Wednesday, March 29, 2017

प्रथम नेपाली दार्शनिक महर्षि कपिल

प्रथम नेपाली दार्शनिक महर्षि कपि
महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन्मको प्रसंगमा जुन प्राकृतिक परिवेशको वर्णन भएको छ त्यस्तो परिवेश पहाड र तराईको संगमस्थलमा मात्र सम्भव हुन्छ |

महर्षि कपिल सांख्यदर्शनका प्रणेता हुन् | आफ्ना पिताले संन्यास ग्रहण गरेपछि कपिलले आफ्नी आमा देवहुतिका लागि सांख्यदर्शनको वर्णन गरेका हुन् | नेपाली समाजमा आमावुवाहरूले आफ्नो विद्वान छोराहरूलाई चौकामा बसालेर श्रीमद्भागवतको कथा सुन्ने परम्परा आज पनि विद्यमान छ | देवहुतिले कपिलवाट सांख्यदर्शनको उपदेश सुन्नुले नेपाली समाजको प्रतिनिधित्व गर्छ |

आजभोली बुद्धसंग जोडेर लुम्विनी तथा कपिलवस्तुको निकै चर्चा हुने गरेको छ | नेपाली विद्वानहरू र राजनैतिक दरिद्रताका कारण कपिलवस्तु र बुद्धको चर्चा गर्दा कपिलको चर्चा नगरिनु दूर्भाग्य हो | जवकि बुद्ध आफैले पनि उपदेशका सन्दर्भमा सांख्य-चिन्तन परम्पराको आदरपुर्वक नाम लिएका छन् |

महर्षि कपिलको दार्शनिक चिन्तन बस्तुवादी, बहुतत्ववादी, विकासवादी, सत्कार्यवादी तथा दुख उन्मुक्तिको उदेश्यसंग विस्तारित भएको छ | चेतन साक्षीका रूपमा ईश्वरको अस्तित्व स्वीकार गरिए तापनि विकास र लय प्रक्रियामा ईश्वरको कुनै आवस्यकता देखिन्न | यही भएर होला, सांख्यकारिकाका लेखक ईश्वर कृष्ण (ई.पू. २००) सांख्य प्रक्रियामा ईश्वरको कल्पना नै असान्दर्भिक भएकोले त्यसको अस्तित्व नै अस्वीकार गरेका छन् | सांख्यकारिका महर्षि कपिलको कृति सांख्य सूत्रको भाष्य हो |  

बहुतत्ववादी सांख्यदर्शनको प्रभाव त्यसपछिका समस्त दार्शनिक धाराहरूमा देखिन्छ | आचार्य शङ्कर, रामानुज, निम्वार्कआदि वेदान्ती, बौद्ध, न्यायिक, मीमांसा तथा अन्य प्रचलित तथा लुप्तप्राय (पाशुपत दर्शन, शाक्त दर्शन) भक्तिधाराआदिमा प्रसस्त परेको छ |   

महर्षि कपिलले संसारको ब्याख्या गर्दै यसलाई प्राकृतिक तत्वहरूको विकासका रूपमा पहिचान गरेका छन् | उनका अनुसार सम्पूर्ण संसारको विकास २३ बटा तत्वहरूले भएको हो जसमा पांचबाट मौलिक द्रब्य छन् भने बाँकि १८ बटा मानसिक तत्व हुन् | प्रकृति, महत्, अहंकार, पन्च ज्ञानेन्द्रीय, पन्च तन्मात्र, पन्च महाभूत तथा पन्च कर्मेन्द्रीय नै संसार हो | सत्व, रज र तमोगुणको आन्तरिक सङ्घर्षले विकासको आरम्भ हुन्छ | सत्व, रज र तमोगुण संघर्षहिन अवस्था नै प्रकृति हो |

मान्छेको व्यक्तित्व, उसको ब्यबहार तथा सोच सत्व, रज र तमोगुणहरूको मात्रात्मक संघर्षले निर्मित हुन्छ | उदाहरणका लागि तमोगुणको प्रधानता भएको मान्छेको व्यक्तित्व पापी हुन्छ, बासी तथा सामाजिकरुपले निन्दित गरेका खानेकुरामा रुची हुन्छ |

