Monday, April 27, 2020

आदिशंकराचार्य : नेपाल नातो

आदिशंकराचार्य : नेपाल नातो
भगवान् पशुपतिनाथका अवतार अद्वैत-सम्प्रदायका संस्थापक तथा वैदिक सनातन धर्मका पुरोत्थानकर्ता आदिशंकराचार्य (वि.सं. ७४३, सन् ६८६ दक्षिण भारत) तथा शेषराजका अवतार प्रतिवादी भयङ्कर विशिष्ट-अद्वैत सम्प्रदायका संस्थापक गुरू श्रीरामानुजाचार्यको ( सन् १०१७ - ११३७) जन्म-जयन्तिका अवसरमा निजहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु |

एउटा दर्शनशास्त्रको विद्यार्थीको नाताले आदिशंकराचार्यलाई मैले विश्वका सबैभन्दा प्रभावशाली दार्शनिक व्यक्तित्वको रूपमा सम्मान गर्छु | केवल ३२ वर्षको उमेरभित्र भारतवर्षको अनेकौं पटक भ्रमण गर्न सफल भएका, तेस बीचमा करिव ७५ बटा ठूला-साना पुस्तकहरू रचना गर्न सफल भएका र लोपोन्मुख सनातन धर्मको गौरवलाई बौद्ध तथा जैनहरूसंग शास्त्रार्थ गर्दै उनीहरूलाई पराजित गरी शिष्य वनाएर सनातन धर्मको पुनारोत्थान तथा पुनरोत्थान गरेका आदि शंकराचार्य वास्तवमा अदभूत छन् | आज भन्दा १२ सयवर्ष पहिलेको भारतवर्षका कुनै ३२ वर्षको उमेर पाएका ठिटाले एतिविध्न काम अदभूत, अवर्चनीय र विश्वमा कसैले गर्न नसक्ने सिद्ध हुन्छ |

आदि शंकराचार्यको नेपाल नातो निकै महत्वपूर्ण छ | केही भारतीय दर्शनशास्त्री तथा विद्वान् बलदेव उपाध्याय, डा. राधाकृष्णन् र नेपाली इतिहासकार गोपालनिधि तिवारीले आदिशंकराचार्य नेपाल आएको र श्रीपशुपतिनाथको सेवा-पुन संचालन गरेको, नेपालमा पुन: सनातन धर्मको स्थापना गरेको भनेर उल्लेख गरेको पाइन्छ भने फ्रान्सेली इतिहासकार सिल्भर लेवीले पनि "कुनै भारतीय सन्यासी नेपाल आएको" भनेर उल्लेख गरेका छन् |

विकिपिडियाले शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ ।" भनेर उल्लेख गरेको छ |आदिशंकराचार्यलाई स्मरण गर्दा मैले मीमांसाका महाविद्वान मण्डन मिश्रकि धर्मपत्नी विदुषी उभय भारतीको स्मरण गर्न चाहन्छु जसले आफ्ना पतिका तर्फबाट आदिशंकराचार्यसंग एकमहिना लामो शास्त्रार्थ गरेकी थिइन् | आजभन्दा करिव १२०० वर्ष पूर्व एउटी महिलाले आचार्य शङ्करसंग एकमहिना लामो शास्त्रार्थको प्रसंगले तत्कालीन हिन्दू-समाजमा नारीहरूले पुरुषसरह शिक्षादीक्षा प्राप्त गर्थे भन्ने तत्थ्यको जीवन्त प्रमाण हो |\

प्राचीन नेपालमा मूलत: छ बटा प्राचीन वैदिक सम्प्रदायहरू प्रचलित थिए जसमा स्मार्त (जसले वेद र स्मृतिहरूलाई प्रमाणिक मान्छन्) शैव (जसले भगवान् शिवलाई सर्वोच्च तत्व मान्छन्), शाक्त (जसले भगवती पार्वतीलाई परमतत्व र परमशक्ति मानेर उपासना गर्छन्) वैष्णव (जसले भगवान् विष्णु र निजका अवतारहरूलाई नै परमसत्य मान्छन्) गाणपत्य (जसले गणेशलाई ब्रहमतत्वका रुपमा उपासना गर्थे) र सौर्य (जसले सूर्यलाई परमतत्व मानेर उपासना गर्थे) नेपालमा बौद्धहरूको वर्चस्वसंगै उपरोक्त सनातनीहरू सङ्कटमा थिए | आदि शंकराचार्यले नेपाल आएर उपरोक्त सनातन पन्थहरूको पुनरोत्थान गरेका थिए |

केही नेपाली तथा तिब्बतेली बौद्धहरूले आचार्यपाद आदि शंकराचार्यको आलोचना गर्छन् कि उहाँले काठमाडौँ उपत्यकाका बौद्धहरूलाई शास्त्रार्थमा शास्त्रार्थमा परिजित गरेपछि विशाल बौद्ध-पुस्तकालयमा आगो लगाउन पठाए जसका कारण लगातार वछ महिनासम्म सङ्कलित हस्तलिखित पुस्तकहरू जलिरहे भन्ने आरोप लगाउँछन् | आरोपको सत्यता सिद्ध हुँदैन किनभने आजका मितिमा सबैभन्दा बढी हस्तलिखित बौद्धग्रन्थहरूको सङ्ग्रह नेपालमा उपलब्ध छ | बरू, शंकराचार्यको आगमनपछि नेपालमा बौद्ध र सनातनीहरू बीच पूजाआजा तथा कर्मकाण्डमा सहिष्णुतापूर्ण  सम्बन्ध विकास भएको छ र एकआर्काको स्वीकार्यता बढेको छ | आज बाघभैरबको आराधना गर्दा बौद्धहरूले त्रिपुंडको प्रतिक धारण गर्छन् |

