Tuesday, October 16, 2018

धर्म र धार्मिकता

र्म र धार्मिकता 
धर्मको अर्थ मूल गुण हो | धर्मको अर्थ वेद, उपनिषद्, पुराणले स्थापित गरेको मर्यादा हो | यही मर्यादा आचरण हो | विधिनिषेधका रूपमा स्वीकार्य आदेश र तेसअनुकुलको मर्यादा नै शुभआचरण हो | दुराचारी धार्मिक हुनै सक्दैन | धार्मिकता र ढोंगको मिलन कहीं हुँदैन |

धर्मले कसैलाई कुभलो गर्न सक्दैन | धर्ममा ढोंग, पाखण्ड तथा लालसा हुँदैन | धार्मिकता सत्यको कवचले ढाकेको हुन्छ | एस्तो सत्यको कवचमा सत्याग्रह हुन्छ | सत्यको ओज हुन्छ | धर्म सत्य हो | सत्यले सबैलाई प्रकाशित गर्छ | हामी नेपालीको जरोकिलो र स्वाभिमान वैदिक सत्यताको जगमा निर्मित भएको छ | हाम्रो लागि वेदानुकुल आचरण नै धर्म हो |

वैदिक धर्ममा उन्माद हुँदैन | घृणा हुदैन | विश्व कल्याण र परमात्माको प्राप्ति यी दूई इच्छा बाहेक कुनै इच्छा हुँदैनन् | धेरै चेला जोड्ने, ठूलाठूला आश्रम बनाएर उपाधि थाप्ने इच्छा मार्नेहरू सन्त बन्छन् | उनीहरूको गति जङ्गलतिर हुन्छ शहरतिर होइन | उनीहरू सम्पति जोड्नमा होइन छोड्नमा गर्व गर्छन् | यतो धर्म: ततो जय: - जहाँ धर्म हुन्छ तेहा स्वार्थ हुँदैन | वासना र स्वार्थ उपर विजयको विनम्रता हुन्छ |

धूर्तहरूले आफ्नो दमित इच्छा पूर्ण गर्न धर्म र धार्मिकताको सहारा लिन्छन् | वेदवचन, उपनिषदका सिद्धान्तहरू र सत्कर्मका आदेशहरूको किन बेच गर्छन् | एस्तो अभिनय गर्ने नायक/नायिकाहरू दक्ष हुन्छन् | आफ्नो अभिनयले विद्वानहरूलाई समेत भ्रममा पार्छन् |

प्रसिद्ध वैदिक ऋषिहरू वशिष्ट, याज्ञवल्क्य, भारद्वाज, नारद, विश्वमित्रआदिले तपस्या, सत्य र धर्मको बलले विश्वलाई प्रकाशित गरेका थिए | आचार्यहरूले प्रस्थानत्रयको अनुसरण गर्दै वैदिक दर्शनमा सिद्धान्तको बज्रलेप लगाएका थिए | उनीहरूका परम्पराहरू प्रज्वलित छन् |

राजनैतिक व्यक्तित्वले सर्वसाधारण जनताको भावनामा ब्यापार गरेर सत्ता प्राप्त गर्छन् | केहीले राम्रो काम गर्छन् केही असफल हुन्छन् | एस्तो क्रम चलिनै रहन्छ |

तर सन्त तुलसीदासले भने झैं राजनीति, व्यापार तथा पारिवारिक जीवनमा असफल भएका तर महत्वाकांक्षीहरू भने धार्मिकताको आडम्बर स्वीकार गर्छन् | उनीहरू वेद र प्रस्थानत्रयले स्थापित गरेको आध्यात्मिक परम्पराका इर्ष्यालु शिष्य बन्छन् |

तेस्तै असफल इर्ष्यालुहरूको अर्को समुहले "उपाधि दिने पसल"हरू खोल्छन् | विद्वानहरूको खोल ओढेर "उपाधिको पसल" चलाउने र आफ्नो असफलतालाई सफलतामा वदल्न धार्मिकताको आवरणमा रहेका पाखण्डीहरूको गठबन्धन निर्मित हुन्छ |

अनि, तेहाबाट विश्वगुरू, जगदगुरू, विश्वगुरूआदिका उपाधिहरू वितरण गरिन्छ | एस्तो मिलोमतोको ब्युजिनेशलाई लोकतन्त्र वा प्रजातन्त्रको नाममा जनताको मनबेच्ने राजनीतिज्ञहरूले समर्थन गरेर संस्थागत गर्छन् |

विश्वास गर्नुस्, कुनै पनि वेदले, उपनिषद्ले, पुराणले प्रस्थानत्रयको वैदिक ब्याख्या गर्दै सिद्धान्त स्थापित गर्न नसक्नेलाई "जगदगुरु, विश्वगुरु वा ब्रह्माण्डगुरू"को उपाधि दिंदैन |

पाखण्डीहरूको सङ्गत गर्नुभन्दा अधार्मिक नै रहनु राम्रो | किनभने अधार्मिकको सिद्धान्त हुन्छ तर ढोंगीले धर्मको आत्मा नै मार्छ | आफुलाई वैदिक पनि भन्ने तर वेदले स्थापित गरेका संस्कार र मान्यतालाई लत्याउन्दै
महावैदिक बन्नेहरू ब्यापारी हुन् | धार्मिक होइन |

लोकतन्त्र होस् वा प्रजातन्त्र - जनताको भावना बेच्ने राजनीतिज्ञ र धर्मको नाममा अधर्म बोक्ने पाखण्डीहरूको ब्यापार फस्टाएकै हो | यदि धार्मिकताको संरक्षण गर्ने नै हो भने धार्मिकताको अपब्याख्या गर्न मिल्दैन | सत्यले पोल्छ | सत्य भोट हालेर निक्यौल गरिने विषय होइन | सत्यको कुनै जेन्डर हुँदैन | सत्य केवल सत्य हुन्छ |

वेदको नाममा मनोकल्पित कर्म वा उपाधिलाई "धर्म" भन्दै प्रचार गर्ने ढोंगीहरू भन्दा भौतिकवादी नै धेरै असल !! वैदिक इतिहासमा नास्तिकहरूलाई सम्मान गरिएको छ किनभने उनीहरूको निष्ठा नास्तिकतामा हुन्छ | धर्मको नाममा व्यापार गर्नेहरू कपटी ब्यापारी हुन् जसको मूल उद्देश्य नै ठग्नु हो | अहिले हामी नेपालीहरू धार्मिक र राजनैतिक ठगहरूको फन्दामा परिरहेका छौँ |

नेपालको धार्मिक संस्कृतिलाई इसाई-मुसाईहरूले भन्दा बढी यी पाखण्डीहरूको ढोंगले विकृत बनाएको छ | एस्तो विषयमा वहस त हुनैपर्छ | सत्याग्रह सहन सक्नेले यो लेख पढून र शेयर गरुन् | यतो: धर्म ततो जय: यो वैदिक उद्घोषण असत्य हुनै सक्दैन |

कपिराइट : गोविन्दशरण 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...