प्रकृतिको विकास उदेश्यरहित छैन | प्रकृतिको विकास चेतनाको सन्तोषका लागि हुन्छ | असलमा, मानिसमा रहेको चेतनाले अनादि ईश्वरको प्रतिनिधित्व गर्छ | आत्माले मनुष्यको शरीरमा रहेर साक्षीका रूपमा प्राकृतिक घटनाहरूको उपभोग गर्छ |

महर्षि कपिलका अनुसार शुद्ध चेतना प्रकृतिको संसर्गमा परेर प्राकृतिक विषयहरू काम, क्रोध, लोभ. मोहआदिमा बाँधिदै जान्छ | एस्तो बन्धनले चेतनामा सुखदेखको वेदना जन्माउछ | तर सुखको वेदना भन्दा चेतनालाई दुखको वेदनाले अधिक प्रभावित पार्छ |

महर्षि कपिल संसारका पहिलो मनोवैज्ञानिक पनि हुन् | युरोपेली विद्वान् ...मनका तीनबटा स्तर : अचेतन, अर्धचेतन तथा चेतनाको ब्याख्या गरेको ३००० हजार वर्षपहिले नै कपिले आध्यात्मिक, मानसिक र शारीरिक दुखका विषयमा वर्णन गरेका थिए | मानसिकरूपमा उत्पन्न हुने वेदनाहरू आध्यात्मिक दुख हुन् | दैव वा भैपरी आउने दुखहरू देवी हुन्छन् र यी दुवै र प्राकृतिक कारणले उत्पन्न हुने दुखहरू शारीरिक हुन्छ | आजका मनोवैज्ञानिकहरूले खोज गरेझैं (मास्लो) चेतनाका विभिन्नस्तर अनुसार सुख र दुखको अनुभूति पनि वेग्लै हुन्छ |

मान्छेको लक्ष प्राकृतिक बन्धनबाट (सुख तथा दुख) मुक्ति प्राप्त गर्नु हो | सत्व, रजस तथा तामसी प्रकृतिको रमझमबाट मुक्ति प्राप्त गर्नका लागि प्रकृतिको विकास तथा प्रलयको विषयमा तत्थ्यात्म्क ज्ञान हुनुपर्छ | प्रकृतिको विकास तथा प्रलय दुवै भैनै रहन्छन् | यस्तो विकासले कुनै पनि अस्तित्वको लोप हुँदैन तर रुपान्तरण हुन्छ | आजको विज्ञानले भनेझैं विकास प्रकृतिको सदपरिणाम हो | कुनै पनि बस्तु शून्यबाट उत्पन्न हुँदैन |

महर्षि कपिल विश्वका प्रथम बैज्ञानिक हुन् जसले विश्वको विकासवादी ब्याख्या प्रस्तुत गरेका झन् | यिनका अनुसार कुनै पनि बस्तुको विकास हुनु र लोप हुनु प्राकृतिक कुरा हो | कुनै पनि बस्तुको अस्तित्व सधैंका लागि शून्य हुनै सक्दैन | रुपान्तरणलाई शून्यता ठान्नु अनुचित हो |   


हुन त कुनै पनि प्राचीन ऋषिमुनि वा विचारकहरूलाई नेपाली वा भारतीय भन्नु उनको अवमूल्यन हो तर भारतीय विद्वान र भारतबाट प्रभावित अन्य विद्वानहरूले “भारतीय अथवा इन्डियन” शब्द प्रयोग गरिरहेको सन्दर्भमा वर्तमान राजनैतिक नेपालभित्र जन्मेका प्राचीन विचारकहरूलाई “नेपाली दार्शनिक” भन्नुनै उचित हुन्छ | यद्यपि मेरो यो उठान धेरै भारतीय विद्वानहरूको मनमा केही चिसो पस्ने छ | यस अर्थमा, नि:सन्देह महर्षि कपिल विशुद्ध नेपाली प्रथम दार्शनिक हुन् | त्यैपनि विद्वानहरूले मैले राखेको दावीलाई प्रमाणित गर्ने काम भने थाती राख्नु हुँदैन | स: प्रमाण उपस्थित भएका दावीहरूलाई अस्वीकार गर्न मिल्दैन र गर्नु पनि हुँदैन |  

