Tuesday, December 21, 2021

श्रीमद्भगवद्-गीता छैठो आयाम

श्रीमद्भगवद्-गीता  छैठो आयाम
हामी तेस्रो आयाममा छौँ | चौथो आयाम समय हो जसले हाम्री समेत समस्त विश्वको जन्म, पालन र अन्त्यलाई नियन्त्रित गर्छ | पाँचौ आयाम भनेको हाम्रो भाग्यमा नियन्त्रण गर्ने शक्ति हो भने छैठो आयाम ब्रह्म हो जसले सम्पूर्ण विश्वको सृष्टिको निर्माण गर्छ | श्रीमद्भगवद्-गीताले प्राथमिक तीनबटा आयामहरूसंगै अघिल्ला तीनबटा आयाम अर्थात् समय, भाग्यविधाता र ब्रह्मसंग जीवको मिलन गराउँछ |

संस्कृतमा "ब्रह्म" शब्दको अर्थ विशालतम भन्ने हुन्छ | यही विशालतमबाट ब्रह्माण्डको निर्माण भएको हो | कुनै पनि वस्तु वा विषय यस विशालतमबाट वाहिर हुनै सक्दैनन् | एउटा अणुले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने ब्रह्माण्डले अणुको | आजको विज्ञानले यो तत्थ्यलाई स्वीकार गरेको छ |

गीताले एउटा व्यक्तिलाई साधना गरेर आफुभित्र सम्पूर्ण ब्रह्माण्डलाई साक्षात्कार गर्न अभिप्रेरित मात्रै गर्दैन अपितु त्यो अवस्था प्राप्त गर्ने साधना पनि बताउँछ | पाँच महाभूत (पृथ्वी, जल. तेज, वायु र आकाश)को अस्तित्व मान्ने तर चेतनाको श्रोतलाई अस्वीकार गर्ने आधुनिक भौतिक विज्ञानको निष्कर्ष त्रुटिपूर्ण ठान्छु | जसरी विशालभित्र भौतिक वस्तुहरूको उपलब्धि छ तेसैगरी चैतन्यतत्वको पनि उपस्थिति छ |

ब्रहम र ब्रह्माण्डको अंशका रूपमा हरेक व्यक्तिले आफ्नो विराटअवस्था साक्षात्कार गर्न सक्छ | अर्जुनले विराट रूपको दर्शन गरेका थिए भन्नुको अर्थ हो अहिलेको त्रिआयामबाट माथि उठेर छैठौं आयाम अर्थात् अणुमा विराट र विराटमा अणुको आत्मसाक्षात्कार तथा एकीकृतभावमा स्थापित हुनु | उपनिषद् तथा पुराणहरूमा धेरै व्यक्तिहरूले साधना गरेर यो अवस्था प्राप्त गरेका उदाहरण उपलब्ध छन् |

मैले आफै पनि धेरैपटक गायत्री जप्दै गर्दा भौतिक शरीरले पन्चमहाभुतसंग र चेतनाले सत्चिन्दनंद अवस्थाको क्षणिक अनुभूति गरेको छु | मेरा अनुभूतिहरू मनोबैज्ञानिक विकृति वा मनोविषाद होइनन् | यी अनुभूतिहरूले मलाई सधैं प्रसन्न रहन र पुन: तिनै अनुभूतिहरूको उद्योग गर्न अभिप्रेरित गर्छन् | आहार, विहार तथा क्रियामा सात्विकता हुनुपर्छ भन्ने साधनामा विश्वास नगर्ने तर विराटको साक्षात्कारमा अभिरुचि राख्नेहरूका लागि विराट सधैं अनुपलब्ध विषय हुनेछ | छैठौं आयाममा आरुढ़ हुन तेसका नियमहरू, साधनाहरु, खुड्किलाहरू चड्दै जानुपर्छ |

मनोमय शरीरबाट माथि उठ्न नचाहनेहरूका लागि "आकाशको फल आँखातरी मर" भनेझैं ब्रह्माण्डका कणकणमा फैलिएको विशालता सधैं अन्धविश्वासमा गुम्ने छ | जवसम्म हामीले ब्रहम तथा ब्रह्माण्डका बिचको अन्तरसम्वन्ध र एकत्वको (चैतन्य तथा जड) आत्मानुभूति गर्दैनौं तवसम्म हाम्रो लागि जडपदार्थ सत्य प्रतित हुन्छ तर जडपदार्थलाई चिन्न, नियमन गर्न र अनुभूति गर्न सक्ने चैतन्य अविज्ञात नै रहन्छ | चेतनारहित जड र जडरहित चेतना व्याबहारिक रुपमा सम्भव विषयवस्तु हुन् भने आध्यात्मिकस्तरमा दूवै अविच्छिन्न विषय हुन् |
गीताका अनुसार छैठो आयाम कुनै काल्पनिक (मनोवाद) होइन | व्यक्तिले साधना गरेर प्राप्त गर्न सक्छ | अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय कोशहरूको यात्रा गर्न शरीर नै चाहिन्छ किनभने शरीरसंग आबद्ध रहेको चेतनाले नै यी पांचआयामहरूको साक्षात्कार गर्न सक्छ | शरीरको विनाशपछि गरिने साक्षात्कारको भौतिक प्रयोजन हुँदैन | तेसैले योगकारले योगसाधनाको आधार शरीरलाई तोकेका छन् र यसलाई भौतिक, मानसिक तथा आध्यात्मिकतहमा स्वास्थ्य राख्ने विधिहरू निर्माण गरेका छन् | विधि स्वीकार नगर्ने तर आलोचना गर्नेहरू दयाका पात्र हुन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...