Tuesday, September 17, 2019

श्रद्धा र श्राद्ध !

श्रद्धा र श्राद्ध !
आफ्ना पूर्खाको सम्झना गर्ने परम्परा विश्वभरी नै छ | आ-आफ्नो संस्कृति तथा परम्पराअनुसार पुर्खाहरूलाई सबैले स्मरण गर्छन् | तर पूर्खाहरूको लागि नै भनेर वर्षका १५ दिनहरू छुट्याउने हिन्दू संस्कार अदभूत छ | हामीले आफ्नो संस्कार र संस्कृतिमा गर्व गर्नुपर्छ | मैले त गर्व गर्छु | अहिले सोह्रश्राद्ध चलिरहेको छ | नेपालमात्र होइन विश्वभरीका हिन्दू सनातन धर्मीहरूले पितृहरूको स्मरण गरिरहेका छन् | आ-आफ्नो परम्पराअनुसार कर्मका भेद भए पनि मर्ममा कुनै मतभेद छैन |
Dr. Govinda 

जन्म जीवनको आरम्भ हो भने मरण तेसको अन्त्य | तर पुस्तान्तरणका लागि हरेक दम्पतिले जन्म दिनुपर्छ | जन्मदिने दम्पती नै मातापिता हुन्छन् | हरेक मान्छेको शरीर निजका मातापिताको शरीरको अंश हो | मैले मेरो शरीरका लागि आफ्ना मातापितालाई धन्यवाद दिनुपर्छ | 

मातापिताको जीवनकाल हामी आमावुवा दिवस मनाएर जीवनको लागि धन्यवाद दिन्छौं भने उहाँहरूको मृत्युपछि "श्राद्ध" गरेर पितृऋणबाट मुक्त हुने प्रयत्न गर्छौं | वैदिक परम्परामा दिवंगत मातापितालाई सम्झन र तिनको सम्मान गर्न केही "विधि-विधान" स्थापित गरिएका छन्, तिनको नियमपूर्वक सम्पादन गर्नुनै श्राद्ध हो | हरेक व्यक्तिले सकेसम्म पूर्ण र सकिन्न भने संक्षेपमा भए पनि महालय श्राद्ध गर्नुपर्छ |

वास्तवमा श्राद्ध र श्रद्धा एकै सिक्काका दुईवटा पाटा हुन् | श्रद्धा मानसिक हुन्छ भने श्राद्ध मानसिक तथा क्रियात्मक दूवै हुन्छ | श्रद्धाको क्रियात्मक रूप कर्मकाण्डका रूपमा प्रकट हुन्छ | एस्तो कर्मकाण्डले मन, शरीर र क्रिया तीनै माध्यमबाट आफ्ना पितृहरूलाई सम्मान गर्न मदत गर्छ | 

वेदी बनाउने, पिण्ड पकाउने, एक पटक भोजन गर्ने, तर्पण गर्ने, ब्राहमण भोजन गराउने, दान दिनेजस्ता कर्मकाण्डहरूलाई संस्कार भनिन्छ | यी कर्मकाण्डहरूले हामीलाई (श्राद्ध गर्नेलाई) आफ्ना पितृहरूसंग मानसिक, बचासिक तथा क्रियात्मकरुपमै जोड्न मदत गर्छ | तैभएर एस्ता कर्महरू गर्नु/गराउनुपर्छ | शरीर दिने पितृहरूलाई श्राद्ध दिने कामलाई महत्व नदिनेहरू स्वार्थी हुन् | श्राद्ध नगर्नेले नगरुन्, कुनै कर छैन | तर गर्नेहरूलाई अपमानित गरेर आफुलाई प्रगतिशील र आधुनिक ठान्नेहरू कृतघ्न हुन् | 

अहिले "सोह्रश्राद्ध" चलिरहेको छ | आफ्ना आफ्ना पितृहरूको सम्मान र सम्झना गर्दै गर्नेहरूले श्राद्ध गरिरहेका छन् | एस्तो विधिलाई महालय श्राद्ध भनिन्छ | ऋषिमुनिहरूलाई धन्यवाद दिनुपर्छ कि महालय श्राद्धको समयमा अन्य कर्मकाण्डहरू स्थगित राखिएका छन् | एसको उदेश्य "एकाग्र र एकमना रूपले हरेक व्यक्तिले आफ्ना पितृहरूप्रति श्रद्धा व्यक्त गर्न सकोस्" भन्ने नै हो एस्तो अवसरलाई सोही रूपमा उपयोग गर्नुनै शास्त्रको मर्यादा स्वीकार्नु हो | शास्त्र पनि मान्छु भन्ने तर ब्यबहार तिनको पालना नगर्नेहरू पाखण्डी भनिन्छन् | पाखण्डले धर्मको असली स्वरूप छोपिन्छ |

दार्शनिक रूपमा आफ्ना पूर्खाहरूसंग एकात्मकता स्थापित गर्ने, मनोबैज्ञानिक रूपमा आफ्ना पूर्खाहरूसंग जोडिएर आत्मसन्तुष्टि प्राप्त गर्ने, सामाजिक रूपमा परिवारसंग पुनर्मिलन गर्ने र सांस्कृतिक रूपमा संस्कारको पुस्तान्तरण गर्ने यो महान् परम्पराप्रति हामीले गर्व गर्नुपर्छ |

अन्त्यमा, आजभोलिको युवापुस्तालाई तथाकथित "वैज्ञानिक तथा प्रगतिशील शिक्षा पद्धतिले" दिग्भ्रमित बनाएको छ र आफ्ना संस्कारहरूलाई "अन्धविश्वास"का रूपमा चिन्हित गर्न प्रेरित गरेको छ | तेसैले श्राद्धजस्ता सांस्कृतिक तथा धार्मिक संस्कारहरू सम्पन्न गर्दा आफ्ना युवा "छोराछोरी, नातिनातिना"लाई अवश्य र अनिवार्य सहभागी बनाउने प्रयत्न गरौँ | यदि परीक्षाजस्तो अनिवार्यता छैन भने छुट्टी लिएर पनि संस्कार देखाउनु र सिकाउनुपर्छ |


मैले आफ्ना पिताजीलाई सप्तमिका दिनविधिपूर्वक श्रद्धाञ्जली दिने छु | ॐ पितृदेवो भव:

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...