Friday, March 17, 2017

शालीग्रामको सुख

सन् २०१६ को अप्रिल महिनाको अन्त्यतिर देवघाटमा शालीग्राम पौडेलसंग भेट भयो | उनको उमेर ५५ तिर होला | मेरो र उनको भेट चिया-पसलमा भएको थियो | उनी चिया पसलेसंग निकै निराशाजनक कुरा गरिरहेका थिए | धानचामलझैँ भएको उनको दाह्रीजुँगा र बढेको कपालले उनी आफ्नो उमेर भन्दा बूढा देखिन्थे |

उनका कुरा सुनेर मैले आफुलाई रोक्न सकिन | मैले भनें – साच्चिकै तपाईं निकै दुखी हुनुहुँदो रहेछ | संसारमा कुन मान्छे नै सुखी होला र ! त्यैपनि हरेक मान्छेसंग सुखी जीवनका लागि धेरै थोक हुन्छन् | तपाईंले ती सम्पत्ति खोज्न त विर्सनु भएन नि ?”

“सत्ते रामराम, मैले यो उमेरमा आएर एस्तो दिन देख्नुपर्ला भन्ने सोचेको पनि थिइन | मसंग जीवनका लागि केही पनि आधार रहेन | मसंग जीवन बाहेक गुमाउन केही वांकी छैन | लौ न, काम गर्छु भन्दा कसैले पत्याउन्नन्, आफै काम गरौँ भने उमेरले नेटो काटिसक्यो, मेरो बाँच्ने रहर नै सकियो” – उनले आफ्नो रामकहानी सुनाउंदै भने |

“मलाई विश्वास छ, तपाईंसंग पनि तपाईंको मनलाई सुख दिन सक्ने, केही अमुल्य सम्पत्ति छन्, ती सम्पत्तिको बसेर लिखितरुपमा नै खोज्ने प्रयत्न गरौँ न त एकपटक !” - मैले प्रस्ताव राखें | उनी अलि गह्रौं मनसंग तयार भए | मैले आफ्नो झोलाबाट डायरी निकालेर पाना खोलें |

मैले त्यस बखत उनीसंग भए/गरेका कुराहरू यसरी टिपोट गरेको थिए | त्यो लिखोट आज तपाईंहरूका लागि पस्कन्दै छु |

“तपाईंको स्वास्थ्य कस्तो छ ?” - मैले उनीसंग पहिलो जिज्ञासा राखें |

“भगवानको कृपाले आजसम्म कुनै ठूलो रोग लागेको छैन | कहिलेकाहीं रुघाखोकी लाग्नु त स्वाभाविक हो | खुवै भोक लाग्छ | जे-जस्तो खाए पनि सजिलैसँग पच्दछ | अलि चांडै थकाई लाग्छ | यी चौध-पन्ध्र किलोमिटर हिडेरै यहाँ आएको छु” – उनले भने |

“ए, त्यसो भए तपाईं रोगी हुनहुन्न | भोक लाग्छ | खाएको कुरा सजिलै पच्दछ | आइपरे शारीरिक श्रम गर्न पनि असजिलो हुँदैन, होइन त ?” – मैले उनको कुरा नै पुन: दोहोर्याएँ |

“हो, मैले यसै भनेको हुँ” – उनले मैले बुझेको र उनके भनेको कुरा प्रमाणित गरे | कुरा फेरी अगाडी बढ्यो |

“अनि छोरा छोरी नि ?” – मैले पुन: जिज्ञासा राखें |

“छोराछोरी ? हाम्री एउटी छोरी छ | उ विवाह गरेर आफ्नो घर गइ | तर हामीलाई असाध्ये माया गर्छे | ज्वाई पनि असल नै हुनुहुन्छ | दुवै जना हाम्रो घर आइरहन्छन् | फोन गरिरहन्छन् | जेजस्तो समस्या भए पनि तुरुन्त हामीसंग भन्नु भन्ने सधैं उनीहरूको आग्रह रहन्छ” - शालीग्रामले भने |

“ए, छोराज्वाई त निकै मायालु रहेछन् | अर्काको घरमा गएका छोरीह्र्रूले माया/हेरचाह गरेको कम नै देखिन्छ | तपाईंको विषयमा उहाँहरू निकै मायालु हुनुहुँदो रहेछ, होइन र ?” मैले पुन: उनले बोलेका कुराहरू रुजु गरें | उनी सहमत भए |

