Tuesday, October 16, 2018

मृत्युपूर्व परामर्श -१

वैदिकदर्शनमा  मृत्युपूर्व परामर्श 
Pre-Death Counseling in Vedic Philosophy 

राजा परीक्षितले ऋषि शुकदेवसंग दुईबटा प्रश्न गरे : १. मृत्युको समय बुझेको मानिसले के गर्नुपर्छ ? २. मृत्युलाई कसरी सहज बनाउन सकिन्छ ?

उत्तरमा, ऋषि वेद्ब्यासले आफ्ना छोरा शुकदेवका माध्यमबाट १८ हजार श्लोक र ३३५ अध्याय भएको श्रीमद्भागवत महापुराण सातदिन भित्र मरण निश्चित भएका राजा परीक्षितलाई सुनाए | अन्त्यमा, परीक्षित सजिलोसंग मरे | यो मृत्युपूर्व-परामर्श थियो | शुकदेवको परामर्शले राजाको मरण सजिलो र सहज भनेको थियो | मृत्युलाई टार्न सकिन्न तर उचित परामर्शद्वारा सरल र सहज अवश्य बनाउन सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो |

मान्छे किन मर्छ ? यो प्रश्नका धेरै उत्तर हुनसक्छन् तर मान्छे मर्छ भन्ने तत्थ्यलाई यसले निराकरण गर्दैन | मान्छे मात्र होइन सम्पूर्ण ब्रह्माण्डको आयु निश्चित छ | हरेक दिन मान्छे मरेको खवरले मान्छे चिन्तित हुँदैन - यही विशेषताले संसार चलेको छ र चलिनै रहन्छ | तर एउटा कुरा पक्का हो - मान्छेले मृत्यु रुचाउन्नन् | हो, कसैले पनि आफ्नो मरण अर्थात् अस्तित्वको अवसान चाहन्नन् | नचाहँदा- नचाहदै पनि मर्नु पर्दा पीडा हुन्छ नै | तर वैदिक-साहित्यमा मृत्युलाई सहज बनाउने अनेकौं उपायहरू वर्णित छन् | ती उपायहरूमा "मृत्युपूर्व-परामर्श" एउटा पर्छ |

मान्छे किन मर्छ ? वैदिक साहित्यले यसको अत्यन्त सरल उत्तर दिएको छ - किनभने उसले प्राप्त गरेको आयु अर्थात् जीवनका दिनहरू समाप्त भएका छन् | सामान्यतया हरेक मान्छेको आयु १०० वर्षको हुन्छ | तर उसको वर्तमान कर्म, प्रारब्ध कर्म र संचित कर्मका आधारमा बाच्ने दिनहरू निर्धारित हुन्छन् | यस बाहेक तपस्वीहरूले आफ्नो लागि "इच्छाएको बेलाको मरण" पनि रोज्न सक्छन् | श्रीमद्भागवतमा एस्ता पात्र भीष्म पितामह भएको वर्णन पाइन्छ | पुराणहरूमा इच्छा मृत्यु रोज्नेहरूको सङ्ख्या थुप्रै छ | ध्रुवले त मृत्यु उपर विजय नै प्राप्त गरेका थिए भन्ने उल्लेख छ |

असलमा विश्वका अधिकांश सभ्यताहरूले व्यक्तिको मृत्युपछि धेरैप्रकारका कर्मकाण्डहरू सम्पादन गर्छन् | तर मरणासन्न अवस्थामा रहेका व्यक्तिहरूका लागि मरण सहज पार्ने विषयमा कुनै योजना देखिन्न | सनातन वैदिक साहित्यमा भने सुखद: मरणका लागि थुप्रै क्रियाकलापहरू वर्णित छन् | तर यी प्रावधानहरू मध्ये सबैभन्दा उपयुक्त पद्यति परामर्श नै भएको कुरा स्पष्ट बुझ्न सकिन्छ | यी मध्ये जीवन जगतका प्रश्नहरूको जवाफ "कथा-कथन"बाट प्रदान गरिनु सबैभन्दा प्रचलित विधि रहेको छ | 

