Wednesday, April 28, 2021

अलिअलि मनको कुरा

अलिअलि मनको कुरा
अलिअलि झिझो लाग्नु, अलिअलि रीस, मनमा डर, थोरै चिन्ता र असुरक्षाको भावना कोभिडले थोरैथोरै हामी सबैमा निम्त्याएको छ | अलिअलि निन्द्रामा पनि समस्या परेको हुनसक्छ - कि धेरै सुत्ने कि थोरै सुत्ने |
डेढवर्ष सम्म हामीले कोभिडलाई डटेर सहेका छौँ | तर सबैको मन एकै नासको हुँदैन | कसैको कमलो हुन्छ, कसैको दह्रो हुन्छ | कसैकसैको मन स-सानो घटनाले धेरै पिरोलिंछ | कोभिड त ठूलै मानवीय समस्या हो | कोभिडले मान्छेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा रहनसहनमा निकै प्रभाव परेको छ |
Dr. Govinda
पहिले नलाग्ने तर अहिले यदि "धेरै झिझो लाग्ने गरेको छु, निकै सूर्ता लाग्छ, निकै डर लागि रहन्छ, मन ज्यादै अशान्त रहन्छ, स-सानो कुरामा अतिधेरै रीस उठ्छ, दैनिक व्यबहार पनि अचम्मले बदलिएको छ र पछि आफ्नो व्यबहारप्रति निकै पश्चाताप हुन्छ भने कोबिडले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थालेको भनेर बुझ्नु राम्रो हुन्छ |

शरीरका घाउँ देखिन्छन्, मनका घाउँ देखिन्नन् | मनका घाउँहरू निकै गहिरा हुन्छन् | जव मनका घाउँहरू गहिरा हुँदै जान्छन् | मन अत्तालिन्छ, पिरोलिंछ, डराउँछ, अशान्त हुन्छ, रिसाउँछ, रुन्छ, वेवास्ता गर्ने खालको हुन्छ, निराश हुन्छ, अन्त्यमा "आत्महत्या गरेर संसारबाट विदा हो" सम्म भन्छ | मन विरामी भएको कुरा मनले नै थाहा पाउनुपर्छ |

हामी हरेकसंग एउटा मन छ | त्यो मननै हाम्रो आफ्नो हो | एकमात्र मनलाई धेरै पिरल्नु हुँदैन | मन पिरलियो भने सबैतिर विग्रन्छ | समय मै पिरलिएको मनलाई सहयोग गर्नुपर्छ | सहयोग प्राप्त गरे मन खुसी हुन्छ | मन खुसी भए मनवाला सुखी हुन्छ | तेसैले यदि आफ्नो "मन विग्रिएको" जस्तो लाग्छ छ भने निर्धक्कसंग परामर्श गरौँ | मनलाई पनि सहयोग चाहिन्छ भन्ने स्वीकार गरौँ |

मन स्वास्थ्य हुँदा शरीर स्वास्थ्य हुन्छ | संसार रमाइलो लाग्छ | आफन्त रिसाए पनि रीसमा सुन्दरता र प्रेमको झल्को लाग्छ | छोराछोरीको बोलीमा प्रेम प्रकट हुन्छ | श्रीमतीका सिकायतहरू पनि सहज हुन्छन् | हरेक काममा आत्मविश्वास झल्किन्छ | ठूलासाना निर्णयहरू सजिलैसँग गरिन्छ | समयमा सुतिन्छ, समयमा उठिन्छ | मज्जाले भोजन मिठो हुन्छ | साथीहरूसंग जिस्किन, घुम्न सबै रमाइलो लाग्छ | मन विग्रेको छ भने यही कुराले पीडा दिन्छन् |

विश्वमा जे-जति मान्छे भए पनि मेरो मन "मेरो मात्र हो" | मैले मेरो मनको हेरविचार गर्नै पर्छ | मैले मेरो मन हेरविचार गरिन भने कसैले गर्दैन | मनमा धेरै विचार आउँछन्, ती विचारले असजिलो पार्छन् भने आफैलाई असजिलो हुन्छ | कोभिडले मन विग्रनसक्छ, हेरविचार गरौँ |

