Tuesday, October 16, 2018

सबैको दशैं

अवको दशैं !!
दशैँ आयो | घर-घर दशैंको तयारी हुँदैछ | फरकफरक तवरले | पहाड-हिमाल तराई सबैतिर | मान्ने तरिका फरक होलान् | दशैं मान्दिन भन्ने पनि होलान् | नमान्नेहरूका लागि कर पनि छैन | कर गर्नु पनि हुँदैन | केहीले विरोध पनि गर्लान् | तर दशैँले सबैलाई प्रभावित पार्छ नै | सरकारले सबैलाई छुट्टी दिन्छ | विना भेदभाव एकमहिना वरावरको तलव दिन्छ | सबैले छुट्टीको उपयोग गर्छन् | तलवको प्रयोग गर्छन् |

पहाडी नेपालीहरूका लागि दशैँ दशैं हो | तराईवासीका लागि विजयादशमी वा दशहरा हो | तराईमा रावण वध गरिन्छ | पहाडमा टीका थापेर आशिर्वाद थापिन्छ | कसैले सेतो टीका लगाउँछन् | केहीले रातो टीका | तर दही र जमरा सबैले प्रयोग गर्छौं | मीठो-मसिनो सबैले खान्छन् | नया लुगा लाउँछन् | इष्टमित्रसंग भेट हुन्छ | परदेशीहरू घर फर्कन्छन् |

दशैँ हाम्रो चाड हो | हाम्रो लागि गौरव हो | एसको रक्षा गर्नु हाम्रो दायित्व हो | आफ्नो वीऊ आफै जोगाउने हो | विदेशीलाई कुनै कर छैन | उनीहरूसंग हाम्रो जस्तो चाड पनि छैनन् | धर्म, संस्कृति तथा मनोरंजन सबैतिर दशैं छ | धर्म नमान्नेहरूले पनि रमाइलो गर्न सक्छन् | जुन धर्म माने पनि मौलिकताको निन्दा गर्नु उचित होइन | बालबालिकालाई थुनेर राख्नु अपराध हो | विधर्मीलाई पनि आमन्त्रण गरौँ | दशैँ कर होइन रहर होस् |

दशैं एउटा परम्परा हो | हरेक परम्पराको एउटा कथा हुन्छ | दशैंको पनि कथा छ - रामले रावणमाथि विजय गरे | रावण अधर्मको प्रतिक भनिन्छ | अधर्मक दशबटा जिब्रा हुन्छन् | झूटो मान्छे अधर्मी हुन्छ | रावणले सीताको अपहरण गरेर लगेको थियो | विवाह गर्न चाहान्थ्यो | तर सीतासंग बलात्कार गरेन | अधर्मी नै भए पनि बलात्कारी भएन | उ नास्तिक थियो | आफुमा रमाउने | अरूको सुखसुखको वास्ता नगर्ने | रावण ठूलो विद्वान थियो | विद्वान मान्छे नै बढी खुराफाती हुन्छ |

लंका विजयपछि राम फर्के | अयोध्यामा स्वागत भयो | विजय दिवस मानियो | यो सबै कुरा दशमी तिथिमा भयो | दशमी नै दशैं हो | अरू नौ दिन दुर्गाका हुन् | नवदुर्गाको पूजाआराधना हुन्छ | भनिन्छ, रामले दुर्गाको आराधना गरेका थिए | यही आराधनाले रावण मर्यो | शक्तिप्राप्तिको पर्व हो नौदुर्गा | रामले पनि दुर्गाबाट शक्ति प्राप्त गरे | तपस्या नगरी कसैले पनि शक्ति प्राप्त गर्दैन | नौ-दुर्गा शक्तिको संकल्प हो |

नौ दुर्गाको आफ्नै कथा छ | महिषासुरले दुख दिएपछि दूर्गाको उत्पत्ति हुन्छ | सप्तसति चण्डीमा एसको लामो प्रसंग छ | असलमा, नेपाल शाक्त देश हो | नेपालका हरेक गाउँमा देवीका मन्दिर छन् | कोट-कोटमा देवीका थान छन् | घरका प्रत्येक सदस्यले अविवाहित कन्यालाई देवी मान्छ | कन्याको पूजा हुन्छ | जीवित देवी कुमारी नेपाल छिन् | नेपाल देवीको देश हो |

महिलाका नामको पछाडी "देवी" लगाइन्छ | हरेक महिला शक्तिका स्रोत हुन् | प्रेमका स्रोत हुन् | करुणाका स्रोत हुन् | विजय र आदर्शका स्रोत हुन् | महिला दाहिने नभए परिवार रहन्न | परिवार रहे पनि शान्ति रहन्न | आज पनि घर भनेकी म,महिला हुन् | परिवार भनेकी पत्नी हुन् | आमा भनेकी घर हुन् | छोरी भनेकी पूज्या हुन् |