जैन र बौद्धहरू पनि सनातन धर्मकै अंग भएको नाताले आचार्य शङ्करले निजका धार्मिक पुस्तकहरू जलाए भन्ने आरोप अनुचित हुन्छ | हो, शास्त्रार्थमा पराजित हुनेले आफ्नो पूर्वसम्प्रदाय त्यागेर विजेताको गुरुत्व स्वीकार्नु पर्थ्यो | अनेकौं अबौद्ध विद्वानहरूले  बौद्ध विद्वानहरूसंग शास्त्रार्थमा पराजित भएपछि बौद्ध धर्म स्वीकार गरेका प्रसस्त उदाहरणहरू छन् | आचार्य नाग सेन, पद्मसम्भव तथा नागार्जुन पहिले सनातनी थिए तर बौद्धसंग पराजित भएपछि बौद्ध आचार्य बनेका हुन् |

उपरोक्त छ प्राचीन सम्प्रदायहरू मध्ये नेपलममा गाणपत्य र सौर्य सम्प्रदायहरू शैव, स्मार्त, वैष्णव तथा शाक्तउपसानासंग विलय भएका छन् | हरेक कामको आरम्भ गणेश पूजाबाट आरम्भ गरिनु पर्ने स सूर्यलाई हरेक कर्ममा अर्ध्य दिनु पर्ने परम्परागत नियमभित्र गाणपत्य र सौर्य जीवन्त छन् | नेपालमा आज पनि शाक्त, शैव, स्मार्त तथा वैष्णवजस्ता सनातनीहरूको बलियो उपस्थितिका लागि आदि शंकराचार्यप्रति ऋणी हुनुपर्छ |

आदिशंकराचार्य र आदिरामानुजाचार्य बीच दार्शनिकतहमा तीब्रमत भिन्नता थियो तर आदिरामानुजाचार्यले आफ्ना दार्शनिक कृतिहरूमा अद्वैतवादी आदि शंकराचार्यलाई सर्वत्र "भगवत्पाद" शब्दप्रयोग गरेर अत्यन्त सम्मान व्यक्त गर्नुभएको छ | वैदिक-संस्कृतिको यही महानता हो कि विचारसंग असमत हुनुको अर्थ तेसका प्रवर्तक तथा अनुयायीको निराकरण गरिन्न | एकपटक विचार गरौँ त यदि आचार्य शङ्कर र रामानुज इसाई वा मुस्लिमसरहको विचार राख्थे भने के हुन्थ्यो ?

दुवै महापुरुषप्रति सादर नमन |

Sunday, April 26, 2020

श्रीपरशुराम जयन्तिको सन्दर्भ


श्रीपरशुराम जयन्तिको सन्दर्भ.....
शुद्धं बुद्धं महाप्रज्ञापण्डितं रणपण्डितं । रामं श्रीदत्तकरुणाभाजनं विप्ररंजनम् ||
पवित्र, परमज्ञानी, महापण्डित, वीर, भगवान राममा कृपा गर्ने र करुणायुक्त तथा ब्राहमणका हितकारी भगवान् परशुराममा हार्दिक नमन |

आस्था र विश्वासको दिवस अक्षय तृतीया र भृगुवंशी ब्राह्मण भएर पनि क्षत्री योद्धाका कर्म स्वीकार गरेका भगवान् विष्णुका छैठों अवतार भगवान् श्रीपरशुरामको जन्मजयन्तिको हार्दिक शुभकामना |

स्कन्दपुराण हिमवतखण्डले सृष्टिको आरम्भ नेपालभूमिबाट भएको हो भनेर किटानी नै गरेपछि नेपाललाई अक्षय तथा सनातन वैदिक धर्मस्थल हो भन्न डराउँनु पर्ने अवस्था रहँदैन |

वेद, उपनिषद् तथा पुराणहरूले धर्मको उत्पत्ति र विनाश हुँदैन भनेर तोकेपछि "सनातन धर्मको उद्गमस्थल नेपाल हो" भन्नुको अर्थ छैन | नेपाल सनातन धर्मको प्राकृतिक भूमि हो किनभने यो देवभूमि हो |

भगवान् श्रीपरशुराम क्षत्रीय राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय ऋषि जमदग्निका पुत्र हुन् । बाल्यकाल देखि नै भगवान् शिवका भक्त भएको हुनाले भगवान् शिवबाट परशु (बन्चरो) प्राप्त भएको थियो भगवान् शिवले दिएको अदभूत परशु धारण गर्ने हुँदा निजको नामका अगाडी परशु जोडिएको हो र यसरी परशुराम नाम पर्न गएको हो | जमदग्निका पुत्र भएको इनलाई कारण 'जामदग्न्य' पनि भनिन्छ |

