक्षिणाका लागि झूटो बोल्नु पाप हो | कसैको हिंसा गर्नु पाप हो | पवित्र आफ्नै लागि हुनुपर्छ | धर्म आफ्नै लागि हुन्छ | समभाव | अलोभ | अक्रोध | ईश्वर आराधना | शास्त्रको अध्ययन | विद्यदान | ब्राह्मणले गर्नै पर्छ | प्रमादले शूद्र भइन्छ | शास्त्रले निषेध गरेका कर्म गर्न हुन्न | गर्नु पर्छ भनेका कुरा गर्नु पर्छ | ब्राह्मण रमाइलो हैन | आज धेरै जन्मका ब्राह्मण छन् | कर्मका ब्राह्मण थोरै छन् | जन्म ब्राह्मण ठूलो हुँदैन | सदाचारी ब्राह्मण सर्बोच्च हुन्छ | ब्राह्मण सबैको कर्तव्य हो |

 सदाचार आफ्नो लागि हो | दुराचार पनि आफ्नै लागि हो | शास्त्रको आदेश पालन गर्नुपर्छ | पाप र पुण्य संगै जान्छ | मृत्युलाई सम्झेर धर्म गर्नु | जीवनलाई सम्झेर उपकार गर्नु | कर्तव्य सम्झेर छोराछोरी पढाउनु | सबैलाई पढाउनु पर्छ | कसैसंग भेदभाव गर्नु हुँदैन | दमैकामी भन्नु हुँदैन | विद्यमा सबैको अधिकार छ | गर्न नसक्नेले जिम्मा लिनु हुँदैन | जिम्मा दिनु पनि हुँदैन | क्षमताअनुसारको काम हुनुपर्छ | केटाकेटीलाई भारी बोकाउनु हुँदैन | ईश्वरलाई बुझ्ने पण्डित हुन्छ | कर्तव्यको ज्ञान भएको पण्डित हुन्छ | समान दृष्टि र व्यबहार भएको पण्डित हुन्छ | शास्त्रको ज्ञान भएको पण्डित हुन्छ | तर यी सबै सहित सदाचार भएको गुरू हुन्छ | आचरण गर्ने आचार्य हुन्छ | उपाध्याय भन्दा गुरू श्रेष्ठ हुन्छ | आचार्य र गुरू एकै हुन सक्छन् | गुरूले ज्ञान दिने हो | आचार्यले आचरण गरेर देखाउने हो | सबै आचार्य बन्न सक्दैनन् | सबै गुरू बन्ने योग्य हुँदैनन् | आचरणरहित गुरू त्याग्नु पर्छ | लोभी व्यक्ति गुरू हुनै सक्दैन | आचार्य र गुरूमा त्याग हुनैपर्छ | लोभी गुरु ? लालची चेला | दुवै नर्कमा जान्छन् |

मातापिता | गुरू | आचार्य | साधु-सन्त | आफु भन्दा बढी आयु भएका | अनुभव वृद्ध | विद्यावान् | गाई | ब्राह्मण | सबैलाई ढोग गर्नुपर्छ | यस ले आयु बढ्छ | विद्या खरिन्छ | नाम चल्ल्छ | समाजले मान्छ | मातापितालाई हेला गर्नु महापाप हो | छोरी/बुहारी हेला गर्नु महापाप हो | पत्नी कुट्नु र हेला गर्नु त्यो भन्दा ठूलो पाप हो | हेलाँ गर्नेलाई नर्कमा ठाउँ हुँदैन | समाजले दण्डित गर्नुपर्छ | स्वास्नी कुट्नेलाई वहिष्कार गर्नुपर्छ | केटाकेटी न पढाउनेलाई वहिष्कार गर्नुपर्छ | काशी गएर भए पनि | पशुपति गएर भए पनि | विद्वानलाई गाउँमा राख्नु पर्छ | खर्च भर्नु पर्छ | सक्दो सुविधा दिनु पर्छ | शिक्षा सूचना हो | ज्ञान सूचनाहरूको सङ्ग्रह हो | विद्या सूचना र ज्ञानको व्यबहार हो | गुरूले यी सबै सिकाउनु पर्छ | धानको बीऊ जानेर हुँदैन | व्याड राख्ने | खेत जोत्ने | खेत रोप्ने | पानी लगाउने ? धान काट्ने | दाही गर्ने | धान भकारीमा राख्ने | मूसाबाट जोगाउने | सबै कुरा सिकाउनु पर्छ | सिकाउनु शिक्षा हो | शिक्षाको जानकारी ज्ञान हो | व्यबहारमा प्रयोग गर्नु विद्या हो |

