Saturday, August 12, 2023

भविष्यको नैतिकता कस्तो हुने छ ?

 भविष्यको नैतिकता कस्तो हुने छ ?

१. मान्छेले निर्माण गरेको बौद्धिकता (रोबोट) आएपछि नैतिक आचरणमा धेरै परिवर्तन हुनुपर्ने नै थियो - जुन भएको छ | आजको ८ क्लासमा पढ्ने पुस्ताले विद्यालयमा गुरुआमाले पढाएको, घरमा आमावुवाले सिकाएको कुरा गुगलमा हेरेपछि मात्र सही र गलतभएको निर्णय लिन्छ | भविष्यमा आमावुवा र गुरूमा भन्दा बढी नक्कली बौद्धिकता (AI) मा विश्वास गर्ने पुस्ताको उदय हुने छ | रोबोट र मान्छेका बिचमा कुरा बाझियो भने रोबोटले मान्यता पाउने छ | गुरू र मातापिता नैतिकताका मानदंड हुन् भन्ने वर्तमान मान्यताहरू भविष्यका लागि अर्थरहित हुने छन् | AI को संसारका नैतिक मान्यताहरू पनि AI को वरिपरी घुम्ने छन् |
२. हालै स्वीजरल्याण्डका बैज्ञानिकहरूले तीन जनाको जिन मिलाएर निशेचनबाट तयार गरिएको विश्वको पहिलो बालक जन्माउन (बनाउन) सफल भएका छन् | उप्रान्त माता देवी हुन्, पिता देव हुन्, तिनको सम्मान गर्नुपर्छ भन्ने मान्यता विस्थापित हुने छ | आजका बालबालिकाहरूले ठाडै भन्छन् "सबै आमा बुवाले बच्चा जन्माएपछि पालनपोषण गर्छन्. यो तपाईंको कानुनी दायित्व हो | दायित्व निभाउन नसक्नेले जन्माउनु हुँदैन | तपाईंले हाम्रो पालन गरेर उपकार गर्नुभएको छैन | तपाईंप्रति धन्यवादी हुन कुनै आवश्यकता छैन | भविष्यमा, धेरै मान्छेको जिन मिलाएर निर्माण गरिएको "निरोग" मान्छेसंग तुलना गर्दै प्राकृतिक रूपमा बच्चा जन्माउने मातापिता "चरम अनैतिक" व्यक्तिका रूपमा स्थापित हुन सक्ने छन् |
३. आजका मान्छेहरूका लागि "सेवा" गर्नु नैतिक जीवनको एउटा अभिन्न अंग हो | हरेक व्यक्तिले आफ्नु क्षमताले भ्याएसम्म सेवा गर्न चाहन्छ र गर्छ पनि | :साधन-स्रोत हुँदाहुँदै पनि आफ्नो हेरविचार गर्न नसक्नेको लागि हामीले किन उर्जा खर्च गर्ने - एकजना आरडी तेस्रो वर्षका विद्यार्थीले भन्दै थिए | आफ्नो काम आफै गर्न नसक्ने अर्थात् मर्नु भन्दा आफ्नो कात्रोको आफै सुनिश्चित गर्न नसक्नेहरूका लागि भविष्यको पुस्ताले कुनै सहयोग गर्ने छैन | मातापिता, दिदीबहिनी, छिमेकी वा १० हजार किलोमिटर टाढाको जुनसुने व्यक्तिले आफ्नो दायित्व आफै बोक्नु पर्ने छ |
४. ल्याबमा निरोग बालबालिकाको उत्पादन आरम्भ भएपछि रहेबचेको ईश्वरीय दण्ड तथा पुरस्कारको डर र आशा सबैको अन्त्य हुनेछ | आजको मितिमा राजनैतिक शक्तिका लागि बाहेक ईश्वरको कुनै अस्तित्व छैन | ल्याबमा उत्पादन भएको आगामी जेनेरेशनका लागि स्वर्ग, नर्क, पाप र पुण्यका विषयहरू इतिहास हुनेछन् | बाइलोजिकल मातापिता भन्दा टेक्नोलोजीकल उत्पादकप्रति जवाफ दिनु पर्ने हुँदा डर, पापपुण्य तथा शुभअशुभका प्रत्ययहरू लोप हुनेछ | निरोगी र दीर्घजीवि भए पछि ईश्वरको आवश्यकता नै रहने छैन |
५. हिजो र आज विश्वका मान्छेहरूको चाहना शान्ति, सुरक्षा र क्वालिटी लाइफको छ | आज हरेक मान्छे "पैसा"प्राप्तिको एकल लक्षसंग अगाडी बढिरहेको छ | मसिनले बच्चा जन्माउन थालेपछि "बायोलोजिकल प्यारेन्टहुड" इतिहासको विषय हुने छ भने पुरुष र स्त्रीका बिचको सेक्स क्रियाबाट प्राप्त हुने आनन्द भन्दा हजारौं गुणा बढी आनन्द प्राप्त हुने क्रियाकलाप गर्न सकिने नक्कली विषयहरू निर्मित हुने छन् | भविष्यमा सेक्स परिचर्चाको विषय नै नरहने हुँदा सेक्ससंग जोडिएका नैतिकता र अनैतिकताको कुनै प्रसंग नै उठ्ने छैन |