भृगुवंशीय ब्राह्मण भएर पनि परशुरामको हातमा झोलिमाला, कमण्डलु वा वेदको किताव नभएर बन्चरो छ | आफ्ना पिता जमदग्नीको हत्याराहरूलाई दिंदै २१ पटक क्षत्री राजाहरूलाई मारेका थिए भन्ने पुराणमा उल्लेख छ | जङ्गलमा गुरुकुल संचालन गरेर सनातन वैदिक धर्म, संस्कृति तथा संस्कार सिकाउने ऋषि जमदग्निलाई तत्कालीन क्षत्रीय राजाले विनासित्ति मारेर अपराध नै गरेका थिए |

आज तथाकथित पूँजीवादी, वामपन्थी तथा धर्मनिरपेक्षताको खोलमा लुकेका बाइबल, कुरानधारीहरूले जसरी सनातन धर्मको मूल भूमि नेपाल र नेपालीहरूमा आक्रमण गरिरहेका छन्, एस सन्दर्भमा पुन: ब्राहमणहरूमा क्षत्रीय-तेजको आवश्यकता परेको छ |

विगतमा बाइबलधारीहरूनिर्माण गरेको इतिहास र सिद्धान्तहरूका आधारमा वर्णव्यबस्थालाई जातीयताको रूप दिने र तेसको दोष ब्राह्मणवर्गलाई दिएर सम्पूर्ण संस्कृति तथा संस्कृतिप्रति विषवमन गर्ने "तुच्छता" निकै बढेको छ | आफ्नो प्राचीन धर्म, संस्कृति तथा सभ्यतालाई विनम्रता पूर्वक अभ्यास गर्दै पुस्तान्तरण गरिरहेका ब्राहमण, क्षत्री, वैश्य तथा शिल्पी समुदायलाई एकआपसमा भिडाएर शत्रुतापूर्ण अवस्था सृजना गरिंदै छ |

भगवान् परशुराम आफै क्षत्रीय राजकुमारीबाट उत्पन्न हुनुभएको हो तर भृगुवंशी ब्राह्मणहरूमा सर्वाधिक श्रेष्ठ हुनुहुन्छ | वर्णव्यबस्थाको यो वास्तविकतालाई आत्मसात गर्न नसक्ने र विभिन्न अपूर्ण तथा विदेशीहरूले दुरासयपूर्वक अनुवाद गरेका अपूर्ण उद्धरण दिएर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको जरो काट्नेहरूको बौद्धिक प्रतिकार गर्न आज घरघरमा परशुरामको आवश्यकता ठान्छु |

आज हरेक नेपाली क्षत्रीय तेज भएका ब्राह्मणमा विकसित हुन आवश्यक छ | जन्मले कुनै ब्राह्मण हुँदैन | हरेक जुनसुकै व्यक्तिले वैदिक संस्कार प्राप्त गरेर र वैदिक साहित्यको विनम्र अध्ययन गरेर ब्राह्मणपद प्राप्त गर्न सक्छ | महान ऋषि विश्वमित्रको शरीर क्षत्रीको थियो तर उनले साधना गरेर ब्राह्मणपद प्राप्त गरेका थिए | एस्ता धेरै उदाहरण छन् |

ब्राह्मण (अध्ययन गर्ने/ अध्यापन गर्ने, दान दिने/दान लिने, वेद पढ्ने/वेद पढाउने) कर्म गरेर जोसुकै मान्छेले ब्राह्मणपद प्राप्त गर्न सक्छ | ब्राह्मण एउटा ब्रहमज्ञानीले प्राप्त गर्ने पद हो | साधना गर्न जाँगर काटिएका, विदेशी विचारको दासत्व गर्ने र संस्कृत भनेपछि पुरोहितले पढ्ने भाषामात्र हो भन्ने विदेशीहरूको भनाईमा विश्वास गर्नेहरूका लागि ब्राह्मण निन्दाका विषय हुन्छन् |

आज भगवान् परशुरामको जन्मजयन्ती मान्दै गर्दा नेपाल र नेपालीको प्राचीन गौरवको पुनरोत्थान गर्दै विश्वका सम्पूर्ण विज्ञान प्रविधिहरूको समग्र प्रयोग गर्दै सनातन संस्कृतिको प्रचारप्रसार गर्ने सङ्कल्प लिन पर्छ | विदेशी प्रतिमानका वादहरूको वहिस्कार गर्दै नेपालको देवसंस्कृतिलाई विश्वब्यापी बनाउनु पर्छ | हामीले यो अभियान आरम्भ गरिसकेका छौँ | अलगअलग बाटो हिंडेर पुगिन्न, हामी सबै एकठाउँमा उभिनु पर्ने एको छ | हाम्रो एकताले मात्र नेपाल विश्वगुरू बन्न सक्छ | ब्राहमण शब्द र प्रयोजनको अर्थ नबुझि तथानाम भन्ने/बोल्नेहरूलाई श्री परशुरामझैं तपोमय र साधनामय जीवन अपनाएर पराजित गर्नुपर्छ |\

श्रीपरशुराम जयन्तिलाई हामी नेपालीहरूले सनातन धर्मको सौर्य दिवसको रुपमा लिनुपर्छ र मनाउनु पर्छ | नेपालका सनातन धार्मिहरूले समग्र रूपमा श्रीपरशुरामको तेजोमय सौर्यलाई अङ्गीकार गर्दै अगाडी बढ्नुपर्छ |

