Saturday, February 11, 2023

भेलन्टाइन-डे अर्थात् सेक्सको व्यापारीकरण !

भारतवर्षमा फागुन र चैत महिनालाई बसन्त-ऋतु भनिन्छ | बसन्त ऋतुले मान्छेलाई प्रेम गर्ने र दिने आमन्त्रण गर्छ | भारतवर्षमा प्रेम-पर्व सम्भव थियो किनभने यहाँको मलिलो प्रकृतिले प्रचूरमात्रामा उत्पादन दिन्थी | भेलन्टाइन-डेको कुरा चल्दै गर्दा वसन्त ऋतुको कुरा पनि आउँछ | बसन्त ऋतुले मान्छेलाई सेक्सका लागि पागल बनाउंदैथ्यो तर भेलन्टाइन-डेका लागि कण्डम कम्पनीहरूको सुनौला विज्ञापनहरूले मान्छेलाई बौलाहाझैं बनाएको छ | नपत्याए गुगल गरेर खोज्नुस् विश्वमा सबैभन्दा कण्डम १४ फरवरीका दिन बिक्री हुन्छन् !!! यो सन्त भेलन्टाइनको सम्मान हो कि अपमान आफै विचार गरौँ |

मान्छेका लागि प्रेम दिनु र पाउनु धेरै महत्वपूर्ण विषय हो तर यो भन्दा पनि महत्वपूर्ण भोजन, निन्द्रा र सुरक्षा हुन् | भोको र असुरक्षित मान्छेले न प्रेम गर्न सक्छ न प्रेम दिन सक्छ | अनिन्द्राले जीवनी शक्ति क्षीण गर्छ | यदि तपाईंको पेट आंशिक रूपमा भए पनि नियमित भरिने गर्छ, केही क्षणका लागि भए पनि तपाईंले सुरक्षित अनुभव गर्नु हुन्छ र मज्जाले निदाएर जीवनी शक्तिलाई पुन: संचार गर्न सफल हुनुभएको छ भने तपाईंभित्र प्रेमका भावहरू उत्पन्न हुन्छन् | तपाईंलाई प्रेम गर्न र प्रेम स्वीकार्न मन लाग्छ |
निश्चयनै सजिलैसंग भर पेट भोजन प्राप्त गर्न सफल भएका र सुरक्षित ठान्नेहरूले प्रेमका सपना बुन्छन् | कुनै पनि भोको वा असुरक्षित व्यक्तिले "प्रेम पत्र लेख्दैन, प्रेम गीत गाउदैन, प्रेम-उपहार प्राप्त गर्न र दिनका लागि लामो प्रतीक्षा गर्दैन | उसका लागि वास, गास र कपास महत्वपूर्ण हुन्छ | प्रेमका ठाउँमा प्राकृतिक यौनक्रिया क्रियाशील हुन्छ | एउटा पशुले अर्को पशुसंग सम्भोग गर्दा केवल प्राकृतिक नियम पालन गरिरहेको हुन्छ, बंश-वृद्धिको प्राकृतिक क्रिया गरिरहेको हुन्छ | आहार, निन्द्रा, डर र मैथुन क्रिया (सेक्स)का सवालमा मान्छे र पशु बिच समानता छ | पशुमा बग्ने सेक्स-ड्राइभ मान्छेमा पनि बग्छ | सुरक्षित र अघाएको मान्छेले "नियम" पालन गर्ने सम्भावना हुन्छ |
डार्विनले मान्छेलाई देउताबाट पशुमा झारेर ठिकै गरे | विकासको चरम अवस्थामा पुगे पनि मान्छेसंग उसको प्राकृतिक पशुता रहन्छ नै | भोक लाग्ने, सेक्सका लागि मरिमेट्ने. सुरक्षा खोज्ने र निदाउँने क्रिया मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको हो | उससंग भएको बुद्धिले उपरोक्त प्राकृतिक ड्राइभलाई नियमित गर्ने प्रयत्न गर्छ | उदाहरणका लागि २१ सौं शताब्दिको "विकसित र ज्ञानी मान्छे पनि युद्धजस्ता असजिला अवस्थाहरूमा लुट्ने, बलात्कार गर्ने, मार्नेजस्ता पाशविक क्रियामा सजिलैसँग प्रवृत्त हुन्छ | यस्तो अवस्थाहरूमा बुद्धिले पशुतालाई सघाउने (सुरक्षित बलात्कार गर्ने र लुकाउने) क्रियालाई महत्व दिन्छ | सेक्स, सुरक्षा र डरको पशुता कहाँ, कतिवेला र कसरी जाग्छ र क्रिया सम्पन्न गर्छ ? कसैले भविष्यवाणी गर्न सक्दैन |
