Saturday, August 12, 2023

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ |

 धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ |

प्रसंग २०१९ अप्रेल महिनाको हो | नेदरल्याण्डका एउटा सानो नगरका मेयरसंग उहाँको आफिसमा हामीबिच भलाकुसारी चल्दै थियो | तेत्तिकैमा लोकलपत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो |
मेयरले सोधिन् "तपाईंको देशमा पनि आत्महत्या गर्छन् ?
"धेरैले गर्छन् |
"किन गर्छन् ?
"सरकारले विकास र सम्पन्नताको झूटो आश्वासन दिन्छ | नेताहरू सधैं जनतालाई सुख र सुविधाको सपनामात्र देखाउने गर्छन् | एक्सपेक्टेशन धेरै हुन्छ तर रियललाईफमा त्यो हुँदैन | मेरो विचारमा सम्पन्न देशका नागरिक जीवनको नक्कल गर्न खोज्नु र त्यसका लागि स्रोतसाधन उपलब्ध नहुनु आत्महत्या रोज्ने कारण मध्ये एउटा हो | मैले "गरिवी र अशिक्षालाई मात्र दोष दिन्न | ई तपाईं धेरै धनी हुनुहुन्छ तर यहाँ पनि आत्महत्या गरेका छन् !
"तपाईंको देशका नागरिकले किन आत्महत्या गर्छन् ?
"मलाई ठ्याक्कै थाहा छैन तर मलाई लाग्छ, हाम्रो देशमा पारिवारिक (पतिपत्नी बिचको स्वाभाविक प्रेम र त्यसले निर्माण गर्ने गृहस्थी जीवनको) जीवनको ज्यादै अभाव छ | सबैलाई स्वतन्त्रता चाहिएको छ | बजारमा आउने नयाँ प्रविधिहरू चाहिएको छ | सबै आफैमा माग्न छ | एकअर्कालाई माया गर्ने कोइ पनि छैन | माया "सेक्स"संग जोडिएको छ | धेरैले प्राकृतिक माया साटासाट गर्ने, इम्पेथी व्यक्त गर्न सक्ने मान्छे नपाएर आत्महत्या गर्छन् होला ! हाम्रो सबै भन्दा ठूलो पीडा "परिवारिक जीवन पनि एउटा कर्मकाण्ड"झैं बन्नु हो |
"तर हाम्रा समाजवादी नेता र युवापुस्तालाई तपाईंहरूको जीवनशैलीको नक्कल गर्न निकै अभिरुचि देखिन्छ नि ?
"ए, त्यसो हो भने आत्महत्या बढ्ने निश्चित छ | म तपाईंको कुराबाट धेरैजसो सहमत छु कि आत्महत्याको कारण गरिवीमात्र होइन जीवनप्रतिको निराशा वा समाजप्रतिको विद्रोह पनि हुन्छ |
"नेपालीमा एउटा उखान छ "घाँटी विचार गरेर हड्डी निल्नुपर्छ" | अत्याधिक महत्वकांक्षी जीवन र चरम गरिवीले निराशा र निराशाले आत्महत्या निम्त्याउँछ | सधैं देशको सामाजिक, धार्मिक तथा सांस्कृतिक मान्यताको बोर्डरलाइन तोडेर स्वतन्त्रताको (स्वच्छन्दता"को उपभोग गर्छु भन्दा पनि दुर्घटना हुन्छ |
"आत्महत्या अत्यन्त अप्रिय निर्णय हो | मैले टर्कीबाट यहाँ आएर धेरै सङ्घर्ष गर्नु पर्यो तर मैले आत्महत्याको विचार आउनबाट रोकें | म धेरै पटक यो धनी देशमा भोकै सुतेकी छु | मेरा पति र सडकमा बास बसेका छौँ | म अहिले मेयर छु | सुन्दर जीवन बाँच्नु पर्छ - मेयरले भनिन् |
"हो, वेदमा पनि आत्महत्या गर्नुलाई "अन्धकारको बाटो" भन्दै आलोचना गरिएको छ | वेदले आत्महत्या गर्नबाट रोक्ने सबैभन्दा बलियो बाटो "धैर्य" हो भनिएको छ | मान्छेको जीवनमा सजिलो र असजिलो आउने र जाने गरिरहेका हुन्छन् | असजिलो पनि जान्छ भनेर धैर्य गर्नेहरूले आत्मविनाश गर्दैनन् | मलाई लाग्छ, "यो आत्महत्या गर्ने मान्छेले वेदको यो सुझावमा अमल गरेको भए आत्महत्या रोज्ने थिएन होला !
"हो, म वेदको सूझाव स्वीकार गर्छु | तर तपाईंहरू वेद मान्नुहुन्छ तर पनि आत्महत्या हुन्छन् नि ?
"पहिलो कुरा त वेदको यो उपदेशका विषयमा थोरै मान्छेहरूलाई थाहा छ | दोश्रो कुरा "चरम निराशा"मा कसैले वेद पढ्दैन | सम्बन्धित व्यक्तिले सबै थोक थाति राखेर आत्महत्याको योजना बनाउँछ र अनन्त: आत्महत्या गर्छ | मलाई लाग्छ, वेदको उपरोक्त सुझाव र अन्य दार्शनिक, धार्मिक र मनोबैज्ञानिक सुझावहरूलाई सर्वसाधारणले बुझ्ने गरी संचारमा लैजाने काम सरकारी निकायले गर्नुपर्छ | तर १००% आत्महत्या त रोकिन्न |