ब्राहमण शब्दको अर्थ वेदहरूको ज्ञाता, ब्रह्मज्ञानी र विद्वान् हुन्छ भनेर जान्दाजान्दै पनि ब्राहमणप्रति विषयवमन गर्नेहरू मूलत: प्राचीन वैदिक संस्कृतिका घोर शत्रु हुन् | निश्चय नै हाम्रो समाजमा छुवाछुतप्रथा विद्यमान छ र त्यो अन्धविश्वासका रूपमा अविश्वनीय तवरलले उपस्थित छ | सरकार र नागरिकतहमा गरिएका प्रयाशहरूले निरन्तर छुवाछुतको गहनता कमजोर हुँदैछ र एकसमयमा यो पूर्णत: नष्ट हुने छ | हामी सनातन धर्मी मिलेर छुवाछुतको निराकरण गर्नु त् छंदैछ साथमा हामी सबै मिलेर हरेक नेपालीलाई (हरेक नेपालीलाई) ब्राह्मणत्वमा स्थापित गर्नुछ |

Saturday, April 18, 2020

आयुर्वेद सन्दर्भ

कोभिड - १९ मा आयुर्वेद सन्दर्भ
नेपाल आयुर्वेदको उत्पत्त्ति थलो हो | सरकारले आयुर्वेद चिकित्सालय संचालन गर्छ | विविहरूले आयुर्वेद क्याम्पस संचालन गरिरहेका छन् र नेपालभरि हजारौं आयुर्वेदमा प्रशिक्षित चिकित्सकहरू छन् |

मैले सूचना पाएअनुसार धेरैजसो आयुर्वेदका चिकित्सकहरू लकडाउनमा वसेका छन् | एसको अर्थ हो

आयुर्वेदाचार्यहरूलाई सरकारले कोभिड-१९ को उपचारको लागि पत्याउएन र आयुर्वेदाचार्यहरूले आफ्नो दक्षता प्रयोग गर्न पाएनन् | तेतिमात्रै होइन सरकारले आफैले संचालन गरेको आयुर्वेद चिकित्सा पद्यतिलाई करोना उपचारका लागि पत्याएन |

नेपालमा असंख्य जडीबुटीहरू छन् | हरेक जडीबुटीमा औषधीय गुण हुन्छ भने ती औषधिहरूमा करोना विषाणुलाई मार्ने क्षमता पनि पक्कै छ | एसको अर्थ हो सरकारी तन्त्रले नेपालको प्राचीन आयुर्वेदलाई पनि करोनाको उपचारका लागि खटाउन पर्यो |

अमेरिका, युरोप जस्ता विज्ञानमा मैं हुँ भन्ने देशहरूले पनि करोनाको वास्तविक उपचार गर्न सकेका छैनन् किनभने अहिलेसम्म एसको औषधि नै पत्तो लागेको छैन | अहिलेसम्म संसारभरि करोनको उपचार "आए आप गए झटारो"का रूपमा भै/गरिरहेको अवस्था छ | अर्को शब्दमा भन्दा हरेक संक्रमित मान्छे "गिनीपिग" वनाइएको छ |

औषधि पत्तो नलागी सकेको अवस्थामा नेपाल सरकारले करोना सङ्क्रमित मध्ये केही प्रतिशत रोगीहरूलाई निजहरूको स्वीकृति लिएर आयुर्वेदका चिकित्सकहरूको जिम्मा दिनुपर्छ | आधुनिक आयुर्वेदले पनि इसिजी, भेन्टिलेटरजस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्छ नै |

संक्रमितहरूलाई जसरी एलोपेथिक चिकित्सकहरूले "तुक्का"का भरमा औषधि गरिरहेका छन् तेसको तुलनामा आयुर्वेदिक औषधिहरू मान्छेको स्वास्थ्यलाई न्यून नोक्सानी गर्छन् | मैले साइड इफेक्टको कुरा गरेको हो | करोना संक्रमितलाई कम साइड-इफेक्ट गर्ने र प्राकृतिक रुपमा इम्युनसिस्टम बढाउने आयुर्वेदको प्रयोग गर्ने अवसर दिनुपर्छ |

विदेशीले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदले पत्तो लगाउनै सक्दैन भन्ने मानसिक रोगबाट सरकार, एलोपेथिक चिकित्सक, आधुनिक औषधि विज्ञहरू मुक्त भएको राम्रो | कोरोना सङ्क्रमितलाई आयुर्वेदीय उपचार गर्ने क्रममा करोना पराजित भयो भने नेपाल र नेपालीको भाग्यको साँचो खुल्छ | अरूले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदकालागि यो सम्भावना छंदैछ |

यदि आयुर्वेद करोनाको वास्तविक औषधि पत्तो लगाएन भने पनि हीनताबोध गर्नुपर्ने अवस्था छैन किनभने अरवों बजेट खर्चिरहेका एलोपेथिकहरूले पनि माखो मार्न सकेका छैनन् |

तेसैले मेरो नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूसंग विनम्र निवेदन छ, तपाईंहरू पनि कोरोनाको आयुर्वेदीय उपचार गर्न र औषधि खोज्न खट्नुपर्छ र सरकारले त्यो अवसर प्रदान गर्नुपर्छ |