Sunday, March 19, 2017

रैथानेतन्त्र : राजनैतिक दर्शनको विकल्प

राजनैतिक दर्शनले राष्ट्रतन्त्र सृजना गर्छ | राज्यतन्त्रको प्रमुख कार्य अनुसाशन र वदलिँदो पृष्टभूमिमा करका माध्यमबाट नहुने र नसक्नेलाई सुविधा उपलब्ध गराउनु हो |

तर अहिले विश्वमा प्रचलित राजनैतिकतन्त्रको दार्शनिक पृष्ठभूमि धूमिल, शिथिल र असफल भैसकेका छन् | अमेरिकी तथा ब्रिटेनको “ठेक्का”मा लादिएका प्रजातन्त्रहरू भष्ट्राचार तथा राजनैतिक व्यभिचारका जीवित कारखाना बनेका छन् | भारतीय, नेपाली, ब्राजील, कतिपय युरोपेली, अफ्रिकी र मध्यपूर्वका प्रजातान्त्रिक वा लोकतंत्रीकरणको आन्दोलनका नाममा मच्चाईएको मानवीय तथा प्रकृतिको विनाशले प्रजातान्त्रिक राजनैतिक दर्शन असफल छन् भन्ने घामझैँ स्पस्ट छ |

समतामूलक समाजको ग्यारेन्टी गरेर कल्याणकारी राष्ट्रको स्थापना गर्ने लक्ष लिएको साम्यवादी चिन्तन पनि असफल भएको छ | सबै मान्छेको मानसिक क्षमता, अभिरुचि र भिन्नताको अवज्ञा गरेर एकात्मक राष्ट्र सम्भव हुँदैन भन्ने नबुझ्दा असफल भए | नेपाल पनि यस्तै राजनैतिक आस्थाहरूको भुमरीमा फंसेको बुझ्न गाह्रो छैन |

नेपाली राजतन्त्रले पश्चिमा जलप लिएपछि यसले आफ्नो रैथाने गुण गुमाएको छ | संसारभरीका राजतन्त्रमा बाइबल वा कुरानको जलप चढेको छ | जव राजतन्त्रहरू “सेवक धर्म विर्सेर जलपवादी राजनैतिक ब्यबस्थाको नेतृत्व गर्न थाल्छन्, ती असान्दर्भिक हुन्छन् | बंगलादेश, पाकिस्तान, इन्डोनेसिया र कतिपय देशका मुस्लिम जनताहरू पश्चिमा जलपको राजतन्त्रका राजनैतिक उदेश्यका कारण रुग्ण छन् | राजाहरू सुनको महलमा बस्छन्, जनताहरू धर्मयुद्धका लागि आफ्नो जीवन दिन्छन् |
विकसित राष्ट्रहरूले दण्डब्यबस्थापन गरेर (नागरिकलाई अत्यधिक दण्ड-सजाय र जरिवाना डरले दवाएर) यस्ता सुविधाहरू सृजित र कार्यान्वयन गरेका छन् | नेपालजस्ता गरिव राष्ट्रहरू तिनकै नक्कल गरेर "विकसित" बन्ने सपना देखिरहेका छन् |

प्रजातन्त्र, लोक तन्त्र गणतन्त्र, राजतन्त्र आदि राजनैतिक विचार र ब्यबस्थाहरू विना विचार दवाव, लोभ, अलपत्र ज्ञानका आधारमा विना तयारी जनतामा थोपरिंदा आफ्नै रैथाने आधारमा विकासको खुड्किलो उक्लिरहेका राष्ट्रहरू धरासायी भइरहेका छन् | इराक, सिरिया, मिश्र, लिविया, केन्या, सेरियालोन आदि यसका उदाहरण हुन् |

निर्लज्जतापूर्वक नक्कल गरेर जनतामा थोपरिएका राजनैतिक चिन्तनहरू असफल नै हुन्छन् भन्ने तत्थ्य अव प्रमाणित गर्नु पर्दैन | वर्तमान नेपालको राजनैतिक ब्यबस्था पनि अर्धसत्य नै हो किनभने यो पश्चिमा राजनैतिक दर्शनको निर्लज्ज नक्कल र नक्कल गर्नेहरूमा नक्कल कार्यान्वन गर्न दिएको निर्लज्ज दवाव हो |