मृत्योर्मा अमृतं गमय: अर्थात् हाम्रो गन्तब्य मृत्यु होइन अमृत हो - भनेर ऋग्वेदले सर्वप्रथम मृत्युको अस्तित्वलाई सहजरूपमा स्वीकार गरेको छ | यहाँ अमृतको अर्थ आत्माको अमरता र पुनर्जन्म हो | यही तत्थ्यलाई स्पस्ट पार्दै गीताको दोश्रो अध्यायमा आत्मालाई अजरअमर, अभेद्य, अदह्य भनेर सम्वोधन गरिएको छ | जव आत्मा मर्दैमर्दैन भने शरीरको क्षतिसंग किन डराउनु पर्यो ? गीताको सारतत्व पनि यही हो | तर यो केवल कर्तब्यमय जीवनको सन्दर्भमा मात्र हो | यदि कुनै व्यक्ति वानप्रस्थ वा सन्यासआश्रमको उमेरमा छ भने शरीरप्रतिको अनुराग स्वत: न्यून हुनुपर्छ | जसबाट मरणलाई सरल पार्ने अभ्यास आरम्भ हुन्छ | 

मान्छे जन्मिएकै मर्नका लागि हो | रोग, शोक, भोक, बुढ्यौली यसका बाध्यता हुन् | तर अतिभौतिकवादी चिन्तनको विकास संगै मरण जटिल बनेको छ | दीर्घ रोगी, अतिबूढो उमेरमा पनि मान्छे जिउन चाहन्छन् | एस्तो अवस्थामा बरू मरणलाई सहज बनाएर उनीहरूलाई सघाउनु राम्रो हुन्छ | अहिले खुसी पूर्वक मर्न चाहनेहरूको संख्या बढ्दो छ | लेखकको युरोप भ्रमणको बखत न्यादरल्याण्डमा भेटिनु भएको नेपाली मूलको डाक्टर सपनाजीले पनि यो तत्थ्य पुष्ट गर्नुभएको थियो | 

उहा बृद्धवृद्धा सम्बन्धि चिकित्सक हुन्हुहुन्छ | दीर्घरोगी र लामो उमेर भएका मान्छे मर्न चाहन्छन् तर मृत्युकालीन पीडा सम्झेर उनीहरू दुखद: मरणबाट मुक्ति चाहन्छन् | एस्तो दुखद: मृत्युको विश्वास उनीहरूको संस्कृतिसंग जोडिएको छ | प्रलयकालसम्म एउटा काठको चिहानमा हलचल नगरी कोचिएर बस्नु पर्ने पीडाबाट उनीहरू जोगिन चाहन्छन् | अनन्तकालीन नर्क, अनन्तकालीन स्वर्ग र त्यसको वीचमा रहेको अज्ञातसमयसम्म चिहानमा वास गर्नु पर्ने विश्वासको पीडाले उनीहरूको मृत्यु अत्यन्त दुखदायी हुने नै भयो | उनीहरू रमाइलो मृत्यु चाहन्छन् |

वैदिक जीवन दर्शनमा आसन्न मृत्तकका लागि "मृत्युपूर्व परामर्श"को प्रावधान गरिएको छ | श्रीमद्भागवत नामक महापुराणको रचना नै मान्छेको मरणलाई सरल, सहज र रमाइलो बनाउनका लागि भएको हो | अर्को भाषामा, श्रीमद्भागवत "Pre-death Counseling" हो जसले हरेक death victim लाई मर्न सजिलो पार्छ र उनीहरू खुसी पूर्वक मर्छन् |

प्राणीको सबैभन्दा ठूलो शत्रु मृत्यु नै हो | तर एस्तो मृत्युलाई पनि सरल र सहज बनाउने "काउन्सेलिंग' वा 'थेरापी'को व्यवस्था त हाम्रै जरोकिलोमा रहेछ | आज पनि हाम्रो समाजले मृत्युत्तर श्रीमद्भागवतको पाठ, वाचनआदिका माध्यमबाट ज्ञानलाई जीवित राखेको छ |

भौतिकतावादी चिन्तन बलियो हुँदैजाँदा मान्छे रोग, बुढ्यौली तथा मृत्युसंग धेरै डराउन थालेका छन् | अनेक उपाय गरेर सुख सृजना गर्छन् तर मृत्युको तगारोले सबै थोक एकै मिनटमा बिरानो बनाइदिन्छ | मृत्युबाट सबैभन्दा बढी डराउनेहरू "हुनेखाने" नै हुन्छन् | र सबैलाई थाहा छ, हुनेखानेहरू नेपालमा होइन पश्चिमा जगतमा बढी छन् |

पश्चिमाहरू मृत्युलाई जित्न आतुर छन् तर एकरत्ति प्रगति भएको छैन | हामी नेपालीहरूको संस्कारमा मृत्युलाई जित्नु पर्ने आवश्यकता नै छैन | किनभने हामी आत्माको अमरता र पुनर्जन्ममा विश्वास गर्छौं | अमरता विश्वास गर्नेहरूका लागि मर्नु भनेको पुरानो लुगा फालेर नया लुगा खोज्नु हो | जसले यो कुरा राम्ररी मनन गर्छ, उसको लागि मृत्यु एउटा साधारण घटना मात्र हुन्छ | भौतिकवादीहरू सधैं एकै लुगामा बाँच्न चाहन्छन् | फलत: उनीहरू मृत्युदेखि जोगिन चाहन्छन् |