२१ सौं शताब्दिका धेरै मान्छेले भोक, सुरक्षा र निन्द्राको सहज अवस्था प्राप्त गरेका छन् | मानवीय इतिहासमा आजको मितिमा झैं मान्छे कहिलै पनि सुरक्षित र अघाएको थिएन | तेसैले मान्छेका लागि अनेकौं अवसर सृजना गरेर "रमाइलो" प्रकट गर्ने र गराउने अभूतपूर्व परिवेश प्राप्त भएको छ | आजका मान्छेको जीवन सहज तर चिन्तन र क्रियाकलाप निकै जटील छन् | मान्छेले प्रेमजस्तो आदर्श भावनालाई समेत "व्यापारको विषय" बनाएका छन् | भेलन्टाइन दिवसको अवसरलाई अत्यन्त सेलेब्रेटी बनाएर कण्डम-कम्पनिहरूले व्यापारीकरण गरेका छन् | युवापुस्ताहरूको स्वाभाविक प्रेमलाई "प्राकृतिक सेक्स-ड्राइभ"मा रुपान्तरित गरेर कण्डमको व्यापार गर्ने सूत्रको उपयोग गरेका छन् | भेलन्टाइन दिवसले "सर्वाधिक कण्डम बिक्ने" अवसर तेसै प्राप्त भएको होइन | सर्वेक्षणले यही भन्छ |
आजको युवापुस्ताले प्रेम र सेक्सका बिच कुनै पनि भिन्नता देख्दैन | प्रेम विना पनि सेक्स हुन सक्छ, बालबालिकाहरू जन्मिन सक्छन् तर प्रेम विना मित्रता, सहृदयता, करुणा, दया, ममता, नम्रता, कर्तव्यआदि सम्भव हुँदैनन् | यदि तपाईंले भेलन्टाइन दिवसलाई सेक्स-दिवसका रूपमा स्वीकार गर्नुभएको छ अथवा स्वीकृति प्रदान गर्नुभएको छ भने प्रेमको सीमा शरीरलाई भोगेपछि समाप्त हुनेछ | शरीरप्रतिको आकर्षणलाई प्रेम भन्न सकिन्न किनभने फेरी पनि शरीरले शरीरको मांग गर्ने छु र प्रेम शरीरको भोगसम्म पुगेर टुंगिने छ | प्रेम सेक्सको विरोधी होइन तर सेक्सचाहिं आफैमा प्रेम नभएर दुई शरीरको प्राकृतिक मिलन हो |
भेलन्टाइन दिवसका अनुयायीहरूले आत्मसमीक्षा गर्नुपर्छ कि प्रेम दिवसका नाममा कहीं कण्डम-व्यापारीहरूको व्यापारिक हतियार त वनिरहेक छैनौं ? यदि विवाहपूर्व शरीर भोग गर्नुभएको छ भने प्रेमका सवालमा अविश्वासका काँडाहरू रोपिएको छ | सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वीकृति विना एकअर्काको शरीर भोग्नेहरू विवाहपछि पनि एकआपसमा विश्वासनीय नै रहन्छन् भन्ने कुराको के ग्यारेन्टी ! एकआपसमा प्रेम गर्नु राम्रो कुरा हो तर विवाहपूर्व नै शरीरलाई भोग्ने निर्णय गरेर कण्डम कम्पनिहरूको क्रेता बन्नु र भविष्यको लागि दाम्पत्यमा शंकाका वादलहरू तयार पार्नु कुनै पनि अर्थमा उचित होइन |
अहिलेको समयमा रमाइला चाडवाडहरू वैश्विक भएका छन् | विश्व एकता गाउँझैं बनिरहेको अवस्थामा भेलन्टाइन-डेको आलोचना गर्दैमा युवाहरू यो यसबाट विमुख हुँदैनन् | नेपालमाको प्रणय दिवस बसन्त-पंचमी हो र बसन्त ऋतु (फागुन-चैत) प्रणय महिना हुन् भन्ने यथार्थतालाई पश्चिमी व्यापारले कुण्ठित पारेको छ | भेलन्टाइन-डे नेपालीहरूको मौलिक चाड होइन, यो सेक्सलाई बजारीकरण गर्ने विज्ञापन हो भन्दा सुन्नेवाल छैनन् | अन्त्यमा, भेलन्टाइन-डे कसैको लागि आत्मसम्मान लुटिने, बलात्कृत हुने र जीवनभरी हीनताबोधको कारक नबनोस् भन्ने तत्थ्यमा प्रत्येक युवायुवतिहरू सजग, सचेत हुनुपर्छ भने अभिभावकहरूले पनि विवेकको आँखा खोल्नुपर्छ किनभने प्रेम अभिशाप बन्नु हुँदैन |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...