सबैथोक स्थानीय वा रैथाने हुनुपर्छ भनेर रैथानेतन्त्रको वकालत गर्नेहरूले परदेशी तन्त्रहरूको नक्कल लाद्न किन मर्रिहत्ते गरिहेका छन् ? बुझ्नेले बुझेका छन् | नबुझ्नेहरूलाई विचरा बाहेक भन्नु केही छैन |

मैले भनि नरहनु पर्ला नेपालको वर्तमान "गणतन्त्र" पनि पश्चिमा राजनैतिक चिन्तनकै जूठो खान्की हो | रैथानेतन्त्रको सपना देखाउनेहरूले विदेशी राजनैतिक दर्शनमा आधारित राज्यतन्त्रको नक्कल लादेर कसरी रैथाने तन्त्रको विकास गर्न सक्छन् ? तार्किक उत्तर कसैसंग छैन |

प्लेटोको रिपब्लिकलाई आफ्नो मार्गदर्शक मान्नेहरूले "गणतन्त्र" कुलीनह्र्रूका लागि हुन्छ र दासहरूले गणतन्त्र या लोकतन्त्रमा मानवाधिकार प्रयोग गर्ने ब्यबस्था हुँदैन भन्ने तत्थ्य लुकाउने गर्छन् |

जव हामी पूर्णत: रैथानेतन्त्रको (राज्यराष्ट्र) स्थानीय राष्ट्रब्यबस्थाको विकल्प विकल्प प्रस्तुत गर्छौं, यसका लागि यिनीहरू र उनीहरू दुवै तयार हुँदैनन् | यी दूबैलाई थाहा छ यदि रैथानेतन्त्र (राज्यराष्ट्र) कार्यान्वन भयो भने आफ्नो खाइपाई आएको सुविधाको अन्त्य हुनेछ | अर्को शब्दमा नक्कली तन्त्रको हालीमुहाली समाप्त भएर सक्कली तन्त्रको सक्कली ब्यबस्था नै लागु हुनेछ |

रैथानेतन्त्र (राज्यराष्ट्र) एउटा रैथाने राजनैतिक दार्शनिक चिन्तन हो जसले रैथानेहरूलाई सम्पूर्ण रूपमा शक्तिशाली वनाउँछ | रैथाने पहिचान, रैथाने भाषाहरू, रैथाने सीपहरूको विकास गरेर विकासको वैश्विक अवस्थामा उक्लिन्छ |

नक्कली र अर्धसत्यमा आधारित लादिएको राज्यब्यबस्थाका माध्यमबाट कल्याणकारी राज्यव्यवस्था कायम हुनै नसक्ने सत्य हामी सामु छ | रैथानेतन्त्र (राज्यराष्ट्र)को विकल्प रोजेर "सर्वजन सुखाय, सर्वजन हिताय"को राज्यब्यबस्थाको विकल्प रोज्ने कि नक्कली यथास्थितिवादको सकसमा स्वास फेर्ने ? अव रोज्ने बखत आएको छ |

Friday, March 17, 2017

शालीग्रामको सुख

सन् २०१६ को अप्रिल महिनाको अन्त्यतिर देवघाटमा शालीग्राम पौडेलसंग भेट भयो | उनको उमेर ५५ तिर होला | मेरो र उनको भेट चिया-पसलमा भएको थियो | उनी चिया पसलेसंग निकै निराशाजनक कुरा गरिरहेका थिए | धानचामलझैँ भएको उनको दाह्रीजुँगा र बढेको कपालले उनी आफ्नो उमेर भन्दा बूढा देखिन्थे |

उनका कुरा सुनेर मैले आफुलाई रोक्न सकिन | मैले भनें – साच्चिकै तपाईं निकै दुखी हुनुहुँदो रहेछ | संसारमा कुन मान्छे नै सुखी होला र ! त्यैपनि हरेक मान्छेसंग सुखी जीवनका लागि धेरै थोक हुन्छन् | तपाईंले ती सम्पत्ति खोज्न त विर्सनु भएन नि ?”

