Monday, April 6, 2020

कोभिड-१९ र हाम्रो मन

कोभिड-१९ र हाम्रो मन 
(एक)

हिजो विहान ७:३० बजे तरकारीको पसलमा एकजना भाई गफिदै थिए - आफुलाई त कोभिड-१९ को फिटिक्कै डर लाग्दैन | मैले त केही वारेको छैन, सेनिटाजर, मास्क, हातधुने कुरा सबै वेकार हुन् | एतिबिध्न धुलोधुवा पचाउने नेपालीलाई कोभिड-१९ ले छुनै सक्दैन |

उनलाई फिटिक्कै डर लाग्दैन | इनको नजरमा नियम पालन गर्नेहरू मूर्ख हुन् |

(दुई)

मेरो छिमेकमा ५० बर्षे कर्मचारीको घर छ | वेलुका वेलुका म छोरासंग आफ्नै कम्पाउण्ड भित्र बेडम्यांटन खेल्छौं | ककले कुरा बुझ्दैन, उनको घरको बाल्कोनी वा आँगनमा खस्छ | उनि एतिबिध्न डराउँछन् कि मानौं ककसंग करोना उडेर उनको घरमा आक्रमण गर्दैछ | उनी लकडाउनपछि घरबाट आँगनमा झारेको मलाई वा उनकी श्रीमती अर्थात् भाउजूलाई पनि याद छैन | छोराछोरीले उनको धेरै पटक गाली खाइसकेका छन् |

उनी असाध्यै डराएका छन् | सपनामा समेत करोनाले मान्छेहरू मरेको देख्छन् |

------------------------------

डर मान्छेमा प्राकृतिक रूपले पाइने एउटा महत्वपूर्ण मानसिक संवेग हो जसले आवश्यता परेको वेलामा आत्मरक्षा गर्न सहयोग गर्छ | तेस्तै निडरता पनि एउटा मानसिक संवेदना हो जसले आत्मविश्वासको प्रदर्शन गरेर संसारसंग कुम जोरेर व्यबहार गर्न मदत गर्छ |

करोनाले विश्वलाई आक्रान्त परिरहेको वखतमा "मलाई फिटिक्कै डर लाग्दैन" भन्ने मान्छे (१) मानसिक समस्या ग्रस्त हुन सक्छ |

तेस्तै, हरेक पल करोनाको डरले त्रसित, भयग्रस्त तथा अव्यहारिक जीवन यापन गर्ने, आफैलाई असाधारण रूपमा भित्र लक गर्ने (२) मान्छे पनि मानसिक समस्यामा छ भनेर बुझ्नुपर्छ |

डराउनु पर्ने अवस्थामा कत्ति पनि नडराउने, डराउँन नपर्ने परिस्थितिमा डराउँने तथा सावधानी अपनाउनु पर्ने परिवेशमा एकदमै डराउने/नडराउने मान्छेको मन समस्याग्रस्त छ भनेर बुझ्नु वेश हुन्छ |


विश्व कोभिड-१९ संग त्रसित छ र आफ्नो र अर्कोको जीवन रक्षाका लागि सावधानी अपनाउने क्रममा मनमा केही डर-त्रास छ भने तपाईंको मानसिक स्वास्थ्य ठीक छ |

विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा यदि तपाईं

(१) जथाभावी खुला हिड्नु हुन्छ

(२)अरूले नआएको सावधानिलाई "नाटक" ठान्नु हुन्छ

(३) नगर्ने भनिएका काम गर्न रमाइलो लाग्छ

(४) अरूले नियम पालन गरेको देखेर दिक्क लाग्छ

(५) औषधि-उपचार गर्न/गराउन मन लाग्दैन

(६) विज्ञले भनेका निर्देशनहरू भन्दा फेसबुकका भनाई ठीक लाग्छन् |

(७) रातरात भरि जागेर सरकार र समाजले करोनाबाट लड्न दिएका निर्देशनहरू कसरी तोड्न सकिन्छ भन्ने उपायहरू खोज्न व्यस्त हुनुहुन्छ

(८) सम्झाउने/ बुझाउन खोज्नेहरू शत्रुझैं लाग्छन्

...भने तपाईंले तुरुत्न मनोबैज्ञानिक परामर्शदाताको सहयोग लिनुपर्छ अथवा मनोचिकित्सकसंग भेट्नुपर्छ |


विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा यदि तपाईं

(१) हरेक वखत करोनाबाट डर लागि रहन्छ

(२) हरेक बस्तु र मान्छेलाई करोना संक्रमित भएको विश्वासले आक्रान्त गरिरहन्छ

(३) हरेक पल इन्टरनेटमा गएर करोनको समाचार हेर्नु हुन्छ र एकैछिन नेट गयो भने समाचार हेर्न नपाएको झर्को लाग्छ वा दिक्क लाग्छ |

(४) हरेक मान्छे तथा वस्तुलाई करोना-वाहकका रूपमा देख्ने, बुझ्ने र डराउने वानी विकास भएको छ

(५) निन्द्रा पर्दैन वा परे पनि करोना सम्बन्धि सपना देख्नुहुन्छ वा डर लाग्दा सपना देख्नुहुन्छ

(६) सुरक्षितरूपमा घरपरिवारमा वस्दा पनि आफु निकै असुरक्षित भएको अनुभव हुन्छ

(७) संसार नै वेकार, निरर्थक र सारहिन ठान्ने र अरू भन्दा निकै फरक जीवनशैली विकसित भएको छ

(८) जीवनप्रति माया लाग्न छोडेको छ

(९) क्षणक्षणमा मुड-परिवर्तन भैरहन्छ

(१०) कसैसंग कुरा गर्न, रमाइलो गर्न फिटिक्कै मन लाग्दैन

(११) रक्सी बढी खान मन लाग्ने र नसालु पदार्थले करोना जित्न सकिन्छ भन्नेमा विश्वास लाग्ने