असल बन्नु पर्छ | सबैले यसै भन्छन् | सबैले असल चाहन्छन् | खराव कसैले चाहन्नन् | सबैको लक्ष असल बन्नु हुन्छ | कमसल किन बन्नु हुँदैन ? किन नराम्रो बन्नु हुँदैन ? राम्रो भनेको के हो ? नराम्रो भनेको के हो ? मान्छे असल हुन के गर्नु पर्छ ? के नगर्ने धार्मिक हुन्छन् ? कुन काम असल हो ? कुन काम खराव हो ? असल बनेर के हुन्छ ? सदाचारलाई कसरी नाप्ने ? नाप्ने प्रक्रिया के हुन् ? यो सबै मान्छेले जान्नुपर्छ | तर कसरी ?

केही असलकर्म सबैका लागि हुन्छन् | केही धेरैजसो -आ-आफ्ना लागि हुन्छन् | म धार्मिक छु | त्यसले म असल छु | धर्म कसैले बनाएको होइन | धर्म ईश्वरको रचना हो | जो धर्मअनुसार चल्छ, त्यो धार्मिक हो | जो शास्त्रअनुसार चल्छ, त्यो धार्मिक हुन्छ | मनुले दशबटा धर्मका लक्षण बताए | धृति: असल कुरा स्वीकार्नु | क्षमा: अभयदान दिनु | दम: खराव चाहना दवाउनु | अस्तेय: चोरी नगर्नु | शौच : पवित्र रहनु | इन्द्रिय निग्रह: इन्द्रियहरूलाई नियन्त्रणमा राख्नु | धी: श्रेयको चिन्तन गर्नु | विद्या: ज्ञानको व्याबहारिक उपयोग गर्नु | सत्य: सधैं साँचो व्यबहार गर्नु | अकोध: नरिसाउनु | गीताले २६ बटा धर्म बताएको छ | यी सबैका लागि हुन् | विश्वको जुनसुकै मानिसका लागि हुन् | यी कर्म गर्ने धार्मिक हुन्छन् |

पानीको धर्म चिसो हुनु हो | आगोको धर्म पोल्नु हो | पृथ्वीको धर्म गन्ध हो | मान्छेको धर्म चिन्तन-मनन हो | मान्छेको धर्म अहिंसा हो | मान्छेको धर्म परोपकार हो | मान्छेको धर्म न्याय हो | मान्छेको धर्म उसको विवेक हो | मान्छेको धर्म मातापिताको सेवा गर्नु हो | मान्छेको धर्म आफ्ना पुर्खाको सम्मान गर्नु हो | मान्छेको धर्म दिनु हो | मान्छेको धर्म मिलेर वस्नु हो | मान्छेको धर्म सही आहार हो | मान्छेको धर्म सही यौनचार हो | मान्छेको धर्म उचित कर्म हो | धर्म केवल मान्छेको लागि हो | पशुको कुनै धर्म हुँदैन | नैतिकता धर्म हो | सदाचार धर्म हो | धार्मिक हुनु सदाचारी हुनु हो | अन्यायी धार्मिक हुँदैन | अर्कालाई दुख दिने धार्मिक हुँदैन | अरूको खेदो खन्ने धार्मिक हुँदैन | धार्मिक मान्छे अन्यायी हुने सक्दैन | धार्मिक व्यक्ति निन्दक हुनै सक्दैन |

करले धर्म हुँदैन | लोभले धार्मिक बन्न सकिन्न | दया, माया, करूणा धर्म हुन् | वेद धर्म हुन् | उपनिषद् धर्म हुन् | पुराण धर्म हुन् | रितिरिवाजहरू धर्म हुन् | रितिरिवाज सबैका लागि धर्म हुन्नन् | रितिरिवाज धर्म विरुद्ध पनि हुन्छन् | अहिंसक, न्यायपूर्ण रितिरिवाज धर्म हुन् | हिंसक, अन्यायी रितिरिवाज अधर्म हुन् | संस्कृति स्थानीय हुन्छन् | केही बाध्यकारी हुन्छन् | केही स्वेच्छिक हुन्छन् | मेरो लागि वेदको आदेश धर्म हो | मेरो लागि वैदिक कर्म धर्म हुन् | अर्काका लागि न हुन सक्छन् | आचार्य सबैको लागि पूज्य हुन्छन् | मातापिता सबैको लागि पूज्य हुन्छन् | अतिथि सबैका लागि मान्य हुन्छन् |