यदि नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूले आयुर्वेदउपर आफ्नो स्वामित्व लिएर एस्तो महामारीका बखतमा आयुर्वेद प्रणालीको चिकित्साको प्रयोग, उपयोग र अनुसन्धान नगर्ने हो भने आयुर्वेद विभाग खारेज गरिदिए हुन्छ |

Thursday, April 9, 2020

कोरोना-१

के नेपालीको इम्युन सिस्टम नै बलियो छ ? 
अहिलेसम्म तुलनात्मकरूपमा सुरक्षित छ | सुदूरपश्चिममा भारतबाट प्रवेश गरेका नेपाली बाहेकका ठाउँमा संक्रमण भेटिएको छैन | यो पशुपतिनाथको कृपा र नेपालीहरूको असल भाग्य होला भन्नुपर्छ |

लोकडाउनका २२ दिन वितिसकेका छन् | करोनाले अहिलेसम्म ठूलो मानवीय क्षति भएको छैन | पश्चिमा मिडियाहरूले नेपाल र भारतजस्ता देशमा करोना सबैभन्दा बढी दुखदायी हुने भविष्यवाणी गरेका थिए तर एस्तो भविष्यवाणी उनीहरूकै आँगनमा बज्रिएको छ | 

विश्वभरी फैलिएको महामारी रोक्न नेपाल सरकारको निर्णयलाई जनताले स्वागत गरेका छन् | नेपाल सरकार तथा जनताले आफ्नोतह बाट सकेसम्म नियन्त्रणका लागि प्रयत्नशील छन् | यद्यपि एस्तो अवस्थामा पनि ठूलो ओहदाधारीले भष्ट्राचार गरेको सुन्दा जनतालाई निकै पीडा भएको छ |

केही भारतीय, नेपाली र पाकिस्तानी विज्ञहरूले नेपाली उपमहाद्विपमा रहेको गरिवी र तेसले दिएको अस्वस्थ्यकर जीवनशैलीमा प्राकृतिक रुपमा विकसित भएको शारीरिक इम्युन-सिस्टमले करोना फैलिन नसकेको जिकिर गरेका छन् - यो जिकिर सत्य/असत्य के हो बुझ्नै बाँकी छ |

भारत, पाकिस्तान, बंगलादेशआदि दक्षिण एसियाली देशहरूमा कोभिडको महामारी फैलिए पनि पश्चिमा देशहरूमा झैं विनाशकारी भएको छैन | मलाई लाग्छ, निर्धन हुनुको यो एउटा उपलब्धि हो |

निर्धनता र भ्रष्टाचार देशको समग्र विकास भएन | विदेशीहरूलेझैं हरेक स-सानो स्वास्थ्य समस्यालाई भयङ्कर रूपमा लिएर उपचार गर्ने, हरेक वस्तुमा क्वालिटी सुनश्चित गर्ने म्यकानिज्म विकास भएन | जनताले जे-जस्तो पाउन सके तेसमा चित्त बुझाउनु परिरहेको छ |

पेटभरी खाना, क्यालोरिज नापिएको स्वस्थ्यकर खाना, शुद्ध पानी, हरेक छ महिनामा स्वास्थ्य जाँच, आरामदायी जीवन शैली त आम नेपालीहरूका लागि आज पनि सपना छ र भोलिका दिनहरूमा पनि सपना नै रहने छ |

सम्भवत: यही न्यूनता र जे-जस्तोमा पनि "काम चलाउने" वानीले होला आम नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी नागरिकहरूमा करोनाले महामारी बन्न सकेको छैन | आधुनिक औषधिसंग जीवनशैली नजोडिएको हुँदा प्राकृतिक इम्युन-सिस्टमले काम गरिरहेको छ | 

भोली करोनाले नेपाली महाद्वीपमा के-कस्तो स्वरूप अख्तियार गर्छ भन्न सकिन्न तथापि यदि अहिलेको अवस्थाअनुसार नै एसको विस्तार वा विनाश भयो भने तथाकथित विकसित देशहरूले पुन: प्राकृतिक इम्युन-सिस्टमतिर फर्कनु पर्ने देखिन्छ |

प्रकृतिमा मान्छे र पशुका बीचमा "बौद्धिकता" वाहेक केही फरक छैन | पशुरू आज पनि प्राकृतिक अवस्था मै छन् - मान्छेले आफ्नो फाइदाको लागि तिनलाई अप्राकृतिक जीवन बाँच्न बाध्य वनाएको वाहेक | एसको अर्थ मान्छे पुन: प्राकृतिक अवस्था र व्यवस्थामा फर्कनु पर्छ भन्ने होइन, दवाईको परनिर्भरता घटाउनु पर्छ भन्ने हो |

हिजो मैले घाँस काट्दै गर्दा हँसियाले हात काट्दा "मूतेको" भरमा निको हुन्थ्यो, पाती, सयपत्री फूलका पातको रस दलेको भरमा निको हुन्त्यो भने औषधि कम्पनिहरू र चिकित्सकको मिलोमतोमा औषधिहरूको बजारीकरण गरेर शरीरको प्राकृतिक रोग-निरोधक शक्तिलाई कमजोर तुल्याउने काम गरियो | इटाली, वेलायत, फ्रान्स, अमेरिकाजस्ता शक्ति राष्ट्रहरूले अव यो तत्थ्य अवश्य मनन गर्लान् |

