Saturday, August 12, 2023

नदीहरूको पीडा !

 नदीहरूको पीडा !

काठमान्डौ उपत्यकाको सभ्यताको निर्माण बाग्मती, रुद्रमती, विष्णुमती, हनुमन्तेआदि नदीहरूका कारण विकसित भएको हो | यी नदीहरूलाई प्रदूषित बनाउने काम मान्छेले गरेका हुन् | यदि कुनै जीवित मान्छेलाई पशुपतिको ब्रह्मनालमा राखेर बाग्मतीको जलले आचामन गराइन्थ्यो भने सम्भवत: त्यही पफोहोर पानीका स्वर्गे हुन्थ्यो | झन्डै मारेको मान्छेले फेरी मर्नु पर्दैन | तर मान्छे जति निर्लज्ज, स्वार्थी र अवसरवादी अर्को हुँदैन |
नेपालमा असंख्य नदीहरू छन् र ती गंगाजमुना भन्दा धेरै पवित्र छन् | स्वच्छ छ | असंख्य नेपालीहरूको जीवन तीसंग जोडिएको छ | आज यी नदीहरूको पवित्रता र स्वच्छतामा विदेशी प्रतिमानमा आधारित "विकास"को रोग लागेको छ जसमा "घरभित्र दिशा गरेर नदीमा ढल" पठाउने संस्कृतिले महत्व प्राप्त गरेको छ | पोखरामा सेती नदी जिउंदै छन् तर आयु थोरै छ | काली गण्डकीलाई मुस्तांगदेखिको विकासे "फोहोर" बोक्न बाध्य बानाइएको छ | कोशीदेखि कर्णालीसम्म नदीहरू रोइरहेका छन् |
अमेरिका, जर्मनी, चीन र बेलायतबाट विकासका सिद्धान्तहरू भिराएर, खाडीदेशको पेट्रोल किनेर, चीनबाट लुगाफाटो र टेक्नोलोजी बोकेर र भारतबाट भोजन ओसारेर गाउँगाउँ पुर्याउने र ती आयात गरिएका वस्तुहरूको प्रयोग गरेपछि नदीहरू तथा प्रकृतिलाई फोहोर बनाउने दिशामा नेपाली राजनीति लागेकै छ | यी स्वच्छ नदीहरूप्रति कसैको एकरत्ति माया, स्नेह र प्रेम छैन | कोशी, गण्डकी र कर्णालीहरूको भविष्य सम्झेर मेरो मन रुन्छ, आत्तिन्छ | तर विश्वास गर्नुस्, दलालीका लागि विकासको बाध्यकारी नाटक मन्चन गर्नेहरूका मनमा यी नदीहरूप्रति कुनै माया, दया वा ममता छैन |
नेपाली समाजका लागि नदीहरू जीवनरेखा हुन् | भौतिक र आध्यात्मिक जीवनका सबैभन्दा भरपर्दा साथी हुन् | नेपालीका लागि हरेक नदी वा खोला गण्डकी, कोशी र गङ्गा हुन् | मरेपछि सेलाउने ठाउँ पनि नदी नै हुन् भने जिउँदो हुँदा धर्मकर्म गर्ने ठाउँ पनि नदी नै हुन् | तर विकासको नाममा नेपाली विकासवादले यी जीवनरेखाहरूको निर्मम हत्या गरिरहेका छौँ | हरेक पल बाटो बनाउने नाममा नदीहरू पहाड़ काटेका माटोले पुरिंदै छन् | प्राकृतिक रूपमा प्राप्त ढुङ्गामाटो तथा बालुवाहरू दोहन गरेर नदीहरूलाई बस्त्रविहिन गरिंदै छ | बिजुलीको लागि प्राकृतिक बहावहरूमा आक्रमण गरिंदै छ | यी सबै गङ्गा हुन् जसको स्मरण गरेर हामी नेपालीहरू स्वर्ग जान चाहन्छौं | आफ्नो लागि भौतिक स्वर्ग निर्माण गर्न नदीहरूको प्रकृतिलाई नष्ट गर्नेहरूले आफ्नो सभ्यता नष्ट गरिरहेका छौँ |
विकास हुनुपर्छ तर नदीहरूको हत्या गरेर, वरपिपलका चौपारी नष्ट गरेर, पूर्खाले गौचरनका लागि छुट्याएका चरनहरू कब्जा गरेर, गुठीहरू बेचेर, देवस्थलहरू नष्ट गरेर आफ्नै धर्म, संस्कृति, परंपरा र सभ्यताप्रति क्रूरतापूर्ण व्यबहार गर्न अभिप्रेरित गर्ने हाम्रो चेतनालाई धिक्कार छ | यसरी नै नदीहरूप्रति हाम्रो "छद्म"मानसिकताले अत्याचार गरिरह्यो भने भविष्यमा वैतरणी तार्ने गाई र स्वर्गको बाटो भनिएका नदीहरू सधैंको लागि लोप हुने छन् | त्यसपछि नस्वर्ग मिल्ने छ न भौतिक सम्पन्नता | कोशी, गण्डकी, कर्णाली, बागमतीहरूको क्रन्दनले नेपालीहरूलाई उठीवास लगाउने छ | त्यस वखत प्रगतिशील, अन्धविश्वास मुक्त तथा विकासको नशा उत्रिने छ | निर्जीव, निरस तथा सभ्यता विहिन नेपाल सन्तानका भागमा पर्ने छ |
मौलिक र रैथाने प्राकृतिक सम्पदाको विनाश गरेर २१ सौं शताब्दिका "मान्छे हामी" भन्दै फुटानी गर्दा लज्जाबोध हुनुपर्छ | यदि हामीले विकासका नाममा नदीहरूउपर अतिक्रमण गर्ने तथा फोहोर फाल्ने प्रवृत्ति रोकेनौं भने यी नदीदेवीहरूले हामी नेपालीहरूलाई "तिमीहरू हाम्रा हत्यारा हौँ" भनेर शापित गर्ने छन् | अझैं पनि हामीसंग समयछ, जागौं र आफ्ना जीवनरेखाहरूलाई बाग्मती, विष्णुमति, हनुमन्ते तथा रूद्रमतिहरूको नियतिबाट जोगाउँ | आफुँ बाँच्नका लागि अरूको हत्या नगरौं | आफुँ बाँचौं अरूलाई पनि बाँच्न दिउँ |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...