Tuesday, January 16, 2024

चतुर्थे किं करिष्यति : घर-सन्यास

मैले पनि ५० काटें अर्थात् तेस्रो आश्रम (बानप्रस्थ) आरम्भ भएको छ | शास्त्रलाई पढ्ने हो भने अव मैले सबै थोक छोराछोरीलाई जिम्मा लगाएर आफुले जीवनभरी सिकेका कुरा सिकाउने वा जङ्गलमा गएर वा घरमै बसेर स्वाध्याय, निधिध्यासनआदिको अभ्यास गर्ने पर्ने हो | तर

आज पनि धेरैजसो ५० वर्ष काटेका हामी नेपालीहरू पेट पाल्न नयाँ करियरको खोजिमा छौँ | धन कमाएर पुगिसरी भएकाहरू अझै धेरै कमाउन व्यस्त छन् | केही नहुनेको त कुरा छोडौं | संसारको राजनीतिमा सक्नेले "कमाई खाने भाँडो" नै "केही नहुने" हुन् | जुनसुकै राजनैतिक सिद्धान्तकारका लागि यिनको अस्तित्व जोगाउनु पर्ने बाध्यता छ |
-मैले झैं तेस्रो आश्रम आरम्भ गर्दैगर्दा पिरलो थप्ने धेरै दायित्वहरू असरल्ल परेका होलान् | बूढाहरू विरामी देखरेख गर्नु पर्ने, समाजमा केही कार्यक्रम भए दिनु पर्ने र सहभागी हुनै पर्ने सामाजिक दायित्व, पढ्दै गरेका छोरछोरीको लागि पैसा पुर्याउने दायित्वमा झन् भासिंदै हुनुहोला | साच्चिकै भन्ने हो भने मेरो लागि दोश्रो आस्श्रम भन्दा पनि तेस्रो आश्रम झन् दायित्वहरूले किचिने अवस्था अनुभूत हुँदैछ |
सबैभन्दा रमाइलो वा मानसिक तनावको विषय चाहिं यो अवस्थामा चौथो अवस्था अर्थात् वृद्धावस्था र त्यस बखतमा आउने सक्ने शारीरिक तथा मानसिक समस्याहरू सम्झेर दिक्क वा डर लाग्दो रहेछ | वा आमा, आफ्नै छिमेकी बूढाबूढी भएर रोग र मृत्युमा जाँदा आफै अगाडी सार्नु पर्ने बाध्यताले उपर्युक्त अवस्थाको नकरात्मक दृष्य अझैं बलियो हुँदै जाने रहेछ |
भाग्यभए र शरीरले साथदिए चौथो (सन्यास) अवस्था भेट्न पाइएला | आजभोली सजिलो छ | छोराछोरी विदेशमा हुन्छन् अथवा न्युक्लियर भएर आफ्नै परिवारसंग रम्छन् | ७६ वर्षपछिको अवस्थामा कुनै पनि बृद्धबृद्धाहरू प्राकृतिक सन्यासआश्रममा निवास गरिरहेका हुन्छन् | जवानीमा बडो परिश्रम गरेर (अरूलाई धनि, मानी देखाउन बनाएको) ठूलो घर नै एकान्तबास बन्छ | खासगरी शहरिया घरहरू चौथो अवस्थाका मान्छेहरूलागि सन्यास आश्रम भन्दा कम छैनन् |
प्राचीन कालमा चौथो अवस्था जङ्गलमा बसेर विताउने गरिन्थ्यो भने आजको समयमा एकान्त जङ्गल नै आफ्नै घर हुन्छ, जहाँ पूर्ण एकान्त उपलब्ध हुन्छ | यो शहरमा यस्ता असंख्य सन्यासीहरू छन्, जसले आफुले निर्माण गरेको कंक्रिटको जङ्गलमा सन्यासीको जीवन व्यतित गरिरहेका छन् | यदि प्राचीन सन्यास स्वेच्छाले त्याग हुन्थ्यो भने बर्तमानको सन्यासका सन्यासीहरू हरेक पल आफ्ना सन्तानहरू सम्झदैं रोग र मानसिक तनावसंग लडिरहेका हुन्छन् | आफ्नो शरीर अशक्त हुँदा सहाराको लागि कल्पी रहेका हुन्छन् | सायद, न्युक्लियर फेमिलीको वैश्विक देन नै धर-सन्यास वा वृद्धाश्रमको वास रहेछ |
यो लेख पढेर ५० काटेकाहरू नआत्तिनु होला | चौथो आश्रमका लागि वन्दोवस्त आरम्भ गर्नुहोला | साथै, दोश्रो आश्रमको मजा लिइरहेका न्युक्लियर फेमिलीवादीहरूले पनि तेस्रो आश्रमको लक्ष के हुने छ र चौथो आश्रमको लागि चिन्तन गर्नु आरम्भ गरे राम्रै हुन्छ |
स्वस्त्यस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...