अहिलेको हाम्रो शरीर अप्राकृतिक (फ्याक्ट्रीमा निर्मित) औषधिहरूको एडिक्ट भैसकेको छ | हरेक दिन हाम्रो शरीर प्राकृतिक जगतबाट टाढाटाढा जाँदैछ | स-साना रोगहरूले ठूलो संसाधनको मांग गर्न थालेको छ | जतिजति देश विकसित हुँदैछन्, गरीवहरूका लागि विश्व असुरक्षित वन्दैछ | रोगबाट जनतालाई जोगाउने कि भोकबाट करोनाले भयङ्कर द्विविधा निम्त्याएको छ |

यो महामारीले हुँदा खाने र हुने खाने बीचको खाडल उदाङ्गो पारिदिएको छ | विगतका महामारीहरूमा हुँदा खानेहरू बढी मारमा पर्थे भने ठीक एसको उल्टो एस पटकको महामारीले "हुनेखाने"लाई समातेको छ | हुँदा खानेहरूको तुलनामा हुनेखानेहरू मरेका छन् र पिरोलिएका छन् | कारण प्रस्ट छ, प्राकृतिक प्रणालीमा सबैभन्दा हस्तक्षेप गर्नेहरू "हुनेखाने" नै हुन् "हुँदाखाने"संग तेस्तो क्षमता र आवस्यकता नै छैन |

आज पनि नेपाल "हुँदा खाने" श्रेणीमा पर्छ | तेसैले आज पनि हामी नेपालीहरूसंग ती प्राचीन स्वास्थ्य सुरक्षाका प्रणालीहरू विद्यमान छन् जसको प्राकृतिक प्रयोग आज पनि भइरहेको छ | आधुनिक औषधिहरूको तुलनामा प्राकृतिक औषधि (आयुर्वेद तथा परम्परागत जडीबुटी) प्रयोग गरेर साधारण रोगहरू निको बनाउनेतिर प्रोत्साहन गर्नुपर्छ | 

आधुनिक चिकित्सा मान्छेको लागि वरदान हो तर यो समाज सेवा होइन ब्यापार पनि हो | व्यापारीहरूले औषधि बेचेर-निर्माण गरेर पैसा कमाउने हो, सेवा गर्ने होइन | आयुर्वेदसंग एस्तो समस्या छैन किनभने हाम्रै घरवारीमा ती उपलब्ध छन् - ज्ञान भए पुग्छ | एमडीको डिग्री चाहिन्न | सामान्य ज्ञानले काम चल्ने ठाउँमा डिग्रीको भारी बोकाउनु हुँदैन तर डिग्रीचाहिं चाहिन्छ नै | 

यो महामारीपछि पश्चिमाहरूले प्राकृतिक चिकित्सा सहित प्राकृतिक जीवनशैलीबाट प्राप्त हुने प्राकृतिक इम्युन-सिस्टमतिर फर्कने निश्चित देखिन्छ | यो अवस्थालाई हाम्रो सरकारले बुझेर त्यसअनुसारको आयुर्वेद-विज्ञानको विकासतिर ध्यान दिनु आवश्यक छ |

५० वर्ष अगाडीसम्म थारूजातिमा रहेको मलेरिया विरुद्ध लड्न-सक्ने इम्युन-प्रणाली आज नष्ट भएको छ भने दोष औषधि-व्यापारी र प्रकृतिमा भन्दा बनाबटी औषधिको प्रयोगमा जोड दिने राजकीय नीति तेसको लागि जिम्मेदार छ | आफ्नो नाइटोमा कस्तुरी बोकेर हिड्ने र तेसको उपयोग गर्न नजान्ने अवस्था र व्यबस्थाको तिलान्जली दिने यो उचित अवसर हो भन्ने हामीले बुझ्नु र बुझाउनु पर्छ | 

आहार, निद्रा तथा काम (यौन पनि)को उचित व्यबस्थापन गर्ने सके मान्छेले आफ्नो भाग्यलाई समेत जितेर १०० वर्ष बाँच्न सक्छ भन्ने चरक ऋषिको कथनलाई स्मरण गर्दै करोना विरुद्ध हाम्रो सक्रियता जस्ताको तस्तै रहोस् भन्ने विश्वास गर्छु |

Monday, April 6, 2020

कोभिड-१९ र हाम्रो मन

कोभिड-१९ र हाम्रो मन 
(एक)

हिजो विहान ७:३० बजे तरकारीको पसलमा एकजना भाई गफिदै थिए - आफुलाई त कोभिड-१९ को फिटिक्कै डर लाग्दैन | मैले त केही वारेको छैन, सेनिटाजर, मास्क, हातधुने कुरा सबै वेकार हुन् | एतिबिध्न धुलोधुवा पचाउने नेपालीलाई कोभिड-१९ ले छुनै सक्दैन |

उनलाई फिटिक्कै डर लाग्दैन | इनको नजरमा नियम पालन गर्नेहरू मूर्ख हुन् |

(दुई)