अन्याय गर्ने मान्छे असल हुँदैन | झुटो व्यबहार गर्ने मान्छे असल हुँदैन | हिंसा गर्ने मान्छे असल हुँदैन | असल कुरा अस्वीकार गर्ने असल हुँदैन | क्षमा गर्न नसक्ने मान्छे असल हुँदैन | चोरी गर्ने मान्छे असल हुँदैन | भ्रष्ट्राचार गर्ने असल हुँदैन | विवेकहीन मान्छे असल हुँदैन | रिसाहा असल हुँदैन | शिक्षाप्रति उदासिं असल हुँदैन | स्वेच्छिक मान्छे असल हुँदैन | कानुन नमान्ने व्यक्ति असल हुँदैन | सामाजिक नियम नमान्ने मान्छे असल हुँदैन | आफ्नो कल्याण नजान्ने मान्छे असल हुँदैन | विवाहेतर सम्बन्ध राख्ने असल हुँदैन | कुनै पनि मान्छे खराव हुँदैन | कर्मले असल र खराव बन्छ | स्वार्थ सबैमा हुन्छ | अतिस्वार्थी असल हुँदैन | अतिलोभी असल हुँदैन | सत्वगुणी असल हुन्छ | रजोगुणी ठीकै हुन्छ | तमोगुणी खराव हुन्छ | शास्त्रअनुसार चल्ने असल हुन्छन् | स्वच्छन्द चल्ने कमसल हुन्छन् |

मलाई सबले पणित भन्छन् | बाच्छाटे | विहादेली पनि भन्छन् | प्रजापति पण्डित पनि भन्छन् | मेरो थर पराजुली हो | उपाध्याय भन्ने चलन छ | | गोत्र कैाडिण्य हो | त्रिप्रवर हो - कैाडिण्य, वाशिष्ठ, मैत्रावरुणी | धेरैले यो कुरा जान्दैनन् | भन्नुपर्छ | पण्डित हुन् सजिलो छैन | मैले पढ्न कष्ट गरें | धेरै ठाउँ गए | धेरैको सङ्गत गरें | कर्मकाण्ड पढें | व्याकरण पढें | अलिकति ज्योतिष पढें | सोमनाथ गुरुकोमा तीन वर्ष बसें | त्यसपछि सेतिवेनी आएँ | कुर्घाका गुरू भेटें | दीक्षा लिएँ | उहाँ नरहरी गुरु हुनुहुथ्यो | उहाँसंग भागवत पढें | साह्रै चित्त बुझ्यो | सिद्धान्त कौमुदी नि पढें | अनि, वैष्णव भएँ | भगवान् निम्बार्कको शरण परें | राधाकृष्णको शरण परें | बा पनि निम्बार्की हुनुहुन्थ्यो | समाजले राम्रो मानेन | गाउँलेले राम्रो मानेनन् | तर घृणा पनि गरेनन् | अनि, घर फर्कें | वुवाआमा दुवै बित्नुभयो | भाई विदेश पस्यो | दिदी घर गइन् | म एक्लो भएँ | आम्बारीमा स्कूल खुल्यो | संस्कृत पढेकाकले पाइन |

गुरु आउनु भयो | "तैले घरमा पढ़ा" भन्नुभयो | अनि, मैले घरमा विद्यार्थी पढाउन थालें | पहिले गाउँका दाजुभाई नै विद्यार्थी भए | अनि, बटुकहरू बढ्दै गए | घर नै सानो गुरुकुल बन्यो | गुल्मी, स्याङ्गजा, बाग्लुंग, कास्कीका बटुक आए | चण्डी | कौमुदी | रुद्री | अग्निस्थापना | अनि ठूलाले भागवत पढ्छन् | ३०-४० जना निरन्तर छन् | घरमा सुत्ने ठाउँ भएन | थारा (गोठ)मा सुत्न थाले | मैले पाठ दिन्छु | सानाले ठूलासंग पढ्छन् | ठूलाले मसंग पाठ लिन्छन् | सबैको परीक्षा लिन्छु | उच्चारण | शुद्धाशुद्धी मैले मिलाउछु | पुस्तकको समस्या छ | दिउसो ठूलाले लेख्छन् | नेपाली कागत महँगो छ | बनारस जानेले किताव ल्याइदिन्छन् | तिनले पुग्दैन |