“अनि छिमेकी कस्ता छन् नि ?” - मैले आफ्नो कुरा अगाडी बढाए |

“छिमेकीहरूको मामिलामा म भाग्यमानी नै ठान्छु आफूलाई | म अहिले घोर आर्थिक संकटमा छु | छिमेकीहरूले मेरो परिस्थिति बुझेका छन् | पसलेले पनि सक्दो उधारो दिएकै छन् | छोरीको विवाह पनि छिमेकीहरूले मिलेर गरिदिएका हुन् | केही नराम्रा भए पनि छिमेकीहरू सहयोगी नै छन्” – शालीग्रामले भने |

“ए छिमेकीह्र्रू निकै सहयोगी रहेछन् | छोरीको विवाहका लागि समेत उहाँहरूले तपाईंको परिवारलाई सहयोग गर्नुभएको रहेछ | होइन त ?” - मैले पुन: सोधें | उनले टाउको हल्लाएर सहमति जनाए |

अनि, खेतिवारी अथवा पेशा के छ ?” - मैले सीधा प्रश्न गरें |

“खेतीपाती थियो तर बूढीको उपचार गर्दा बेच्नु पर्यो, अहिले छैन | बाहुनको छोरो भएकोले कहिलेकाहीं पूजाआजाका लागि बोलाउँछन् | चामल, लुगाफाटोआदि त्यहींबाट चल्छ | कहिलेकाहीं मेलापर्म गरेर दूईपैसा आउँछ | आफ्नै सानो घर छ | भाडा तिर्नु पर्दैन | तर सधैं कुनै ठूलो रोग लाग्छ कि भनेर त्रास रहन्छ” – उनले आफ्नो कुरा भने |

“ए धर्मपत्नीको रोगको कारणले खेत बेच्नु परेछ | पूजाआजा गरेर घरको गर्जो टार्न सहयोग मिल्दो रहेछ | आफ्नै घर भएकोले भाडा तिर्नु नपर्ने हुँदा थोरै भए पनि गोजीमा पैसो हुँदोरहेछ” – मैले पुन: उनकै कुरा सुनिश्चित गर्न चाहें | उनले पुन: टाउको हल्लाएर सहमति जनाए |

“तपाईंको आफ्नै व्यक्तित्वको विषयमा गाउँले तथा समाजको कस्तो बुझाई छ जस्तो लाग्छ ?” -मेरो पुन: अर्को प्रश्न आयो |

“निर्धन भए पनि अर्कालाई ठग्ने, झूटो बोल्ने, बदमासी गर्ने, रक्सी-जांड खाएर असामाजिक काम गर्ने मेरो स्वभाव छैन | आजसम्म मुद्दामामिलामा परेको छैन | मलाई “सोझो बाहुन” भनेर विश्वास गर्छन् | सामाजिक जमघटमा मेरो उपस्थिति राम्रै हुन्छ” – उनले भने |

“अहा, आर्थिकस्तर राम्रो नभए पनि सामाजिकरूपमा सबैले तपाईंलाई सम्मान नै गर्दा रहेछन् | नराम्रो बानी नहुनाले र पूजाआजा गराउने भएकोले “सोझो बाहुन” भन्दा रहेछन् – होइन त ?” -उनले सहजरूपमा “हो” भनेर स्वीकृति दिए |

“धर्मपत्नीका विषयमा तपाईंको के छ नि भनाई ?” – मैले पुन: प्रश्न तेर्स्याएँ |

“हाम्रो विवाह भएको ३५ वर्ष पुगे | ऊ गौझैं छ | सुखदुखमा उसले कहिल्यै पनि साथ छोडिन | त्यस्तो ठूलो रोग लगेर पनि उसले हिम्मत हारेकी छैन | उसको आत्मविश्वासले नै म बाँचेको छु | उ मायालु छ | दयालु छ | वरू म नै उसलाई दुख दिन्छु, घर छोडेर” – उनी बोल्दाबोल्दै चुप्प लागेर मुन्टो निहुराए |

“ए, भाउजुले त तपाईंलाई असाध्य माया गर्नुहुँदो रहेछ | विवाह भएको तीन चार महिना मै पारचुके गर्नेहरू छन् | तपाईंहरूको बैवाहिक जीवन ३५ वर्षसम्म चलिनै रहेको छ | तपाईं पनि उत्तिकै माया गर्नुहुन्छ जति भाउजुले गर्नुहुन्छ | उहाँले तपाईंको कहिले पनि मन दुखाउनु भएन तर केहीलेकाहीं तपाईंले भने अवश्य उहाँको मन दुखाउनु भयो, कि कसो ?” - मैले आफ्नो बुझाई थपें | उनले पुन: टाउको हल्लाएर आफ्नो सहमति दिए |