मेरो छिमेकमा ५० बर्षे कर्मचारीको घर छ | वेलुका वेलुका म छोरासंग आफ्नै कम्पाउण्ड भित्र बेडम्यांटन खेल्छौं | ककले कुरा बुझ्दैन, उनको घरको बाल्कोनी वा आँगनमा खस्छ | उनि एतिबिध्न डराउँछन् कि मानौं ककसंग करोना उडेर उनको घरमा आक्रमण गर्दैछ | उनी लकडाउनपछि घरबाट आँगनमा झारेको मलाई वा उनकी श्रीमती अर्थात् भाउजूलाई पनि याद छैन | छोराछोरीले उनको धेरै पटक गाली खाइसकेका छन् |

उनी असाध्यै डराएका छन् | सपनामा समेत करोनाले मान्छेहरू मरेको देख्छन् |

------------------------------

डर मान्छेमा प्राकृतिक रूपले पाइने एउटा महत्वपूर्ण मानसिक संवेग हो जसले आवश्यता परेको वेलामा आत्मरक्षा गर्न सहयोग गर्छ | तेस्तै निडरता पनि एउटा मानसिक संवेदना हो जसले आत्मविश्वासको प्रदर्शन गरेर संसारसंग कुम जोरेर व्यबहार गर्न मदत गर्छ |

करोनाले विश्वलाई आक्रान्त परिरहेको वखतमा "मलाई फिटिक्कै डर लाग्दैन" भन्ने मान्छे (१) मानसिक समस्या ग्रस्त हुन सक्छ |

तेस्तै, हरेक पल करोनाको डरले त्रसित, भयग्रस्त तथा अव्यहारिक जीवन यापन गर्ने, आफैलाई असाधारण रूपमा भित्र लक गर्ने (२) मान्छे पनि मानसिक समस्यामा छ भनेर बुझ्नुपर्छ |

डराउनु पर्ने अवस्थामा कत्ति पनि नडराउने, डराउँन नपर्ने परिस्थितिमा डराउँने तथा सावधानी अपनाउनु पर्ने परिवेशमा एकदमै डराउने/नडराउने मान्छेको मन समस्याग्रस्त छ भनेर बुझ्नु वेश हुन्छ |


विश्व कोभिड-१९ संग त्रसित छ र आफ्नो र अर्कोको जीवन रक्षाका लागि सावधानी अपनाउने क्रममा मनमा केही डर-त्रास छ भने तपाईंको मानसिक स्वास्थ्य ठीक छ |

विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा यदि तपाईं

(१) जथाभावी खुला हिड्नु हुन्छ

(२)अरूले नआएको सावधानिलाई "नाटक" ठान्नु हुन्छ

(३) नगर्ने भनिएका काम गर्न रमाइलो लाग्छ

(४) अरूले नियम पालन गरेको देखेर दिक्क लाग्छ

(५) औषधि-उपचार गर्न/गराउन मन लाग्दैन

(६) विज्ञले भनेका निर्देशनहरू भन्दा फेसबुकका भनाई ठीक लाग्छन् |

(७) रातरात भरि जागेर सरकार र समाजले करोनाबाट लड्न दिएका निर्देशनहरू कसरी तोड्न सकिन्छ भन्ने उपायहरू खोज्न व्यस्त हुनुहुन्छ

(८) सम्झाउने/ बुझाउन खोज्नेहरू शत्रुझैं लाग्छन्

...भने तपाईंले तुरुत्न मनोबैज्ञानिक परामर्शदाताको सहयोग लिनुपर्छ अथवा मनोचिकित्सकसंग भेट्नुपर्छ |


विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा यदि तपाईं

(१) हरेक वखत करोनाबाट डर लागि रहन्छ

(२) हरेक बस्तु र मान्छेलाई करोना संक्रमित भएको विश्वासले आक्रान्त गरिरहन्छ

(३) हरेक पल इन्टरनेटमा गएर करोनको समाचार हेर्नु हुन्छ र एकैछिन नेट गयो भने समाचार हेर्न नपाएको झर्को लाग्छ वा दिक्क लाग्छ |

(४) हरेक मान्छे तथा वस्तुलाई करोना-वाहकका रूपमा देख्ने, बुझ्ने र डराउने वानी विकास भएको छ

(५) निन्द्रा पर्दैन वा परे पनि करोना सम्बन्धि सपना देख्नुहुन्छ वा डर लाग्दा सपना देख्नुहुन्छ

(६) सुरक्षितरूपमा घरपरिवारमा वस्दा पनि आफु निकै असुरक्षित भएको अनुभव हुन्छ

(७) संसार नै वेकार, निरर्थक र सारहिन ठान्ने र अरू भन्दा निकै फरक जीवनशैली विकसित भएको छ

(८) जीवनप्रति माया लाग्न छोडेको छ

(९) क्षणक्षणमा मुड-परिवर्तन भैरहन्छ

(१०) कसैसंग कुरा गर्न, रमाइलो गर्न फिटिक्कै मन लाग्दैन

(११) रक्सी बढी खान मन लाग्ने र नसालु पदार्थले करोना जित्न सकिन्छ भन्नेमा विश्वास लाग्ने

.भने तपाईंले तुरुत्न मनोबैज्ञानिक परामर्शदाताको सहयोग लिनुपर्छ अथवा मनोचिकित्सकसंग भेट्नुपर्छ |

