Saturday, August 12, 2023

मान्छेका स्वार्थको दास बनेको विज्ञान !

 मान्छेका स्वार्थको दास बनेको विज्ञान !

प्रकृतिले मान्छे, अन्य प्राणिहरू र प्रकृति आफैलाई आत्मनिर्भर बनाएको छ | मान्छेले प्राकृतिक जीवन त्यागेर जव नक्कल्चे जीवन जिउन आरम्भ गर्न परनिर्भरता त्यहीं'बाट आरम्भ हुन्छ | सुखी जीवन खोज्दै मान्छेले ठूलाठूला महल बनायो, धेरै थरिका खाने कुराहरू बनायो, धेरै थरिका लुगा बनायो एत्तिले चित्त नबुझेर प्रकृतिमा हस्तक्षेप गर्यो | समुद्रमा हस्तक्षेप गरेर माछा खान थाल्यो, बनहरूमा हस्तक्षेप गरेर पशु र बन्य वस्तुलाई "उपभोग"को बस्तु बनायो | अन्तरीक्षमा हस्तक्षेप गरेर त्यहीं फोहोरको डङ्गुर बनायो | सगरमाथामा हस्तक्षेप गरेर तेसलाई फोहोर फाल्ने विनबक्समा रुपान्तरित गरेको छ | के प्रकृतिउपर एतिविध्न हस्तक्षेप गरेर मान्छे खुशी वा सुखी छ त ?
सुख खोज्दाखोज्दै मान्छेले आफ्नो प्राकृतिक स्वभाव नै विर्सिएको छ | सुखका लागि भन्दै आफ्नै शरीरलाई मुखका माध्यमबाट शरीरलाई फोहोर फाल्ने ठाउँझैं उपयोग गरेर अत्याचार गरिरहेको छ | मान्छेको मान्छेको अत्याचारका कारण पृथ्वी र अन्तरीक्ष दूवै त्रासदीपूर्ण अवस्थामा छन् | त्यतिमात्र होइन मान्छेले "म जान्ने छु" भन्ने अहंकारबाट चूर भएर यो पृथ्वीलाई १४ पटकसम्म खरानी बनाउन सक्ने एटमबम, हाद्रोजन बमहरूको आविस्कार र भण्डारण गरेर निर्दोष प्रकृतिलाई समेत आफ्नो कुकृत्यको भयानक झ्यालखानामा थुनेको छ | मान्छेले प्रकृतिलाई प्रकृति होइन "झ्यालखाना"मा रुपान्तरित गरेको छ, जहाँ दुर्घटना हुने थुप्रै व्यबस्था गरिएको छ र आफुस्वयं पनि भाग्ने ठाउँ छैन |
विज्ञानले प्रकृतिलाई फोहोरको डङ्गुरमा वदलिरहेको छ | मान्छेको सुखका लागि विज्ञानले निर्माण गरेका विषयवस्तुले निर्दोष प्रकृतिमा प्रत्यक्ष हस्तक्षेप गरेको छ | बाग्मतीमात्र होइन समुद्रसमेत प्रदुषित भएका छन् | मान्छेले आफ्नै जीवन चक्रमा समेत हस्तक्षेप गरेर मान्छेले जन्मलिने प्रक्रियाको अन्त्य गरिरहेको छ | निश्चयनै मान्छेले आफुउपर गरेको यो हस्तक्षेपले भविष्यको पुस्तालाई यन्त्रहरूको सबैभन्दा "अविश्वासीलो दास" बनाउने छ | आफ्नै प्रकृतिमा हस्तक्षेप गरेर "नर्क" बनाउने मान्छेको बुद्धिमा भविष्यका यन्त्र-मानवले (यो शब्द सही नहोला, यन्त्रहरूले आफुलाई सम्भवत: मान्छेको परिचय नदिन सक्छन्) किन विश्वास गरुन् ?
आफु सुखी र खुसी हुने लहडमा मान्छेले जताततै हस्तक्षेपमात्र गरेको छ | मान्छेले निर्माण गरेका यन्त्रहरूले पनि मान्छेको "स्वार्थ र अवसरवादीता" बुझेर अपहेलना गर्ने छन् वा मान्छेको दिमागमा यसरी पुन: प्रोग्रमिंग गर्ने छन् कि यन्त्रहरूको जीवनमा यसले कत्ति पनि हस्तक्षेप गरेर "सबैभन्दा गरीव र सबैभन्दा धनी"को खाडल निर्माण गर्न नसकोस् | यो सम्भव छ किनभने मान्छेले मान्छेको जिन-सूत्रमा हस्तक्षेप गरेर यन्त्रहरूको विश्वलाई यो सूचना प्रदान गरिसकेको छ | प्रकृतिमा फर्कन नसके नसकोस् तर हस्तक्षेपका यी विराट अपराधहरू तुरुन्त वन्द गर्नतिर अभिप्रेरित हो | यो प्रकृति मान्छेको उपभोग्य वस्तु बन्न हुँदैन | यो मान्छेको स्वार्थका लागि समाप्त हुनुहुँदैन |
