Saturday, August 12, 2023

दर्शनशास्त्रको व्याबहारिक उपयोगिता

 दर्शनशास्त्रको व्याबहारिक उपयोगिता

१. बैज्ञानिक आविष्कारहरूले मानवीय जीवनमा पुर्याएको चमत्कारिक रूपान्तरणले दर्शनशास्त्रसहित अन्य सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक शास्त्रहरूको उपयोगिता ओझेलमा पर्ने अवस्था आएको छ | खासगरी दर्शनशास्त्रका विषयवस्तुहरूलाई नितान्त "सैद्धान्तिक तथा बौद्धिक व्यायाम" भन्नेहरूको सङ्ख्या पढिरहेको छ | खासगरी आधुनिक विज्ञानगत विषयका छात्रछात्रा तथा विज्ञहरू, व्यबस्थापन तथा अन्य भौतिकी विषयसंग सरोकार भएकाहरूमा यस्तो "भ्रम" बढ्दो छ | साथै, दर्शनशास्त्रका विषयवस्तुलाई "धार्मिक अध्ययन"का रूपमा बुझ्नेहरू पनि बढी नै छन् |

२. एकातिर दर्शनशास्त्रका प्राध्यापकहरूलाई "बुद्धिमान" ठान्ने र अर्कोतिर दर्शनशास्त्रका विषयवस्तुहरूको जीवनमा प्रत्यक्ष उपयोगिता खोज्नेहरू थुप्रै छन् | "पैसा"लाई पठनको लक्ष र पढाई सकेपछि "पैसा"को प्राप्तिलाई सफलताका रूपमा बुझ्ने र बुझाउने संस्कृतिको विकास हुँदै गर्दा, लक्षित समूहबाट "दर्शनशास्त्र पढेर व्याबहारिक जीवन चलाउन अर्थात् अर्थार्जन सुनिश्चित हुन्छ कि हुँदैन ? प्रश्न स्वाभाविक हो | उपरोक्त प्रश्न जतिसरल र सहज लाग्छ यथार्थमा तेस्तो छैन | "सुविधा र पैसा"को उग्रताभित्र अनन्त मानवीय पक्षहरूको हत्या भइरहेको छ | यो तत्थ्य औसत मान्छेले बुझ्दैन |

३. के मसीनले मानवीय भावना, सम्बेदना, शुभअशुभ गुण, कर्तव्य, सुखदुखको अनुभूति तथा प्रेममय चेतनाको निर्माण गर्न सक्छ ? के एक अरव डलरको बिटोमा सुत्ने मान्छेले गहिरो निन्द्रा, पत्नी वा पतिको प्रेम, आमाबुवा वा छोराछोरीको माया, शत्रुको घृणा र पराजय हुँदा मानसिक उदासी र विजयी हुँदा मानसिक हर्ष अनुभव गर्न सक्षम बनाउँला त ? आजको मितिसम्मको उत्तर नकारात्मक नै छ | विज्ञान संवेदना, भावना र चेतनाबाट वाहिरको विषय हो | एक अरव डलरको चाँगले खुसी वा दुखको आँशु बगाउँन सक्दैन | नैतिकता र अनैतिकताको सीमा निधारित गर्न सके पनि निर्धारित गरिएका सीमाहरूलाई परिस्थितिअनुसार प्रयोग गर्न सक्दैन | अवसरअनुसार अनुभूतिहरूको आवागमनलाई नियन्त्रित गर्न सक्दैन |

४. वैदिक परम्परामा दर्शन शब्दको अर्थले यसको व्याबहारिक उपयोगितातिर इंगित गरेको छ | दर्शनको अर्थ हो - देख्नु | देख्नु, बुझ्नु, जान्नु - यी सबै दार्शनिक क्रिया हुन् | हरेक मान्छेसंग जान्ने र बुझ्ने क्षमता हुन्छ | यस्तो क्षमता को विस्तार हुँदै गर्दा दर्शनआदिको विस्तार हुन्छ | दार्शनिक शब्दसहितको क्रिया प्रयोग नगरे पनि आन्तरिक र बाहिरी विश्वसंग आफ्नो साइनो खोज्न प्रयत्न नगर्ने होही हुँदैन | जीवन जगतका विषयमा बुझ्नका लागि आफ्नो लक्ष चयन गर्नु पनि दार्शनिक क्रियाकै व्याबहारिक उपयोग हो | मुख्यतय समालोचनात्मक दृष्टिकोण, समस्या समाधानका लागि बहुलताको दृष्टिकोण, सम्भावित विकल्पहरूको खोज, ती उपलब्ध विकल्पहरूको बौद्धिक विश्लेषण, तिनको आपसी सम्बन्ध र विरोधको व्याख्या तथा ती उपलब्ध परिणामहरूको घोषणा (लेखन) आदि दार्शनिक दृष्टिकोणको व्याबहारिक उपयोगिताका बलिया प्रमाण हुन् |

प्रसिद्ध वैदिक दर्शनमध्ये न्याय दर्शनले १६ बटा क्रियाका रूपमा दर्शनशास्त्रको व्याबहारिक उपयोगिताको मानचित्रनै खिचेको छ | न्याय दर्शनकाअनुसार सत्यको स्थापना र असत्यको निराकरण गर्न प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितन्डा, हेत्वाभास, छल, जाति र निग्रह्स्थानको प्रयोग यी १६ क्रियाहरू प्रयोग हुन्छन् | यो नितान्त बौद्धिक क्रियामा आधारित दार्शनिक परामर्श भए पनि सम्प्रदायका रूपमा विकसित भएका अद्वैत, द्वैताद्वैत, विशिष्टाद्वैत, शुद्धाद्वैत, अचिन्त्य भेदाभेदआदिका रूपमा दार्शनिक क्रियाको अभ्यास गरिरहेका छन् |

