Sunday, January 28, 2024

लोग्नेस्वास्नीका कुरा

यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?

पटक्कै होइन | पतिको लागि पत्नी र पत्नीको लागि पति सबैभन्दा असल, सहयोगी, इमानदार र जीवनभरी संगै रहने साथी हुन् | हो, दूईबटा अलगअलग मान्छे भएकोले कहिलेकाहीं विमति हुनु, सानोतिनो झैँझगडा नै हुनु स्वाभाविक हुन्छ | लोग्ने र स्वास्नी दूवैकको रूचि, बुझाई, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक चेतना एकै प्रकारको हुनुपर्छ भन्ने हुँदैन | स्वभावत: विमति हुन्छन् |

विमति हुनुको अर्थ लोग्नेका लागि स्वास्नी, स्वास्नीका लागि लोग्ने सहयोगी रहन्नन् भन्ने चाहिं पटक्कै हुँदैन | मैले धेरै यस्ता पतिपत्नीहरू भेटेको छु, जुन खानपान, रहनसहन तथा रुचिहरूमा विमति राख्छन् | ती विमतिका कारण कहिलेकाहीं छोटोमीठो झगडा पनि हुन्छ | १ घण्टादेखि २ दिन सम्म बोलचाल पनि बन्द हुन्छ | तर एकले अर्कोको आवश्यकताअनुसार हेरविचार गर्न कुनै कमी गर्दैनन् | पत्नीले पतिलाई भोजन गराएकै हुन्छन् भने पतिले पनि पत्नीको सुविधाका लागि बाहिरबाट ल्याउनु पर्ने आवश्यक सामग्रीहरू ल्याएर नबोलिकन किचेनमा राखिदिएकै हुन्छन् |

माथि उल्लेख गरिएकोजस्ता धेरै प्रकारका विमति र विमतिविच सहकार्य, सहयोग चलिनै रहन्छन् | धेरैजसो नेपाली तथा भारतीय पत्नी र पतिहरूमा यदाकदा यस्तो हुन्छ नै | अनन्त: कुरा मिलाएर क्रमभंग हुन्छ | पतिपत्नी एकै ठाउँमा उभिएर आ-आफ्नो दायित्वमा फर्किन्छन् | पश्चिमा बालाधिकारवादी दृष्ट्रिकोणको बोर्डिंग स्कुलमा पढेका बालबालिकाका लागि सरल विमति पनि "ठूलो झगडा" भन्ने बुझाई पर्न सक्छ तर नेपाली पतिपत्नीजस्ता समझदार र सहयोगी पति/पत्नी अरू हुनै सक्दैनन् |

आफ्नो संस्कृति हुन्छ | नेपाली तथा भारतीय पतिपत्नीहरू "साइलेन्ट लभर" घूसघुसे लभर, लजाउने लभर, आइ लभ यु भन्न मन नपराउने लभर र मनको भित्रीतहमा सागर जत्तिकै माया गरे पनि मुखले "करकर" गर्ने लभर बढी हुन्छन् | पश्चिमा पतिपत्नीहरू बाटोमा हिड्दाहिड्दै किस गरेर वा हग गरेर प्रेम जाहेर गर्छन् र तेसैलाई प्रेम भन्छन् तर नेपाली पत्नीपत्नीहरू "ठ्याकठुक्क" गर्दागर्दै पनि एकआपसमा अनन्त प्रेम गर्छन् | बाटोमा जाहेर गरिने पश्चिमा शैलीको प्रेम अधिकांश पारचुकेमा टुंगिन्छ | "ठाकठुक"जस्तो देखिने मनबाट प्रेम गर्ने नेपाली पतिपत्नीले डिभोर्सको कल्पना पनि गर्दैनन् |

नेपाली र भारतीयहरूको पारिवारिक जीवन बढी जीवन्त, स्थीर तथा रुखो (पश्चिमा नजरियाबाट) देखिन्छ र तेस्तै हुन्छ | नेपालमा धेरै जातजाति र समुदायहरू छन् | ती सबैको दाम्पत्य जीवन बढी नै जीवन्त छ किनभने कुनै पनि नेपालीका लागि डिभोर्सका लागि विवाह गर्दैन | विवाहको परिभाषा फरक भए पनि पश्चिमाहरूले पनि "डिभोर्स" लागि विवाह गर्दैनन् | विवाहको अर्थ नै पारिवारिक स्थायित्व हुन्छ | केही अपवाद वाहेक विकसित भनिएका देशहरूमा पारिवारिक जीवन स्थाई छैन तर विकासोन्मुख देशहरूका परिवार स्थाई छन् | किनभने यहाँ पतिले पत्नीसंग र पत्नीले पतिसंग "साइलेन्ट लभ" गर्छन् |

आधुनिकतावादीहरूले "डिभोर्स"लाई महिला वा पुरुषहरूको आर्थिक स्वायत्ततासंग जोडेर व्याख्या गर्ने प्रयन्त गर्छन् तर मैले धेरै बलिउड वा हलिउडका सेलेब्रेटीहरूको उदाहरण दिन सक्छु, पति र पत्नी दूवै आर्थिक रूपले पूर्ण सक्षम हुँदाहुँदै पनि संगै वस्न सकेनन् | धनसम्पति दाम्पत्यका लागि आवश्यक साधन अवश्य हो तर यो साध्य होइन | साध्य त केवल "पतिपत्नीका विचमा गहिरो प्रेम" मात्र हो | क्षमा गर्नु होला, मैले धेरैजसो महिला सशक्तीकरण अभियन्ताहरूको दाम्पत्य जीवन छिन्नभिन्न भेटेको छु | अधिकार, सशक्तिकरण तथा सुखी पतिपत्नी वा परिवारका विचमा "प्रेम, समर्पण, विश्वास तथा सम्मान"ले धेरै ठाउँ ओगटेको हुन्छ |

अन्त्यमा, यदि पारिवारिक जीवन (दाम्पत्य) सुखी चाहन्छौं भने पत्नीले पतिको र पतिले पत्नीलाई पीडक र पिडितका रूपमा व्याख्या गर्न त्यागौं | सुखी पति त्यही हो जसले आफ्नी पत्नीमा विश्वास गर्छ, पत्नीमा शर्तरहित प्रेम गर्छ र पत्नीको सम्मान गर्छ | सुखी पत्नी ती हुन् जसले आफ्नो लोग्नेमा सबैभन्दा बढी विश्वास गर्छिन्, पतिलाई नि:शर्त प्रेम गर्छिन् र सम्मान गर्छिन् | आफ्नो पति वा पत्नीमा अविश्वास गर्ने, पीडकका रूपमा प्रस्तुत गर्ने र अपमान गर्नेहरूको सधैं दुखी हुन्छन् | उनीसंग भएको सम्पत्तिले सुख किन्न सक्दैन , प्रेम किन्न सक्दैन | बरू घृणा फैलाउन सक्छ | पतिलाई पत्नीको र पत्नीलाई पतिको "खेदो खन्न सिकाएर" झनै दूरी बढाउँछ |

असल वा कमसल पतिपत्नी बन्ने कुरा हाम्रै हातमा छ | सरल रहौं, सावधान रहौं | पतिले पत्नीलाई र पत्नीले पतिलाई सबैभन्दा निकटको मित्रका रूपमा विश्वास गरौँ तर अत्याचार भने नसहौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...