सत्य हो कि मान्छेसंग बुद्धि छ र उसले बुद्धिको उपयोग विकास, प्रगति र आजीविकाको सरलताका लागि गर्छ | मान्छेभित्रको स्वार्थ आज पनि बलिया र कमजोर राष्ट्रहरूको निर्माणबाट छताछुल्ल हुन्छ | बलिया राष्ट्रहरू गाउँका सामन्तसरह हुन् जसले कमजोर राष्ट्रलाई सधैं शोषण गर्छन् | विज्ञानको २१ सौं सताब्दिको दम्भ गर्ने मान्छे सधैं आफ्नो सामन्त-स्वार्थले निर्दिष्ट छ | युक्रेन र रसीयाको लडाईमा परोक्ष र अपरोक्ष साहुहरू लडिरहेका छन् | तुत्सीहरूको नरसंहार होस् वा जिहाद अथवा क्रुसेडका अत्याचार अथवा हतियार बेच्ने कम्पनीका मालिकहरू सबै २१ सौं शताब्दिको विज्ञानका उपज हुन् | यदि विज्ञानको विजयको अर्थ प्रकृति र मानवीय विनाश हो भने एस्तो विज्ञानको अवशान भएकै राम्रो | तर पनि भन्नुपर्छ मानवीय इतिहासमा १९४६ पछिका वर्षहरू निकै शान्त रहेका छन् | भौतिक उन्नति भएका छन् | स्वार्थी राजनेताहरूले बैज्ञानिकहरूलाई प्रयोग गर्दा "अणुवम"हरूको सृजना हुन्छ |
तेसैले ऋषि मुनिहरूले केवल "विद्या" अर्थात् प्रकृति र अध्यात्मको सम्मान गर्ने र भौतिक जीवनलाई सुखी बनाउंदै अध्यात्मिक विश्वलाई आनन्दित पर्ने विकासको लागि समाजलाई प्रोत्साहित गरे | ऋषिले भने "विद्या घरघरमा पुगोस्. कुविद्याको सधैंका लागि अन्त्य होस् | १५ हजारबटा विनाशक बम बनाएर विश्वको कल्याण हुन्छ, मान्छे सुखी हुन्छ, विश्वका मान्छेहरूले समान अधिकार, सम्मान र अवसर प्राप्त गर्ने छन् भन्ने त्रासदीपूर्ण भ्रमबाट मुक्त भएको दिन विश्व साच्चिकै आनन्दको खानी हुने छ |
निराशावाद र यथार्थका बीच धेरै ठूलो खाई हुन्छ | विज्ञानको विकासले प्रकृतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष हदसम्म हस्तक्षेपको आलोचना हुनेपर्छ | विज्ञानलाई प्रकृतिको अन्त्य गर्ने कुनै अधिकार छैन | प्रकृति भए विज्ञान सम्भव छ तर प्रकृति विनाको विज्ञान र वैज्ञानिक असम्भव तत्थ्य हो | हो, चिकित्सा विज्ञान, यातायात बिज्ञान, संचार विज्ञानआदिको प्रगतिले मान्छेको जीवन सहज भएको छ तर अन्य प्राणीको जीवन भयानक त्रासदीमा परेको छ | मान्छेले विज्ञानको आडमा अन्य प्राणीमात्र होइन जडप्रकृतिलाई पनि समस्यामा पारेका छन् | हिमालहरू पग्लिएका छन् | धेरै प्रकारका पशुपक्षीहरू लोप भएका छन् र हुँदैछन् | विज्ञान र मानवीय चिन्तन शक्तिलाई तेसवखत मात्र धन्यवाद भन्नुपर्छ जतिवेला "मान्छे र प्रकृति सबै कल्याणकारी अवस्था र व्यबस्थामा रहुन सकौं" भन्ने आदर्शलाई आत्मसात गर्ने छ |
तेसैले पहिलो पटक एत्रा दाह्री बनाएको मान्छेले कालो चस्मा लगाएको छ किनभने विज्ञानले धेरै असल अन्वेषण गरेर मान्छेलाई सुखी बनाए पनि एटमबमहरू बनाएर सधैं अर्धमृत अवस्थामा पुर्याएको छ | विज्ञानले सबैथोक राम्रो गरेको छ भन्नेहरू कालो चस्मामा सजिएको अन्धो मान्छे हो | सायद मा पनि यही भ्रममा छु | जिउंदै छु तर विज्ञानले प्रकृतिमा गरेको अत्याचार र आफु बसेको प्रकृतिलाई नै खरानी बनाउन आतुर १५ हजार बमहरूको थुप्रोमा बसेर "विज्ञान" महान् हो भन्दै छु | आफुसहित प्रकृतिको मृत्युको घडी कुरिरहेको छु |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...