मेरी बाहुनी सानी छन् | उनलाई बडो कष्ट छ | धेरै काम गर्नु पर्छ | आफ्ना केटाकेटी | स-साना बटुक | सबैको हेर विचार गर्नुपर्छ | गोठ हेर्नुपर्छ | दाउरा बटुकले खोज्छन् | खेतीपातीमा सघाउँछन् | तैपनि कस्ट छ | म सप्ताहमा जान्छु | पुराण भन्छु | यसले बटुकलाई सजिलो हुन्छ | आफ्नो घरव्यबहारको कुरा गर्दिन | घरघर जस्तो छैन | पाठशाला जस्तो छ | बाहुनी रिसाउँछिन् | धेरै काम हुन्छ | सुत्ने ठाउँ पनि हुँदैन | जाडोमा धेरै गार्हो हुन्छ |

ठूलाले सानालाई पढाउछन् | ती बीच झगडा पर्छ | घोकेर सुनाउन प्रतियोगिता चल्छ | केही छिटो बुझ्ने छन् | केही ढीलो बुझ्ने छन् | कहिलेकाहीं रीस उठ्छ | हातले हान्छु | मनमा दया लाग्छ | कसैलाई पिट्नु हुन्न | घर छोडेर आएका छन् | पढ्न आएका हुन् | पिटाइ खान होइन | यी सबै देउता हुन् | कहिलेकाहीं देउतासंग पनि रीस उठ्छ | विहान सबैले बेद पढ्छन् | चण्डी पाठ गर्छन् | कौमुदी घोक्छन् | रघुवंश घोक्छन् | सुनेर आनन्द आउँछ | यहीं स्वर्ग हो जस्तो लाग्छ | कष्टहरू विर्सिन्छन् |

ठूला बटुकहरू विहानै उठ्छन् | सानाहरू अलि ढीलो उठ्छन् | केटाकेटीलाई सुत्न दिनुपर्छ | अनि, तिनको दिमागले टिप्छ | त्रिसंध्या सबैले गर्नुपर्छ | ठूलाले बाहुनीलाई सघाउँछन् | घाँस काट्न | गाइ दुहुन | साना त सानै भए | तिनको सबै काम गर्नुपर्छ | सावल आफै ल्याउँछन् | केहीका बाले ल्याउँछन् | ठूलाले आफै पकाउँछन् | सानोको पनि मिसाई दिन्छन् | सानाले भाँडा माज्छन् | कुनैकुनै बदमास छन् | तिनले धेरै खान्छन् | सानालाई थोरै दिन्छन् | घरको न्यास्रो लाग्ने रहेछ | बाहुनीलाई आमा भन्छन् | हाम्रो ठूलो केटो (झगडा गर्छ | पांच वर्षको भयो | चण्डी र रुद्री पढ्छ | भर्खर अक्षर चिनाउँदै छु | स्मरण शक्ति विलक्षण छ | दूईपटक सुनेपछि हुन्छ | यो ठूलो पण्डित बन्छ |

ईश्वर विश्वास हो | संसार भोग हो | दूवै सत्य छन् | आत्मालाई शरीर चाहिन्छ | काम छ | क्रोध छ | लोभ छ | मोह छ | ममता छ | राम्रो छ | नराम्रो छ | तर सबै मान्छेलाई छ | पशुलाई मतलव छैन | पक्षीलाई मतलव छैन | आत्मा अमर छ | शरीर मर्त्य छ | परिवर्तन रोक्न सकिन्न | सबै परिवर्तन हुन्छ | पुराना जान्छन् | नयाँ आउँछन् | केही स्थायी छैन | परिवर्तन विनाश होइन | मेरो शरीर, मेरो सत्य हो | यो पनि रहन्न | म ऋषि होइन | मसंग विश्वास छ | स्वर्गको विश्वास छ | नर्कको विश्वास छ | पापपुण्यको विश्वास छ | कर्मफलको विश्वास छ | संस्कारको विश्वास छ | विश्वास नै मेरो अस्तित्व हो | शास्त्रहरू पनि विश्वास नै हुन् | मेरो विश्वास शास्त्रमा छ | मेरो अस्तित्व तिनैले बनेको हो | शास्त्र मेरा आँखा हुन् | मेरो लागि संसार छ | संसार परिवर्तनशील छ | असत्य होइन | जीव छ | काल छ | ब्रह्म छ | ब्रह्मको अंशका रूपमा म छु | अहिले शरीरमा छु |