“सत्ते रामराम, मैले यो उमेरमा आएर एस्तो दिन देख्नुपर्ला भन्ने सोचेको पनि थिइन | मसंग जीवनका लागि केही पनि आधार रहेन | मसंग जीवन बाहेक गुमाउन केही वांकी छैन | लौ न, काम गर्छु भन्दा कसैले पत्याउन्नन्, आफै काम गरौँ भने उमेरले नेटो काटिसक्यो, मेरो बाँच्ने रहर नै सकियो” – उनले आफ्नो रामकहानी सुनाउंदै भने |

“मलाई विश्वास छ, तपाईंसंग पनि तपाईंको मनलाई सुख दिन सक्ने, केही अमुल्य सम्पत्ति छन्, ती सम्पत्तिको बसेर लिखितरुपमा नै खोज्ने प्रयत्न गरौँ न त एकपटक !” - मैले प्रस्ताव राखें | उनी अलि गह्रौं मनसंग तयार भए | मैले आफ्नो झोलाबाट डायरी निकालेर पाना खोलें |

मैले त्यस बखत उनीसंग भए/गरेका कुराहरू यसरी टिपोट गरेको थिए | त्यो लिखोट आज तपाईंहरूका लागि पस्कन्दै छु |

“तपाईंको स्वास्थ्य कस्तो छ ?” - मैले उनीसंग पहिलो जिज्ञासा राखें |

“भगवानको कृपाले आजसम्म कुनै ठूलो रोग लागेको छैन | कहिलेकाहीं रुघाखोकी लाग्नु त स्वाभाविक हो | खुवै भोक लाग्छ | जे-जस्तो खाए पनि सजिलैसँग पच्दछ | अलि चांडै थकाई लाग्छ | यी चौध-पन्ध्र किलोमिटर हिडेरै यहाँ आएको छु” – उनले भने |

“ए, त्यसो भए तपाईं रोगी हुनहुन्न | भोक लाग्छ | खाएको कुरा सजिलै पच्दछ | आइपरे शारीरिक श्रम गर्न पनि असजिलो हुँदैन, होइन त ?” – मैले उनको कुरा नै पुन: दोहोर्याएँ |

“हो, मैले यसै भनेको हुँ” – उनले मैले बुझेको र उनके भनेको कुरा प्रमाणित गरे | कुरा फेरी अगाडी बढ्यो |

“अनि छोरा छोरी नि ?” – मैले पुन: जिज्ञासा राखें |

“छोराछोरी ? हाम्री एउटी छोरी छ | उ विवाह गरेर आफ्नो घर गइ | तर हामीलाई असाध्ये माया गर्छे | ज्वाई पनि असल नै हुनुहुन्छ | दुवै जना हाम्रो घर आइरहन्छन् | फोन गरिरहन्छन् | जेजस्तो समस्या भए पनि तुरुन्त हामीसंग भन्नु भन्ने सधैं उनीहरूको आग्रह रहन्छ” - शालीग्रामले भने |

“ए, छोराज्वाई त निकै मायालु रहेछन् | अर्काको घरमा गएका छोरीह्र्रूले माया/हेरचाह गरेको कम नै देखिन्छ | तपाईंको विषयमा उहाँहरू निकै मायालु हुनुहुँदो रहेछ, होइन र ?” मैले पुन: उनले बोलेका कुराहरू रुजु गरें | उनी सहमत भए |

“अनि छिमेकी कस्ता छन् नि ?” - मैले आफ्नो कुरा अगाडी बढाए |

“छिमेकीहरूको मामिलामा म भाग्यमानी नै ठान्छु आफूलाई | म अहिले घोर आर्थिक संकटमा छु | छिमेकीहरूले मेरो परिस्थिति बुझेका छन् | पसलेले पनि सक्दो उधारो दिएकै छन् | छोरीको विवाह पनि छिमेकीहरूले मिलेर गरिदिएका हुन् | केही नराम्रा भए पनि छिमेकीहरू सहयोगी नै छन्” – शालीग्रामले भने |