नौ दिनसम्म हामी नेपालीले मातृशक्तिको आराधना गर्छौं | घटस्थापनादेखि नवमीसम्म दूर्गाको आराधना चल्छ | फरक-फरक तवरले उपासना हुन्छ | केहीले अन्न ग्रहण गर्दैनन् | केहीले जलमात्र पिएर आराधना गर्छन् | अष्टमीका दिन बलिदान दिइन्छ | हजारौं पशु-पक्षीहरू मारिन्छन् | कमसल आचरणको बलिदान दिनु उचित हुन्छ | काम-वासना, घृणा, लोभ, मोह, भ्रष्टाचारको वलिदान दिनु उचित हुन्छ |

पशुबलिको विषय पेचिलो छ | हरेक वर्ष नेपालमा बहस हुन्छ | पक्ष र विपक्षमा | शास्त्रहरू पनि पक्ष-विपक्षमा छन् | तर एउटा कुरा पक्का हो | मासुकै लागि बलिदान ठीक होइन | स्वादकै लागि बलिदान उचित होइन | मासु खानकै लागि बलिदान गर्नु पर्दैन | देवीको नाम जोड्नु आवश्यक छैन | देवी जगन्माता हुन् | पशु पनि जगत कै अंग हो |

दशैको सबैभन्दा मीठो पक्ष आशिर्वाद हो | टीका, जमरा र प्रसादसंग आएको प्रेम हो | दशैं मिलनको पर्व हो | आफ्नो जरोकिलो सिक्ने पाठशाला हो | परम्पराहरू पुस्तान्तरण गर्ने क्रियात्मक कलेज हो | मनहरू जोड्ने अवसर हो | बूढाबूढीको लागि अवसर हो | बालबालिकाहरूका लागि रमाइलो हो | प्रौढहरूका लागि पुनर्मिलनको पर्व हो |

जीवन विश्वासले चल्छ | विज्ञानले सुख दिन्छ तर विश्वासले खुसी | दशैं-तिहार खुसी र सुखका पर्व हुन् | दशैंसंग विश्वास जोडिएको छ | दशैंले भावनात्मक सन्तोष दिन्छ | पूर्णता दिन्छ र उत्साह दिन्छ | सबै थोक विज्ञान सम्मत खोज्नु मूर्खता हो | मान्छे भावनात्मक प्राणी हो | विज्ञान नहुँदा मान्छे जीवित रहन्छ | उत्सव, उत्साह, आशा तथा विश्वास नभए बाँच्दैन | दशैं जीवनको विश्वास हो | अर्को वर्षसम्म जीवित रहने आशाको संचार हो |

दशैं नेपालीहरूको आफ्नो मौलिक चाड हो | एसला आफ्नै विशेषता छन् | दहीको-चामलको टीका र जमरा हाम्रो आफ्नोपन हो | नेपालीले मात्र मान्छौं | दशैंजस्ता मौलिक चाडले हामी नेपाली हौँ | हाम्रो नेपालीपनक लागि दशैं हुनुपर्छ | तिहार हुनुपर्छ | तीज हुनुपर्छ | यी सबैले हामी एक हुन्छौं |

ऋण शत्रु हो | करले होइन रहरले मानौं | निल्न नसक्ने गाँस मुखमा नहालेको राम्रो | धेरै चिल्लो, पिरो, गुलियो नखाएको राम्रो | केटाकेटीलाई मारकाट नदेखाएको राम्रो | सकेसम्म पशुबलि नदिएको राम्रो | बासी कुरा नखाएको राम्रो | स्वास्थ्य शरीर हाम्रो प्राथमिकता हुनुपर्छ | घिचेर होइन भोकले खानुपर्छ | इर्ष्या, भष्ट्राचार, घृणा, अनैतिकताजस्ता कमसल भावना र ब्यबहार त्यागेको राम्रो | आफुले प्रेम गरेर अरूबाट प्रेम प्राप्त गरेको राम्रो | रावण होइन रामबाट सिक्ने प्रतिज्ञा गरेको राम्रो |

अन्त्यमा, विश्वासले जीवन चल्छ | आफ्नो संस्कृति, परम्परा तथा संस्कारको संरक्षण गरौँ | नराम्रो त्यागौं | राम्रो अङ्गिकार गरौँ | मान्छे-मान्छेमा विभेद नगरौं | वातावरण सुधार्न मदत गरौँ | सकेसम्म पशुहिंसा नगरौं | सबैसहित आफ्नो कल्याणको कामना गरौँ | यो दशैंले हामी समस्त नेपालीहरूका वीच प्रेमको गाँठो बांधियोस् | नेपाल र नेपालीको कल्याण होस् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...