उपरोक्त दुवैखाले ब्यबहार मानोविकारका सूचक वा इन्डिकेटर हुनसक्छन् | दूवै अवस्थामा तपाईंलाई परिवारका सदस्यसहित मनोविज्ञको सहयोग आवश्यता परेको छ |


विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा यदि तपाईंको दैनिक व्यबहार

(१) करोना एउटा वैश्विक महामारी हो भन्ने ठानेर स्वाभाविक रूपमा सावधानी अपनाउनु भएको छ

(२) वाहिरबाट आउने वस्तु वा मान्छेसंग सावधानिपूर्वक व्यबहार गर्नुहुन्छ

(३) सरकार तथा विज्ञहरूले दिएका निर्देशनप्रति विश्वास गरेर अरूलाई पनि तिनको पालन गर्न आग्रह गर्नुहुन्छ

(४) दैनिक एक अथवा दुईपटक करोना सम्वन्धित समाचार वारे अपडेट हुनुहुन्छ

(५) मनमा करोना प्रति अलिअलि त्रास पनि छ तर एसउपर मान्छेले विजय प्राप्त गर्ने छ भन्ने आत्मविश्वास छ

(६) घरपरिवारसंग रमाइलो गरिरहनु भएको छ, निन्द्रा राम्रै छ, भोक पनि सामान्य नै छ

(७) एकान्तमा वस्नु पर्दा आफन्तलाई मिस गर्नुभएकोमा नराम्रो लागि रहेको छ

(८) करोनाले [पार्ने सक्ने नकारात्मक असरवारे केही चिन्तित हुनुहुन्छ

(९) रुघाखोकी वा ज्वरो आउँदा डर लाग्छ तर हरेक रोग करोना हुँदैनन् भन्ने आत्मविश्वास छ

(१०) अरू रोगझैं करोना पनि एउटा रोग हो भन्ने आत्मविश्वास छ तर यो अरू भन्दा ज्यानमारा छ भन्ने चेतना छ

(११) अविश्वासमा भन्दा आशामा विश्वास छ, करोनाबाट सर्वसाधारण जनतालाई सुरक्षित गर्न खटिरहनु भएका अधिकारी तथा डाक्टर-नर्सहरूको आत्मविश्वास बढाउने काममा सक्रिय हुनुहुन्छ |

(१२) तपाईंलाई करोनाले संक्रमण गरिसकेको छ तर तपाईं चिकित्सकको सल्लाहअनुसार उपचार गराउंदै हुनुहुन्छ

......भने बधाई छ, तपाईं मानसिक रूपमा अरूझैं स्वास्थ्य व्यक्ति हुनुहुन्छ |


अतिआत्म विश्वास हुँदैमा करोनाको डरलाग्दो स्वभावलाई जित्न सकिन्न | एकदम डराएर घरब्यबहार र आफ्नो स्वाभाविक दैनिकीमा ९० डिग्री परिवर्तन गर्दैमा करोना भाग्दैन |

तेसैले अति डर र अति आत्मविश्वास दूवै मानसिक समस्याका लक्षण हुनसक्छन् | तेसैले एउटा सामान्य मान्छे बन्ने प्रयत्न गरौँ |


विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा तपाईंले

(१) परिस्थितिअनुसार उपलब्ध साधनको प्रयोग गरेर रमाइलो गर्नुपर्छ |

(२) दैनिक योग-साधना, ध्यान, प्राणायाम, आध्यात्मिक साधना,

(३) परिवारसंग चलचित्र, परिवारसंग खाना पकाउने र खाने, चित्र-बनाउने,

(४) गीत गाउँने, नृत्य गर्ने, चुटकुलाहरू भन्ने सुन्ने, घरभित्र खेल्नमिल्ने खेलहरू खेल्ने,

(५) कथा-नियात्रा आदि लेख्ने सुनाउने,

(५) सामाजिक संजालप्रयोग गरेर आफन्तसंग सम्पर्कमा रहने,

(६) मिल्न सक्नेसम्म आवश्यकता परेका मान्छेहरूको सहयोग गर्ने

(७) तपाईं वा तपाईंका आफन्त सङ्क्रमित हुनुभएको छ भने चिकित्सकको सल्लाहअनुसार गर्ने गराउने

(८) संक्रमणबाट जोगिन सम्बन्धित निकायले निर्धारित गरेका नियमहरू पालन गर्ने

याद राखौं. हामी विश्वभरिका साडेसात अरव मान्छेहरू मध्ये एउटा हौँ जुन करोनालाई जित्न प्रयत्नशील छौँ | हाम्रो सावधानीपूर्ण व्यबहार र आत्मविश्वासले हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सकारात्मक बाटोमा हिड्न मदत गर्ने छ | हाम्रो सकारात्मक व्यबहार देखेर, सुनेर हाम्रा छिमेकी पनि सकारात्मक व्यवहारका लागि अभिप्रेरित हुनुपर्छ |

अन्त्यमा, सावधानी र आत्मविश्वासका साथ आफैसंग र अरूसंग उत्तरदायी बनेर अगाडी बढौं | हामीले जित्ने छौँ | हाम्रो आत्मविश्वास र सावधानीले करोना हार्ने छ, मान्छेले जित्ने छ | 

सर्वाधिकार लेखकमा

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...