.भने तपाईंले तुरुत्न मनोबैज्ञानिक परामर्शदाताको सहयोग लिनुपर्छ अथवा मनोचिकित्सकसंग भेट्नुपर्छ |

उपरोक्त दुवैखाले ब्यबहार मानोविकारका सूचक वा इन्डिकेटर हुनसक्छन् | दूवै अवस्थामा तपाईंलाई परिवारका सदस्यसहित मनोविज्ञको सहयोग आवश्यता परेको छ |


विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा यदि तपाईंको दैनिक व्यबहार

(१) करोना एउटा वैश्विक महामारी हो भन्ने ठानेर स्वाभाविक रूपमा सावधानी अपनाउनु भएको छ

(२) वाहिरबाट आउने वस्तु वा मान्छेसंग सावधानिपूर्वक व्यबहार गर्नुहुन्छ

(३) सरकार तथा विज्ञहरूले दिएका निर्देशनप्रति विश्वास गरेर अरूलाई पनि तिनको पालन गर्न आग्रह गर्नुहुन्छ

(४) दैनिक एक अथवा दुईपटक करोना सम्वन्धित समाचार वारे अपडेट हुनुहुन्छ

(५) मनमा करोना प्रति अलिअलि त्रास पनि छ तर एसउपर मान्छेले विजय प्राप्त गर्ने छ भन्ने आत्मविश्वास छ

(६) घरपरिवारसंग रमाइलो गरिरहनु भएको छ, निन्द्रा राम्रै छ, भोक पनि सामान्य नै छ

(७) एकान्तमा वस्नु पर्दा आफन्तलाई मिस गर्नुभएकोमा नराम्रो लागि रहेको छ

(८) करोनाले [पार्ने सक्ने नकारात्मक असरवारे केही चिन्तित हुनुहुन्छ

(९) रुघाखोकी वा ज्वरो आउँदा डर लाग्छ तर हरेक रोग करोना हुँदैनन् भन्ने आत्मविश्वास छ

(१०) अरू रोगझैं करोना पनि एउटा रोग हो भन्ने आत्मविश्वास छ तर यो अरू भन्दा ज्यानमारा छ भन्ने चेतना छ

(११) अविश्वासमा भन्दा आशामा विश्वास छ, करोनाबाट सर्वसाधारण जनतालाई सुरक्षित गर्न खटिरहनु भएका अधिकारी तथा डाक्टर-नर्सहरूको आत्मविश्वास बढाउने काममा सक्रिय हुनुहुन्छ |

(१२) तपाईंलाई करोनाले संक्रमण गरिसकेको छ तर तपाईं चिकित्सकको सल्लाहअनुसार उपचार गराउंदै हुनुहुन्छ

......भने बधाई छ, तपाईं मानसिक रूपमा अरूझैं स्वास्थ्य व्यक्ति हुनुहुन्छ |


अतिआत्म विश्वास हुँदैमा करोनाको डरलाग्दो स्वभावलाई जित्न सकिन्न | एकदम डराएर घरब्यबहार र आफ्नो स्वाभाविक दैनिकीमा ९० डिग्री परिवर्तन गर्दैमा करोना भाग्दैन |

तेसैले अति डर र अति आत्मविश्वास दूवै मानसिक समस्याका लक्षण हुनसक्छन् | तेसैले एउटा सामान्य मान्छे बन्ने प्रयत्न गरौँ |


विश्वले कोभिड-१९ संग सङ्घर्ष गरिरहेको वखतमा तपाईंले

(१) परिस्थितिअनुसार उपलब्ध साधनको प्रयोग गरेर रमाइलो गर्नुपर्छ |

(२) दैनिक योग-साधना, ध्यान, प्राणायाम, आध्यात्मिक साधना,

(३) परिवारसंग चलचित्र, परिवारसंग खाना पकाउने र खाने, चित्र-बनाउने,

(४) गीत गाउँने, नृत्य गर्ने, चुटकुलाहरू भन्ने सुन्ने, घरभित्र खेल्नमिल्ने खेलहरू खेल्ने,

(५) कथा-नियात्रा आदि लेख्ने सुनाउने,

(५) सामाजिक संजालप्रयोग गरेर आफन्तसंग सम्पर्कमा रहने,

(६) मिल्न सक्नेसम्म आवश्यकता परेका मान्छेहरूको सहयोग गर्ने

(७) तपाईं वा तपाईंका आफन्त सङ्क्रमित हुनुभएको छ भने चिकित्सकको सल्लाहअनुसार गर्ने गराउने

(८) संक्रमणबाट जोगिन सम्बन्धित निकायले निर्धारित गरेका नियमहरू पालन गर्ने

याद राखौं. हामी विश्वभरिका साडेसात अरव मान्छेहरू मध्ये एउटा हौँ जुन करोनालाई जित्न प्रयत्नशील छौँ | हाम्रो सावधानीपूर्ण व्यबहार र आत्मविश्वासले हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सकारात्मक बाटोमा हिड्न मदत गर्ने छ | हाम्रो सकारात्मक व्यबहार देखेर, सुनेर हाम्रा छिमेकी पनि सकारात्मक व्यवहारका लागि अभिप्रेरित हुनुपर्छ |

अन्त्यमा, सावधानी र आत्मविश्वासका साथ आफैसंग र अरूसंग उत्तरदायी बनेर अगाडी बढौं | हामीले जित्ने छौँ | हाम्रो आत्मविश्वास र सावधानीले करोना हार्ने छ, मान्छेले जित्ने छ | 

सर्वाधिकार लेखकमा

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...