प्रकृतिले हरेक मान्छेलाई फगत एउटा शरीर दिएको छ | एस्तो शरीरलाई शास्त्रले "देवमन्दिर" भनेर सम्बोधन गरेका छन् | शरीर रहेमात्र देवकार्यहरू सम्भव हुन्छन् | ७५ वर्षको उमेरमा प्रवेश गरेपछि शरीरप्रतिको दायित्व सकिन्छ | शास्त्रहरूले यस्तो अवस्थालाई "सन्यास" भनेका छन् | दायित्वहरू पूर्ण भएको शरीरको सुरक्षा गर्न अतिप्रयत्न गर्नुभन्दा समय र शरीरको उपयोग गर्दै मोक्ष-साधना गर्नु उचित देखिन्छ |

बालक नाचिकेतालाई उनका वाबुले मृत्युलाई दिएको प्रसंग उपनिषदमा छ | अचम्मको कुरा त के भने नाचिकेता मृत्युसंग कत्तिपनि पनि डराएनन् | बरू सहज र सरलरूपमा मृत्युसंग शास्त्रार्थ गरे | प्रसंग मिथक होला तर नाचिकेता आफ्नो मृत्युसंग कत्ति पनि नडराएको प्रसंग साँचो हो | बालक नाचिकेताले पनि मृत्यु अवसान होइन घटना हो भनेर बुझिसकेका रहेछन् | मृत्यु अन्त्य हो भनेर विश्वास गर्नेहरू शरीरसंग मोहित हुन्छन् तर मृत्युलाई घटना हो भनेर बुझ्नेहरू मरणलाई सरल रेखा ठान्छन् | 

दधिचीले मृत्युलाई सहजमा लिए | बृत्रासुरलाई मृत्युले कत्ति पनि डराउँन सकेन | भागवतमा मृत्युसंग डराउनेहरूको मृत्यु डरलाग्दो छ जस्तै कंस | तर मृत्युलाई सरलरेखा ठान्नेहरूका लागि मृत्यु सहज रहेको छ जस्तै बृत्रासुर, दधिचीआदि | मृत्युसंग डराउनेहरू सबैथोक भएर पनि दुखी हुन्छन् र नडराउनेहरू केही नभएर पनि सुखी नै हुन्छन् | 

मरणलाई सरल बनाउन नेपाली लोकजीवनमा केही प्रचलन अहिले पनि जीवित छन् | यी प्रचलनहरू "Pre-death Therapy"रूपमा स्थापित हुन सक्छन् | सुन्दा अचम्मलाग्छ तर दशदान, बैतरणी, शैय्यादान, तुलसीपानीआदि सबै क्रियाकलापहरू मार्न लागेको मान्छेको मरणलाई सजिलो बनाउन प्रचलित क्रियाकलापहरू अहिले पनि विद्यमान छन् | कुनै मान्छे दशदानपछि सहजरूपमा मरेको देखिन्छ भने केही वैतरणी वा तुलसीपानी मुखमा परेपछि | 

मैले भने थेरापीका रूपमा प्रयोग हुने परम्परागत विधिहरू पनि व्यक्तिको स्वास्थ्यको प्रकृति अनुसार आफ्नो मृत्युलाई सहज बनाउने उदेश्यके व्यक्ति आफैले वा आफन्तहरूले सम्पन्न गर्छन् | उदाहरणका लागि चौरासी वर्षको उमेर पार गरिसकेपछि दशदान तथा बैतरणी गरेर आफ्नो सहज मृत्युको बाटो आफैले रोज्न सकिन्छ भने वैतरणी, शैय्यादान, दशदान तथा तुलसी मठ , तुलसीदल जलको प्रक्रिया आफन्तले पूर्ण गर्न मिल्छ |

मैले धेरै एस्ता व्यक्तिहरू चिनेको छु र वातचित गरेको छु जसले शास्त्रीय विधानअनुसार आफ्नो दशदान तथा वैतरणी गराएर सुखद मृत्युको लागि बाटो तयार गर्नुभएको छ | तेस्तै मैले तेस्ता धेरै व्यक्तिहरूको विषयमा सुनेको छु जसको लागि दशदान, वैतरणी गरेपछि सहजरूपमा मृत्यु भएको कुरा आफन्तहरू भन्छन् | साथै मैले धेरै यस्ता व्यक्तिहरूका विषयमा पनि सुनेको छु जसले आध्यात्मिक कथाहरू सुन्दै बडो सहजपूर्वक आफ्नो प्राण त्याग गरेका थिए | मैले मात्र होइन, यो आलेख पढ्ने अनेकौं व्यक्तिहरूसंग पनि यस्ता थुप्रै अनुभूतिहरू जोडिएका छन् नै |