“ए छिमेकीह्र्रू निकै सहयोगी रहेछन् | छोरीको विवाहका लागि समेत उहाँहरूले तपाईंको परिवारलाई सहयोग गर्नुभएको रहेछ | होइन त ?” - मैले पुन: सोधें | उनले टाउको हल्लाएर सहमति जनाए |

अनि, खेतिवारी अथवा पेशा के छ ?” - मैले सीधा प्रश्न गरें |

“खेतीपाती थियो तर बूढीको उपचार गर्दा बेच्नु पर्यो, अहिले छैन | बाहुनको छोरो भएकोले कहिलेकाहीं पूजाआजाका लागि बोलाउँछन् | चामल, लुगाफाटोआदि त्यहींबाट चल्छ | कहिलेकाहीं मेलापर्म गरेर दूईपैसा आउँछ | आफ्नै सानो घर छ | भाडा तिर्नु पर्दैन | तर सधैं कुनै ठूलो रोग लाग्छ कि भनेर त्रास रहन्छ” – उनले आफ्नो कुरा भने |

“ए धर्मपत्नीको रोगको कारणले खेत बेच्नु परेछ | पूजाआजा गरेर घरको गर्जो टार्न सहयोग मिल्दो रहेछ | आफ्नै घर भएकोले भाडा तिर्नु नपर्ने हुँदा थोरै भए पनि गोजीमा पैसो हुँदोरहेछ” – मैले पुन: उनकै कुरा सुनिश्चित गर्न चाहें | उनले पुन: टाउको हल्लाएर सहमति जनाए |

“तपाईंको आफ्नै व्यक्तित्वको विषयमा गाउँले तथा समाजको कस्तो बुझाई छ जस्तो लाग्छ ?” -मेरो पुन: अर्को प्रश्न आयो |

“निर्धन भए पनि अर्कालाई ठग्ने, झूटो बोल्ने, बदमासी गर्ने, रक्सी-जांड खाएर असामाजिक काम गर्ने मेरो स्वभाव छैन | आजसम्म मुद्दामामिलामा परेको छैन | मलाई “सोझो बाहुन” भनेर विश्वास गर्छन् | सामाजिक जमघटमा मेरो उपस्थिति राम्रै हुन्छ” – उनले भने |

“अहा, आर्थिकस्तर राम्रो नभए पनि सामाजिकरूपमा सबैले तपाईंलाई सम्मान नै गर्दा रहेछन् | नराम्रो बानी नहुनाले र पूजाआजा गराउने भएकोले “सोझो बाहुन” भन्दा रहेछन् – होइन त ?” -उनले सहजरूपमा “हो” भनेर स्वीकृति दिए |

“धर्मपत्नीका विषयमा तपाईंको के छ नि भनाई ?” – मैले पुन: प्रश्न तेर्स्याएँ |

“हाम्रो विवाह भएको ३५ वर्ष पुगे | ऊ गौझैं छ | सुखदुखमा उसले कहिल्यै पनि साथ छोडिन | त्यस्तो ठूलो रोग लगेर पनि उसले हिम्मत हारेकी छैन | उसको आत्मविश्वासले नै म बाँचेको छु | उ मायालु छ | दयालु छ | वरू म नै उसलाई दुख दिन्छु, घर छोडेर” – उनी बोल्दाबोल्दै चुप्प लागेर मुन्टो निहुराए |

“ए, भाउजुले त तपाईंलाई असाध्य माया गर्नुहुँदो रहेछ | विवाह भएको तीन चार महिना मै पारचुके गर्नेहरू छन् | तपाईंहरूको बैवाहिक जीवन ३५ वर्षसम्म चलिनै रहेको छ | तपाईं पनि उत्तिकै माया गर्नुहुन्छ जति भाउजुले गर्नुहुन्छ | उहाँले तपाईंको कहिले पनि मन दुखाउनु भएन तर केहीलेकाहीं तपाईंले भने अवश्य उहाँको मन दुखाउनु भयो, कि कसो ?” - मैले आफ्नो बुझाई थपें | उनले पुन: टाउको हल्लाएर आफ्नो सहमति दिए |

