Tuesday, January 16, 2024

पर्व र विषालु घृणावाद

माघेसंक्रान्ति सम्भवत: सबैभन्दा प्राचीन वैदिक पर्व हो | यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन् | हामी सबै नेपालीहरूले आ-आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ | माघेसंक्रान्तिको हामी सबैमा शुभकामना |

माघी होस् वा अन्य पर्वहरू घृणावादीहरूले कित्ताकाट गरेका छन् | नेपालीका पर्वहरूलाई "जातीय, नश्लीय" घृणावादमा रुपान्तरित गर्ने दूषित प्रयत्न गरिरहेका छन् | तर तिनको दूषित प्रयत्न भन्दा नेपालीहरूको मौलिक "सहृदयता" बढी बलियो छ | हामी सबै मिलेर आ-आफ्नो रितिरिवाजअनुसार मौलिक पर्वहरू मान्ने गरेका छौँ |
हो, समय परिवेशअनुसार पर्वहरू मनाउने तौरतरिकामा केही फरक आएको छ तर मूल भने अवछिन्न छ | एउटा कुरा अलि चिन्ता गर्नु पर्ने भएको छ त्यो हो : आत्मासंग जोडिएका पर्वहरू फैसनसरह क्षणिक रमाइलो गर्ने वा पर्वभेलाको नाममा आफ्नै छिमेकीहरूप्रति राजनैतिक घृणा पोख्ने (घृणावादीले छलछापट) का कारक बन्न थालेका छन् | पर्वहरूमा मनको पवित्रता, पर्वसंग जोडिएका प्रतिमानहरूप्रति पूर्ण समर्पण र पर्वका माध्यमबाट भौतिक तथा आध्यात्मिक उन्नयन सबैभन्दा महत्वपूर्ण विषय हुन् | यदि हामीले आफ्ना पर्वहरू सतही रूपले मात्र मान्ने गर्यो भने यसको आत्मा मर्छ र क्रमशः सङ्क्रमित भएर यसको मौलिकतानै नष्ट हुन्छ | सचेत रहनु पर्छ र आफ्ना बालबालिका, किशोरकिशोरी लगायत छिमेकीलाई पर्वहरूको मौलिकतासंग परिचय गराउनु पर्छ |
घृणावादले पर्वको आध्यात्मिक उन्नयनको पक्षलाई आत्मसात गर्दैन तर यसलाई उपयोग गरेर एकआपसमा परापूर्वकाल देखि सहकार्य गर्दै आएका समुदायहरूमा फाटो हाल्छ | मूलत: यी डलरवादी मात्र हुन्छन् कि एकेश्वरवादी हुन्छन् | जसले पुरानो नष्ट गरेरमात्र विकास हुन्छ भन्ने मान्यता राख्छन्, तेस्ता जडहरूले मौलिक पर्वहरूमा महत्व पाउनु हुँदैन | पर्वहरूका माध्यमबाट विषालु घृणावाद रोपिंदै छ, हामी सबै सचेत हुनु जरुरी छ | घृणावादीहरू पर्वभेलामा द्वन्द होस् भन्ने चाहन्छन् र यो चाहनापूर्तिको लागि राजनैतिक शक्तिसम्म प्रयोग गर्न सक्छन् |
पर्वहरूको अवसर पारेर घृणावाद रोप्नेहरू धेरै छैनन् तर तिनको विषले नेपाली समाज विभाजित भएको अनुभव गर्ने धेरै छन् | पवित्र पर्वहरू विनम्रता र पवित्रतापूर्वक मान्नु/मनाउनुको सट्टा रक्सीको विज्ञापन गर्दै राजनैतिक नेतृत्वलाई मंचमा उभ्याएर आफ्नै छिमेकीलाई तथानाम गालीगलौज गरेको तीतो अनुभव हामीसंग छ | जामा जे-जस्तो दिए पनि मूलत: यी नेपाली संस्कृतिलाई निल्ने घृणावादी नै हुन् |
यस वर्ष जाडोमा खडेरी लाग्यो | आकाशवाट पानीको एकबूँद झरेको छैन | मैले आफ्नो जीवनमा एस्तो अचम्म भोगेको थिइन | माघी मनाउँदै गर्दा शहरियालाई केही फरक नपर्ला तर हिमालदेखि तराईसम्मका कृषकहरूलाई मर्का परेको छ | तिनका लागि बोल्दिने केही छैन | शहरियाहरू "हामी सुकिलामुकिला र पैसावाल" छौँ भनेर फुर्किनु पर्दैन, कृषकले अन्न उत्पादन गर्न सकेनन् भने भोकभोकै मर्नेहरूमा सहरिया पहिलो समाचार बन्ने छौँ |
माघेसक्रान्ति हामी सबैको मौलिक तथा रैथाने पर्व हो | यो पर्वले हामीलाई आफ्नो जरोकिलोसंग जोड्छ | हामी प्रकृतिसंग जोदिन्छौँ | तेसैले हामी सबैले प्रकृतिलाई माया गरौँ. प्रकृतिले हामीलाई माया गर्ने छ | हामी सबैको कल्याण होस् |
https://hatmakhabar.com/bichar/2024/01/15/164742/

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...