वैदिक दर्शनअन्तर्गत वेदलाई प्रमाणिक नमान्ने जैन तथा बौद्धहरूले पनि दर्शनशास्त्रीय प्रतिमानहरूलाई दैनिक क्रियाकलापमा प्रयोग गरेका छन् | सत्यका सवालमा सातबटा दृष्टिकोण, (सप्तभङ्गी न्याय) सत्य, ब्रह्मचर्यआदि पञ्चमहाब्रत, पुद्गलवादी र बहुलवादी दृष्टिकोण पनि दार्शनिक दृष्टिकोणको व्याबहारिक रुपान्तरण हो | अनित्यवाद, धर्मचक्र सिद्धान्त, विज्ञानवाद, प्रतीत्यसमुत्पाद तथा सम्यकवादआदिको बलियो जगमा आजको बौद्ध जीवनशैली उभिएको छ | आजको मितिमा विश्वभरी योगको दार्शनिक चिन्तनका आठबटा सोपानहरू कसरी विश्वका लागि दैनिक उपयोगी सिद्ध भइरहेका छन् भन्ने तत्थ्य मनोविज्ञान, स्वास्थ्य विज्ञान तथा पोषण विज्ञानमा योगको प्रयोगले प्रष्ट पारेको छ |

जव पश्चिमेली प्रतिमानका आधारमा वैदिक दार्शनिक दृष्टिकोणहरूको अध्ययन गरिन्छ र यसलाई पश्चिमेली तारतम्यमा बुझ्ने प्रयत्न गरिन्छ, वैदिक दार्शनिकधारामा "धर्म"मात्र भेटिने सम्भावना हुन्छ | वैदिक सभ्यताभित्र विकसित भएका सांस्कृतिक बहुलतामा दार्शनिक बहुलता पनि समावेश हुन्छ | दार्शनिक दृष्टिकोणहरूको बहुलतामा आधारित भएर अनेकौं सम्प्रदायहरू विकसित भएका छन् | धर्मका अर्थमा केवल यहुदी, इसाई र मुस्लिम बुझ्ने र धार्मिकताको अर्थमा यहुदी, इसाई र मुस्लिम संस्कृतिलाई बुझ्ने पश्चिमा दृष्टिकोणभित्र राखेर वैदिक संस्कृति र दर्शनशास्त्रविचको अभिन्न र अभिभाज्य सम्बन्धलाई बुझ्न सकिन्न | उदाहरणका लागि पश्चिमाहरूले थिओलोजी भनेर बाइबल, कुरान वा तोरेटमा आधारित संस्कृतिको (धर्म)को अध्ययन भन्ने बुझ्दछन् | वैदिकधारमा एस्तो हुँदैन | वैदिक संस्कृतिमा विकसित भएका सबै सम्प्रदायहरूहरू दर्शनशास्त्रको जगमा उभिएका छन् |

केही नेपाली र भारतीय प्रगतिशील लेखकहरूले पौरस्त्य दार्शनिक चिन्तनलाई "धर्म"बाट मुक्त गर्नु पर्छ भन्ने अभिमत राखेको पाइन्छ | पौरस्त्य (वैदिक) दर्शनका विषयमा यस्तो चिन्तनको आधार पाश्चात्य धर्मनिरपेक्षवादी दृष्टिकोण हो | माध्यमिककालमा रिलिजनले दर्शनशास्त्रउपर गरेका अत्याचारको जवाफ हो | वैदिक दार्शनिक धारमा चार्वाक्, सांख्य तथा बैशेषिक दार्शनिकहरूले श्रद्धाकेन्द्रीत दार्शनिक दृष्टिकोणहरूप्रति विद्रोह गरिसकेका छन् | सत्य के हो भने वैदिक दर्शनमा श्रद्दा र तर्कका बिचमा सहृदयी सम्बन्ध भएको नाताले विरोधाभासमा सहकार्य गरेका हुन् | ठ्याक्कै पश्चिमा "लभ ओफ विज्डम"को मूल्यमा वैदिक धर्म र दर्शनका विच सम्बन्ध-विच्छेद गर्न सकिन्न | नेपालका प्रगतिशील राजनीतिज्ञ र भारतीय देवी प्रसाद चट्टोपाध्यायहरूले निकै प्रयत्न गरेका थिए र गरिरहेका छन्, यो प्रयास अहिलेसम्म सफल भएको छैन |

५. पाश्चात्य दार्शनिक परम्परामा दर्शनशास्त्र र धर्म (रिलिजन) नितान्त फरक विषय हुन् | सन् ३५० देखि १८ रौँ शताब्दिको आरम्भसम्म दर्शनशास्त्रलाई केवल "रिलिजन"को सेवकका रूपमा व्यबहार गरियो | दर्शनशास्त्रलाई "बाइबल"को प्रमाणिकता सिद्ध गर्ने प्रयोजनका लागि मान्यता प्रदान गरियो | प्लेटो र अरस्तुले संस्कृतिसंग जोडेको दार्शनिकतालाई बाइबलले तोड्यो | बाइबलको अत्याचारबाट आहत भएको दर्शनशास्त्रले १८ रौँ शताब्दिपछि धर्म (रिलिजन)संग आफ्नो सम्बन्ध बिच्छेद भएको सगर्व घोषणा गर्यो र प्राचीन सोफिस्ट र एपीक्युरियनहरूले अङ्गिकार गरेको "बौद्धिक व्यायाम"का रूपमा मात्र आफुलाई स्थापित गरिएको तत्थ्य स्वीकार गर्यो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...