मन दुख्ने, मन पिरोलिने, मन पोल्ने, मन डराउँने, मन आत्तिने, मन फाट्छ, मन पात्तिने, मन छियाछिया हुने, मन रूँने, मन खुम्चिने, मन नपर्ने, मन नमान्ने, मन च्याँठिने, मन चीसो हुने, मन मात्तिने, मन झुम्म हुने, मन गुम्म्म हुने, मन तर्सिने, मन उदास हुने, मन नलाग्ने, मन तर्सिने - जस्ता अनेकौं कुराहरूले मन विरामी भएको तत्थ्यको सूचना दिन्छन् | यदि कसैको मनले ३५ दिन भन्दा बढी यी समस्याहरूसंग लडिरहेको छ, भने अव यसले विश्राम पाउनुपर्छ |

हाम्रो मन रमाउँनु पर्छ, गद्गद् हुनुपर्छ, मनकारी हुनुपर्छ, माया गर्ने हुनुपर्छ, बलियो हुनुपर्छ, मन लाग्नु पर्छ, मन हर्षित हुनुपर्छ, मन पर्नु पर्छ, सहज र सरल हुनुपर्छ | मन बलियो हुनुपर्छ तर अनावश्यक बलियो पनि हुनुहुँदैन | शरीरलाई बलियो बनाउँन हामीले कसरत गर्छौं तर मनलाई बलियो र स्वास्थ्य बनाउँन हामीले केही गर्दैनौ | साच्चिकै भन्ने हो भने जान्दैनौं | अव मन बलियो, स्वास्थ्य पार्ने तरिका जान्नु पर्छ |

विहानै उठेर विहानी हावामा उभिंदा मन खुसी हुन्छ | करेसावारीमा फुल रोप्दा, पानीले सिचाई गर्दा, केही वेर खन्दा, केटाकेटीसंग जिस्किंदा, उनीहरूसंग खेल्दा, उनीहरूलाई मीठामिठा कथा सुनाउंदा, आफैले कथा सुन्दा, विहानी पखको घामले जीऊ देखाउँदा, लामोलामो सास फेर्दा, प्राणायाम गर्दा, ध्यान गर्दा, गीता-भागवत पाठ गर्दा, मन लागेको मन्दिरमा भगवान्को दर्शन गर्दा, कहिलेकाहीं परिवारसंग मिलेर घुम्न जाँदा मन खुसी हुन्छ, मनको मरम्मत हुन्छ |

राम्रो कुरा सोच्ने अभ्यास गरेर, राम्रो ठाउँमा घुमेको कुरा सम्झेर, जीवनका असल र मीठा घटनाहरू सम्झेर/ अरूलाई सुनाएर, मन पर्ने तर स्वास्थ्ययुक्त भोजन खाएर, दैनिक रूपमा केही वेर नाँचेर, केही वेर हाँसेर, केही वेर विंदास तरिकाले एताउता तहलकदमी गरेर मन राम्रो हुन्छ | तर अलिकति बढी समय बढी लाग्छ | अलिधेर्य चाहिन्छ |

आफैलाई विश्वास गरौँ | आफ्नो शक्तिलाई चिनौं | म निको हुन्छु भन्ने विश्वास गरौँ | निको हुनका लागि नियमहरूको पालना गरौँ | वितेका कुरामा शोक नगरौं , भविष्यका लागि चिन्ता छोडौं, वर्तमानका लागि डराउँन त्यागौं | यी सबै हामी आफैले गर्नुपर्छ | परिवारले सघाउँनुपर्छ | परिवार, आफन्त र छिमेकीले सहयोग गर्नुपर्छ | मान्छे सहयोगमा बाँच्ने प्राणी हो भन्ने नविर्सौं |

तपाईंमा, तपाईंको छिमेकमा र आफन्तमा उपरोक्त लक्षणहरू देखा परेका छन् भने हामी सहयोग गर्न तयार छौँ | मनोबैज्ञानिक परामर्श लिनुहोस् र मानसिक रूपमा स्वास्थ्य रहनुहोस् |
सम्पर्कका लागि इनबक्समा म्यासेज गर्नुहोला |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...