Saturday, August 12, 2023

सित्तैवाद

 सित्तैवाद

हाम्रा पुर्खाले चरम गरिवीमा पनि ठाउँठाउँमा वरपिपल, स्वामी, आप, कटहर रोपेर चौपारी निर्माण गर्थे | त्यतिले नपुगेर वर र पिपलको मान्छेझैं ठानेर विवाह पनि गराउंथे | आज पनि विकासे डोजरको आक्रमणमा नपरेका वरपिपलका चौपारी जीवित छन् | ती चौपारीले आज पनि सानसंग गोठाला र बटुवालाई आफ्नो छायाँ दिएकै छन् | कुनै सनकी मेयर वा गा.पा. अध्यक्षले चौपारीको छायाँमा बसेको पनि "कर" लगायो भने अचम्म नमान्नु !!
-गाउँगाउँका सर्वसाधारण देखि प्रधानमन्त्रीको मनमा राजगरिरहेको "सित्तैवाद"ले देशको ठूलो क्रियाशील जनसंख्या परजीवि हुँदैछ | बूढाबूढीलाई भत्ता दिनु राम्रो हो तर आफ्नै लागि विद्यालय, मन्दिर, पुस्तकालयजस्ता आधारभूत कुराहरू निर्माण गर्दा पनि सरकारी बजेट ताक्ने मानसिकता विकसित हुनु, एउटा बाखो पाल्दा सरकारी अनुदानको खोज गर्नु, बाटोको एउटा ढुंगा हटाउँदा सरकारी बजेट खोज्ने मानसिकताको विकास हुनु हदैसम्मको सित्तैवादको चरम अवस्था हो |
यदि सित्तै दिनुछ भने औषधिउपचारमा दिनुपर्छ, शिक्षामा दिनु पर्छ, भोकै मर्न लागेको अवस्थामा दिनुपर्छ तर "नगद" नै दिने सित्तैवादले मान्छेलाई निस्क्रिय नै बनाउँछ, परजिवी नै बनाउँछ | यो सित्तैवादले "मर्दा मलामी जाँदा पनि "भत्ता" चाहिने मानसिकताको विकास गररहेको छ | अनावश्यक ठाउँमा पनि बाटो खोल्ने डोजर संस्कृतिले "कमिसन"को मोहलाई संस्थागत गर्दैछ |
सरकारबाट "बजेट" नपरेसम्म सिन्को नभाच्ने मानसिकताजी निर्माण गर्ने संस्कृतिका जन्मदाता आइएन्जिओ र तिनको नक्कल गर्ने सरकार र तिनका कार्यक्रताबाट भएका रूख काटिने छन्, चौपारी मासिने छन् र "बजेट" नआएको झोकमा यी गापा वा महानगरका अफिसहरू पनि फालिने छन् | सित्तैवादको अन्तिम परिणाम त आउन बाँकी नै छ |
विदेशी समाजसेवाका नाममा दिने "सित्तै"ले नेपालका नामुद मान्छेहरूले वैभवशाली जीवन चलिरहेको छ | यिनै वैभवशालीहरूसंग मिलोमतो गरेर वर्तमान सरकारी तन्त्रले स्वक्रियाशील, आत्मनिर्भर तथा विवेकशील नेपालीहरूको सामाजिक भावनामा प्रहार गरिरहेको छ | स्वाभिमान र स्वाबलम्बका लागि विश्व प्रसिद्ध नेपाली समुदायहरू मार्क्सवाद, समाजवादका नाममा निरन्तर सित्तैवादको दलदलमा फँस्दै छ | यदि सरकारहरुले यसै किसिमले सित्तैवादलाई वलियो पार्दै लगे भने नेपाली जनताले यो सित्तैवादलाई जीवित राख्न आफ्नो घरघडेरी बेचेर कर तिनुपर्ने हुन्छ र वदलामा सरकारले "गापा"कार्यालयहरूबाट नगद "भत्ता" दिने छ |
पैसा कमाउनेले राज्यलाई कर तिर्नुपर्छ | कर तिरेपछि करदाताले सुविधा पनि प्राप्त गर्नुपर्छ | नेपालमा कर तिनु कर्तव्य मान्ने परिभाषा गरिन्छ तर त्यो कर तिरेको वदलामा सुविधा खोज्नुलाई अपराध सरह मानिन्छ | अचम्मको कुरा त के भने जनताले तिरेको करलाई नै नेताहरूले "हामीले दिएको" भन्दै सित्तैवादको विस्तार गर्छन् | जनतालाई नगद दिएर निरन्तर परजीवीको मनोविज्ञानमा अभ्यस्त बनाउने अपराध गर्छन् | हिजोसम्म गाउँलेहरू आफै मिलेर सोह्रेको कुलोका लागि आज सरकारको मुख ताक्छन् | अनि, खेतीपाती विग्रियो भनेर सरकारलाई नै सराप्छन् | एस्तो संस्कृतिका निर्माता अरू कुनै नभएर विदेशी राजनैतिक र सांस्कृतिक जीवनशैलीलाई "प्रगतिशील" ठान्ने राजनैतिक शक्तिहरू नै हुन् | खासगरी साम्यवादी र समाजवादीहरू जसको मुखमा चौविसै घण्टा "पूँजी" झुण्डिएको हुन्छ, सामाजिक समानता झुन्डिएको हुन्छ |
अहिले वर्षातको पर्खाइमा रहेका कृषकहरूलाई "सित्तैवाद"को फन्दाबाट उम्किएर स्वक्रियाशील बन्नका लागि यो कार्टुनले निकै पहल गर्न सक्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...