Thursday, January 11, 2024

इच्छामृत्युको सभ्यता

इच्छामृत्युको सभ्यता

त्यसो त समयको कुनै अस्तित्व हुँदैन | मान्छे आफ्नो उमेर नापेर समय बनाएको हो | आफु जन्मेको घटनानै समयको आरम्भ हो र मृत्युपछि समयको अन्त्य हो | लामो उमेर हुनेको लागि समयको आयाम छोटो हुन्छ, छोटो उमेर हुनेहरूका लागि समय लामो हुन्छ | मान्छेले आफ्नै पौरख गरेर (विज्ञानको प्रयोग गरेर) समयलाई निरन्तर छोटो बनाउंदा छ | भविष्यका मान्छेका लागि मृत्यु पनि आफ्नो इच्छाको विषय हुने छ |


जन्मका विषयमा मान्छेले इच्छा-जन्म हासिल गरिसकेको छ | फरक एत्ति हो कि अनुभवको निरन्तरता प्राप्त भएको छैन | जन्मको सवालमा ईश्वरको शक्ति मान्छेले खोसिसकेको छ | सानो स्टीम-सेलबाट जीवन आरम्भ गर्ने क्षमता मान्छेसंग छ | पचासवर्षपछि अनुभवको निरन्तरता प्राप्त गरेपछि नयाँ जन्मको सवाल नयाँ मेसिनसरह हुनेछ | इच्छामृत्यु स्वीकार गरेकाको पद-पूर्ति गर्न नयाँ मान्छे जन्माउन बाहेक मान्छे जन्मने छैनन् | सायद राष्ट्रहरूले कानुन बनाएर नै मान्छे जन्माउने "कोटा" निर्धारित गर्ने छन् | यो अभ्यास अहिले पनि फरक रूपमा भैरहेको छ |

मान्छेलाई इतिहास चाहिन्छ, धर्म चाहिन्छ, विज्ञान, ज्ञान तथा सुविधा चाहिन्छ | मान्छे - एउटा शारीर भएको, चिन्तन गर्न सक्ने जीव हो | यो तत्थ्य सबैलाई थाहा छ | साथै, अनन्तकालभित्र अधिकतम १०० वर्ष देखिने एउटा "फोका" यो पनि सबैलाई थाहा छ |

तर जीव, आत्मा वा परमात्माका रूपमा यो नित्य छ भन्ने तत्थ्य अनुभव वाहिरको कुरा हो | तर सत्य के पनि हो भने अनुभवमा आएका विषयवस्तु मात्रै सत्य हुन्छन् भनेर स्वीकार गर्नु पनि व्याबहारिक तथा सैद्धान्तिकरूपमा सही होइन | मान्छेको ज्ञान र अनुभव दूवै सीमित छ |

हालसम्म मान्छेको ज्ञानले विश्वब्रह्माण्डका कति नै तत्थ्यहरू उद्घाटन गर्न सकेको छ र ? यो संसारमा "मैले पूनर्जन्म लिएको हुँ" भन्नेहरू पनि छन् र तिनको त्यो भनाइलाई असत्य सावित गर्ने कुनै बैज्ञानिक टुल छैन |

आजको मितिले केवल ५०-६० वर्षपछि अहिलेका बैज्ञानिक खोजहरू दन्त्यकथा झैं लाग्ने छन् किनभने त्यसबेलाका मान्छेको संस्कृति, चिन्तन र सभ्यताको तह आजभन्दा नितान्त फरक हुने छ | एकपटक जन्मेको मान्छेले भौतिक रूपमा नै इच्छामृत्युको उपलब्धि गर्ने छ |

त्यो एस्तो समय हुने छ जहाँका विद्यालयहरूमा आत्मा, परमात्मा, धर्म, स्वर्ग, नर्क, आस्तिकता-नास्तिकताजस्ता विषयवस्तुहरूको पढाई हुने छैन | किनभने मृत्यु र जन्मसंग जोडिएका दु:खसुख, स्वर्गनर्क, पापपुण्य, धर्म तथा धार्मिकताको तेस बखत सान्दर्भिकता नै रहने छैन | त्यो इच्छामृत्युको सभ्यता हुने छ | मान्छेले मृत्युउपर नियन्त्रण गरेको मितिबाट जन्म र मृत्यु दूवै रहस्यको गहिरो खाडलबाट सधैंका लागि बाहिर निस्किने छन् |