६. इतिहासमा हिन्दू संस्कृतिमा वाहेक अन्य कसैले सेक्सुआलिटीको पाठ्यक्रम बनाएर व्यवस्थित गरेन | हिन्दूहरूले कामशास्त्रको रचना गरे | विश्वका धेरै सभ्य र असभ्य दूवै मान्छेका समुहहरूले "सेक्स"का वरिपरी अनेकौं नैतिकता र अनैतिकता, पाप तथा पुण्य, शुभ तथा अशुभ, स्वर्ग तथा नर्कका मापदण्डहरू तयार गरेका छन् र पालना पनि गरिरहेका छन् | सेक्स निकै रहस्यमा अनुभूति र क्रिया थियो | आजको पुस्तामा "सेक्स एउटा बायोलोजिकल नीड़" मात्र बन्न पुगेको छ | पुरानो संस्कृतिसंग मोह भएकाहरूके अनेकौं प्रतिबन्धहरू थोपरे पनि आज सेक्सको पहिचान बायोलोजिकल नै स्थापित हुँदैछ | भविष्यको पुस्ताका लागि सेक्स बायोलोजिकल नीड़ पनि नरहने पक्का छ | मेडिकलको विकास, उमेरमा वृद्धि र रमाइलोका अन्य रहर लाग्दा विकल्पहरू हुँदाहुँदै "शरीर घोटेर नैतिकता वा अनैतिकताका सबैजसो मापदण्डको उपयोगिता कम हुने छ | यौन चर्चाको विषय रहने छैन |
-७. जुन व्यक्ति जुन र जस्तो समाजमा जन्मिन्छ, त्यसको पहिचान र अस्मिता तेसैअनुसारको निर्माण हुन्छ | स्वभाविकरूपमा नेपाली र त्यसमा पनि हिन्दू भएको नाताले मेरो प्रेम नेपाल र हिन्दूसंग हुन्छ | हिन्दु एउटा सभ्यता भएको नाताले यहुदी, इसाई र मुस्लिमजस्तो साँगुरो छैन | हिन्दूका लागि हिन्दू रितिरिवाज, कर्मकाण्ड, जीवन दर्शन नैतिकताका मापदण्ड हुन्छन् भने अन्य धर्म मान्नेहरूका लागि त्यही धर्म र धार्मिकता उसको लागि अस्मिता हुन्छ | आजको विश्वले "हिन्दुत्व"को उदारता, स्वीकार तथा सहजता मांग गरेको छ | वाहिरबाट जतिसुकै धार्मिक कट्टर देखिए पनि विश्वका धेरै मान्छेको बुद्धिले हिन्दूत्व चाहन्छ | यसको अर्थ धर्म परिवर्तन गरेर हिन्दू बन्नुपर्छ भनेको होइन | भविष्यको विश्वको नैतिकतालाई रिलिजिस विश्वासले गाइड गर्ने छैनन् | संभवत: भविष्यको नैतिकताको तय गर्ने अधिकार हरेक व्यक्तिलाई व्यक्तिगत तहमा हुने छ | आज मुस्लिम, हिन्दु, इसाई तथा अन्य समुदायका व्यक्तिले आफुलाई "नास्तिक" भन्न रुचाउँन थालेका छन् | भविष्यको नैतिकता हिन्दूहरूले बताएझैं "धृति, क्षमा, अस्तेयआदि गुण"का रूपमा रहने छ तर बाइबल नपढेको र चर्च नगएको आधारमा कुनै पनि व्यक्ति नैतिक वा अनैतिक हुने छैन | सरल अर्थमा, भविष्यको व्यक्ति हिन्दू (धार्मिक होइन) ले झैं असल गुणलाई नै नैतिकताको भौतिक मापदण्डका रूपमा अंगाल्ने छ |
८. उपरोक्त विचार पढ्दै गर्दा लेखकलाई उद्दण्ड वा पश्चिमा प्रभाव परेको भन्ने आरोप लाग्न सक्छ | यी आरोपहरू वारे मेरो कुनै गुनासो रहने छैन तर मेरै जीवनकालमा विज्ञानले गरेको प्रगति र त्यसको प्रभावले बदलिएको जीवनशैलीका आधारमा भविष्यको नैतिक जीवन र चिन्तन आजकोझैं रहने छैन भन्ने पक्का हो | बढ्दो जनसंख्या, फराकिलो हुँदो बैज्ञानिक प्रगति, नजिकिंदो विश्वका मान्छेहरूको सम्बन्ध, फराकिलो हुँदै गरेको सूचना तथा अन्य समुदायका जानकारीहरू तथा रिलिजनहरूको कट्टरताले आजित भएको चिन्तनमा परिवर्तनको हटहटीले नैतिकताको मापदण्डलाई फेर्ने छन् | यो भविष्यका लागि छोडौं कि मान्छे रोबट बन्ने छ कि भावना प्रधान मान्छे नै रहेर अगाडी बढ्ने छ ! मान्छेको बढ्दो जनसंख्या र यसले नित्याएका आवश्यकताहरूले मान्छे वैश्विक बन्दै छ | आजको मान्छे हिन्दू, मुसलमान, इसाइअ, बौद्ध र इसाई सबै हो र केही पनि नभएर नास्तिक पनि हो | वाहिरबाट जस्तो आवरण र प्रकारमा देखिए पनि भविष्यको नैतिकतामा स्वतन्त्रताको बढी अंश रहने निश्चित छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...