“शालीग्रामजी मलाई तपाईंले मलाई भन्नु भएका कुरा यी हुन् होइन र ?” - मैले आफ्नो डायरीमा लेखेका वूँदाहरू पढ्न दिएँ | उहाँले यसरी पढ्नुभयो :

१. म निरोग छु, जे-जस्तो खाए पनि सजिलै पच्दछ |

२. मेरा माया गर्ने र सहयोग गर्न तम्तयार छोरीज्वाई हुनुहुन्छ |

३. सामाजिक रूपमा मेरो छवि एउटा असल मान्छेको छ |

४. मेरा छिमेकीहरू सहयोगी छन् |

५. मेरो आफ्नै घर छ | सानो कमाई पनि जोगिन्छ |

६. मेरी श्रीमती मायालु छन् |

यी वूँदा पढेपछि शालीग्राम पौडेलजी अचानक उठ्नु भयो र मसंग मेरो डायरीमा टिपोट गरेका बूँदाहरू अर्को कागजमा सार्न अनुरोध गर्नुभयो | मैले पनि उहाँले भनेका बूँदाहरू सारी दिएँ | उहाँ ती बूँदाहरू बोकेर हिड्नै लाग्दा मैले थपें -

“तपाईसंग भएका छ बटा सम्पत्ति एकै ठाउँ भएका कति मानिसहरू होलान् ? थोरें, असाध्यै थोरै | यदि एतिधेरै सम्पत्ति भएका मानिसह्र्रू निराश हुन्छन् भने साच्चिकै केही नहुने मान्छेहरू कसरी जीवन यापन गर्न सक्लान् ?

मेरो विचारमा, आर्थिकस्तर बाहेक तपाईंसंग धेरै टूलो र असल सम्पत्तिको भण्डार छ | “पैसा भएन” भन्ने एउटा हीनताबोध बाहेक तपाईंसंग धेरैसंग नभएको असली सम्पत्ति छ | निरोग शरीर, मायालु छोरी, सहयोगी छिमेकी, मुखको विद्या, शिर छोप्न आफ्नै घर, निष्कलंक जीवन र मायालु परिवार जिउनका लागि प्रयाप्त छन् |

हामीले आफ्नो वरिपरी छरिएर रहेका सम्पत्तिको खोज गर्नुपर्छ | खोजि गर्नेहरूले समुद्रको गहिराइबाट मोती निकाल्छन् | परिश्रम नगर्नेहरू बाहिर बसेर टाउको समातेर रोइरहन्छ |

असलमा, हामीले आफ्नो सोचाइ बदल्नुपर्छ | हेर्ने र बुझ्ने नजरियामा परिवर्तन ल्याउनुपर्छ | मृगले नाभीमा सुगन्धित कस्तुरी बोकेर, त्यसको स्रोत खोज्दै बाहिर दौडिन्छ | कहीं त्यसैगरी हामीले आफ्नो असली सम्पत्ति लुकाएर भूल त गरिहहेका छैनौं ?

अहिले शालीग्रामजी आफ्नो जीवनसंग खुसी हुनुहुन्छ र मलाई फोन गरेर वारम्वार धन्यवाद दिनुहुन्छ, अरूलाई सकारात्मक जीवनका लागि प्रेरणा दिने काम पनि गर्नुहुन्छ | उहाँले भन्ने सत्यनारायणको कथामा पनि “निराशाको अन्धकारबाट प्रकाशतिर, असत्यबाट सत्यतिर, अकर्मण्य जीवनबाट सक्रिय जीवनतिर” प्रेरणा भरिएको हुन्छ |
अन्त्यमा, यदि तपाईंलाई पनि आफ्नो जीवन सारहीन, दुखमय र निराशामय लाग्छ भने एउटा कागज - कलम लिएर आफु वरिपरी रहेका सकारात्मक कुराहरू खोज्नुहोस् | यसले तपाईंको जीवनलाई नया अर्थ दिने छ | जीवनले नया उर्जाप्राप्त गर्ने छ | तमसो मा ज्योतिर्मय – अर्थात् तपाईको जीवन निराशा, हीनताबोध तथा ग्लानीको भुमरीबाट सधैंका लागि बाहिर निस्कने छ | हामीले गुमाएको आत्मविश्वास पुन: प्राप्त गर्नेछौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...