आजको मानिस वैज्ञानिक उपलब्धिहरूका कारण अहंकारी बनेको छ | विज्ञानबाट प्राप्त भएका उपलब्धिहरूको गहिरो नशाले उन्मत्त भएको छ | सत्य अर्को पनि छ | निश्चयनै विज्ञानका उपलब्धिहरू व्याबहारिक जीवनका लागि निकै उपयोगी सिद्ध भएका छन् | तर विज्ञानका वर्तमान खोज र उपलब्धिहरूले हाम्रो निवासस्थल पृथ्वीको काल ७.५% रहस्य थाहा पाएको विश्वास गरिन्छ | यसको अर्थ अझैं पनि ९२.५% संसार अज्ञात नै छ | आजका उपलब्धिहरूको आधारमा भबिष्यवाणी गर्न सकिन्छ कि आगामी ५० वर्षभित्र विज्ञानले जेली-फिसको अमरताको डीएनए दिकोदिंग गरेर मान्छेको डीएनएमा प्रत्यारोपित गर्ने छ | यसका संगै अन्य विधाहरूले पनि मान्छेलाई अजेय बनाउने छन् |

अहिलेका राजनैतिक विचार र संस्थाहरू पूर्णतया उपयोग विहिन हुने छन् | त्यस बखतको पृथ्वीको जनसंख्याको लागि रोटी, कपडा, मकानजस्ता प्राथमिक आवश्यताहरू गौण हुने छन् | शारीरिक पोषणका वर्तमान आवश्यता र तिनको पूर्ति औचित्यहीन हुने छ | त्यस बेलाको मान्छे भोक, प्यास, दुखाई, रोगजस्ता भौतिक समस्याहरूबाट पूर्णतया मुक्त हुने छ | हो, भावना र बुद्धि भने अझै प्रखर र नयाँनयाँ खोजका लागि तीक्ष्ण हुने छन् | मानवसमाजका लागि तय गरिएका वर्तमानका नैतिक मानदंडहरू इन्टरग्यालेक्सी यात्राका लागि तयार गरिने छन् | तेस बखतका मान्छेका लागि "सेक्स" रमाइलोको विषय रहने छैन | केही पुराना व्यक्तिहरूले यस विषयमा चर्चापरिचर्चा गर्ने छन् |

हो, भविष्यको सभ्यता आजको भन्दा नितान्त फरक हुने छ | आजका कुनै पनि मानदंडहरू त्यो समयका लागि उपयुक्त ठहरिने छैनन् | जीवनका आवश्यकता र प्राथमिकता बदलिनुका साथै प्रतिमानहरू पनि परिवर्तित हुनेछन् | म विश्वासका साथ भन्न सक्छु, तेस बखतका मानिसहरूले आफ्नो घरमा किचन, टोइलेट, खाद्यवस्तुहरू भण्डारण गर्नका लागि बनाइने स्टोर, पुस्तकालय तथा पूजाकोठा राख्ने छैनन् | रोग, भोक र जिउनका लागि भौतिक सङ्घर्स गर्नु पर्ने सबै क्रियाकलापको अन्त्य हुने छ | मान्छेहरूका लागि अनन्त समयमा फैलिएको ब्रह्माण्ड, पृथ्वी र आफ्ना विषयमा जान्ने काम मात्र वांकी रहने छ |

स्वाभाविक रूपले मान्छे मृत्यु नभएपछि बाँच्नबाट दिक्क लागेका मान्छेहरू विश्रामका लागि दीर्घकालीन हाइपरनेसन वा मृत्यु यी दुई मध्ये एउटा चुन्न सक्ने छन् | हाइपरनेसनका लागि खोलिएका दैत्याकार संरचनाहरूमा असंख्य मान्छेहरू विश्राम गरिरहेका हुने छन् | त्यो यस्तो सभ्यता हुने छ जहाँ महिला र पुरुषको भेद रहने छैन र हरेक व्यक्तिलाई लिंग चयन गर्ने परिवर्तन गर्ने सुविधा उपलब्ध हुने छ | मूलत: त्यो यस्तो सामाजिक संरचना हुने छ जहाँ सबैसंग इच्छामृत्यु वा हाइपर नेसनमा जाने अधिकार हुने छ | हो, त्यो एउटा भौतिक विज्ञानको किशोर अवस्था हुने छ | त्यो एउटा इच्छामृत्युको सभ्यता हुने छ |

हामी हिन्दूहरूका लागि इच्छामृत्यु नितान्त नया सोच पनि होइन | अश्वत्थामा, बली, व्यास, हनुमान, विभिषण,कृपाचार्य, परशुराम र मार्कण्डेयंलाई इच्छामृत्युको सामर्थ्य भएको भन्दै जन्मदिनका दिन स्मरण गरिन्छ | यो हिन्दु-संस्कृतिको गौरव हो कि यसले नाम नै किटान गरेर इच्छामृत्युको सामर्थ्य भएका व्यक्तिहरूको उल्लेख गरेको छ | प्रत्येक हिन्दूहरूले यो प्रतिमानतिर ध्यान दिनैपर्छ | भोली बैज्ञानिक संसाधनहरूको विकास भएर "इच्छामृत्युको सभ्यतातिर प्रवेश गर्दैगर्दा अष्टचीरन्जीवीको नाम असान्दर्भिक ठहरिनु हुँदैन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...