मेरो दायित्व छ | सबैको आ-आफ्नो दायित्व छ | मेरी बाहुनी छन् | मेरा छोराछोरी छन् | मेरा बटुक छन् | मेरा छिकेमी छन् | मेरा गुरुजन छन् | यी सबै असत्य होइनन् | यीप्रति मेरो दायित्व छ | दायित्वबाट भाग्नु हुँदैन | गृहस्थ हुनु गौरव हो | तर निर्लिप्त उचित होइन | लिप्त हुँदा दु:ख मिल्छ | माया गर्नेले माया पाउँछ | घृणा गर्नेले घृणा पाउँछ | जीवन दिनेले जीवन पाउँछ | जीवन लिनेले जीवन गुमाउँछ | तेसैले सहज हुनु | सरल हुनु | सत्य बोल्ने र सोच्ने हुनु | जीवन पछुतो होइन | जीवन पापको फल होइन | जीवन वरदान हो | आफ्नो | अरुको | जीवनको रक्षा गर्नुपर्छ | पशुपक्षीको पनि जीवन हो | तिनलाई पनि जीवनको माया छ |

सन्तोष गर्नुपर्छ | कर्महीन हुनुहुँदैन | उद्योगीले संसार जित्छ | सबै बाहुन हुँदैनन् | सबै सैनिक हुँदैनन् | सबै व्यापारी हुँदैनन् | सबै जागिरे हुँदैनन् | सबैको रुचि फरक हुन्छ | मलाई वेदपाठ मन पर्छ | मदनलाई व्यापार मन पर्छ | रघुलाई जागिर मन पर्छ | बाबु कर्नेल बन्छु भन्छ | आफ्नो रुचिको काम गर्नुपर्छ | राम्रो काम गर्नुपर्छ | कंसको नाम छ | रावणको नाम छ | तर सबैले कृष्णको नाम लिन्छन् | रामको नाम लिन्छन् | शिवको नाम लिन्छन् | दुर्गाको नाम लिन्छन् | दुर्नाम नर्क हो | सुनाम स्वर्ग हो | असल गर | कसैले देख्नु पर्दैन | स्यावास भन्नु पर्दैन | ईश्वरले देखेको छ | तिमीले बुझेका छौँ |

ज्ञान | चिन्तन | चयन | यी मान्छेका स्वभाव हुन् | भाव मान्छेको गति हो | जिज्ञासा मान्छेको गति हो | मान्छे सधैं विद्यार्थी हुन्छ | सधैं सिक्न सक्छ | अनुभव र पढाई | यी दुई सिक्ने बटा हुन् | ज्ञान सिकाई हो | ज्ञान अनुभव हो | मैले सबै थोक जान्दिन | मैले कौमुदी जानेको छु | चण्डी जानेको छु | भागवत जानेको छु | संस्कृत जानेको छु | नेपाली जानेको छु | तर असंख्य मैले जानेको छैन | मैले देखेको छैन | मैले खाएको छैन | मैले छोएको छैन | मैले सुगन्ध लिएको छैन | तेस्ता धेरै वस्तु छन् | मैले विमान चढेको छैन | उडेको देख्दा अचम्म लाग्छ | मान्छेले बनाएको भन्दा अचम्म लाग्छ | मैले ऋषिलाई देखेको छैन | पढेको छु | विश्वास गरेको छु | मैले इतिहास देखेको छैन | पढेको छु | मैले राजनीति गरेको छैन | भोट दिएको छु | मैले नदेखे पनि | मैले नगए पनि | मैले नजाने पनि | वस्तुको अस्तित्व रहन्छ | प्रत्यक्ष | अनुमान | उपमान | शब्द | शब्दापत्ती रहन्छन् | जिज्ञासुले पाउछन् | जिज्ञासुले ज्ञान प्राप्त गर्छन् | जिज्ञासा गर्दा निडर हुनुपर्छ |