"मलाई लाग्छ, नेदरल्याण्डमा पारिवारिक (पतिपत्नीका परम्परागत स्वस्थ्य मूल्यहरू) मूल्यहरूलाई पुनस्थापित गरेर आत्महत्यामा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ | यस मामिलामा तपाईंहरू (नेपाली) र भारतीयहरू निकै सजीव हुनुहुन्छ - मेयरले भनिन् |
"हो, हाम्रो पारिवारिक मूल्यहरू बलिया छन् | मलाई लाग्छ, हाम्रो परिवारको संरचनामा रहेर हरेक व्यक्तिले माया साटासाट गर्न पाउँछ | एकल परिवार पनि राम्रै होला तर एकल परिवारका सदस्यले आफ्नो दायित्व आफै बोक्नु पर्ने हुँदा सिकायत गर्ने, आफ्नो सुखदुख पोख्ने ठाउँको अभाव भोग्नुपर्छ | तर आत्महत्या रोक्ने सबैभन्दा बलियो साधन भनेकै आफुलाई निराशाबाट जोगाउनु र धैर्यको अभ्यास गर्नु हो |
"समाज उन्नत होस् वा कमउन्नत | समस्यारहित कोही छैन | तपाईंहरूका आफ्ना समस्या छन्, हाम्रा आफ्ना | तर तपाईले वेदको जुन सुझावको कुरा गर्नुभयो मलाई मन पर्यो | उप्रान्त मैले यो सुझावलाई बोल्ने छु |
"म आभार व्यक्त गर्छु | तपाईंले यो सुझाव राम्ररी पुर्याउन सक्नुहुन्छ किनभने यसमा यहाँ राजनीति हुने छैन | हाम्रोमा सजिलो छैन | "वेद"को नाम लिंदासाथ हिन्दू र गैरहिन्दू भनेर राजनैतिक र जातीयताको रङ्ग दिने संभावना छ | जेहोस्, असल कुरा र असल काम गर्नुपर्छ |
उपरोक्त संवाद पुरानो अवश्य हो तर हालै दुईजना नेपालका प्रख्यात युवा व्यक्तिले आत्महत्या गरेको कुरा सार्वजनिक भएको छ - ती मध्ये एकजना प्रसिद्ध गाएक मोक्तान थिए भने अर्का अभिनेता ताम्राकार | इतिहास खोज्दै जाने हो भने गायन र सिनेमा क्षेत्रमा लागेका अनेकौं व्यक्तिले आत्महत्या गरेका छन् | उनीहरूले आत्महत्याको बाटो किन रोजे ? यो प्रश्नको १००% उत्तर नमिल्ला तर कुनै पनि व्यक्तिले विनाकारण आत्महत्या गर्दैन | नाम चलेका व्यक्तिहरूको आत्महत्याको क्रमिकता बढेसंगै समाजमा यसले नराम्रो असर पार्छ | आत्महत्याप्रति दुरुत्साहन उत्पन्न गर्ने खतरा बढ्छ | सरोकार वाला निकाय र मनोबैज्ञानिकहरूले अनुसन्धान गरेर ठीकठीक कारण पत्तो लगाउन सक्छन् | आत्महत्या गरिसकेका व्यक्तिहरूप्रति बढी "शङ्का र आरोप"को कुनै तुक छैन | सत्य हो कि कला र गायनसंग जोडिएका युवा-सम्भावनाहरूप्रति श्रद्धान्जली बाहेक हामीसंग केही छैन |
उपरोक्त दुई आत्महत्याका सवालमा एउटा विज्ञको रूपमा एत्ति भन्न सकिन्छ कि उहाँ दूवैले "कुनै न कुनै माध्यम प्रयोग गरेर आत्महत्या वारे प्रत्यक्ष वा अप्रत्यक्ष सूचना दिएकै हुनुपर्छ | किनभने मनोविज्ञानको नियमअनुसार आत्महत्याको तयारी वा निर्णय गरेको मान्छेले यसवारे बोलेर, लेखेर वा आफ्नो दैनिक व्यबहारमा देखिने गरी परिवर्तन गरेर सूचना दिन्छ | मलाई लाग्छ, सामाजिक संजाल चाहर्ने हो भने दुवै जनाले आत्महत्याको पूर्वसूचना दिएको कुरा भेट्न सम्भव छ | एस्तो अवस्थामा उहाँका सहकर्मी, पारिवारिक व्यक्तिहरू वा साथीहरूले उहाँहरूको "पुकार सुन्ने कुरा" जानेको भए दूवैको ज्यान जोगिन सक्थ्यो | खासगरी सम्बन्धित क्षेत्रका व्यक्तिहरूले आफ्ना सहकर्मीको भाषा र आनीबानीको "भाषा"मा ध्यान पुर्याउने बानी बसाल्नु धेरैराम्रो हुन्छ |
हामो देशमा कसैले पनि अकालमा मर्न नपरोस् | कसैले आत्महत्या गर्न नपरोस् | सबैले १०० बर्ष बाँच्ने लक्ष राख्न सकूँन् | आत्महत्या गरेका समाचारहरू पढ्न, सुन्न, लेख्न र देख्न नपरोस् | राष्ट्रदेव पशुपति नाथ, धर्मचक्र प्रवर्तक बुद्ध, जगतकीमा आमा पर्बतपुत्री पार्वती तथा महादेवी सीताको कृपा प्राप्त होस् |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...