मैले भेटेका र सुनेका धेरै व्यक्तिहरूमा दशदान, वैतरणी, कथाश्रवण गराएपछि तुरुन्त प्राण त्याग गरेको अथवा दीर्घकालीन रोगहरूबाट पिडित भएर मर्न नसकिरहेको अवस्थामा यी कर्मले मरण-सहज भएको भन्ने बुझिएको छ | असलमा यी सबै विधिहरू हजारौंहजार वर्षबाट मृत्युलाई पीडारहित बनाउने उपाय स्वरूप विकसित हुँदै आएका हुन् | यी विधिहरूमा एउटा उदेश्य अत्यन्त महत्वपूर्ण हुन्छ त्यो हो - मरणासन्न व्यक्तिको चित्तलाई भौतिकविषयहरूबाट निराशाक्त पार्ने | जव सम्म कुनै व्यक्तिको मन वा चित्त फलानो विषयमा पूर्ण आशक्त हुन्छ तवसम्म मृत्यु सुखद हुँदैन भन्ने वैदिक मान्यता छ | आजमा देखिएको, सुनिएको र बुझिएको अनुभव पनि यो भन्दा कत्ति फरक छैन | 

यी विधिहरूलाई हामीले "Therapy"का रूपमा सहजैरुपमा विकसित गर्न सक्छौं | यी विधिहरूलाई Vedic Pre-death Therapy" वा "Vedic Pre-death counseling"मा विकास गरेर विश्वभरीका दीर्घरोगीहरूको मरणलाई सरल बनाउन सकिन्छ | हाल पश्चिमाहरुले प्रयोग गर्ने गरेको "आध्यात्मिक परामर्श" एस्तो अवस्थामा केही प्रभावकारी देखिए तापनि पर्याप्त कत्तिपनि छैन |

शरीरलाई स्वास्थ्य राख्न पश्चिमाहरूले औषधि विज्ञानमा गरेको प्रगतिले सबै लाभान्वित भएका छौँ | तर एसले एउटा विकृति पनि निम्त्याएको छ : अतिधेरै शरीरप्रतिको मोह | शरीरलाई नै अजर-अमर बनाउने मोहले उनीहरू अराजक बनेका छन् | मान्छे जतिधेरै मृत्युसंग डराउँछ त्यति नै धेरै उसको शरीरप्रतिको मोह बढ्दैजान्छ | अनि, विश्वभरीको शक्ति संचय गरेर भए पनि शरीरलाई सधैं राख्न चाहन्छ | यही भौतिकवादीहरूको पीडा हो | 

वेद, उपनिषद, पुराणहरू एकस्वरमा भन्छन् "शरीर हरिको मन्दिर हो | यसको देखभाल गर | तर जीवनको तेस्रो आश्रम अर्थात् वानप्रस्थ र सन्यास आश्रममा शरीरको लागि जीउने सन्दर्भ परिवर्तन गर | ५० वर्षकाटेपछि शरीरको लागि होइन, परमार्थका लागि जिउने प्रयत्न गर | जीवनको चाहना राख्नेहरूको लागि पुनर्जन्मको बाटो खुला नै छ | किन बर्तमान शरीरप्रति बढी मोहित हुनुपर्यो ?

कुरो ठीकै हो - हामीले चाहना राख्दैमा जन्म, मृत्यु, बुढ्यौली तथा रोगहरूबाट जोगिन सकिन्न | बरू, यी सबैलाई सहजतापूर्वक स्वागत गर्ने व्यक्तिहरू बढी बुद्धिमान् हुन्छन् | यस्ता बुझक्कडहरूको लागि मरण सरल र सहज हुन्छ | ज्ञानमर्दछ हाँसेर रोई विज्ञान मर्दछ - भौतिकवादमा विश्वास राख्ने बालकृष्ण समले समेत ज्ञानले मृत्यु सहज हुने कुरा प्रल्हादमा लेखेकै छन् | 

असलमा, मरणलाई नै सहज बनाउने एकमात्र "परामर्श-पद्यतिको" उद्द्गम थलो नेपाल हो र तेसका प्रवर्तक दमौलीका ब्यास हुन् भने प्रथम परामर्शदाता उनकै छोरा ऋषि शुकदेव हुन् कि ?

क्रमशः 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...