इतिहासबाट सिक्ने हो | बूढापुरानाबाट जान्ने हो | पुराना सबै ठीक हुँदैनन् | नयाँ सबै खराव हुँदैनन् | विज्ञानका कुरा सिक्नुपर्छ | विज्ञानका कुरा सुन्नुपर्छ | आफ्नो जानकारी ठीकठीक राख्नुपर्छ | संसारमा धेरै वाद छन् | अध्यात्मवाद र भौतिकवाद | दूवै पूरक हुन् | झगडा बनावटी हो | क्षेत्र फरक हुन् | बहस स्वभाविक हो | भौतिकवादी मन्दिर जान हुन्छ | अध्यात्मवादीले औषधि खानुपर्छ | व्यबहार भौतिकवाद हो | चिन्तन अध्यात्मवाद हो | ईश्वरका नाममा खराव गर्नु हुन्न |विज्ञानका नाममा क्रूर हुनुहुँदैन | रक्सी खाँदैमा आधुनिक भइन्न | टीका लाउँदैमा धार्मिक भइन्न | तुलसीले पाप रोक्दैन | आवरणले निर्णय दिन्न | धर्म र विज्ञान पुरक हुन् | खेत रोप्नु विज्ञान हो | गरिवलाई दिनु धर्म हो | भात पकाउनु विज्ञान हो | बटुकलाई दिनु धर्म हो | दूवै संगै हिड्नुपर्छ |

असल आचरण गर्नु | जडतामा न बाँधिनु | धार्मिकता अन्धविश्वास होइन | नग्नता आधुनिकता होइन | हरेक मान्छे नाङ्गो नै छ | प्रदर्शन गर्नु पर्दैन | विज्ञान स्वच्छन्दता होइन | विज्ञान अग्रगमन हो | अगाडी बढ्नु विज्ञान हो | अस्तित्व खोज्नु धर्म हो | मान्छे विज्ञानमा बाँच्दैन | मान्छे विज्ञानबाट सुखी हुन्छ | विज्ञान पालक हो | विज्ञान विनाशक पनि हो | विज्ञान बुद्धिले चल्छ | धर्म श्रद्धाले चल्छ | विवेकहीन धार्मिक हुँदैन | मेरो जीवन मेरो लागि हो | तिम्रो लागि पनि हो | तिम्रो जीवन मेरो लागि हो | मेरो जीवन तिम्रो लागि हो | संसार एक्लै चल्दैन | तर तिमीले एक्लै चल्नुपर्छ | एक्लै भोग्नु पर्छ | एक्लै सहनु पर्छ | एक्लै जान्नुपर्छ | ध्यान गर | गायत्री जप | एकाग्रताको अभ्यास गर | रीस कम हुन्छ | राग कम हुन्छ | काम कम हुन्छ | मोह कम हुन्छ | मनमा शान्ति प्राप्त हुन्छ | शान्ति | सन्तोष | आनन्द | सबैले चाहन्छन् | असल कर्म गरेर आनन्द प्राप्त गर | कमसल कर्म गरेर सुख नखोज |

समय अनन्त छ | मान्छे समयको फोका हो | अधिकतम १०० वर्षको | तेसैले जीवन असल हुनुपर्छ | जीवन सदुपयोग हुनुपर्छ | वेद पढ्नु | उपनिषद् पढ्नु | गीता पढ्नु | पुराणहरू पढ्नु | साहित्य पढ्नु | व्याकरण पढ्नु | छन्द पढ्नु | ज्योतिष पढ्नु | प्राचीन ज्ञान जान्नु | आधुनिक विज्ञान पढ्नु | भौतिक विज्ञान पढ्नु | सबैमा विज्ञान छ | विद्वान नम्र हुन्छन् | अहङ्कार रहित हुन्छन् | सहयोगी हुन्छन् | समालोचक हुन्छन् | समयसंग हिड्नु | समयसंग हिड्न नसक्ने छोडिन्छन् | जिद्दी नहुनु | विवेकले काम लिनु | बैज्ञानिकले मन्दिर जान हुन्छ | बाआमाको श्राद्ध गर्न हुन्छ | जनै लाउन हुन्छ | बैज्ञानिक अमर हुँदैनन् | धार्मिक पनि अमर हुँदैनन् | कर्मक्षेत्र फरक हुन् | अन्तिम सत्यसम्म पुग्नुपर्छ | त्यो के हो थाहा छैन | ईश्वर आराधना नछोड्नु | गायत्री जप्नु | यो हाम्रो शक्ति हो | शक्तिहीन मुर्दार हुन्छन् |