“शालीग्रामजी मलाई तपाईंले मलाई भन्नु भएका कुरा यी हुन् होइन र ?” - मैले आफ्नो डायरीमा लेखेका वूँदाहरू पढ्न दिएँ | उहाँले यसरी पढ्नुभयो :

१. म निरोग छु, जे-जस्तो खाए पनि सजिलै पच्दछ |

२. मेरा माया गर्ने र सहयोग गर्न तम्तयार छोरीज्वाई हुनुहुन्छ |

३. सामाजिक रूपमा मेरो छवि एउटा असल मान्छेको छ |

४. मेरा छिमेकीहरू सहयोगी छन् |

५. मेरो आफ्नै घर छ | सानो कमाई पनि जोगिन्छ |

६. मेरी श्रीमती मायालु छन् |

यी वूँदा पढेपछि शालीग्राम पौडेलजी अचानक उठ्नु भयो र मसंग मेरो डायरीमा टिपोट गरेका बूँदाहरू अर्को कागजमा सार्न अनुरोध गर्नुभयो | मैले पनि उहाँले भनेका बूँदाहरू सारी दिएँ | उहाँ ती बूँदाहरू बोकेर हिड्नै लाग्दा मैले थपें -

“तपाईसंग भएका छ बटा सम्पत्ति एकै ठाउँ भएका कति मानिसहरू होलान् ? थोरें, असाध्यै थोरै | यदि एतिधेरै सम्पत्ति भएका मानिसह्र्रू निराश हुन्छन् भने साच्चिकै केही नहुने मान्छेहरू कसरी जीवन यापन गर्न सक्लान् ?

मेरो विचारमा, आर्थिकस्तर बाहेक तपाईंसंग धेरै टूलो र असल सम्पत्तिको भण्डार छ | “पैसा भएन” भन्ने एउटा हीनताबोध बाहेक तपाईंसंग धेरैसंग नभएको असली सम्पत्ति छ | निरोग शरीर, मायालु छोरी, सहयोगी छिमेकी, मुखको विद्या, शिर छोप्न आफ्नै घर, निष्कलंक जीवन र मायालु परिवार जिउनका लागि प्रयाप्त छन् |

हामीले आफ्नो वरिपरी छरिएर रहेका सम्पत्तिको खोज गर्नुपर्छ | खोजि गर्नेहरूले समुद्रको गहिराइबाट मोती निकाल्छन् | परिश्रम नगर्नेहरू बाहिर बसेर टाउको समातेर रोइरहन्छ |

असलमा, हामीले आफ्नो सोचाइ बदल्नुपर्छ | हेर्ने र बुझ्ने नजरियामा परिवर्तन ल्याउनुपर्छ | मृगले नाभीमा सुगन्धित कस्तुरी बोकेर, त्यसको स्रोत खोज्दै बाहिर दौडिन्छ | कहीं त्यसैगरी हामीले आफ्नो असली सम्पत्ति लुकाएर भूल त गरिहहेका छैनौं ?

अहिले शालीग्रामजी आफ्नो जीवनसंग खुसी हुनुहुन्छ र मलाई फोन गरेर वारम्वार धन्यवाद दिनुहुन्छ, अरूलाई सकारात्मक जीवनका लागि प्रेरणा दिने काम पनि गर्नुहुन्छ | उहाँले भन्ने सत्यनारायणको कथामा पनि “निराशाको अन्धकारबाट प्रकाशतिर, असत्यबाट सत्यतिर, अकर्मण्य जीवनबाट सक्रिय जीवनतिर” प्रेरणा भरिएको हुन्छ |
अन्त्यमा, यदि तपाईंलाई पनि आफ्नो जीवन सारहीन, दुखमय र निराशामय लाग्छ भने एउटा कागज - कलम लिएर आफु वरिपरी रहेका सकारात्मक कुराहरू खोज्नुहोस् | यसले तपाईंको जीवनलाई नया अर्थ दिने छ | जीवनले नया उर्जाप्राप्त गर्ने छ | तमसो मा ज्योतिर्मय – अर्थात् तपाईको जीवन निराशा, हीनताबोध तथा ग्लानीको भुमरीबाट सधैंका लागि बाहिर निस्कने छ | हामीले गुमाएको आत्मविश्वास पुन: प्राप्त गर्नेछौँ |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...