आधुनिक विज्ञान पढेको छैन | प्रयोगकर्ता हुँ | औषधि खान्छु | किताव पढ्छु | नयाँ पुस्ताहरूलाई सजिलो छ | किताव सजिलै पाइन्छन् | लोक्ताको कागज बनाउन परेन | सीमिका पात | कटुसका पात | कालीमाटी | रातभारी पकाएर | मसी बनाउनु परेन | मट्टीतेलको टुकी छ | दियालो बाल्नु परेको छैन | विज्ञानले धेरै सलिजो बनाएको छ | भविष्यमा अझैं सजिलो हुनेछ | गाउँगाउँमा विद्यालय खुल्ने छन् | सामल बोकेर हिड्नु पर्ने छैन | केटाकेटीलाई टाढा पठाउनु पर्ने छैन | केटाकेटी न्यास्रो मान्छन् | बाबुराम धुरू रुन्छ | आमाआमा भन्छ | बाहुनीको मायाले टिकाएको छ |

पढे पनि राम्ररी पढ्नु पर्छ | पढेको कुरा काम लाग्नु पर्छ | व्यबहारमा | परलोकमा | आइमाईले झन् पढ्नुपर्छ | केटीले झन् पढ्नुपर्छ | आमा पहिलो पाठशाला हुन् | केटीलाई स्कूल पठाउनु पर्छ | नसके घरमा पढाउनु पर्छ | छोरो र छोरी एकै हुन् | आइमाईलाई धेरै दु:ख छ | विहानदेखि रातिसम्म खट्नुपर्छ | लोग्नेले सघाउनु पर्छ | पन्छिएको बेलामा | सुत्केरी भएको वेलामा | नसकेको बेलामा | लोग्ने अगाडी सर्नुपर्छ | मेरो बाहुनीको दुख कम छैन | आफ्ना केटाकेटी | बटुक | डिहा | खेतीपाती | त्यैपनि बोल्दिनन् | मैले डाले घाँस झार्न मदत गर्छु | पातालको पानी ल्याउनु पर्छ | ठूला बटुकहरूलाई अह्राउँछु | परशुराम सार्है गरीव छन् | मेहनती छन् | राम्ररी पढ्छन् | यस्तालाई दिनु पर्छ | सकेको काम पनि लगाउनु पर्छ | यिनले भविष्यमा सम्झिन्छन् | आफ्नालाई भन्दा बढी गर्छन् |

ज्ञान आत्माका लागि हो | विज्ञान संसारका लागि हो | दूवै कुरा जानेको राम्रो | जान्नु पर्छ | मात्नु हुन्न | मास्टरले रक्सी खान हुँदैन | चुरोट खानु हुँदैन | गालीगलौज गर्नु हुँदैन |पिट्नु हुँदैन | बालबालिकाले त्यही सिक्छन् | समाजमा वेथिति आउँछ | उनीहरूले गौरव गर्नुपर्छ | पण्डितले पनि गौरव गर्नुपर्छ | पण्डितले धर्म छोड्नु हुँदैन | विहानै उठ्ने | स्नान गर्ने | सन्ध्या गर्ने | वेदपाठ गर्ने | पाठपूजा गराउने | एकै दिनमा दूईठाउँबाट दक्षिणा लिनु हुन्न | यो पाप हो | दक्षिणा माग्नु हुन्न | यो पनि पाप हो | दिएको कुरालाई अपमान गर्नु हुन्न | अन्न अमृत हो | धार्मिक बन्नु पर्छ | धर्म आत्मा र आचरणको कुरा हो | देखाउनुहरू धार्मिक हुँदैनन् | आचरण आफ्ना लागि हो | मैले आचरण सिकाएको छु | मैले सदाचार सिकाएको छु | यी बटुकहरू सन्तान हुन् | यिनले पुण्य गरे पुण्य मिल्छ | पाप गरे मैले पाप भोग्नु पर्छ | कालिगण्डकी मेरो विश्रामस्थल हुन् | शालग्रामको सिरानी हुन् | धर्म र अधर्म अन्तिम सत्य हुन् | सधैं ईश्वर सम्झनु | मृत्यु सत्य हो | त्यसपछिको विश्वास हो | त्यो विश्वासका लागि असल कर्म गर्नुपर्छ | सबैको कल्याण होस् | विश्वको भलो होस् | सबैले सन्तोष प्राप्त गरूँन् | सबै सुखी होउन् | सबै पूर्ण होउन | बरू, सबैको कष्ट मैले बोक्न परोस् || ||

कपिराइट 

 

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...